सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं कसरी बुद्धिमानी निर्णयहरू गर्न सक्नुहुन्छ?

तपाईं कसरी बुद्धिमानी निर्णयहरू गर्न सक्नुहुन्छ?

तपाईं कसरी बुद्धिमानी निर्णयहरू गर्न सक्नुहुन्छ?

“बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्‌” भनी प्राचीन इस्राएलका राजा सुलेमानले बताए। केवल अरूको सल्लाह बेवास्ता गरेको कारण हामीमध्ये अधिकांशले समय-समयमा मूर्खतापूर्ण निर्णयहरू गरेका छौं।—हितोपदेश १:५, नयाँ संशोधित संस्करण।

पछि सुलेमानका यी शब्दहरू तिनले रचेका अरू “तीन हजार सदुपदेश[सँगै]” बाइबलमा लिपिबद्ध गरियो। (१ राजा ४:३२) तिनका बुद्धिमानी भनाइहरू थाह पाएर तथा पालन गरेर के हामी लाभ उठाउन सक्छौं? हो, सक्छौं। यसले हामीलाई ‘बुद्धि र शिक्षा प्राप्त गर्न, गहन अर्थ भएका कुराहरू बुझ्न, तीद्वारा बुद्धिसित जीवन चलाउन सिक्न, र इमान्दारी, धार्मिकता र न्यायपरायणता प्राप्त गर्न’ मदत गर्छ। (हितोपदेश १:२, ३) आउनुहोस्‌, हामीलाई बुद्धिमानी निर्णयहरू गर्न मदत दिन सक्ने, बाइबल आधारित पाँचवटा निर्देशन हामी छलफल गरौं।

दीर्घकालीन परिणामहरू विचार गर्नुहोस्‌

कुनै-कुनै निर्णयहरूले महत्त्वपूर्ण परिणामहरू ल्याउनेछन्‌। त्यसकारण कस्ता परिणामहरू हुनेछन्‌ भनी पहिल्यै ठम्याउने कोसिस गर्नुहोस्‌। अल्पकालीन लाभहरूको आकर्षणको कारण सम्भावित अवाञ्छनीय दीर्घकालीन परिणामहरूप्रति आँखा चिम्लनदेखि होसियार रहनुहोस्‌। “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ” भनी हितोपदेश २२:३ ले चेतावनी दिन्छ।

यसका अल्पकालीन तथा दीर्घकालीन परिणामहरू कस्ता हुनेछन्‌ भनी कागजमा टिप्नु बुद्धिमानी हुन सक्छ। कुनै खास जागिर रोज्नुको अल्पकालीन नतिजा भनेको राम्रो तलब र रमाइलो काम हुन सक्छ। तर दीर्घकालीन परिणाम कतै खासै फाइदा नहुने जागिर पो हुन सक्छ कि? यसको कारण पछि गएर तपाईं सायद आफ्ना साथीहरू वा परिवारदेखि टाढा अन्यत्रै सर्नुपर्ने पो हो कि? यो तपाईंलाई खराब वातावरणमा धकेल्ने वा तपाईंलाई एकदमै निराश बनाउने अल्छीलाग्दो काम हुने पो हो कि? राम्रो तथा नराम्रो दुवै पक्षको लेखाजोखा गर्नुहोस्‌ अनि कुन कुरालाई प्राथमिकता दिनुपर्छ भनी निर्णय गर्नुहोस्‌।

पर्याप्त समय लगाउनुहोस्‌

हतारमा गरिएका निर्णयहरू सजिलै मूर्खतापूर्ण निर्णयमा परिवर्तन हुन सक्छन्‌। हितोपदेश २१:५ ले यस्तो चेतावनी दिन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्‍चय कंगाली हुन्छ।” उदाहरणका लागि, प्रेमले अन्धो भएका किशोरकिशोरीले विवाह बन्धनमा बाँधिने निर्णय गर्नुअघि समय लगाएर विचार गर्नुपर्छ। अन्यथा, तिनीहरूले १८ औं शताब्दीका अंग्रेजी नाटककार विलियम कोंग्रेभका निम्न शब्दहरूको सत्यता अनुभव गर्न सक्छन्‌: “हतारमा विवाह गऱ्‍यौं भने फुर्सदमा पछुताउनेछौं।”

तथापि, पर्याप्त समय लगाउनुको अर्थ आलेटाले गर्नु भनेको होइन। कतिपय निर्णयहरू यति महत्त्वपूर्ण हुन्छन्‌ कि बुद्धि चलाउने हो भने यस्ता निर्णयहरू जतिसक्दो चाँडो गरिहाल्नुपर्छ। अनावश्‍यक रूपमा ढिलो गर्दा हामीले र अरूले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ। कुनै निर्णयलाई पछि सारिरहनु आफैमा एउटा निर्णय हुन सक्छ—सम्भवतः एउटा मूर्खतापूर्ण निर्णय।

सल्लाह सुन्‍नुहोस्‌

दुईवटा परिस्थितिहरू एकैनासे नहुने हुनाले उस्तै समस्याहरूको सामना गर्नुपर्दा, दुई जना व्यक्‍तिहरूले सधैं एउटै खालको निर्णय नगर्न सक्छन्‌। तैपनि, हाम्रो जस्तै मामिलाहरूमा अरूले कसरी निर्णय गरे भन्‍ने कुरा सुन्‍नु मदतकारी हुन्छ। अहिले तिनीहरू आफ्नो निर्णयलाई कसरी हेर्छन्‌ भनी सोध्नुहोस्‌। उदाहरणका लागि, कुनै व्यवसाय गर्न रोज्दा यो व्यवसाय गरिसकेकाहरूलाई यसको सबल र दुर्बल दुवै पक्षहरू बताउन भन्‍नुहोस्‌। आफ्नो रोजाइबाट तिनीहरूले कस्ता लाभहरू पाएका छन्‌ अनि कस्ता बेफाइदा वा सम्भावित खतराहरू छन्‌?

हामीलाई यस्तो चेतावनी दिइएको छ: “परामर्श विनाको योजना विफल हुन्छ, तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।” (हितोपदेश १५:२२) निस्सन्देह, सल्लाह खोज्दा र अरूको उदाहरणबाट सिक्दा, अन्तिम निर्णय व्यक्‍तिगत तवरमा आफैले गर्नै पर्छ अनि यसको जिम्मेवारी पनि आफैले लिनै पर्छ भन्‍ने कुरा हामीले पूर्णतया स्वीकार्नुपर्छ।—गलाती ६:४, ५.

प्रशिक्षित अन्तस्करणको कुरा सुन्‍नुहोस्‌

अन्तस्करणले हामीलाई आफूले जीवन बिताउन रोजेको आधारभूत सिद्धान्त अनुरूप निर्णय गर्न मदत दिन सक्छ। एक जना मसीहीको लागि यसको अर्थ आफ्नो अन्तस्करणलाई परमेश्‍वरका विचारहरू प्रतिबिम्बित गर्ने नमुना अनुरूप प्रशिक्षण दिनु हो। (रोमी २:१४, १५) परमेश्‍वरको वचनले हामीलाई यसो भन्छ: “आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:६) निस्सन्देह, कुनै-कुनै क्षेत्रमा—प्रशिक्षित अन्तस्करण भएका—दुई जना व्यक्‍ति भिन्‍ना-भिन्‍नै निष्कर्षमा पुगेर फरक-फरक निर्णयहरू गर्न सक्छन्‌।

तथापि, परमेश्‍वरको वचनले सीधै मनाही गरेका कामहरूको सन्दर्भमा भने प्रशिक्षित अन्तस्करणले यसो गर्ने स्वतन्त्रता दिंदैन। उदाहरणका लागि, बाइबलद्वारा प्रशिक्षण नपाएको अन्तस्करणले, विवाहपछि मिलेर बस्न सकिन्छ कि सकिंदैन भनेर जाँच्न एक जना पुरुष तथा एक जना स्त्रीलाई विवाहअघि नै सँगै बस्न दिन सक्छ। यसले तिनीहरूलाई हतारपतार विवाहमा बाँधिने मूर्खताबाट जोगाउँछ भन्‍ने तर्क गर्दै, आफूले बुद्धिमानी निर्णय गऱ्‍यौं भनी तिनीहरूले सोच्न सक्छन्‌। यस विषयमा तिनीहरूको अन्तस्करणले तिनीहरूलाई नघोच्न सक्छ। यद्यपि, यौन तथा विवाहको सन्दर्भमा परमेश्‍वरको जस्तो दृष्टिकोण राख्ने जोकसैले पनि यस्तो अस्थायी र अनैतिक प्रबन्धमा बाँधिने निर्णय गर्नेछैनन्‌।—१ कोरिन्थी ६:१८; ७:१, २; हिब्रू १३:४.

तपाईंको निर्णयले अरूलाई कसरी असर गर्छ

अक्सर तपाईंको निर्णयले अरूलाई असर गर्न सक्छ। त्यसकारण साथी तथा नातेदारहरू वा सबैभन्दा ठूलो कुरा त परमेश्‍वरसितको अनमोल सम्बन्धलाई खतरामा पार्न सक्ने मूर्खतापूर्ण—वा अझ बेवकुफी—निर्णय जानाजानी कहिल्यै नगर्नुहोस्‌। हितोपदेश १०:१ यसो भन्छ: “बुद्धिमान छोराले बाबुलाई खुशी तुल्याउँछ, मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।”

अर्को तर्फ, कहिलेकाहीं तपाईंले मित्रताको सन्दर्भमा छनोट गर्नुपर्ने हुन सक्छ भन्‍ने कुरा थाह पाउनुहोस्‌। उदाहरणका लागि, तपाईंले पहिले-पहिले राख्दै आउनुभएको धार्मिक विचारधाराहरू धर्मशास्त्र विपरीत छन्‌ भन्‍ने थाह पाएपछि ती त्याग्ने निर्णय गर्नुहोला। अथवा आफूले स्वीकारेको ईश्‍वरीय निर्देशन अनुरूप जीवन बिताउने इच्छाको कारण तपाईंले आफ्नो व्यक्‍तित्वमा आमूल परिवर्तन ल्याउने निर्णय गर्नुहोला। तपाईंको निर्णयले कुनै-कुनै साथी वा नातेदारहरूलाई अप्रसन्‍न तुल्याउन सक्छ, तर परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने जुनसुकै निर्णय बुद्धिमानी निर्णय हो।

बुद्धिमानीपूर्वक सबैभन्दा ठूलो निर्णय गर्नुहोस्‌

साधारणतया मानिसहरूलाई थाह नभए तापनि आज हरेक मानिसले जीवन र मरण बिथोलित एउटा निर्णयको सामना गर्नुपर्छ। सा.यु.पू. १४७३ मा, प्रतिज्ञा गरिएको देशको सिमानामा पाल टाँगेर बसिरहेका प्राचीन इस्राएलीहरूले यस्तै परिस्थितिको सामना गरे। परमेश्‍वरको प्रवक्‍ताको रूपमा मोशाले तिनीहरूलाई यसो भने: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो किनकि यसो गर्नुनै तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ। औ तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित परमप्रभुले तिमीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू निवास गर्नेछौ।”—व्यवस्था ३०:१९, २०.

बाइबल भविष्यवाणी तथा कालक्रमले हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं र “यस संसारको रूप बितेर जाँदैछ [“परिवर्तन हुँदैछ,” NW]” भन्‍ने कुरा देखाउँछ। (२ तिमोथी ३:१; १ कोरिन्थी ७:३१) खोक्रो मानव रीतिरिवाजको विनाश हुँदा अगमवाणी गरिएको यो परिवर्तन चरमोत्कर्षमा पुग्नेछ र यसलाई परमेश्‍वरको धार्मिक नयाँ संसारले प्रतिस्थापन गर्नेछ।

हामी त्यस नयाँ संसारको सँघारमा छौं। परमेश्‍वरको राज्यअन्तर्गत पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउन के तपाईं त्यहाँ प्रवेश गर्नुहुनेछ? वा शैतानको रीतिरिवाजको नमोनिसान मेटिंदा तपाईं पृथ्वीबाट हटाइनुहुनेछ? (भजन ३७:९-११; हितोपदेश २:२१, २२) अब कुन मार्ग पछ्याउने भनी निर्णय गर्ने काम तपाईंकै हो अनि यस निर्णयमा साँच्चै जीवन वा मरण बिथोलित छ। के तपाईं सही, बुद्धिमानी निर्णय गर्नको लागि उपलब्ध मदत स्वीकार्नुहुनेछ?

जीवनको लागि निर्णय गर्नुमा पहिले परमेश्‍वरका आवश्‍यकताहरूबारे सिक्नु समावेश छ। यी आवश्‍यकताहरूबारे सही ढंगमा सिकाउन चर्चहरू अक्सर असफल भएका छन्‌। झूटमा विश्‍वास गर्न लगाएर अनि परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कार्यहरू गर्न लगाएर तिनीहरूका नेताहरूले मानिसहरूलाई अक्सर बहकाएका छन्‌। परमेश्‍वरलाई “आत्मा र सत्यतामा” उपासना गर्ने व्यक्‍तिगत निर्णय गर्नुको महत्त्वबारे बताउन तिनीहरूले बेवास्ता गरेका छन्‌। (यूहन्‍ना ४:२४) त्यसकारण अधिकांश मानिसहरूले यसो गर्दैनन्‌। तर येशूले के भन्‍नुभयो, ध्यान दिनुहोस्‌: “जो मसित छैन, त्यो मेरो विरुद्धमा छ, र जसले मसित बटुल्दैन उसले छर्दछ।”—मत्ती १२:३०.

यहोवाका साक्षीहरूले मानिसहरूलाई परमेश्‍वरको वचनको ज्ञान अझ राम्ररी हासिल गर्न खुसीसाथ मदत गर्छन्‌। अरू मानिसहरूको अनुकूल समय र स्थानमा तिनीहरूले व्यक्‍तिगत वा सामूहिक रूपमा नियमित बाइबल छलफलहरू सञ्चालन गर्छन्‌। यस प्रबन्धबाट लाभ उठाउन चाहनेहरूले स्थानीय साक्षीहरूसित सम्पर्क गर्नुपर्छ वा प्रहरीधरहरा-का प्रकाशकहरूलाई लेख्नुपर्छ।

निस्सन्देह, कसै-कसैलाई परमेश्‍वरले चाहनुहुने कुराबारे पहिलेदेखि नै आधारभूत ज्ञान छ होला। तिनीहरूले बाइबलको सत्यता तथा विश्‍वसनीयता समेत स्वीकार्छन्‌ होला। तैपनि, तिनीहरूमध्ये थुप्रै आफूलाई परमेश्‍वरमा समर्पण गर्ने निर्णय गर्नदेखि पछि हटिरहेका छन्‌। किन? यसका कारणहरू विभिन्‍न हुन सक्छन्‌।

सायद तिनीहरू यसो गर्नुको महत्त्वबारे अनभिज्ञ छन्‌ कि? येशूले स्पष्टसित यसो भन्‍नुभयो: “मलाई प्रभु, प्रभु, भन्‍ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।” (मत्ती ७:२१) बाइबल ज्ञान मात्र पर्याप्त छैन; कदम चाल्नु आवश्‍यक छ। प्रारम्भिक मसीही मण्डलीले यस सन्दर्भमा नमुना बसाल्यो। प्रथम शताब्दीका कसै-कसैबारे यस्तो लेखिएको हामी पाउँछौं: “जब तिनीहरूले परमेश्‍वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपलाई विश्‍वास गरे, तब पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए।” (प्रेरित २:४१; ८:१२) त्यसैले, कुनै व्यक्‍तिले खुसीसाथ परमेश्‍वरको वचन स्वीकारेको छ, यसले भनेको कुरा विश्‍वास गर्छ र परमेश्‍वरका स्तरहरू अनुरूप आफ्नो जीवन बिताउँछ भने, आफ्नो समर्पणको जनाउ दिन बप्तिस्मा लिनलाई तिनलाई कुन कुराले रोक्छ र? (प्रेरित ८:३४-३८) निस्सन्देह, परमेश्‍वरसामु स्वीकार्य हुन तिनले यो कदम इच्छुकतापूर्वक र आनन्दित हृदयकासाथ चाल्नुपर्छ।—२ कोरिन्थी ९:७.

परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्न आफूसित पर्याप्त ज्ञान छैन भनी कसै-कसैले महसुस गर्न सक्छन्‌। तर जीवनमा कुनै नयाँ कुरा सुरुवात गर्दा जोसुकैको पनि ज्ञान सीमित हुन्छ। सुरुमा काम गर्न थाल्दा पनि अहिलेको जति नै थाह थियो भनेर कुनचाहिं पेसामा लागेको मान्छेले दाबी गर्छ होला र? परमेश्‍वरको सेवा गर्ने निर्णय गर्न केवल आधारभूत बाइबल शिक्षा तथा सिद्धान्तहरूको ज्ञान अनि त्यसैअनुसार जिउने साँचो इच्छा हुनु आवश्‍यक छ।

कोही-कोही भने आफूले गरेको निर्णय अनुरूप गरिरहन सक्दिनँ कि भन्‍ने डरको कारण निर्णय गर्न ढिलासुस्ती गर्छन्‌ कि? थुप्रै मानव प्रतिबद्धतामा असफल हुने हो कि भन्‍ने उपयुक्‍त चिन्ता पनि समावेश हुन्छ। विवाह गरेर परिवार हुर्काउने निर्णय गर्ने कुनै एक जना मानिसले केही कुरा अपुग छ कि भन्‍ने महसुस गर्न सक्छन्‌ तर प्रतिबद्धताले तिनलाई यथाशक्य राम्रो गर्न प्रेरणा दिन्छ। त्यसै गरी, भर्खरै मात्र लाइसेन्स पाएका युवालाई दुर्घटना भइहाल्ने हो कि भन्‍ने डर लाग्न सक्छ—विशेष गरी उमेर पाकेकाहरूभन्दा युवा सवारी चालकहरू दुर्घटनामा पर्ने सम्भावना समानुपातिक हिसाबमा बढी हुन्छ भन्‍ने कुराबारे तिनी सजग छन्‌ भने यस्तो हुन सक्छ। तथापि, यो ज्ञान लाभदायक हुन सक्छ किनभने यसले तिनलाई सवारी साधन अझ होसियारीसाथ चलाउन उत्प्रेरित गर्छ। लाइसेन्स नै नलिनु पक्कै पनि यसको समाधान होइन!

जीवनको लागि निर्णय गर्नुहोस्‌!

वर्तमान राजनैतिक, आर्थिक तथा धार्मिक विश्‍वव्यापी प्रणाली र यसलाई समर्थन गर्नेहरू चाँडै पृथ्वीबाट हटाइनेछन्‌ भनेर बाइबलले देखाउँछ। यद्यपि, बुद्धिमानीपूर्वक जीवनको लागि निर्णय गरेका र त्यसैअनुसार चल्नेहरू रहिरहनेछन्‌। नयाँ विश्‍व समाजको केन्द्रको हैसियतमा, परमेश्‍वरले सुरुमा इच्छा गर्नुभएझैं पृथ्वीलाई प्रमोदवन बनाउने काममा तिनीहरूले भाग लिनेछन्‌। के तपाईं परमेश्‍वरको निर्देशनअन्तर्गत यस आनन्ददायी काममा भाग लिएर आनन्द उठाउनुहुनेछ?

त्यसो हो भने, परमेश्‍वरको वचन अध्ययन गर्ने निर्णय गर्नुहोस्‌। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनको लागि ईश्‍वरीय आवश्‍यकताहरू सिक्ने निर्णय गर्नुहोस्‌। ती आवश्‍यकताहरू पूरा गर्ने निर्णय गर्नुहोस्‌। सबैभन्दा मुख्य कुरा, तपाईंको निर्णयमा अडिग रहिरहने निर्णय गर्नुहोस्‌। छोटकरीमा भन्‍ने हो भने, जीवनको लागि निर्णय गर्नुहोस्‌!

[पृष्ठ ४-मा भएका चित्रहरू]

गम्भीर निर्णयहरूका लागि पर्याप्त समय लगाउनुहोस्‌

[पृष्ठ ५-मा भएको चित्र]

पेसा रोज्दा अरूको सल्लाह सुन्‍नुहोस्‌

[पृष्ठ ७-मा भएका चित्रहरू]

अहिले परमेश्‍वरको सेवा गर्न निर्णय गर्नेहरूले पृथ्वीलाई प्रमोदवन बनाउने काममा भाग लिनेछन्‌