सीधै सामग्रीमा जाने

तिनले जीवनको उद्देश्‍य बुझिन्‌

तिनले जीवनको उद्देश्‍य बुझिन्‌

राज्य उद्‌घोषकहरूको रिपोर्ट

तिनले जीवनको उद्देश्‍य बुझिन्‌

येसुले उहाँ आफ्ना भेडाहरूलाई चिन्‍नुहुन्छ भनेर बताउनुभयो। (युहन्‍ना १०:१४) असल हृदय भएको अनि शान्ति र धार्मिकता मन पराउने व्यक्‍ति येसुका चेलाहरूतर्फ खिचिन्छन्‌। बेल्जियममा बस्ने यस्तै एक महिलाले जीवनको उद्देश्‍य बुझिन्‌। तिनी आफ्नो अनुभव यसरी बताउँछिन्‌:

“यहोवाका साक्षीहरूले मेरो ढोका ढकढक्याउँदा म एकदमै निराश थिएँ र आत्महत्या गर्न चाहन्थेँ। यो दुष्ट संसारका समस्याहरूको समाधानबारे साक्षीहरूले बताएको कुरा मलाई मन पऱ्‍यो तर यी समस्याहरूको समाधान परमेश्‍वरले गर्नुहुनेछ भन्‍ने कुराचाहिँ चित्त बुझेन। आठ वर्षअघि मैले चर्च जान छोडेकी थिएँ किनभने त्यहाँका मानिसहरूको कपटी व्यवहार मलाई मन परेन। साक्षीहरूले भनेको कुरा सत्य हो भनेर मैले थाह पाएँ र परमेश्‍वरमा विश्‍वास नगरी जीवन बिताउन गाह्रो छ भनेर पनि मैले बुझेँ।

“दुःखको कुरा, केही समयपछि साक्षीहरूसितको मेरो सम्पर्क टुट्यो। म असाध्यै निराश भएँ। म दिनमा दुई बट्टा चुरोट पिउने गर्थेँ र मैले लागूपदार्थ पनि सेवन गर्न थालेँ। बितिसक्नुभएको मेरो हजुरबुबासित सम्पर्क गर्ने प्रयासमा म प्रेतविद्यामा पनि मुछिएँ। त्यसो गरेकोले राती म एक्लै हुँदा प्रेतहरूले सताउन थाले। त्यसैले मलाई एकदमै डर लाग्थ्यो। महिनौँसम्म यस्तै भइरह्‍यो। साँझ पर्नासाथ आज राती पनि एक्लै बस्नुपर्छ भन्‍ने कुरा सोचेर म डराउथेँ।

“एकदिन म प्रायजसो हिँड्‌ने बाटो नभई अर्कै बाटो भएर हिँड्‌दै थिएँ। हिँड्‌दै जाँदा मैले एउटा ठूलो निर्माणस्थल देखेँ। त्यहाँ मानिसहरूको ठूलो भीड देख्दा मलाई अचम्म लाग्यो। नजिक गएर हेर्दा तिनीहरू यहोवाका साक्षी पो रहेछन्‌ भनेर मैले थाह पाएँ। तिनीहरू सभाभवन निर्माण गर्दै थिए। साक्षीहरू मेरो घरमा आएको मलाई अझै याद थियो। मैले सोचेँ, सबै मानिसहरू यिनीहरूजस्तो भए संसार कत्ति राम्रो हुन्थ्यो।

“साक्षीहरू फेरि मेरो घरमा आएको म चाहन्थेँ। त्यसैले म निर्माणस्थलमा काम गरिरहेका कोही-कोहीसित कुरा गर्न गएँ। मैले परमेश्‍वरलाई प्रार्थना पनि गरेँ। त्यसको १० दिनपछि मलाई सुरुमा भेटेका साक्षी फेरि मलाई भेट्‌न आए। तिनले फेरि मसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखे र मैले त्यो सहर्षै स्विकारेँ। तिनले मलाई सभाभवनमा हुने कार्यक्रमको निम्तो पनि दिए। त्यो पनि मैले स्विकारेँ। त्यहाँ जाँदा मैले देखेको दृश्‍य पहिला कहिल्यै देखेको थिइनँ। म वर्षौँदेखि एकअर्कालाई माया गर्ने र आनन्दित मानिसहरूको खोजीमा थिएँ। मैले बल्ल त्यस्ता मानिसहरू भेट्टाएँ।

“त्यसपछि म प्रत्येक सभामा उपस्थित हुन थालेँ। त्यसको तीन हप्तापछि मैले चुरोट पिउने नराम्रो बानी पनि हटाएँ। मैले आफ्ना ज्योतिषविद्यासित सम्बन्धित किताबहरू र प्रेतविद्यालाई बढावा दिने गीत भएका रेकर्डहरू फ्याँकिदिएँ। त्यसपछि ममा ती प्रेतहरूको पकड पनि कमजोर भएको महसुस गरेँ। यहोवाले बाइबलमा दिनुभएका स्तरहरूअनुरूप मैले जीवन बिताउन थालेँ र तीन महिनापछि सुसमाचार सुनाउन थालेँ। छ महिनापछि मैले बप्तिस्मा पनि गरेँ। त्यसको दुई दिनपछि मैले सहायक अग्रगामी सेवा सुरु गरेँ।

“यहोवाले मेरो लागि गर्नुभएका सबै असल कुराहरूको लागि म उहाँप्रति आभारी छु। अहिले मेरो जीवन उद्देश्‍यपूर्ण भएको छ। यहोवाको नाम बलियो धरहरा हो, जहाँ मैले शरण अनि सुरक्षा पाएकी छु। (हितोपदेश १८:१०) म भजनहारले जस्तै महसुस गर्छु। भजन ८४:१० मा तिनले यस्तो लेखे: ‘तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन अरू ठाउँमा बिताएको १,००० दिनभन्दा उत्तम हुन्छ! दुष्टको पालमा बस्नुभन्दा त तपाईँको भवनको ढोके हुनु नै मलाई मन पर्छ।’”

नम्र हृदय भएकी यी महिलाले जीवनको उद्देश्‍य बुझिन्‌। साँचो मनले यहोवाको खोजी गर्ने सबैले त्यसो गर्न सक्छन्‌।