सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ५७

तपाईँले गम्भीर पाप गर्दा के गर्नुपर्छ?

तपाईँले गम्भीर पाप गर्दा के गर्नुपर्छ?

तपाईँ यहोवालाई मनैदेखि प्रेम गर्नुहुन्छ र उहाँको चित्त नदुखाउन हरप्रयास गर्नुहुन्छ। तैपनि तपाईँ कहिलेकाहीँ गल्ती गर्न पुग्नुहुन्छ। कतिपय गल्ती गम्भीर किसिमका हुन्छन्‌। (१ कोरिन्थी ६:९, १०) यदि तपाईँले गम्भीर पाप गर्नुभयो भने यो कुरा नबिर्सनुहोस्‌, यहोवा अझै पनि तपाईँलाई माया गर्नुहुन्छ अनि क्षमा र मदत गर्न इच्छुक हुनुहुन्छ।

१. हामीले यहोवाबाट क्षमा पाउन के गर्नै पर्छ?

यहोवालाई प्रेम गर्ने व्यक्‍ति आफूबाट गम्भीर पाप हुँदा साह्रै दुःखी हुन्छन्‌। तर तिनीहरू यहोवाले आफ्ना सेवकहरूलाई गर्नुभएको यस प्रतिज्ञाबाट सान्त्वना पाउँछन्‌: “तिमीहरूका पापहरू सिन्दूरे रङ्‌गका भए पनि ती हिउँजस्तै सेता हुनेछन्‌।” (यसैया १:१८) हामीले साँचो पश्‍चात्ताप गऱ्‍यौँ भने यहोवाले पूर्ण रूपमा क्षमा गर्नुहुनेछ। त्यसोभए हामी कसरी पश्‍चात्ताप गर्छौँ? हामी मनैदेखि पछुतो मानेर गलत काम गर्न छोड्‌छौँ र क्षमा पाउन यहोवालाई बिन्ती गर्छौँ। त्यसपछि हामीलाई पाप गर्ने हदसम्म पुऱ्‍याएको गलत विचार र बानी हटाउन कडा मेहनत गर्छौँ अनि हामी यहोवाको शुद्ध नैतिक स्तरअनुसार जीवन बिताउन सक्दो प्रयास गर्छौँ।—यसैया ५५:६, ७ पढ्‌नुहोस्‌।

२. हामीले पाप गर्दा यहोवाले कसरी एल्डरहरूमार्फत मदत गर्नुहुन्छ?

यदि हामीले गम्भीर पाप गऱ्‍यौँ भने यहोवाले भन्‍नुभएझैँ हामीले ‘मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाउनुपर्छ।’ (याकुब ५:१४, १५ पढ्‌नुहोस्‌।) ती नियुक्‍त पुरुषहरू यहोवा र उहाँका भेडाहरूलाई माया गर्छन्‌। तिनीहरू हामीलाई यहोवासितको सम्बन्ध सुधार्न मदत गर्न सक्छन्‌ किनभने तिनीहरूले यसको लागि तालिम पाएका हुन्छन्‌।—गलाती ६:१.

हामीले गम्भीर पाप गर्दा एल्डरहरूले हामीलाई कसरी मदत गर्छन्‌? दुई वा तीन जना एल्डरले हामीलाई बाइबलआधारित सल्लाह दिएर सच्याउँछन्‌। तिनीहरूले हामीलाई त्यो पाप नदोहोऱ्‍याउन व्यावहारिक सल्लाह र हौसला दिन्छन्‌। तिनीहरूले यहोवासितको हाम्रो सम्बन्ध फेरि बलियो नहोउन्जेल केही समयको लागि हाम्रो कुनै आध्यात्मिक गतिविधिमा रोक लगाउन सक्छन्‌। एल्डरहरूले मण्डलीलाई हानिकारक प्रभावबाट जोगाउन गम्भीर पाप गरेर पश्‍चात्ताप नगर्ने जोकोहीलाई बहिष्कार गर्छन्‌।

अझ खोतल्नुहोस्‌

हामीले गम्भीर पाप गर्दा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर थाह पाउनुहोस्‌ र त्यसको कदर गर्नुहोस्‌।

३. हामीले पाप स्विकाऱ्‍यौँ भने यहोवासितको सम्बन्ध सुधार्न सक्छौँ

हामीले पाप गर्दा यहोवालाई असाध्यै दुःख लाग्छ। त्यसैले हामीले उहाँसामु आफ्नो पाप स्विकार्नुपर्छ। भजन ३२:१-५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवादेखि आफ्नो पाप लुकाउन खोज्नुको सट्टा उहाँसामु त्यो स्विकार्नु किन राम्रो हो?

यहोवासामु आफ्नो पाप स्विकार्नुको साथै एल्डरहरूबाट पनि मदत लिँदा हामी मनोशान्ति पाउँछौँ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएका क्यानन्‌लाई यहोवाकहाँ फर्कन एल्डरहरूले कसरी मदत गरे?

एल्डरहरू हामीलाई मदत गर्न चाहन्छन्‌। त्यसैले तिनीहरूसामु कुनै कुरा नलुकाई साँचो बोल्नुपर्छ। याकुब ५:१६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामीले एल्डरहरूसामु कुनै कुरा नलुकाई साँचो बोल्यौँ भने हामीलाई मदत गर्न तिनीहरूलाई किन सजिलो हुन्छ?

आफूले गरेको पाप स्विकार्नुहोस्‌, एल्डरहरूसित कुनै कुरा नलुकाई साँचो बोल्नुहोस्‌ र यहोवाको मायालु मदत स्विकार्नुहोस्‌

४. बहिष्कारको प्रबन्धले फाइदा पुऱ्‍याउँछ

यदि गम्भीर पाप गरेको कुनै व्यक्‍ति यहोवाको स्तरअनुसार चल्न इन्कार गर्छन्‌ भने तिनी मण्डलीको भाग भइरहन सक्दैनन्‌। तिनलाई बहिष्कार गरिन्छ अनि हामी तिनीसित सङ्‌गत मात्र होइन, कुराकानी समेत गर्दैनौँ। पहिलो कोरिन्थी ५:६, ११ र २ युहन्‍ना ९-११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाएझैँ पापको पश्‍चात्ताप नगर्ने व्यक्‍तिसित सङ्‌गत गर्दा मण्डलीलाई कस्तो असर पर्छ?

विगतमा बहिष्कार भएका थुप्रै व्यक्‍ति फेरि मण्डलीमा फर्केका छन्‌। किन? यस्तो अनुशासन पीडादायी भए तापनि यसले तिनीहरूलाई आफ्नो गल्ती कत्ति गम्भीर थियो भनेर महसुस गरायो। (भजन १४१:५) भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएकी सोनियाले बहिष्कार भएपछि कुन कुरा बुझिन्‌?

बहिष्कारको प्रबन्धले कसरी . . .

  • यहोवाको नाम महिमित पार्छ?

  • यहोवा व्यावहारिक र मायालु हुनुहुन्छ भनेर देखाउँछ?

५. हामीले पश्‍चात्ताप गर्दा यहोवा क्षमा दिनुहुन्छ

कुनै व्यक्‍तिले पश्‍चात्ताप गर्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न येसुले चलाउनुभएको एउटा उदाहरणले मदत गर्छ। लुका १५:१-७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यसले तपाईँलाई यहोवाबारे के सिकाउँछ?

इजकिएल ३३:११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • पश्‍चात्ताप गर्नुमा कुन महत्त्वपूर्ण कदम चाल्नु समावेश छ?

गोठालोले जस्तै यहोवा आफ्ना भेडाहरूको मायालु हेरचाह गर्नुहुन्छ

कोही-केही भन्छन्‌: “मैले एल्डरहरूलाई आफूले गरेको पापबारे बताएँ भने मलाई बहिष्कार गरिएला कि भनेर डर लाग्छ।”

  • तपाईँ त्यस्तो महसुस गर्ने व्यक्‍तिलाई कुन कुरा बताउन सक्नुहुन्छ?

सारांश

हामीले गम्भीर पाप गर्दा मनैदेखि पश्‍चात्ताप गऱ्‍यौँ र गलत काम त्याग्ने अठोट गऱ्‍यौँ भने यहोवाले हामीलाई क्षमा गर्नुहुनेछ।

तपाईँले के सिक्नुभयो?

  • यहोवासामु आफ्नो पाप स्विकार्नु किन राम्रो हो?

  • यहोवाले हाम्रो पाप क्षमा गर्नुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

  • हामीले गम्भीर पाप गऱ्‍यौँ भने किन एल्डरहरूको मदत लिनुपर्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

एक पुरुषले यसैया १:१८ मा बताइएको यहोवाको कृपा कसरी महसुस गरे, बुझ्नुहोस्‌।

यहोवाले दिनुहुने क्षमामा कहिल्यै शङ्‌का नगर्नुहोस्‌ (५:०२)

बहिष्कारको प्रबन्धले कसरी सबैलाई फाइदा पुऱ्‍याउँछ?

“बहिष्कार—यो किन मायालु प्रबन्ध हो?” (प्रहरीधरहरा, अप्रिल १५, २०१५)

तपाईँ कसरी बहिष्कारसम्बन्धी यहोवाका साक्षीहरूको प्रबन्धबारे अरूलाई बुझाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“के यहोवाका साक्षीहरू तिनीहरूको धर्म छोड्‌नेसित सङ्‌गतै गर्दैनन्‌?” (jw.org को लेख)

एक पुरुष सत्यमा फर्कन यहोवाले आफूलाई मदत गर्नुभएको कुरामा किन विश्‍वस्त भए? यसबारे थाह पाउन “म यहोवाकहाँ फर्कनुपर्थ्यो” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, जुलाई १, २०१२)