सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌

‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌

‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌

अगमवक्‍ता यशैयाले यस्तो घोषणा गरे: “धर्मी मानिसलाई तिमीहरू भन, कि त्यसको हातको प्रतिफल त्यसलाई मिल्नेछ।” यशैयाले यसो पनि भने: “धर्मीको बाटो सोझो हुन्छ।” (यशैया ३:१०; २६:७) स्पष्ट छ, यदि हामी आफ्नो कामको असल फल पाउन चाहन्छौं भने, हामीले परमेश्‍वरको नजरमा जे ठीक छ त्यही गर्नैपर्छ।

तथापि, हामी कसरी धार्मिकताको बाटोमा हिंड्‌नसक्छौं? अनि त्यसो गर्दा हामीले कस्ता आशिष्‌हरू पाउनेछौं? अनि हामी परमेश्‍वरका धार्मिक स्तरहरूअनुरूप चल्दा अरूले कसरी फाइदा उठाउन सक्छन्‌? बाइबलको हितोपदेश पुस्तकको १० औं अध्यायमा पुरातन इस्राएलका राजा सुलेमानले धर्मी र दुष्टबीचको भिन्‍नता स्पष्ट पार्दै यी प्रश्‍नहरूको जवाफ दिए। तिनले “धर्मी” र “असल मानिस” भन्‍ने अभिव्यक्‍तिहरू जम्मा १२ पटक प्रयोग गरेका छन्‌। तीमध्ये आठवटा त पद १५-३२ मा पाइन्छन्‌। अतः हितोपदेश १०:१५-३२ छलफल गर्नु प्रोत्साहनदायी साबित हुनेछ। a

अनुशासनलाई पक्रिराख्नुहोस्‌

सुलेमान धार्मिकताको आवश्‍यकतालाई औंल्याउँछन्‌। तिनी यसो भन्छन्‌: “धनी मानिसको धननै त्यसको बलियो शहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ। असल मानिसको जीविका त्यसको मेहनत हो, तर दुष्ट मानिसको कमाइले त्यसको अन्त खराब हुन्छ।”—हितोपदेश १०:१५, १६.

एउटा बलियो शहरले त्यहाँका बासिन्दाहरूलाई सुरक्षा प्रदान गरेझैं धनसम्पत्तिले जीवनका चिन्ताहरूबाट जोगाउनसक्छ। अनि परिस्थिति परिवर्तन हुँदा गरिबी विनाशकारी साबित हुनसक्छ। (उपदेशक ७:१२) तथापि, बुद्धिमान्‌ राजाले धनी र गरिब दुवैलाई आइपर्ने खतराबारे संकेत गरिरहेका हुनसक्छन्‌। धनी मानिससित आफ्नो सरसम्पत्तिमाथि सम्पूर्ण भरोसा राख्ने झुकाउ हुन्छ र उसले आफ्ना बहुमूल्य सम्पत्तिलाई “बलियो शहरजस्तै” ठान्‍नसक्छ। (हितोपदेश १८:११) अनि गरिब व्यक्‍तिले चाहिं गरिबीले गर्दा आफ्नो भविष्य नै अन्धकारमय हुनेछ भन्‍ने गलत विचार राख्नसक्छ। यसरी दुवैले परमेश्‍वरसित राम्रो नाउँ राख्न बिर्सन्छन्‌।

अर्कोतिर, धर्मी व्यक्‍तिसित भौतिक साधनहरू चाहे कम होस्‌ या बढी, तिनको धार्मिक कामले तिनलाई जीवनतर्फ डोऱ्‍याउँछ। कसरी? तिनी आफूसित भएका कुराहरूमा सन्तुष्ट हुन्छन्‌। आर्थिक अवस्थाले गर्दा तिनी परमेश्‍वरसितको आफ्नो राम्रो सम्बन्धलाई बिगार्न चाहँदैनन्‌। धनी होस्‌ वा गरिब, धर्मी व्यक्‍तिको जीवनशैलीले तिनलाई अहिले जीवनमा आनन्द दिन्छ भने भविष्यमा अनन्त जीवनको आशा। (अय्यूब ४२:१०-१३) दुष्ट व्यक्‍तिले धनसम्पत्ति कमाइहाले तापनि त्यसबाट फाइदा उठाउन सक्दैन। धनसम्पत्तिले दिने सुरक्षाको मूल्यांकन गर्नु र परमेश्‍वरको इच्छामुताबिक जीवन बिताउनुको साटो उसले आफ्नो सरसम्पत्ति पापपूर्ण जीवन बिताउनमा प्रयोग गर्छ।

इस्राएलका राजा अझै यसो भन्छन्‌: “सुधारनै जीवनको मूल-बाटो हो, हप्काइको वास्ता नगर्दा बाटो बिराउँछ।” (हितोपदेश १०:१७) एक बाइबल शास्त्रज्ञ यस पदलाई दुई अर्थमा बुझ्न सकिन्छ भन्छन्‌। तीमध्ये एउटा, सुधार मन पराउने व्यक्‍ति र धार्मिकताको पछि लाग्ने व्यक्‍ति जीवनको मार्गमा हुन्छ तर हप्काइ वास्ता नगर्ने व्यक्‍ति यो मार्गबाट तर्केर जान्छ। यस पदको अर्थ यस्तो पनि हुनसक्छ, “जसले अनुशासन पालन गर्छ, त्यसले जीवनको बाटो देखाउँछ [किनकि उसको असल उदाहरणले अरूलाई फाइदा गर्छ], तर सुधारको बेवास्ता गर्नेले अरूलाई पनि बहकाउँछ।” (हितोपदेश १०:१७, नयाँ संशोधित संस्करण) जेसुकै होस्‌, हामीले अनुशासनलाई पक्रिराख्नु र हप्काइलाई बेवास्ता नगर्नु साँच्चै कत्ति महत्त्वपूर्ण रहेछ!

घृणाको सट्टा प्रेम गर्नुहोस्‌

त्यसपछि सुलेमान एउटै अर्थ लाग्ने द्विखण्डीय हितोपदेश प्रस्तुत गर्छन्‌ र यसमा दोस्रो विचारले पहिलोलाई सबल बनाएको पाउँछौं। तिनी भन्छन्‌: “जसले आफूमा घृणा लुकाएर राख्छ, त्यसको जिब्रो छली हुन्छ।” (नयाँ संशोधित संस्करण) यदि कुनै व्यक्‍तिले मनमा घृणा लुकाएर राखेको छ र उक्‍त घृणालाई मीठो बोली वा चाप्लुसीले लुकाउन खोज्छ भने, ऊ छली हो अर्थात्‌ उसको “जिब्रो छली हुन्छ।” त्यसैकारण, बुद्धिमान्‌ राजा अझै यसो भन्छ: “तर जसले अपवाद फैलाउँछ त्यो मूर्ख हो।” (हितोपदेश १०:१८) आफ्नो घृणालाई लुकाउनुको सट्टा केही मानिस आफूले घृणा गरेको व्यक्‍तिलाई झूटो आरोप लगाउने वा तिनीबारे अपमानजनक कुरा गर्ने गर्छन्‌। यसो गर्नु एकदमै मूर्खता हो किनकि यस्तो निन्दनीय रिपोर्टले उक्‍त व्यक्‍ति कस्तो हो, त्यसमा कुनै परिवर्तन ल्याउँदैन। अनि तिनको कुरा सुन्‍ने बुझकी व्यक्‍तिले निन्दा गर्ने व्यक्‍तिको द्वेष भाव बुझिहाल्छ र उसको आदर गर्दैन। यसरी गलत रिपोर्ट फैलाउने व्यक्‍तिले आफैलाई घात पुऱ्‍याउँछ।

धर्मी मार्ग भनेको न छल गर्नु न त अरूको निन्दा गर्नु नै हो। परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “आफ्नो भाइ-वन्धुसित दुश्‍मनी नराख।” (लेवी १९:१७) अनि येशूले आफ्ना श्रोताहरूलाई यसो भन्‍नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। र तिमीहरू तिमीहरूका स्वर्गका पिताका सन्तान हुनसक्नेछौ।” (मत्ती ५:४४, ४५) त्यसकारण, आफ्नो हृदय घृणाको सट्टा प्रेमले भर्नु कत्ति राम्रो हुन्छ!

‘चूप लाग्नु’

जिब्रोलाई तह लाउनुपर्ने आवश्‍यकतामाथि जोड दिंदै बुद्धिमान्‌ राजा यसो भन्छन्‌ “मानिसहरू जति धेरै बोल्छन्‌ उतिनै धेरै पाप गर्ने सम्भावना हुन्छ। बुद्धिमान मानिस चूप लागिबस्छ।”हितोपदेश १०:१९.

“मूर्खले बात गरेको गरेकै हुन्छ।” (उपदेशक १०:१४) उसले “मूर्खै कुरा गर्छ।” (हितोपदेश १५:२) धेरै बोल्ने मानिस सबै मूर्ख हुन्छ भन्‍न खोजिएको होइन। तर धेरै बोल्ने व्यक्‍ति सजिलै अरूको कुरा काट्‌ने वा अफवाह फैलाउने माध्यम हुनसक्छ! मूर्ख बोलीले गर्दा राम्रो नाउँमा दाग लाग्न, चित्त दुख्न, सम्बन्ध बिग्रन र शारीरिक चोटसमेत लाग्नसक्छ। “जब कुरा बढ्‌ता गरिन्छ, पापको अभाव हुँदैन।” (हितोपदेश १०:१९; नयाँ संशोधित संस्करण) यसबाहेक, हरेक विषयमा टीकाटिप्पणी गर्ने व्यक्‍ति दिक्कलाग्दो हुन्छ। त्यसैले, हामी बढ्‌ता बकबक गर्ने नहोऔं।

बुद्धिमान्‌ मानिस झूटो कुरा बोल्नदेखि टाढा मात्र बस्दैन तर उसले आफ्नो बोलीलाई पनि ध्यान दिन्छ। यस्तो मानिसले बोल्नुअघि सोच्छ। यहोवाका स्तरहरूप्रतिको प्रेम अनि सँगी मानिसहरूलाई मदत गर्ने साँचो इच्छाले उत्प्रेरित भएर तिनले आफ्नो शब्दले अरूमाथि पार्ने प्रभावलाई याद गर्छ। तिनको बोली मायालु र दयालु हुन्छ। आफ्नो बोलीलाई कसरी मनपर्दो र मदतकारी बनाउने, त्यसबारे तिनी मनन गर्छन्‌। तिनका शब्दहरू “चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै” हुन्छन्‌।—हितोपदेश २५:११.

‘धेरैलाई तृप्त गराइरहनुहोस्‌’

सुलेमान अझै यसो भन्छन्‌: “धर्मात्माको जिब्रो निखुर चाँदी हो, तर दुष्टको हृदय भने बेकामको हुन्छ।” (हितोपदेश १०:२० नयाँ संशोधित संस्करण) धर्मीले भनेको कुरा शुद्ध हुन्छ अर्थात्‌ मिसावट नभएको निखुर चाँदीजस्तै हुन्छ। यहोवाका सेवकहरूले परमेश्‍वरको वचनको जीवनदायी ज्ञान अरूसित बाँड्‌ने भएकोले तिनीहरूबारे पनि यसै भन्‍न सकिन्छ। तिनीहरूको महान्‌ निर्देशक यहोवा परमेश्‍वरले तिनीहरूलाई सिकाउनुभएको छ र ‘थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो त्यो जान्‍नसकोस्‌ भनेर यहोवाले तिनीहरूलाई सिक्नेहरूको बोली दिनुभएको छ।’ (यशैया ३०:२०; ५०:४) साँच्चै, बाइबल सच्चाइ बताउने भएकोले तिनीहरूको जिब्रो निखुर चाँदीजस्तै भएको छ। इमानदार हृदय हुनेहरूका लागि तिनीहरूको बोली, दुष्टहरूको मनसायभन्दा साह्रै बहुमूल्य हुन्छ! आउनुहोस्‌, परमेश्‍वरको राज्य र उहाँका उदेकका कामहरूबारे कुरा गर्न हामी उत्सुक होऔं।

धर्मी व्यक्‍ति, वरपरका मानिसहरूका लागि आशिष्‌ हुन्‌। सुलेमान अझै यसो भन्छन्‌, “धर्मीको ओठले धेरैलाई तृप्त गराउँछन्‌, तर बुद्धिको अभावले नै मूर्खहरू मर्छन्‌।”—हितोपदेश १०:२१ नयाँ संशोधित संस्करण।

‘धर्मीले’ कसरी “धेरैलाई तृप्त गराउँछन्‌?” यहाँ प्रयोग गरिएको हिब्रू शब्दले “गोठालो गर्ने” भन्‍ने अर्थ बुझाउँछ। यसले पुरातन समयका गोठालाले आफ्नो भेडाको हेरचाह गरेजस्तै गरी डोऱ्‍याउने र पालनपोषण गर्ने अर्थ पनि दिन्छ। (१ शमूएल १६:११; भजन २३:१-३; श्रेष्ठगीत १:७) धर्मी व्यक्‍तिले अरू मानिसहरूलाई धार्मिकताको मार्गमा डोऱ्‍याउँछ र तिनको बोलीले आफ्ना श्रोताहरूलाई पोषण दिन्छ। फलतः तिनीहरूले आनन्ददायी अनि सन्तोषप्रद जीवन बिताउनेछन्‌ र अनन्त जीवनसमेत प्राप्त गर्नसक्ने छन्‌।

मूर्खबारे चाहिं के भन्‍न सकिन्छ? बुद्धिको अभावले गर्दा उसले असल मनोवृत्तिको कमी प्रकट गर्छ वा आफ्नो कामको परिणाम कस्तो हुन्छ, त्यसप्रति कुनै चासो देखाउँदैन। यस्तो व्यक्‍तिले परिणामको वास्तै नगरी आफ्नै इच्छा मात्र पूरा गर्न खोज्छ। अतः उसले आफ्नो कामको दण्ड भोग्छ। धर्मी व्यक्‍तिले आफूलगायत अरूलाई पनि जीवित रहन मदत गर्छ भने, बुद्धिको अभाव भएको व्यक्‍तिले अरूलाई त परै जाओस्‌ आफूलाई समेत जीवित राख्न सक्दैन।

छाडा चालचलन त्याग्नुहोस्‌

व्यक्‍तिविशेषको व्यक्‍तित्व उसलाई मन पर्ने र मन नपर्ने कुराहरूबाट प्रकट हुन्छ। यही तथ्यलाई व्यक्‍त गर्दै इस्राएलका राजा यसो भन्छन्‌: “मूर्खको निम्ति व्यभिचार, खेलजस्तै हो। समझ-शक्‍ति भएका मानिसहरू बुद्धिमा प्रसन्‍न हुन्छन्‌।”—हितोपदेश १०:२३.

कसैकसैले छाडा चालचलनलाई खेलको रूपमा लिन्छन्‌ र “रमाइलो गर्न” त्यसमा सहभागी हुन्छन्‌। यस्ता व्यक्‍तिहरू, सबैले परमेश्‍वरलाई लेखा दिनैपर्छ भन्‍ने तथ्यलाई बेवास्ता गर्छ र आफ्नो मार्ग गलत हो भनेर स्वीकार्न इन्कार गर्छन्‌। (रोमी १४:१२) परमेश्‍वरले उनीहरूको गलत कार्य देख्नु हुन्‍न भन्‍ने अनुमान लाउँदै उनीहरू भ्रष्ट तर्क गर्छन्‌। आफ्नो चालचलनबाट उनीहरू प्रायः यसो भन्छन्‌: “ईश्‍वर छैन।” (भजन १४:१-३; यशैया २९:१५, १६) कस्तो मूर्खता!

अर्कोतिर, समझशक्‍ति भएको मानिसले छाडा चालचलन खेल होइन भनेर बुझ्छ। यसले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछ र उहाँसितको सम्बन्धलाई बिगार्नसक्छ भनेर तिनलाई थाह हुन्छ। यस्तो चालचलनमा लाग्नु मूर्खता हो किनकि यस्तो आचरणले गर्दा मानिसहरूले आत्मसम्मान गुमाउँछन्‌, वैवाहिक सम्बन्ध भताभुंग हुन्छ, मन तथा शरीरलाई हानि पुग्छ र आध्यात्मिकता गुम्छ। छाडा चालचलनलाई त्याग्नु र अत्यन्तै प्रिय बहिनीलाई जस्तै बुद्धिलाई माया गर्नु बुद्धिमानी कुरा हो।—हितोपदेश ७:४.

धार्मिकताको जगमा बसालिएको

उचित जगमा जीवन बसाल्नुपर्ने आवश्‍यकताको मोललाई औंल्याउँदै सुलेमान यसो भन्छन्‌: “दुष्टको भयले आफैलाई पक्रन्छ, तर धर्मीको इच्छा पूरा हुन्छ। विपत्तिको आँधी-बेह्री आउन बित्तिकै दुष्ट रहँदैरहँदैन, तर धर्मीका जगहरू अनन्तसम्मैं रहन्छन्‌।”—हितोपदेश १०:२४, २५.

दुष्टले अरूलाई निकै भयभीत बनाउनसक्छ। तर अन्तमा उसलाई जे कुराको डर थियो, त्यही ऊमाथि आइपर्छ। धार्मिक सिद्धान्तहरूमा जग नबसालिएको कारण उसको अन्त पनि डरलाग्दो आँधीबेहरीमा कच्चा घर भत्केजस्तै हुन्छ। दबाउमा पर्दा उसले त्यसको प्रतिरोध गर्न सक्दैन। अर्कोतिर, धर्मी व्यक्‍ति येशूको वचनअनुरूप चल्छ। तिनी “एउटा बुद्धिमान मानिस[जस्तै]” हुन्‌, “जसले आफ्नो घर चटानमाथि बनायो।” “अनि” येशूले भन्‍नुभयो, “पानी परेर भल आयो, हुरी चल्यो, र त्यस घरमाथि बजारियो, र पनि त्यो ढ़लेन। किनकि त्यो चटानमाथि बसालिएको थियो।” (मत्ती ७:२४, २५) यस्तो व्यक्‍ति स्थिर हुन्छ अर्थात्‌ तिनका विचार तथा कामले ईश्‍वरीय सिद्धान्तहरूमा बलियो जग बसालेको हुन्छ।

धर्मी र दुष्टबीचको भिन्‍नतालाई अझ प्रस्ट पार्नुअघि बुद्धिमान्‌ राजाले एउटा छोटो तर महत्त्वपूर्ण चेताउनी दिन्छन्‌। तिनी यसो भन्छन्‌: “सिर्काले दाँत कुँड़िए र धुवाँले आँखा पिराएझैं अल्छे दास त्यसका मालिकको निम्ति हुन्छ।” (हितोपदेश १०:२६) सिर्काले दाँत कुँडिन्छ। त्यसमा भएको एसिटिक एसिडले गर्दा मुख अमिलिन्छ र दाँत सिरिंङसिरिंङ्‌ हुन्छ। धूवाँले आँखा भत्भती पोल्छ र चसचस बिझ्छ। त्यसै गरी, अल्छेलाई काममा लगाउने वा उसलाई आफ्नो प्रतिनिधि बनाउने व्यक्‍ति व्याकुल हुनुपर्ने र उसले आर्थिक भार खप्नुपर्ने हुन्छ।

‘यहोवाको मार्ग एक किल्ला हो’

इस्राएलका राजा अझै यसो भन्छन्‌: “परमप्रभुको डरले मानिस दीर्घायु हुन्छ, तर दुष्टहरूको आयु छोटो हुन्छ। धर्मीको आशा पहलाउँछ, तर दुष्टको भरोसा ओइलाउँछ।”—हितोपदेश १०:२७, २८.

धर्मी व्यक्‍ति ईश्‍वरीय भयद्वारा निर्देशित हुन्छ र तिनी आफ्ना विचार, बोली र कामबाट यहोवालाई प्रसन्‍न तुल्याउने प्रयास गर्छन्‌। परमेश्‍वरले तिनको ख्याल राख्नुहुन्छ र तिनका धार्मिक प्रत्याशाहरू पूरा गरिदिनुहुन्छ। तर दुष्टले परमेश्‍वरको बेवास्ता गर्दै जीवन बिताउँछ। कहिलेकाहीं उसको आशा साकार भएजस्तो देखिएला तर ती क्षणिक हुन्छन्‌ किनकि हिंसाले गर्दा वा आफ्नो जीवनशैलीको कारण निम्त्याएको रोगले गर्दा उसको आयु छोटो हुन्छ। उसको मृत्यु हुँदा उसका सबै आशाहरू चकनाचूर हुन्छन्‌।—हितोपदेश ११:७.

सुलेमान यसो भन्छन्‌: “परमप्रभुको मार्ग इमान्दारीको निम्ति एक किल्ला हो, तर दुष्ट काम गर्नेको निम्ति विध्वंस हो।” (हितोपदेश १०:२९) यहाँ उल्लेख गरिएको यहोवाको मार्ग हामी हिंड्‌नुपर्ने जीवनतर्फ लैजाने मार्ग होइन तर परमेश्‍वरले मानिसजातिसित गर्नुहुने व्यवहार हो। मोशाले यसो भने, “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ किनकि उहाँका सबै काम न्यायसँगत छन्‌।” (व्यवस्था ३२:४) परमेश्‍वरका धर्मी मार्गहरूको अर्थ धर्मीहरूका लागि सुरक्षा हो भने दुष्टहरूका लागि विनाश।

आफ्ना जनहरूका लागि यहोवा कत्ति बलियो किल्ला साबित हुनुभएको छ! “धर्मी मानिस कहिल्यै डग्मगाउँदैन, तर दुष्ट मानिस पृथ्वीमा रहँदैन। धर्मीको मुखबाट बुद्धिको कुरा निस्कन्छ, तर भड़काउने जिब्रो जरैबाट उखेलिनेछ। धर्मी मानिसले ठीक समयमा ठीक कुरा गर्छ, तर दुष्टले नाश गर्ने कुरा मात्र जान्दछ।”—हितोपदेश १०:३०-३२.

धर्मीको निश्‍चय भलो हुन्छ र तिनले आशिष्‌ पाउँछन्‌ किनकि तिनी धर्मी मार्गमा हिंड्‌छन्‌। साँच्चै, “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।” (हितोपदेश १०:२२) त्यसकारण, हामीले सधैं ईश्‍वरीय सिद्धान्तहरूअनुरूप काम गरेका छौं कि छैनौं पक्का गर्न सकौं। हामी के बोल्छौं, त्यसबारे होस पुऱ्‍याऔं अनि अरूलाई परमेश्‍वरको वचनको जीवनदायी सच्चाइद्वारा पोषण दिन आफ्नो जिब्रो प्रयोग गरौं र तिनीहरूलाई धार्मिकताको मार्गमा डोऱ्‍याऔं।

[फुटनोट]

[पृष्ठ २६-मा भएको चित्र]

जिब्रो “निखुर चाँदी” जस्तै हुनसक्छ