सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४६

तपाईँले किन समर्पण र बप्तिस्मा गर्नुपर्छ?

तपाईँले किन समर्पण र बप्तिस्मा गर्नुपर्छ?

तपाईँले अबदेखि यहोवाको मात्र उपासना गर्नेछु र उहाँको इच्छा पूरा गर्नुलाई पहिलो स्थान दिनेछु भनी प्रार्थनामा वाचा गरेर उहाँलाई आफ्नो जीवन समर्पण गर्नुहुन्छ। (भजन ४०:८) त्यसपछि तपाईँ बप्तिस्मा गर्नुहुन्छ। बप्तिस्मा गर्दा तपाईँले समर्पण गरिसक्नुभएको छ भनेर अरूले थाह पाउनेछन्‌। यहोवालाई आफ्नो जीवन समर्पण गर्नु भनेको हामीले गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय हो। जीवनलाई नयाँ मोड दिने यस्तो गम्भीर निर्णय गर्न तपाईँलाई कुन कुराले उत्प्रेरित गर्न सक्छ?

१. हामीलाई समर्पण गर्न कुन कुराले उत्प्रेरित गर्छ?

यहोवाप्रतिको प्रेमले गर्दा हामी उहाँलाई आफ्नो जीवन समर्पण गर्न उत्प्रेरित हुन्छौँ। (१ युहन्‍ना ४:१०, १९) बाइबलले हामीलाई यस्तो आग्रह गर्छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कुस १२:३०) हामी आफ्नो बोलीले मात्र होइन, कामले पनि परमेश्‍वरलाई प्रेम गरेको देखाउँछौँ। जसरी एकअर्कालाई साँच्चै माया गर्ने पुरुष र स्त्रीले विवाह गर्छन्‌, त्यसरी नै यहोवाप्रतिको प्रेमले उहाँलाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न हामीलाई उत्प्रेरित गर्छ।

२. यहोवाले बप्तिस्मा गरेका आफ्ना साक्षीहरूलाई कस्ता आशिष्‌ दिनुहुन्छ?

बप्तिस्मा गरेपछि तपाईँ यहोवाको आनन्दित परिवारको सदस्य बन्‍नुहुनेछ। त्यसपछि उहाँले तपाईँलाई थुप्रै तरिकामा प्रेम देखाउनुभएको अनुभव गर्नुहुनेछ। साथै तपाईँ उहाँसित अझ नजिक हुनुहुनेछ। (मलाकि ३:१६-१८ पढ्‌नुहोस्‌।) तपाईँले यहोवालाई आफ्नो बुबाको रूपमा पाउनुका साथै संसारभरिका दाजुभाइ दिदीबहिनी मिलेर बनेको आध्यात्मिक परिवार पाउनुहुनेछ अनि त्यस परिवारले यहोवा र तपाईँलाई प्रेम गर्छ। (मर्कुस १०:२९, ३० पढ्‌नुहोस्‌।) बप्तिस्मा गर्नुअघि तपाईँले केही कदम चालिसकेको हुनुपर्छ। तपाईँले यहोवाबारे सिक्नुपर्छ, उहाँलाई प्रेम गर्नुपर्छ र उहाँको छोरामाथि विश्‍वास गर्नुपर्छ। अन्तमा तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुपर्छ। तपाईँले यी कदमहरू चालिसकेपछि बप्तिस्मा गर्नुभयो भने सधैँभरि जीवनको आनन्द उठाउन सक्ने बाटोमा हिँड्‌न थाल्नुहुनेछ। परमेश्‍वरको वचनले भनेझैँ ‘बप्तिस्माले अहिले तपाईँलाई बचाउँदै छ।’१ पत्रुस ३:२१.

अझ खोतल्नुहोस्‌

तपाईँले यहोवालाई आफ्नो जीवन समर्पण गर्नु र बप्तिस्मा गर्नु किन महत्त्वपूर्ण छ, बुझ्नुहोस्‌।

३. हामी सबैले कसको सेवा गर्ने भनेर छनौट गर्नुपर्छ

प्राचीन इस्राएल राष्ट्रमा कसै-कसैले यहोवा र झूटो देव बाआल दुवैको उपासना गर्न सकिन्छ भन्ठाने। तर यस गलत सोचाइलाई सच्याउन यहोवाले भविष्यवक्‍ता एलियालाई पठाउनुभयो। पहिलो राजा १८:२१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • इस्राएलीहरूले कस्तो छनौट गर्नुपऱ्‍यो?

इस्राएलीहरूजस्तै हामीले पनि कसको उपासना गर्ने भनेर छनौट गर्नुपर्छ। लुका १६:१३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • हामी किन यहोवाको र अरू कसैको वा कुनै कुराको उपासना गर्न सक्दैनौँ?

  • हामीले यहोवाको उपासना गर्ने छनौट गरेको उहाँलाई कसरी देखाउँछौँ?

४. यहोवाले तपाईँलाई देखाउनुभएको प्रेममा मनन गर्नुहोस्‌

यहोवाले हामीलाई थुप्रै अनमोल उपहार दिनुभएको छ। हामी उहाँलाई के दिन सक्छौँ? भिडियो हेर्नुहोस्‌

यहोवाले तपाईँलाई कुन-कुन तरिकामा प्रेम देखाउनुभएको छ? भजन १०४:१४, १५ १ युहन्‍ना ४:९, १० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यहोवाले दिनुभएको कुन-कुन उपहारको लागि तपाईँ विशेषगरि कृतज्ञ हुनुहुन्छ?

  • ती उपहारहरू पाएकोमा तपाईँ उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ भन्‍ने महसुस गर्नुहुन्छ?

कसैले हामीलाई दिएको उपहार एकदमै मन पऱ्‍यो भने हामी तिनलाई कृतज्ञता देखाउन चाहन्छौँ। व्यवस्था १६:१७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवाले तपाईँलाई दिनुभएको सबै कुरा विचार गर्दा तपाईँ उहाँलाई के दिन चाहनुहुन्छ?

५. समर्पण गरेपछि थुप्रै आशिष्‌ पाइन्छ

थुप्रै मानिसलाई नाम, दाम वा राम्रो काम भएमा मात्र खुसी हुन सकिन्छ जस्तो लाग्छ। तर के यो सत्य हो? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएका खेलाडीलाई फुटबल खेल्न असाध्यै मन परे तापनि तिनले किन त्यो पेसा छोडे?

  • तिनले फुटबललाई होइन, यहोवालाई आफ्नो जीवन समर्पण गर्ने निर्णय गरे। के तपाईँलाई तिनले सही निर्णय गरे जस्तो लाग्छ? किन?

ख्रिष्टियन बन्‍नुअघि प्रेषित पावल निकै सम्मानजनक लक्ष्यको पछि लागेका थिए। तिनले एक प्रख्यात शिक्षकबाट यहुदी व्यवस्था अध्ययन गरेका थिए। तर ती सबै छोडेर तिनी ख्रिष्टियन बने। के यसो गरेकोमा तिनले पछुतो माने? फिलिप्पी ३:८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • पावलले आफू ख्रिष्टियन बन्‍नुअघि गरेका सबै थोकलाई “रद्दी” अर्थात्‌ फोहोर किन भने?

  • ती कुराहरूलाई इन्कार गर्दा तिनले के पाए?

  • के तपाईँलाई यहोवाको सेवा गर्ने छनौट गर्दा जीवन राम्रो हुन्छ जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

पावल ख्रिष्टियन बन्दा तिनले जे त्यागेका थिए, त्यसभन्दा धेरै पाए

कोही-कोही भन्छन्‌: “सत्य यही हो भनेर मलाई थाह छ। तर म यसैमा लाग्न भने सक्दिनँ।”

  • के तपाईँलाई आफ्नो जीवन यहोवालाई समर्पण गर्नु बुद्धिमानी हो जस्तो लाग्छ? किन?

सारांश

यहोवाप्रतिको प्रेमले गर्दा हामी उहाँलाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न उत्प्रेरित हुन्छौँ।

तपाईँले के सिक्नुभयो?

  • यहोवा किन हाम्रो मनैदेखिको प्रेम र उपासना पाउन योग्य हुनुहुन्छ?

  • यहोवाले बप्तिस्मा गरेका आफ्ना साक्षीहरूलाई कस्ता आशिष्‌ दिनुहुन्छ?

  • के तपाईँ यहोवालाई आफ्नो जीवन समर्पण गर्न चाहनुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

एउटी गायिका र एक जना खेलाडीले किन यहोवालाई आफ्नो जीवन समर्पण गर्ने छनौट गरे, हेर्नुहोस्‌।

युवा जनहरूका प्रश्‍न—म के लक्ष्य राखूँ?—फर्केर हेर्दा (६:५४)

यहोवालाई आफ्नो जीवन समर्पण गर्नेहरू कत्ति खुसी देखिन्छन्‌, यस म्युजिक भिडियोमा हेर्नुहोस्‌।

यो जीवन तिमीलाई (४:३०)

एउटी स्त्रीलाई आफ्नो प्राथमिकता केलाउन कुन कुराले जुरमुऱ्‍यायो भनेर थाह पाउन “वर्षौँदेखि मेरो मनमा ‘हामी यहाँ किन छौँ?’ भन्‍ने प्रश्‍न खेलिरहेको थियो” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, नोभेम्बर १, २०१२)