सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं “यहोवाको व्यवस्थामानै” प्रसन्‍न रहनुहुन्छ?

के तपाईं “यहोवाको व्यवस्थामानै” प्रसन्‍न रहनुहुन्छ?

के तपाईं “यहोवाको व्यवस्थामानै” प्रसन्‍न रहनुहुन्छ?

“त्यो मानिस धन्य [“आनन्दित,” NW] हो, जो . . . परमप्रभुको [“यहोवाको,” NW] व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ।”—भजन १:१, २.

१. यहोवाका सेवकहरूको हैसियतमा हामी किन आनन्दित छौं?

 यहोवाका वफादार सेवकहरूको हैसियतमा उहाँ हामीलाई समर्थन गर्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ। हुन त हामी थुप्रै परीक्षाहरूको सामना गर्छौं। तैपनि, हामीसित साँचो आनन्द छ। यो कुनै छक्कलाग्दो कुरा होइन किनभने हामी “आनन्दित परमेश्‍वरको” सेवा गर्छौं र उहाँको पवित्र आत्माले हाम्रो हृदयमा आनन्द उत्पन्‍न गराउँछ। (१ तिमोथी १:११, NW; गलाती ५:२२) आनन्द भनेको कुनै असल कुराको आशा गर्दा वा त्यो पाउँदा अनुभव हुने साँचो प्रसन्‍नताको अवस्था हो। अनि स्वर्गमा बस्नुहुने हाम्रा पिताले हामीलाई पक्कै पनि असल वरदानहरू दिनुहुन्छ। (याकूब १:१७) त्यसैले त हामी आनन्दित छौं नि!

२. हामी कुन-कुन भजनहरू छलफल गर्नेछौं?

आनन्दलाई विशेष गरी भजनको पुस्तकमा जोड दिइएको छ। उदाहरणका लागि, भजन १ र मा यसबारे बताइएको छ। भजनको दोस्रो अध्याय लेख्ने व्यक्‍ति इस्राएलका राजा दाऊद हुन्‌ भनी येशू ख्रीष्टका प्रारम्भिक अनुयायीहरूले भने। (प्रेरित ४:२५, २६) भजनको पहिलो अध्याय लेख्ने व्यक्‍तिको नाउँ हामीलाई थाह नभए तापनि तिनको प्रेरित गीत यसरी सुरु हुन्छ: “त्यो मानिस धन्य [“आनन्दित,” NW ] हो, जो दुष्टहरूको युक्‍तिमा चल्दैन।” (भजन १:१) आउनुहोस्‌, यो लेख र अर्को लेखमा भजन १ र ले हामीलाई कसरी रमाउने कारण दिन्छ भन्‍ने कुरा विचार गरौं।

आनन्दको रहस्य

३. भजन १:१ अनुसार परमेश्‍वरको नियमअनुसार चल्ने व्यक्‍ति आनन्दित हुनुका केही कारणहरू के-के हुन्‌?

परमेश्‍वरको नियमअनुसार चल्ने व्यक्‍ति किन आनन्दित हुन्छ भनेर भजन १ अध्यायले देखाउँछ। यस्तो आनन्दका केही कारणहरूबारे बताउँदै भजनहार यसरी गाउँछन्‌: “त्यो मानिस धन्य [“आनन्दित,” NW ] हो, जो दुष्टहरूको युक्‍तिमा चल्दैन, नता पापीहरूको मार्गमा खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्तछ।”—भजन १:१.

४. जकरिया र इलीशिबाले कस्तो उदाहरणीय मार्ग पछ्याए?

साँच्चै आनन्दित हुने हो भने हामी परमेश्‍वरका धार्मिक आवश्‍यकताहरू अनुरूप चल्नै पर्छ। बप्तिस्मा दिने यूहन्‍नाका आमाबाबु हुने आनन्ददायी सुअवसर पाउने इलीशिबा र जकरिया “परमेश्‍वरका सामुन्‍ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानमा निर्दोष भई हिंड्‌थे।” (लूका १:५, ६) हामीले त्यस्तै मार्ग पछ्यायौं र ‘दुष्टहरूको युक्‍तिमा चल्न’ वा तिनीहरूको पापपूर्ण सल्लाहअनुसार गर्न दृढतापूर्वक इन्कार गऱ्‍यौं भने हामी पनि आनन्दित हुन सक्छौं।

५. कुन कुराले हामीलाई “पापीहरूको मार्ग[देखि]” जोगिन मदत दिन सक्छ?

हामीले दृष्टहरूको सोचाइलाई तिरस्कार गऱ्‍यौं भने हामी “पापीहरूको मार्गमा खडा” भइरहेका हुनेछैनौं। वास्तवमा, शाब्दिक अर्थमै भन्‍ने हो भने पनि तिनीहरू अक्सर भेटिने ठाउँहरू अर्थात्‌ अनैतिक मनोरञ्जन हुने ठाउँहरू वा बदनाम कमाएका ठाउँहरूमा हामी जानेछैनौं। पापीहरूको गैरधर्मशास्त्रीय आचरणमा भाग लिन हामी प्रलोभित भयौं भने नि? त्यस्तो बेलामा प्रेरित पावलका निम्न शब्दहरू अनुरूप चल्न यहोवाको मदतको लागि प्रार्थना गरौं: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्‌गति?” (२ कोरिन्थी ६:१४) हामी परमेश्‍वरमा भर पर्छौं र “हृदयमा शुद्ध” छौं भने पापीहरूको मनोवृत्ति तथा जीवन शैलीलाई तिरस्कार गर्नेछौं र हामीमा सफा मनोभाव तथा इच्छाका साथै “निष्कपट विश्‍वास” हुनेछ।—मत्ती ५:८; १ तिमोथी १:५.

६. गिल्ला गर्नेहरूदेखि हामी किन होसियार हुनुपर्छ?

यहोवालाई खुसी तुल्याउन हामी ‘गिल्ला गर्नेहरूको बैठकमा बस्नु हुँदैन।’ कतिपय व्यक्‍तिहरूले परमेश्‍वरका नियमहरू अनुरूपको मार्गलाई नै गिल्ला गर्छन्‌ तर यी “पछि-पछिका दिनहरूमा” धर्मत्यागी भएका पहिलेका मसीहीहरू गिल्ला गर्ने सन्दर्भमा कटु आलोचक भएका छन्‌। प्रेरित पत्रुसले सँगी विश्‍वासीहरूलाई यस्तो चेतावनी दिए: “हे प्रिय हो, . . . पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्‌, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।’ ” (२ पत्रुस ३:१-४) हामी कहिल्यै पनि “गिल्ला गर्नेहरूको बैठकमा” बसेनौं भने तिनीहरूमाथि निश्‍चय आइपर्ने विपत्तिबाट हामी जोगिनेछौं।—हितोपदेश १:२२-२७.

७. हामीले भजन १:१ का शब्दहरू किन मनमा राख्नुपर्छ?

हामीले भजन १ को सुरुका शब्दहरू पालन गरेनौं भने धर्मशास्त्रको अध्ययनद्वारा हामीले प्राप्त गरेको आध्यात्मिकता सजिलै गुमाउन सक्छौं। वास्तवमा हामी झन्‌झन्‌ खराब हुँदै जान सक्छौं। हामीले दुष्टहरूको सल्लाह पछ्यायौं भने हाम्रो अधोगति सुरु हुन सक्छ। पछि, हामी तिनीहरूसित नियमित रूपमा संगत गर्न थाल्न सक्छौं। समयमा, हामी विश्‍वास नभएका, गिल्ला गर्ने धर्मत्यागीहरू समेत हुन सक्छौं। निस्सन्देह, दुष्टहरूसितको मित्रताले हामीमा परमेश्‍वरको नियम विपरीत चल्ने मनोभाव उत्पन्‍न गराउन सक्छ र यहोवा परमेश्‍वरसितको हाम्रो सम्बन्ध तहसनहस गर्न सक्छ। (१ कोरिन्थी १५:३३; याकूब ४:४) हामी कहिल्यै पनि यस्तो हुन नदेऔं!

८. कुन कुराले हामीलाई आफ्नो मन आध्यात्मिक कुराहरूमा केन्द्रित गर्न मदत दिनेछ?

प्रार्थनाले हामीलाई आफ्नो मन आध्यात्मिक कुराहरूमा केन्द्रित गर्न र दुष्टहरूसितको संगतबाट जोगिन मदत गर्नेछ। पावलले यस्तो लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” यी प्रेरितले जे कुरा सच्चा, आदरणीय, चोखा, असल र मनपर्दा छन्‌ अनि जे कुरामा केही सद्‌गुण र केही प्रशंसा छ तिनै कुराहरूको विचार गर्न प्रोत्साहन दिए। (फिलिप्पी ४:६-८) हामी पावलको सल्लाह अनुरूप चलौं र कहिल्यै पनि दुष्टहरूको स्तरमा नझरौं।

९. हामीले दुष्ट कामकुराहरू तिरस्कार गर्ने भए तापनि कसरी सबै प्रकारका मानिसहरूलाई मदत गर्ने कोसिस गर्छौं?

हामीले दुष्ट कामकुराहरू तिरस्कार गर्ने भए तापनि अरूलाई कौशलतापूर्वक साक्षी दिन्छौं, जसरी प्रेरित पावलले पनि रोमी बडाहाकिम फेलिक्सलाई “धार्मिकता, संयम र पछि हुने इन्साफको विषयमा” बताए। (प्रेरित २४:२४, २५; कलस्सी ४:६) सबै प्रकारका मानिसहरूलाई हामी राज्यको सुसमाचार प्रचार गर्छौं र तिनीहरूसित दयालु व्यवहार गर्छौं। “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू जत्ति” विश्‍वास गर्नेहरू हुनेछन्‌ र परमेश्‍वरको व्यवस्थामानै प्रसन्‍न रहनेछन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।—प्रेरित १३:४८.

यहोवाको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ

१०. व्यक्‍तिगत अध्ययन गर्दा कुन कुराले हाम्रो मन तथा हृदयमा अमेट छाप पार्न मदत दिनेछ?

१० आनन्दित मानिसबारे भजनहार अझै यसो भन्छन्‌: “परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ [“स्वर निकालेर पढ्‌छ,” NW ]।” (भजन १:२) परमेश्‍वरका सेवकहरूको हैसियतमा हामी ‘यहोवाको व्यवस्थामानै प्रसन्‍न रहन्छौं।’ व्यक्‍तिगत अध्ययन वा मनन गर्दा सम्भव छ भने हामी “स्वर निकालेर” पढ्‌न सक्छौं। धर्मशास्त्रको कुनै भाग यसरी पढ्‌दा यसले हाम्रो मन तथा हृदयमा अमेट छाप पार्न मदत दिनेछ।

११. हामीले किन “दिनरात” बाइबल पढ्‌नुपर्छ?

११ “विश्‍वासी र बुद्धिमान दास[ले]” हामी सबैलाई दिनहुँ बाइबल पढ्‌न प्रोत्साहन दिएको छ। (मत्ती २४:४५) यहोवाले मानिसजातिलाई दिनुभएको सन्देश अझ बढी जान्‍ने उत्कट इच्छाको कारण “दिनरात”—भन्‍ने हो भने कारणवश निद्रा नलागेको बेलामा समेत बाइबल पढ्‌न सकिन्छ। पत्रुसले हामीलाई यस्तो आग्रह गरे: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्‍तिको निम्ति बढ़दै जाओ।” (१ पत्रुस २:१, २) के तपाईं दिनहुँ बाइबल पढ्‌न र राती परमेश्‍वरको वचन तथा उद्देश्‍यहरूबारे मनन गर्न प्रसन्‍न हुनुहुन्छ? भजनहार त प्रसन्‍न भए।—भजन ६३:६.

१२. हामी परमेश्‍वरको व्यवस्थामानै प्रसन्‍न हुन्छौं भने के गर्नेछौं?

१२ हाम्रो अनन्त आनन्द परमेश्‍वरको व्यवस्थामा प्रसन्‍न हुनुमा निर्भर छ। यो सिद्ध र धर्ममय छ अनि यसलाई पालन गरेमा ठूलो इनाम छ। (भजन १९:७-११) चेला याकूबले यसरी लेखे: “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्‍याबासी [“आनन्द,” NW ] पाउनेछ।” (याकूब १:२५) हामी साँच्चै नै परमेश्‍वरको व्यवस्थामा प्रसन्‍न हुन्छौं भने आध्यात्मिक कुराहरूमा ध्यान नदिईकन कुनै पनि दिन बित्नेछैन। वास्तवमा, ‘हामी परमेश्‍वरका गहीरा गहीरा कुराहरूलाई खोजी गर्न’ र परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिहरूलाई जीवनमा प्रथम स्थान दिन उत्प्रेरित हुनेछौं।—१ कोरिन्थी २:१०-१३; मत्ती ६:३३.

त्यो रूखजस्तै हुन्छ

१३-१५. कुन अर्थमा हामी प्रचुर मात्रामा पानी भएको ठाउँमा रोपिएको रूखजस्तै हुन सक्छौं?

१३ सोझा व्यक्‍तिहरूबारे अझ वर्णन गर्दै भजनहार यसो भन्छन्‌: “खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भजन १:३) अरू सबै असिद्ध मानिसहरूले जस्तै हामी यहोवाको सेवा गर्नेहरूले पनि जीवनमा कठिनाइहरू अनुभव गर्छौं। (अय्यूब १४:१) हामीले सतावटहरू र हाम्रो विश्‍वाससित सम्बन्धित विभिन्‍न प्रकारका अरू परीक्षाहरू भोग्न सक्छौं। (मत्ती ५:१०-१२) तथापि, बलियो बोट अर्थात्‌ रूखलाई ठूलो हुरीले समेत केही गर्न नसकेजस्तै परमेश्‍वरको मदतद्वारा हामी यी परीक्षाहरू सफलतापूर्वक सहन सक्छौं।

१४ सधैंभरि पानी भइरहने ठाउँमा रोपिएको रूख सुख्खा मौसम वा खडेरीमा समेत सुक्दैन। हामी ईश्‍वर-भीरु व्यक्‍तिहरू हौं भने हामीले पनि कहिल्यै नरित्तिने बलको स्रोत यहोवा परमेश्‍वरबाट बल पाउँछौं। पावलले मदतको लागि परमेश्‍वरको बाटो हेरेका हुनाले तिनले यसो भन्‍न सके: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा [यहोवामा] सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) यहोवाको पवित्र आत्माद्वारा डोऱ्‍याइ र आध्यात्मिक आड पाएका छौं भने हामी फल नफलाउने वा आध्यात्मिक तवरमा मृत भएर ओइलाउँदैनौं। हामी परमेश्‍वरको सेवामा फलदायी हुनुका साथै उहाँको आत्माका फलहरू पनि प्रकट गर्छौं।—यर्मिया १७:७, ८; गलाती ५:२२, २३.

१५ “जस्तै” भनेर अनुवाद गरिएको हिब्रू शब्द चलाएर भजनहारले उपमाको प्रयोग गरिरहेका छन्‌। तिनले उस्ता-उस्तै गुण भएका दुई भिन्‍ना-भिन्‍नै वस्तुबीच तुलना गरिरहेका छन्‌। मानिसहरू र रूखहरू बेग्लाबेग्लै कुरा हुन्‌ तर प्रचुर मात्रामा पानी भएको ठाउँमा रोपिएको रूखले भजनहारलाई “यहोवाको व्यवस्थामानै . . . प्रसन्‍न” रहनेहरूको आध्यात्मिक संवृद्धिको सम्झना गराएको हुनुपर्छ। हामी परमेश्‍वरको व्यवस्थामानै प्रसन्‍न भयौं भने हाम्रो आयु पनि रूखको जस्तै हुन सक्छ। वास्तवमा हामी सधैंभरि बाँच्न सक्छौं।—यूहन्‍ना १७:३.

१६. किन र कुन अर्थमा ‘हामी जे गर्छौं, त्यसमा सफल हुन्छौं’?

१६ हामीले सोझो मार्ग पछ्याउँदा यहोवाले हामीलाई परीक्षा तथा कठिनाइहरूको दबाब सहन मदत दिनुहुन्छ। परमेश्‍वरको सेवामा हामी आनन्दित र फलदायी हुन्छौं। (मत्ती १३:२३; लूका ८:१५) ‘हामी जे गर्छौं, त्यसमा सफल हुन्छौं’ किनभने हाम्रो मुख्य लक्ष्य भनेको यहोवाको इच्छा गर्नु हो। उहाँका उद्देश्‍यहरू सधैं पूरा हुने र हामी उहाँका आज्ञाहरूमा प्रसन्‍न हुने भएकोले हाम्रो आध्यात्मिक संवृद्धि हुन्छ। (उत्पत्ति ३९:२३; यहोशू १:७, ८; यशैया ५५:११) हामीमाथि दुःख-कष्टहरू आइपर्दासमेत यही कुरा लागू हुन्छ।—भजन ११२:१-३; ३ यूहन्‍ना २.

दुष्टहरूको फलिफाप भएजस्तो देखिन्छ

१७, १८. (क) दुष्टहरूलाई भजनहारले केसित तुलना गर्छन्‌? (ख) भौतिक तवरमा दुष्टहरूको फलिफाप भए तापनि तिनीहरूसित किन अनन्त सुरक्षा हुँदैन?

१७ दुष्टहरूको जीवन धर्मी मानिसहरूको जीवनभन्दा कत्ति भिन्‍न हुन्छ! केही समयका लागि दुष्टहरू भौतिक तवरमा फलिफाप भएजस्तो देखिएलान्‌ तर आध्यात्मिक तवरमा तिनीहरूको फलिफाप भइरहेको हुँदैन। भजनहारका यी थप शब्दहरूद्वारा यो कुरा प्रस्ट हुन्छ: “दुष्टहरू ता त्यस्ता हुँदैनन्‌, तर बतासले उडाएर लैजाने भूसजस्ता हुन्छन्‌। यसकारण दुष्टहरू इन्साफमा खडा रहनेछैनन्‌, नता पापीहरू धर्मात्माहरूका समुदायमा रहनेछन्‌।” (भजन १:४, ५) ध्यान दिनुहोस्‌, “दुष्टहरू ता त्यस्ता हुँदैनन्‌” भनेर भजनहार बताउँछन्‌। तिनको भनाइको अर्थ दुष्टहरू परमेश्‍वरको नियमअनुसार चल्ने व्यक्‍तिहरूजस्ता हुँदैनन्‌, जसलाई फलदायी र सधैंभरि रहिरहने रूखहरूसित तुलना गरिएको छ।

१८ भौतिक तवरमा दुष्टहरूको फलिफाप भए तापनि तिनीहरूसित अनन्त सुरक्षा हुँदैन। (भजन ३७:१६; ७३:३, १२) तिनीहरू, एउटा मानिसले येशूलाई अंश-बण्डासम्बन्धी निर्णय गरिदिन बिन्ती गर्दा उहाँले आफ्नो दृष्टान्तमा उल्लेख गर्नुभएको मूर्ख धनी मानिसजस्तै हुन्‌। त्यहाँ उपस्थित व्यक्‍तिहरूलाई येशूले यसो भन्‍नुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ, किनकि मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” यो बुँदालाई स्पष्ट पार्न येशूले यसो भन्‍नुभयो, कुनै एउटा धनी मानिसको जमिनले यति धेरै उब्जनी दिन्थ्यो कि तिनले आफ्ना भकारीहरू भत्काएर आफूसँग भएका सबै असल-असल थोकहरू अटाउने झन्‌ ठूला-ठूला भकारीहरू बनाउने विचार गरे। त्यसपछि ती मानिसले खाने, पिउने र आनन्द गर्ने विचार गरे। तर परमेश्‍वरले यसो भन्‍नुभयो: “ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैंले तयार गरेको छस्‌ ती कसको होला?” आफूले प्रस्तुत गर्न खोजेको बुँदालाई जोड दिंदै येशूले यसरी थप्नुभयो: “परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:१३-२१.

१९, २०. (क) पुरातन समयमा अन्‍न चुट्‌ने र बत्ताउने तरिका वर्णन गर्नुहोस्‌। (ख) दुष्टहरूलाई किन भुससित तुलना गरिएको छ?

१९ दुष्टहरू “परमेश्‍वरतर्फ धनी” हुँदैनन्‌। त्यसैले, अन्‍नको गेडाको बाहिरपट्टि हुने पातलो खोल अर्थात्‌ भुस जति असुरक्षित हुन्छ तिनीहरू पनि त्यत्तिकै असुरक्षित छन्‌। पुरातन समयमा बाली कटनी गरिसकेपछि यसलाई खलामा लगिन्थ्यो र सामान्यतया यस्ता खलाहरू अलि अग्लो र सम्म परेका ठाउँहरूमा हुन्थे। त्यहाँ जनावरहरूको मदतद्वारा तिखो धार भएको ढुङ्‌गा वा फलामको औजारले चुटेर बोटको डाँठ, अन्‍नको गेडा र भुस छुट्याइन्थ्यो। त्यसपछि उक्‍त समिश्रणलाई हावा चलेको बेला बत्ताइन्थ्यो। (यशैया ३०:२४) अन्‍नको गेडा खलामा खस्थ्यो भने हावाको लहरले घुऱ्‍यानलाई छेउतिर छुट्याउँथ्यो र भुसलाई उडाएर लैजान्थ्यो। (रूथ ३:२) मसिना ढुङ्‌गाहरू र त्यस्तै अरू कुराहरू छुट्याउन अन्‍नलाई चालेपछि यो भकारीमा राख्न वा पिंध्नको लागि तयार हुन्थ्यो। (लूका २२:३१) तर भुसको नामोनिसान हुँदैनथ्यो।

२० जसरी अन्‍नका गेडाहरू भुँइमा खस्थे र यसलाई जोगाएर राखिन्थ्यो तर भुसलाई उडाइन्थ्यो, त्यसरी नै धर्मीहरू रहिरहनेछन्‌ र दुष्टहरू हटाइनेछन्‌। त्यसैले, खराब काम गर्ने व्यक्‍तिहरू सदाका लागि नामेट हुने भएकोले हामी पक्कै पनि खुसी छौं। तिनीहरू हटाइएकोले गर्दा यहोवाको व्यवस्थामानै प्रसन्‍न हुनेहरूले प्रशस्त आशिष्‌ पाउनेछन्‌। आज्ञाकारी मानिसहरूले अन्ततः परमेश्‍वरले दिनुहुने अनन्त जीवनको वरदान पक्कै पाउनेछन्‌।—मत्ती २५:३४-४६; रोमी ६:२३.

“धर्मात्माको मार्ग” आशिषित्‌ हुन्छ

२१. यहोवाले कसरी ‘धर्मात्माहरूलाई जान्‍नुहुन्छ’?

२१ भजनको पहिलो अध्याय यी शब्दहरूका साथ टुङ्‌गिन्छ: “परमप्रभुले धर्मात्माको मार्ग जान्‍नुहुन्छ, तर दुष्टहरूको मार्गचाहिं नष्ट हुनेछ।” (भजन १:६) यहोवाले कसरी ‘धर्मात्माहरूलाई जान्‍नुहुन्छ’? हो, हामीले सोझो मार्ग पछ्याइरहेका छौं भने स्वर्गमा बस्नुहुने हाम्रो पिताले परमेश्‍वरको नियमअनुसार बिताइएको हाम्रो जीवन शैलीलाई स्वीकार्नुहुनेछ र हामीलाई उहाँका अनुमोदनप्राप्त सेवकहरूको रूपमा हेर्नुहुनेछ भनेर पक्का हुन सक्छौं। फलस्वरूप, उहाँले साँच्चै हाम्रो ख्याल गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै हामी आफ्नो सारा बोझ उहाँमाथि राख्न सक्छौं र राख्नुपर्ने पनि हो।—इजकिएल ३४:११; १ पत्रुस ५:६, ७.

२२, २३. दुष्टहरू र धर्मात्माहरूलाई के हुनेछ?

२२ “धर्मात्माको मार्ग” सधैंभरि रहिरहनेछ तर सुध्रन नचाहने दुष्ट मानिसहरू यहोवाको प्रतिकूल न्यायको कारण नष्ट हुनेछन्‌। अनि तिनीहरूको “मार्ग” वा जीवन शैली तिनीहरू सँगसँगै अन्त हुनेछ। दाऊदका निम्न शब्दहरूको पूर्तिबारे हामी विश्‍वस्त हुन सक्छौं: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌। धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:१०, ११, २९.

२३ सबै दुष्टहरूलाई हटाइसकेपछि, पार्थिव प्रमोदवनमा बाँच्ने सुअवसर पायौं भने हामीले कत्ति धेरै आनन्द अनुभव गर्नेछौं! त्यसपछि नम्र र धर्मात्माहरूले साँचो शान्तिको आनन्द उठाउनेछन्‌ किनभने तिनीहरू सधैं “यहोवाको व्यवस्थामानै” प्रसन्‍न रहनेछन्‌। तथापि, त्यसो हुनुअघि यहोवाको “उर्दी” पूरा हुनै पर्छ। (भजन २:७क) त्यो उर्दी के हो र हाम्रो लागि तथा सारा मानव परिवारको लागि यसले के अर्थ राख्नेछ भन्‍ने कुरा बुझ्न हामीलाई अर्को लेखले मदत दिनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरको नियमअनुसार चल्ने व्यक्‍ति किन आनन्दित हुन्छ?

• हामी यहोवाको व्यवस्थामानै प्रसन्‍न रहन्छौं भनेर कुन कुराले देखाउँछ?

• कुनै व्यक्‍ति कसरी राम्ररी पानी पाएको रूखजस्तो हुन सक्छ?

• धर्मात्माको मार्ग कसरी दुष्टको मार्गभन्दा भिन्‍न हुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

प्रार्थनाले हामीलाई दुष्टहरूसित मित्रता गाँस्नदेखि जोगाउनेछ

[पृष्ठ १२-मा भएको चित्र]

धर्मी व्यक्‍ति किन रूखजस्तै हो?