सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

बलात्कार हुने खतरा आइपर्दा चिच्याउनुपर्छ भनेर बाइबलले किन भन्छ?

निर्ममतासाथ जबरजस्ती बलात्कृत भएको व्यक्‍तिले मात्र यस दर्दनाक घटनाले आफ्नो जीवन कुन हदसम्म तहसनहस हुन सक्छ भनी राम्ररी बुझेको हुन्छ। यो अनुभव अत्यन्तै पीडादायी हुने हुँदा यसले उनलाई जीन्दगीभर पिरोल्न सक्छ। a केही वर्षअघि बलात्कारीबाट आक्रमण भएकी एक जना जवान मसीही बहिनी भन्छिन्‌: “मैले त्यस रात महसुस गरेको त्रास वा त्यसपछि भोग्नुपरेको वेदनालाई शब्दमा व्यक्‍त गर्नै सक्दिनँ।” त्यसकारण, थुप्रै त्यस्तो दर्दनाक घटना सम्झनसमेत चाहँदैनन्‌। यद्यपि, यस दुष्ट संसारमा बलात्कार हुने खतरा काल्पनिक होइन।

पुरातन समयमा बलात्कार र बलात्कार गर्ने प्रयास भएका घटनाहरूबारे बताउन बाइबल पछि हटेको छैन। (उत्पत्ति १९:४-११; ३४:१-७; २ शमूएल १३:१-१४) तर यसले बलात्कार हुने खतरा हुँदा के गर्नुपर्छ भनेर सल्लाह पनि दिएको छ। यस विषयमा व्यवस्थाले के भन्छ भन्‍ने कुरा व्यवस्था २२:२३-२७ मा बताइएको छ। यसमा दुइटा परिस्थितिबारे बताइएको छ। पहिलो अवस्थामा कुनै पुरुषले शहरभित्रै एउटी केटीलाई फेला पारेर त्यसलाई बलात्कार गऱ्‍यो। तर त्यस केटी मदतको लागि चिच्याइनन्‌ वा कराइनन्‌। त्यसकारण, “शहरभित्रै भएर पनि नचिच्याएकोले” उनलाई दोषी ठहऱ्‍याइयो। उनी चिच्याएको भए नजिकैका मानिसहरूले सुनेर उनलाई बचाउने थिए। दोस्रो अवस्थामा कुनै पुरुषले केटीलाई बाहिर निर्जन स्थानमा भेटाएर “बलात्कार गऱ्‍यो।” त्यसको प्रतिरोधमा त्यस केटी ‘चिच्याइन्‌ तर बचाउने त्यहाँ कोही थिएन।’ पहिलो अवस्थाको केटीले जस्तो नभई यस केटी स्पष्टतः आक्रमणकारीको कार्यसित सहमत थिइनन्‌। उनले त्यस पुरुषलाई रोक्न प्रयास गरिन्‌, मदतको लागि चिच्याइन्‌ तर त्यस पुरुषको बलअगाडि उनको केही लागेन। उनको चिच्च्याहटले उनले प्रतिरोध गरिन्‌ र उनी निर्दोष थिइन्‌ भनेर प्रमाणित हुन्छ।

आज मसीहीहरू मोशालाई दिइएको व्यवस्थाअन्तर्गत नभए तापनि त्यहाँ उल्लेख गरिएका सिद्धान्तहरूले डोऱ्‍याइ दिन्छ। माथिको विवरणले प्रतिरोध गर्न र मदतको लागि चिच्याउनुपर्ने महत्त्वमाथि जोड दिन्छ। अहिले पनि बलात्कार हुने खतरा हुँदा चिच्याउनु व्यावहारिक उपाय ठानिन्छ। अपराध रोकथामसम्बन्धी एक जना विशेषज्ञले यस्तो उल्लेख गरे: “कुनै महिलामाथि आक्रमण भयो भने उनको सबैभन्दा उत्तम हतियार भनेकै चिच्याएर कराउनु हो।” कुनै महिला चिच्याउँदा उनलाई मदत गर्न सक्ने मानिसहरूको ध्यान खिच्न सक्छ वा आक्रमणकारी आफै तर्सिएर भाग्न सक्छ। बलात्कारीले आक्रमण गरेको एक जना जवान मसीही स्त्रीले यसो भनिन्‌: “म आफ्नो भएभरको बल निकालेर कराएँ र त्यो मानिस पछि हट्यो। त्यो मानिस फेरि मतर्फ आउँदा म फेरि चिच्याएँ र भागें। पहिला मलाई यस्तो लाग्थ्यो: ‘एउटै धून कसेर कोही बलियो मानिसले पक्रँदा चिच्याएर के नै होला र?’ तर चिच्याउनु साँच्चै प्रभावकारी छ भनेर मैले अहिले थाह पाएकी छु!”

पुरुषको बलअगाडि केही नलागेर बलात्कृत भएको दुःखद अवस्थामा समेत उनले प्रतिरोध गर्दै मदतको लागि चिच्याएको खेर जाने छैन। त्यसको विपरीत, उनले आक्रमणकारीको प्रतिरोध गर्न सकेजति गरेको प्रमाणित हुन्छ। (व्यवस्था २२:२६) बलात्कारको सिकार भए तापनि उनले सफा अन्तस्करण राख्न सक्छिन्‌, आत्म-सम्मान र परमेश्‍वरको नजरमा स्वच्छ छु भनी ढुक्क हुन सक्छिन्‌। त्यस दर्दनाक घटनाको कारण भावनात्मक चोटहरू हुन सक्छन्‌ तर आक्रमणको प्रतिरोध गर्न आफूले सकेजति गरेको थाह पाउँदा उनले निको हुन बिस्तारै मदत पाउन सक्छिन्‌।

व्यवस्था २२:२३-२७ लाई बुझ्दा यो शास्त्रपदले सबै सम्भाव्य परिस्थितिहरू समेट्‌दैन भनेर बुझ्नुपर्छ। उदाहरणका लागि, बलात्कारको सिकार भएकी केटी लाटी, बेहोस वा डरको कारण केही गर्न नसक्ने वा हातले जबरजस्ती मुख थुनिदिएकोले वा मुखमा टेप लगाइदिएकोले चिच्याउन नसक्ने जस्तो अवस्थाबारे केही पनि बताइएको छैन। तथापि, यहोवाले सबै परिस्थिति विश्‍लेषण गर्न सक्नुहुन्छ, मानिसको मनसाय बुझ्नुहुन्छ। यस्तो अवस्थामा उहाँले समझ र न्यायका साथ व्यवहार गर्नुहुन्छ किनभने “उहाँका सबै काम न्यायसँगत छन्‌।” (व्यवस्था ३२:४) वास्तवमा के भयो र बलात्कारका सिकार भएकाले आक्रमणकारीको प्रतिरोध गर्न के गऱ्‍यो भनी उहाँलाई थाह छ। त्यसकारण चिच्याउन असमर्थ भएको तर परिस्थितिअनुसार प्रतिरोध गर्न आफूले सकेजति गरेको व्यक्‍तिले सबै कुरा यहोवाकै हातमा छोडिदिन सक्छन्‌।—भजन ५५:२२; १ पत्रुस ५:७.

तैपनि, बलात्कृत भएका केही मसीही बहिनीहरूलाई दोषी भावनाले पिरोल्न छोड्‌दैन। त्यतिबेलाको घटनालाई सम्झेर तिनीहरू त्यस घटनाबाट बच्न आफूले अझ बढी केही गर्नुपर्ने महसुस गर्छन्‌। तथापि, त्यस्तो सिकार भएका व्यक्‍तिहरूले आफूलाई दोषी बनाउनुको साटो यहोवालाई प्रार्थना गर्न सक्छन्‌, उहाँको मदत माग्न सक्छन्‌ र उहाँको अपार करुणामा विश्‍वस्त हुन सक्छन्‌।—प्रस्थान ३४:६; भजन ८६:५.

तसर्थ, बलात्कारीको आक्रमणपछि भावनात्मक चोटसँग संघर्ष गरिरहेका मसीही बहिनीहरू यहोवाले तिनीहरूले सामना गरिरहेका पीडादायी भावनाहरूलाई राम्ररी बुझ्नुहुन्छ भनी विश्‍वस्त हुन सक्छन्‌। परमेश्‍वरको वचनले तिनीहरूलाई यस्तो आश्‍वासन दिन्छ: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) यो घाउलाई निको गर्न थप मदत मसीही मण्डलीका सँगी विश्‍वसीहरूको निष्कपट चासो र दयालु समर्थनलाई स्वीकार्दा पाउन सक्छौं। (अय्यूब २९:१२; १ थिस्सलोनिकी ५:१४) यसबाहेक, सिकार भएका व्यक्‍ति आफैले पनि सकारात्मक कुराहरू मात्र सोच्ने प्रयास गर्दा ‘सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्ति’ अनुभव गर्न सक्नेछन्‌।—फिलिप्पी ४:६-९.

[फुटनोट]

a यस लेखमा बलात्कारका सिकार भएका महिलाहरूबारे मात्र छलफल गरिएको भए तापनि यी सिद्धान्तहरू बलात्कार हुने खतरा भएका पुरुषहरूलाई पनि लागू हुन्छ।