सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ

यहोवा हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ

यहोवा हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ

“उहाँसँग डराउनेहरूसित . . . परमप्रभु खुशी हुनुहुन्छ” भनेर भजनरचयिताले लेखे। वास्तवमा, सृष्टिकर्ता आफ्ना सेवकहरूले उहाँका धार्मिक स्तरहरू पालन गर्न प्रयास गरिरहेको देख्दा आनन्दित हुनुहुन्छ। परमेश्‍वर आफ्ना वफादार जनहरूलाई आशिष्‌ र प्रोत्साहन दिनुहुन्छ अनि निराश भएको समयमा सान्त्वना पनि दिनुहुन्छ। उहाँ आफ्ना उपासकहरू असिद्ध छन्‌ भन्‍ने जान्‍नुहुन्छ, त्यसैले तिनीहरूबाट व्यवहारिक माग गर्नुहुन्छ।—भजन १४७:११.

सामान्यतया यहोवाले आफ्ना सेवकहरूलाई प्रेम गर्नुहुन्छ भनी विश्‍वास गर्न हामीलाई गाह्रो नहोला। तथापि, कसैकसैले आफ्ना कमजोरीहरूले गर्दा अति चिन्तित भएकोले परमेश्‍वरले तिनीहरूलाई कहिल्यै माया गर्नुहुनेछैन भन्ठान्छन्‌ जस्तो देखिन्छ। “मजस्तो असिद्ध मानिसलाई पनि परमेश्‍वरले कसरी प्रेम गर्नु होला र?” भन्‍ने निष्कर्षमा तिनीहरू पुग्नसक्छन्‌। हो, समय समयमा हामी सबैमा यस्ता नकारात्मक भावनाहरू आउनसक्छन्‌। तर कसै कसैले भने जिन्दगीभर हीनताबोधको भावना बोकिरहन्छन्‌।

हीनताबोधका अनुभूतीहरू

बाइबलकालीन विश्‍वासी व्यक्‍तिहरूले पनि असाध्यै हतोत्साहित महसुस गरेका थिए। परमेश्‍वरले आफूलाई त्याग्नुभयो भन्‍ने सोचाइले गर्दा अय्यूबले जीवनलाई घृणा गर्न थाले। शमूएलकी आमा हन्‍ना पनि आफ्नो सन्तान नभएको बेलामा चिन्तित भएर धुरुधुरु रोइन्‌। दाऊद “ज्यादै झुके” र इपाफ्रोडाइटस पनि आफ्नो रोगका कारण अरू भाइहरू चिन्तित भएकाले व्याकुल भएका थिए।—भजन ३८:६; १ शमूएल १:७, १०; अय्यूब २९:२, ४, ५; फिलिप्पी २:२५, २६.

आजका मसीहीहरू नि? रोग, बुढेसकाल अथवा अन्य व्यक्‍तिगत परिस्थितिहरूले गर्दा कसैकसैलाई आफूले चाहेजति पवित्र सेवा चढाउन नसकेको जस्तो लाग्नसक्छ। यसले गर्दा आफूले यहोवा अनि आफ्ना संगी विश्‍वासीहरूको लागि केही गर्न नसकेको निष्कर्षमा पुग्नसक्छन्‌। अथवा कसै कसैले आफूले विगतमा गरेका गल्तीहरूलाई यहोवाले क्षमा गर्नुहुन्‍न होला भन्‍ने विचार राख्दै आफूलाई दोषी ठहराइरहेका हुन्छन्‌। अरू कतिचाहिं भद्रगोल परिवारमा हुर्केकाले तिनीहरू बाँच्नुको कुनै अर्थै छैन भन्‍ने निष्कर्षमा पुग्छन्‌। यस्तो कसरी हुनसक्छ?

कोही कोही प्रेमको मनोभाव होइन, स्वार्थ, छेडपेच अनि डरले व्याप्त परिवारमा हुर्कन्छन्‌। तिनीहरूले आफूलाई गहिरो प्रेम गर्ने, प्रशंसा र प्रोत्साहन दिने, सानातिना गल्तीहरूलाई वास्ता नगरी गम्भीर गल्तीहरूलाई समेत क्षमा गर्न तयार हुने, तिनको न्यानोपनाले पूरै परिवारलाई सुरक्षित महसुस गराउने बुबालाई कहिल्यै चिन्‍ने मौका पाएका हुँदैनन्‌। तिनीहरूले पार्थिव पिताको माया नपाएको हुँदा स्वर्गका मायालु पिता हुनुको अर्थ के हो भनेर बुझ्नै गाह्रो लाग्नसक्छ।

उदाहरणका लागि, फ्रिट्‌स लेख्छन्‌: “बाल्यावस्था र युवावस्थाभरि म आफ्नो बुबाको क्रूरता सहेर हुर्कें। a उहाँले मलाई कहिल्यै श्‍याबासी दिएर माया गर्नुभएन त्यसैले म पनि उहाँसित त्यति घनिष्ठ भइनँ। साँच्चै भन्‍ने हो भने, धेरैजसो समय उहाँको डरै डरमा बित्यो।” परिणामस्वरूप, फ्रिट्‌स अहिले ५० वर्षको पुगिसक्दा पनि आफूमा केही कमी भएको महसुस गर्छन्‌। अनि मार्गरेट बताउँछिन्‌: “मेरा आमाबुबा साह्रै निठुरी अनि क्रूर हुनुहुन्थ्यो। त्यसैले मैले बाइबल अध्ययन थाल्दा मायालु पिता कस्तो हुन्छ भनेर कल्पनै गर्नसकिनँ।”

जेसुकै भएपनि, त्यस्ता भावनाहरू हुनु भनेको हामीले प्रेमबाट उत्प्रेरित भएर परमेश्‍वरलाई सेवा चढाइरहेका होइनौं तर धेरै हदसम्म दोषी भाव वा डरले गर्दा हो भन्‍ने बुझिन्छ। आफूले सक्दो गरे तापनि आफैदेखि सन्तुष्ट हुँदैनौं। यहोवा तथा संगी विश्‍वासीहरूलाई खुसी तुल्याउने चाहनाले हामीलाई आफूले गर्नै नसक्ने कुराहरू गर्न उक्साउन सक्छ। परिणामस्वरूप, हामी आफ्नो लक्ष्य हासिल गर्नसक्दैनौं अनि आफैलाई दोषी ठहराउँदै ग्लानि महसुस गर्नसक्छौं।

के गर्न सकिन्छ? सायद हामीले आफैलाई यहोवा कस्तो उदार हुनुहुन्छ भनेर सम्झाउनु आवश्‍यक होला। यहोवाको यस मायालु व्यक्‍तित्वलाई बुझेकाहरूमध्ये प्रेरित यूहन्‍ना पनि एक थिए।

“परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ”

सा.यु. प्रथम शताब्दीको अन्ततिर यूहन्‍नाले आफ्ना संगी विश्‍वासीहरूलाई यसरी लेखे: “यसैमा हामी जान्दछौं, कि हामी सत्यका छौं, र जुन कुरामा हाम्रो हृदयले हामीलाई दोष लाउँछ, त्यस विषयमा हामीले हाम्रो हृदयलाई परमेश्‍वरको सामने निश्‍चय गराऔं। किनभने परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, र सबै कुरा जान्‍नुहुन्छ।” यूहन्‍नाले किन यस्तो लेखे?—१ यूहन्‍ना ३:१९, २०.

यहोवाका सेवकहरूले आफ्नो हृदयमा दोषी महसुस गर्नु कुनै नौलो कुरा होइन भनेर यूहन्‍नालाई स्पष्टै थाह थियो। सायद, यूहन्‍ना आफैले पनि त्यस्ता भावनाहरू अनुभव गरेका थिए। जवान छँदा तिनी गरम मिजासका भएकाले अरूसित व्यवहार गर्दा त्यस्तो कठोर हुनुहुँदैन भनेर येशू ख्रीष्टले तिनलाई पटक पटक सच्याउनुपऱ्‍यो। येशूले यूहन्‍ना अनि तिनका भाइ याकूबलाई “बोअनर्गेश, अर्थात्‌ गर्जनका छोराहरू भन्‍ने नाउँ राख्नुभयो।”—मर्कूस ३:१७; लूका ९:४९-५६.

त्यसपछि ६० वर्षको दौडान यूहन्‍ना परिपक्व अनि सन्तुलित, मायालु तथा कृपालु मसीही भए। प्रेरितहरूमध्ये सबैभन्दा बढी बाँच्ने, यूहन्‍नाले आफ्नो पहिलो प्रेरित पत्र लेख्दा यहोवाले आफ्ना सेवकहरूका एक एक अपराधहरूको लेखा लिनुहुन्‍न भन्‍ने तिनलाई थाह थियो। बरु, उहाँ आफूलाई प्रेम गर्ने र सत्यतामा आफ्नो उपासना गर्नेहरूलाई गहिरो प्रेम दर्शाउनुहुने न्यानो, उदार हृदय भएको, दानी अनि कृपालु पिता हुनुहुन्छ। यूहन्‍नाले लेखे: “परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूहन्‍ना ४:८.

यहोवाको सेवामा हामी जे गर्छौं, त्यसैमा उहाँ प्रसन्‍न हुनुहुन्छ

परमेश्‍वरलाई हाम्रो जन्मजात कमजोरी र त्रुटिहरू थाह छ, त्यसलाई उहाँ विचार गर्नुहुन्छ। “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनहुन्छ” भनेर दाऊदले लेखे। हाम्रो पृष्ठभूमिले हामीलाई कस्तो मानिस बनाउँछ भनेर यहोवा जान्‍नुहुन्छ। वास्तवमा, हामीले आफूलाई चिनेभन्दा बढी उहाँले हामीलाई चिन्‍नुहुन्छ।—भजन १०३:१४.

हामी सबै जना आफू जस्तो छौं, त्योभन्दा बेग्लै हुन चाहन्छौं तर हामी आफ्नो असिद्धतामाथि विजयी हुन असमर्थ छौं भनेर उहाँलाई थाह छ। हाम्रो परिस्थिति प्रेरित पावलको अवस्थासित तुलना गर्न सकिन्छ। तिनले लेखे: “असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍न, त्यही म गर्नेगर्छु।” हामी सबै त्यस्तै संघर्ष गरिरहेका छौं। अनि कहिलेकाहीं यसले गर्दा हामी आफैलाई दोषी ठहराइरहेका हुन्छौं।—रोमी ७:१९.

यो कुरा सधैं सम्झनुहोस्‌: हामीले आफूलाई हेर्ने दृष्टिकोणभन्दा यहोवाले हामीलाई हेर्नुहुने दृष्टिकोण महत्त्वपूर्ण छ। हामीले उहाँलाई खुसी पार्न खोजेको देख्नुहुँदा सामान्य दृष्टिकोणले नभई उहाँ खुसी र सन्तुष्ट महसुस गर्नुहुन्छ। (हितोपदेश २७:११) हामीले हासिल गरेका उपलब्धिहरू आफ्नो दृष्टिकोणमा सामान्य लाग्नसक्छ तर हाम्रो स्वेच्छा तथा असल मनोवृतिले उहाँलाई आनन्दित तुल्याउँछ। उहाँ हामीले गर्ने कुराहरूको गहिराइसम्म हेर्नुहुन्छ। हामी के गर्न चाहन्छौं उहाँले त्यो बुझ्नुहुन्छ। हाम्रो इच्छा र चाहना उहाँलाई थाह छ। यहोवाले हाम्रो हृदय पढ्‌न सक्नुहुन्छ।—यर्मिया १२:३; १७:१०.

उदाहरणका लागि, यहोवाका धेरैजसो साक्षीहरू लजालु स्वभावका छन्‌ र आफै अघि सरेर केही गर्न हिचकिचाउँछन्‌। त्यस्ताहरूका लागि, घर घर सुसमाचार प्रचार गर्नु भनेको एकदमै ठूलो चुनौती हुनसक्छ। यद्यपि, परमेश्‍वरको सेवा गर्ने चाहनाले उत्प्रेरित भएर यी अल्प आत्मविश्‍वासीहरू आफ्ना छिमेकीहरू कहाँ गएर बाइबलबारे कुरा गर्न सिक्छन्‌। तिनीहरूले सानो कुरा मात्र गर्न सकेको ठानेर यो उपलब्धिमा रमाउन सक्दैनन्‌। तिनीहरूको हृदयले आफ्नो जन सेवकाई केही कामको छैन भन्‍ने सोच्न लगाउँछ। तर तिनीहरूले सेवामा यस्तो परिश्रम गरेको देख्दा यहोवा पक्कै पनि रमाउनुहुन्छ। त्यति मात्र होइन, सच्चाइको बीउ कुनबेला कहाँ अंकुराउँछ र उम्रेर फल फलाउँछ भनी तिनीहरूलाई थाह छैन।—उपदेशक ११:६; मर्कूस १२:४१-४४; २ कोरिन्थी ८:१२.

अरू कतिपय साक्षीहरू दीर्घ रोगी वा डाँडामाथिका घाम हुनसक्छन्‌। तिनीहरूका लागि नियमित तवरमा राज्य भवन धाउनु भनेको कष्टप्रद र पीडादायी हुनसक्छ। प्रचार कार्यबारे भाषण सुन्दा आफूले पहिला गर्ने गरेको प्रचारकार्य र अहिले गर्न चाहेर पनि आफ्नो अशक्‍तताले गर्न नसकेको कुरा दिमागमा आउनसक्छ। त्यसले गर्दा तिनीहरू आफूले चाहेर पनि सल्लाह पालन गर्न नसकेको दोषी भावनाले पिरोलिन्छन्‌। तथापि, यहोवाले तिनीहरूको वफादारी तथा धैर्यको कदर गर्नुहुन्छ। तिनीहरू वफादार रहुञ्जेल उहाँले तिनीहरूको विश्‍वासी सेवालाई कहिल्यै बिर्सनुहुन्‍न।—भजन १८:२५; ३७:२८.

“हाम्रो हृदयलाई . . . निश्‍चय गराऔं”

समयको अन्तरालमा यूहन्‍नाको उमेर ढल्कँदै जाँदा तिनले परमेश्‍वरको उदारताबारे निकै कुरा बुझेको हुनुपर्छ। तिनले लेखेको कुरा सम्झनुहोस्‌: “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, र सबै कुरा जान्‍नुहुन्छ।” त्यसबाहेक, यूहन्‍नाले हाम्रो “हृदयलाई . . . निश्‍चय गराऔं” भनेर प्रोत्साहन दिए। यूहन्‍नाले के भन्‍न खोजिरहेका थिए?

भाइन्स एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वड्‌र्स-अनुसार “निश्‍चय गराऔं” भनेर अनुवाद गरिएको युनानी क्रियापदको अर्थ “विश्‍वास दिलाउन मनाउनु, कब्जा गर्नु वा जित्नु” हो। अर्को शब्दमा भन्‍ने हो भने, हाम्रो हृदयलाई निश्‍चय गराउन आफ्नो हृदयमाथि विजयी हुनुपर्छ, यहोवाले हामीलाई प्रेम गर्नुहुन्छ भनेर मनाउनुपर्छ। कसरी?

यसै लेखको सुरुतिर उल्लेख गरिएका फ्रिट्‌स यहोवाका साक्षीहरूको एउटा मण्डलीमा प्राचीनको हैसियतमा सेवा गरेको २५ वर्ष भइसक्यो र तिनले व्यक्‍तिगत अध्ययनले यहोवाको प्रेमबारे आफ्नो हृदयलाई अझ निश्‍चय गराउन मदत पाएका छन्‌। “म बाइबल अनि हाम्रा प्रकाशनहरू नियमित तवरमा गम्भीरतापूर्वक अध्ययन गर्ने गर्छु। यसले मलाई विगतमा होइन तर हाम्रो अद्‌भुत भविष्यको सुस्पष्ट दृश्‍य राख्न मदत गर्छ। समय समयमा मेरो विगतले मलाई पिरोल्छ र परमेश्‍वरले मलाई कहिल्यै प्रेम गर्नुहुन्‍नजस्तो लाग्छ। तर साधारणतया, नियमित अध्ययनले मेरो हृदयलाई बलियो पार्न, विश्‍वास बढाउन, आनन्दित हुन र सन्तुलित हुन मदत गरेको छ।

हो, बाइबल पढाइ र मनन गर्दैमा हाम्रो वास्तविक परिस्थिति बदलिंदैन होला। यद्यपि, यसले आफ्नो व्यक्‍तिगत परिस्थितिबारे हाम्रो दृष्टिकोण परिवर्तन गर्नसक्छ। परमेश्‍वरको वचनका विचारहरू हाम्रो हृदयमा राख्दा उहाँको जस्तै सोचाइ राख्न मदत मिल्छ। यसबाहेक, अध्ययनले परमेश्‍वरको हृदयको उदारताबारे अझ बुझ्दै जान मदत गर्छ। यहोवाले हाम्रो बाल्यावस्थाको वातावरण र हाम्रो अशक्‍तताको लागि दोषी ठहराउनु हुन्‍न भन्‍ने कुरा बिस्तारै स्वीकार्न सक्नेछौं। हाम्रा प्रायजसो बोझहरू चाहे भावनात्मक हून्‌ वा शारीरिक, हामी आफैले चाहेर भएको होइन भन्‍ने कुरा उहाँ मायालु ढंगमा बुझ्नुहुन्छ।

अगाडि उल्लेख गरिएकी मार्गरेट नि? तिनले यहोवालाई चिन्‍न थालेपछि बाइबल अध्ययनबाट निकै लाभ उठाइन्‌। तिनले पनि फ्रिट्‌सले जस्तै बुबाप्रतिको धारणालाई परिवर्तन गर्नुपऱ्‍यो। प्रार्थनाले मार्गरेटलाई अध्ययनबाट सिकेका कुराहरू अझ राम्ररी बुझ्न मदत गऱ्‍यो। मार्गरेट बताउँछिन्‌, “मैले मायालु बुबाभन्दा घनिष्ठ साथीहरू कस्तो हुनुपर्छ भनी बुझेकोले सुरु सुरुमा यहोवालाई मैले घनिष्ठ साथीको दृष्टिकोणले हेरें। बिस्तार बिस्तारै मैले आफ्ना भावना, शंका उपशंका, चिन्ता तथा समस्याहरू यहोवामा राख्न सिकें। मैले बारम्बार उहाँसित प्रार्थनामा कुरा गर्न थालें र उहाँबारे सिकिरहेका नयाँ नयाँ कुराहरू सबै मिलाएर एउटा सुन्दर चित्रजस्तै बन्यो। केही समयपछि यहोवाप्रति मेरा भावनाहरू यति राम्रो भयो कि म अहिले उहाँ मेरो मायालु बुबा हुनुहुन्छ भन्‍न हिचकिचाउँदिनँ।”

सबै चिन्ताबाट मुक्‍त

यो दुष्ट पुरानो रीतिरिवाज रहुञ्जेल कोही पनि चिन्तामुक्‍त हुने आशा गर्न सक्दैनन्‌। यसको अर्थ कोही कोही मसीहीहरू समय समयमा चिन्ता वा आफ्नै शंकाले तनाउग्रस्त हुन्छन्‌। तर हाम्रो असल मनोवृत्ति र उहाँको सेवामा लगाउने कडा मेहनत यहोवाले बुझ्नुहुन्छ भनेर हामी निश्‍चित हुनसक्छौं। उहाँको नाउँको खातिर हामीले व्यक्‍त गर्ने प्रेम उहाँ कहिल्यै बिर्सनुहुनेछैन।—हिब्रू ६:१०.

आउँदै गरेको मसीही राज्य अन्तर्गतको नयाँ पृथ्वीमा सबै विश्‍वासी मानिसहरू शैतानी रीतिरिवाजको बोझबाट मुक्‍त हुने आशा गर्नसक्छन्‌। अनि हामीलाई कत्ति सन्चो हुनेछ! त्यसपछि हामीले यहोवाको हृदयको उदारता झनै प्रस्ट हुने थुप्रै प्रमाणहरू देख्नेछौं। त्यतिञ्जेल, हामी सबै “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ र सबै कुरा जान्‍नुहुन्छ” भनेर निश्‍चित होऔं।—१ यूहन्‍ना ३:२०.

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]

यहोवा कठोर शासक होइन तर न्यानो, ठूलो मनको अनि अनुकम्पापूर्ण पिता हुनुहुन्छ

[पृष्ठ ३१-मा भएको चित्र]

परमेश्‍वरको वचन अध्ययन गर्दा उहाँको जस्तै सोचाइ राख्न मदत मिल्छ