सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न बनाउँछ

यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न बनाउँछ

यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न बनाउँछ

“परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।” —हितोपदेश १०:२२.

१, २. भौतिक सरसम्पत्ति हुँदैमा किन आनन्दित हुन सकिंदैन?

 भौतिक साधन प्राप्त गर्ने होडले आज लाखौं मानिसहरूलाई समातेको छ। तर के भौतिक साधनले मानिसहरूलाई आनन्दित तुल्याउनसक्छ? “मानिसलाई अहिले जति आफ्नो जीवन अन्धकार लागेको त मलाई थाहै छैन” भनी द अस्ट्रेलियन वूमेन्स विक्ली बताउँछ। उक्‍त पत्रिका अझै यसो भन्छ: “यो कुरा भन्‍नुपर्दा साह्रै विरोधाभासपूर्ण लाग्छ किनकि हामीलाई अस्ट्रेलियाको आर्थिक स्थिति अत्यन्तै राम्रो छ र जीवन अहिले जस्तो राम्रो कहिल्यै भएको थिएन भनिएको छ। . . . तैपनि, देशभरि निराशा छाएको छ। स्त्री तथा पुरुष सबैले आ-आफ्नो जीवनमा केही न केही अभाव भएको महसुस गरेका छन्‌ र त्यो के हो किटेर भन्‍न सकिरहेका छैनन्‌।” हामीसित भएका कुराले आनन्द अथवा जीवन दिनसक्दैन भनेर धर्मशास्त्रले भनेको कुरा कत्ति सत्य छ!—उपदेशक ५:१०; लूका १२:१५.

परमेश्‍वरको आशिष्‌ले अथाह आनन्द दिन्छ भनी बाइबलले सिकाउँछ। यस सम्बन्धमा हितोपदेश १०:२२ यसो भन्छ: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।” भौतिक सरसम्पत्ति प्राप्त गर्ने लोभले गर्दा अक्सर दुःखी हुनुपर्छ। त्यसैकारण त प्रेरित पावलले यस्तो चेताउनी दिनु साह्रै सुहाउँदो छ: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेम नै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्‌।”—१ तिमोथी ६:९, १०.

३. किन परमेश्‍वरका सेवकहरूले परीक्षाहरू सामना गर्नुपर्छ?

अर्कोतिर, “परमेश्‍वरको वचन पालन” गर्नेहरूले दुःखरहित आशिष्‌हरू पाउनेछन्‌। (व्यवस्था २८ :२) तथापि, कसैले सोध्लान्‌, ‘यदि यहोवाको आशिष्‌ले दुःख ल्याउँदैन भने, परमेश्‍वरका थुप्रै सेवक किन दुःखकष्टमा पर्छन्‌ त?’ परमेश्‍वरले हामीमाथि परीक्षाहरू आइपर्ने अनुमति त दिनुहुन्छ तर वास्तवमा ती परीक्षाहरू शैतान, त्यसको दुष्ट रीतिरिवाज र हाम्रो आफ्नै असिद्ध झुकाउले गर्दा भइरहेको हुन्छ भनी बाइबलले प्रकट गर्छ। (उत्पत्ति ६:५; व्यवस्था ३२:४, ५; यूहन्‍ना १५:१९; याकूब १:१४, १५) यहोवा “हरेक असल दान र हरेक उत्तम वरदान[को]” स्रोत हुनुहुन्छ। (याकूब १:१७) त्यसकारण, उहाँको आशिष्‌ले कहिल्यै पीडा ल्याउँदैन। अतः आउनुहोस्‌, यहोवाले दिनुहुने केही उत्तम वरदानहरू विचार गरौं।

परमेश्‍वरको वचन—अनमोल वरदान

४. यहोवाका जनहरूले यस “अन्तको समय[मा]” कस्ता आशिष्‌ तथा अनमोल उपहारको आनन्द उठाइरहेका छन्‌?

“अन्तको समयको” सम्बन्धमा दानियलको भविष्यवाणी यसो भन्छ: “साँचो ज्ञान प्रशस्त हुनेछ।” (NW) तथापि, यसको अर्थ के हो, यी शब्दहरूद्वारा प्रस्ट पारिएका छन्‌: “दुष्टहरूले चाहिं . . . बुझ्नेछैन, केवल ज्ञानी अगुवाहरूले मात्र बुझ्नेछन्‌।” (दानिएल १२:४, १०) उपरोक्‍त कुरा कल्पना गर्नुहोस्‌! परमेश्‍वरको वचन अर्थात्‌ विशेष गरी भविष्यवाणी यस्तो ईश्‍वरीय बुद्धिसहित व्यक्‍त गरिन्छ कि दुष्टहरूले यसको सही अर्थै बुझ्न सक्दैनन्‌ तर यहोवाका जनहरूले भने बुझ्न सक्छन्‌। परमेश्‍वरको पुत्रले यसरी प्रार्थना गर्नुभयो: “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढाउँदछु, तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाएर बालकहरूलाई प्रकट गर्नुभयो।” (लूका १०:२१) परमेश्‍वरको लिखित वचन बाइबलजस्तो अनमोल उपहार पाउनु र यहोवाले आध्यात्मिक ज्योति दिनुभएका मानिसहरूमाझ हुन पाउनु अत्यन्तै ठूलो आशिष्‌ हो!—१ कोरिन्थी १:२१, २७, २८; २:१४, १५.

५. बुद्धि के हो र यो कसरी प्राप्त गर्न सकिन्छ?

“माथिबाट आएको ज्ञान” नभएको भए हामीले आध्यात्मिक अन्तरदृष्टि पटक्कै पाउने थिएनौं। (याकूब ३:१७) बुद्धि भनेको समस्या समाधान गर्न, खतरा पन्छाउन वा टार्न, लक्ष्य प्राप्त गर्न वा उचित सल्लाह दिन ज्ञान र समझ प्रयोग गर्न सक्ने क्षमता हो। हामी कसरी ईश्‍वरीय बुद्धि प्राप्त गर्न सक्छौं? हितोपदेश २:६ यसो भन्छ: “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्‍ति उहाँबाटनै आउँछन्‌।” हो, बुद्धि दिनुहोस्‌ भनेर प्रार्थना गरिरह्‍यौं भने, यहोवाले हामीलाई सो दिनुहुनेछ किनकि उहाँले राजा सुलेमानलाई समेत “बुद्धि र समझ भएको मन” दिनुभएको थियो। (१ राजा ३:११, १२; याकूब १:५-८) बुद्धि प्राप्त गर्न हामीले यहोवाको वचन नियमित तवरमा अध्ययन तथा प्रयोग गरेर उहाँको कुरा सुनिरहनैपर्छ।

६. परमेश्‍वरका व्यवस्था र सिद्धान्तहरूलाई आफ्नो जीवनमा प्रयोग गर्नु किन बुद्धिमानी हो?

ईश्‍वरीय बुद्धिका प्रमुख उदाहरणहरू बाइबलका व्यवस्था र सिद्धान्तहरूमा पाइन्छन्‌। यी उदाहरणहरूले हामीलाई हर तवरमा मदत गर्नसक्छन्‌ जस्तै, शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक तवरमा। भजनरचयिताले यसप्रकार एकदमै सुहाउँदो गीत गाए: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने। परमप्रभुका भय शुद्ध छ, अनन्तकालसम्मै ठहर्ने, परमप्रभुको न्यायको वचन सच्चा र बिलकुलै धर्ममय छन्‌। तिनीहरू सुनभन्दा औ ज्यादै निखुर सुनभन्दा पनि मनपर्ने हुन्छन्‌।”—भजन १९:७-१०; ११९:७२.

७. परमेश्‍वरका धार्मिक स्तरहरूलाई बेवास्ता गर्दा कस्ता परिणामहरू भोग्नुपर्छ?

अर्कोतिर, परमेश्‍वरका धार्मिक स्तरहरू बेवास्ता गर्नेहरूले आफूले खोजेजस्तो आनन्द र स्वतन्त्रता पाउँदैनन्‌। ढिलो होस्‌ वा चाँडो, परमेश्‍वरको ठट्टा हुनेछैन भनेर तिनीहरूले थाह पाउनेछन्‌ किनकि मानिसले जे रोप्छ, त्यसैको कटनी पनि गर्नेछ। (गलाती ६:७) बाइबलका सिद्धान्तहरूलाई तिरस्कार गर्ने लाखौंले नचाहँदा नचाहँदै गर्भधारण गर्नु, घिनलाग्दा रोगको सिकार हुनु वा शिथिल पार्ने कुलतहरूमा फस्नुजस्ता दुःखदायी परिणामहरू भोगेका छन्‌। तिनीहरूले पश्‍चात्ताप गरेर आफ्नो मार्ग परिवर्तन गरेनन्‌ भने त्यसले अन्ततः तिनीहरूलाई मृत्युतर्फ डोऱ्‍याउनेछ र हुनसक्छ, तिनीहरू परमेश्‍वरले ल्याउनुहुने विनाशमा पर्नेछन्‌।—मत्ती ७:१३, १४.

८. परमेश्‍वरको वचनलाई प्रेम गर्नेहरू किन आनन्दित छन्‌?

तथापि, परमेश्‍वरको वचनलाई प्रेम गर्ने र ती पालन गर्नेहरूलाई अहिले नै र भविष्यमा पनि आशिष्‌ लाग्नेछ। परमेश्‍वरको व्यवस्थाले गर्दा तिनीहरूले स्वतन्त्र भएको महसुस गर्ने जायज कारण पाएका छन्‌ अनि तिनीहरूले पाप र त्यसका घातक प्रभावहरूबाट स्वतन्त्र हुने समय उत्सुकतासाथ पर्खिरहेका छन्‌। (रोमी ८:२०, २१; याकूब १:२५) यो आशा पक्का छ किनकि यो परमेश्‍वरले मानिसजातिलाई अत्यन्तै माया गरेर दिनुभएको उपहारमा आधारित छ र त्यो उपहार उहाँको एक मात्र पुत्र येशू ख्रीष्टको बलिदान हो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६; रोमी ६:२३) यस्तो सर्वश्रेष्ठ उपहारले मानिसजातिप्रति परमेश्‍वरको गहिरो प्रेमको पुष्टि दिनुका साथै यहोवाको वचन सुनिरहनेहरूलाई उहाँले दिनुहुने चिरकालीन आशिष्‌हरूको ग्यारेन्टी दिन्छ।—रोमी ८:३२.

पवित्र आत्माको वरदानका लागि कृतज्ञ

९, १०. यहोवाले दिनुहुने पवित्र आत्माको वरदानबाट हामी कसरी फाइदा उठाउन सक्छौं? एउटा उदाहरण दिनुहोस्‌।

परमेश्‍वरले माया गरेर हामीलाई दिनुभएको अर्को वरदान उहाँको पवित्र आत्मा हो र यस उपहारको लागि पनि हामी कृतज्ञ हुनुपर्छ। सा.यु. ३३ पेन्तिकोसमा प्रेरित पत्रुसले यरूशलेममा उपस्थित ठूलो समूहलाई यस्तो आग्रह गरे: “पश्‍चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” (प्रेरित २:३८) आज, यहोवा परमेश्‍वरले उहाँसित पवित्र आत्मा दिनुहोस्‌ भन्दै प्रार्थना गर्ने र उहाँको इच्छाअनुसार गर्न चाहने समर्पित सेवकहरूलाई पवित्र आत्मा दिनुभएको छ। (लूका ११:९-१३) पुरातन समयमा थुप्रै विश्‍वासी स्त्री तथा पुरुषलगायत प्रारम्भिक मसीहीहरूलाई ब्रह्‍माण्डकै सबैभन्दा सशक्‍त शक्‍ति अर्थात्‌ उहाँको पवित्र आत्मा अथवा सक्रिय शक्‍तिले सशक्‍त बनाएको थियो। (जकरिया ४:६; प्रेरित ४:३१) यहोवाका जनहरूको हैसियतमा भीषण अवरोध तथा चुनौतीहरू सामना गऱ्‍यौं भने पवित्र आत्माले हामीलाई पनि त्यसरी नै शक्‍तिशाली बनाउनसक्छ।—योएल २:२८, २९.

१० उदाहरणका लागि, पोलियो भएकोले ३७ वर्षसम्म श्‍वासप्रश्‍वास गराउने यन्त्रभित्र बसेकी लरेललाई विचार गर्नुहोस्‌। a यस्तो अत्यन्तै कठिन परिस्थितिको बावजूद तिनले आफ्नो मृत्यु नहोञ्जेलसम्म जोसिलो भई परमेश्‍वरको सेवा गरिरहिन्‌। वर्षौंको दौडान लरेलले यहोवाबाट प्रशस्त आशिष्‌ पाइन्‌। जस्तै, दिनको २४ सै घण्टा श्‍वासप्रश्‍वास गराउने यन्त्रभित्र बस्नु परे तापनि तिनले लगभग १७ जना व्यक्‍तिहरूलाई बाइबल सत्यको सही ज्ञानतर्फ डोऱ्‍याउन सकिन्‌। तिनको परिस्थितिले हामीलाई प्रेरित पावलका यी शब्दहरू स्मरण गराउँछ: “दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।” (२ कोरिन्थी १२:१०) हो, हामीले प्रचार कार्यमा पाउने कुनै पनि सफलता हाम्रो आफ्नै क्षमता र शक्‍तिले गर्दा पाएका होइनौं तर परमेश्‍वरले आफ्नो पवित्र आत्माद्वारा दिनुभएको मदतबाट पाएका हौं अनि उहाँ आफ्नो वचन सुनिरहनेहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।—यशैया ४०:२९-३१.

११. “नयाँ मानिसलाई धारण” गर्नेहरूमा परमेश्‍वरको आत्माले कस्ता गुणहरू उत्पन्‍न गर्छ?

११ परमेश्‍वरको वचन आज्ञाकारी भई सुन्दा उहाँको आत्माले प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता र संयमजस्ता गुणहरू हामीमा उत्पन्‍न गर्छ। (गलाती ५:२२, २३) यो “आत्माको फल” “नयाँ मानिसको” भाग हो र मसीहीहरूले पहिलेपहिले प्रकट गर्ने गरेका जंगली पशुको जस्तो अत्यन्तै स्वार्थी दुर्गुणहरूलाई हटाएर उनीहरू यो नयाँ मानिसलाई धारण गर्छन्‌। (एफिसी ४:२०-२४; यशैया ११:६-९) यी फलमध्ये सबैभन्दा महत्त्वपूर्ण फलचाहिं “सिद्धताको गाँठो” प्रेम हो।—कलस्सी ३:१४.

मसीही प्रेम—कदर गर्नुपर्ने वरदान

१२. तबीता र प्रथम शताब्दीका अन्य मसीहीहरूले कसरी प्रेम प्रकट गरे?

१२ यहोवाले दिनुहुने अर्को वरदान मसीही प्रेम हो र हामी यसको अत्यन्तै कदर गर्छौं। यो सिद्धान्तद्वारा डोरिएको हुन्छ तर यसमा यत्ति स्नेह हुन्छ कि यसले सँगी विश्‍वासीहरूलाई रगतको नातेदारहरूलाई भन्दा पनि घनिष्ठ बनाउनसक्छ। (यूहन्‍ना १५:१२, १३; १ पत्रुस १:२२) उदाहरणका लागि, प्रथम शताब्दीकी असल मसीही स्त्री तबीतालाई याद गर्नुहोस्‌। “तिनी असल काम गर्न र दान-पुण्यमा निपुण थिइन्‌,” विशेष गरी मण्डलीका विधवाहरूप्रति। (प्रेरित ९:३६) यी आइमाईहरूका नातेदारहरू थिए होलान्‌ तर तबीता तिनीहरूलाई मदत गर्न र प्रोत्साहन दिन आफूले सके जति गर्न चाहन्थिन्‌। (१ यूहन्‍ना ३:१८) तबीताले कत्ति राम्रो उदाहरण बसालिन्‌! भ्रातृप्रेमले गर्दा प्रिस्का र अक्वीलालाई पावलको निम्ति ‘आफ्नो गर्दन दिनसमेत’ उत्प्रेरित गऱ्‍यो। प्रेमले नै इप्राफास, लूका, ओन्सिफरस र अरूलाई रोममा कैद गरिएका प्रेरितलाई मदत गर्न उत्प्रेरित गऱ्‍यो। (रोमी १६:३, ४; २ तिमोथी १:१६; ४:११; फिलेमोन २३, २४) हो, यस्ता मसीहीहरूले आज ‘आपसमा प्रेम गरेका छन्‌’ र यो परमेश्‍वरबाट पाएको आशिष्‌ हो अनि यसले तिनीहरू येशूका साँचो चेलाहरू हुन्‌ भनेर चिनाउँछ।—यूहन्‍ना १३:३४, ३५.

१३. हाम्रो मसीही भ्रातृत्वको कदर गर्छौं र यसको निम्ति कृतज्ञ छौं भनेर हामी कसरी देखाउन सक्छौं?

१३ के तपाईं मसीही मण्डलीमा प्रकट भएको प्रेमको कदर गर्नुहुन्छ? के तपाईं विश्‍वभरि फैलिएर रहेका हाम्रा आध्यात्मिक भ्रातृत्वको निम्ति कृतज्ञ हुनुहुन्छ? यी सबैले पनि हामीलाई आनन्दित तुल्याउँछ र यी हामीलाई सम्पन्‍न बनाउने यहोवाका आशिष्‌हरू हुन्‌। यी कुराहरूलाई मूल्यवान्‌ ठान्छौं भनेर हामी कसरी देखाउन सक्छौं? परमेश्‍वरलाई पवित्र सेवा चढाएर, मसीही सभाहरूमा भाग लिएर अनि प्रेम र आत्माका अन्य फलहरू प्रकट गरेर।—फिलिप्पी १:९; हिब्रू १०:२४, २५.

“पुरुषहरूमध्ये वरदान”

१४. एक जना मसीहीले प्राचीन अथवा सेवकाई सेवकको रूपमा सेवा गर्ने हो भने के आवश्‍यक छ?

१४ मसीही पुरुषहरूले प्राचीन वा सेवकाई सेवकको रूपमा सँगी उपासकहरूको सेवा गर्न चाहनु राम्रो लक्ष्य हो। (१ तिमोथी ३:१, ८) सेवाका यी विशेष सुअवसरहरूका लागि योग्य हुन एक जना भाइ आध्यात्मिक व्यक्‍ति हुनैपर्छ, धर्मशास्त्रमा पोख्त हुनैपर्छ र क्षेत्र सेवकाईमा जोसिलो हुनैपर्छ। (प्रेरित १८:२४; १ तिमोथी ४:१५; २ तिमोथी ४:५) तिनले विनम्रता, विनय भाव र धैर्य प्रकट गर्नैपर्छ किनकि अहंकारी, घमण्डी र महत्त्वाकांक्षी मानिसहरूलाई आशिष्‌हरू लाग्दैनन्‌। (हितोपदेश ११:२; हिब्रू ६:१५; ३ यूहन्‍ना ९, १०) विवाहित हो भने, तिनी सम्पूर्ण परिवारको राम्ररी हेरचाह गर्नसक्ने मायालु शिर हुनुपर्छ। (१ तिमोथी ३:४, ५, १२) आध्यात्मिक धनसम्पत्तिको मूल्यांकन गर्ने भएकोले यस्तो व्यक्‍तिले यहोवाका आशिष्‌हरू पाउनेछन्‌।—मत्ती ६:१९-२१.

१५, १६. को “पुरुषहरूमध्ये वरदान” साबित भएका छन्‌? उदाहरण दिनुहोस्‌।

१५ मण्डलीमा प्राचीनको रूपमा सेवा गर्नेहरूले सुसमाचारवाहक, गोठालो र शिक्षकको रूपमा काम गर्ने प्रयास गर्दा तिनीहरूले यस्ता “पुरुषहरूमध्ये वरदान[को]” अत्यन्तै मूल्यांकन गर्ने उचित कारणहरू दिइरहेका हुन्छन्‌। (एफिसी ४:८, ११, NW) तिनीहरूको मायालु सेवाबाट लाभ उठाउनेहरूले तिनीहरूको सधैं मूल्यांकन नगर्लान्‌ तर यहोवाले यी विश्‍वासी प्राचीनहरूले गरिरहेका कामहरू सबै देखिरहनुभएको हुन्छ। उहाँका जनहरूको सेवा गरेर उहाँको नाउँप्रति देखाएको प्रेम उहाँले कहिल्यै बिर्सनु हुनेछैन।—१ तिमोथी ५:१७; हिब्रू ६:१०.

१६ मस्तिष्कको शल्यक्रिया हुन लागेकी एउटी मसीही केटीलाई भेट्‌न जाने एक मेहनती मसीही प्राचीनलाई विचार गर्नुहोस्‌। उक्‍त परिवारकी एक मित्रले “उहाँ साह्रै दयालु हुनुहुन्थ्यो, उहाँले सान्त्वना दिनुभयो र हाम्रो ख्याल राख्नुभयो” भनेर लेखिन्‌। “उहाँले हाम्रोलागि यहोवासित प्रार्थना गर्न अनुमति माग्नुभयो। उहाँले प्रार्थना गर्नुहुँदा, बुबाचाहिं [तिनी यहोवाका साक्षी होइनन्‌] धुरुधुरु रोए र अस्पतालको कोठामा हुनेहरू अरू सबै पनि रोए। यस प्राचीनको प्रार्थना कत्ति भावपूर्ण थियो र यस्तो समयमा यहोवाले तिनलाई पठाइदिनुभएर कत्ति माया देखाउनुभयो!” आफूलाई भेट्‌न आउने प्राचीनहरूबारे अर्की साक्षी बिरामीले यसो भनिन्‌: “उहाँहरू सघन उपचार कक्षमा मलाई राखिएको खाट नजिकै आउनुहुँदा मेरो मनमा मलाई जेसुकै भए पनि म सहन सक्छु भन्‍ने भावना जाग्यो। म दृढ र शान्त भएँ।” के कसैले यस्तो मायालु चासो किन्‍नसक्छ? कसैले सक्दैन! यो मसीही मण्डलीमार्फत परमेश्‍वरले दिनुभएको वरदान हो।—यशैया ३२:१, २.

क्षेत्र सेवकाईको वरदान

१७, १८. (क) यहोवाले आफ्ना सम्पूर्ण जनहरूलाई सेवा गर्ने कस्तो वरदान दिनुभएको छ? (ख) हामीले आफ्नो सेवकाई पूरा गर्न सकोस्‌ भनेर परमेश्‍वरले कस्तो मदत दिनुभएको छ?

१७ मानिसजातिले सर्वोच्च परमेश्‍वर यहोवाको सेवा गर्न पाउनुजस्तो ठूलो आदर अरू कुनै पनि कुराबाट पाउन सक्दैन। (यशैया ४३:१०; २ कोरिन्थी ४:७; १ पत्रुस २:९) तथापि, जन सेवकाईमा भाग लिन पाउने सुअवसर, परमेश्‍वरको साँच्चै सेवा गर्न चाहने जवान, वृद्ध, पुरुष तथा स्त्री सबैका लागि उपलब्ध छ। के तपाईं यो अनमोल वरदान प्रयोग गर्न चाहनुहुन्छ? अयोग्य महसुस गरेकाले कोहीकोही पछि हटलान्‌ तर नबिर्सनुहोस्‌, यहोवाले उहाँको सेवा गर्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ र हामीमा भएको कुनै पनि कमजोरीको क्षतिपूर्ति गर्नुहुन्छ।—यर्मिया १:६-८; २०:११.

१८ यहोवाले आफ्ना नम्र सेवकहरूलाई राज्य प्रचार कार्य सुम्पनुभएको छ, घमण्डी र आफ्नै बल बुद्धिमा भर पर्ने व्यक्‍तिविशेषलाई होइन। (१ कोरिन्थी १:२०, २६-२९) नम्र, विनयी मानिसहरूले आफ्नो सीमितता स्वीकार्छ र क्षेत्र सेवकाईमा जाँदा तिनीहरू परमेश्‍वरको मदतमाथि भर पर्छन्‌। उहाँले “विश्‍वासी . . . भण्डारे[मार्फत]” प्रबन्ध गर्नुभएको आध्यात्मिक सहयोगको पनि तिनीहरू मूल्यांकन गर्छन्‌।—लूका १२:४२-४४; हितोपदेश २२:४.

सुखी पारिवारिक जीवन—राम्रो वरदान

१९. के-कस्ता कुराहरूले छोराछोरीलाई सफलतासाथ हुर्काउन मदत गर्छन्‌?

१९ विवाह र सुखी पारिवारिक जीवन परमेश्‍वरले दिनुभएको वरदान हो। (रूथ १:९; एफिसी ३:१४, १५) छोराछोरीहरू पनि “परमप्रभुले दिनुभएको हक” हुन्‌ र परमेश्‍वरलाई मन पर्ने गुणहरू बच्चाहरूलाई सफलतासाथ सिकाउने आमाबाबु आनन्दित हुन्छन्‌। (भजन १२७:३) यदि तपाईं आमा वा बुबा हुनुहुन्छ भने, छोराछोरीलाई यहोवाको वचनअनुसार तालिम दिएर उहाँको कुरा सुनिरहनुहोस्‌। यसो गर्नेहरूले पक्कै यहोवाको सहयोग अनि प्रशस्त आशिष्‌ पाउनेछन्‌।—हितोपदेश ३:५, ६; २२:६; एफिसी ६:१-४.

२०. साँचो उपासनाबाट छोराछोरी तर्कंदा आमाबाबुलाई कुन कुरा मदतकारी साबित हुनसक्छ?

२० ईश्‍वरभीरु आमाबाबुले गरेको अथक प्रयासको बावजूद कुनैकुनै छोराछोरी हुर्किसकेपछि साँचो उपासनाबाट तर्कन सक्छन्‌। (उत्पत्ति २६:३४, ३५) यसले आमाबाबुलाई भावनात्मक तवरमा बर्बाद गर्नसक्छ। (हितोपदेश १७:२१, २५) तथापि, सबै आशा मार्नुको साटो येशूले उडन्ता पुत्रबारे दिनुभएको दृष्टान्तलाई सम्झनु मदतकारी साबित हुनसक्छ। त्यो छोराले घर छोडेर मनमानी जीवन बिताए तापनि पछि ऊ बुबाको घर फर्कंदा बुबाले उसलाई रमाउँदै मायालु तरिकामा स्वागत गऱ्‍यो। (लूका १५:११-३२) जेसुकै होस्‌, यहोवाले बुझ्नुहुन्छ, उहाँले मायालु चासो दिनुहुन्छ र निरन्तर सहयोग गर्नुहुन्छ भनेर विश्‍वासी मसीही आमाबाबुहरू ढुक्क हुन सक्छन्‌।—भजन १४५:१४.

२१. हामीले कसको कुरा सुन्‍नुपर्छ र किन?

२१ त्यसोभए आउनुहोस्‌, हामीहरू सबैले जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो पक्का गरौं। के हामी आफैलाई र हाम्रो परिवारलाई दुःखमा पार्नसक्ने भौतिक सरसम्पत्ति थुपार्ने होडमा लागेका छौं? अथवा के हामी ‘असल दान र उत्तम वरदानको’ स्रोत “ज्योतिका पिता[को]” पछि लागिरहेका छौं? (याकूब १:१७) “झूट र झूटको पिता” शैतान हामी भौतिक सरसम्पत्तिको पछि लागेर आफ्नो आनन्द र जीवन दुवै गुमाएको चाहन्छ। (यूहन्‍ना ८:४४; लूका १२:१५) तर, यहोवा हाम्रो साँच्चै ख्याल गर्नुहुन्छ र हाम्रो भलाइ चाहनुहुन्छ। (यशैया ४८:१७, १८) त्यसकारण आउनुहोस्‌, स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताको वचन सुनिरहौं र सधैं उहाँमा “मग्न” होऔं। (भजन ३७:४) यदि हामी यस्तो मार्गमा चल्यौं भने, यहोवाले दिनुहुने अनमोल वरदानहरू र प्रशस्त आशिष्‌ पाउनेछौं र त्यसमा अलिकति पनि पीडा हुनेछैन।

[फुटनोट]

a जनवरी २२, १९९३, पृष्ठ १८-२१ को ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• सबैभन्दा ठूलो आनन्द कहाँ पाउन सकिन्छ?

• यहोवाले आफ्ना जनहरूलाई दिनुहुने केही उपहारहरू के हुन्‌?

• किन क्षेत्र सेवकाई एउटा वरदान हो?

• छोराछोरी हुर्काउने सम्बन्धमा परमेश्‍वरको आशिष्‌ पाउन आमाबाबुले के गर्नसक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

के तपाईं वरदानरूपी परमेश्‍वरको लिखित वचनप्रति मूल्यांकन देखाउनुहुन्छ?

[पृष्ठ १७-मा भएको चित्र]

अत्यन्तै कठिन परिस्थितिको बावजूद लरेल निस्बेटले जोसिलो भई परमेश्‍वरको सेवा गरिन्‌

[पृष्ठ १८-मा भएका चित्रहरू]

तबीताजस्तै वर्तमान समयका मसीहीहरू आफ्नो मायालु कार्यका लागि चिरपरिचित छन्‌

[पृष्ठ १९-मा भएको चित्र]

मसीही प्राचीनहरू सँगी विश्‍वासीहरूप्रति मायालु चासो राख्छन्‌