सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?

येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?

येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?

येशूको पार्थिव जीवनसित सम्बन्धित बाइबल विवरणहरूमा “चमत्कार” शब्दको अर्थ बुझाउने मूल युनानी भाषा एक चोटि पनि प्रयोग नगरिएको थाह पाउँदा तपाईंलाई अचम्म लाग्ला। कहिलेकाहीं “चमत्कार” भनेर अनुवाद गरिने युनानी शब्दको (डाइनामिस) शाब्दिक अर्थ “शक्‍ति” हुन्छ। (लूका ८:४६) यसलाई “खूबी” अथवा “शक्‍तिशाली कामहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ। (मत्ती ११:२०; २५:१५) एक जना शास्त्रविद्‌का अनुसार यस युनानी पदावलीले “सम्पन्‍न भएको शक्‍तिशाली कार्य र अझ विशेष गरी, शक्‍तिशाली कार्य सम्पन्‍न गर्ने शक्‍तिलाई जोड दिन्छ। यस्तो घटनालाई परमेश्‍वरको शक्‍ति क्रियाशील छ भन्‍ने कुराको अभिव्यक्‍तिको रूपमा वर्णन गरिएको छ।”

अर्को युनानी पदावलीलाई (तेरास) चाहिं साधारणतया “अचम्मका काम” भनेर अनुवाद गर्ने गरिन्छ। (यूहन्‍ना ४:४८) यस अभिव्यक्‍तिले चमत्कार देख्ने व्यक्‍तिहरूमा पार्ने असरलाई प्रकाश पार्छ। येशूले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेर भीडलगायत चेलाहरू धेरै पटक छक्क पर्नुका साथै आश्‍चर्यचकित भए।—मर्कूस २:१२; ४:४१; ६:५१; लूका ९:४३.

येशूले गर्नुभएका चमत्कारहरूलाई सङ्‌केत गर्ने तेस्रो युनानी पदावलीले (सिमियोन) “चिह्न[लाई]” बुझाउँछ। यसले “चमत्कारको गहिरो अर्थमाथि ध्यान केन्द्रित गर्छ” भनी रबर्ट डेफिनबाऊ बताउँछन्‌। तिनी अझ यसो भन्छन्‌: “चिह्न एउटा चमत्कार हो जसले हाम्रा प्रभु येशूको विषयमा सत्य कुरा बताउँछ।”

भ्रम वा ईश्‍वरप्रदत्त शक्‍ति?

येशूले गर्नुभएका चमत्कारहरू मानिसहरूलाई मनोरञ्जन गराउन तयार पारिएको जालझेल वा भ्रम थियो भनी बाइबलले बताउँदैन। येशूले एउटा ठिटोबाट भूतात्मा निकाल्नुहुँदा जस्तै ती चमत्कारहरू “परमेश्‍वरको महानता” अर्थात्‌ परमेश्‍वरको महान्‌ शक्‍तिका प्रदर्शन थिए। (लूका ९:३७-४३, NRV) “सामर्थ्यमा बलियो” भनी वर्णन गरिएका सर्वशक्‍तिमान्‌ परमेश्‍वरको लागि के यस्ता शक्‍तिशाली कार्यहरू गर्न असम्भव होला र? (यशैया ४०:२६) पटक्कै हुनेछैन!

सुसमाचारका विवरणहरूमा येशूले गर्नुभएका लगभग ३५ वटा चमत्कारबारे वर्णन गरिएको छ। तर उहाँले जम्मा कतिवटा चमत्कार गर्नुभयो भन्‍ने कुराचाहिं प्रकट गरिएको छैन। उदाहरणका लागि, मत्ती १४:१४ मा यसो भनिएको छ: “[येशूले] एउटा ठूलो भीडलाई देखी उहाँले तिनीहरूलाई टिठाउनुभयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।” त्यतिखेर उहाँले कति जना बिरामीहरूलाई निको पार्नुभयो भन्‍ने कुरा हामीलाई बताइएको छैन।

यस्ता शक्‍तिशाली कार्यहरू आफू परमेश्‍वरको पुत्र, प्रतिज्ञाकृत मसीह हुँ भन्‍ने येशूको दाबीका अत्यावश्‍यक पक्ष थिए। ईश्‍वरप्रदत्त शक्‍तिले गर्दा नै येशूले चमत्कारहरू गर्न सक्नुभएको थियो भन्‍ने कुरा धर्मशास्त्रले साँच्चै पुष्टि गऱ्‍यो। येशूलाई “शक्‍तिका काम र आश्‍चर्यकामहरू र चिह्नहरूबाट . . . परमेश्‍वरले नियुक्‍त गर्नुभएको हो। र तपाईंहरूलाई पनि थाहै छ, कि तपाईंहरूकै बीचमा यी कामहरू परमेश्‍वरले उहाँद्वारा गर्नुभएको हो” भनी प्रेरित पत्रुसले सङ्‌केत गरे। (प्रेरित २:२२) अर्को अवसरमा चाहिं पत्रुसले “परमेश्‍वरले . . . येशूलाई पवित्र आत्मा र शक्‍तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र शैतानबाट पेलिएका सबैलाई निको पार्दै हिंड़नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्थ्यो” भनी औंल्याए।—प्रेरित १०:३७, ३८.

येशूले गर्नुभएका चमत्कारहरू उहाँको सन्देशका अभिन्‍न भाग थिए। मर्कूस १:२१-२७ ले येशूको शिक्षा र उहाँले गर्नुभएको एउटा चमत्कारप्रति भीडले देखाएको प्रतिक्रिया प्रकट गर्छ। भीड “उहाँका शिक्षामा छक्क परे” भनी मर्कूस १:२२ मा बताइएको छ भने, पद २७ मा चाहिं येशूले भूतात्मा निकाल्दा मानिसहरू “अचम्ममा परे” भनी औंल्याइएको छ। येशूले गर्नुभएका शक्‍तिशाली कार्यहरू अनि उहाँको सन्देशले उहाँ नै प्रतिज्ञाकृत मसीह हुनुहुन्थ्यो भन्‍ने कुराको प्रमाण दियो।

येशूले आफू मसीह हुँ भन्‍ने कुरा मात्र दाबी गर्नुभएन। आफ्नो वचन तथा अन्य कामहरूका साथसाथै उहाँले गर्नुभएका चमत्कारहरूमा प्रदर्शित शक्‍तिले उहाँ साँच्चै मसीह हुनुहुन्छ भन्‍ने कुराको ठोस प्रमाण प्रस्तुत गऱ्‍यो। आफ्नो भूमिका तथा अख्तियारको सन्दर्भमा प्रश्‍न उठ्‌दा येशूले साहसी भई यस्तो जवाफ दिनुभयो: “मसित [बप्तिसमा दिने] यूहन्‍नाको भन्दा ठूलो गवाही छ, किनकि जुन कामहरू मैले पूरा गर्नालाई पिताले मलाई दिनुभएको छ, ती काम जे म गर्दछु, ती आफैले मेरो विषयमा, पिताले मलाई पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन्‌।”—यूहन्‍ना ५:३६.

सत्यताका प्रमाणहरू

येशूले गर्नुभएका चमत्कारहरू वास्तविक, सत्य थियो भन्‍ने कुरामा हामी किन पक्का हुन सक्छौं? सत्यताका केही प्रमाणहरू विचार गर्नुहोस्‌।

शक्‍तिशाली कार्यहरू गर्नुहुँदा येशूले कहिल्यै आफूतिर ध्यान खिच्नुभएन। कुनै पनि चमत्कारको परिणामको श्रेय परमेश्‍वरलाई नै जाओस्‌ र उहाँकै महिमा होस्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। उदाहरणका लागि, अन्धो मानिसलाई निको पार्नुअघि येशूले “परमेश्‍वरका कामहरू यसमा प्रकट होऊन्‌” भन्‍ने हेतुले निको पार्ने काम हुनेगर्छ भनेर जोड दिनुभयो।—यूहन्‍ना ९:१-३; ११:१-४.

चटकबाज, जादूगर र विश्‍वासको आधारमा निको पारेजस्तो देखाउने व्यक्‍तिहरूले जस्तो येशूले कहिल्यै पनि सम्मोहन, छक्कापन्जा, तडकभडक, मन्त्र जपाइ अथवा देखावटी भावुकता चलाउनुभएन। उहाँले अन्धविश्‍वासको सहारा लिनुभएन वा पवित्र मानिने वस्तुहरूको अवशेषको प्रयोग गर्नुभएन। येशूले दुई जना अन्धा मानिसलाई कोमल ढङ्‌गमा निको पार्नुभएको विवरणलाई विचार गर्नुहोस्‌। विवरण यसो भन्छ, “येशूले टिठाएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले देख्नलागे, र उहाँका पछि लागे।” (मत्ती २०:२९-३४) कुनै पनि किसिमको रीतिथिति, समारोह वा देखावटीपन गरिएको थिएन। येशूले खुलेआम, अक्सर थुप्रै प्रत्यक्षदर्शीहरूको सामु चमत्कारपूर्ण कार्यहरू गर्नुभएको थियो। उहाँले विशेष किसिमको बत्ती, मञ्च अथवा साजसज्जा प्रयोग गर्नुभएन। यसको तुलनामा आधुनिक समयका तथाकथित चमत्कारहरूलाई सप्रमाण प्रस्तुत गर्न सकिंदैन।—मर्कूस ५:२४-२९; लूका ७:११-१५.

आफूले गरेका चमत्कारहरूबाट लाभ उठाउने व्यक्‍तिहरूको विश्‍वासलाई कहिलेकाहीं येशूले मानिलिनुभयो। तर मानिसहरूले विश्‍वास नगर्दैमा चमत्कारहरू गर्नदेखि येशू पछि हट्‌नुभएन। येशू गालीलको कफर्नहुममा हुनुहुँदा मानिसहरूले “उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनैले भूतहरूलाई धपाउनुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।”—मत्ती ८:१६.

येशूले मानिसहरूको वास्तविक शारीरिक आवश्‍यकताहरू पूरा गर्न चमत्कारहरू गर्नुभएको थियो, कसैको कौतूहलता मेट्‌न होइन। (मर्कूस १०:४६-५२; लूका २३:८) अनि कुनै पनि तरिकामा व्यक्‍तिगत स्वार्थपूर्ति गर्न येशूले कहिल्यै चमत्कारहरू गर्नुभएन।—मत्ती ४:२-४; १०:८.

के सुसमाचारका विवरणहरू भरोसायोग्य छन्‌?

सुसमाचारका चारवटा पुस्तकमार्फत हामीलाई येशूले गर्नुभएका चमत्कारहरूबारे तथ्य कुरा बताइएको छ। येशूले गर्नुभएका चमत्कारहरूको सत्यतालाई जाँच्दा, के यी विवरणहरूमा भरोसा गर्न सकिने कारणहरू छन्‌? हो, छन्‌।

अघि नै उल्लेख गरिएझैं येशूले सार्वजनिक रूपमा, थुप्रै प्रत्यक्षदर्शीहरूको सामु चमत्कारहरू गर्नुभएको थियो। सुसमाचारका सुरुका पुस्तकहरू ती अधिकांश प्रत्यक्षदर्शीहरू जीवित छँदै लेखिएका थिए। सुसमाचारका लेखकहरूको इमानदारिताबारे द मिराकल्स्‌ एण्ड द रेजरेक्सन (अंग्रेजी) भन्‍ने पुस्तकमा यसो भनिएको छ: “धार्मिक विश्‍वासको प्रचारप्रसार गर्ने उद्देश्‍य राखेर सुसमाचारका प्रचारकहरूले तथाकथित चमत्कारका कथाहरूको बीच-बीचमा ऐतिहासिक तथ्यहरू जानाजानी लुकाए भनेर सुसमाचारका प्रचारकहरूलाई दोष दिनु सरासर अन्याय हुनेछ . . . उनीहरू चमत्कारका विवरणहरू इमानदार भई लिपिबद्ध गर्न चाहन्थे।”

मसीहीधर्मका यहूदी प्रतिद्वन्द्वीहरूले सुसमाचारका पुस्तकहरूमा वर्णन गरिएका शक्‍तिशाली कार्यहरूबारे कहिल्यै शङ्‌का गरेनन्‌। यी कार्यहरू सम्पन्‍न गर्न सक्नुपछाडिको शक्‍तिबारे मात्रै तिनीहरूले शङ्‌का गरे। (मर्कूस ३:२२-२६) पछि देखापरेका आलोचकहरूले समेत येशूले गर्नुभएका चमत्कारहरूको खण्डन गर्न सकेनन्‌। त्यसको विपरीत, सा.यु. प्रथम र दोस्रो शताब्दीको दौडान येशूले चमत्कारपूर्ण कार्यहरू गर्नुभएका ऐतिहासिक प्रसङ्‌गहरू थिए। स्पष्टतया, येशूले गर्नुभएका चमत्कारहरूसित सम्बन्धित सुसमाचारका विवरणहरूलाई सत्य ठान्‍ने हामीसित ठोस आधार छ।

चमत्कारहरू गर्नुहुने व्यक्‍ति

येशूले गर्नुभएका चमत्कारहरूको सत्यतालाई तार्किक आधारमा मात्रै सीमित राख्ने हो भने, यस्तो जाँचपड्‌ताल गर्ने काम अधुरै रहनेछ। येशूले गर्नुभएका शक्‍तिशाली कार्यहरू वर्णन गर्ने सन्दर्भमा सुसमाचारका पुस्तकहरूले गहिरो भावना तथा अतुलनीय करुणा भएको मानिसबारे प्रकाश पार्छ र उहाँ आफ्ना सँगी मानिसहरूको हितमा निकै चासो राख्नुहुन्छ।

येशूकहाँ आएर यसो भन्दै व्यग्र बिन्ती गर्ने एक जना कोरीको उदाहरणलाई विचार गर्नुहोस्‌: “ ‘तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ।’ तब उहाँले टिठाएर आफ्नो हात बढाई त्यसलाई छुनुभयो, र त्यसलाई भन्‍नुभयो, ‘म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।’ ” त्यो मानिस झट्टै निको भइहाल्यो। (मर्कूस १:४०-४२) यस प्रकार येशूले समानुभूति प्रदर्शित गर्नुभयो र यही समानुभूतिले उहाँलाई चमत्कारहरू गर्न आफ्नो ईश्‍वरप्रदत्त शक्‍ति चलाउन उत्प्रेरित गऱ्‍यो।

नाइन नाउँ भएको शहरबाट लास लैजाँदै गरेका मलामीलाई येशूले भेट्‌नुहुँदा के भयो? मरेको त्यो जवान मानिस विधवाको एउटै मात्र छोरो थियो। विधवामाथि “टिठाएर” येशू तिनको नजिक जानुभयो र भन्‍नुभयो: “नरोऊ।” त्यसपछि उहाँले तिनको छोरालाई ब्यूँताउनुभयो।—लूका ७:११-१५.

येशूले गर्नुभएका चमत्कारहरूबाट सिक्न सकिने सान्त्वनादायी पाठ के हो भने, उहाँ ‘टिठाउनुभयो’ र मानिसहरूलाई मदत गर्न उहाँले केही गर्नुभयो। तर यस्ता चमत्कारहरू इतिहासका कुरा मात्र होइनन्‌। हिब्रू १३:८ यसो भन्छ, “येशू ख्रीष्ट हिज, आज, अँ सधैंभरि एकसमान हुनुहुन्छ।” हाल उहाँले स्वर्गीय राजाको हैसियतमा शासन गरिरहनुभएको छ भने, मानवको रूपमा पृथ्वीमा छँदा गरेभन्दा अझ व्यापक रूपमा चमत्कार गर्ने ईश्‍वरप्रदत्त शक्‍ति प्रयोग गर्न उहाँ सक्षम हुनुहुन्छ। चाँडै, येशूले ती शक्‍ति आज्ञाकारी मानिसको निवारण गर्न प्रयोग गर्नुहुनेछ। भविष्यको यो उज्ज्वल प्रत्याशाबारे अझ बढी सिक्न यहोवाका साक्षीहरूले तपाईंहरूलाई खुसीसाथ मदत गर्नेछन्‌।

[पृष्ठ ४, ५-मा भएका चित्रहरू]

येशूले गर्नुभएका चमत्कारहरू “परमेश्‍वरको महान शक्‍तिका” प्रदर्शन थिए

[पृष्ठ ७-मा भएको चित्र]

येशू गहिरो भावना भएको व्यक्‍ति हुनुहुन्थ्यो