सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो उपासनाले मानिसहरूलाई एकताबद्ध पार्छ

साँचो उपासनाले मानिसहरूलाई एकताबद्ध पार्छ

साँचो उपासनाले मानिसहरूलाई एकताबद्ध पार्छ

साधारणतया धर्मले मानिसहरूमा विभाजन ल्याए तापनि एकमात्र साँचो परमेश्‍वरको उपासनामा मानिसहरूलाई एकताबद्ध पार्ने शक्‍ति छ। इस्राएल, परमेश्‍वरले छान्‍नुभएको राष्ट्र हुँदा थुप्रै निष्कपट हृदय भएका अन्यजातिहरू साँचो उपासनातिर आकर्षित भए। उदाहरणका लागि, रूथले आफ्नो राष्ट्र मोआबका देवहरूलाई त्यागेर नाओमीलाई यसो भनिन्‌: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।” (रूथ १:१६) सा.यु. प्रथम शताब्दीसम्ममा अन्यजातिहरू थुप्रै संख्यामा साँचो परमेश्‍वरका उपासक भइसकेका थिए। (प्रेरित १३:४८; १७:४) पछि येशूका प्रेरितहरू सुसमाचार सुनाउन टाढा टाढा यात्रा गर्न थाल्दा अन्य इमानदार मानिसहरू पनि साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध भए। “जीवित सच्चा परमेश्‍वरको सेवा गर्नालाई . . . तिमीहरू मूर्तिहरूबाट परमेश्‍वरतर्फ फर्क्यौ” भनेर प्रेरित पावलले लेखे। (१ थिस्सलोनिकी १:९) के आज पनि साँचो परमेश्‍वरको उपासनामा त्यस्तो एकताबद्ध पार्ने शक्‍ति छ?

आलोचकहरू “साँचो उपासना” अथवा “साँचो परमेश्‍वर”-को कुरा गर्नु गलत हो भनेर जिद्दी गर्छन्‌। तिनीहरूले त्यस्तो महसुस गर्नुको कारण तिनीहरूलाई सच्चाइको स्रोतबारे थाह नहुनु हो। तर सच्चाइ खोजी गर्ने विभिन्‍न पृष्ठभूमिका थुप्रै मानिसले उपासना भनेको आफूलाई जसरी मनलाग्यो त्यसरी गर्ने होइन भनेर बुझेका छन्‌। सबै कुराका सृष्टिकर्ता यहोवा परमेश्‍वर मात्र हाम्रो उपासनाको योग्य हुनुहुन्छ। (प्रकाश ४:११) उहाँ साँचो परमेश्‍वर हुनुहुन्छ र कसरी उपासना गर्नुपर्छ भनेर निर्णय गर्ने अधिकार उहाँसित छ।

यहोवाले आफ्नो वचन बाइबलमार्फत हामीलाई उहाँ हामीबाट के चाहनुहुन्छ भनेर बताउनुभएको छ। पृथ्वीका प्रायजसो सबै मानिसले नै सम्पूर्ण वा बाइबलका केही अंशहरू पढ्‌न सक्छन्‌। यसबाहेक, परमेश्‍वरको पुत्रले भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने . . . तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ।” (यूहन्‍ना ८:३१, ३२) तसर्थ, सत्य जान्‍न सकिन्छ। अनि विभिन्‍न धार्मिक पृष्ठभूमिका निष्कपट हृदय भएका लाखौं मानिसहरूले साहसका साथ सच्चाइलाई अँगालेर साँचो उपासनामा एकताबद्ध भएका छन्‌।—मत्ती २८:१९, २०; प्रकाश ७:९, १०.

हाम्रो समयमा विश्‍वव्यापी एकता!

बाइबलको सपन्याहको पुस्तकमा विभिन्‍न पृष्ठभूमिका मानिसहरू एकैसाथ भेला भएको उल्लेखनीय भविष्यवाणीबारे बताइएको छ। यसले भन्छ: “त्यस बेला देश देशका मानिसहरूलाई [म यहोवा परमेश्‍वरले] एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्‌।” (सपन्याह ३:९) परिवर्तित मानिसहरूले एकताबद्ध भएर परमेश्‍वरको सेवा गरिरहेको कत्ति सुन्दर चित्रण!

यो कहिले हुनेथियो? सपन्याह ३:८ भन्छ: “परमप्रभु भन्‍नुहुन्छ, यसकारण नाश पार्नलाई म नउठुञ्जेल तिमीहरू मलाई पर्खिरहो। जाति जातिहरू र राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि मेरो रीस, मेरो भयानक रीस पूरा खन्याउने मेरो इच्छा छ, किनकि सम्पूर्ण पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।” हो, यहोवा परमेश्‍वरले जाति-जातिहरूलाई एकत्रित पार्दै हुनुहुन्छ। तर आफ्नो भयानक रिस तिनीहरूमाथि पोखाउनुअघि पृथ्वीका नम्र जनहरूलाई शुद्ध भाषा सिकाउनुहुनेछ। त्यो समय अहिल्यै हो। किनभने सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको युद्धको लागि सबै राष्ट्रका मानिसलाई एकत्रित पार्ने काम अहिले भइरहेको छ।—प्रकाश १६:१४, १६.

आफ्ना जनहरूलाई एकताबद्ध पार्न यहोवाले तिनीहरूलाई शुद्ध भाषा दिनुहुन्छ। यो नयाँ भाषामा परमेश्‍वर र उहाँका उद्देश्‍यहरूसित सम्बन्धित सत्य कुरा बुझ्नु समावेश छ। शुद्ध भाषा बोल्नुमा सत्यमाथि विश्‍वास गर्नु, अरूलाई सिकाउनु र परमेश्‍वरका नियम तथा सिद्धान्तहरूअनुरूप जीवन बिताउनु पनि समावेश छ। यसको लागि विभाजन ल्याउने राजनीतिबाट टाढा रहनुपर्छ र जातिवाद तथा विभाजन ल्याउने राष्ट्रियता जस्ता यस संसारका विशेषता अथवा स्वार्थी मनोभावहरू हृदयबाट जरैदेखि हटाउनुपर्छ। (यूहन्‍ना १७:१४; प्रेरित १०:३४, ३५) सच्चाइलाई मनपराउने सोझा मानिसहरूले यो भाषा सिक्नसक्छन्‌। अघिल्लो लेखमा उल्लेख गरिएका धार्मिक तवरमा एकदमै भिन्‍न पाँच जना मानिस अहिले आएर साँचो परमेश्‍वर यहोवाको उपासनामा कसरी एकताबद्ध भएका छन्‌ विचार गर्नुहोस्‌।

तिनीहरू साँचो उपासनामा एकताबद्ध छन्‌

रोमन क्याथोलिक धर्ममा समर्पित फिडेलियाले आफ्नी छोरीको पढाइको सिलसिलामा एउटा बाइबल किनिन्‌ र तिनले पादरीलाई आफ्ना मरिसकेका पाँच जना छोराछोरीलाई के भयो यसबाट बताइदिनुहोस्‌ भनेर आग्रह गरिन्‌। “कस्तो निराशा!” तिनी भन्छिन्‌। त्यसैले यहोवाका साक्षीहरू तिनको घरमा आउँदा तिनले सोही प्रश्‍न गरिन्‌। तिनले आफ्नै बाइबलबाट मरिसकेकाहरूको अवस्थाबारे सत्य कुरा पढ्‌न पाउँदा चर्चले तिनलाई कस्तो धोखा दिएको रहेछ भनेर बुझिन्‌। तिनले मरिसकेकाहरू अचेत हुन्छन्‌ त्यसैले तिनीहरू स्वर्गमा प्रवेश गर्न नपाएर अन्धकार ठाउँमा अथवा अरू कतै दुःख भोगिरहेका छैनन्‌ भनेर सिकिन्‌। (भजन १४६:४; उपदेशक ९:५) फिडेलियाले आफ्ना सबै मूर्तिहरू फ्याँकिन्‌, चर्च धाउन छाडिन्‌ र बाइबल अध्ययन सुरु गरिन्‌। (१ यूहन्‍ना ५:२१) विगत दस वर्षदेखि तिनले अरूलाई धर्मशास्त्रीय सत्य कुरा बताउँदै आएकी छिन्‌।

तारा काठमाडौंबाट हिन्दू मन्दिरहरू त्यति नभएको देशमा बसाइँ सरिन्‌। त्यसैले आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न मेथोडिस्ट चर्च धाउन थालिन्‌। तर मानव पीडाहरूबारे तिनले त्यहाँबाट कुनै जवाफ पाइनन्‌। त्यसपछि यहोवाका साक्षीहरूसँग तिनको भेट भयो र तिनीसित बाइबल अध्ययन गर्ने प्रस्ताव राखे। तारा यसो भन्छिन्‌: “संसारमा भइरहेका दुःखकष्टको लागि मायालु परमेश्‍वर दोषी हुनै सक्दैन भनेर मैले बुझें। . . . शान्ति र मेलमिलापको नयाँ संसारको आशा पाएर म असाध्यै खुसी भएँ।” (प्रकाश २१:३, ४) ताराले आफ्ना हिन्दू मूर्तिहरू जम्मै फ्याँकिन्‌, आफ्नो देशको धार्मिक प्रथाहरू सबै छोडिन्‌ र यहोवाको साक्षीको हैसियतमा अरूको आध्यात्मिक आवश्‍यकता सन्तुष्ट पार्न मदत गर्दा साँचो आनन्द पाइन्‌।

बौद्ध धर्मावलम्बी पान्यालाई यहोवाका साक्षीहरूले पहिलोपल्ट बैंककमा भेट्‌दा तिनी ज्योतिषी थिए, त्यसैले उसलाई बाइबलका भविष्यवाणीहरूले मोहित गऱ्‍यो। पान्याले यसो भने: “मैले वर्तमान घटनाहरू सृष्टिकर्ताको सुरुको उद्देश्‍यभन्दा किन भिन्‍न छ र उहाँ अनि उहाँको सार्वभौमिकतालाई अस्वीकार गर्ने मानिसहरूले पुऱ्‍याएको क्षतिलाई उहाँले कसरी हटाउनुहुनेछ भनेर सिकेपछि मेरो आँखाबाट पर्दा हटाए जत्तिकै भयो। बाइबलका सम्पूर्ण सन्देशहरूमा एकरूपता थियो। यहोवालाई मैले वास्तविक व्यक्‍तिको रूपमा प्रेम गर्न थालें। यसले गर्दा मैले सही भनेर बुझेका कार्यहरू गर्न प्रेरणा मिल्यो। मानवीय बुद्धि र ईश्‍वरीय बुद्धिको भिन्‍नता अरूलाई पनि देखाउन उत्सुक भएँ। साँचो बुद्धिले मेरो जीवन साँच्चै परिवर्तन गरिदियो।”

केही समयपछि भर्जिललाई आफ्नो धार्मिक विश्‍वासमाथि ठूलो शंका लाग्न थाल्यो। अश्‍वेत जातिहरूलाई मात्र मदत गरेर श्‍वेतहरूको विरुद्धमा घृणा फैलाउने जातीय संगठनको लागि प्रार्थना गर्नुभन्दा तिनले सच्चाइ जे भए पनि अनि जहाँ भएपनि त्यसलाई पाउनको लागि परमेश्‍वरसित प्रार्थना गरे। भर्जिल सम्झन्छन्‌, “परमेश्‍वरलाई खुरन्धार प्रार्थना गरेको भोलिपल्ट बिहान मैले घरमा प्रहरीधरहरा पत्रिका भेट्टाएँ। . . . कसैले पत्रिका ढोका मुनिबाट छिराइ दिएको हुनुपर्छ।” चाँडै तिनीले यहोवाका साक्षीहरूसित जोडतोडका साथ बाइबल अध्ययन गर्न थाले। तिनी फेरि भन्छन्‌: “मैले जीवनमा पहिलो चोटि सन्तुष्ट महसुस गरें। . . . ममा आशाको किरण देखिन थाल्यो।” त्यसको केही समयपछि नै भर्जिल पनि परमेश्‍वरको वचन बाइबलमा दिएको साँचो आशा मानिसहरूलाई बाँड्‌नेहरूसित एकताबद्ध भए।

ल्याटिन अमेरिकाका ग्लाडीस नाउँ गरेकी साक्षीले चारो र तिनका साना छोराछोरीहरू कठिनाइमा परेको देखिन्‌ र तिनलाई बजार जान मदत गर्न थालिन्‌ र यसबाट चारो प्रभावित भइन्‌। पछि, ग्लाडीसले राखेको निश्‍शुल्क गृह बाइबल अध्ययन गर्ने प्रस्तावलाई चारोले स्वीकारिन्‌। चारोले आफ्नो बाइबलबाट सबै असल मानिसहरू स्वर्गमा जाँदैनन्‌ तर यहोवाले तिनीहरूलाई पृथ्वीमा अनन्त जीवन दिनुहुनेछ भन्‍ने कुरा सिकेपछि छक्क परिन्‌। (भजन ३७:११, २९) यस आशाबारेमा अरूलाई बताउन चारो आफै पनि १५ वर्षदेखि लागिपरेकी छिन्‌।

संसारभरिका मानिसहरू एक मात्र साँचो परमेश्‍वर यहोवाको उपासनामा एकताबद्ध भएको कल्पना गर्नुहोस्‌ त! यो कुनै दिवास्वप्न होइन। यो यहोवाले गर्नुभएको प्रतिज्ञा हो। आफ्ना अगमवक्‍ता सपन्याहमार्फत्‌ परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “तेरो बीचमा एउटा दीन र नम्र जातिलाई म छोड़िराख्नेछु, र तिनीहरूले परमप्रभुको नाउँमा विश्‍वास गर्नेछन्‌। . . . [तिनीहरूले] अधर्म गर्नेछैनन्‌, नता झूट बोल्नेछन्‌, न तिनीहरूका मुखमा छल हुनेछ, . . . र कसैले तिनीहरूलाई तर्साउनेछैन।” (सपन्याह ३:१२, १३) यो प्रतिज्ञा तपाईंलाई मन पऱ्‍यो भने बाइबलको यो उपदेश मनमा राख्नुहोस्‌: “हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:३.