सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४०

हामी कसरी परमेश्‍वरको नजरमा स्वच्छ रहन सक्छौँ?

हामी कसरी परमेश्‍वरको नजरमा स्वच्छ रहन सक्छौँ?

कल्पना गर्नुहोस्‌, एउटी मायालु आमाले आफ्नो सानो छोरालाई स्कुल पठाउन तयार पार्दै छिन्‌। तिनी छोरालाई नुहाइदिन्छिन्‌ र सफा लुगा लगाइदिन्छिन्‌। यसरी सरसफाइमा ध्यान दिँदा छोरा स्वस्थ रहन्छ अनि अरूले पनि आमाबुबाले उसको राम्रो ख्याल राखेको याद गर्छन्‌। त्यसैगरि हाम्रो मायालु बुबा यहोवा हामी शारीरिक र नैतिक रूपमा स्वच्छ भएको चाहनुहुन्छ। हामी स्वच्छ रहँदा हाम्रै फाइदा हुन्छ अनि यहोवाको महिमा हुन्छ।

१. हामी कसरी शारीरिक रूपमा स्वच्छ हुन सक्छौँ?

यहोवा हामीलाई यसो भन्‍नुहुन्छ: “तिमीहरू पवित्र हुनै पर्छ।” (१ पत्रुस १:१६) पवित्र हुनुमा शारीरिक र नैतिक रूपमा स्वच्छ हुनु समावेश छ। हामी नियमित रूपमा नुहाइधुवाइ गर्नुका साथै आफ्नो लुगाफाटा, घरआँगन अनि सवारीसाधन सफा र चिटिक्क राखेर शारीरिक रूपमा स्वच्छ रहन सक्छौँ। हामी सभाभवनको सरसफाइमा पनि सघाउन सक्छौँ। हामी शारीरिक रूपमा स्वच्छ रहँदा यहोवाको महिमा हुन्छ।—२ कोरिन्थी ६:३, ४.

२. स्वच्छ रहन हामीले कस्ता अशुद्ध आनीबानी हटाउनुपर्छ?

बाइबलले हामीलाई ‘तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पार्न’ आग्रह गर्छ। (२ कोरिन्थी ७:१) त्यसैले हाम्रो शरीर वा दिमागलाई हानि पुऱ्‍याउने कुराहरूबाट अलग्गै बस्नुपर्छ। हाम्रा विचारहरू पनि यहोवालाई प्रसन्‍न तुल्याउने किसिमको हुनुपर्छ। (भजन १०४:३४) त्यसैले हामी खराब सोचाइलाई तिरस्कार गर्न हरप्रयास गर्छौँ। साथै हाम्रो बोलीवचन राम्रो हुनुपर्छ।—कलस्सी ३:८ पढ्‌नुहोस्‌।

हामीलाई शारीरिक वा नैतिक रूपमा अशुद्ध बनाउने अरू कुरा के-के हुन्‌? सुर्ती, सुपारी, कोकाको पात र लागूपदार्थको सेवनले हाम्रो शरीरलाई अशुद्ध बनाउँछ। त्यसैले हामी यी कुराहरूबाट अलग रहन्छौँ। यसो गऱ्‍यौँ भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ अनि उपहारस्वरूप पाएको जीवनप्रति आदर देखाइरहेका हुन्छौँ। साथै हस्तमैथुन गर्ने र अश्‍लील सामग्री हेर्ने अशुद्ध बानीहरूविरुद्ध सङ्‌घर्ष गरेर हामी नैतिक रूपमा स्वच्छ रहन हरप्रयास गर्छौँ। (भजन ११९:३७; एफिसी ५:५) यस्ता बानीहरू त्याग्न गाह्रो हुन सक्छ तर यहोवाले हामीलाई मदत गर्नुहुन्छ।—यसैया ४१:१३ पढ्‌नुहोस्‌।

अझ खोतल्नुहोस्‌

हामी शारीरिक रूपमा स्वच्छ रहँदा कसरी यहोवाको महिमा हुन्छ, विचार गर्नुहोस्‌। साथै अशुद्ध आनीबानी कसरी त्याग्न सकिन्छ, बुझ्नुहोस्‌।

३. शारीरिक रूपमा स्वच्छ रहँदा यहोवाको महिमा हुन्छ

यहोवाले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएका आज्ञाहरू केलायौँ भने उहाँले स्वच्छतालाई कत्तिको महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर बुझ्न सक्छौँ। प्रस्थान १९:१० ३०:१७-१९ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यी पदहरूबाट शारीरिक स्वच्छताप्रति यहोवाको दृष्टिकोणबारे के थाह पाउन सकिन्छ?

  • तपाईँलाई शारीरिक रूपमा स्वच्छ रहन कस्ता असल बानीले मदत गर्छ?

शारीरिक रूपमा स्वच्छ रहन समय र शक्‍ति खर्च गर्नुपर्छ। हामी जहाँ बसे तापनि वा हाम्रो आर्थिक अवस्था जस्तोसुकै भए तापनि हामी शारीरिक रूपमा स्वच्छ रहन सक्छौँ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामीले सुसमाचार सुनाउँदा प्रयोग गर्ने सरसामान सफा र चिटिक्क छन्‌ भने कसरी यहोवाको महिमा हुन्छ?

४. कुलत त्याग्नुहोस्‌

यहोवाले हामीलाई जुनसुकै कुलत त्याग्न मदत गर्न सक्नुहुन्छ

यदि तपाईँ धूम्रपान गर्नुहुन्छ अथवा लागूपदार्थ सेवन गर्नुहुन्छ भने त्यस्तो कुलत त्याग्न निकै गाह्रो हुन्छ भनेर तपाईँलाई थाह होला। तपाईँ कसरी कुलत त्याग्न सक्नुहुन्छ? कुलतले तपाईँमा कस्तो असर पार्छ, विचार गर्नुहोस्‌। मत्ति २२:३७-३९ पढ्‌नुहोस्‌। त्यसपछि यी क्षेत्रहरूमा सुर्ती वा लागूपदार्थले कस्तो असर पुऱ्‍याउँछ भन्‍ने विषयमा छलफल गर्नुहोस्‌:

  • यहोवासितको मित्रतामा।

  • परिवार र वरपरका मानिसहरूमा।

एउटा कुलत त्याग्न के-कस्ता कदम चाल्न सक्नुहुन्छ, योजना बनाउनुहोस्‌। a भिडियो हेर्नुहोस्‌

फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • प्रार्थना गर्ने, बाइबल अध्ययन गर्ने अनि सभामा उपस्थित हुने बानी बसाल्दा कसरी कुलत हटाउने बल पाउन सकिन्छ?

५. अशुद्ध विचार र आनीबानी त्याग्न सङ्‌घर्ष गर्नुहोस्‌

कलस्सी ३:५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • अश्‍लील सामग्री हेर्नु, सेक्सटिङ गर्नु (कम्प्युटर, मोबाइल वा यस्तै कुनै साधनमार्फत अश्‍लील मेसेज, फोटो वा भिडियो पठाउनु) अनि हस्तमैथुन गर्नु यहोवाको नजरमा अशुद्ध छ भनेर हामी किन भन्‍न सक्छौँ?

  • के तपाईँको विचारमा यहोवाले हामी नैतिक रूपमा स्वच्छ भएको चाहनु व्यावहारिक छ? किन?

अशुद्ध विचार त्याग्न कसरी सङ्‌घर्ष गर्न सकिन्छ भनेर बुझ्नुहोस्‌। भिडियो हेर्नुहोस्‌

नैतिक रूपमा स्वच्छ रहनको लागि हामीले ठोस कदम चाल्नुपर्छ भनेर बुझाउन येसुले एउटा उदाहरण बताउनुभयो। मत्ति ५:२९, ३० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हुनत येसुले आफ्नो शरीरलाई हानि पुऱ्‍याउनुपर्छ भन्‍न खोजिरहनुभएको थिएन तर हामीले ठोस कदम चाल्नुपर्छ भनेर सङ्‌केत गर्दै हुनुहुन्थ्यो। अशुद्ध विचार त्याग्न कस्तो ठोस कदम चाल्नुपर्छ? b

तपाईँ अशुद्ध विचारहरू त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने यहोवा तपाईँको प्रयासको कदर गर्नुहुन्छ। भजन १०३:१३, १४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यदि तपाईँ कुनै अशुद्ध बानी त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने हरेस नखान यस बाइबल पदबाट कस्तो प्रोत्साहन पाउनुभयो?

हार नमान्‍नुहोस्‌!

हाम्रो मनमा सजिलै यस्तो सोचाइ आउन सक्छ, ‘म चुकेँ, त्यसैले अब प्रयास गर्नु बेकार छ।’ तर यो कुरा विचार गर्नुहोस्‌: एक जना धावक दौडँदै गर्दा लड्यो भने त्यसको अर्थ उसले दौड हाऱ्‍यो भन्‍ने होइन। ऊ फेरि सुरुदेखि दौडन थाल्नु पनि पर्दैन। त्यसैगरि तपाईँ चुक्नुको अर्थ कुलत त्याग्न गरिरहनुभएको लडाइँ हार्नुभयो भन्‍ने होइन। साथै तपाईँले अहिलेसम्म गर्नुभएको उन्‍नति खेर गयो भन्ठान्‍नु पनि पर्दैन। प्रयास गर्दागर्दै पनि चुक्नु सामान्य कुरा हो। त्यसैले हार नमान्‍नुहोस्‌! तपाईँ यहोवाको मदतले कुलत त्याग्न सक्नुहुन्छ।

कोही-कोही भन्छन्‌: “म कुलतमा फसिसकेँ। अब यसबाट निस्कन सक्दिनँ।”

  • त्यस्तो व्यक्‍तिलाई यहोवाको मदतले कुलत त्याग्न सकिन्छ भनेर बुझाउन तपाईँ कुन बाइबल पद देखाउन सक्नुहुन्छ?

सारांश

हामी आफ्नो शरीर, दिमाग र आचरणलाई स्वच्छ राखेर यहोवालाई खुसी बनाउँछौँ।

तपाईँले के सिक्नुभयो?

  • स्वच्छ रहनु किन धेरै महत्त्वपूर्ण छ?

  • तपाईँ शारीरिक रूपमा कसरी स्वच्छ रहन सक्नुहुन्छ?

  • तपाईँ आफ्नो विचार र आचरण कसरी स्वच्छ राख्न सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

तपाईँसित प्रशस्त भौतिक कुरा छैन भने पनि शारीरिक रूपमा स्वच्छ रहन के गर्न सक्नुहुन्छ?

स्वास्थ्य र सरसफाइ—हात धुने (३:०१)

तपाईँ धूम्रपान छोड्‌न कस्ता व्यावहारिक कदम चाल्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“धूम्रपान कसरी छोड्‌न सकिन्छ?” (ब्यूँझनुहोस्‌!, मे २०१०)

अश्‍लील सामग्री हेर्नुका असरहरूबारे केलाउनुहोस्‌।

“के अश्‍लील सामग्री हानिकारक छ?” (प्रहरीधरहरा, अगस्त १, २०१३)

एक जना मानिसले अश्‍लील सामग्री हेर्ने कुलत कसरी त्यागे, पढ्‌नुहोस्‌।

“म धेरै पटक चुकेपछि बल्ल सफल भएँ” (प्रहरीधरहरा सङ्‌ख्या ४ २०१६)

a यस पाठको “अझ धेरै जान्‍नुहोस्‌” भागमा भएको “धूम्रपान कसरी छोड्‌न सकिन्छ?” लेखमा यो कुलत त्याग्न चाल्न सकिने व्यावहारिक कदमहरूबारे बताइएको छ।

b हस्तमैथुन गर्ने बानी त्याग्न उपयोगी जानकारीको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताबको खण्ड १, अध्याय २५ को “म हस्तमैथुन गर्ने बानी कसरी त्याग्न सक्छु?” लेख हेर्नुहोस्‌।