सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘ग्रीष्म र शिशिर अन्त हुनेछैन’

‘ग्रीष्म र शिशिर अन्त हुनेछैन’

यहोवाको सृष्टिको वैभव

‘ग्रीष्म र शिशिर अन्त हुनेछैन’

मरुभूमिमा उखुम गर्मी हुने गरी टन्टलापुर घाम लाग्छ। पृथ्वीका अन्य भागहरूमा चाहिं हिउँदको कठाङ्‌ग्रिने जाडोपछि घामले गर्दा न्यानो हुन्छ। साँच्चै, मौसम तथा ऋतुहरू परिवर्तन हुनुका प्रमुख कारणहरूमध्ये एउटा घामको ताप पनि हो।

संसारभरि ठाउँअनुसार फरक-फरक ऋतुहरू हुने गर्छन्‌। तर ऋतुहरूले कसरी तपाईंलाई असर गर्छ? वसन्तऋतुको आगमनसँगै रूखहरूले नयाँ पालुवा फेरेको र फूलहरू ढकमक्क फुलेको देख्दा के हर्षले तपाईंको मन चुम्छ? ग्रीष्मऋतुको मनोरम सन्ध्यामा तपाईं कस्तो महसुस गर्नुहुन्छ? शरद्‌ऋतुमा पातहरूको रङ फेरिंदा देखिने अत्यन्त सुन्दर दृश्‍य हेर्दा के तपाईंको मनमा खुसीको लहर छाउँछ? हिउँले ढाकेको जङ्‌गल देख्दा के तपाईंको मन आनन्दले भरिन्छ?

ऋतुहरू कसरी परिवर्तन हुन्छन्‌? छोटकरीमा भन्‍ने हो भने, पृथ्वीको ढल्काइले गर्दा यस्तो हुने गर्छ। सूर्य वरिपरि परिक्रमा गर्ने पृथ्वीको अक्ष पृथ्वीको कक्षीय धरातलमा लगभग २३.५ डिग्री ढल्केको हुन्छ। पृथ्वीको अक्ष नढल्केको भए ऋतुहरू हुने थिएनन्‌। मौसम सधैंभरि एकैनासे हुने थियो। यसले वनस्पति तथा खाद्य उत्पादन चक्रमा असर पार्ने थियो।

क्रमशः एकपछि अर्को ऋतु परिवर्तन हुनुमा सृष्टिकर्ताको हात छ भन्‍ने प्रमाण देख्न सकिन्छ। यहोवा परमेश्‍वरलाई सम्बोधन गर्दै भजनहारले यस्तो सही कुरा बताए: “पृथ्वीका सबै सीमाना तपाईंलेनै लगाउनुभएको हो। तपाईंले ग्रीष्मऋतु र शिशिरऋतु बनाउनुभएको हो।भजन ७४:१७. a

पृथ्वीबाट आकाशतिर हेर्ने हो भने, आकाशीय पिण्डहरूले ऋतुहरूको अचूक सूचकहरूको रूपमा काम गर्छन्‌। सौर्यमण्डल सृष्टि गर्नुहुँदा परमेश्‍वरले यस्तो आज्ञा गर्नुभयो: “आकाशको अन्तरमा . . . ज्योतिहरू होऊन्‌। औ चिह्रहरू, ठहराइएका चाडहरू, दिनहरू र वर्षहरूका निम्ति ती होऊन्‌।” (उत्पत्ति १:१४) वर्षभरिमा पृथ्वी आफ्नो कक्षको दुईवटा ठाउँमा पुग्छ, जहाँ भूमध्यरेखामा अपराह्नको दौडान टाउकोको ठ्याक्क मास्तिर घाम पर्छ। यस्तो हुनुलाई विषुव भनिन्छ र थुप्रै मुलुकहरूमा त्यसले वसन्त अनि शरद्‌ ऋतुको आगमनलाई सङ्‌केत गर्छ। विषुव भएको बेला सारा संसारभरि उज्यालो र अन्धकारको अवधि प्रायः बराबर हुन्छ।

आकाशीय पिण्डहरूको गति अनि स्थानले गर्दा मात्रै ऋतुहरू भएको र ऋतु परिवर्तन हुन सकेको होइन। ऋतु, हावापानी र मौसम यी सबैको जीवन धान्‍ने एउटा जटिल प्रणालीसित पारस्परिक सम्बन्ध छ। एसिया माइनरका मानिसहरूमध्ये अधिकांश कृषि तथा खाद्य उत्पादनसित सुपरिचित थिए र ती मानिसहरूसित कुरा गर्दै मसीही प्रेरित पावल र तिनका सँगी बर्णाबासले परमेश्‍वरले “तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फल फल्ने ऋतु दिएर भलाइ गरी तपाईंहरूका हृदयमा खुराक र आनन्दले भरिदिनुभयो” भनी बताए।—प्रेरित १४:१४-१७.

वनस्पति तथा समुद्रमा हुने फाइटोप्लान्क्टन अर्थात्‌ सूक्षम वनस्पति जीवित रहन फोटोसिन्थेसिस अर्थात्‌ प्रकाश-संश्‍लेषणको आश्‍चर्यलाग्दो प्रक्रिया अत्यावश्‍यक छ। यसैको कारण, मौसम अनि हावापानीले वर्तमान भोजन चक्र अनि जैविक विविधतालाई एकदमै प्रतिकूल असर पार्छ। यी सम्पूर्ण कुराहरूमा यहोवाको हात छ भनेर सङ्‌केत गर्दै पावलले यस्तो सही वर्णन गरे: “जुन जमीनले वारंवार वर्षाको पानी पाउँछ, र जसका निम्ति जोतिएको हो, तिनीहरूका निम्ति मनपर्ने साग-पातहरू पैदा गर्छ भने, त्यसले परमेश्‍वरको आशिष पाउँछ।”—हिब्रू ६:७.

वसन्तऋतुको आगमनसँगै ठिक्कको तापक्रम, लामो दिन, घमाइलोपन अनि अनुकूल वर्षा हुने ठाउँहरूमा वातावरण कस्तो हुन्छ होला भनेर एकैछिन रोकिएर मनन गर्नुभयो भने “आशिष” शब्दले नयाँ अर्थ लिन्छ। त्यस्ता ठाउँहरूमा फूलहरू ढकमक्क फुल्छन्‌ र अन्‍नबालीमा पराग-सेचन गर्न तयार कीराहरू जाडो यामको आफ्नो बासस्थानबाट बाहिर निस्कन्छन्‌। यहाँ देख्नुभएजस्तो ब्लु जे अर्थात्‌ नीलकण्ठ चराहरूले गर्दा सारा जङ्‌गल नै रङ्‌गीन देखिन्छ र तिनीहरूको चिरबिरे मधुर गीतले जङ्‌गल गुञ्जन्छ अनि सुन्दर प्राकृतिक दृश्‍य झनै सजीव भएर आउँछ। जीवनमा जोस-जाँगर बढ्‌छ अनि जीवधारी प्राणीहरूको जन्मने, फेरि जन्मने र बढ्‌ने क्रम यथावत्‌ चलिरहन्छ। (श्रेष्ठगीत २:१२, १३) यो, ग्रीष्मऋतुको अन्तमा अथवा शरद्‌ऋतुमा गरिने फसल कटनीको लागि प्रारम्भिक तयारी हो।—प्रस्थान २३:१६.

परमेश्‍वरले पृथ्वीलाई जुन तरिकामा राख्नुभएको छ, त्यसले तथा हाम्रो लागि गरिएको दिन र रात, ऋतुहरू, बिउ छर्ने र फसल काट्‌ने समयको प्रबन्धले यहोवाका कार्यहरू अद्‌भुत ढङ्‌गमा प्रकट गर्छ। शिशिरऋतुपछि ग्रीष्मऋतु आउँछ भन्‍ने कुरामा हामीलाई कुनै शङ्‌का छैन। आखिर, परमेश्‍वरले नै यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “पृथ्वी रहुञ्जेल बिउ छर्ने र फसल काट्‌ने समय, ग्रीष्म र शिशिर औ दिन र रातको अन्त हुनेछैन।”—उत्पत्ति ८:२२.

[फुटनोट]

a २००४ यहोवाका साक्षीहरूको क्यालेन्डर, जुलाई/अगस्त हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

जीवनको लागि अत्यावश्‍यक उपग्रह

युगौं युगदेखि चन्द्रमाले मानिसहरूलाई प्रेरणा दिनुका साथै अचम्ममा पारेको छ। यद्यपि, चन्द्रमाले ऋतुहरूलाई प्रभाव पार्छ भनेर के तपाईंलाई थाह छ? पृथ्वी आफ्नो अक्षमा घुम्दा त्यसले बनाउने कोण ठूलो वा सानो हुन नदिई एक रूपमा राख्न चन्द्रमाले मदत गर्छ। यसले “पृथ्वीमा जीवन धान्‍न सकिने परिस्थिति सृजना गर्न अत्यावश्‍यक भूमिका” खेल्छ भनी विज्ञानका लेखक एन्ड्रु हिल बताउँछन्‌। हाम्रो ग्रहलाई आफ्नो अक्षमा जथाभावी नभई एकनासले घुम्न ठूलो प्राकृतिक उपग्रह नभइदिएको भए तापक्रम बढ्‌ने थियो र सम्भवतः पृथ्वीमा जीवन सम्भव हुने थिएन। त्यसकारण, खगोलशास्त्रीहरूको एउटा टोली यस्तो निष्कर्षमा पुग्यो: “पृथ्वीको हावापानीमा प्रतिकूल परिवर्तन हुन नदिन चन्द्रमाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ भन्‍न सकिन्छ।”—भजन १०४:१९.

[स्रोत]

Moon: U.S. Fish & Wildlife Service, Washington, D.C./Bart O’Gara

[पृष्ठ ९-मा भएको चित्र]

ऊँटहरू, उत्तर अफ्रिका र अरबी प्रायद्वीप