सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उत्पत्तिको पुस्तकका विशेषताहरू—१

उत्पत्तिको पुस्तकका विशेषताहरू—१

यहोवाको वचन जीवित छ

उत्पत्तिको पुस्तकका विशेषताहरू—१

“उत्पत्ति शब्दको अर्थ “सुरुवात” वा “जन्म” हो। ब्रह्‍माण्ड कसरी अस्तित्वमा आयो, मानिसजाति बसोबास गर्नको लागि पृथ्वीलाई कसरी तयार पारियो र यसमा मानिसजाति कसरी बसोबास गर्न थाले भन्‍ने कुरा बताउने पुस्तकको लागि यो नाउँ एकदमै उपयुक्‍त छ। मोशाले यो पुस्तक सीनैको उजाडस्थानमा लेखेका थिए र सम्भवतः सा.यु.पू. १५१३ मा यसको लेखन कार्य सिद्धिएको हुनुपर्छ।

उत्पत्तिको पुस्तकले हामीलाई जलप्रलयअघिको संसारबारे, जलप्रलयपछिको युग सुरु भएपछि के भयो र अब्राहाम, इसहाक, याकूब र यूसुफसित यहोवाले कस्तो व्यवहार गर्नुभयो भन्‍ने विषयमा बताउँछ। यस लेखले उत्पत्ति १:१–११:९, त्यसमा पनि विशेष गरी कुलपिता अब्राहामसित यहोवाले व्यवहार गर्न थाल्नुभएको समयसम्मका विशेषताहरू प्रकाश पार्नेछ।

जलप्रलयअघिको संसार

(उत्पत्ति १:१–७:२४)

उत्पत्तिको सुरुका “आदिमा” भन्‍ने शब्दले अरबौं वर्षअघिलाई संकेत गर्छ। सृजनात्मक छ “दिन[का]” घटनाहरू वा विशेष सृजनात्मक कार्यहरूका समयावधिलाई पृथ्वीमा मानिसले साक्षात्‌ देखेर वर्णन गर्ने ढंगमा लेखिएका छन्‌। छैटौं दिनको अन्तमा, परमेश्‍वरले मानिस सृष्टि गर्नुभयो। मानिसको अनाज्ञाकारिताको कारण धेरै समय बित्न नपाउँदै प्रमोदवन गुमे तापनि यहोवाले आशा प्रदान गर्नुहुन्छ। बाइबलको सबैभन्दा पहिलो भविष्यवाणीमा एक जना “सन्तान[बारे]” बताइएको छ, जसले पापको कारण उत्पन्‍न असरहरूलाई हटाउनुका साथै शैतानको शिर कुच्याउनेछन्‌।

त्यसपछिका १६ शताब्दीको दौडान, हाबिल, हनोक र नूहजस्ता केही विश्‍वासी मानिसहरूबाहेक सम्पूर्ण मानिसहरूलाई परमेश्‍वरबाट तर्काउन शैतान सफल हुन्छ। उदाहरणका लागि, कयिनले आफ्ना धर्मी भाइ हाबिलको हत्या गर्छ। अपवित्र ढंगमा “परमप्रभुको नाउँको पुकारा गर्न शुरू” हुन्छ। त्यस समयको हिंसात्मक मनोभाव प्रकट गर्दै, आत्म-सुरक्षा गर्ने क्रममा आफूले जवान मानिसलाई मारेको विषयमा लेमेकले एउटा कविता रच्छन्‌। परमेश्‍वरका अनाज्ञाकारी स्वर्गीय पुत्रहरूले आफ्नो पत्नी बनाउन स्त्रीहरू ल्याएर नपिलहरू भन्‍ने हिंस्रक दैत्यहरूलाई जन्माएपछि अवस्था झनै खस्किन्छ। यद्यपि, विश्‍वासी नूहले जहाज बनाउँछन्‌, आउनै लागेको जलप्रलयबारे निडर भई अरूलाई चेतावनी दिन्छन्‌ र जलप्रलयको विध्वंशबाट तिनी आफ्नो परिवारसहित बच्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१६—चौथो दिनमा मात्र ज्योतिहरू बनाइएका थिए भने परमेश्‍वरले कसरी पहिलो दिनमा उज्यालो उत्पन्‍न गर्न सक्नुभयो? पद १६ मा “बनाउनु” भनेर अनुवाद गरिएको हिब्रू शब्द र उत्पत्ति अध्याय १, पद १, २१ र २७ मा चलाइएको “सृष्टि” शब्द एउटै होइन। ज्योतिहरू समेत भएको “आकाश,” “पहिलो दिन” सुरु हुनुभन्दा धेरै पहिले नै सृष्टि गरिएको थियो। तर ती ज्योतिहरूको प्रकाश पृथ्वीको सतहसम्म आइपुगेको थिएन। पहिलो दिन, “उज्यालो भइहाल्यो” किनभने फैलिएको ज्योतिले बादलका पत्रहरूलाई छेडेर पृथ्वीमा देखापऱ्‍यो। फलतः पृथ्वीले परिक्रमा गर्दा दिन र रात हुन थाल्यो। (उत्पत्ति १:१-३, ५) उक्‍त उज्यालोको स्रोत पृथ्वीबाट अझै पनि देख्न सकिंदैनथ्यो। तथापि, चौथौं सृजनात्मक दिनमा भने उल्लेखनीय परिवर्तन भयो। घाम, जून र ताराहरूले “पृथ्वीमा प्रकाश दिन” थाले। (उत्पत्ति १:१७) पृथ्वीबाट देख्न सकियोस्‌ भनेर “परमेश्‍वरले ती बनाउनुभयो।”

३:८—के परमेश्‍वरले आदमसित सीधै कुरा गर्नुभयो? परमेश्‍वरले मानिसहरूसित कुरा गर्नुहुँदा अक्सर स्वर्गदूतमार्फत गर्नुहुन्थ्यो भन्‍ने कुरा बाइबलले प्रकट गर्छ। (उत्पत्ति १६:७-११; १८:१-३, २२-२६; १९:१; न्यायकर्त्ता २:१-४; ६:११-१६२२; १३:१५-२२) परमेश्‍वरका प्रमुख प्रवक्‍ता उहाँको एक मात्र पुत्र, “वचन” हुनुहुन्थ्यो। (यूहन्‍ना १:१) सम्भवतः परमेश्‍वरले आदम र हव्वासित “वचन[मार्फत]” कुरा गर्नुभएको हुनुपर्छ।—उत्पत्ति १:२६-२८; २:१६; ३:८-१३.

३:१७—कुन तरिकामा भूमि श्रापित थियो र कतिन्जेलसम्मको लागि? भूमिलाई श्राप पर्नुको मतलब अबदेखि उसो त्यस भूमिमा खेतीपाती गर्न निकै कठिन हुने थियो। काँढा तथा सिउँडीहरू भएका श्रापित भूमिले आदमका सन्तानहरूलाई यत्तिबिघ्न असर गऱ्‍यो कि नूहका पिता, लेमेकले “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम[को]” पीडाबारे बताए। (उत्पत्ति ५:२९) जलप्रलयपछि, यहोवाले नूह तथा तिनका छोराहरूलाई आशिष्‌ दिंदै तिनीहरूले पृथ्वी भर्ने आफ्नो उद्देश्‍यबारे उल्लेख गर्नुभयो। (उत्पत्ति ९:१) त्यतिन्जेलसम्म, परमेश्‍वरले भूमिलाई दिनुभएको श्राप हटाइसकेको हुनुपर्छ।—उत्पत्ति १३:१०.

४:१५—कसरी यहोवाले कयिनमाथि “एउटा चिह्न लगाइदिनुभयो”? कयिनको जीउमा चिह्न वा छाप लगाइएको थियो भनेर बाइबलले बताउँदैन। त्यस चिन्हमा हाबिलको हत्याको बदला लिन कसैले कयिनलाई नमारोस्‌ भन्‍ने आफ्नो अभिप्रायलाई सबैले जानोस्‌ र पालन गरोस्‌ भनी यहोवाले दिनुभएको आज्ञा समावेश भएको हुनुपर्छ।

४:१७—कयिनले कहाँबाट पत्नी ल्याए? आदमका “छोरा-छोरीहरू जन्मे।” (उत्पत्ति ५:४) त्यसैकारण कयिनले आफ्नी बहिनी अथवा भान्जीलाई आफ्नी पत्नी बनाएको हुनुपर्छ। पछि, इस्राएलीहरूलाई दिइएको परमेश्‍वरको व्यवस्थाले साक्खे भाइ तथा बहिनीसितको विवाहलाई निषेध गऱ्‍यो।—लेवी १८:९.

५:२४—कुन तरिकामा परमेश्‍वरले ‘हनोकलाई उठाइलानुभयो’? हनोकमाथि घातक हमला हुन सक्ने सम्भावना थियो तर परमेश्‍वरले तिनलाई शत्रुहरूको हातबाट दुःख भोग्न दिनुभएन। “मृत्यु नचाखी हनोक स्वर्गमा उठाइलगिए” भनी प्रेरित पावलले लेखे। (हिब्रू ११:५, नयाँ संशोधित संस्करण) यसको अर्थ परमेश्‍वरले तिनलाई स्वर्गमा बाँच्नको लागि उठाई लैजानुभयो भन्‍न खोजिएको होइन। सबैभन्दा पहिला येशू स्वर्ग जानुभएको थियो। (यूहन्‍ना ३:१३; हिब्रू ६:१९, २०) हनोकलाई ‘मृत्यु नचाखी स्वर्गमा उठाइलगिनुको’ अर्थ, हुनसक्छ परमेश्‍वरले तिनलाई भविष्यसूचक दर्शनमा मग्न हुन लगाउनुभयो र त्यसपछि त्यही अवस्थामा परमेश्‍वरले तिनको जीवन अन्त गर्नुभयो। यस्तो अवस्थामा हनोकले शत्रुहरूको हातबाट दुःख भोग्नु वा “मृत्यु चाख्नु” परेन।

६:६—कुन अर्थमा मानिसलाई बनाउनुभएकोमा यहोवाले “अफसोस गर्नुभयो” भन्‍न सकिन्छ? यहाँ “अफसोस गर्नुभयो” भनेर अनुवाद गरिएको हिब्रू शब्दले झुकाव वा अभिप्रायको परिवर्तनलाई बुझाउँछ। यहोवा सिद्ध हुनुभएकोले मानिस सृष्टि गर्नुहुँदा उहाँले कुनै त्रुटि गर्नुभएन। तथापि, जलप्रलयअघिको दुष्ट पुस्ताको सन्दर्भमा भने उहाँले आफ्नो मानसिक झुकाव परिवर्तन गर्नुभयो। मानिसहरूको दुष्टताले गर्दा अप्रसन्‍न हुनुभएको कारण परमेश्‍वर मानिसहरूको सृष्टिकर्ताबाट तिनीहरूको विनाशकर्ता हुनुभयो। उहाँले कसै-कसैलाई बचाउनुभएको तथ्यले के देखाउँछ भने, दुष्ट व्यक्‍तिहरूको कारणले गर्दा मात्र उहाँले अफसोस गर्नुभएको थियो।—२ पत्रुस २:५, ९.

७:२—कुन कुराको आधारमा शुद्ध र अशुद्ध जनावरहरूबीच भिन्‍नता छुट्याइएको थियो? भिन्‍नता छुट्याउने आधार, खान हुने र नहुने कुरासित नभई उपासनामा बलिदानहरूको प्रयोगसित सम्बन्धित थियो। जलप्रलयअघि जनावरको मासु मानिसहरूको भोजनमा समावेश थिएन। खानको लागि “शुद्ध” र “अशुद्ध” भन्‍ने संज्ञा त मोशालाई दिइएको व्यवस्थामा मात्र उल्लिखित थियो र त्यो बन्देज व्यवस्थासँगसँगै खारेज भयो। (प्रेरित १०:९-१६; एफिसी २:१५) यहोवाको उपासनामा बलिदानको लागि कुन कुरा उपयुक्‍त छ, कुन छैन भन्‍ने कुरा नूहलाई राम्रोसँग थाह थियो। जहाजबाट बाहिर निस्कनासाथ तिनले “परमप्रभुका निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पक्षीमध्येबाट लिई होमबलि चढाए।”—उत्पत्ति ८:२०.

७:११—विश्‍वव्यापी जलप्रलय गराउनेसम्मको पानी कहाँबाट आयो? दोस्रो सृजनात्मक अवधि वा “दिन[मा]”, पृथ्वीको वायुमण्डलीय “अन्तर” बनिएको बेला “अन्तरमनि” र “अन्तरमाथि” पानी थियो। (उत्पत्ति १:६, ७) “अन्तरमनि” भएको पानी पहिल्यैदेखि पृथ्वीमा थियो। “अन्तरमाथि” भएको पानीचाहिं “ठूला-ठूला अगाध” बनेर पृथ्वीभन्दा माथि जमेर रहेका आद्रताको ठूलो परिमाण थियो। यो पानी नै नूहको दिनमा पृथ्वीमा परेको थियो।

हाम्रा लागि पाठहरू:

१:२६. परमेश्‍वरको स्वरूपमा बनाइएको हुनाले मानिसहरूसित ईश्‍वरीय गुणहरू झल्काउने क्षमता छ। निस्सन्देह, हामीलाई बनाउनुहुनेको प्रतिबिम्बित गर्ने प्रेम, दया, कृपा, भलाइ तथा धीरजजस्ता गुणहरू खेती गर्ने कोसिस गर्नुपर्छ।

२:२२-२४. विवाह परमेश्‍वरको प्रबन्ध हो। विवाह स्थायी र पवित्र बन्धन हो, जसमा पतिले परिवारको शिरको हैसियतमा सेवा गर्छन्‌।

३:१-५, १६-२३. आनन्द भन्‍ने कुरा आफ्नो व्यक्‍तिगत जीवनमा यहोवाको सार्वभौमिकतालाई मानिलिनुमा निर्भर छ।

३:१८, १९; ५:५; ६:७; ७:२३. यहोवाको वचन सधैं सत्य साबित हुन्छ।

४:३-७. हाबिलले चढाएको बलिदानसँग यहोवा प्रसन्‍न हुनुभयो किनभने तिनी एक जना विश्‍वासी धर्मी मानिस थिए। (हिब्रू ११:४) अर्कोतर्फ, कयिनले आफ्नो कामद्वारा विश्‍वासको कमी देखाए। तिनको काम दुष्ट अर्थात्‌ डाह, घृणा र हत्याजस्ता कुराले भरिएको थियो। (१ यूहन्‍ना ३:१२) साथै, तिनले आफ्नो भेटीलाई त्यति गम्भीरतापूर्वक नलिएको र यसलाई झारा टार्ने किसिमले मात्र चढाएको हुनुपर्छ। के हामीले यहोवालाई चढाउने प्रशंसाका बलिदानहरू उचित मनोभाव र सही आचरणसहित सारा हृदयले चढाएको हुनुपर्दैन र?

६:२२. जहाज बनाउन धेरै वर्ष लागे तापनि परमेश्‍वरले आज्ञा गर्नुभए अनुरूपै नूहले गरे। त्यसैकारण, नूह तथा तिनको परिवार जलप्रलय आउँदा बचे। यहोवा हामीसित आफ्नो वचनमार्फत कुरा गर्नुहुन्छ र आफ्नो संगठनमार्फत निर्देशन दिनुहुन्छ। सुन्दा र आज्ञापालन गर्दा हाम्रै फाइदा हुन्छ।

७:२१-२४. यहोवाले दुष्टसँगसँगै धर्मी जनलाई नाश गर्नुहुन्‍न।

मानिसजाति नयाँ युगमा प्रवेश गर्छन्‌

(उत्पत्ति ८:१–११:९)

जलप्रलयअघिको संसार नाश भएपछि मानिसजाति नयाँ युगमा प्रवेश गर्छन्‌। मानिसहरूलाई रगतबाट अलग रहने आज्ञासहित मासु खाने स्वीकृति दिइन्छ। यहोवाले हत्याको लागि मृत्युदण्डको प्रबन्ध तोक्नुका साथै अर्को जलप्रलय कहिल्यै नल्याउने प्रतिज्ञा गर्दै इन्द्रेणी करार स्थापित गर्नुहुन्छ। नूहका तीन जना छोराहरू सम्पूर्ण मानिसजातिका पुर्खाहरू हुन्छन्‌ तर तिनको पनाति निम्रोदचाहिं “परमप्रभुको दृष्टिमा शक्‍तिशाली शिकारी” बन्छ। पृथ्वीमा भरिन फैलिंदै-फैलिंदै जानुको सट्टा आफ्नो नाउँ राख्न मानिसहरूले बाबेल भन्‍ने एउटा सहर र धरहरा बनाउने निधो गर्छन्‌। यहोवाले तिनीहरूको भाषा खलबलाउनुका साथै तिनीहरूलाई पृथ्वीभरि छरपस्ट पारिदिनुहुँदा तिनीहरूको अभिप्राय विफल हुन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

८:११—जलप्रलयमा रूखहरू विनाश भएका थिए भने, ढुकुरले कहाँबाट भद्राक्षको पात ल्यायो त? दुइटा सम्भावनाहरू छन्‌। भद्राक्ष, हतपती विनाश नहुने जब्बर रूख भएकोले जलप्रलय भएको केही महिनाको दौडान पानीमुनि हुँदासमेत यो जिउँदै भएको हुनुपर्छ। जलप्रलयको पानी बिस्तारै घट्‌दै गएपछि पानीमुनि भएको भद्राक्षको रूख फेरि सुक्खा जमिनमा देखापरेको र त्यसबाट नयाँ पालुवाहरू पलाएको हुनुपर्छ। ढुकुरले नूहकहाँ ल्याएको भद्राक्षको पात पनि जलप्रलयको पानी घटेपछि पलाएको नयाँ पालुवामध्येबाटै ल्याएको हुन सक्छ।

९:२०-२५—नूहले किन कनानलाई श्राप दिए? सम्भवतः कनान आफ्नो हजुरबुबा नूह विरुद्ध कुनै प्रकारको दुर्व्यवहार वा भ्रष्ट व्यवहारको दोषी भएको हुनुपर्छ। कनानका पिता हामले यो देखे तापनि तिनले त्यो भ्रष्ट व्यवहार रोक्ने कोसिस गरेनन्‌ तर यसबारे कथा फैलाएजस्तो देखिन्छ। तथापि, नूहको दुई जना छोराहरू, शेम र येपेतले भने तिनीहरूको पितालाई लुगाले ढाकिदिए। यसकारण तिनीहरूले आशिष्‌ पाए तर कनानले श्राप पाए र आफ्नो सन्तानमाथि ल्याएको लाजको कारण हामले दुःख भोगे।

१०:२५—पेलेगको समयमा पृथ्वी कसरी “अलग अलग भागमा बाँटियो”? पेलेग सा.यु.पू. २२६९ देखि २०३० सम्म बाँचे। “तिनकै समयमा” यहोवाले बाबेलका निर्माताहरूको भाषा खलबलाइदिनुका साथै पृथ्वीभरि छरपस्ट पारिदिनुभएर ठूलो विभाजन उत्पन्‍न गर्नुभयो। (उत्पत्ति ११:९) यस प्रकार, पेलेगको समयमा “पृथ्वी [वा पृथ्वीको जनसंख्या] अलग अलग भागमा बाँटियो।”

हाम्रा लागि पाठहरू:

९:१; ११:९. कुनै पनि मानव योजना वा प्रयासले यहोवाको उद्देश्‍यलाई विफल पार्न सक्दैन।

१०:१-३२. जलप्रलयअघि र पछिको दुईवटा वंशावली रेकर्ड अर्थात्‌ अध्याय ५ र १० ले सम्पूर्ण मानवजातिको सम्बन्ध पहिलो मानिस आदमदेखि लिएर नूहका तीन जना छोराहरूसित भएको देखाउँछ। अश्‍शूरी, कल्दी, हिब्रू, अरामी र केही अरबी जातिहरू शेमका सन्तानहरू हुन्‌। इथियोपियाली, मिश्री, कनानी र केही अफ्रिकी तथा अरबी जातिहरूचाहिं हामका सन्तानहरू हुन्‌। भारतीय-युरोपेलीहरू येपेतका सन्तानहरू हुन्‌। सबै मानिसजातिको पुर्खा एउटै हो र परमेश्‍वरसामु सबै समान छन्‌। (प्रेरित १७:२६) यस सत्यले हामी अरूलाई कस्तो दृष्टिकोणले हेर्छौं र व्यवहार गर्छौं भन्‍ने कुरालाई असर गर्नै पर्छ।

परमेश्‍वरको वचनले प्रभाव पार्न सक्छ

प्रारम्भिक मानव इतिहासको सही विवरण उत्पत्तिको पुस्तकको पहिलो भागमा मात्र पाइन्छ। यी पानाहरूमा परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्नुको उद्देश्‍य थाह पाउन सक्छौं। निम्रोदजस्तो कुनै पनि मानव प्रयासले यस उद्देश्‍यलाई पूरा हुनदेखि रोक्न सक्दैन भन्‍ने कुरा थाह पाउनु कत्ति आश्‍वासनदायी छ!

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तयारीको लागि साप्ताहिक बाइबल पढाइ गर्नुहुँदा, “धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ” भागअन्तर्गत उल्लिखित कुराहरू विचार गर्नुभयो भने, त्यसले तपाईंलाई कठिन धर्मशास्त्रीय विवरणहरू बुझ्न मदत गर्नेछन्‌। “हाम्रा लागि पाठहरू” अन्तर्गत दिइएका टिप्पणीहरूले साप्ताहिक बाइबल पढाइबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ भन्‍ने कुरा देखाउनेछ। उपयुक्‍त भएमा, त्यसले सेवा सभामा भएको स्थानीय आवश्‍यकताको लागि विषयवस्तु पनि तयार पार्न सक्छ। यहोवाको वचन साँच्चै जीवित हुनुका साथै यसले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ।—हिब्रू ४:१२.