सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं रूपैयाँपैसा चाहनुहुन्छ कि जीवन?

तपाईं रूपैयाँपैसा चाहनुहुन्छ कि जीवन?

तपाईं रूपैयाँपैसा चाहनुहुन्छ कि जीवन?

“पैसा निकाल्छस्‌ कि ठोकिदिउँ गोली?” भनेर लुटेराहरूले बन्दुक तेर्साउँदै धम्काएको तपाईंले सुन्‍नुभएकै होला। आज यो चिरपरिचित माग हामी सबैले र अझ विशेष गरी सम्पन्‍न मुलुकमा जीवन बिताइरहेकाहरूले सामना गरिरहेको चुनौतीमा प्रतिबिम्बित हुन्छ। तथापि, यतिखेर हामी धम्काएर पैसा माग्ने लुटेराबारे कुरा गरिरहेका छैनौं। बरु, रूपैयाँपैसा र भौतिक सम्पन्‍नतामाथि समाजले दिने बढ्‌दो जोडबारे कुरा गर्दैछौं।

यस्ता दबाउले नयाँ विवाद तथा चिन्ताहरू उत्पन्‍न गरेका छन्‌। रूपैयाँपैसा र भौतिक सम्पत्ति हासिल गर्न कुन हदसम्म प्रयत्न गर्नुपर्छ? के हामी थोरै कुरामै सन्तुष्ट हुनसक्छौं? भौतिकवादको पछि दौडेर कतै मानिसहरूले ‘साँच्चैको जीवन’ त गुमाइरहेका छैनन्‌? के सुखी जीवनको एक मात्र स्रोत रूपैयाँपैसा हो?

रूपैयाँपैसाको नशा

जायज होस्‌ वा नाजायज, सम्पूर्ण मानव इच्छा र आकांक्षामा रूपैयाँपैसाको मोहचाहिं सबैभन्दा अगाडि पर्दछ। यौन र भोजनको इच्छा तृप्त होला तर रूपैयाँपैसाको मोहबाट छुट्‌न गाह्रो छ। वृद्धावस्थाले समेत यो मोहबाट मुक्‍ति दिंदैन। कतिपय अवस्थामा त जति उमेर चढ्यो, उत्ति नै रूपैयाँपैसा र त्यसबाट किन्‍न सकिने चीजबीजको मोह पनि तीव्र हुँदै जानसक्छ।

लोभ झन्‌ झन्‌ बढ्‌दैछ जस्तो देखिन्छ। एउटा लोकप्रिय चलचित्रका मुख्य पात्रले यसो भने: “लोभ कामलाग्ने कुरा हो। लोभी हुनुमा फाइदा छ।” थुप्रैले सन्‌ १९८० को दशकलाई लोभको युग भने तापनि त्यसअघि र पछिका घटनाहरूले पैसाप्रति मानिसको मनोवृत्तिमा त्यति परिवर्तन नभएको देखाउँछ।

अहिले थुप्रै मानिसले भौतिक सरसम्पत्ति प्राप्त गर्ने इच्छालाई तुरुन्तै तृप्त पार्ने थुप्रै मौका पाउनु सायद नौलो कुरा होला। अहिले पूरा संसारै धेरैभन्दा धेरै सर-सामान उत्पादन गर्न र प्राप्त गर्नमै व्यस्त भएजस्तो देखिन्छ। सबैलाई आफूसित भौतिक धनसम्पत्ति हुने र रूपैयाँपैसा खर्च गर्ने धुनसवार भएजस्तो छ अर्थात्‌ आधुनिक जीवन झनै सृजनात्मक हुन थालेको छ भन्‍ने कुरामा तपाईं पनि सहमत हुनुहुन्छ होला।

तर के मानिसहरू आनन्दित छन्‌ त? यस प्रश्‍नको जवाफ दिंदै बुद्धिमान्‌ अनि धनाढ्य राजा सुलेमानले ३,००० वर्षअघि यस्तो लेखे: “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख-भोग पाउनेछैन। यो पनि व्यर्थ हो।” (उपदेशक ५:१०) अहिलेको सामाजिक अध्ययनले पनि यस्तै रोचक निष्कर्ष निकालेको छ।

रूपैयाँपैसा र आनन्द

रूपैयाँपैसा अनि भौतिक सरसम्पत्तिसँगसँगै सन्तुष्टि र आनन्द पनि त्यही मात्रामा बढेको महसुस नहुनु मानव व्यवहारबारे पाइएको सबैभन्दा अचम्मलाग्दा जानकारीहरूमध्ये एक भएको छ। समृद्धिको एउटा निश्‍चित सीमा नाघिसकेपछि व्यक्‍तिविशेषले भौतिक सरसम्पत्ति र सन्तुष्टि तथा आनन्दबीच कुनै सम्बन्ध नरहेको महसुस गर्छ भनी थुप्रै अनुसन्धानकर्ताले पत्ता लगाएका छन्‌।

यसप्रकार भौतिक सरसम्पत्ति प्राप्त गर्ने अनियन्त्रित होडबाजीमा थुप्रैले यस्तो प्रश्‍न गर्न थालेका छन्‌: ‘हामी आफूले किनेजति सबै नयाँ सामानहरूबाट आनन्द उठाइरहेका छौं जस्तो देखिन्छ, तरैपनि सबथोक विचार गर्दा हामी किन पूर्णतया सन्तुष्ट छैनौं?’

ह्‍याप्पि पिपल शीर्षकको आफ्नो पुस्तकमा जोनाथन फ्रिडम्यान यस्तो उल्लेख गर्छन्‌: “कतिपयलाई रूपैयाँपैसा नै आनन्दको स्रोत हो जस्तो लाग्छ तर अलिकता कमाउन थालेपछि नै त्यसो होइन रहेछ भनेर थाह हुन्छ। गरिबीको रेखामाथि आयस्रोत र आनन्दबीचको सम्बन्ध तुलनात्मक हिसाबमा न्यून हुन्छ।” व्यक्‍तिविशेषले प्राप्त गर्ने आनन्द तिनीसित भएको आध्यात्मिक सरसम्पत्ति, अर्थपूर्ण काम र नैतिक मूल्य तथा मान्यतामा आधारित हुन्छ भनेर थुप्रैले बुझ्न थालेका छन्‌। अरूसितको राम्रो सम्बन्ध र आफूसित भएका चीजबीजको आनन्द उठाउनदेखि रोक्ने कुनै द्वन्द्व वा प्रतिबन्धबाट स्वतन्त्र हुनु पनि महत्त्वपूर्ण छ।

अहिले प्रायजसो सामाजिक समस्याको जरा आन्तरिक समस्याहरूलाई भौतिक सम्पन्‍नताले समाधान गर्ने प्रयास गर्ने झुकाउ हो भनेर धेरैले बुझेका छन्‌। केही सामाजिक टीकाकारहरू सर्वसाधारणमा छाएको नैराश्‍य र असन्तोषबारे टिप्पणी गर्छन्‌। सम्पन्‍न समाजका मानिसहरूमा चिकित्सककहाँ जाने वा गुरु, गुट र आरोग्य प्रदान गर्ने शक्‍ति छ भनी दाबी गर्ने समूहहरूकहाँ गएर जीवनको अर्थ र आन्तरिक शान्ति खोज्ने चलन बढ्‌न थालेको छ भनेर पनि ती मानिसहरूले उल्लेख गरेका छन्‌। यसले भौतिक सरसम्पत्तिले जीवनलाई अर्थपूर्ण बनाउन सक्दैन भनेर प्रमाणित गर्छ।

रूपैयाँपैसाले गर्नसक्ने र नसक्ने कुराहरू

हो, रूपैयाँपैसाको शक्‍ति छ। यसबाट राम्रो घर, राम्रा राम्रा लुगाफाटा र आकर्षक डिजाइनको फर्निचर किन्‍न सकिन्छ। रूपैयाँपैसाले प्रशंसा र खुसामदी किन्‍न सकिन्छ, आफ्नो इच्छाअनुसार गराउन सकिन्छ भने क्षणभरका लागि केही मित्रहरू समेत पाउन सकिन्छ। तर रूपैयाँपैसाको शक्‍तिले किन्‍नसक्ने कुराहरू यत्ति मात्र हुन्‌। हामीलाई नभई नहुने कुराहरू अर्थात्‌ साँचो मित्रको माया, मनोशान्ति र मृत्युको घडीमा सान्त्वना आदि रूपैयाँपैसाले किन्‍न सकिंदैन। अनि सृष्टिकर्तासित राम्रो सम्बन्ध गाँस्न चाहनेहरूले परमेश्‍वरको अनुमोदन रूपैयाँपैसाले किन्‍न सक्दैनन्‌।

रूपैयाँपैसाले किन्‍न सक्ने हरेक आनन्ददायी थोक भएका राजा सुलेमानले भौतिक सरसम्पत्तिले चिरकालीन आनन्द दिन सक्दैन भनेर बुझे। (उपदेशक ५:१२-१५) बैंक टाट पल्टिंदा वा मुद्रास्फीति हुँदा रूपैयाँपैसाको केही अर्थ रहँदैन। हुरीबतासले घरघडेरी ध्वस्त पार्नसक्छ। बिमा गरेकोले गुमेका केही भौतिक सरसम्पत्ति क्षतिपूर्ति त होलान्‌ तर त्यसले भावनात्मक क्षतिपूर्ति भर्न सक्दैन। आर्थिक मन्दी छाउँदा रातारात स्टक र बण्ड कौडीको भाउमा नबिक्न सक्छ। अनि राम्रै तलब पाक्ने जागिर पनि क्षणभरमा गुम्न सक्छ।

त्यसोभए, हामी रूपैयाँपैसाप्रति कसरी सन्तुलित दृष्टिकोण राख्न सक्छौं? रूपैयाँपैसा वा सरसम्पत्तिले हाम्रो जीवनमा कस्तो भूमिका खेल्नुपर्ने हो? साँच्चै बहुमूल्य साबित हुने कुरा अर्थात्‌ ‘साँच्चैको जीवन’ तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, त्यो थाह पाउन यसपछिको लेख पढ्‌नुहोस्‌।

[पृष्ठ ४-मा भएका चित्रहरू]

भौतिक सरसम्पत्तिले चिरकालीन आनन्द दिंदैन