सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पृथ्वीको नयाँ शासक–परमेश्‍वरको राज्य

पृथ्वीको नयाँ शासक–परमेश्‍वरको राज्य

पृथ्वीको नयाँ शासक–परमेश्‍वरको राज्य

“त्यसले [ राज्यले] यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”–दानियल २:४४.

१. हामी बाइबलमा कस्तो किसिमको भरोसा राख्नसक्छौं?

 बाइबल परमेश्‍वरले मानवजातिलाई प्रकट गर्नुभएका कुराहरूको सँगालो हो। प्रेरित पावलले लेखे: “तिमीहरूले हामीबाट सुनेको वचन, अर्थात्‌ परमेश्‍वरको वचन पाएर, मानिसको वचन गरी जस्तो होइन, तर परमेश्‍वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गऱ्‍यौ।” (१ थिस्सलोनिकी २:१३) बाइबलमा हामीले परमेश्‍वरबारे थाह पाउनुपर्ने जानकारीहरू छन्‌। जस्तै: उहाँको व्यक्‍तित्व, उहाँका उद्देश्‍यहरू र उहाँले हामीबाट चाहनुहुने कुराहरू आदि। यसमा पारिवारिक जीवन तथा दैनिक आचरणसम्बन्धी उत्तम सल्लाह छ। यसमा पूरा भइसकेका, पूरा भइरहेका अनि पूरा हुन बाँकी भविष्यवाणीहरूको विस्तृत विवरण छ। हो, “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७.

२. येशूले बाइबलको मूल विषयमा कसरी जोड दिनुभयो?

बाइबलको सर्वमहत्त्वपूर्ण कुरा त यसको मूल विषय नै हो र त्यो हो: स्वर्गीय राज्यद्वारा परमेश्‍वरको सार्वभौमसत्ता (शासन गर्ने उहाँको अधिकार) प्रमाणित गर्ने। येशूले आफ्नो सेवकाई यसैमा केन्द्रित गर्नुभयो। येशूले प्रचार गर्दै भन्‍नलाग्नुभयो, “पश्‍चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।” (मत्ती ४:१७) यसले हाम्रो जीवनमा कस्तो स्थान पाउनुपर्छ, त्यसबारे उहाँले यस्तो आग्रह गर्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) यो कत्ति महत्त्वपूर्ण छ, त्यो आफ्ना चेलाहरूलाई परमेश्‍वरलाई यस्तो प्रार्थना गर्न सिकाउनुभएर पनि उहाँले देखाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:१०.

पृथ्वीको नयाँ शासक

३. परमेश्‍वरको राज्य हाम्रोनिम्ति किन अत्यन्त महत्त्वपूर्ण छ?

परमेश्‍वरको राज्य मानवजातिका लागि किन यत्तिबिघ्न महत्त्वपूर्ण छ? किनकि यसले अब चाँडै यस पृथ्वीको राज्यसत्ता सदाका लागि परिवर्तन गर्नेछ। दानियल २:४४ को भविष्यवाणीले यसो भन्छ: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई [पार्थिव सरकारहरूलाई] चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” परमेश्‍वरको स्वर्गीय राज्यले पूर्णतया आफ्नो शासन सुरु गरेपछि मानवजातिले फेरि कहिल्यै पृथ्वीलाई आफ्नो नियन्त्रणमा लिनेछैन। फूट अनि असन्तुष्टिले भरिएको शासन सदाका लागि बितेर जानेछ।

४, ५. (क) येशू किन परमेश्‍वरको राज्यको राजा हुन अत्यन्तै योग्य हुनुहुन्छ? (ख) निकट भविष्यमा येशूले कुन कार्यभार सम्हाल्नुहुनेछ?

यहोवाको निर्देशनमा शासन गर्ने स्वर्गीय राज्यका प्रमुख शासक, ख्रीष्ट येशू अत्यन्तै योग्य हुनुहुन्छ। सृष्टिको प्रारम्भ हुनुभएकोले उहाँ पृथ्वीमा आउनुअघि स्वर्गमा परमेश्‍वरको “कारीगर[को]” रूपमा हुनुहुन्थ्यो। (हितोपदेश ८:२२-३१, नयाँ संशोधित संस्करण) उहाँ “अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्टिको जेठो हुनुहुन्छ, किनभने उहाँमानै सबै थोक सृष्टि भएका थिए।” (कलस्सी १:१५, १६) अनि परमेश्‍वरद्वारा यस पृथ्वीमा पठाइनुहुँदा येशूले सधैंभरि परमेश्‍वरकै इच्छाअनुरूप गर्नुभयो। उहाँले कठिनभन्दा कठिन परीक्षा सहनुभयो र मृत्युसम्मै पिताप्रति वफादार रहनुभयो।—यूहन्‍ना ४:३४; १५:१०.

मृत्युसम्मै परमेश्‍वरप्रति वफादार हुनुभएको कारण येशूले इनाम पाउनुभयो। परमेश्‍वरले उहाँको पुनरुत्थान गरेर स्वर्ग लानुभयो र उहाँलाई स्वर्गीय राज्यको राजा हुने अधिकार दिनुभयो। (प्रेरित २:३२-३६) त्यस राज्यको राजाको हैसियतमा ख्रीष्ट येशूले परमेश्‍वरबाट ठूलो जिम्मेवारी पाउनुहुनेछ। यस पृथ्वीबाट मानव शासन अनि सम्पूर्ण दुष्टता हटाउन उहाँले हजारौं हजार शक्‍तिशाली आत्मिक प्राणीहरूको अगुवाइ गर्नुहुनेछ। (हितोपदेश २:२१, २२; २ थिस्सलोनिकी १:६-९; प्रकाश १९:११-२१; २०:१-३) त्यसपछि, ख्रीष्टअधिनस्थ परमेश्‍वरको स्वर्गीय राज्य नयाँ राज्य सरकार हुनेछ। हो, सारा पृथ्वीमाथि शासन गर्ने एउटै सरकार हुनेछ।—प्रकाश ११:१५.

६. राज्यका राजाले कस्तो शासन गरेको हामी आशा गर्नसक्छौं?

पृथ्वीको नयाँ शासकबारे परमेश्‍वरको वचन यसो भन्छ: “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो।” (दानियल ७:१४) येशूले परमेश्‍वरको प्रेम अनुकरण गर्नुहुने भएकोले उहाँको राज्यमा प्रशस्तै शान्ति र आनन्द हुनेछ। (मत्ती ५:५; यूहन्‍ना ३:१६; १ यूहन्‍ना ४:७-१०) “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन। . . . न्याय र धार्मिकताको साथ खड़ा गरी स्थिर . . . गर्नुहुनेछ।” (यशैया ९:७) प्रेम, न्याय र धार्मिकतासहित शासन गर्ने राजा पाउनु कत्ति ठूलो आशिष्‌! त्यसकारण, २ पत्रुस ३:१३ यस्तो भविष्यवाणी गर्छ: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग [परमेश्‍वरको स्वर्गीय राज्य] र नयाँ पृथ्वीको [नयाँ पार्थिव समाजको] बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”

७. आज मत्ती २४:१४ कसरी पूरा भइरहेको छ?

असल थोक मन पराउनेहरूका लागि परमेश्‍वरको राज्य पक्कै पनि राम्रो समाचार हो। त्यसैले, आज हामी यस दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेको चिह्नको भागस्वरूप येशूले यस्तो अग्रिमवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (२ तिमोथी ३:१-५; मत्ती २४:१४) अहिले यहोवाका करिब ६० लाख साक्षीहरूले २३४ मुलुकहरूमा अरूलाई परमेश्‍वरको राज्यबारे बताउन एक अरबभन्दा बढी घण्टा बिताएर उक्‍त अग्रिमवाणी पूरा गरिरहेका छन्‌। यो कुरा विचार गर्ने हो भने, संसारभरि करिब ९०,००० मण्डलीहरूको उपासना गर्ने ठाउँलाई राज्यभवन भन्‍नु उपयुक्‍त देखिन्छ। त्यहाँ मानिसहरू आउँदै गरेको नयाँ सरकारबारे सिक्न आउँछन्‌।

सहशासकहरू

८, ९. (क) ख्रीष्टका सहशासकहरू कहाँबाट छानिएका हुन्‌? (ख) राजा र तिनका सहशासकहरूको शासनमा हामी कस्तो प्रकारको भरोसा राख्नसक्छौं?

परमेश्‍वरको स्वर्गीय राज्यमा ख्रीष्ट येशूका सहशासकहरू पनि हुनेछन्‌। प्रकाश १४:१-४ मा “पृथ्वीबाट किनिएका” १,४४,००० मानिसहरू र तिनीहरूले पाउने स्वर्गीय जीवनको पुनरुत्थानबारे अगमवाणी गरिएको छ। यस समूहमा सेवा खोज्ने होइन तर विनम्रतासाथ परमेश्‍वर र सँगी मानवहरूको सेवा गर्ने स्त्री तथा पुरुषहरू समावेश छन्‌। “तिनीहरू परमेश्‍वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।” (प्रकाश २०:६) यो संख्या यस रीतिरिवाजको अन्तमा जोगिने “कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़[को]” भन्दा निकै थोरै छ। यो ठूलो भीडका सदस्यहरूले पनि परमेश्‍वरको “दिन-रात” सेवा गर्छन्‌ तर तिनीहरूसित स्वर्गीय बोलावट छैन। (प्रकाश ७:९, १५) यिनीहरू नै परमेश्‍वरको स्वर्गीय राज्यको प्रजाको रूपमा नयाँ पृथ्वीको केन्द्र बन्‍नेछन्‌।—भजन ३७:२९; यूहन्‍ना १०:१६.

ख्रीष्टसित स्वर्गमा शासन गर्न योग्य व्यक्‍ति छान्‍नुहुँदा यहोवाले जीवनका सम्पूर्ण समस्याहरू भोगिसकेका विश्‍वासी मानिसहरूलाई छान्‍नुभयो। मानिसले भोगेका हर थोक यी राजा तथा पूजाहारीहरूले पूरापूर अनुभव गरेका छन्‌। यसप्रकार तिनीहरूले यस पृथ्वीमा बिताएको जीवनले मानिसमाथि शासन गर्न तिनीहरूलाई अझ योग्य तुल्याउनेछ। येशूले पनि आफूले “भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो।” (हिब्रू ५:८) प्रेरित पावलले उहाँबारे यसो भने: “हाम्रा प्रधान पूजाहारी हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने होइन। तर सबै कुरामा हामीजस्तै परीक्षित, र पनि पापरहित हुनुहुन्छ।” (हिब्रू ४:१५) परमेश्‍वरको धार्मिक नयाँ संसारमा मानिसहरूमाथि मायालु, संवेदनशील राजा तथा पूजाहारीहरूले शासन गर्नेछन्‌ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ!

के यो राज्य परमेश्‍वरको उद्देश्‍य थियो ?

१०. स्वर्गीय राज्य किन परमेश्‍वरको मूल उद्देश्‍यको भाग थिएन?

१० के स्वर्गीय राज्य परमेश्‍वरले आदम र हव्वा सृजनु हुँदाको मूल उद्देश्‍यको भाग थियो? उत्पत्तिको सृष्टिको विवरणमा मानिसजातिमाथि शासन गर्ने राज्यबारे केही पनि उल्लेख गरिएको छैन। यहोवा आफै तिनीहरूको शासक हुनुहुन्थ्यो र तिनीहरूले उहाँको आज्ञा पालन गरुञ्जेल अर्को शासनको आवश्‍यकता थिएन। उत्पत्ति अध्याय १ ले देखाएअनुसार यहोवाले आफ्नो पहिलो स्वर्गीय पुत्रमार्फत आदम र हव्वासित व्यवहार गर्नुभएको हुनसक्छ। उक्‍त विवरणमा “परमेश्‍वरले तिनीहरूलाई . . . भन्‍नुभयो” र “परमेश्‍वरले भन्‍नुभयो” जस्ता अभिव्यक्‍तिहरू प्रयोग गरिएका छन्‌।—उत्पत्ति १:२८, २९; यूहन्‍ना १:१.

११. मानिसजातिले कस्तो सिद्ध सुरुआत पाएका थिए?

११ बाइबल यसो भन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) अदनको बगैंचामा भएका सबथोक पूर्णतया सिद्ध थिए। आदम र हव्वा प्रमोदवनमा बस्थे। तिनीहरूसित सिद्ध मन तथा सिद्ध शरीर थियो। तिनीहरू आफ्नो सृष्टिकर्तासित कुरा गर्नसक्थे भने उहाँ तिनीहरूसित। विश्‍वासी भइरहेमा तिनीहरूले सिद्ध छोराछोरी जन्माउन सक्थे। नयाँ स्वर्गीय सरकार आवश्‍यक नै थिएन।

१२, १३. सिद्ध मानिसहरू बढ्‌दै गए तापनि परमेश्‍वरले तिनीहरूसित कसरी कुरा गरिरहन सक्नुहुन्थ्यो?

१२ मानव परिवार बढ्‌दै जाँदा परमेश्‍वरले तिनीहरू सबैसित कसरी कुरा गर्नुहुन्थ्यो? स्वर्गमा भएका ताराहरूलाई विचार गर्नुहोस्‌। यी ताराहरूलाई आकाशगंगा अर्थात्‌ ब्रह्‍माण्डका टापुहरूको रूपमा झुन्ड झुन्ड गरी छुट्याइएका छन्‌। कुनै कुनै आकाशगंगामा लगभग एक अरब तारा हुन्छन्‌। अन्य कतिपयमा भने लगभग दस खरब ताराहरू हुन्छन्‌। अनि वैज्ञानिकहरूको अनुमानअनुसार पृथ्वीबाट देख्न सकिने ब्रह्‍माण्डमा मात्र यस्ता करिब एक खरब जत्ति आकाशगंगाहरू छन्‌! यद्यपि, सृष्टिकर्ता यसो भन्‍नुहुन्छ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”—यशैया ४०:२६.

१३ परमेश्‍वरले यी सम्पूर्ण स्वर्गीय नक्षत्रहरूको लेखा राख्न सक्नुहुन्छ भने यसको तुलनामा थोरै संख्यामा भएका मानिसहरूको लेखा राख्नु उहाँको लागि कुनै गाह्रो कुरा होइन। अहिले पनि उहाँका लाखौं सेवकहरू दिनहुँ उहाँलाई प्रार्थना गर्छन्‌। यी प्रार्थनाहरू तुरुन्तै परमेश्‍वरकहाँ पुग्छन्‌। त्यसकारण, सिद्ध मानिसहरूसित कुरा गर्नु उहाँको निम्ति कुनै समस्या नै हुने थिएन। तिनीहरूको लेखा राख्न उहाँलाई स्वर्गीय राज्य चाहिंदैनथ्यो। यहोवालाई शासकको रूपमा पाउनु, उहाँसित सीधै सम्पर्क राख्नसक्नु अनि कहिल्यै नमर्ने जीवनको प्रत्याशा हुनु र पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न पाउनु कस्तो उदेकलाग्दो प्रबन्ध!

“मानिसहरूको मार्ग त्यो आफैमा छैन”

१४. मानवजातिलाई किन सधैं यहोवाको शासन चाहिनेछ?

१४ तथापि, मानिसहरू सिद्धै भए तापनि तिनीहरूलाई सधैंभरि यहोवाको शासन चाहिन्थ्यो। किन? किनकि यहोवाले मानिसलाई उहाँको शासनबाट स्वतन्त्र भएर सफल हुने गरी सृष्टि गर्नुभएको थिएन। अगमवक्‍ता यर्मियाले स्वीकारेझैं त्यो मानवजातिको व्यवस्था हो: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन। हे परमप्रभु, मलाई सुधार्नुहोस्‌।” (यर्मिया १०:२३, २४) परमेश्‍वरको शासनबिना सफलतासाथ समाजमा व्यवहार चलाउन सकिन्छ भनेर सोच्नु मानिसजातिको मूर्खता हुने थियो। यो तिनीहरूको बनौट विपरीत हुनेथियो। यहोवाको शासनबाट स्वतन्त्र हुन खोजेमा पक्कै पनि त्यसको परिणाम स्वार्थ, घृणा, क्रूरता, हिंसा, युद्ध अनि मृत्यु हुने थियो। ‘एउटा मानिसले अर्को मानिसलाई दुःख दिने थियो।’—उपदेशक ८:९.

१५. हाम्रा प्रथम मातापिताले गरेको गलत छनौटको परिणाम के भयो?

१५ दुःखको कुरा, हाम्रा प्रथम मातापिताले परमेश्‍वरलाई आफ्नो शासकको रूपमा अस्वीकार गर्ने निर्णय गरे र उहाँबाट स्वतन्त्र भएर जीवन बिताउने छनौट गरे। फलतः परमेश्‍वरले तिनीहरूलाई सिद्ध राखिरहनुभएन। त्यसपछि, तिनीहरू तार थुतिएका विद्युतीय यन्त्रहरूजस्तै भए। अतः समय बित्दै जाँदा तिनीहरूको जीवनको गति विस्तारै कम हुँदै जाने थियो र अन्ततः थामिने थियो अर्थात्‌ तिनीहरू मर्ने थिए। तिनीहरू त्रुटीपूर्ण नमुना भए र त्यही नमुनामा तिनीहरूका छोराछोरीहरू जन्मिए। (रोमी ५:१२) “उहाँनै [यहोवानै] चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्‌। . . . तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू उहाँको सन्तान हुनसक्‍तैनन्‌।” (व्यवस्था ३२:४, ५) हो, आफूलाई शैतान बनाउने आत्मिक प्राणीको प्रभावमा आदम र हव्वा परेका थिए तर तिनीहरूसित सिद्ध मन थियो र तिनीहरूले त्यसका गलत सुझाउहरू तिरस्कार गर्नसक्थे।—उत्पत्ति ३:१-१९; याकूब ४:७.

१६. परमेश्‍वरबाट स्वतन्त्र हुन खोज्दाको परिणामबारे इतिहासले कसरी साक्षी दिन्छ?

१६ परमेश्‍वरबाट स्वतन्त्र हुन खोज्दाको परिणामको साक्षी इतिहासले दिएको छ। हजारौं वर्षसम्म मानिसहरूले हर प्रकारका मानव सरकार, आर्थिक तथा सामाजिक प्रणाली अपनाएर हेरे। यद्यपि, दुष्टता “झन्‌ झन्‌ खराब हुँदै” गइरहेको छ। (२ तिमोथी ३:१३) बीसौं शताब्दीले त्यही कुरा प्रमाणित गऱ्‍यो। इतिहासकै अचाक्ली घृणा, चर्को हिंसा, युद्ध, भोकमरी, गरिबी तथा दुःखकष्ट यही शताब्दीमा भयो। अनि औषधोपचारको क्षेत्रमा जस्तोसुकै उन्‍नति होस्‌ आखिर ढिलो, चाँडो, सबै मर्छन्‌। (उपदेशक ९:५, १०) आफ्नो पाइलालाई आफै ठीक मार्गमा हिंडाउने प्रयास गर्न खोज्ने मानिसजाति शैतान र त्यसका प्रेतहरूको यत्तिबिघ्न सिकार भए कि बाइबलले शैतानलाई “यस संसारको देव” भनेर समेत सम्बोधन गर्छ।—२ कोरिन्थी ४:४.

स्वेच्छा वरदान थियो

१७. परमेश्‍वरले उपहारस्वरूप दिनुभएको स्वेच्छाको कसरी प्रयोग गर्नुपर्ने थियो?

१७ यहोवाले किन मानवजातिलाई आ-आफ्नै बाटोमा लाग्न दिनुभयो त? किनकि उहाँले तिनीहरूलाई स्वेच्छाको वरदानसहित अर्थात्‌ छनौट गर्ने स्वतन्त्रतासहित सृष्टि गर्नुभएको थियो। यसबारे प्रेरित पावलले यसो भने, “जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) आफूले के भन्‍नुपर्ने र के गर्नुपर्ने हो, त्यो प्रत्येक सेकेन्ड अरूले नै निर्णय गर्ने गरी कोही पनि यन्त्र मानवजस्तो हुन चाहँदैन। तर यहोवा मानवजातिले यस स्वेच्छाजस्तो वरदानको जिम्मेवारीपूर्ण उपभोग गरोस्‌, उहाँको इच्छाअनुसार चल्नु अनि अधीनमा रहनु बुद्धिमानी हो भनेर बुझोस्‌ भन्‍ने चाहनुहुन्थ्यो। (गलाती ५:१३) त्यसकारण, मानिसले पाएको स्वतन्त्रता पूर्ण स्वतन्त्रता थिएन, अन्यथा अराजकता मच्चिने थियो। परमेश्‍वरको दयालु व्यवस्थाको परिधिभित्र मानवजातिको स्वतन्त्रताको परिचालन हुनुपर्थ्यो।

१८. मानिसलाई स्वेच्छाको प्रयोग गर्न दिनुभएर परमेश्‍वरले के प्रकट गर्नुभएको छ?

१८ मानव परिवारलाई आ-आफ्नै बाटोमा लाग्न दिनुभएर परमेश्‍वरले सदा सदाका लागि हामीलाई उहाँको शासन चाहिन्छ भनेर देखाउनुभयो। उहाँको शासन अनि सार्वभौमिकता एक मात्र सही मार्ग हो। त्यसले मात्र भरपूर आनन्द, सन्तुष्टि तथा सफलता दिनसक्छ। किनकि, उहाँको व्यवस्थाअनुरूप अझ राम्ररी काम गर्नसक्ने गरी यहोवाले हाम्रो तनमनको रचना गर्नुभएको थियो। “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” (यशैया ४८:१७) परमेश्‍वरले तोक्नुभएको परिधिभित्र रहेर स्वेच्छाको उपभोग गर्दा त्यसको नतिजा बोझ होइन तर थरीथरीका आनन्ददायी भोजन, घर, कला तथा संगीतको आनन्दै आनन्द हुने थियो। स्वेच्छाको उचित प्रयोग गरेको भए मानिसजातिले पार्थिव प्रमोदवनमा उदेकलाग्दो अनि आनन्दमय जीवनको आनन्द उठाइरहेका हुनेथिए।

१९. मानवजातिलाई आफूसित मिलापमा ल्याउन परमेश्‍वरले कुन माध्यम प्रयोग गर्नुहुन्छ?

१९ तर गलत छनौटको कारण मानवजाति परमेश्‍वरबाट बिराना भएर असिद्ध भए, खस्कँदै गए र अन्ततः मरे। त्यसकारण, तिनीहरूलाई यस्तो दुःखदायी अवस्थाबाट छुटाएर परमेश्‍वरका छोराछोरीसरह उहाँसित फेरि उचित सम्बन्ध गाँस्न लगाउनु परेको थियो। यसो गर्न परमेश्‍वरले चुन्‍नुभएको माध्यम उहाँको राज्य हो र उद्धारकचाहिं येशू ख्रीष्ट हुनुहुन्छ। (यूहन्‍ना ३:१६) साँच्चै पश्‍चात्ताप गर्नेहरू अर्थात्‌ येशूले दृष्टान्तमा बताउनुभएको उडन्ता पुत्रजस्ता व्यक्‍तिहरूले यस प्रबन्धद्वारा परमेश्‍वरसित मेलमिलाप राख्नेछन्‌ अनि परमेश्‍वरले तिनीहरूलाई आफ्नै सन्तान सरह ग्रहण गर्नुहुनेछ।—लूका १५:११-२४; रोमी ८:२१; २ कोरिन्थी ६:१८.

२०. परमेश्‍वरको राज्यले उहाँको उद्देश्‍य कसरी पूरा गर्नेछ?

२० पक्कै पनि परमेश्‍वरको इच्छा यस पृथ्वीमा पूरा हुनेछ। (यशैया १४:२४, २७; ५५:११) ख्रीष्टले शासन गर्नुहुने उहाँको राज्यमार्फत परमेश्‍वरले आफ्नो सार्वभौमिकता पूर्णतया उच्च (दोषमुक्‍त वा सत्य) साबित गर्नुहुनेछ। त्यस राज्यले यस पृथ्वीमाथि मानिसको अनि प्रेतहरूको शासनको अन्त गर्नेछ र हजार वर्षसम्म त्यस स्वर्गीय राज्यले मात्र शासन गर्नेछ। (रोमी १६:२०; प्रकाश २०:१-६) तर त्यस समयको दौडान परमेश्‍वरको शासन अत्युत्तम छ भनेर तरिका कसरी प्रमाणित हुनेछ? अनि हजार वर्षपछि उक्‍त राज्यको भूमिका के रहनेछ? यसपछिको लेखले यी प्रश्‍नहरू छलफल गर्नेछ।

पुनरावृत्तिका लागि बुँदाहरू

• बाइबलको मूल विषय के हो?

• को को मिलेर पृथ्वीको नयाँ शासकवर्ग बनेको छ?

• मानवजातिले परमेश्‍वरबाट स्वतन्त्र भएर शासन गर्न खोजेमा त्यो किन सफल हुनसक्दैन?

• स्वेच्छा कसरी प्रयोग गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[ष्ठ १०-मा भएको चि]

येशूको शिक्षाले परमेश्‍वरको शासनमाथि जोड दियो

[ष्ठ १२-मा भएका चित्रहरू]

हरेक मुलुकमा यहोवाका साक्षीहरू परमेश्‍वरको राज्यलाई आफ्नो शिक्षाको मूल विषय बनाउँछन्‌

[ष्ठ १४-मा भएका चित्रहरू]

परमेश्‍वरबाट स्वतन्त्र भएर नतिजा खराबै मात्र भएको छ भनेर इतिहासले प्रमाण दिन्छ

[स्रोत]

WWI soldiers: U.S. National Archives photo; concentration camp: Oświęcim Museum; child: UN PHOTO 186156/J. Isaac