सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा—हामीले चिन्‍नै पर्ने परमेश्‍वर

यहोवा—हामीले चिन्‍नै पर्ने परमेश्‍वर

यहोवा—चिन्‍न योग्यको परमेश्‍वर

के तपाईँलाई जीवनमा कुनै महत्त्वपूर्ण कुराको कमी भएको जस्तो लाग्छ? तपाईँलाई परमेश्‍वरबारे थोरै मात्र थाह छ भने त्यस्तो लाग्न सक्छ। किन? किनभने बाइबलको परमेश्‍वरलाई चिन्दा जीवनमा थुप्रै लाभ पाइन्छ भनेर लाखौँ मानिसले अनुभव गरेका छन्‌। यी लाभहरू तुरुन्तै पाउन सकिन्छ र पछिसम्म रहन्छ।

बाइबलका ग्रन्थकार यहोवा परमेश्‍वर हामीले उहाँलाई चिनेको चाहनुहुन्छ। एक जना भजनरचयिताले यस्तो लेखे: “मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो,सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।” उहाँलाई चिन्दा हाम्रै भलाइ हुन्छ भनेर उहाँ जान्‍नुहुन्छ। “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु।” सर्वोच्च परमेश्‍वर यहोवालाई चिन्दा हामीलाई कस्ता लाभहरू हुन्छन्‌?—भजन ८३:१८; यसैया ४८:१७.

हामीले पाउने एउटा लाभ भनेको दैनिक समस्याहरू सामना गर्न मदत, भविष्यको लागि साँचो आशा र मनोशान्ति हो। साथै यहोवालाई राम्ररी चिन्यौँ भने आज संसारका मानिसहरूको मनमा उठ्‌ने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पनि पाउँछौँ। ती कस्ता प्रश्‍नहरू हुन्‌?

के तपाईँको जीवनको उद्देश्‍य छ?

मानिसजातिले प्रविधिको क्षेत्रमा उदेकलाग्दा प्रगतिहरू गरे तापनि तिनीहरूलाई अझै पनि यी नै आधारभूत प्रश्‍नहरूले सताइरहेको छ: ‘म यहाँ किन छु? मेरो जीवन कतातिर लम्किरहेको छ? जीवनको उद्देश्‍य के हो?’ यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ नपाउँदा जीवन साँच्चै उद्देश्‍यहीन हुनेछ। के अधिकांश मानिसहरूले यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ नपाएको महसुस गरेका छैनन्‌ र? सन्‌ १९९० दशकको अन्ततिर जर्मनीमा एउटा सर्वेक्षण गरिएको थियो। उक्‍त सर्वेक्षणमा भाग लिएका आधाजसोलाई अक्सर वा कहिलेकाहीँ जीवन उद्देश्‍यहीन लाग्ने गरेको तथ्य पत्ता लाग्यो। सायद तपाईँ बस्नुहुने ठाउँमा पनि धेरैले यस्तै महसुस गर्छन्‌।

जीवनको कुनै उद्देश्‍य छैन भने मानिसको जीवनमा व्यक्‍तिगत लक्ष्यहरू निर्धारण गर्ने कुनै आधार हुँदैन। कुनै पेसामा सफल भएर वा धनसम्पत्ति थुपारेर धेरैले यो अभाव पूरा गर्ने कोसिस गर्छन्‌। तर यो अभाव खड्‌किरहेकै हुन्छ। जीवनको कुनै उद्देश्‍य नभेट्टाउँदा कसै-कसैको बाँच्ने इच्छासमेत हराएर जान्छ। इन्टरनेसनल हेराल्ड ट्रिब्युन-अनुसार “प्रशस्त धनसम्पत्ति कमाएर विलासी” जीवन बिताएकी एउटी सुन्दर युवतीले यस्तै महसुस गरिन्‌। विलासी जीवन बिताएकी भए तापनि तिनी एक्ली थिइन्‌ अनि तिनलाई आफ्नो जीवन उद्देश्‍यहीन लाग्थ्यो। अन्ततः निद्रा लाग्ने चक्की खाएर तिनले आत्महत्या गरिन्‌। एक्लो महसुस गर्दै आफ्नो जीवनको दुःखद अन्त्य गर्ने अन्य व्यक्‍तिहरूबारे पनि तपाईँलाई थाह होला।

तर विज्ञानले हाम्रो जीवनसित सम्बन्धित सबै प्रश्‍नको जवाफ दिन सक्छ भनेर मानिसहरूले दाबी गरेको तपाईँले सुन्‍नुभएको होला। जर्मन साप्ताहिक डि भोका-ले यस कुरालाई यसरी औँल्यायो: “विज्ञान सत्य होला तर यो आध्यात्मिक पक्षमा कमजोर छ। क्रमविकासको सिद्धान्त अपूरो देखिन्छ अनि सम्भावनाहरूमा आधारित क्वानटमको सिद्धान्तले समेत रतीभर सान्त्वना र सुरक्षा दिँदैन।” वैज्ञानिक आविष्कारहरूले जीवनलाई अनि जीवन धान्‍ने प्राकृतिक चक्र र प्रक्रियालाई धेरै हदसम्म व्याख्या गरेको छ। तर हामी यहाँ किन छौँ अनि हाम्रो जीवन कतातिर लम्किरहेको छ भनी विज्ञानले बताउन सक्दैन। यदि हामी विज्ञानमा मात्र भर परेर बस्यौँ भने जीवनको उद्देश्‍यबारे हाम्रा प्रश्‍नहरू अनुत्तरित रहने पक्का छ। अनि परिणामबारे सुडोइच जाइटुङ भन्‍ने अखबारले यस्तो रिपोर्ट दियो, “हामीलाई डोऱ्‍याइ नभई हुँदैन।”

सृष्टिकर्ताबाहेक अरू कसले हामीलाई यस्तो डोऱ्‍याइ दिन सक्ला र? सुरुमा मानिसजातिलाई यस पृथ्वीमा राख्नुहुने उहाँ नै भएकोले तिनीहरू यहाँ किन छन्‌ भन्‍ने प्रश्‍नको जवाफ पनि उहाँलाई नै थाह छ। मानिसजाति पृथ्वीमा भरिँदै जाऊन्‌ र तिनीहरूले पृथ्वीको रेखदेख गरून्‌ भनेर यहोवाले मानिसजाति सृष्टि गर्नुभयो भनी बाइबल बताउँछ। मानिसजातिले न्याय, बुद्धि अनि प्रेमजस्ता उहाँका गुणहरू झल्काउनुपर्थ्यो। यहोवाले हामीलाई सृष्टि गर्नुभएको कारण बुझेपछि हामी यहाँ किन छौँ भन्‍ने प्रश्‍नको जवाफ थाह पाउन सकिन्छ।—उत्पत्ति १:२६-२८.

तपाईँ के गर्न सक्नुहुन्छ?

‘म यहाँ किन छु? मेरो जीवन कतातिर लम्किरहेको छ? जीवनको उद्देश्‍य के हो?’ तपाईँले विगतमा यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनुभएको थिएन भने अब तपाईँले के गर्नुपर्छ? बाइबलले तपाईँलाई परमेश्‍वरलाई नजिकबाट चिन्‍न सल्लाह दिन्छ। वास्तवमा येसुले यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।” परमेश्‍वरको जस्तै गुणहरू, अझ विशेषगरि प्रेम विकास गर्न अनि परमेश्‍वरको राज्यले ल्याउने नयाँ संसारमा बस्ने लक्ष्य राख्न पनि तपाईँलाई प्रोत्साहन दिइएको छ। त्यसपछि तपाईँको जीवनको उद्देश्‍य हुनुका साथै अद्‌भुत र सुरक्षित भविष्यको आशा पनि हुनेछ। तपाईँलाई अहिलेसम्म सताइरहेको आधारभूत प्रश्‍नहरूको जवाफ पनि तपाईँले पाउनुहुनेछ।—युहन्‍ना १७:३; उपदेशक १२:१३.

यी आधारभूत प्रश्‍नहरूको जवाफले तपाईँलाई कस्तो प्रभाव पार्नेछ? हान्स्‌लाई कस्तो प्रभाव पऱ्‍यो, थाह लगाऔँ। a केही वर्ष पहिले हान्स्‌ परमेश्‍वरमा त्यति विश्‍वास गर्दैनथे र यसले तिनको जीवनमा कुनै खास प्रभाव पारेको थिएन। तिनी लागूपदार्थ सेवन गर्थे, अनैतिक जीवन बिताउँथे, सानातिना अपराधमा मुछिन्थे अनि मोटरसाइकल हाँक्थे। तिनको जीवन यसरी नै बितिरहेको थियो। तिनी भन्छन्‌, “तर मलाई जीवनमा केही कुराको कमी खड्‌किरहेको थियो र वास्तवमा म सन्तुष्ट थिइनँ।” पच्चिस वर्षको जति हुँदा तिनले राम्रोसँग बाइबल पढेर परमेश्‍वरलाई अझ राम्ररी चिन्‍ने निर्णय गरे। यहोवालाई नजिकबाट चिनिसकेपछि र जीवनको उद्देश्‍य बुझिसकेपछि हान्स्‌ले आफ्नो जीवनशैली परिवर्तन गरे अनि बप्तिस्मा गरेर यहोवाको साक्षी भए। गत दस वर्षदेखि तिनी पूर्ण-समय सेवामा लागिरहेका छन्‌। तिनी यसो भन्छन्‌: “यहोवाको सेवा गर्नु नै सर्वोत्कृष्ट जीवनशैली हो। यसलाई कुनै कुरासित तुलना गर्न सकिँदैन। यहोवालाई चिनेपछि मैले जीवनको उद्देश्‍य भेट्टाएको छु।”

जीवनको उद्देश्‍य मात्र अधिकांश मानिसहरूको चासोको विषय होइन। संसारको अवस्था खस्कँदै जाँदा अर्को एउटा महत्त्वपूर्ण प्रश्‍नले पनि धेरै मानिसलाई पिरोलिरहेको छ।

यो सब किन भयो?

दुःखकष्ट आइपर्दा पीडित व्यक्‍तिको दिमागमा एउटै प्रश्‍न तेर्सिन्छ: ‘यो सब किन भयो?’ यस प्रश्‍नको उपयुक्‍त जवाफले दुःखकष्टको सामना गर्न धेरै हदसम्म भावनात्मक बल दिन्छ। चित्तबुझ्दो जवाफ नपाउँदा पीडा रहिरहन्छ अनि पीडित व्यक्‍तिको वेदना झनै चर्कँदै जान सक्छ। ब्रुनीको अनुभव विचार गर्नुहोस्‌।

एउटी आमा ब्रुनी यसो भन्छिन्‌: “केही वर्षअघि मेरी सानी छोरीको मृत्यु भयो। म परमेश्‍वरमा विश्‍वास गर्थेँ। त्यसैले म स्थानीय पादरीबाट सान्त्वना पाउन गएँ। परमेश्‍वरले सुसानलाई स्वर्गमा उठाई लानुभएको छ र अहिले ऊ स्वर्गदूत बनेकी छे भनी ती पादरीले मलाई बताए। छोरीको मृत्युले मेरो मन छियाछिया भएको थियो। त्यसमाथि उसलाई परमेश्‍वरले उठाई लानुभयो भनेर सुन्दा उहाँप्रति मेरो मनमा घृणा जाग्यो।” ब्रुनीको पीडा अनि वेदना धेरै वर्षसम्म रहिरह्‍यो। “त्यसपछि परमेश्‍वरलाई घृणा गर्ने कुनै कारण छैन भनेर एक जना यहोवाको साक्षीले मलाई बाइबलबाट बताए। यहोवाले सुसानलाई स्वर्गमा उठाई लानुभएको थिएन र ऊ स्वर्गदूत पनि बनेकी छैन। ऊ बिरामी हुनुको कारण त्रुटिपूर्ण अवस्था थियो। यहोवाले फेरि जीवित पार्नुहुने दिन पर्खँदै सुसान मृत्युको निद्रामा सुतिरहेकी छे। यहोवाले मानिसजाति पार्थिव प्रमोदवनमा सधैँभरि बाँचून्‌ भनेर बनाउनुभएको थियो अनि उहाँले यो उद्देश्‍य चाँडै पूरा गर्नुहुनेछ भनेर पनि मैले बुझेँ। यहोवाको वास्तविक व्यक्‍तित्वलाई राम्ररी बुझ्न थालेपछि म उहाँसित नजिक भएँ अनि मेरो पीडा कम हुन थाल्यो।”—भजन ३७:२९; प्रेषित २४:१५; रोमी ५:१२.

करोडौँ मानिस कुनै न कुनै तरिकामा दुःखकष्टबाट प्रभावित छन्‌, जस्तै: व्यक्‍तिगत समस्या, युद्ध, अनिकाल वा प्राकृतिक प्रकोप। दुःखकष्टको लागि यहोवालाई दोष दिन मिल्दैन। उहाँले कहिल्यै मानिसजातिमाथि जानाजानी दुःखकष्ट आइपर्न दिनुहुन्‍न अनि उहाँले छिट्टै सबै प्रकारको खराबीको अन्त गर्नुहुनेछ भन्‍ने कुरा बाइबलमा भेट्टाएपछि ब्रुनीले पीडा कम भएको महसुस गरिन्‌। दिनप्रतिदिन दुष्टता बढ्‌नु हामी यस संसारको “अन्तको दिनमा” बाँचिरहेका छौँ भन्‍ने कुराको सङ्‌केत हो। हामी सबैले चाहेको एउटा अत्यन्तै राम्रो परिवर्तन नजिकै छ।—२ तिमोथि ३:१-५; मत्ति २४:७, ८.

परमेश्‍वरलाई चिन्‍नुहोस्‌

हान्स्‌ र ब्रुनीलाई परमेश्‍वरबारे धेरथोर ज्ञान त थियो। उहाँबारे सीमित ज्ञानको भरमा तिनीहरू उहाँमाथि विश्‍वास गर्थे। परमेश्‍वरलाई राम्ररी चिन्‍न तिनीहरूले गरेको प्रयास व्यर्थ गएन। तिनीहरूले मानिसहरूको मनमा उठिरहेको थुप्रै महत्त्वपूर्ण प्रश्‍नको उपयुक्‍त जवाफ पाए। यसले तिनीहरूलाई मनोशान्ति र भविष्यको लागि साँचो आशा दियो। यहोवाका लाखौँ सेवकको यस्तै अनुभव छ।

परमेश्‍वरलाई चिन्‍न चाल्नुपर्ने पहिलो कदम होसियार भई बाइबल जाँच्नु हो, जसबाट हामी परमेश्‍वरबारे अनि उहाँ हामीबाट के चाहनुहुन्छ भन्‍नेबारे थाह पाउन सक्छौँ। प्रथम शताब्दीमा कसै-कसैले त्यसै गरे। इतिहासकार अनि चिकित्सक लुकाले ग्रीसको बिरियामा भएको यहुदी मण्डलीका सदस्यहरू “असाध्यै उत्सुक भएर [पावल र सिलासले सुनाएको] परमेश्‍वरको वचन ग्रहण गर्थे र ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे” भनेर लेखे।—प्रेषित १७:१०, ११.

प्रथम शताब्दीका ख्रिष्टियनहरू मण्डलीहरूमा पनि भेला हुन्थे। (प्रेषित २:४१, ४२, ४६; १ कोरिन्थी १:१, २; गलाती १:१, २; २ थिस्सलोनिकी १:१) आज पनि त्यसरी नै भेला हुने गरिन्छ। यहोवाका साक्षीहरू सभाहरूको लागि एक ठाउँमा भेला हुन्छन्‌। यी सभाहरू मुख्यतः व्यक्‍तिविशेषलाई यहोवासित घनिष्ठ हुन अनि उहाँको सेवामा आनन्दित हुन मदत गर्ने उद्देश्‍यले तयार पारिएका हुन्छन्‌। स्थानीय साक्षीहरूसित सङ्‌गत गर्नुका अरू लाभहरू पनि छन्‌। भविष्यमा मानिसहरू बिस्तारै आफूले उपासना गर्ने परमेश्‍वरजस्तै त्रुटिरहित हुँदै जानेछन्‌। तर अहिले पनि यहोवाका साक्षीहरू केही हदसम्म भए पनि यहोवाका गुणहरू व्यवहारमा उतार्ने प्रयास गर्छन्‌। त्यसैले साक्षीहरूसित भेला हुँदा यहोवालाई अझै राम्ररी चिन्‍न सकिन्छ।—हिब्रू १०:२४, २५.

एक जना व्यक्‍तिलाई चिन्‍न किन यत्ति धेरै प्रयास गर्नुपर्ने होला भनेर तपाईँलाई लाग्छ कि? हो, प्रयास त चाहिन्छ नै। आफूले जीवनमा पाउन चाहेका कुराहरूको लागि के तपाईँले प्रयास गर्नु पर्दैन र? एक जना उत्कृष्ट खेलाडीले प्रशिक्षणको बेला गर्ने प्रयासलाई विचार गर्नुहोस्‌। उदाहरणको लागि, अन्तरराष्ट्रिय खेलहरूमा एक सफल प्रतियोगी बन्‍नको लागि गर्नुपर्ने प्रयासबारे ओलम्पिक खेलमा स्कीतर्फ स्वर्ण पदक जितेका फ्रान्सका झाँ-क्लोड किली यसो भन्छन्‌, “प्रतियोगिता सुरु हुनुभन्दा १० वर्षअघिदेखि तपाईँले अभ्यास थाल्नुपर्ने हुन्छ अनि वर्षौँको लागि योजना बनाउनुपर्ने हुन्छ र हरेक दिन यसैमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ . . . यो मानसिक र शारीरिक तवरमा वर्षभरि नै अर्थात्‌ ३६५ दिनै गर्नुपर्ने काम हो।” केवल दस मिनेटको दौडमा प्रतिस्पर्धा गर्न यत्ति धेरै समय अनि प्रयास! यहोवालाई चिनेर हामी झन्‌ कत्ति धेरै अनि कत्ति चिरस्थायी लाभ पाउन सक्छौँ होला त!

झन्‌झनै प्रगाढ हुँदै जाने सम्बन्ध

जीवनमा महत्त्वपूर्ण कुराहरू पाउन कसलाई पो इच्छा लाग्दैन र? त्यसैले यदि तपाईँलाई आफ्नो जीवनको वास्तविक उद्देश्‍य हराइरहेको जस्तो लाग्छ वा दुःखकष्ट किन आइपर्छ भन्‍ने प्रश्‍नले पिरोलिरहेको छ भने बाइबलको परमेश्‍वर यहोवालाई चिन्‍ने दृढ सङ्‌कल्प गर्नुहोस्‌। उहाँबारे सिक्नुभयो भने तपाईँको जीवनमा सदाको लागि एउटा राम्रो परिवर्तन आउन सक्छ।

के यहोवाबारे सिकेर कहिल्यै सिद्धिएला? दशकौँदेखि उहाँको सेवा गरिरहेकाहरू आफूले पहिला उहाँबारे सिकेका अनि अहिले सिकिरहेका कुराहरूबाट अझै पनि आनन्द उठाउँछन्‌। यस्ता कुराहरू सिक्दा हामी आनन्दित हुन्छौँ। साथै हामी यहोवासित सधैँभरिको लागि घनिष्ठ पनि हुन सक्छौँ। हामी पनि प्रेषित पावलका यी भावनाहरूसित सहमत हुन्छौँ: “परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका फैसलाहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌! किनकि ‘कसले यहोवा परमेश्‍वरको विचार बुझ्न सकेको छ अथवा को उहाँको सल्लाहकार भएको छ?’ ”—रोमी ११:३३, ३४.

[फुटनोट]

a नामहरू परिवर्तन गरिएका छन्‌।

मानिसहरूले अझै यही आधारभूत प्रश्‍नहरू सोध्ने गर्छन्‌: ‘म यहाँ किन छु? मेरो जीवन कतातिर लम्किरहेको छ? जीवनको उद्देश्‍य के हो?’

“यहोवाको वास्तविक व्यक्‍तित्वलाई राम्ररी बुझ्न थालेपछि म उहाँसित नजिक भएँ”

“यहोवाको सेवा गर्नु नै सर्वोत्कृष्ट जीवनशैली हो। यसलाई कुनै कुरासित तुलना गर्न सकिँदैन। यहोवालाई चिनेपछि मैले जीवनको उद्देश्‍य भेट्टाएको छु”