सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“ढाडस गर, मैले संसारलाई जितेको छु”

“ढाडस गर, मैले संसारलाई जितेको छु”

“ढाडस गर, मैले संसारलाई जितेको छु”

येशूको मृत्युको दिन अर्थात्‌ यहूदी पात्रोअनुसार नीसान महिनाको १४ औं दिन, सा.यु. ३३ को मार्च ३१ बिहीबार सुर्यास्तपछि सुरु भयो। त्यस साँझ, येशू र उहाँका प्रेरितहरू यरूशलेमको एउटा घरको माथिल्लो तलामा निस्तार चाड मनाउन भेला भएका थिए। “यस संसारबाट पिताकहाँ जाने” तयारी गर्नुहुँदा येशूले आफ्ना प्रेरितहरूलाई अन्तसम्मै प्रेम गर्नुभएको कुरा देखाउनुभयो। (यूहन्‍ना १३:१) कसरी? तिनीहरूलाई सर्वोत्कृष्ट पाठहरू सिकाएर भविष्यमा हुनलागेका कुराहरूको लागि तयार पार्नुभएर।

रात ढल्दै जाँदा येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “साहस गर, मैले संसारलाई जितेको छु।” (यूहन्‍ना १६:३३, नयाँ संशोधित संस्करण) उहाँले त्यस्तो साहसिलो कुरा भन्‍नुको अर्थ के थियो? अर्को ढंगमा भन्‍नुपर्दा यस्तो अर्थ लाग्न सक्छ: ‘यस संसारको दुष्टता देखेर म कहिल्यै पनि क्रोधित भइनँ नता बदला लिन सुरिएँ। मैले यस संसारले चाहेजस्तो गरिनँ। तिमीहरू पनि यसो गर्न सक्छौ।’ येशूले आफ्नो पार्थिव जीवनको त्यस अन्तिम घडीमा विश्‍वासी प्रेरितहरूलाई सिकाउनुभएको कुराले तिनीहरूलाई पनि संसारमाथि विजयी हुन मदत गर्ने थियो।

आजको संसारमा व्याप्त खराबीलाई कसले नकार्न सक्छ र? आजको अन्याय र व्यर्थका हिंसात्मक गतिविधिहरूप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं? के तपाईं त्यसो गर्नेहरूप्रति क्रोधित हुनुहुन्छ वा जस्तालाई तस्तै गर्न अग्रसर हुनुहुन्छ? हाम्रो वरपरको नैतिक पतनले हामीलाई कस्तो असर पारेको छ? अझ त्यसमाथि हाम्रो मानव असिद्धता तथा पापी झुकावहरू त छँदैछ, त्यसकारण हामीले दुइटा कुरासित लड्‌नुपरेको छ: ती हुन्‌, बाहिरको दुष्ट संसार र हामीमै अन्तरनिहित खराब झुकावहरू। के हामी परमेश्‍वरको मदतविना आफ्नै बल-बर्कतले विजयी हुने आशा गर्न सक्छौं? हामी कसरी उहाँको मदत पाउन सक्छौं? आफ्ना शारीरिक झुकावहरूको प्रतिरोध गर्न हामीले कस्ता गुणहरू खेती गर्नुपर्छ? जवाफको लागि येशू यस पृथ्वीमा हुनुहुँदा आफ्नो जीवनको अन्तिम घडीमा आफ्ना चेलाहरूलाई सिकाउनुभएका कुराहरूतिर ध्यान देऔं।

अहंकारलाई नम्रताले जित्नुहोस्‌

उदाहरणका लागि, अहंकार वा हठीपनाको समस्यालाई विचार गर्नुहोस्‌। यसबारे बाइबल यसो भन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।” (हितोपदेश १६:१८) धर्मशास्त्रले यस्तो सल्लाह पनि दिन्छ: “केही न केहीका मानिसले म केही हुँ भन्‍ने सम्झन्छ भनेता त्यसले आफैलाई धोका दिन्छ।” (गलाती ६:३) हो, अहंकार विनाशकारी र छली हुन्छ। हामीले ‘अभिमान र अहंकारलाई’ घृणा गर्नु बुद्धिमानी हुनेछ।—हितोपदेश ८:१३.

के येशूका चेलाहरूमा पनि अभिमान र अहंकारको समस्या थियो? तिनीहरूले को ठूलो भन्‍ने विषयमा कम्तीमा एकपल्ट बहस गरेका थिए। (मर्कूस ९:३३-३७) अर्कोपल्ट याकूब र यूहन्‍नाले राज्यमा विशेष ओहदाको लागि आग्रह गरे। (मर्कूस १०:३५-४५) येशू आफ्ना चेलाहरूलाई यस्ता झुकावहरू हटाउन मदत गर्न चाहनुहुन्थ्यो। त्यसैले निस्तार चाडको भोज खानेक्रममा उहाँ खडा हुनुभयो र तौलिया बेह्रेर आफ्ना चेलाहरूको खुट्टा धुन थाल्नुभयो। आफूले सिकाउन चाहेको पाठलाई उहाँले प्रस्टै पार्नुभयो। येशूले भन्‍नुभयो, “यदि मैले प्रभु र गुरु भईकन तिमीहरूका खुट्टा धोएको छु भने, तिमीहरूले पनि एका अर्काको खुट्टा धुनुपर्छ।” (यूहन्‍ना १३:१४) चेलाहरूले अहंकारको सट्टा नम्रता विकास गर्नुपर्थ्यो।

तथापि, अहंकारलाई जित्नु सजिलो छैन। उहाँलाई धोका दिन लागेको यहूदा ईस्करयोतीलाई उहाँले पठाइसक्नुभएपछि ११ जना प्रेरितहरूमाझ ठूलो भनाभन पऱ्‍यो। कुन विषयमा? तिनीहरूमध्ये को सबैभन्दा ठूलो गनिएको छ भन्‍नेबारे! तिनीहरूलाई गाली गर्नुको साटो फेरि एकपल्ट येशूले धैर्यतासाथ अरूको सेवा गर्नुपर्ने महत्त्वबारे तिनीहरूलाई बताउनुभयो। उहाँले भन्‍नुभयो: “अन्यजातिहरूका राजाहरूको तिनीहरूमाथि प्रभुत्व हुन्छ, र तिनीहरूमाथि अख्तियार हुनेहरूचाहिं उपकारी भनिन्छन्‌। तर तिमीहरू चाहिं यस्तो नहुनू। तर तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानोजस्तो बनिओस्‌, र नेतृत्व गर्ने चाहिं सेवा गर्ने जस्तो होस्‌।” आफ्नो उदाहरणबारे स्मरण गराउँदै उहाँले भन्‍नुभयो: “म तिमीहरूका बीचमा सेवा गर्ने जस्तो छु।”—लूका २२:२४-२७.

के प्रेरितहरूले मुख्य कुरा बुझे? बुझेजस्तो देखिन्छ। वर्षौंपछि प्रेरित पत्रुसले यस्तो लेखे: “तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका [होओ]।” (१ पत्रुस ३:८) हामीले पनि अहंकारलाई नम्रताले जित्नु कत्ति महत्त्वपूर्ण छ! नाउँ, शक्‍ति वा ओहोदाको पछि नलागेर हामीले पनि बुद्धि पुऱ्‍याइरहेका हुनेछौं। “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ,” भन्दै बाइबल यस्तो उल्लेख गर्छ, “तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:६) त्यस्तै गरी पुरातन समयको बुद्धिमानी हितोपदेश यसो भन्छ: “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌।”—हितोपदेश २२:४.

घृणालाई जित्ने—कसरी?

संसारमा जताततै पाइने अर्को गुण घृणालाई विचार गर्नुहोस्‌। डर, अज्ञानता, पूर्वाग्रह, अत्याचार, अन्याय, राष्ट्रियता, वर्गभेद, वा जातीय भेदभावबाट पैदा भएकै किन नहोस्‌ घृणा हामी जताततै देख्न सक्छौं। (२ तिमोथी ३:१-४) येशूको दिनमा पनि घृणा व्याप्त थियो। यहूदी समाजमा महसुल उठाउनेहरूलाई घृणा गरिन्थ्यो। यहूदीहरू सामरीहरूसित कुनै सम्बन्ध राख्दैनथे। (यूहन्‍ना ४:९) अनि अन्यजाति अर्थात्‌ गैर-यहूदीहरूलाई पनि यहूदीहरूले हेलाँ गर्थे। तथापि, येशूले स्थापना गर्नुभएको उपासना शैलीमा सबै राष्ट्रका मानिसहरूलाई स्वीकार्नुपर्ने थियो। (प्रेरित १०:३४, ३५; गलाती ३:२८) तसर्थ, उहाँले आफ्ना चेलाहरूलाई मायालु ढंगमा एउटा नयाँ कुरा सिकाउनुभयो।

येशूले यस्तो घोषणा गर्नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर।” तिनीहरूले यो प्रेम प्रदर्शन गर्न सिक्नुपर्ने थियो किनभने उहाँले थप यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३४, ३५) यो आज्ञा नयाँ थियो किनभने यसमा “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम” गर्नुमा मात्रै सीमित थिएन। (लेवी १९:१८) कुन तरिकामा? येशूले यसबारे स्पष्ट पार्दै भन्‍नुभयो: “मेरो आज्ञा यही हो, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढता प्रेम कसैको हुँदैन।” (यूहन्‍ना १५:१२, १३) तिनीहरू एकअर्काको लागि र अरूकैलागि समेत आफ्नो ज्यान दिन इच्छुक हुनुपर्ने थियो।

असिद्ध मानिसहरूले आफ्नो जीवनबाट कसरी दुर्भावपूर्ण घृणा हटाउन सक्छन्‌? आत्मत्यागी प्रेमद्वारा। विभिन्‍न सम्प्रदाय, संस्कृति, धर्म र राजनैतिक पृष्ठभूमिका लाखौं निष्कपट व्यक्‍तिहरू अहिले त्यसै गरिरहेका छन्‌। हाल तिनीहरू एउटा एकताबद्ध, घृणामुक्‍त यहोवाका साक्षीहरूको विश्‍वव्यापी भ्रातृत्वका भाग भइरहेका छन्‌। तिनीहरू प्रेरित यूहन्‍नाका यी कुराहरू मनमा राख्छन्‌: “आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।” (१ यूहन्‍ना ३:१५) साँचो मसीहीहरू जस्तोसुकै युद्धमा पनि हतियार उठाउन इन्कार गर्छन्‌ भने अर्कोतिर एकअर्कासित प्रेम गर्न यथासक्दो प्रयत्न गर्छन्‌।

उसोभए, बेग्लै धर्म मान्‍ने र हामीप्रति घृणाको भाव पनि देखाउनसक्ने मानिसहरूप्रति हाम्रो मानसिक झुकाव कस्तो हुनुपर्छ? शूलीमा झुन्ड्याइएको बेला येशूले आफूलाई प्राणदण्ड दिनेहरूका लागि यसो भन्दै प्रार्थना गर्नुभयो: “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्‌, किनकि तिनीहरूले के गरिरहेछन्‌ ती जान्दैनन्‌।” (लूका २३:३४) घृणाले भरिएका मानिसहरूले चेला स्तिफनसलाई मरणासन्‍न हुने गरी ढुंगाले हान्दा तिनले व्यक्‍त गरेका अन्तिम शब्दहरू यस्ता थिए: “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्‌।” (प्रेरित ७:६०) येशू र स्तिफनस आफूलाई घृणा गर्नेहरूको पनि भलाइ भएको चाहनुहुन्थ्यो। उहाँहरूको हृदयमा कुनै द्वेष थिएन। बाइबल हामीलाई “सबै मानिसतर्फ, . . . भलाइको काम गरौं” भन्‍ने सुझाव दिन्छ।—गलाती ६:१०.

‘सधैंभरि साथ दिने मदतगार’

आफ्ना ११ जना विश्‍वासी प्रेरितहरूसित धेरै समय कुरा गरिसक्नुभएपछि येशूले तिनीहरूलाई आफू अब धेरै समय तिनीहरूसित नरहने कुरा बताउनुभयो। (यूहन्‍ना १४:२८; १६:२८) तर उहाँले तिनीहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [“मदतगार,” NW] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ।” (यूहन्‍ना १४:१६) त्यो प्रतिज्ञा गरिएको मदतगार परमेश्‍वरको पवित्र आत्मा थियो। यसले तिनीहरूलाई धर्मशास्त्रका गहिरा कुराहरू सिकाउनुका साथै पार्थिव सेवकाईका दौडान येशूले तिनीहरूलाई सिकाउनुभएका कुराहरू पुनःस्मरण गराउने थियो।—यूहन्‍ना १४:२६.

पवित्र आत्माले आज हामीलाई कसरी मदत गर्न सक्छ? बाइबल परमेश्‍वरको प्रेरित वचन हो। भविष्यवाणी गर्ने र बाइबल लेख्ने मानिसहरू “पवित्र आत्माबाट उत्तेजित भएर बोल्दथिए।” (२ पत्रुस १:२०, २१; २ तिमोथी ३:१६) धर्मशास्त्र अध्ययन गर्नुका साथै सिकेका कुराहरू पालन गर्नाले ज्ञान, बुद्धि, समझ, अन्तरदृष्टि, विवेक र सोच्ने क्षमता बढ्‌छ। के त्यसपछि हामी यस दुष्ट संसारका दबाबहरू सामना गर्न तयार हुँदैनौं र?

पवित्र आत्मा अर्को तरिकामा पनि हाम्रो मदतगार हो। परमेश्‍वरको पवित्र आत्माले आफ्नो प्रभावमा परेकाहरूलाई ईश्‍वरीय गुणहरू प्रकट गर्न मदत गरेर भलाइ गर्न उत्प्रेरित गर्छ। “आत्माको फल चाहिं—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम हुन्‌,” भनी बाइबल बताउँछ। हामीमा हुने अनैतिक झुकाव, झैझगडा, ईर्ष्या, क्रोध र अन्य शारीरिक झुकावहरूमाथि विजयी हुन चाहिने गुणहरू यीनै होइनन्‌ र?—गलाती ५:१९-२३.

परमेश्‍वरको आत्मामा भर परेर हामी कुनै पनि समस्या तथा तनावको सामना गर्न “असामान्य शक्‍ति” प्राप्त गर्न सक्छौं। (२ कोरिन्थी ४:७, NW) पवित्र आत्माले परीक्षा वा प्रलोभनहरूलाई त हटाउँदैन तर ती सहन हामीलाई पक्कै पनि मदत गर्न सक्छ। “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु,” भनेर प्रेरित पावलले लेखे। (फिलिप्पी ४:१३) परमेश्‍वरले त्यस्तो शक्‍ति पवित्र आत्मामार्फत दिनुहुन्छ। पवित्र आत्माको लागि हामी कत्ति कृतज्ञ हुन सक्छौं! अनि यो ‘येशूलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्नेहरूलाई’ दिने प्रतिज्ञा गरिएको छ।—यूहन्‍ना १४:१५.

“मेरो प्रेममा रहो”

आफ्नो मानव जीवनको अन्तिम रात येशूले आफ्ना प्रेरितहरूलाई “मलाई प्रेम गर्ने त्यही हो, जसले मेरा आज्ञा मान्दछ, र तिनलाई पालन गर्दछ, जसले मलाई प्रेम गर्दछ, त्यो मेरा पिताको पनि प्रेमी हुनेछ,” पनि भन्‍नुभयो। (यूहन्‍ना १४:२१) “मेरो प्रेममा रहो,” भनी उहाँले आग्रह गर्नुभयो। (यूहन्‍ना १५:९) पिता र पुत्रको प्रेममा रहँदा हामी आफैभित्रको र बाहिरी दुष्ट संसारको पापी झुकावहरू विरुद्ध लड्‌न कसरी मदत पाउनेछौं?

हामीमा पापी झुकावहरूलाई नियन्त्रण गर्ने बलियो चाहना छैन भने के हामी नियन्त्रण राख्न साँच्चै सफल हुनेछौं र? यहोवा परमेश्‍वर र उहाँको पुत्रसित राम्रो सम्बन्ध कायम गर्ने इच्छा जस्तो ठूलो प्रेरणा अरू के नै हुन सक्ला र? अर्नेस्टो, a जसले आफ्नो युवावस्थादेखि बिताइरहेको अनैतिक जीवन शैली विरुद्ध कडा संघर्ष गर्नुपरेको थियो, तिनी यसो भन्छन्‌: “म परमेश्‍वरलाई खुसी तुल्याउन चाहन्थें अनि मैले बिताइरहेको जीवन उहाँलाई मन पर्दोरहेनछ भन्‍ने कुरा पनि बाइबलबाट सिकें। त्यसैले मैले परिवर्तन गरेर परमेश्‍वरको निर्देशनहरूअनुसार चल्ने निधो गरें। मैले हरेक दिन असाध्यै विनाशकारी अश्‍लील विचारधाराहरूसित लड्‌नुपर्थ्यो जुन अहिले पनि मेरो मनमा उर्लिने गर्छ। तर म यस युद्धमा विजयी हुन कटिबद्ध थिएँ त्यसैले परमेश्‍वरको मदतको लागि मैले अटुट रूपमा प्रार्थना गरें। मेरो कष्टदायी दुई वर्ष बितिसकेको भए तापनि म अझै होसियार छु।”

त्यस्तै बाह्‍य संसारसितको युद्धबारे, येरूशलेमको माथिल्लो कोठा छोडेर हिंड्‌नुअघि येशूले गर्नुभएको समापन प्रार्थनालाई विचार गर्नुहोस्‌। आफ्ना चेलाहरूका खातिर उहाँले पितालाई प्रार्थनामा भन्‍नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१५, १६) कस्तो आश्‍वासनदायी कुरा! आफूले प्रेम गर्नेहरूलाई यहोवा रेखदेख गर्नुहुन्छ र तिनीहरूलाई संसारदेखि अलग रहन बल दिनुहुन्छ।

“विश्‍वास गर”

येशूका आज्ञाहरू पालन गर्नाले हामीलाई यस दुष्ट संसार र हाम्रा पापी झुकावहरू विरुद्धको संघर्षमा विजय हुन पक्कै मदत पुग्न सक्छ। त्यस्ता जीतहरू महत्त्वपूर्ण भए तापनि त्यसले यस संसारलाई वा वंशानुगत पापलाई नामेट पार्न भने सक्दैन। तर हामी निराश हुनु पर्दैन।

“संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ” भनी बाइबल घोषणा गर्छ। (१ यूहन्‍ना २:१७) येशूले आफूमाथि “विश्‍वास गर्ने प्रत्येक” व्यक्‍तिलाई पाप र मृत्युबाट उद्धार गर्न आफ्नो जीवन दिनुभयो। (यूहन्‍ना ३:१६) आउनुहोस्‌, हामी जसै परमेश्‍वरको इच्छा र उद्देश्‍यहरूको ज्ञानमा बढ्‌दै जान्छौं येशूको यस सल्लाहलाई पालन गरौं: “परमेश्‍वरलाई विश्‍वास [गर], मलाई पनि विश्‍वास गर।”—यूहन्‍ना १४:१.

[फुटनोट]

a यहाँ अर्कै नाउँ प्रयोग गरिएको छ।

[पृष्ठ ६, ७-मा भएको चित्र]

“मेरो प्रेममा रहो” भनी येशूले आफ्ना प्रेरितहरूलाई आग्रह गर्नुभयो

[पृष्ठ ७-मा भएको चित्र]

पाप र त्यसले पार्ने असरहरूबाट पाइने स्वतन्त्रता चाँडै वास्तविकतामा परिणत हुनेछ