सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचालक निकायको पत्र

परिचालक निकायको पत्र

प्रिय भाइबहिनीहरू:

परमेश्‍वर र मानिसप्रतिको प्रेमले हामीलाई बाइबलमा दिइएको यो आज्ञा पालन गर्न उत्प्रेरित गर्छ: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई . . . बप्तिस्मा गराओ।” (मत्ति २८:१९, २०; मर्कु. १२:२८-३१) निःस्वार्थ प्रेममा धेरै शक्‍ति हुन्छ। यस्तो प्रेमले “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूको मन छुन सक्छ।—प्रेषि. १३:४८.

विगतमा हामी प्रस्तुतिहरू कण्ठ पारेर घरधनीसित कुराकानी गर्ने र साहित्यहरू छोड्‌ने गर्थ्यौँ। तर अब भने हामीले आफ्नो कुराकानी गर्ने सीप अझ तिखार्नुपर्ने देखिन्छ। हामी अरूलाई चासो लाग्ने विषयमा कुराकानी गरेर तिनीहरूलाई प्रेम गरेको देखाउन चाहन्छौँ। भन्‍नुको मतलब हामी प्रत्येक व्यक्‍तिको चिन्ता र चासोको विषय पत्ता लगाएर त्यसैअनुसार कुराकानी अघि बढाउँछौँ। यस पुस्तिकाले हामीलाई त्यसो गर्न कसरी मदत गर्छ?

यस पुस्तिकामा १२ वटा पाठ छन्‌ अनि प्रत्येक पाठमा अरूलाई प्रेम गरेको देखाउन र चेला बनाउन चाहिने एउटा गुणबारे छलफल गरिएको छ। प्रत्येक पाठ येसु वा प्रथम शताब्दीको कुनै प्रचारकले साक्षीकार्यमा कुनै खास गुण देखाउनुभएको बाइबल विवरणमा आधारित छ। हाम्रो लक्ष्य प्रस्तुति कण्ठ पार्नु नभई मानिसहरूलाई प्रेम गरेको देखाउने तरिकाहरू खोज्नु हो। हुनत यसमा छलफल गरिएको प्रत्येक गुण साक्षीकार्यको सबै पक्षमा चाहिन्छ तर अझ विशेषगरि कुराकानी थाल्न, पुनःभेट गर्न वा बाइबल अध्ययन सञ्चालन गर्न हामीलाई कुनै खास गुण किन चाहिन्छ, त्यसबारे छलफल गर्नेछौँ।

प्रत्येक पाठ पढ्‌नुहुँदा आफ्नो इलाकाका मानिसहरूसित कुराकानी गर्ने बेला उक्‍त पाठमा छलफल गरिएको गुण कसरी देखाउन सकिन्छ भनेर विचार गर्नुहोस्‌। यहोवा र मानिसप्रतिको प्रेम अझ बलियो बनाउन सक्दो प्रयास गर्नुहोस्‌। कुनै खास सीपले भन्दा प्रेमले तपाईँहरूलाई चेला बनाउने लक्ष्यसम्म पुग्न मदत गर्नेछ।

हामी तपाईँहरूसँग काँधमा काँध मिलाएर सेवा गर्ने ठूलो सुअवसरको कदर गर्छौं। (सप. ३:९) तपाईँहरू मानिसहरूलाई प्रेम देखाउन प्रयास गर्नुहुँदा र चेला बनाउने काममा लागिरहनुहुँदा यहोवाले प्रशस्त आशिष्‌ देऊन्‌!

तपाईँका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय