सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

लेवीको पुस्तकका विशेषताहरू

लेवीको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

लेवीको पुस्तकका विशेषताहरू

इस्राएलीहरू मिश्रीहरूको बन्धनबाट छुटेको एक वर्ष पनि भएको छैन। अब नयाँ राष्ट्रको रूपमा संगठित भएर तिनीहरू कनानको भूमितिर लाग्दै छन्‌। यहोवाको उद्देश्‍य, त्यहाँ एउटा पवित्र राष्ट्रले बसोबास गरोस्‌ भन्‍ने हो। तथापि, कनानीहरूको जीवन शैली तथा धार्मिक प्रचलनहरू असाध्यै पतित छन्‌। त्यसकारण साँचो परमेश्‍वरले इस्राएलको जम्मै समुदायलाई नियमहरू दिनुहुन्छ जसले तिनीहरूलाई उहाँको सेवाको निम्ति अलग्गै छुट्याउँछ। यी नियमहरू बाइबलको पुस्तक लेवीमा लिपिबद्ध छन्‌। यो, अगमवक्‍ता मोशाले सीनैको उजाडस्थानमा सा.यु.पू. १५१२ तिर लेखेका हुन्‌ र यसले एउटा चन्द्रमासको समयावधिलाई ढाक्छ। (प्रस्थान ४०:१७; गन्ती १:१-३) यहोवाले आफ्ना उपासकहरूलाई पवित्र हुन बारम्बार आग्रह गर्नुहुन्छ।—लेवी ११:४४; १९:२; २०:७, २६.

आज यहोवाका साक्षीहरू परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्यवस्थाको अधीनमा छैनन्‌। येशू ख्रीष्टको मृत्युले त्यो व्यवस्थालाई रद्द गऱ्‍यो। (रोमी ६:१४; एफिसी २:११-१६) तथापि, लेवीको पुस्तकमा पाइने नियमहरूले हामीलाई लाभ पुऱ्‍याउन सक्छ अनि हाम्रा परमेश्‍वर यहोवाको उपासनाबारे धेरै कुरा सिकाउन सक्छ।

पवित्र भेटीहरू —स्वैच्छिक र अनिवार्य

(लेवी १:१—७:३८)

व्यवस्थामा दिइएका कुनै-कुनै भेटी तथा बलिहरू स्वैच्छिक थिए भने अरू कतिपय अनिवार्य थिए। उदाहरणका लागि, होमबलि स्वैच्छिक थियो। यसको पूरै भाग परमेश्‍वरलाई चढाइन्थ्यो जसरी येशू ख्रीष्टले राजीखुसी अनि पूर्णतया आफ्नो जीवन छुडौतीको बलिदानको रूपमा अर्पण गर्नुभयो। स्वैच्छिक मेलबलि भने भाग लगाइन्थ्यो। एउटा भाग वेदीमा परमेश्‍वरलाई चढाइन्थ्यो, अर्को भाग पूजाहारीले खान्थे अनि अझै अर्को भागचाहिं बलि चढाउने व्यक्‍तिको हुन्थ्यो। त्यसरी नै, अभिषिक्‍त मसीहीहरूको लागि ख्रीष्टको मृत्युको स्मरणार्थ एउटा सहभोज हो।—१ कोरिन्थी १०:१६-२२.

पापबलि र दोषबलि अनिवार्य थियो। कुनै गल्तीले गर्दा वा अनजानमा गरिएका पापहरूको प्रायश्‍चित्तको लागि पापबलि चढाइन्थ्यो। परमेश्‍वरको कुनै अधिकार हनन हुँदा त्यसलाई सुधार्न वा गल्ती गर्ने पश्‍चात्तापीको कुनै अधिकार पुनर्स्थापित गर्न वा दुवैको लागि दोषबलि चढाइन्थ्यो। यहोवाले प्रशस्त गरी दिनुभएको प्रबन्धको लागि अन्‍नबलि पनि थियो। यी सबै कुराहरू हाम्रो लागि चासोका विषय हुन्‌ किनभने व्यवस्थाको करारमा आज्ञा गरिएका सबै बलिदानहरूले येशू ख्रीष्ट र उहाँको बलिदान वा त्यसबाट प्राप्त हुने लाभहरूलाई औंल्याउँथ्यो।—हिब्रू ८:३-६; ९:९-१४; १०:५-१०.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:११, १२—महलाई ‘बलिको रूपमा जलाउनु’ यहोवाको लागि किन अस्वीकार्य थियो? यहाँ भनिएको मह, मौरीले बनाउने मह हुन सक्दैन। यो ‘बलिको रूपमा जलाउनु’ अस्वीकार्य भए तापनि “जमीनका . . . उब्जनीका पहिलो असल असल भाग[मध्ये]” थियो। (२ इतिहास ३१:५) यो मह सम्भवतः फलको बाक्लो झोल वा रस थियो। महमा खमिर उठ्‌न सक्ने भएकोले वेदीमा बलिको रूपमा चढाउन अस्वीकार्य थियो।

२:१३—नुन किन “सबै बलिमा” चढाउनुपर्थ्यो? यो बलिहरूको स्वाद बढाउन चढाइँदैनथ्यो। खाना बिग्रन नदिन संसारभरि नुनको प्रयोग गरिन्छ। यसलाई बलिमा चढाइनुको कारण सम्भवतः यसले बिग्रन वा कुहुन नदिने तत्त्वको प्रतिनिधित्व गर्ने हुँदा हो।

हाम्रा लागि पाठहरू:

३:१७. बोसो, सबैभन्दा उत्तम वा राम्रो भाग ठानिने हुँदा यो खान निषेध गर्नुले इस्राएलीहरूलाई सबैभन्दा राम्रो भाग यहोवालाई चढाउनुपर्छ भन्‍ने प्रस्ट पार्थ्यो। (उत्पत्ति ४५:१८) हामीले पनि यहोवालाई सर्वोत्तम कुरा दिनुपर्छ भनेर यसले सम्झाउँछ।—हितोपदेश ३:९, १०; कलस्सी ३:२३, २४.

७:२६, २७. इस्राएलीहरूले रगत खानु हुँदैनथ्यो। परमेश्‍वरको दृष्टिकोणमा रगतले जीवनको प्रतिनिधित्व गर्छ। लेवी १७:११ यसो भन्छ, “जीवनधारीको प्राण [जीवन] त्यसको रगतमा हुन्छ।” आज पनि साँचो उपासकहरू रगतबाट अलग रहनुपर्छ।—प्रेरित १५:२८, २९.

पवित्र पूजाहारीगिरी स्थापना गरिन्छ

(लेवी ८:१—१०:२०)

बलिदानहरू र भेटीसम्बन्धी कामको हेरचाह गर्ने जिम्मेवारी कसलाई दिइएको थियो? त्यो पूजाहारीहरूलाई दिइएको थियो। परमेश्‍वरले निर्देशन दिनुभएझैं मोशाले प्रधान पूजाहारी, हारून र उपपूजाहारीको रूपमा सेवा गर्ने तिनका चार जना छोरालाई पूजाहारीगिरीको ओहदामा राख्ने समारोहको आयोजना गरे। यो समारोह सात दिनसम्म चल्यो अनि त्यसको भोलिपल्टदेखि नै पूजाहारीगिरी कार्यान्वयन हुन थाल्यो।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

९:९—वेदीको आधारमा रगत खन्याउनु अनि त्यसलाई वेदीका सीङहरूमा लगाउनुको अर्थ के हो? यहोवाले प्रायश्‍चित्तसम्बन्धी कार्यको लागि रगत स्वीकार्नुहुन्थ्यो भनी यसले देखायो। प्रायश्‍चित्तको सम्पूर्ण प्रबन्ध रगतमा आधारित थियो। प्रेरित पावलले यस्तो लेखे: “वास्तवमा व्यवस्थाअनुसार ता रगतले झण्डै सबै थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापमोचन हुँदै हुँदैन।”—हिब्रू ९:२२.

१०:१, २—हारूनका छोराहरू नादाब र अबीहूको पापमा कुन कुरा समावेश भएको हुन सक्छ? नादाब र अबीहूले पूजाहारीको कार्य अनुचित ढङ्‌गमा गर्न थालेको लगत्तै यहोवाले पूजाहारीहरूलाई भेट हुने पालमा सेवा गर्दा दाखमद्य वा कडा मद्य पिउन निषेध गर्नुभयो। (लेवी १०:९) यसले के देखाउँछ भने, यहाँ वर्णन गरिएको घटनामा हारूनका दुई छोराहरूले मद्य सेवन गरेको हुन सक्छ। तथापि, तिनीहरूको मृत्युको खास कारण तिनीहरूले “[यहोवाले] आज्ञा नगर्नुभएको अनौठो आगो हालेर” चढाउनु थियो।

हाम्रा लागि पाठहरू:

१०:१, २. यहोवाका जिम्मेवार सेवकहरू अहिले ईश्‍वरीय आवश्‍यकताहरू अनुरूप चल्नै पर्छ। यसबाहेक, आफ्ना जिम्मेवारीहरू पूरा गर्दा तिनीहरूले आफ्नो सीमा नाघ्नु हुँदैन।

१०:९. मद्य सेवन गरेको अवस्थामा हामीले ईश्‍वर-प्रदत्त जिम्मेवारीहरू सँभाल्नु हुँदैन।

पवित्र उपासनाले स्वच्छता माग गर्छ

(लेवी ११:१—१५:३३)

शुद्ध र अशुद्ध जनावरहरूको भोजनसम्बन्धी नियमहरूले इस्राएलीहरूलाई दुई तरिकामा लाभ पुऱ्‍यायो। यी नियमहरूले तिनीहरूलाई हानिकारक जीवाणुहरूबाट सङ्‌क्रमित हुनदेखि जोगायो र तिनीहरू तथा वरपरका राष्ट्रहरूबीचको भिन्‍नतालाई अझ सशक्‍त बनायो। अन्य नियमहरू सिनुबाट हुने अशुद्धता, सुत्केरीको शुद्धीकरण, कोरीसम्बन्धी प्रक्रिया अनि पुरुष र स्त्रीको मैथुनसम्बन्धी अशुद्धी इत्यादि विषयमा थियो। मानिसहरूसितको संगतले गर्दा भएको अशुद्धीसम्बन्धी कुराहरू पूजाहारीहरूले हेर्नुपर्थ्यो।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१२:२, —बच्चा जन्माएकी स्त्री किन “अशुद्ध” हुन्थी? प्रजनन अङ्‌गहरू सिद्ध मानव जीवन सार्नका लागि बनाइएका थिए। तथापि, पापको जन्मजात असरले गर्दा असिद्ध अनि पापी जीवन मानिसहरूका सन्तानमा सऱ्‍यो। बच्चा जन्माएपछि अनि रजस्वला र वीर्य पतनजस्ता अवस्थामा केही समयको लागि हुने ‘अशुद्ध’ अवस्थाले यस जन्मजात असिद्धताको सम्झना दिलाउँथ्यो। (लेवी १५:१६-२४; भजन ५१:५; रोमी ५:१२) शुद्धीकरणसम्बन्धी नियमहरूले इस्राएलीहरूलाई मानिसजातिको पापी अवस्थाको लागि र मानव सिद्धता पुनर्स्थापित गर्न छुडौतीको बलिदानको आवश्‍यकता बुझ्न मदत गर्ने थियो। यसरी व्यवस्था तिनीहरूलाई “ख्रीष्टमा ल्याउनालाई . . . जिम्मावाल” भयो।—गलाती ३:२४.

१५:१६-१८—यी पदहरूमा उल्लिखित “वीर्य पतन” के हो? यसले सम्भवतः रात्रि वीर्य पतनका साथै वैवाहिक यौनसम्बन्धलाई बुझाउँछ।

हाम्रा लागि पाठहरू:

११:४५. यहोवा परमेश्‍वर पवित्र हुनुहुन्छ र उहाँलाई पवित्र उपासना चढाउनेहरू पनि पवित्र भएको चाहनुहुन्छ। तिनीहरू पवित्रताको पछि लाग्नै पर्छ अनि शारीरिक तथा आध्यात्मिक तवरमा स्वच्छ रहनै पर्छ।—२ कोरिन्थी ७:१; १ पत्रुस १:१५, १६.

१२:८. यहोवाले बलिदानको लागि गरिबहरूलाई महँगो थुमाको साटो चरा चढाउने प्रबन्ध मिलाउनुभयो। उहाँ गरिबहरूप्रति दयालु हुनुहुन्छ।

पवित्रता कायम राख्नै पर्छ

(लेवी १६:१—२७:३४)

पापको लागि सबैभन्दा महत्त्वपूर्ण बलिदानहरू वार्षिक प्रायश्‍चित्तको दिनमा चढाइन्थ्यो। पूजाहारीहरू तथा लेवी कुलको लागि एउटा साँढे चढाइन्थ्यो। इस्राएलका गैरपूजाहारी कुलहरूका लागि बोका चढाइन्थ्यो। अर्को बोकाचाहिं मानिसहरूको पाप त्यसमाथि थोपरिसकेपछि जिउँदै उजाडस्थानमा पठाइन्थ्यो। यी दुवै बोकाहरूलाई एउटा पापबलिको रूपमा मानिन्थ्यो। यी सबैले येशू ख्रीष्टको बलिदान चढाइनेछ अनि उहाँले पापहरू बोकेर लैजानुहुनेछ भनेर देखाउँथ्यो।

मासु खाने तथा अन्य विषयसम्बन्धी नियमहरूले हामीलाई यहोवाको उपासना गर्दा पवित्र हुनुपर्ने कुरालाई जोड दिन्छ। त्यसैले पूजाहारीहरूले आफूलाई पवित्र राख्नु उचित थियो। तीनवटा वार्षिक चाड ठूलो रमाहट र सृष्टिकर्तालाई धन्यवाद चढाउने अवसरहरू थिए। यहोवाले आफ्ना जनहरूलाई उहाँको पवित्र नाउँको दुरुपयोग, विश्राम-दिन तथा विशेष-उत्सव मनाउने, गरिबहरूप्रति व्यवहार र दासहरूप्रतिको व्यवहारसम्बन्धी विषयहरूमा पनि नियम दिनुभएको थियो। परमेश्‍वरप्रति आज्ञाकारी हुँदा प्राप्त हुने आशिष्‌हरू, अनाज्ञाकारी हुँदा अनुभव गर्ने सरापहरूभन्दा ठीक विपरीत छन्‌। भाकल र त्यसको मोल, पशुहरूले ब्याएको पहिलो बच्चा, “यहोवाको निम्ति पवित्र” मानेर सबैको दशांश चढाउने भेटीसम्बन्धी नियमहरू पनि छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१६:२९—इस्राएलीहरूले कुन तरिकामा ‘आफूलाई दीन तुल्याउनुपर्थ्यो’? प्रायश्‍चित्तको दिनमा गरिने यो विधि पापहरूको लागि क्षमा माग्ने कुरासित सम्बन्धित थियो। त्यतिबेला उपवास बस्नु भनेको आफ्नो पापी अवस्थालाई स्वीकार्नु थियो। त्यसैले सम्भवतः ‘आफूलाई दीन तुल्याउनुको’ अर्थ उपवास बस्नु थियो।

१९:२७—आफ्नो कपाल “छेउदेखि काट्‌दै लगेर गोलाकार नबनाउनू” वा दाह्रीको “कुना-कुना नछाँट्‌नू” भन्‍ने आज्ञाको अर्थ के हो? यो व्यवस्था सम्भवतः यहूदीहरूलाई वरपरका मूर्तिपूजक प्रचलनहरूको नक्कल गर्ने ढङ्‌गमा दाह्री वा कपाल छाँट्‌न नदिन दिइएको थियो। (यर्मिया ९:२५, २६; २५:२३; ४९:३२) तथापि, परमेश्‍वरको आज्ञाको मतलब यहूदीहरूले आफ्नो दाह्री वा अनुहारको रौं छाँट्‌नै हुँदैन भन्‍ने थिएन।—२ शमूएल १९:२४.

२५:३५-३७—के इस्राएलीहरूले ब्याज लिनु सधैं गलत थियो? व्यापारिक कार्यको लागि पैसा सापटी दिंदा, सापटी दिने व्यक्‍तिले ब्याज लिन सक्थ्यो। तथापि, दरिद्रता कम गर्न ऋण दिंदा व्यवस्थाले ब्याज लिन निषेध गरेको थियो। गरिब छिमेकीको नाजुक आर्थिक अवस्थाबाट नाफा कमाउन खोज्नु गलत थियो।—प्रस्थान २२:२५.

२६:१९—‘आकाश तातो फलामजस्तै र जमीन रूखो पीतलझैं’ कसरी हुन सक्छ? पानी नपरेको हुँदा कनानको भूमिमाथिको आकास कडा र पानी नछिर्ने फलामजस्तो देखिने थियो। पानी नहुँदा पृथ्वी पीतल रङको अनि धातुजस्तै चहकिलो हुने थियो।

२६:२६—‘एउटै घरको चुह्लामा दश घरका आमाहरूले पकाउनुपर्नेछ’ भन्‍नुको अर्थ के हो? साधारणतया हरेक आइमाईलाई रोटी पकाउन छुट्टै चुह्ला चाहिने थियो। तर यी शब्दहरूले खानाको त्यस्तो अभावलाई सङ्‌केत गऱ्‍यो जसले गर्दा दस जना आइमाईलाई खाना पकाउन एउटै चुह्ला पर्याप्त हुन्थ्यो। मानिसहरूले आफ्नो पवित्रता कायम गर्न नसक्दा हुने यस्तो परिणाम पहिल्यै अगमवाणी गरिएको थियो।

हाम्रा लागि पाठहरू:

२०:९. घृणा गर्ने र दुष्ट मनोभाव यहोवाको नजरमा हत्या जत्तिकै खराब थियो। त्यसैकारण आफ्ना आमाबाबुलाई सराप्नेलाई परमेश्‍वरले तिनीहरूको हत्या गरे सरहकै सजाय तोक्नुभयो। के यसले हामीलाई सँगी विश्‍वासीहरूलाई प्रेम देखाउन उत्प्रेरित गर्नुपर्दैन र?—१ यूहन्‍ना ३:१४, १५.

२२:३२; २४:१०-१६, २३. यहोवाको नाउँको आलोचना गर्नु हुँदैन। त्यसो गर्नुको साटो हामीले उहाँको नाउँको प्रशंसा गर्नुपर्छ अनि उहाँको नाउँ पवित्र पार्न प्रार्थना गर्नुपर्छ।—भजन ७:१७; मत्ती ६:९.

लेवीको पुस्तकले हाम्रो उपासनालाई कस्तो असर पार्छ

आज यहोवाका साक्षीहरू त्यो व्यवस्थाको अधीनमा छैनन्‌। (गलाती ३:२३-२५) तथापि, लेवीको पुस्तकमा बताइएका कुराहरूले हामीलाई विभिन्‍न विषयमा यहोवाको दृष्टिकोण बुझ्न अन्तरदृष्टि दिने हुँदा हाम्रो उपासनालाई असर गर्न सक्छ।

तपाईंले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको लागि तयारी गर्दै साप्ताहिक बाइबल पढाइ गर्नुहुँदा परमेश्‍वरले आफ्ना जनहरूबाट पवित्रता माग गर्नुहुन्छ भन्‍ने तथ्यले तपाईंलाई पक्कै छाप पार्नेछ। यो बाइबल पुस्तकले आफ्नो सर्वोत्तम कुरा सर्वोच्च परमेश्‍वरलाई चढाउन अनि उहाँको प्रशंसा हुने गरी सधैं पवित्रता कायम राख्न पनि उत्प्रेरित गर्न सक्छ।

[पृष्ठ २१-मा भएको चित्र]

व्यवस्थाको अधीनमा चढाइएका बलिदानहरूले येशू ख्रीष्ट र उहाँको बलिदानलाई औंल्यायो

[पृष्ठ २२-मा भएको चित्र]

अखमीरे रोटीको चाड ठूलो रमाहटको अवसर थियो

[पृष्ठ २३-मा भएको चित्र]

झुप्रो-बासको चाडजस्ता वार्षिक चाडहरू यहोवालाई धन्यवाद चढाउने अवसरहरू थिए