सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले गर्नुभएका चमत्कारहरू तथ्य वा मिथ्या?

येशूले गर्नुभएका चमत्कारहरू तथ्य वा मिथ्या?

येशूले गर्नुभएका चमत्कारहरू तथ्य वा मिथ्या?

“तिनीहरूले उहाँकहाँ [येशू ख्रीष्टकहाँ] भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनैले भूतहरूलाई धपाउनुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।” (मत्ती ८:१६) “उहाँ [येशू] बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रलाई भन्‍नुभयो, ‘चूप लाग्‌, शान्त हो।’ अनि बतास थामियो र ठूलो सन्‍नाटा भयो।” (मर्कूस ४:३९) तपाईंलाई यी विवरणहरू कस्तो लाग्छ? के तपाईं यी विवरणहरू वास्तविक, ऐतिहासिक तथ्य हुन्‌ भनेर पत्याउनुहुन्छ वा यी लाक्षणिक कथाहरू, केवल मिथ्या हुन्‌ जस्तो लाग्छ?

आज थुप्रै मानिसहरू येशूले गर्नुभएका चमत्कारहरूको ऐतिहासिक तथ्यमाथि गम्भीर शङ्‌का गर्छन्‌। टेलिस्कोप र माइक्रोस्कोप, अन्तरिक्ष अन्वेषण तथा आनुवंशिक इन्जिनियरिङको यस युगमा चमत्कारपूर्ण कार्य तथा अलौकिक घटनाहरूका रिपोर्टहरू स्वीकार्न मानिसहरू अलि हिचकिचाउँछन्‌।

कसै-कसैलाई चमत्कारका विवरणहरू काल्पनिक अथवा लाक्षणिकजस्तो लाग्छ। “वास्तविक” येशूको खोजतलास गरेको दाबी गर्ने पुस्तकका लेखकअनुसार ख्रीष्टले गर्नुभएका चमत्कारहरूको कथा केवल मसीही धर्म फैलाउने “विज्ञापनहरू” हुन्‌।

अरू कतिपय मानिसहरूचाहिं येशूले गर्नुभएका चमत्कारहरू सरासर जालसाजी हुन्‌ भन्छन्‌। कहिलेकाहीं ठगी गरेको आरोप स्वयम्‌ येशूमाथि थोपर्ने गरिन्छ। सा.यु. दोस्रो शताब्दीका जस्टिन मार्टियरका अनुसार येशूका आलोचकहरू “उहाँलाई जादुगर तथा मानिसहरूलाई छक्याउने ठग भन्‍न समेत पछि परेनन्‌।” येशूले “यहूदी अगमवक्‍ताको हैसियतमा होइन तर गैरमसीही मन्दिरहरूमा प्रशिक्षित जादुगरको हैसियतमा चमत्कारहरू गरेका थिए” भनेर कोही-कोही आरोप लगाउने गर्छन्‌।

असम्भाव्यताको परिभाषा

यस्ता शङ्‌काहरूले गर्दा तपाईंलाई मानिसहरूले चमत्कारहरूमा विश्‍वास गर्न हिचकिचाउनुको केही न केही आधारभूत कारण हुनुपर्छ जस्तो लाग्न सक्छ। अलौकिक शक्‍तिले यस्ता चमत्कारहरू गर्न सक्छन्‌ भन्‍ने धारणा मानिलिन तिनीहरूलाई गाह्रो मात्र होइन, असम्भवसमेत लाग्छ। “चमत्कारहरू हुन सक्दैन—यो सत्य कुरा हो” भन्दै आफूलाई अज्ञेयवाद ठान्‍ने एक जना जवान मानिसले बताए। त्यसपछि तिनले १८ औं शताब्दीका स्कटल्याण्डका दार्शनिक डेभिड ह्‍युमका शब्दहरू उद्धृत गरे, जसले यस्तो लेखेका थिए: “चमत्कार भनेको प्राकृतिक नियमको विपरीत हो।”

तथापि, कुनै कुरालाई ठोकुवाका साथ असम्भव भन्‍ने सन्दर्भमा थुप्रै मानिसहरू सतर्क हुन्छन्‌। दी वर्ल्ड बूक इन्साइक्लोपीडिया-ले चमत्कारलाई “एउटा त्यस्तो घटना हो जसको व्याख्या प्रकृतिका ज्ञात नियमहरूबमोजिम गर्न सकिंदैन” भनी बताउँछ। त्यस परिभाषाअनुसार, एक शताब्दीअघि अधिकांश मानिसहरूलाई अन्तरिक्ष यात्रा, ताररहित दूर-सञ्चार र भूउपग्रह मार्ग निर्देशन “चमत्कार” जत्तिकै लागेको थियो होला। त्यसैकारण अहिलेसम्म हामीले जे-जति बुझेका छौं, त्यसको आधारमा चमत्कारलाई व्याख्या गर्न नसक्दैमा चमत्कारहरू हुँदै-हुँदैनन्‌ भनेर ढिपी कस्नु पक्कै बुद्धिमानी कुरा होइन।

येशूले गर्नुभएका चमत्कारहरूसित सम्बन्धित केही धर्मशास्त्रीय प्रमाण केलाएर हेऱ्‍यौं भने, हामीले के थाह पाउनेछौं? येशूले गर्नुभएका चमत्कारहरू तथ्य हुन्‌ वा मिथ्या?