सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राज्य आशाका कारण आनन्दित हुनुहोस्‌!

राज्य आशाका कारण आनन्दित हुनुहोस्‌!

राज्य आशाका कारण आनन्दित हुनुहोस्‌!

न्यु योर्क प्रान्तमा बेथेलको ठूलो परिवारले प्रयोग गर्ने तीनवटा भवनहरूमा मार्च १०, २००१ का दिन एकसाथ ५,७८४ जना श्रोताहरू एक हर्षमय अवसरका लागि भेला भएका थिए। त्यो अवसर गिलियड मिसनरी स्कूलको ११० औं स्नातक समारोह थियो।

यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य क्यारी बार्बरले सबैलाई स्वागत गर्दै यसरी कार्यक्रम सुरु गरे: “गिलियडका ११० औं कक्षाका विद्यार्थीहरूलाई अहिले मिसनरीको रूपमा तालिम दिएर संसारभरिका इलाकाहरूमा खटाइएको छ भनी थाह पाउँदा हामी खुसी भएका छौं।”

कसरी आनन्दित रहिरहने

भाइ बार्बरको सुरुको टिप्पणीपछि डन एडम्सले ४८ जना स्नातक विद्यार्थीलगायत त्यहाँ उपस्थित श्रोताहरूलाई “यहोवाको आशिष्‌ले धन-सम्पत्ति ल्याउँछ” विषयमा भाषण दिए। हितोपदेश १०:२२ लाई आधार बनाउँदै दिएको भाषणमा तिनले, आफ्ना सेवकहरूले राज्यसम्बन्धी कामकुरालाई प्राथमिकता दिंदा यहोवाले तिनीहरूलाई सम्हाल्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ भनी श्रोताहरूलाई सम्झाए। “म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्‌” भनी निम्तो पाउँदा पावलले देखाएजस्तै इच्छुकतासहित आफ्नो नयाँ कार्यभारलाई स्वीकार्न तिनले विद्यार्थीहरूलाई प्रोत्साहन दिए। (प्रेरित १६:९) समस्याहरू भए तापनि आफूलाई निर्देशित गरिएको ठाउँमा प्रचार गर्न पावल इच्छुक भएको कारण तिनले थुप्रै आशिष्‌ पाए।

स्नातक कक्षाका विद्यार्थीहरूले मिसनरी कार्यको तयारीका लागि पाँच-महिने बाइबल अध्ययन र तालिम सिध्याएका थिए। तैपनि, यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य डानिएल सिड्‌लिकले तिनीहरूलाई सिकिरहन प्रोत्साहन दिए। “साँचो चेलाहरू हुनुहोस्‌” विषयमा बोल्दै तिनले यस्तो टिप्पणी गरे: “चेला हुनुको अर्थ निरन्तर येशूका शब्दहरू पालन गर्नु हो। यसमा उहाँका शब्दहरू, सन्देश अनि शिक्षा सधैं सुन्‍न इच्छुक हुनु समावेश छ।” ख्रीष्टका चेलाहरूले मालिकको कुरै नसुनी निर्णयहरू गर्ने गर्दैनन्‌; किनकि ख्रीष्टमा परमेश्‍वरको बुद्धिका सारा रत्नहरू छिपेका छन्‌। (कलस्सी २:३) येशूले भन्‍नुभएका कुराहरू एक पटक सुनेर उहाँबारे सबथोक थाह पायौं भनी हामीमध्ये कसैले पनि भन्‍न सक्दैनौं। त्यसैकारण, भाइ सिड्‌लिकले स्नातकहरूलाई मसीही सच्चाइ निरन्तर सिकिरहन, प्रयोग गरिरहन र सिकाइरहन प्रोत्साहन दिनुभयो। यसो गर्दा स्वतन्त्र होइन्छ।—यूहन्‍ना ८:३१, ३२.

आनन्दित भएर परमेश्‍वरको सेवा गर्न अनुशासन र सुधार स्वीकार्न इच्छुक हुनैपर्छ। “के तपाईंको अन्तस्करणले तपाईंलाई सुधार्ने छ?” गिलियडका प्रशिक्षक लरेन्स बोवेनले प्रश्‍न गरे। तिनले बाइबलमा अन्तस्करणलाई बुझाउन चलाइएको मिर्गौला शब्द व्यक्‍तिविशेषका गहिरा विचार तथा भावनाहरूसित सम्बन्धित छन्‌ भनी बताए। परमेश्‍वरको वचनमा पाइने प्रेरित सल्लाहले व्यक्‍तिविशेषको अन्तस्करणलाई राम्ररी छोएको छ भने यसले सुधार गर्नसक्छ। (भजन १६:७; यर्मिया १७:१०) व्यक्‍तिविशेषको विश्‍वासी कार्यले यहोवालाई समेत अत्यन्तै प्रभावित गर्न सक्छ। हितोपदेश २३:१५, १६ पढिसकेपछि वक्‍ताले यसरी सोधे: “के तपाईंका अन्तस्करणले तपाईंलाई सुधार्ने छ?” तिनले अझै यसो पनि भने: “त्यसै होस्‌ भनेर हामी प्रार्थना गर्छौं र तपाईंले गर्दा नै यहोवाले गहिरो आनन्द महसुस गर्न पाऊन्‌। तपाईंले उहाँको मन छुनुहुनेछ। हो, आफ्नो काममा वफादार भई लागिरहनु भयो भने तपाईंले परमेश्‍वरलाई मन भित्रदेखि हर्षित हुने कारण दिइरहनुभएको हुनेछ।”

कार्यक्रमको यस भागको अन्तिम भाषण मार्क न्यूमरले दिए। गिलियडका प्रशिक्षक हुनुअघि तिनी केन्यामा मिसनरीको रूपमा सेवा गरिरहेका थिए। तिनको “जे छ त्यसैमा चित्त बुझाउनुहोस्‌” शीर्षकको भाषणले सन्तुष्टि खेती गर्नुपर्ने आवश्‍यकतालाई प्रकाश पारेको थियो। उपदेशक ६:९ अनुरूप भाइ न्यूमरले यस्तो सल्लाह दिए: “वास्तविकता स्वीकार्नुहोस्‌। किनकि त्यसो गर्नु भनेको ‘आफूसँग जे छ, त्यसैमा चित्त बुझाउनु हो।’ तपाईंले गर्न चाहेको तर गर्न नपाइरहेको केही कामकुराबारे कल्पना गरेर बस्नुको साटो वर्तमान परिस्थितिमा जे-जति सकिन्छ, गरेर चित्त बुझाउनुहोस्‌। कल्पनाको संसारमा हराउँदा, अव्यावहारिक आशा गर्दा, आफूले पाएको जिम्मेवारीबारे नकारात्मक कुराहरू मात्र सोचिबस्दा तपाईं असन्तुष्ट र बेचैन मात्र हुनुहुनेछ।” हो, हामी जहाँसुकै वा जस्तोसुकै अवस्थामा होऔं, ईश्‍वरीय सन्तुष्टि खेती गऱ्‍यौं भने आनन्दित भएर हाम्रो महान्‌ सृष्टिकर्ताको सेवा गर्न सक्नेछौं।

राज्य सेवा र गिलियडमा बटुलेएका आनन्ददायी अनुभवहरू

व्यावहारिक सल्लाहहरूले भरिएका भाषणहरूपछि विद्यार्थीहरूले पाँच-महिने तालिमका दौडान जन सेवकाईमा जाँदा बटुलेका केही अनुभव बताए। गिलियड स्कूलका रजिस्ट्रार वालेस लिभरन्सको निर्देशनमा स्नातक विद्यार्थीहरूले आफैलाई परमेश्‍वरका सेवकको रूपमा कसरी सिफारिस गरे, त्यो बताए। (२ कोरिन्थी ४:२) परमेश्‍वरले सबै मानिसहरूलाई अन्तस्करण दिनुभएको छ। विद्यार्थीहरूले त्यस्तै केही मानिसहरूको अन्तस्करणलाई छुनसके। विद्यार्थीहरूले सडकमा, घरघरको सेवकाईमा र अन्य स्थानहरूमा निष्कपट व्यक्‍तिविशेषसित बाइबल अध्ययन सुरु गर्नसकेको तिनीहरूको अनुभवबाट देखियो। कतिपय जिज्ञासु व्यक्‍तिहरूले त यहोवाको संगठनका बाइबल आधारित प्रकाशनहरूमा सत्यको आभास पाइन्छ पनि भने। एक जना घरधनीले बाइबलको एउटा खास पद पढिसकेपछि निकै सकारात्मक प्रतिक्रिया व्यक्‍त गरेका थिए। अहिले तिनी यहोवाका साक्षीहरूसित गृह बाइबल अध्ययन गरिरहेकी छिन्‌।

त्यसपछि, जोएल एडम्सले गिलियडका पुराना स्नातकहरूको अन्तरवार्ता लिए। तिनले दिने भाषणको विषय थियो, “सिक्न कहिल्यै नछोड्‌नुहोस्‌, यहोवाको सेवा गर्न कहिल्यै नछोड्‌नुहोस्‌।” अन्तरवार्ता दिनेहरूले नयाँ मिसनरीहरूलाई सामयिक सल्लाह दिए। गिलियड स्कूलका २६ औं कक्षाको विद्यार्थी छँदाको क्षण सम्झँदै ह्‍यारी जनसनले यसो भने: “यहोवाले आफ्ना जनहरूलाई सधैं डोऱ्‍याउनुहुन्छ र डोऱ्‍याउनुहुनेछ भनेर हामीलाई सिकाइएको थियो। यो भरोसा वर्षौंको दौडान प्रोत्साहनको स्रोत भएको छ।” गिलियडको ५३ औं कक्षाका सदस्य विलियम नन्कीसले नयाँ स्नातकहरूलाई यस्तो सल्लाह दिए: “सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबलका सिद्धान्तहरू सम्झनु र तपाईंले अहिले अनि सधैंभरि आफ्नो जीवनमा गर्नुहुने निर्णयहरूमा ती प्रयोग गर्नु हो। यसो गर्नुभयो भने, तपाईं आफूलाई खटाइएको काममा लागिरहनुहुनेछ र यहोवाले तपाईंलाई प्रशस्त गरी आशिष्‌ दिनुहुनेछ।”

रिचर्ड रेइनले छानेको भाषणको विषय थियो, “यहोवाको इच्छा पूरा गर्न बलियो पारिएका।” तिनले अन्तरवार्ता लिएकाहरूमध्ये एक गिलियडको ३० औं कक्षाका स्नातक जोन कर्टस्‌ थिए, जसले स्पेनमा ४१ वर्षभन्दा बढी मिसनरी सेवा गरे। गिलियडको पाठ्यक्रमबारे प्रश्‍न गर्दा भाइ कर्टस्‌ले यसो भने: “मुख्य पाठ्यपुस्तक त बाइबल हो। अनि बाइबललाई राम्ररी बुझ्न हामीसित बाइबल सहायक पुस्तक पुस्तिकाहरू पनि छन्‌। यी सबैसित छन्‌। गिलियडमा कुनै गोप्य जानकारी दिइँदैन। म यस कुरामा जोड दिन थाक्दिनँ, किनकि गिलियडमा दिइने जानकारीहरू सबै साक्षीहरू आफैले तुरुन्तै पाउनसक्छन्‌।”

यस आध्यात्मिक कार्यक्रमको अन्तमा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य गेरिट लोशले “यहोवाका पखेटामा र पखेटामुनि” भन्‍ने विषयमा भाषण दिए। परमेश्‍वरले आफ्ना विश्‍वासी सेवकहरूलाई दिनुहुने सुरक्षा र समर्थनलाई बाइबलमा चीलका पखेटाहरूसित कसरी तुलना गरिएको छ भनी तिनले बताए। (व्यवस्था ३२:११, १२; भजन ९१:४) आफ्ना बचेराहरूलाई जोगाउन माउ चीलले कहिलेकाहीं घण्टौंसम्म आफ्ना पखेटाहरू फिंजाइ रहन्छ। कहिलेकाहीं माउ चीलले बचेराहरूलाई चिसोबाट जोगाउन तिनीहरूलाई आफ्नो पखेटामुनि लुकाउँछन्‌। त्यसै गरी आफ्नो उद्देश्‍यअनुरूप यहोवा आफ्ना विश्‍वासी जनहरूलाई मदत गर्नुहुन्छ र अझ विशेष गरी तिनीहरू आध्यात्मिक परीक्षाहरूमा परेका बेला तिनीहरूलाई सघाउनुहुन्छ। यहोवा आफ्ना सेवकहरूलाई तिनीहरूले सहनै नसक्ने परीक्षामा पर्न दिनुहुन्‍न बरु तिनीहरूले सहन सकोस्‌ भनेर उम्कने बाटो दिनुहुन्छ। (१ कोरिन्थी १०:१३) भाइ लोशले यसो भन्दै आफ्नो भाषण टुंग्याए: “आध्यात्मिक तवरमा जोगिन हामी यहोवाका पखेटामुनि बस्नैपर्छ। यसको अर्थ, हामीले स्वतन्त्र हुन खोज्ने मनोवृत्तिलाई हटाउनुपर्छ। त्यसकारण, हामी यहोवा र आमाजस्ती उहाँको संगठनले दिने निर्देशन अनि मायालु सल्लाह पालन गर्दै उहाँहरूको नजिक भइरहौं।”

कार्यक्रममा सभापतिले संसारभरिका शुभचिन्तकहरूले पठाएका टेलिग्राम र अभिवादनहरू पढेर सुनाए। त्यसपछि डिप्लोमा दिने पालो आयो। पाँच वर्षसम्म मात्र सीमित कक्षा सञ्चालन गर्ने लक्ष्य लिएर गिलियड स्कूल स्थापित गरिएको थियो। तर यहोवा परमेश्‍वरले यो स्कूललाई सञ्चालन हुन दिइरहनुभएको ५८ वर्ष भइसक्यो। भाइ बार्बरले आफ्नो सुरुको टिप्पणीमा भन्‍नुभएजस्तै “गिलियड स्कूल स्थापित भएको वर्ष अर्थात्‌ १९४३ देखि गिलियड स्नातकहरूले कायम गरेको रेकर्ड साँच्चै उदेकलाग्दो छ! तिनीहरू सबैले मिलेर गरेको प्रयासकै कारण आज पृथ्वीका सयौं हजार नम्र जनहरू यहोवाको महिमित संगठनमा आउन सकेका छन्‌।” हो, यो मिसनरी स्कूलले लाखौं मानिसहरूलाई परमेश्‍वरको राज्यको आशाका कारण आनन्दित हुने कारण दिएको छ।

[पृष्ठ २४-मा भएको पेटी]

कक्षाको तथ्यांक

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ८

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १८

विद्यार्थीहरूको संख्या: ४८

औसत उमेर: ३४

सच्चाइमा बिताएको औसत वर्ष: १८

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १३

[पृष्ठ २५-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ११० औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमश: अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हो।

(१) भासेक, इ.; माड्‌लाङ, एल.; इभान्स, जि.; वातानाबे, के. (२) ट्राफर्ड, पि.; टर्फ, जे.; विल्सन, पि.; विलियम्स, आर.; भेबर, ए. (३) जनसन, टि.; हानाऊ, के.; मर्लु, एफ.; शार्पङत्या, एफ.; पेक्हम, आर.; एन्ड्रसफ, पि. (४) सीर्जर्स, टि.; सीर्जर्स, डि.; बेइली, पि.; बेइली, एम.; माड्‌लाङ, के.; लिप्पोल्ड, इ.; लिप्पोल्ड, टि. (५) इभान्स, एन.; गोल्ड, आर.; बोल्मन, आइ.; भासेक, आर.; उन्जीन, जे.; विल्सन, एन. (६) ट्राफर्ड, जे.; जुडीमा, एल.; जुडीमा, आर.; बेङट्‌सन, सि.; बेङट्‌सन, जे.; ग्लानो, एम.; ग्लानो, एल. (७) पेक्हम, टि.; मर्लु, जे.; शार्पङत्या, सि.; गोल्ड, एम.; बोल्मन, आर.; उन्जीन, एफ. (८) भेबर, आर.; जनसन बि.; हानाऊ, डी.; वातानाबे, वाइ.; विलियम्स, आर,; ट्राफोर्ड, जि.; एन्ड्रसफ, टि.