सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो उपासनाका समर्थकहरू उहिले र अहिले

साँचो उपासनाका समर्थकहरू उहिले र अहिले

साँचो उपासनाका समर्थकहरू उहिले र अहिले

के तपाईंलाई पुरातन शहर यरूशलेमको लागि रुने मानिसको नाउँ याद छ? तपाईं भन्‍नुहोला ‘येशू’ र हुन पनि, उहाँ रुनुभएको थियो। (लूका १९:२८, ४१) तथापि, येशू यस पृथ्वीमा आउनुभन्दा शताब्दीयौंअघि परमेश्‍वरका अर्का विश्‍वासी सेवक पनि यरूशलेमको लागि त्यसरी नै रोएका थिए। तिनको नाउँ थियो, नहेम्याह।—नहेम्याह १:३, ४.

नहेम्याह यरूशलेमको लागि रुनुको कारण के थियो? तिनले त्यस शहर र त्यहाँका बासिन्दाहरूलाई फाइदा हुने के काम गरे? अनि तिनको उदाहरणबाट हामी के सिक्न सक्छौं? त्यसको जवाफ पाउन हामी तिनको दिनमा घटेका केही घटनाहरूलाई पुनर्विचार गरौं।

भावना भएका दृढ पुरुष

नहेम्याह यरूशलेमका नियुक्‍त राज्यपाल थिए तर त्यसअघि तिनी शुशन शहरको फारसी न्यायलयका उच्चपदस्थ अधिकारी थिए। तैपनि तिनको सुखसयलपूर्ण जीवनले टाढा यरूशलेममा बसिरहेका आफ्ना यहूदी भाइहरूप्रति तिनको चिन्तालाई कम गरेन। यरूशलेमबाट शुशन आएका यहूदीहरूसित तिनले सबैभन्दा पहिला “यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूका परिवारहरूका विषयमा तिनीहरूसित सोधपूछ” गरे। (नहेम्याह १:२) ती आगन्तुकहरूले यरूशलेमका मानिसहरूले “साह्रै दुःख” भोगिरहेका छन्‌ अनि शहरको पर्खाल पनि “भत्काइयो” भनेर बताउँदा नहेम्याह ‘बसेर केही दिनसम्म रोए।’ त्यसपछि तिनले आफूलाई लागेको दुःख यहोवासामु हार्दिक प्रार्थनामा पोखे। (नहेम्याह १:३-११) नहेम्याह किन त्यतिविघ्न दुःखी भएका थिए? किनभने यरूशलेम पृथ्वीमा यहोवाको उपासनाको केन्द्रबिन्दु थियो र यसको उपेक्षा भइरहेको थियो। (१ राजा ११:३६) यसबाहेक, त्यस शहरको नाजुक स्थितिले त्यहाँका बासिन्दाहरूको खस्कँदो आध्यात्मिक अवस्था झल्काउँथ्यो।—नहेम्याह १:६, ७.

यरूशलेमप्रतिको चिन्ता र त्यहाँ बसोबास गरिरहेका यहूदीहरूप्रतिको अनुकम्पाले गर्दा तिनी पनि त्यस काममा सघाउन अग्रसर भए। फारसी राजाले तिनलाई कामबाट छुट्टी दिने बित्तिकै यरूशलेमसम्मको लामो यात्रा गर्ने योजना बनाउन थाले। (नहेम्याह २:५, ६) तिनी आफ्नो श्रम, समय र सीपलाई प्रयोग गर्दै मर्मत कार्यमा सघाउ पुऱ्‍याउन चाहन्थे। त्यहाँ पुगेको केही दिनभित्रै तिनले यरूशलेमको पर्खाल मर्मत गर्ने योजना तयार गरे।—नहेम्याह २:११-१८.

नहेम्याहले पर्खाल निर्माण गर्ने यस विशाल कार्य थुप्रै परिवारहरूमाझ विभाजित गरिदिए र तिनीहरू सबैले काँधमा काँध मिलाएर काम गरे। a चालीसभन्दा बढी भिन्‍नाभिन्‍नै समूह हरेकको लागि एक “भाग” मर्मत गर्न खटाइयो। त्यसको परिणाम? आफ्ना छोराछोरी पनि साथमा ल्याएका आमाबाबुलगायत अन्य थुप्रै कामदारहरूको समय र श्रमले गर्दा त्यस्तो ठूलो देखिएको कामसमेत सम्पन्‍न गर्न सम्भव भयो। (नहेम्याह ३:११, १२, १९, २०) जोडतोडका साथ काम गरिएको कारण दुई महिनामै सम्पूर्ण पर्खाल मर्मत गर्न सिद्धियो! यस मर्मत कार्यको विरोध गर्नेहरूसमेतलाई “यो काम परमेश्‍वरको सहायताद्वारा पूरा भएको हो” भनेर मानिलिन करै लाग्यो भनी नहेम्याहले लेखे।—नहेम्याह ६:१५, १६.

बिर्सन नहुने उदाहरण

नहेम्याहले आफ्नो समय र व्यवस्थापन दक्षताभन्दा बढी योगदान दिए। तिनले भौतिक रूपमा पनि साँचो उपासनामा सघाउ पुऱ्‍याए। आफ्ना यहूदी भाइहरूलाई दासत्वबाट किन्‍न तिनले आफ्नै पैसा चलाए। तिनले ब्याजै नलिई पैसा सापट दिए। आफू राज्यपाल भएकोले पाउनुपर्ने भत्ता मागेर यहूदीहरूलाई “ठूलो भारले” सताएनन्‌। बरु, “एक सय पचास जना यहूदीहरू र हाकिमहरूलगायत छेउछाउका जातिहरूबाट . . . आउने अतिथिहरू” सबैका लागिसमेत तिनले नै बन्दोबस्त मिलाए। तिनले ती पाहुनाहरूका लागि हरेक दिन ‘एउटा गोरु, छवटा मोटा मोटा भेडा र कुखुराहरू’ प्रबन्ध गर्थे। त्यसबाहेक, हरेक दस दिनपछि तिनले उनीहरूको लागि “प्रशस्त दाखमद्य” पनि आफ्नै खर्चले टक्राउँथे।—नहेम्याह ५:८, १०, १४-१८.

नहेम्याहले उहिले र अहिलेका सबै परमेश्‍वरका सेवकहरूका लागि उदारताको साह्रै उल्लेखनीय उदाहरण बसाले! परमेश्‍वरका यी साहसी सेवकले कुनै रोकटोकविना स्वेच्छाले आफ्नो भौतिक साधनहरूलाई साँचो उपासनाको प्रबर्धन गर्न ती कामदारहरूको सहयोगको लागि प्रयोग गरे। त्यसैकारण तिनले यहोवालाई यस्तो आग्रह गर्न सके: “हे परमेश्‍वर, . . . हितको निम्ति मैले गरेका सबै कामको सम्झना रहोस्‌।” (नहेम्याह ५:१९) यहोवाले अवश्‍य त्यसो गर्नुहुनेछ।—हिब्रू ६:१०.

आज पनि नहेम्याहको उदाहरण पछ्याइन्छ

यहोवाका जनहरूले आज साँचो उपासनाको खातिर त्यस्तै स्नेही अनुभूति, कदम चाल्न इच्छुक तथा आत्मत्यागी मनोभाव प्रकट गरेको हेर्न पाउनु साँच्चै हृदयग्राही कुरा हो। सँगी विश्‍वासीहरूले दुःख भोग्दैछन्‌ भन्‍ने कुरा सुन्दा हामी तिनीहरूको हितबारे गहिरो चिन्ता व्यक्‍त गर्छौं। (रोमी १२:१५) यर्मियाजस्तै हामी पनि विश्‍वासमा भएका हाम्रा पीडित भाइहरूको सहयोगको लागि यहोवामा भर पर्छौं र उहाँसित यस्तो आग्रह गर्छौं: “हे परमप्रभु, मेरो विनम्र प्रार्थनामा ध्यानसित कान थाप्नुहोस्‌, र तपाईंको नाउँको सम्मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌।”—नहेम्याह १:११; कलस्सी ४:२.

तथापि, हाम्रा मसीही भाइहरूको आध्यात्मिक तथा शारीरिक हित तथा साँचो उपासनाको विस्तारप्रतिको हाम्रो चिन्ताले भावनालाई मात्र असर गर्दैन। यसले हामीलाई काम गर्न उत्प्रेरित गर्छ। परिस्थिति मिलेकाहरू प्रेमद्वारा उत्प्रेरित हुँदै आफ्नो घरको सुखसुविधा त्यागेर नहेम्याहजस्तै खाँचोमा परेकाहरूलाई मदत गर्न अरू ठाउँमा बसाइँ सर्ने गर्छन्‌। ती स्वयंसेवकहरूले संसारका केही भागहरूमा सामना गर्नुपर्ने अप्ठ्यारा अवस्थाबाट निरुत्साहित नभईकन आफ्ना मसीही भाइहरूसित काँधमा काँध मिलाएर त्यहाँ साँचो उपासनाको विस्तारमा समर्थन गर्छन्‌। तिनीहरूले देखाउने आत्म-त्यागी मनोभाव साँच्चै प्रशंसनीय छ।

आफ्नै इलाकामा काम गर्ने

स्पष्टतयाः हामीमध्ये अधिकांश अर्को ठाउँमा बसाइँ सर्न सक्दैनौं। हामी आफ्नै वरपरका ठाउँहरूमा साँचो उपासनामा सहयोग पुऱ्‍याउँछौं। नहेम्याहको पुस्तकमा त्यसबारे पनि बताइएको छ। त्यहाँ मर्मतसम्भारमा भाग लिने केही विश्‍वासी परिवारहरूबारे नहेम्याहले दिएको थप विवरणलाई ध्यान दिनुहोस्‌। तिनले यस्तो लेखे: “हरूमापका छोरा यदायाहले आफ्नै घरको सामने मरम्मत गरे। . . . बिन्यामीन र हाश्‍शूबले आफ्नो आफ्नो घरको सामने मरम्मत गरे। तिनको छेउमा मासेयाहका छोरा हननियाहका नाति अजर्याहले आफ्नो घरको छेउमा मरम्मत गरे।” (नहेम्याह ३:१०, २३, २८-३०) ती मानिसहरू र तिनीहरूका परिवारहरूले साँचो उपासनाको विस्तारको लागि आफ्नै घर नजिकका इलाकाहरूमा काम गरेर ठूलो योगदान पुऱ्‍याए।

आज, हामीमध्ये धेरैले आफ्नै समुदायमा विभिन्‍न तरिकाले साँचो उपासनाको समर्थन गर्छौं। हामी राज्यभवन निर्माण कार्य, प्राकृतिक प्रकोप उद्धार कार्य र सबैभन्दा महत्त्वपूर्ण राज्य प्रचार कार्यमा भाग लिन्छौं। त्यसबाहेक, हामीले आफै गएर त्यस्तो निर्माण वा उद्धार कार्यमा भाग लेऔं वा नलेऔं हामी सबैसित नेहम्याहले आफ्नो दिनमा उदारतासाथ गरेझैं आफ्नो भौतिक सम्पत्तिको माध्यमद्वारा साँचो उपासनाको समर्थन गर्ने हार्दिक इच्छा छ।—“स्वैच्छिक अनुदानका विशेषताहरू” पेटी हेर्नुहोस्‌।

हाम्रो बढ्‌दो छपाइ तथा उद्धार कार्य र संसारभरि गरिने अन्य असंख्य सेवाहरूको लागि आर्थिक कोष पाउनु कहिलेकाहीं असम्भव जस्तै देखिन्छ। तथापि, नबिर्सनुहोस्‌ यरूशलेमको विशाल पर्खाल मर्मत गर्ने काम पनि असम्भवजस्तै देखिएको थियो। (नहेम्याह ४:१०) यद्यपि, त्यो कार्यभारलाई धेरै शुभेच्छुक परिवारहरूमाझ विभाजन गर्दा काम पूरा गर्न सम्भव भयो। त्यस्तै गरी आज पनि हाम्रो विश्‍वव्यापी गतिविधिको केही भागलाई धान्‍न हामी हरेकले केही ध्यान दियौं भने यस कार्यको लागि आवश्‍यक पर्ने स्रोत साधनहरू पाउन त्यति कठिन हुँदैन।

“केही व्यक्‍तिहरूले स्वेच्छासाथ दिने तरिकाहरू” भन्‍ने पेटीले राज्यसम्बन्धी कार्यलाई आर्थिक तवरमा सहयोग पुऱ्‍याउने केही तरिकाहरूबारे देखाउँछ। गत वर्ष परमेश्‍वरका थुप्रै जनहरूले त्यस्तो सहयोग पुऱ्‍याए र यस अवसरमा यहोवाका साक्षीहरूको परिचालक निकाय यस्तो स्वैच्छिक अनुदान दिन उत्प्रेरित भएकाहरूप्रति आफ्नो गहिरो मूल्यांकन व्यक्‍त गर्न चाहन्छ। सबैभन्दा मुख्य कुरा साँचो उपासनालाई विश्‍वभरि फैलाउने आफ्ना जनहरूको हार्दिक प्रयासमा प्रशस्त आशिष्‌ दिनुभएकोमा हामी यहोवालाई धन्यवाद चढाउँछौं। हो, जसै वर्षौंसम्म यहोवाले कसरी डोऱ्‍याइरहनुभएको छ भन्‍ने कुराबारे विचार गर्छौं, तब हामी नहेम्याहले कृतज्ञ हुँदै व्यक्‍त गरेका यी शब्दहरूलाई दोहोऱ्‍याउन उत्प्रेरित हुन्छौं: “परमेश्‍वरको कृपालु हात कसरी ममाथि परेको थियो।”—नहेम्याह २:१८.

[फुटनोट]

a नहेम्याह ३:५ मा कोही कोही मुख्य यहूदी “भारादारहरू” यस काममा सघाउन राजी भएनन्‌ भनेर टिप्पणी गरिएको छ तर त्यस्तो राजी नहुनेहरू एकदमै थोरै थिए। विभिन्‍न पृष्ठभूमिका मानिसहरू जस्तै: पूजाहारी, सुनार, अत्तर बनाउने, राजकुमार, व्यापारीहरू सबैले नै यस काममा सघाए।—पद १, ८, ९, ३२.

[पृष्ठ २८, २९-मा भएको पेटी/चित्रहरू]

केही व्यक्‍तिहरूले स्वेच्छासाथ दिने तरिकाहरू

विश्‍वव्यापी कार्यका लागि अनुदान

“सोसाइटीको विश्‍वव्यापी कार्यका लागि अनुदान—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा दिन धेरैजसोले केही पैसा छुट्याउँछन्‌ वा बजेट बनाउँछन्‌।

हरेक महिना संसारभरका मण्डलीहरूले यी धनराशि यहोवाका साक्षीहरूको मुख्यालय वा स्थानीय शाखा कार्यालयमा पठाउँछन्‌। स्वेच्छापूर्वक चन्दा दिइएको रूपैयाँ-पैसा The Watch Tower Bible and Tract Society of India, G-37, South Avenue, Santacruz, Mumbai 400 054, मा वा तपाईंको देशमा भएको शाखा कार्यालयमा पनि सीधै पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।

परोपकारी योजना

पूर्ण दान र सर्तनामा चन्दाबाहेक विश्‍वव्यापी राज्य सेवामा टेवा पुऱ्‍याउने दान दिन मिल्ने अन्य केही तरिकाहरू पनि छन्‌। ती हुन्‌:

बिमा: भारतस्थित यहोवाका साक्षीहरूको कोषलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकका नियमहरूअनुसार भारतस्थित यहोवाका साक्षीहरूको कोषलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू पनि भारतस्थित यहोवाका साक्षीहरूको कोषलाई पूर्णतया उपहारको रूपमा चन्दा दिन सकिन्छ।

घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने घर, जग्गाजमिन पनि भारतस्थितयहोवाका साक्षीहरूको भारतीय शाखालाई चन्दास्वरूप दिन सकिन्छ। घर, जग्गाजमिनलाई पूर्णतया दान वा चन्दादाता बाचुन्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घर, जग्गाजमिन दिनुअघि तपाईंको देशमा भएको शाखा कार्यालयसित सम्पर्क राख्नुपर्छ।

वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा भारतस्थित यहोवाका साक्षीहरूको कोषलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ।

सोसाइटीलाई हकदारको रूपमा वसियतनामा बनाउँदा कृपया, इन्डियन सक्सेसन एक्ट, १९२५ को धारा ११८ मा पाइएको निम्न कुरालाई ध्यान दिनुहोस्‌, “भानिज, भतिजी वा अन्य कुनै नजिकको नातेदार भएको मानिसले आफ्नो जायजेथा धार्मिक वा परोपकारी कार्यको निम्ति दिन मिल्दैन र यदि दिने नै हो भने पनि तिनले स्वेच्छाले आफ्नो मृत्युभन्दा बाह्र महिनाअघि वसियतनामा गर्नुपर्छ र वसियतनामा गरेको छ महिनाभित्र कानुनअनुसार कुनै जीवित व्यक्‍तिको जिम्मामा सुम्पनुपर्छ।”

तपाईं आफ्नो वसियतनामामा भारतस्थित यहोवाका साक्षीहरूको कोषलाई हकदार बनाउन चाहनुहुन्छ भने कृपया तपाईंको वसियतनामामा उल्लेख गर्नुपर्ने सोसाइटीको निम्न पूरा नाउँ र ठेगाना याद गर्नुहोस्‌:

Jehovah’s Witnesses of India

927/1, Addevishwanathapura,

Rajanukunte, Bangalore 561 203,

Karnataka.

[पृष्ठ ३०-मा भएको पेटी]

स्वैच्छिक अनुदानका विशेषताहरू

कोरिन्थीका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले स्वैच्छिक अनुदानका तीनवटा उल्लेखनीय विशेषताहरूबारे वर्णन गरे। (१) आर्थिक संकलनबारे लेख्दै पावलले यस्तो सल्लाह दिए: “प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले . . . जोगाएर साँचिराखोस्‌।” (१ कोरिन्थी १६:२क) तसर्थ, अनुदान दिन सुरुमै योजना बनाउनुपर्छ र यो नियमित तवरमा दिनुपर्छ। (२) पावलले हरेकले “आ-आफ्नो कमाइअनुसार” देओस्‌ भनेर पनि लेखे। (१ कोरिन्थी १६:२ख, नयाँ संशोधित संस्करण) अर्को शब्दमा भन्‍ने हो भने यस अनुदान कार्यमा सहायता गर्न चाहने हरेकले औकातअनुसार दिन सक्छन्‌। थोरै आयस्रोत भएका मसीहीहरूले धेरै अनुदान दिन नसके तापनि यहोवाले त्यसलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ। (लूका २१:१-४) (३) पावलले थप यस्तो लेखे: “हरेक मानिसले आफ्नो मनमा अडकले बमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) निष्कपट मसीहीहरूले हृदयबाटै खुसीसाथ दिन्छन्‌।

[पृष्ठ २६-मा भएका चित्रहरू]

नहेम्याह भावना भएका दृढ पुरुष थिए

[पृष्ठ ३०-मा भएका चित्रहरू]

स्वैच्छिक अनुदानले पृथ्वीभर छपाइ कार्य, उद्धार कार्य, राज्यभवन निर्माण तथा अन्य लाभदायी सेवाहरूमा मदत पुऱ्‍याउँछ