सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अदृश्‍यलाई देखेझैं गरी स्थिर रहनुहोस्‌!

अदृश्‍यलाई देखेझैं गरी स्थिर रहनुहोस्‌!

अदृश्‍यलाई देखेझैं गरी स्थिर रहनुहोस्‌!

“अदृश्‍यलाई देखेझैं गरी [मोशा] स्थिर रहे।”–हिब्रू ११:२७.

१. परमेश्‍वरको सम्बन्धमा येशूले डाँडाको उपदेशमा कस्तो उल्लेखनीय कुरा भन्‍नुभयो?

 यहोवा अदृश्‍य परमेश्‍वर हुनुहुन्छ। मोशाले उहाँको महिमा हेर्न पाऊँ भनी बिन्ती गर्दा यहोवाले यसो भन्‍नुभयो: “तैंले मेरो अनुहार हेर्नसक्‍तैनस्‌, किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहनसक्‍तैन।” (प्रस्थान ३:२०) साथै, प्रेरित यूहन्‍नाले पनि यस्तो लेखे: “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (यूहन्‍ना १:१८) येशू ख्रीष्ट पृथ्वीमा मानव रूपमा हुनुहुँदा उहाँले समेत परमेश्‍वरलाई देख्न सक्नुभएन। डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌।” (मत्ती ५:८) येशूले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

२. हामी किन परमेश्‍वरलाई साक्षात्‌ देख्न सक्दैनौं?

धर्मशास्त्रले यहोवा अदृश्‍य आत्मिक प्राणी हुनुहुन्छ भनेर चिनाउँछ। (यूहन्‍ना ४:२४; कलस्सी १:१५; १ तिमोथी १:१७) त्यसकारण, येशूले हामी मानवजातिले परमेश्‍वरलाई साक्षात्‌ देख्न सक्छौं भन्‍न खोजिरहनुभएको थिएन। हो, आत्मिक प्राणीको रूपमा पुनरुत्थान भइसकेपछि अभिषिक्‍त मसीहीहरूले स्वर्गमा यहोवा परमेश्‍वरलाई देख्न सक्नेछन्‌। तर “हृदयमा शुद्ध हुने” अनि पृथ्वीमा सधैंभरि जीवित रहने आशा गर्ने मानिसहरूले पनि परमेश्‍वरलाई “देख्नेछन्‌।” तर कसरी?

३. मानिसले परमेश्‍वरका केही गुणहरू कसरी देख्न सक्छन्‌?

यहोवाले सृजनुभएका कुराहरू नियाँलेर हामी उहाँबारे केही सिक्न सक्छौं। यसरी हामी उहाँको शक्‍तिबाट प्रभावित हुन सक्छौं र उहाँलाई सृष्टिकर्ताको रूपमा स्वीकार्न उत्प्रेरित हुन्छौं। (हिब्रू ११:३; प्रकाश ४:११) यस सम्बन्धमा, प्रेरित पावलले यस्तो लेखे: “[परमेश्‍वरको] अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लंगै देखिने भएको छ।” (रोमी १:२०) त्यसकारण, परमेश्‍वरलाई देख्ने विषयमा येशूले भन्‍नुभएका कुरामा यहोवाका केही गुणहरू बुझ्नसक्ने क्षमता हुनु समावेश छ। परमेश्‍वरलाई यसरी देख्नु सही ज्ञानमा आधारित छ र आध्यात्मिक तवरमा ‘हृदयका आँखाबाट’ उहाँलाई देख्न सकिन्छ। (एफिसी १:१८) येशूका कुरा र कामले पनि परमेश्‍वरबारे थुप्रै कुरा प्रकट गर्छ। यसकारण, येशूले यसो भन्‍नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूहन्‍ना १४:९) येशूले यहोवाको व्यक्‍तित्व पूर्णतया प्रतिबिम्बित गर्नुभयो। यसप्रकार, येशूको जीवनीको ज्ञान र शिक्षाद्वारा हामी परमेश्‍वरका केही गुणहरू देख्न वा बुझ्न मदत पाउन सक्छौं।

आध्यात्मिकता अत्यावश्‍यक छ

४. आज कसरी थुप्रैले आध्यात्मिकताको कमी देखाइरहेका छन्‌?

आज, विश्‍वास र साँचो आध्यात्मिकता कतै पाइँदैन भने पनि हुन्छ। पावलको भनाइअनुसार “सबैमा विश्‍वास छैन।” (२ थिस्सलोनिकी ३:२) थुप्रै मानिस आफ्नै व्यक्‍तिगत कामकुरामा चुर्लुम्म डुबेका छन्‌ र परमेश्‍वरमाथि पटक्कै विश्‍वास राख्दैनन्‌। पापी आचरण र आध्यात्मिकताको कमीले गर्दा तिनीहरू आफ्नो समझको आँखाले परमेश्‍वरलाई देख्न सक्दैनन्‌। किनकि प्रेरित यूहन्‍नाले यस्तो लेखे: “जसले खराब गर्दछ त्यसले परमेश्‍वरलाई देखेको छैन।” (३ यूहन्‍ना ११) यस्ता व्यक्‍तिहरूले परमेश्‍वरलाई आफ्नै आँखाले नदेखेकोले परमेश्‍वरले पनि तिनीहरूलाई देख्नु हुन्‍न भन्ठान्छन्‌। (इजकिएल ९:९) आध्यात्मिक कुराहरूलाई तुच्छ ठानेकोले तिनीहरू “परमेश्‍वरको ज्ञान प्राप्त” गर्न सक्दैनन्‌। (हितोपदेश २:५) त्यसैकारण, पावलले यस्तो लेख्नु उपयुक्‍त छ: “अब शारीरिक मानिसले परमेश्‍वरका आत्माका कुरा ग्रहण गर्दैन, किनकि ती त्यसको निम्ति मूर्खता हुन्छन्‌, र त्यसले ती बुझ्नसक्‍तैन, किनकि ती आत्मिक रीतिले जाँचिएका हुन्छन्‌।”—१ कोरिन्थी २:१४.

५. आध्यात्मिक झुकाउ राख्ने मानिसहरू कुन तथ्यबारे सजग छन्‌?

यदि हामी आध्यात्मिक झुकाउ राख्ने खालका व्यक्‍तिहरू हौं भने, हामी निरन्तर सजग रहनेछौं। किनकि यहोवा दोष कोट्याउने परमेश्‍वर हुनुहुन्‍न तैपनि उहाँलाई हाम्रा खराब विचार र इच्छाहरू थाह हुन्छ। साँच्चै, “मानिसको चाल ता सधैं परमप्रभुको दृष्टिमा रहिरहन्छ, त्यो हिंड़ने हरेक मार्गलाई उहाँले हेर्नुहुन्छ।” (हितोपदेश ५:२१) पापको फन्दामा पऱ्‍यौं भने पश्‍चात्ताप गर्न र यहोवासित माफ माग्न उत्प्रेरित हुन्छौं किनकि हामी उहाँलाई माया गर्छौं र उहाँको चित्त दुखाउन चाहँदैनौं।—भजन ७८:४१; १३०:३.

हामीलाई केले स्थिर बनाउँछ ?

६. स्थिर रहनुको अर्थ के हो?

हामीले यहोवालाई नदेखे तापनि उहाँ हामीलाई देख्न सक्नुहुन्छ भन्‍ने कुरालाई कहिल्यै नबिर्सौं। उहाँको अस्तित्व छ र उहाँलाई पुकार्ने प्रत्येकको नजिक उहाँ हुनुहुन्छ भन्‍ने विश्‍वासले हामीलाई स्थिर बनाउँछ अर्थात्‌ उहाँप्रति वफादार भइरहन मदत गर्छ। (भजन १४५:१८) हामी मोशाजस्तै हुन सक्छौं जसबारे पावलले यस्तो लेखे: “विश्‍वासैबाट राजाको क्रोधसँग नडराएर तिनले मिश्र देश छोड़े। किनकि अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे।”—हिब्रू ११:२७.

७, ८. फिरऊनसामु खडा हुन मोशालाई कुन कुराले बल दियो?

इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाएर लैजान परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्न मोशा पटक पटक निरंकुश फिरऊनसामु तिनका धार्मिक अनि सैनिक नेताहरूले टनाटन भरिएको शाही चोकमा खडा हुनुपऱ्‍यो। हुनसक्छ, दरबारका भित्ताहरूमा लहरै मूर्तिहरू थिए। यहोवा अदृश्‍य हुनु भए तापनि मोशाका लागि उहाँ वास्तविक हुनुहुन्थ्यो र मिश्रका निर्जीव देउताहरूको प्रतिनिधित्व गर्ने ती मूर्तिहरूभन्दा भिन्‍न हुनुहुन्थ्यो। त्यसैकारण, मोशा फिरऊनसित डराएनन्‌!

बारम्बार फिरऊनसामु जान मोशाले कसरी बल पाए? “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए” भनी धर्मशास्त्र बताउँछ। (गन्ती १२:३) स्पष्ट छ, परमेश्‍वर तिनीसित हुनुहुन्छ भन्‍ने तिनको विश्‍वास र बलियो आध्यात्मिकताले मोशालाई मिश्रका क्रूर राजासामु ‘अदृश्‍य परमेश्‍वरको’ प्रतिनिधित्व गर्न आवश्‍यक बल दियो। “अदृश्‍य” परमेश्‍वरलाई ‘देख्नेहरूले’ उहाँमाथिको आफ्नो विश्‍वास प्रकट गर्ने केही तरिकाहरू के हुन्‌?

९. अदृश्‍यलाई देखेझैं गरी स्थिर रहने एउटा तरिका के हो?

अदृश्‍य परमेश्‍वरमाथिको आफ्नो विश्‍वास प्रकट गर्ने र उहाँलाई देखेझैं गरी स्थिर रहने एउटा तरिका सतावटको बावजूद साहसी भई प्रचारकार्यमा लागिरहनु हो। येशूले आफ्ना चेलाहरूलाई यस्तो चेताउनी दिनुभयो: “मेरो नाउँको खातिर तिमीहरू सबै मानिसहरूबाट घृणित हुनेछौ।” (लूका २१:१७) उहाँले तिनीहरूलाई यसो पनि भन्‍नुभयो: “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।” (यूहन्‍ना १५:२०) येशूको मृत्युको लगत्तैपछि उहाँका चेलाहरू धम्की, गिरफ्तारी अनि पिटाइको सिकार हुँदा उहाँले भन्‍नुभएको कुरा सत्य साबित भयो। (प्रेरित ४:१-३; १८-२१; ५:१७, १८, ४०) सतावटको डरलाग्दो आँधी चले तापनि येशूका प्रेरित र अरू चेलाहरूले निर्भयतासाथ सुसमाचार प्रचार गरी नै रहे।—प्रेरित ४:२९-३१.

१०. यहोवाले रक्षा गर्नुहुन्छ भन्‍ने हाम्रो उहाँमाथिको भरोसाले हामीलाई सेवकाईमा कसरी मदत गर्छ?

१० मोशाजस्तै येशूका प्रारम्भिक चेलाहरू पनि आफ्ना दृश्‍य शत्रुहरूसित डराएनन्‌। येशूका चेलाहरूले परमेश्‍वरमाथि भरोसा राखेका थिए, फलतः तिनीहरूले थुप्रै सतावट सहन सके। हो, तिनीहरू अदृश्‍यलाई देखेझैं गरी स्थिर रहे। यहोवाले रक्षा गर्नुहुन्छ भन्‍ने ज्ञानले आज हामीलाई निर्भय बनाएको छ र हाम्रो राज्य प्रचारकार्यमा लागिरहन साहस दिएको छ। परमेश्‍वरको वचन यसो भन्छ, “मानिसको डर त्यसको निम्ति पासो हो, तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।” (हितोपदेश २९:२५) त्यसकारण, हामी सतावटको डरले पछि हट्‌दैनौं न त हामी हाम्रो सेवकाईदेखि लाज मान्छौं। हाम्रो विश्‍वासले हामीलाई छिमेकी, सहकर्मी, सहपाठी र अन्य मानिसहरूलाई साहसी भई साक्षी दिन प्रेरित गर्छ।—रोमी १:१४-१६.

अदृश्‍य परमेश्‍वरले आफ्ना जनहरूलाई डोऱ्‍याउनुहुन्छ

११. पत्रुस र यहूदाका अनुसार मसीही मण्डलीसित संगत गर्ने कसैकसैले कसरी आध्यात्मिकताको कमी देखाए?

११ यहोवाले नै आफ्नो पार्थिव संगठनलाई डोऱ्‍याइ रहनुभएको छ भनेर बुझ्न विश्‍वासले हामीलाई मदत गर्छ। यसरी हामी मण्डलीमा जिम्मेवारी वहन गर्ने व्यक्‍तिहरूप्रति आलोचनात्मक मनोवृत्ति राख्नदेखि होसियार हुन्छौं। प्रेरित पत्रुस र येशूका सौतेनी भाइ यहूदा दुवैले मसीहीहरूमाझ नेतृत्व लिनेहरूको निन्दा गर्ने आध्यात्मिकतामा कमजोर केही त्यस्ता खास व्यक्‍तिहरूसित होसियार हुनु भनेका थिए। (२ पत्रुस २:९-१२; यहूदा ८) यहोवा दृश्‍य हुनुहुँदो हो त, के यस्ता दोष कोट्याउनेहरूले यहोवासामु यसरी कुरा गर्थे होलान्‌? पक्कै गर्ने थिएनन्‌! तर परमेश्‍वर अदृश्‍य हुनुभएकोले त्यस्ता शारीरिक दृष्टिकोण राख्ने मानिसहरूले आफू उहाँप्रति जवाफदेही छु भनेर बिर्से।

१२. मण्डलीमा नेतृत्व लिनेहरूप्रति हामीले कस्तो मनोवृत्ति राख्नुपर्छ?

१२ हो, मसीही मण्डली असिद्ध मानिसहरू मिलेर बनेको छ। प्राचीनको रूपमा सेवा गर्नेहरूले पनि गल्ती गर्छन्‌ र कहिलेकाहीं त्यसले हामीलाई व्यक्‍तिगत तवरमा असर गर्न सक्छ। तथापि, यहोवाले यी पुरुषहरूलाई आफ्नो बगालको गोठालो गर्न चलाइरहनुभएको छ। (१ पत्रुस ५:१, २) यहोवाले आफ्ना जनहरूलाई डोऱ्‍याउनुहुने माध्यम प्राचीनहरूद्वारा पनि हो भनेर आध्यात्मिक झुकाउ भएका पुरुष अनि स्त्रीहरू बुझेका छन्‌। त्यसकारण, मसीही भएकोले हामी आलोचनात्मक, गनगन गर्ने मनोवृत्तिलाई हटाऔं र यहोवाको ईश्‍वरतान्त्रिक प्रबन्धहरूको कदर गरौं। हामीमाझ नेतृत्व लिनेहरूप्रति आज्ञाकारी भएर हामी अदृश्‍यलाई देखेझैं गरी हिंडिरहेका छौं भनी देखाउनसक्छौं।—हिब्रू १३:१७.

परमेश्‍वरलाई हाम्रो महान्‌ शिक्षकको रूपमा लिने

१३, १४. तपाईंको निम्ति यहोवालाई महान्‌ शिक्षकको रूपमा लिनुको अर्थ के हो?

१३ आध्यात्मिक दृष्टि चाहिने अर्को क्षेत्र पनि छ। यसबारे यशैयाले यसरी अगमवाणी गरे: “तिमीहरूको आँखाले तिमीहरूका गुरुलाई देख्नेछ।” (यशैया ३०:२०) यहोवाले हामीलाई आफ्नो पार्थिव संगठनद्वारा सिकाइ रहनुभएको छ भनेर स्वीकार्न विश्‍वास चाहिन्छ। (मत्ती २४:४५-४७) परमेश्‍वरलाई हाम्रो महान्‌ शिक्षकको रूपमा लिनुको अर्थ बाइबल अध्ययन गर्ने राम्रो बानी बसाल्नु अनि मसीही सभाहरूमा नियमित तवरमा उपस्थित हुनु मात्र होइन। यसको अर्थ, परमेश्‍वरका आध्यात्मिक प्रबन्धहरूको पूरापूर फाइदा उठाउनु पनि हो। उदाहरणका लागि, आध्यात्मिक तवरमा तर्केर नजान भनी यहोवाले येशूमार्फत दिनुभएको निर्देशनमा हामीले अझ बढी ध्यान दिनु आवश्‍यक छ।—हिब्रू २:१.

१४ आध्यात्मिक भोजनबाट पूरापूर फाइदा उठाउन कहिलेकाहीं विशेष प्रयास गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, बुझ्न गाह्रो परेका बाइबलका अंशहरू राम्ररी नपढ्‌ने हाम्रो बानी होला। प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरू पढ्‌दा सायद केही लेखहरू हामीलाई त्यति चासो नलागेकोले पढ्‌दैनौं होला। अथवा, मसीही सभाहरूमा हाम्रो मन अन्त कतै डुलाइ रहन्छौं होला। तथापि, छलफल भइरहेका बुँदाहरूमा राम्ररी विचार गऱ्‍यौं भने हामी सतर्क रहन सक्छौं। आध्यात्मिक निर्देशनप्रतिको हाम्रो गहिरो मूल्यांकनले हामी यहोवालाई आफ्नो महान्‌ शिक्षकको रूपमा स्वीकार्छौं भनी देखाउँछ।

हामीले लेखा दिनैपर्छ

१५. मानौं यहोवाले तिनीहरूको काम देख्नुभएको छैन भनेझैं गरी कसैकसैले कस्तो काम गरेका छन्‌?

१५ विशेष गरी यस “अन्तको समय[मा]” दुष्टता व्याप्त भएकोले अदृश्‍य परमेश्‍वरमाथि विश्‍वास गर्नु झनै आवश्‍यक छ। (दानियल १२:४) बेइमानी र यौन अनैतिकता जताततै व्याप्त छ। मानिसहरूले नदेखे तापनि यहोवाले हाम्रो काम देख्न सक्नुहुन्छ भनेर सम्झनु बुद्धिमानी हुन्छ। कसैकसैले यो तथ्यलाई बिर्सेका छन्‌। अरूले नदेख्दा केही मानिसहरू शास्त्र विपरीत आचरणमा लाग्छन्‌। उदाहरणका लागि, कसैकसैले इन्टरनेट, टेलिभिजन अनि अन्य आधुनिक प्रविधि तथा उपकरणहरूमा हानिकारक मनोरञ्जन र अश्‍लीलता हेर्ने लालसालाई तिरस्कार गरेका छैनन्‌। यी कार्यहरू गुप्तमा गरिने भएकोले मानौं यहोवाले तिनीहरूको काम देख्नुभएको छैन भनेझैं गरी कसैकसैले यस्तो कामकुरा गरेका छन्‌।

१६. यहोवाका उच्च स्तरहरूअनुरूप गर्न हामीलाई केले मदत गर्नुपर्ने हो?

१६ प्रेरित पावलका यी शब्दहरू मनमा राख्नु बेस हुन्छ: “हामी हरेकले परमेश्‍वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (रोमी १४:१२) हामीले पाप गर्दा यहोवा विरुद्ध पाप गरिरहेका हुन्छौं भनेर होसियार हुनु आवश्‍यक छ। यो ज्ञानले हामीलाई उहाँका उच्च स्तरहरूअनुरूप चल्न र अशुद्ध आचरण त्याग्न मदत गर्नुपर्ने हो। बाइबल हामीलाई यसरी सम्झाउँछ: “उहाँको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्‌।” (हिब्रू ४:१३) हो, हामीले परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनैपर्छ, तर उहाँको इच्छाअनुसार गर्न चाहनु र उहाँका धार्मिक स्तरहरू पालन गर्नुपछाडिको मूल कारण यहोवाप्रतिको हाम्रो गहिरो प्रेम नै हो। त्यसकारण, मनोरञ्जन र विपरीत लिंगसितको हाम्रो आचरण जस्ता कुरामा हामी सावधान होऔं।

१७. यहोवा हामीमा कस्तो चासो लिनुहुन्छ?

१७ यहोवा हाम्रो गहिरो चासो लिनुहुन्छ तर यसको अर्थ उहाँ हामीले कहिले गल्ती गर्ला र दण्ड दिउँला भनेर पर्खिरहनुहुन्छ भनेको चाहिं पक्कै होइन। बरु, उहाँ आफ्ना आज्ञाकारी छोराछोरीलाई इनाम दिन चाहने बुबाले जस्तै मायालु चासो दिएर हेर्नुहुन्छ। स्वर्गमा हुनुहुने हाम्रो मायालु पिता हाम्रो विश्‍वास देखेर प्रसन्‍न हुनुहुन्छ र “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भनेर थाह पाउनु एकदमै सान्त्वनादायी छ! (हिब्रू ११:६) त्यसकारण, हामी यहोवामा पूर्ण भरोसा राख्न सकौं र “इच्छुक मनले उहाँको सेवा” गर्न सकौं।—१ इतिहास २८:९.

१८. यहोवाले हामीमाथि नजर राख्नुहुने र हाम्रो विश्‍वासलाई याद गर्नुहुने भएकोले धर्मशास्त्रबाट हामी कस्तो आश्‍वासन पाउन सक्छौं?

१८ हितोपदेश १५:३ यसो भन्छ: “परमप्रभुको नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ।” हो, परमेश्‍वर दुष्ट मानिसहरूमाथि नजर राख्नुहुन्छ र तिनीहरूसित तिनीहरूकै कामअनुसार व्यवहार गर्नुहुन्छ। तथापि, यदि हामी ‘असलहरूमध्येका’ हौं भने, यहोवाले अवश्‍य हाम्रो विश्‍वासी कामलाई याद गर्नुहुन्छ भनी हामी निश्‍चिन्त हुन सक्छौं। ‘हाम्रो परिश्रम प्रभुमा व्यर्थ हुँदैन’ अनि अदृश्‍य परमेश्‍वरले ‘हाम्रो काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, हामीले देखाएका छौं, त्यो बिर्सनुहुन्‍न’ भनेर थाह पाउँदा हाम्रो विश्‍वास साँच्चै बलियो हुन्छ!—१ कोरिन्थी १५:५८; हिब्रू ६:१०.

हामीलाई जाँच्न यहोवालाई निम्तो दिने

१९. यहोवामाथिको बलियो विश्‍वासले गर्दा हुने केही फाइदा के के हुन्‌?

१९ यहोवाका विश्‍वासी सेवकहरू भएकोले हामी उहाँको नजरमा बहुमूल्य छौं। (मत्ती १०:२९-३१) उहाँ अदृश्‍य हुनुभए तापनि उहाँ हाम्रोनिम्ति वास्तविक हुन सक्नुहुन्छ र उहाँसितको हाम्रो सम्बन्धको हामी कदर गर्न सक्छौं। स्वर्गमा हुनुहुने हाम्रो पिताप्रतिको यस्तो मनोवृत्तिले हामीलाई धेरै फाइदा पुऱ्‍याउँछ। हाम्रो बलियो विश्‍वासले यहोवासामु स्वच्छ हृदय र सफा अन्तस्करण राख्न मदत गर्छ। कपटरहितको विश्‍वासले हामीलाई दोहरो जीवन बिताउनदेखि पनि जोगाउँछ। (१ तिमोथी १:५, १८, १९) परमेश्‍वरमाथिको हाम्रो स्थिर विश्‍वासले राम्रो उदाहरण बसाल्छ र आफू वरपरका मानिसहरूमाथि सकारात्मक प्रभाव पार्छ। (१ तिमोथी ४:१२) यसबाहेक, यस्तो विश्‍वासले ईश्‍वरीय आचरणको प्रशंसा गर्नुका साथै यहोवाको हृदयलाई प्रसन्‍न पार्छ।—हितोपदेश २७:११.

२०, २१. (क) यहोवाले हाम्रो निरीक्षण गर्नु किन मनपर्दो कुरा हो? (ख) हामी कसरी भजन १३९:२३, २४ आफैमा प्रयोग गर्न सक्छौं?

२० हामी साँच्चै बुद्धिमान्‌ छौं भने यहोवाको नजर हामीमाथि रहोस्‌ भनी हामी इच्छा गर्छौं। उहाँले हामीलाई नियाँल्नुभएको मात्र होइन तर हाम्रा विचार र कामहरूलाई पनि राम्ररी जाँच्नुभएको हामी चाहन्छौं। प्रार्थना गरेर हामीलाई जाँच्नुहोस्‌ र हाम्रो हृदयमा कुनै अनुचित झुकाउ छन्‌ कि छैनन्‌, पत्ता लगाउनुहोस्‌ भनी यहोवालाई निम्तो दिनु राम्रो कुरा हो। हाम्रा समस्याहरूसित सामना गर्न र आवश्‍यक काँटछाँट गर्न उहाँले हामीलाई पक्कै मदत गर्न सक्नुहुन्छ। त्यसैकारण, भजनरचयिता दाऊदले यसरी गाए: “हे परमेश्‍वर, मलाई जाँच्नुहोस्‌, र मेरो हृदय बुझ्नुहोस्‌, मलाई खार्नुहोस्‌, र मेरा विचारहरू जान्‍नुहोस्‌। र हेर्नुहोस्‌, ममा दुराचरण केही रहेछ कि रहेनछ, र मलाई अनन्तको चालमा डोऱ्‍याउनुहोस्‌।”—भजन १३९:२३, २४.

२१ मलाई जाँच्नुहोस्‌ र ममा केही “दुराचरण” रहेछ कि रहेनछ, हेरिदिनुहोस्‌ भन्दै दाऊदले यहोवासँग बिन्ती गरे। भजनरचयिताले जस्तै के हामी पनि परमेश्‍वरले हाम्रो हृदय जाँच्नुभएको र हाम्रा अनुचित भावनाहरू पत्ता लगाउनुभएको चाहँदैनौं र? त्यसकारण आउनुहोस्‌, पूर्ण भरोसाका साथ हामी यहोवालाई, हामीलाई जाँच्नुहोस्‌ भनी बिन्ती गरौं। तर कतै केही गल्तीको कारण अथवा आफूमा केही दुःखलाग्दो कुरा भएकोले ज्यादै चिन्तित पो भएका छौं कि? त्यसो हो भने, मायालु परमेश्‍वर यहोवालाई हार्दिक प्रार्थना गरौं र उहाँको पवित्र आत्माको निर्देशन अनि उहाँको वचनको सल्लाहलाई नम्रतासाथ स्वीकारौं। उहाँले हामीलाई सघाउनुहुनेछ र हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने मार्गमा लागिरहन मदत गर्नुहुनेछ भनी हामी ढुक्क हुन सक्छौं।—भजन ४०:११-१३.

२२. अदृश्‍य परमेश्‍वरको सम्बन्धमा हामीले कस्तो संकल्प गर्नुपर्छ?

२२ हो, यहोवाका आवश्‍यकताहरू पूरा गऱ्‍यौं भने उहाँले हामीलाई अनन्त जीवनद्वारा आशिष्‌ दिनुहुन्छ। हो, हामीले उहाँको शक्‍ति र अख्तियारलाई स्वीकार्नैपर्छ। किनकि प्रेरित पावलले समेत यस्तो लेखेर उहाँको अख्तियार स्वीकारे: “अनन्त, अविनाशी, अदृश्‍य राजा, अद्वितीय परमेश्‍वरलाई सदा सर्वदा आदर र महिमा होस्‌। आमिन।” (१ तिमोथी १:१७) यहोवाप्रति हामी सधैं यस्तै हार्दिक श्रद्धा देखाइरहन सकौं। अनि जे सुकै होस्‌, अदृश्‍यलाई देखेझैं गरी स्थिर रहने हाम्रो संकल्प कहिल्यै ढलपल नहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• मानिसहरूले कसरी परमेश्‍वरलाई देख्नसक्छन्‌?

• यहोवा हाम्रोनिम्ति वास्तविक हुनुहुन्छ भने सतावट आइपर्दा हामी के गर्नेछौं?

• यहोवालाई आफ्नो महान्‌ शिक्षकको रूपमा लिनुको अर्थ के हो?

• यहोवाले हामीलाई जाँचून्‌ भन्‍ने इच्छा हामीले किन गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

फिरऊन देखेर मोशा डराएनन्‌, बरु अदृश्‍य परमेश्‍वर यहोवालाई देखेझैं गरी काम गरे

[पृष्ठ २१-मा भएको चित्र]

मानौं यहोवाले हामीलाई देख्नैहुन्‍न भनेझैं गरी हामी कहिल्यै व्यवहार नगरौं

[पृष्ठ २३-मा भएको चित्र]

हामी उत्सुकतासाथ परमेश्‍वरको ज्ञान खोज्छौं किनकि हामी उहाँलाई हाम्रो महान्‌ शिक्षकको रूपमा लिन्छौं