सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर साँच्चै तपाईंको चासो राख्नुहुन्छ

परमेश्‍वर साँच्चै तपाईंको चासो राख्नुहुन्छ

परमेश्‍वर साँच्चै तपाईंको चासो राख्नुहुन्छ

आपत्‌कालीन अवस्थामा मदतको लागि परमेश्‍वरलाई गुहार्नु स्वाभाविकै हो। आखिर उहाँ “महान्‌ र पराक्रमी हुनुहुन्छ, उहाँको ज्ञान अपार छ।” (भजन १४७:५) हामीले झेलिरहेका समस्याहरू सामना गर्न मदत दिन सबैभन्दा सक्षम उहाँ नै हुनुहुन्छ। त्यसबाहेक, बाइबलले हामीलाई उहाँ समक्ष ‘आफ्नो हृदयको दुःख पोख्न’ आमन्त्रित गर्छ। (भजन ६२:८) यदि कुरा त्यसो हो भने, थुप्रै मानिसहरूलाई परमेश्‍वरले प्रार्थनाको जवाफै दिनुहुन्‍न जस्तो लाग्नुको कारण के हो त? के यसको मतलब उहाँलाई हाम्रो चासो नै छैन भन्‍न खोजिएको हो?

खै परमेश्‍वरले त केही गर्नै हुन्‍न जस्तो देखिन्छ भनेर परमेश्‍वरलाई दोष दिइहाल्नुको सट्टा आफू सानो छँदाको समयलाई सम्झनुहोस्‌। आफूले मागेको सबै कुरा आमाबुबाले नपुऱ्‍याइदिंदैमा के उहाँहरूले तपाईंलाई माया नै गर्नुहुन्‍न भनेर तपाईंले आरोप लगाउनुभयो र? थुप्रै केटाकेटीहरूले त्यस्तो आरोप लगाउने गर्छन्‌। तर ठूलो भएपछि तपाईंले माया भनेको विभिन्‍न तरिकामा देखाइन्छ र बच्चाले जे माग्यो त्यै पुऱ्‍याइदिनु वास्तवमा मायालु कुरा होइन रहेछ भनेर बुझ्नुभयो।

त्यस्तै गरी, यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ सधैं हामीले आशा गरेजस्तो ढङ्‌गमा नदिंदैमा उहाँले हामीलाई बेवास्ता गर्नुभएको होइन। सत्य कुरा त के हो भने, परमेश्‍वरले थुप्रै तरिकाहरूमा हामी सबैप्रति आफ्नो चासो देखाउनुहुन्छ।

“हामी उहाँमै जिउँछौं”

सर्वप्रथम, परमेश्‍वरले गर्दा नै “हामी . . . जिउँछौं, र चलहल गर्दछौं, र . . . हाम्रो अस्तित्व रहेको छ।” (प्रेरित १७:२८) हामीलाई जीवन दिनुमा हामीप्रति उहाँको मायालु चासो झल्किन्छ!

यसबाहेक, जीवित रहनको लागि यहोवाले हामीलाई आवश्‍यक कुराहरू जुटाइदिनुहुन्छ। हामी यस्तो पढ्‌छौं: “गाई-वस्तुहरूका निम्ति उहाँले घाँस, र त्यसले पृथ्वीबाट खाने पदार्थहरू उब्जाऊन्‌ भनेर मानिसको कामको निम्ति सागपातहरू उमार्नुहुन्छ।” (भजन १०४:१४) निस्सन्देह, हाम्रो सृष्टिकर्ताले जीवनका आधारभूत आवश्‍यकताहरू बाहेक अरू कुराको पनि प्रबन्ध मिलाउनुहुन्छ। उहाँले कुनै कन्जुस्याइँ नगरी “स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी [हाम्रो] हृदयमा खुराक र आनन्दले” भरिदिनुहुन्छ।—प्रेरित १४:१७.

यद्यपि, ‘परमेश्‍वरले हामीलाई यति धेरै माया गर्नुहुन्छ भने, उहाँले किन हामीलाई दुःखकष्ट भोग्न दिइरहनुभएको त?’ भनेर कसै-कसैले प्रश्‍न गर्न सक्छन्‌। के तपाईंलाई त्यस प्रश्‍नको जवाफ थाह छ?

के परमेश्‍वर दोषी हुनुहुन्छ?

मानिसजातिले भोगिरहेको धेरैजसो दुःखकष्ट आफ्नै कारणले गर्दा भएका हुन्‌। उदाहरणका लागि, अत्यन्तै जोखिमपूर्ण केही क्रियाकलापका खतराहरू सबैलाई थाह भएकै कुरा हो। तरैपनि, मानिसहरू यौन अनैतिकतामा संलग्न हुन्छन्‌, रक्सी तथा अन्य लागूपदार्थको दुर्व्यसनी हुन्छन्‌, सुर्ती खान्छन्‌, खतरनाक खेलहरूमा भाग लिन्छन्‌, तेज गतिमा गाडी हाँक्छन्‌, इत्यादि। यस्तो जोखिमपूर्ण आचरणको कारण दुःखकष्ट आइपर्दा कसलाई दोष दिने? परमेश्‍वरलाई अथवा निर्बुद्धिसाथ चल्ने व्यक्‍तिलाई? परमेश्‍वरको प्रेरित वचन यसो भन्छ: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

यसबाहेक, मानिसहरूले अक्सर एक-अर्कालाई चोट पुऱ्‍याउँछन्‌। जब कुनै एउटा देशले युद्धको बिगुल फुक्छ, तब यसले निम्त्याउने दुःखकष्टको लागि परमेश्‍वरलाई दोष दिन कदापि मिल्दैन। एक जना अपराधीले सँगी नागरिकलाई आक्रमण गर्दा पुग्ने कुनै पनि किसिमको चोटपटक वा मृत्युको लागि के परमेश्‍वरलाई दोष दिन मिल्छ र? पक्कै मिल्दैन! एक जना तानाशाहले थिचोमिचो गर्दा, यातना दिंदा र आफ्नो अधीनमा भएकाहरूको हत्या गर्दा के हामीले परमेश्‍वरलाई दोष दिनु उचित हुनेछ? त्यसो गर्नु त व्यावहारिक हुनेछैन।—उपदेशक ८:९.

तथापि, अत्यन्तै गरिबीको मारमा परेका अथवा खान नपाएर भोकभोकै बस्नुपरेका लाखौं मानिसहरूको विषयमा के भन्‍न सकिन्छ? के परमेश्‍वर यसको दोषी हुनुहुन्छ? अहँ, हुनुहुन्‍न। पृथ्वीले सबै जनालाई प्रशस्त मात्रामा पुग्ने गरी खाद्यान्‍न उत्पादन गर्छ। (भजन १०:२, ३; १४५:१६) परमेश्‍वरले दिनुभएको प्रशस्त कुरालाई समान रूपमा वितरण नगरिंदा नै भोकमरी र विपन्‍नता व्याप्त हुन्छ। अनि मानव स्वार्थले गर्दा यो समस्या समाधान हुन सक्दैन।

मूलभूत कारण

तथापि, वृद्धावस्थाको कारण कोही बिरामी पर्दा वा कसैको मृत्यु हुँदा कसलाई दोष दिने? यस कुराको लागि समेत परमेश्‍वर दोषी हुनुहुन्‍न भनेर थाह पाउँदा के तपाईं छक्क पर्नुहुनेछ? परमेश्‍वरले मानिस बूढाबूढी हुन र मर्न सृष्टि गर्नुभएको थिएन।

प्रथम मानव जोडी, आदम र हव्वालाई अदनको बगैंचामा राख्नुहुँदा यहोवाले उनीहरूलाई पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने प्रत्याशा पनि दिनुभएको थियो। तथापि, आफूले पाएको सम्पदाको मूल्याङ्‌कन गर्ने मानिसहरूले पृथ्वी भरिएको उहाँ चाहनुहुन्थ्यो भन्‍ने कुरा प्रस्ट थियो। तसर्थ, उनीहरूले पाउने भावी जीवनको प्रत्याशा एउटा सर्तमा आधारित थियो। आफ्नो मायालु सृष्टिकर्ताप्रति आज्ञाकारी भएको खण्डमा मात्रै आदम र हव्वा प्रमोदवनमा बस्न पाउने थिए।—उत्पत्ति २:१७; ३:२, ३, १७-२३.

दुःखको कुरा, आदम र हव्वाले विद्रोह गरे। हव्वाले शैतान अर्थात्‌ दियाबलको कुरा सुन्‍ने निधो गरिन्‌। शैतानले हव्वासँग झूट बोल्यो र मुख्यतः परमेश्‍वरले तिनलाई केही असल कुरादेखि वञ्चित गराइरहनुभएको छ भन्यो। त्यसैकारण तिनले स्वतन्त्र मार्ग खोज्न थालिन्‌ र “असल र खराबको ज्ञान पाएर . . . परमश्‍वरजस्तै हुने” प्रयास गरिन्‌। तिनले गरेको विद्रोहमा आदमले पनि साथ दिए।—उत्पत्ति ३:५, ६.

यसरी पाप गरेर आदम र हव्वाले आफूलाई सधैंभरि बाँच्न अयोग्य साबित गरे। तिनीहरूले पापका विध्वंसकारी नतिजाहरू भोगे। तिनीहरूको बल र जीवनशक्‍ति क्षीण भएर गयो र अन्ततः तिनीहरू मरे। (उत्पत्ति ५:५) तथापि, तिनीहरूको विद्रोहले गर्दा त्योभन्दा अझ गम्भीर परिणामहरू भए। हामीले अझै पनि आदम र हव्वाले गरेको पापका असरहरू भोगिरहेका छौं। प्रेरित पावलले यस्तो लेखे: “एउटै मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) हो, आदम र हव्वाले विद्रोह गरेको कारण समस्त मानवजातिमा पाप र मृत्यु एउटा घातक रोगजस्तै गरी फैलियो।

परमेश्‍वर हाम्रो चासो राख्नुहुन्छ भन्‍ने कुराको सबैभन्दा बलियो प्रमाण

के त्यसको मतलब परमेश्‍वरको मानव सृष्टि सदा-सर्वदाको लागि खत्तम भयो भन्‍न खोजिएको हो? होइन, यहाँ हामी परमेश्‍वर हाम्रो चिन्ता गर्नुहुन्छ भन्‍ने कुराको सबैभन्दा बलियो प्रमाण पाउँछौं। ठूलो मूल्य चुकाएर परमेश्‍वरले मानिसजातिलाई पाप र मृत्युबाट मुक्‍त गर्ने प्रबन्ध मिलाउनुभयो। हाम्रो खातिर स्वेच्छापूर्वक दिइएको छुटकाराको मोल येशूको सिद्ध जीवन थियो। (रोमी ३:२४) यसैकारण त प्रेरित यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) प्रेमको यस उल्लेखनीय कार्यको परिणामस्वरूप हामीले फेरि पनि सधैंभरि बाँच्ने प्रत्याशा पाएका छौं। पावलले रोमीहरूलाई यस्तो लेखे: “एउटै कामद्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनालाई अनुग्रहको वरदान आयो।”—रोमी ५:१८.

परमेश्‍वरको आफ्नै तोकिएको समयमा पृथ्वीमा दुःखकष्ट वा मृत्यु केही पनि हुनेछैन भन्‍ने कुरामा हामी निश्‍चित हुन सक्छौं। बरु, प्रकाशको पुस्तकमा पूर्वचित्रण गरिएका अवस्थाहरू व्याप्त हुनेछन्‌: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:३, ४) तपाईं भन्‍नुहोला, ‘त्यो समय आउन्जेल म त मरिसक्छु होला।’ हो, तपाईंको मृत्यु हुन सक्छ अनि तपाईं मर्नुभए तापनि परमेश्‍वरले तपाईंलाई मृत अवस्थाबाट ब्यूँताउन सक्नुहुन्छ। (यूहन्‍ना ५:२८, २९) हाम्रो लागि परमेश्‍वरको यस्तो उद्देश्‍य छ र यस्तै हुनेछ। यसकारण परमेश्‍वरले मानिसजातिको चासो नै राख्नुहुन्‍न भन्‍नु त सरासर झूट हो!

“परमेश्‍वरको नजीक आओ”

मानव दुःखकष्टको दीर्घकालीन तथा स्थायी समाधानका लागि परमेश्‍वरले कदम चालिसक्नुभएको छ भन्‍ने कुरा थाह पाउनु सान्त्वनादायी छ। तथापि, वर्तमान समयबारे के भन्‍न सकिन्छ? मृत्युको कारण प्रियजन गुमाउनुपऱ्‍यो वा बच्चा बिरामी पऱ्‍यो भने हामी के गर्न सक्छौं? रोगबिमार तथा मृत्यु हटाउने परमेश्‍वरको समय अझ आइसकेको छैन। ती कुरा समाधान हुनको लागि हामीले केही बेर पर्खनुपर्नेछ भनेर बाइबलमा सङ्‌केत गरिएको छ। तर परमेश्‍वरले हामीलाई त्याग्नुभएको छैन। चेला याकूबले यसो भने: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) हो, उहाँसित व्यक्‍तिगत रूपमा घनिष्ठ सम्बन्ध राख्न हाम्रो सृष्टिकर्ता हामीलाई आमन्त्रित गर्नुहुन्छ र यस्तो सम्बन्ध राख्ने व्यक्‍तिहरूले अत्यन्तै विषम परिस्थितिहरूमा समेत सधैं उहाँको सहयोग महसुस गर्छन्‌।

हामी कसरी परमेश्‍वरको नजिक हुन सक्छौं? लगभग तीन हजार वर्षअघि राजा दाऊदले यस्तै प्रश्‍न गरेका थिए: “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ?” (भजन १५:१) दाऊदले आफ्नो प्रश्‍नको जवाफ दिंदै यसो भने, “त्यो, जो सोझो मनले हिंड़्‌छ, र धर्म-कर्म गर्छ, र हृदयले सत्य बोल्छ। जसले आफ्नो जिब्रोले निन्दा गर्दैन, औ आफ्ना छिमेकीहरूको बेइज्जत गर्दैन।” (भजन १५:२, ३) अर्को शब्दमा भन्‍ने हो भने, आदम र हव्वाले तिरस्कार गरेको मार्ग पछ्याउने जतिलाई यहोवा स्वागत गर्नुहुन्छ। उहाँको इच्छा गर्नेहरूको नजिक उहाँ आउनुहुन्छ।—व्यवस्था ६:२४, २५; १ यूहन्‍ना ५:३.

हामी कसरी परमेश्‍वरको इच्छा गर्न सक्छौं? हामीले “हाम्रा मुक्‍तिदाता परमेश्‍वरको दृष्टिमा . . . असल र ग्रहणयोग्य” कुरा सिक्नुका साथै त्यसै अनुरूप गर्ने छनौट गर्नुपर्छ। (१ तिमोथी २:३) त्यसो गर्नुमा परमेश्‍वरको वचन बाइबलको सही ज्ञान लिनु समावेश छ। (यूहन्‍ना १७:३; २ तिमोथी ३:१६, १७) सरसरती बाइबल पढेर मात्र पुग्दैन। हामीले, पावलले प्रचार गरेको सुन्‍ने बिरियाका प्रथम शताब्दीका यहूदीहरूको अनुकरण गर्नुपर्छ। उनीहरूको विषयमा हामी यस्तो लेखिएको पाउँछौं: “यिनीहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।”—प्रेरित १७:११.

त्यस्तै गरी आज बाइबलको विस्तृत अध्ययनले परमेश्‍वरमाथिको हाम्रो विश्‍वासलाई दरिलो बनाउनुका साथै उहाँसित घनिष्ठ सम्बन्ध विकास गर्न हामीलाई मदत गर्छ। (हिब्रू ११:६) अस्थायी लाभहरूका लागि मात्र होइन तर विशेष गरी नियुक्‍त भएका सम्पूर्ण व्यक्‍तिहरूको चिरकालीन भलाइको लागि मानिसजातिसित यहोवाले कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा राम्रोसँग बुझ्न पनि यसले हामीलाई मदत गर्छ।

परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँसेका केही मसीहीहरूले व्यक्‍त गरेका अभिव्यक्‍तिहरूलाई विचार गर्नुहोस्‌। सोह्र वर्षीया डानिली यसो भन्छिन्‌, “म यहोवालाई अत्यन्तै माया गर्छु र उहाँलाई धन्यवाद दिने मसित थुप्रै कारणहरू छन्‌। उहाँले मलाई मायालु आमाबुबा दिनुभयो र उहाँहरू यहोवालाई निष्कपट प्रेम गर्नुहुन्छ अनि उहाँहरूले मलाई यहोवाको वचनअनुसार सिकाउनुभएको छ।” उरुग्वेका एक जना मसीही यस्तो लेख्छन्‌: “मेरो मन कृतज्ञताले ओतप्रोत हुन्छ र यहोवाले देखाउनुभएको अनुग्रह अनि मित्रताको लागि म उहाँलाई धन्यवाद दिन उत्प्रेरित हुन्छु।” यहोवाले साना केटाकेटीहरूलाई समेत स्वागत गर्नुहुन्छ। सात वर्षीया गब्रिएला यसो भन्छिन्‌: “यो विशाल संसारभरिमा म सबैभन्दा बढी यहोवालाई माया गर्छु! मेरो आफ्नै बाइबल छ। मलाई परमेश्‍वर र उहाँको पुत्रको विषयमा सिक्न मन पर्छ।”

आज, विश्‍वभरिका लाखौं मानिसहरू भजनहारका निम्न शब्दहरूसित पूर्णतः सहमत छन्‌: “परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ।” (भजन ७३:२८) आज आफूले भोग्नुपरिरहेका समस्याहरूको सामना गर्न तिनीहरूले मदत पाइरहेका छन्‌ र तिनीहरूसित पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने पक्का आशा छ। (१ तिमोथी ४:८) तपाईंले पनि “परमेश्‍वरको नजीक” हुने लक्ष्य राख्नुभए कसो होला? निस्सन्देह, हामीलाई यस्तो आश्‍वासन दिइएको छ: “उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।” (प्रेरित १७:२७) हो, परमेश्‍वर साँच्चै तपाईंको चिन्ता गर्नुहुन्छ!

[पृष्ठ ५-मा भएका चित्रहरू]

हामीप्रतिको यहोवाको चिन्ता थुप्रै तरिकाहरूमा देख्न सकिन्छ

[पृष्ठ ७-मा भएको चित्र]

साना केटाकेटीहरू समेत परमेश्‍वरको नजिक हुन सक्छन्‌

[पृष्ठ ७-मा भएका चित्रहरू]

आज, यहोवाले हामीलाई धीरजी हुन मदत गर्नुहुन्छ। समयमा उहाँले रोगबिमार तथा मृत्यु हटाउनुहुनेछ