सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनाब्याप्टिस्टहरू को थिए?

आनाब्याप्टिस्टहरू को थिए?

आनाब्याप्टिस्टहरू को थिए?

जर्मनीको वेस्टफालियाको मुन्स्टर सहरमा पहिलो चोटि आउने पर्यटकहरू प्रायः सहरको मध्य भागमा रहेको चर्चको टुप्पोमा झुन्ड्याइएका तीनवटा फलामको खोर देखेर टोलाउँछन्‌। ती खोरहरू छोटो समयको लागि हटाइएको भए तापनि ती त्यसरी झुन्ड्याइएको झन्डै ५०० वर्ष भइसक्यो। ती खोरमा पहिला तीन जना मानिसको लास राखिएको थियो जसलाई सार्वजनिक रूपमा सास्ती दिएर मारिएको थियो। ती मानिसहरू आनाब्याप्टिस्टहरू थिए र खोरहरू चाहिं तिनीहरूको राज्यका प्रतीकहरू हुन्‌।

आनाब्याप्टिस्टहरू को थिए? यो अभियानको सुरुवात कसरी भयो? यसका मुख्य शिक्षाहरू के थिए? ती मानिसहरू किन मारिए? अनि ती तीनवटा खोरको एउटा राज्यसित कस्तो सम्बन्ध छ?

चर्चको सुधार—तर कसरी?

पन्ध्रौं शताब्दीको अन्त र सोऱ्‍हौं शताब्दीको सुरुतिर रोमन क्याथोलिक चर्च र पादरीहरू विरुद्धको आलोचना बढ्‌दै गयो। चर्चमा भ्रष्टाचार र अनैतिकता व्याप्त थियो, त्यसैले थुप्रैको विचारमा आमूल परिवर्तनहरू गर्नुपर्ने थियो। सन्‌ १५१७ मा मार्टिन लुथरले सुधारको लागि सार्वजनिक रूपमा आह्वान गरे र यसमा अरू मानिसहरूले पनि समर्थन जनाएपछि प्रोटेस्टेन्ट सुधारवाद सुरु भइहाल्यो।

तर सुधारवादीहरूको के गर्ने वा कतिसम्म परिवर्तन गर्ने भन्‍ने जस्ता कुराहरूमा एकरूपता थिएन। उपासनाको सन्दर्भमा बाइबलअनुसार गर्नुपर्ने कुरालाई थुप्रैले स्वीकारे। यद्यपि, सुधारवादीहरू बाइबल शिक्षाको सामान्य बुझाइमा समेत सहमत हुन सकेनन्‌।

कसै-कसैको विचारमा सुधारवादी अभियान अत्यन्तै ढिला भइरहेको थियो। अनि यी सुधारवादीहरूमध्येबाट नै आनाब्याप्टिस्ट अभियान सुरु भयो।

“साँच्चै भन्‍ने हो भने, ब्याप्टिस्ट अभियान एउटा मात्र थिएन, थुप्रै थियो” भनी लेखक हान्स यर्गन गोयर्टस आफ्नो पुस्तक डि टाउफर—गेशिक्ट उन्ड डोइटुङ्‌ग-मा (जर्मन) लेख्छन्‌। उदाहरणका लागि, १५२१ मा ज्विकाऊका अगमवक्‍ताहरू भनी चिनिने चार जना मानिसले विटेनबर्गमा आनाब्याप्टिस्टका शिक्षाहरू सिकाएर तहल्का मच्चाए। अनि १५२५ मा स्वीजरल्याण्डको ज्युरिकमा आनाब्याप्टिस्टको छुट्टै समूह स्थापना गरियो। आनाब्याप्टिस्ट समूह हाल चेक गणतन्त्र भनिने मोराभिया र नेदरल्याण्ड्‌समा पनि सुरु भयो।

बप्तिस्मा—केटाकेटीका लागि वा वयस्कहरूका लागि?

आनाब्याप्टिस्टको समुदाय प्रायजसो सानो हुन्थ्यो र सदस्यहरूले अक्सर शान्तिपूर्ण व्यवहार गर्थे। यसका पक्षधरहरूले आफ्नो विश्‍वास लुकाउदैन थिए। वास्तवमा तिनीहरूले यसबारे अरूलाई प्रचार गर्थे। आनाब्याप्टिस्टका आधारभूत शिक्षाहरू १५२७ मा स्लाइथिम कनफेसन वा धर्मसिद्धान्तमा स्पष्टसँग परिभाषित गरिएको थियो। अन्य कुराहरूमध्ये तिनीहरूले हतियार उठाउन इन्कार गर्थे, संसारबाट अलग रहन्थे र गल्ती गर्नेहरूलाई समूहबाट निकालिदिन्थे। तर आनाब्याप्टिस्टलाई अन्य धर्महरूबाट सुस्पष्ट चिनाउने तिनीहरूको विश्‍वासको विशेष पक्ष भनेको बप्तिस्मा वयस्कहरूको लागि हो, केटाकेटीको लागि होइन भन्‍ने विश्‍वास थियो। a

वयस्कहरूको बप्तिस्मा एउटा धार्मिक नियमको मात्र कुरा थिएन, यो शक्‍तिको कुरा थियो। बप्तिस्मा लिन वयस्क होउन्जेलसम्म ढिलाइ गरेमा मानिसहरूले विश्‍वासमा आधारित निर्णय गर्न सक्छन्‌ र कोही-कोहीले बप्तिस्मा नै नलिने निर्णय गर्न सक्छन्‌। अनि बप्तिस्मा नलिएको व्यक्‍ति केही हदसम्म चर्चको नियन्त्रणको दायराभित्र हुँदैन। कुनै-कुनै चर्चहरूका लागि वयस्कहरूको बप्तिस्माको अर्थ चर्चको शक्‍ति गुमाउनु थियो।

तसर्थ, क्याथोलिक तथा लुथरनहरू दुवैले वयस्कहरूको बप्तिस्मालाई निरुत्साहित पार्न चाहन्थे। सन्‌ १५२९ पछि कुनै-कुनै इलाकामा त वयस्कहरूलाई बप्तिस्मा दिने व्यक्‍ति वा वयस्क भएपछि बप्तिस्मा लिनेहरूले प्राणदण्ड पनि पाउन सक्थे। पत्रकार थोमस साइफर्टका अनुसार आनाब्याप्टिस्टहरूलाई “जर्मनीको पवित्र रोमी साम्राज्यभरि क्रूर सतावट दिइयो।” मुन्स्टरमा सतावट झनै चर्कियो।

मध्यकालीन मुन्स्टरले परिवर्तन खोज्छ

मध्यकालीन मुन्स्टरमा लगभग १०,००० बासिन्दाहरू थिए र यो सहरमा झन्डै ९० मिटर चौडा र पाँच किलोमिटर परिधि भएको मजबुत सुरक्षा व्यवस्था थियो। तथापि, सहरभित्रको अवस्था यसको सुरक्षा व्यवस्था जत्तिको स्थिर थिएन। मुन्स्टरको सिटी म्युजियमद्वारा प्रकाशित द किङ्‌डम अफ द आनाब्याप्टिस्ट-मा “सहरको विधानमण्डल तथा व्यापारी संघहरूबीच आन्तरिक राजनैतिक मतभेदबारे” उल्लेख गरिएको छ। यसबाहेक, सहरका बासिन्दाहरू पादरीहरूको बानीबेहोरा देखेर क्रोधित भएका थिए। मुन्स्टरले सुधारवादी अभियान अँगाल्यो र १५३३ मा क्याथोलिकबाट यो लुथरन सहर बन्‍न पुग्यो।

मुन्स्टरमा एक जना प्रमुख सुधारवादी प्रचारक बर्नहार्ड रथमान थिए जो तुरुन्तै जोसमा आउने खालका व्यक्‍ति थिए। लेखक फ्रेड्रिक ओएनिङका अनुसार रथमानका “विचारहरू आनाब्याप्टिस्टहरूकै जस्तो थियो अनि तिनी तथा अन्य सहकर्मीहरूले बच्चाहरूको बप्तिस्मा गर्न इन्कार गरे।” मुन्स्टरमा तिनका विचारहरू लोकप्रिय भए तर तिनका उग्र विचारहरू कसै-कसैको निम्ति अस्वीकार्य थियो। “पुरानै धार्मिक चलन रुचाउने थुप्रै व्यक्‍तिहरू शङ्‌का र केही अनिष्ट हुन लागेको छ भन्‍ने डरले बिस्तारै सहर छोड्‌न थाले। आनाब्याप्टिस्टहरू चाहिं आफ्नो आदर्श पूरा हुने आशामा चारैतिरबाट मुन्स्टरमा ओइरिए।” मुन्स्टरमा यसरी आनाब्याप्टिस्टहरू एकीकृत हुँदा एउटा भयावह घटना भयो।

नयाँ यरूशलेम घेराबन्दीमा

मुन्स्टरमा आएका दुई जना डच आप्रवासी—पाउरोटी र केक बनाउने हार्लेमका यान माटिस र लेडनका जोन भनेर चिनिने यान बोइकेल्सनले त्यहाँ हुने घटनाहरूमा निर्णायक भूमिका खेल्ने थिए। माटिसले आफू एक जना अगमवक्‍ता भएको दाबी गरे र ख्रीष्टको दोस्रो आगमन हुने समय अप्रिल १५३४ हो भनी घोषणा गरे। अनि मुन्स्टर सहरलाई बाइबलमा उल्लेख गरिएको नयाँ यरूशलेम भनी घोषणा गरियो र संसारको अन्त हुन्छ भन्‍नेजस्तो वातावरण सृजना भयो। रथमानले सबै सम्पत्तिहरू साझा हुनुपर्छ भन्‍ने निर्णय गरे। वयस्क नागरिकहरूले एउटा निर्णय गर्नुपर्ने थियो: बप्तिस्मा लिने वा सहर छोड्‌ने। आम बप्तिस्मा लिनेहरूमध्ये आफ्नो घरबार र सम्पत्ति छोड्‌नुपर्ला भन्‍ने डरले मात्र निमज्जन गर्नेहरू पनि थिए।

आनाब्याप्टिस्टहरू एउटा बलियो धार्मिक र राजनैतिक शक्‍तिको रूपमा देखापर्न थालेको पहिलो सहर मुन्स्टर हुन थालेपछि अरू समुदायहरू अलमल्लमा पर्न थाले। डि टाउफल जु मुन्स्टर (जर्मन) भन्‍ने पुस्तकअनुसार यसले गर्दा “मुन्स्टरले जर्मनीको सम्पूर्ण रोमी साम्राज्यको द्वेष खप्नुपऱ्‍यो।” प्रिन्स-विशप काउन्ट फ्रान्ज भन वालडेक नाउँ गरेका एक स्थानीय प्रभावशाली व्यक्‍तिले मुन्स्टरमा आक्रमण गर्न सेना जम्मा गरे। त्यो सैन्यदलमा लुथरन र क्याथोलिकहरू दुवै थिए। सुधारवादको कुरामा सहमत हुन नसकेका र चाँडै तीस वर्षे युद्धमा आपसमा लड्‌ने यी दुई विश्‍वासका मानिसहरू आनाब्याप्टिस्टहरू विरुद्ध एकजुट भए।

आनाब्याप्टिस्ट राज्यको विनाश

सहरलाई घेरा लगाउने सेनाको बल देखेर सहरका सुरक्षित पर्खालभित्रकाहरू तर्सिएनन्‌। अप्रिलमा १५३४ मा जब ख्रीष्टको दोस्रो आगमन हुन्छ भनिएको थियो त्यतिबेला माटिस ईश्‍वरीय सुरक्षा पाउने आशा गर्दै सेतो घोडामा सवार भएर सहर बाहिर गए। सहरको पर्खालबाट चियाएर हेरिरहेका माटिस समर्थकहरू कति भयभीत भए होलान्‌ जब मुन्स्टरमा घेरा लगाइरहेका सेनाले माटिसलाई टुक्रा-टुक्रा पारेर तिनको टाउको चाहिं खाँबोमा झुन्ड्याए।

लेडनका जोन, माटिसका उत्तराधिकारी भए र मुन्स्टरमा आनाब्याप्टिस्टहरूको राजा यान भनी घोषणा गरियो। त्यस सहरमा स्त्रीहरू धेरै भएकोले पुरुष र स्त्रीहरूको संख्यामा सन्तुलन ल्याउने प्रयासमा तिनले पुरुषहरूलाई आफूले चाहे जति श्रीमतीहरू घरमा भित्र्याउन प्रोत्साहन दिए। आनाब्याप्टिस्ट राज्यमा कस्तो थियो भने, त्यहाँ व्यभिचार र करनी प्राणदण्ड योग्य अपराध ठानिन्थ्यो तर बहुविवाह चाहिं स्वीकार्य थियो। राजा यानकै १६ वटी श्रीमती थिए। ती श्रीमतीहरूमध्ये एउटी एलिजाबेथ वान्डस्केररले सहर छोड्‌ने अनुमति माग्दा सर्वसाधारणको अगाडि उनको टाउको काटियो।

घेराबन्दी १४ महिनासम्म चल्यो र अन्ततः जून १५३५ मा त्यस सहरको हार भयो। मुन्स्टरले भोगेको विनाश दोस्रो विश्‍वयुद्धको अघिसम्म अन्य कुनै सहरले भोगेको थिएन। रथमान भागे तर राजा यान र अन्य दुई प्रमुख आनाब्याप्टिस्टहरूलाई पक्रियो, सास्ती दिइयो अनि मारियो। तिनीहरूको शरीर खोरमा हालियो र सेन्ट ल्यामबर्ट चर्चको टुप्पामा त्यो झुन्ड्याइयो। त्यो “समस्या खडा गर्ने सबै सम्भाव्य व्यक्‍तिहरूका लागि चेतावनी हुने थियो” भनी साइफर्ट बताउँछन्‌। हो, राजनीतिमा मुछिंदा भयावह नतिजाहरू भए।

अन्य आनाब्याप्टिस्ट समुदायहरूलाई के भयो? युरोपभरि केही वर्षसम्म सतावट चलिरह्‍यो। अधिकांश आनाब्याप्टिस्टहरूले आफ्नो शान्तिवादी सिद्धान्तलाई त्यागेनन्‌ तर यससित सहमत नभई युद्धमा भाग लिने सानो समूह पनि थियो। समयको अन्तरालमा पहिलेका पादरी मेन्‍नो साइमन्सले आनाब्याप्टिस्टहरूको अगुवाइ गरे र यो समूह अन्ततः मेन्‍नोनाइट्‌स वा अन्य नाउँहरूले चिनिन थाल्यो।

तीनवटा खोर

आनाब्याप्टिस्टहरू साधारणतया धार्मिक झुकाव भएका व्यक्‍तिहरू थिए जसले बाइबल सिद्धान्तहरू पालन गर्ने प्रयास गर्थे। तर मुन्स्टरका उग्रवादीहरूले आनाब्याप्टिस्टका विचारहरू त्यागेर राजनीतिमा भाग लिन लगाए। अनि एकचोटि बाइबल सिद्धान्तहरू त्यागेपछि यस अभियानले क्रान्तिकारी शक्‍तिको रूप लियो। यसको अर्थ आनाब्याप्टिस्टहरूको अभियान र मध्यकालीन मुन्स्टर सहरको अन्त थियो।

सहरको मध्य भागमा घुम्न जाने पर्यटकहरूलाई अहिले पनि झन्डै ५०० वर्षअघि भएका यी भयावह घटनाहरूको सम्झना गराइन्छ। कसरी? चर्चको टुप्पोमा झुन्ड्याइएका ती तीनवटा खोरले।

[पादटिप्पणई]

a यस लेखले केटाकेटीको बप्तिस्मालाई समर्थन गर्ने वा खण्डन गर्ने तर्कहरू केलाएको छैन। यस विषयमा थप छलफलको लागि द वाचटावर, मार्च १५, १९८६ मा “के बच्चाहरूको बप्तिस्मा गर्नुपर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ १३-मा भएका चित्रहरू]

राजा यानलाई पक्रियो, मारियो अनि सेन्ट ल्यामबर्ट चर्चको टुप्पोमा झुन्ड्याइयो