सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सामयिक निर्देशनद्वारा युवायुवतीलाई मदत गर्ने

सामयिक निर्देशनद्वारा युवायुवतीलाई मदत गर्ने

सिद्ध र पूरा निश्‍चय भएका होओ

सामयिक निर्देशनद्वारा युवायुवतीलाई मदत गर्ने

प्रथम शताब्दीका इप्राफास नाउँ गरेका मसीही रोम गएका थिए। तथापि, तिनी बेला बेलामा एसिया माइनरको एउटा शहर कलस्सीलाई सम्झिरहन्थे र यसरी सम्झनुको खास कारण थियो। तिनले त्यहाँ सुसमाचार प्रचार गरेका र केही व्यक्‍तिहरूलाई येशूको चेला बन्‍न मदतसमेत गरेका थिए। (कलस्सी १:७) इप्राफासलाई कलस्सीका सँगी विश्‍वासीहरूको निकै चिन्ता लागेको थियो। यो कुरा प्रेरित पावलले रोमबाट कलस्सीहरूलाई लेखेको पत्रका निम्न शब्दहरूबाट बुझ्न सकिन्छ: “तिमीहरू परमेश्‍वरका सब इच्छामा सिद्ध र पूरा निश्‍चय भएका होओ भनेर प्रार्थनामा तिमीहरूका निम्ति बराबर प्रयत्न गर्दै . . . इप्राफासले तिमीहरूलाई सलाम भन्दछन्‌।”—कलस्सी ४:१२.

त्यसै गरी, वर्तमान समयका मसीही आमाबाबु आफ्ना छोराछोरीको आध्यात्मिक सुस्वास्थ्यको निम्ति खुरन्धार प्रार्थना गर्छन्‌। यस्ता आमाबाबु आफ्ना छोराछोरी विश्‍वासमा बलिया होऊन्‌ भनेर तिनीहरूको मनमा यहोवाप्रतिको प्रेम जगाउने प्रयत्न गर्छन्‌।

थुप्रै मसीही केटाकेटीले स्कूलमा र अन्य ठाउँमा तिनीहरूले सामना गर्ने समस्याहरूसित डट्‌न मदत मागेका छन्‌। एउटी १५ वर्षीया केटी यसो भन्छिन्‌: “हाम्रा समस्याहरू चर्कंदैछन्‌। जीवन बिताउनु डरसरी भइसक्यो। हामीलाई मदत चाहिएको छ!” के यस्ता युवायुवतीको अनुरोध र ईश्‍वरभीरु आमाबाबुको प्रार्थना सुनुवाइ भएको छ? छ! उनीहरूले “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” बाइबल आधारित निर्देशन पाएका छन्‌। (मत्ती २४:४५) हजारौं युवायुवतीलाई ‘सिद्ध र पूरा निश्‍चय हुन’ मदत गर्ने केही साहित्य यस लेखमा उल्लेख गरिएका छन्‌। आउनुहोस्‌, तीमध्ये केही प्रकाशनको छलफल गरौं।

“हेर्नुहोस्‌ . . . १५,००० . . . नयाँ साक्षीहरू!”

अगस्त १९४१ मा सं.रा.अ-को सेन्ट लुइस, मिसोरीमा यहोवाका साक्षीहरूको तात्कालीन सबैभन्दा ठूलो अधिवेशनमा १,१५,००० श्रोताहरू जम्मा भएका थिए। अधिवेशनको अन्तिम दिन अर्थात्‌ “बाल दिवस[मा]” लगभग १५,००० केटाकेटी मञ्च नजिकै बसेर जोसेफ एफ. रदरफोर्डको “राजाका केटाकेटी” विषयक भाषण ध्यानसित सुनिरहेका थिए। आफ्नो भाषणको अन्तमा ७१ वर्षीय रदरफोर्डले, बुबाले छोराछोरीलाई भनेझैं पारामा यसो भने:

“परमेश्‍वर र उहाँको राजाको आज्ञा पालन गर्न . . . चाहनुहुने सबै . . . केटाकेटीहरू हो, कृपया उठ्‌नुहोस्‌।” सबै केटाकेटी एकसाथ खडा भए। “हेर्नुहोस्‌,” भाइ रदरफोर्डले ठूलो स्वरमा भन्‍नुभयो, “परमेश्‍वरको राज्यका १५,००० भन्दा बढी नयाँ साक्षीहरू!” यसो भन्‍ने बित्तिकै चारैतिर तालीको आवाज गुञ्जियो। त्यसपछि वक्‍ताले यसो भने: “अरूलाई परमेश्‍वरबारे बताउन सक्दो गर्न चाहने जति सबैले कृपया हुन्छ गर्छु, भन्‍नुहोस्‌।” केटाकेटीहरूले ठूलो स्वरमा “हुन्छ, गर्छौं!” भने। त्यसपछि वक्‍ताले चिल्ड्रेन नामक नयाँ पुस्तक देखाए र निकै बेरसम्म पनि ताली बजिरह्‍यो।

यो मनै छुने भाषणपछि युवायुवतीको लामो ताँती मञ्चतिर लाग्यो र भाइ रदरफोर्डले तिनीहरूलाई यो नयाँ पुस्तक उपहारस्वरूप दिए। यो देखेर दर्शकहरूले आफ्नो आँसु थाम्न सकेनन्‌। एक प्रत्यक्षदर्शी त्यस घटनाबारे यसो भन्छन्‌: “युवाजनले आफ्नो परमेश्‍वर यहोवामाथि यसरी सम्पूर्ण भरोसा र विश्‍वास देखाएको यो दृश्‍य देखेर प्रभावित नहुने मान्छेको मन त ढुंगाकै हुनुपर्छ।”

यस अविस्मरणीय सम्मेलनमा १,३०० युवकयुवतीले यहोवाप्रतिको आफ्नो समर्पण पानीको बप्तिस्माद्वारा जाहेर गरे। तिनीहरूमध्ये थुप्रै आजसम्म पनि विश्‍वासमा पक्का छन्‌। तिनीहरू स्थानीय मण्डलीलाई सहयोग गर्छन्‌, बेथेलमा वा मिसनरीको रूपमा विदेशमा सेवा गर्छन्‌। साँच्चै, “बाल दिवस” र चिल्ड्रेन नामक पुस्तकले थुप्रै कलिलो हृदयमा अमेट छाप पाऱ्‍यो!

“चाहिएकै समयमा यी लेखहरू प्रकाशित भइरहेका हुन्छन्‌”

सन्‌ १९७० को दशकमा यहोवाका साक्षीहरूले सयौं हजार युवायुवतीहरूको हृदय छुने थप तीनवटा पुस्तकहरू प्रकाशित गरे। ती थिए, लिसनिङ टु द ग्रेट टिचर, योर युथ—गेटिङ द बेस्ट आउट अफ इट,बाइबलका कथाहरू भएको मेरो पुस्तक। सन्‌ १९८२ देखि ब्यूँझनुहोस्‌!-मा “युवा जनहरू सोध्छन्‌ . . . ” श्रृंखलाबद्ध लेखहरू प्रकाशित हुन थाल्यो। यी लेखहरूले थुप्रै जवान तथा वयस्कहरूको हृदय छोएका छन्‌। एक जना १४ वर्षे केटो यसो भन्छन्‌, “हरेक रात सुत्नुअघि परमेश्‍वरलाई यस्ता लेखहरूका लागि म धन्यवाद चढाउँछु।” एक १३ वर्षीया केटी भन्छिन्‌, “मलाई यी लेखहरू साह्रै मनपर्छ . . . चाहिएकै समयमा यी लेखहरू प्रकाशित भइरहेका हुन्छन्‌।” यी लेखहरू सामयिक र फाइदाजनक छन्‌ भनी आमाबाबु र नियुक्‍त मसीही प्राचीनहरू स्वीकार्छन्‌।

सन्‌ १९८९ सम्म, ब्यूँझनुहोस्‌!-मा लगभग २०० वटा जति “युवा जनहरू सोध्छन्‌ . . . ” लेखहरू प्रकाशित भइसकेका थिए। त्यस वर्षको “ईश्‍वरीय भक्‍ति” जिल्ला अधिवेशनमा युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तक विमोचित भयो। के यसले जवानहरूलाई विश्‍वासमा स्थिर रहन मदत गरेको छ? तीन जना किशोर यसप्रकार लेख्छन्‌: “हाम्रा समस्याहरू बुझ्न र त्यसको सामना गर्नका लागि यो पुस्तक बहुमूल्य सम्पत्ति साबित भएको छ। हामीप्रति यस्तो चासो लिनुभएकोमा तपाईंहरूलाई धेरै धन्यवाद छ।” संसारभरिका थुप्रै जवान पाठकहरू यस भनाइसित सहमत छन्‌।

“यसले हाम्रो भोक मेट्यो”

सन्‌ १९९९ मा यहोवाका साक्षीहरूले युवायुवतीका लागि अर्को सामयिक साधन—यङ पिपल आस्क—हाऊ क्यान आई मेक रियल फ्रेन्ड्‌स? नामक भिडियो निकाले। यसले गर्दा चारैतिरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। एक १४ वर्षीया केटीले यसो भनिन्‌, “यस भिडियोले मेरो मनै छोयो।” पतिबिना छोराछोरी हुर्काइ रहेकी एउटी आमा भन्छिन्‌, “यो हाम्रो आध्यात्मिक आहारको नियमित भाग हुनेछ।” “हाम्रो सबैभन्दा मिल्ने साथी यहोवाले आफ्नो विश्‍वव्यापी संगठनमा भएका युवायुवतीहरूलाई साँच्चै माया र ख्याल गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा मनै रमाउँछ” भनी एउटी युवती बताउँछिन्‌।

यो भिडियोले कुन लक्ष्य हासिल गऱ्‍यो? युवाजनहरू यसो भन्छन्‌: “यसले मलाई मेरो संगतिबारे होस पुऱ्‍याउन, मण्डलीमा सकेसम्म सबैसित घुलमिल हुन र यहोवालाई आफ्नो साथी बनाउन मदत गरेको छ।” “आफ्ना साथीहरूबाट आउने दबाउहरूको साहसी भई सामना गर्न यसले मलाई मदत गरेको छ।” “आफूले सकेसम्म राम्ररी यहोवाको सेवा गर्ने अठोट गर्न यसले मलाई मदत गरेको छ।” अनि एक विवाहित दम्पत्तिले यस्तो लेखे: “यो ‘भोजन’ प्रबन्ध गरिदिनुभएकोमा मेरो हार्दिक धन्यवाद स्वीकार्नुहोस्‌। यसले हाम्रो आध्यात्मिक भोक मेट्यो।”

परमेश्‍वरले सुम्पनुभएको जिम्मेवारी पूरा गर्दै अभिषिक्‍त “विश्‍वासी र बुद्धिमान दास[ले]” भोजन लिन चाहनेहरू जति सबैका लागि सामयिक आध्यात्मिक आहार उपलब्ध गराएको छ। अनि यस्ता धर्मशास्त्रीय निर्देशनले आज युवायुवतीहरूलाई ‘परिपक्व हुन र परमेश्‍वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न’ मदत गरेको देख्न पाउनु साँच्चै कत्रो आनन्दको कुरा भएको छ!