सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्यले के गर्नेछ

परमेश्‍वरको राज्यले के गर्नेछ

“तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”–मत्ती ६:१०.

१. परमेश्‍वरको राज्य आउनुको अर्थ के हो?

 येशूले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यका लागि प्रार्थना गर्न सिकाउनुभयो। किनकि त्यसले परमेश्‍वरबाट स्वतन्त्र भएर मानिसजातिले हजारौं वर्षसम्म गरेको शासनको अन्त गर्नेछ भनेर उहाँलाई थाह थियो। साँच्चै भन्‍ने हो भने, त्यतिबेला यस पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा भइसकेको थिएन। (भजन १४७:१९, २०) तर स्वर्गमा उक्‍त राज्य स्थापित भइसकेपछि परमेश्‍वरको इच्छा जताततै पूरा हुनेछ। मानव शासनको अन्त भएर परमेश्‍वरको स्वर्गीय राज्यले शासन सुरु गर्ने त्यो अद्‌भुत परिवर्तन झन्‌ झन्‌ नजिकिंदैछ।

२. मानव शासन अन्त भएर परमेश्‍वरको राज्य सरकार स्थापित हुने समय सुरु भयो भनी केले देखाउनेछ?

यो अन्तरिम कालमा येशूले “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ” भन्‍नुभएको थियो। (मत्ती २४:२१) अन्तरिम काल कति लामो हुन्छ, बाइबलले बताएको छैन तर त्यतिखेर संसारले आजसम्म नभोगेका विपत्तिहरू हुनेछन्‌। महासंकष्टको सुरुमा यस पृथ्वीका अधिकांश मानिसहरू एकदमै स्तब्ध हुने घटना हुनेछ। त्यो हो, सम्पूर्ण झूटो धर्मको विनाश। तर यसले यहोवाका साक्षीहरूलाई स्तब्ध पार्नेछैन किनकि यस्तो हुने नै छ भनेर तिनीहरूले पर्खिरहेका छन्‌। (प्रकाश १७:१, १५-१७; १८:१-२४) परमेश्‍वरको राज्यले आरमागेडोनमा शैतानको सम्पूर्ण रीतिरिवाजलाई नाश गरेपछि महासंकष्ट अन्त हुनेछ।—दानियल २:४४; प्रकाश १६:१४, १६.

३. अनाज्ञाकारी व्यक्‍तिहरूको हविगत के हुनेछ भनेर यर्मियाले बताए?

‘परमेश्‍वरलाई नचिन्‍नेहरू र सुसमाचार नमान्‍नेहरूका’ लागि ख्रीष्टले शासन गर्नुहुने स्वर्गीय राज्यको अर्थ के हुनेछ? (२ थिस्सलोनिकी १:६-९) बाइबल अगमवाणी हामीलाई यसो भन्छ: “हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिंदै जानेछ, पृथ्वीको पल्लो भागदेखि एउटा ठूलो तूफान चल्नेछ। त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्‌। तिनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, नता ती लाशहरूलाई कसैले जम्मा गर्नेछ, न गाड़नेछ। तिनीहरू जमीनमा मल हुनेछन्‌।”—यर्मिया २५:३२, ३३.

दुष्टताको अन्त

४. यहोवाले यस दुष्ट रीतिरिवाजको अन्त गर्नु किन जायज छ?

यहोवा परमेश्‍वरले दुष्टतालाई सहनुभएको हजारौं वर्ष भइसक्यो। असल हृदय भएका मानिसहरूका लागि मानव शासन विपत्तिजनक छ भनेर बुझ्न यति समय पर्याप्त छ। उदाहरणका लागि, एउटा स्रोतअनुसार २० औं शताब्दीमा मात्रै युद्ध, क्रान्ति तथा गृह कलहहरूमा परेर १५ करोडभन्दा बढी मानिसहरू मारिए। मानिसको दुष्टता विशेष गरी दोस्रो विश्‍वयुद्धताक देखियो। त्यतिखेर लगभग पाँच करोड मानिसहरू मारिए। तीमध्ये थुप्रै त नाजी यातना शिविरमा बीभत्स तरिकामा मारिएका थिए। बाइबलले भविष्यवाणी गरेझैं ‘खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब भएका छन्‌।’ (२ तिमोथी ३:१-५, १३) आज, अनैतिकता, अपराध, हिंसा, भ्रष्टाचार तथा ईश्‍वरीय स्तरको अनादर व्याप्त छ। यसकारण, यहोवाले अब यस दुष्ट रीतिरिवाजको अन्त गर्नु पूर्णतया जायज छ।

५, ६. पुरातन कनानमा व्याप्त दुष्टताबारे व्याख्या गर्नुहोस्‌।

आजको परिस्थिति करिब ३,५०० वर्षअघि कनानको जस्तै छ। बाइबल यसो भन्छ: “परमप्रभुको दृष्टिमा सबै घृणित र अशुद्ध काम तिनीहरूले आफ्ना देवताहरूका लागि गरेका छन्‌। तिनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूका लागि आगोमा होमिदिन्छन्‌।” (व्यवस्था १२:३१) यहोवाले इस्राएल राष्ट्रलाई यस्तो चेताउनी दिनुभयो: “यी जातिको दुष्टताले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले यिनीहरूलाई तिमीहरूका सामनेबाट निकाल्नुहुनेछ।” (व्यवस्था ९:५) बाइबल इतिहासकार हेन्री एच. हेलीले यस्तो टिप्पणी गरे: “बाल, अश्‍तारोत अनि अन्य कनानी देवहरूको पूजा गर्नुपर्दा अति भव्य, छाडा पर्वहरू मनाइन्थे; तिनीहरूका मन्दिरहरू कुकर्म गर्ने ठाउँ हुन्थे।”

तिनीहरूको दुष्टता कतिसम्म चुलिएको थियो भने, यस्ता थुप्रै ठाउँमा उत्खननवेत्ताहरूले बाललाई बलि चढाइएका केटाकेटीहरूको अस्थि भएका माटोका थुप्रै भाँडा फेला पारेको कुरा पनि हेलीले बताए। तिनले भने: “सम्पूर्ण इलाका भर्खर जन्मेका शिशूहरूको चिहानजस्तै थियो। . . . कनानीहरू अनैतिकतामा चुर्लुम्म डुबेर आफ्ना देवदेवीहरूको उपासना गर्थे अनि त्यसपछि त्यही देवहरूलाई आफ्नो जेठो सन्तान बलि चढाउँथे। यस्तो लाग्छ, पूरै कनान देश सदोम र गमोरा नै भएको थियो। . . . त्यस्तो घीनलाग्दो अनि क्रूर काम गर्ने सभ्यतालाई अस्तित्वमा रहन दिने कुनै हक छ? . . . कनानी शहरहरूका भग्नावशेषहरू खनेर हेर्ने उत्खननवेत्ताहरू परमेश्‍वरले अझ पहिल्यै ती शहरहरूको नाश किन नगर्नुभएको होला भनेर छक्क पर्छन्‌।”

पृथ्वीमा अधिकार

७, ८. परमेश्‍वरले यस पृथ्वीलाई कसरी सफा गर्नुहुनेछ?

परमेश्‍वरले कनानलाई हटाएर सफा गर्नुभएझैं अब चाँडै सारा पृथ्वीलाई पनि सफा गर्नुहुनेछ र उहाँको इच्छाबमोजिम गर्नेहरूलाई सुम्पिदिनुहुनेछ। जस्तो लेखिएको छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।” (हितोपदेश २:२१, २२) अनि भजनरचयिता यसो भन्छन्‌: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:१०, ११) “हजार वर्ष भुक्‍तान नहोउञ्जेल . . . जाति जातिलाई फेरि नठगोस्‌ भनेर” शैतानलाई पनि हटाइनेछ। (प्रकाश २०:१-३) हो, “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७.

पृथ्वीमा सदासर्वदा रहन चाहनेहरूको महान्‌ आशालाई सारांशमा येशूले यसो भन्‍नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” (मत्ती ५:५) उहाँले भजन ३७:२९ बाट उल्लेख गर्नुभएको हुनसक्छ। त्यहाँ यस्तो लेखिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” असल हृदय भएकाहरू सदासर्वदा पृथ्वीमा रहून्‌ भन्‍ने यहोवाको उद्देश्‍य थियो भनी येशूलाई थाह थियो। यहोवा भन्‍नुहुन्छ: “यो पृथ्वी, यस पृथ्वीमा भएका मानिसहरू र पशुहरू समेतलाई मैलेनै आफ्नो महा–शक्‍ति[ले] . . . बनाएको होइन? औ जसलाई इच्छा गर्छु त्यसलाई म त्यो दिन्‍नँ?”—यर्मिया २७:५.

अद्‌भुत नयाँ संसार

९. परमेश्‍वरको राज्यले कस्तो संसार बसाल्नेछ?

आरमागेडोनपछि परमेश्‍वरको राज्यले अद्‌भुत “नयाँ संसार” बसाल्नेछ “जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) यस शोषक दुष्ट रीतिरिवाजको पन्जाबाट मुक्‍त हुन पाउनु आरमागेडोनमा बच्नेहरूका लागि कत्ति हाइसन्चो हुनेछ! स्वर्गीय राज्य सरकारको अधीनमा चल्ने धार्मिक नयाँ संसारमा अद्‌भुत आशिष्‌ तथा अनन्त जीवनको प्रत्याशासहित प्रवेश गर्न पाउँदा तिनीहरू कत्ति हर्षित हुनेछन्‌!—प्रकाश ७:९-१७.

१०. परमेश्‍वरको राज्य शासन सुरु भएपछि कस्ता नराम्रा कुराहरू हुनेछैनन्‌?

१० मानिसहरूले युद्ध, अपराध, भोकमरी वा हिंस्रक जनावरहरूदेखि डराउनुपर्ने छैन। “तिनीहरूकै उन्‍नतिको निम्ति म [मेरा मानिसहरूसित] एउटा करार बाँध्नेछु। म जङ्‌गली जानवरहरूलाई निकाल्नेछु, . . . खेतमा भएका रूखहरूले फल दिनेछन्‌, भूमिले आफ्नो फसल दिनेछ, र मानिसहरू मनमा चैन लिएर निज भूमिमा बस्नेछन्‌।” “तिनीहरूले आफ्नो तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्‌। जाति जातिहरूले एका अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्‌, नता तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न सिक्नेछन्‌। तर तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—इजकिएल ३४:२५-२८; मीका ४:३, ४.

११. शारीरिक रोगको पनि अन्त हुनेछ भनेर हामी किन ढुक्क हुनसक्छौं?

११ रोगबिमार, दुःखकष्ट र मृत्युसमेत हटाइनेछ। “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें’ त्यहाँ बस्ने मानिसहरूका अधर्म क्षमा गरिनेछ।” (यशैया ३३:२४) “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌। . . . ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ ” (प्रकाश २१:४, ५) परमेश्‍वरले दिनुभएको शक्‍तिद्वारा यी कुराहरू गर्न सम्भव छ भनेर पृथ्वीमा हुनुहुँदा येशूले आफ्नो क्षमताद्वारा प्रकट गरिसक्नुभएको छ। पवित्र आत्माको सहयोग पाएर येशूले देशभरि लंगडा र रोगीहरू सबैलाई निको पार्दै हिंड्‌नुभयो।—मत्ती १५:३०, ३१.

१२. मरिसकेका मानिसहरूका लागि के आशा छ?

१२ येशूले अझै अरू काम पनि गर्नुभयो। उहाँले मरिसकेका मानिसहरूलाई बिउँताउनुभयो। यो देखेर विनम्र मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? उहाँले १२ वर्षकी केटीको पुनरुत्थान गर्नुहुँदा तिनका आमाबाबु “एक्कासि साह्रै छक्कमाथि छक्क परे।” (मर्कूस ५:४२) पृथ्वीमा आफ्नो शासन सुरु भएपछि येशूले पृथ्वीमा गर्नुहुने कामहरूको यो अर्को उदाहरण हो किनकि त्यतिखेर “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) एकपछि अर्को गर्दै हूलका हूल मानिसहरू फेरि जीवित भएर आफ्ना प्रियजनहरूसित भेटघाट गर्दा कत्ति आनन्दको कुरा हुनेछ होला, कल्पना गर्नुहोस्‌ त! निस्सन्देह, त्यतिबेला परमेश्‍वरको राज्यको संरक्षणमा बृहत्‌ शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ ताकि “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण” होस्‌।—यशैया ११:९.

यहोवाको सार्वभौमिकता उच्च पारिनेछ

१३. परमेश्‍वरले शासन गर्नु उचित छ भनेर कसरी प्रकट हुनेछ?

१३ यस राज्य सरकारको हजार वर्षीय शासनको अन्तमा सारा मानव परिवारको तनमन पूर्णतया सिद्ध भइसकेको हुनेछ। पृथ्वी विश्‍वव्यापी अदनको बगैंचा, प्रमोदवन हुनेछ। शान्ति, आनन्द, सुरक्षा अनि मायालु मानव समाज बसालिनेछ। मानव इतिहासले कहिल्यै यस्तो शासन देख्न पाएको छैन। मानव सरकारले हजारौं वर्षसम्म गरेको शासन र परमेश्‍वरको स्वर्गीय राज्यले हजार वर्षसम्म गरेको महिमित शासनबीचको ठूलो भिन्‍नता प्रस्टै देखिनेछ! परमेश्‍वरले आफ्नो राज्यमार्फत चलाउनुहुने शासन हर तवरमा पूर्णतया उच्च पारिनेछ। त्यसबेला शासन गर्ने परमेश्‍वरको अधिकार, उहाँको सार्वभौमिकता अचुक रूपमा प्रमाणित हुनेछ।

१४. हजार वर्ष अन्त भएपछि विद्रोह गर्नेहरूलाई के हुनेछ?

१४ हजार वर्षको अन्तमा यहोवाले सिद्ध मानव जातिलाई तिनीहरू कसको सेवा गर्न चाहन्छन्‌, त्यसैलाई स्वेच्छासाथ छनौट गर्ने अनुमति दिनुहुनेछ। बाइबलले “शैतान त्यसको कैदबाट छुट्‌नेछ” भनेर बताउँछ। त्यसले फेरि मानवजातिलाई भर्माउन प्रयास गर्नेछ र कसै कसैले परमेश्‍वरबाट स्वतन्त्र हुने छनौट पनि गर्नेछन्‌। ‘शत्रुहरूमाथि दोस्रो पल्ट साटो फेर्न’ नपरोस्‌ भनेर यहोवाले शैतानलगायत त्यसका प्रेतहरू अनि यहोवाको सार्वभौमिकताको विरोध गर्नेहरू सबैको नामोनिसान मेटाइदिनुहुनेछ। सधैंभरिका लागि नाश हुने मानिसहरूले मौकै पाएनन्‌ अथवा असिद्धताको कारण पो भूल गरेका थिए भनेर त्यतिखेर कसैले पनि बहाना गर्न पाउनेछैनन्‌। हो, तिनीहरूले विरोध गर्नसक्ने छैनन्‌ किनकि त्यतिखेर तिनीहरू राजिखुसीले परमेश्‍वरको धार्मिक शासनको विरोध गर्न छनौट गर्ने आदम र हव्वा जत्तिकै सिद्ध भइसकेका हुनेछन्‌।—प्रकाश २०:७-१०; नहूम १:९.

१५. वफादार जनहरूले परमेश्‍वरसित कस्तो सम्बन्ध कायम गर्न पाउनेछन्‌?

१५ अर्कोतिर, सायद थुप्रै मानिसले यहोवाको सार्वभौमिकतालाई समर्थन गर्ने छनौट गर्नेछन्‌। सबै विद्रोहीहरू नामेट भइसकेपछि, वफादारीको अन्तिम परीक्षामा सफल भएका धर्मी जनहरू परमेश्‍वरसामु खडा हुनेछन्‌। त्यसपछि यी वफादार जनहरूलाई यहोवाले आफ्ना छोराछोरीको रूपमा ग्रहण गर्नुहुनेछ। यसप्रकार, विद्रोह गर्नुअघि आदम र हव्वाको परमेश्‍वरसित जस्तो सम्बन्ध थियो, तिनीहरूको पनि त्यस्तै सम्बन्ध कायम हुनेछ। तब, रोमी ८:२१ पूरा हुनेछ: “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले [मानवजातिले] पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” अगमवक्‍ता यशैया यस्तो अग्रिमवाणी गर्छन्‌: “[परमेश्‍वरले] मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।”—यशैया २५:८.

अनन्त जीवनको आशा

१६. अनन्त जीवनको इनामलाई पर्खनु किन उचित छ?

१६ परमेश्‍वरले तिनीहरूमाथि सदासर्वदा आध्यात्मिक तथा भौतिक आशिष्‌हरू बर्षाउनुहुनेछ भनेर थाह पाउनु विश्‍वासी जनहरूका लागि साँच्चै ठूलो प्रत्याशा हो! भजनरचयिताले ठीकै भने: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको [उचित] इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजन १४५:१६) यहोवा आफ्ना पार्थिव समूहका सदस्यहरूले उहाँमाथिको आफ्नो विश्‍वासको एक भागको रूपमा प्रमोदवनमा जीवन बिताउने आशा राख्न प्रोत्साहन दिनुहुन्छ। यहोवाको सार्वभौमिकता सबैभन्दा महत्त्वपूर्ण विषय भए तापनि उहाँले मानिसहरूलाई बिना इनाम आफ्नो सेवा गर्न लगाउनुभएको छैन। बाइबलभरि यहोवाप्रतिको वफादारी अनि अनन्त जीवनको आशालाई परमेश्‍वरमाथिको मसीही विश्‍वासको अभिन्‍न भागको रूपमा प्रस्तुत गरिएको छ। “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू ११:६.

१७. आफ्नो आशालाई सम्झँदै आफूलाई थाम्नु उचित छ भनेर येशूले कसरी देखाउनुभयो?

१७ येशूले भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) यहाँ उहाँले परमेश्‍वरलाई चिन्‍नु र उहाँको उद्देश्‍य थाह पाउनुलाई त्यसको इनामसित तुलना गर्नुभयो। उदाहरणका लागि, एक जना पापीले येशूलाई उहाँ राज्यशक्‍तिमा आउनुहुँदा मलाई पनि सम्झनुहोस्‌ भन्दा येशूले यसो भन्‍नुभयो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लूका २३:४३, NW) उहाँले त्यस व्यक्‍तिलाई इनाम नपाए तापनि विश्‍वास गर भन्‍नुभएन। यस संसारमा थुप्रै परीक्षाहरू भोग्नुपर्दा पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउन पाउने आशाले आफ्ना सेवकहरूलाई दृढ हुन मदत गर्ने भएकोले यहोवा आफ्ना सेवकहरूले उक्‍त आशा राखेको चाहनुहुन्छ भनेर येशूलाई थाह थियो। अतः इनामलाई पर्खनु मसीहीलाई धैर्य धारण गर्न चाहिने अत्यावश्‍यक मदत हो।

परमेश्‍वरको राज्यको भविष्य

१८, १९. हजार वर्षीय राज्य शासनको अन्तमा राजा तथा राज्यलाई के हुनेछ?

१८ हजार वर्षीय राज्य पृथ्वी तथा मानवजातिलाई सिद्धता अनि आफूसित मेलमिलापमा ल्याउन यहोवाले चलाउनुभएको एउटा अन्तरिम सरकार हो भने, सहस्र वर्षपछि राजा येशू ख्रीष्ट र १,४४,००० राजा तथा पूजाहारीहरूको भूमिका के हुनेछ? “जब उहाँले सारा प्रभुत्व, सारा अख्तियार र शक्‍ति नामेट गरेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्य सुम्पिदिनुहुनेछ, तब अन्त हुन्छ। किनकि उहाँले सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ।”—१ कोरिन्थी १५:२४, २५.

१९ ख्रीष्टले परमेश्‍वरलाई राज्य फिर्ता दिइसकेपछि यो राज्य सदासदासम्म रहनेछ भनी बताइएका धर्मशास्त्रीय पदहरूलाई कुन अर्थमा बुझ्नुपर्ने हो त? यस अर्थमा कि यस राज्यले हासिल गरेका उपलब्धिहरू सदासर्वदा रहिरहनेछन्‌। यहोवाको सार्वभौमिकता उच्च पार्न ख्रीष्टले निर्वाह गर्नुभएको भूमिकाको निम्ति उहाँको सधैं आदर गरिनेछ। तर त्यतिबेला पाप र मृत्यु सदाका लागि हटाइ सकिने भएकाले र मानिसजातिले मुक्‍ति पनि पाइसकिएको हुने भएकाले मुक्‍तिदाताको रूपमा उहाँको काम पनि सिद्धिनेछ। हजार वर्षीय राज्यको शासनावधि पूरा भइसकेपछि यहोवा र आज्ञाकारी मानिसजातिबीच कुनै अन्तरिम सरकारको आवश्‍यकता पर्नेछैन। यसरी, “परमेश्‍वर सबैमा सर्वश्रेष्ठ” हुनुहुनेछ।—१ कोरिन्थी १५:२८.

२०. ख्रीष्ट र १,४४,००० को भविष्य कस्तो हुन्छ, हामी कसरी थाह पाउनसक्छौं?

२० हजार वर्षीय राज्य शासन पूरा भएपछि ख्रीष्ट र उहाँका सहशासकहरूको भावी भूमिका के हुनेछ? बाइबलले त्यसबारे बताएको छैन। यद्यपि, यहोवाले आफ्नो सृष्टिभरि उहाँहरूलाई सेवा गर्ने थप विशेषाधिकार दिनुहुनेछ भनेर हामी पक्का हुनसक्छौं। आज हामी सबैले यहोवाको सार्वभौमिकतालाई समर्थन गर्न सकौं र अनन्त जीवन पाऔं ताकि राजा अनि उहाँका सहशासक तथा पूजाहारीहरूलगायत उहाँको यो उदेकलाग्दो ब्रह्‍माण्डको निम्ति यहोवाले साँचेर राख्नुभएको उद्देश्‍य, भविष्यमा थाह पाउन सकौं!