सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यहोवाको उर्दी” विफल हुन सक्दैन

“यहोवाको उर्दी” विफल हुन सक्दैन

“यहोवाको उर्दी” विफल हुन सक्दैन

“[ यहोवाको] उर्दी म घोषणा गर्नेछु। परमप्रभुले मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ। . . . मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु।’ ”—भजन २:७, ८.

१. परमेश्‍वरको उद्देश्‍य र राष्ट्रहरूको उद्देश्‍यबीच कस्तो भिन्‍नता छ?

 मानिसजाति र पृथ्वीका लागि यहोवा परमेश्‍वरले एउटा उद्देश्‍य राख्नुभएको छ। हरेक राष्ट्रहरूका पनि आ-आफ्नै उद्देश्‍य हुन्छन्‌। तर ती उद्देश्‍यहरू परमेश्‍वरको उद्देश्‍यभन्दा कत्ति भिन्‍न छन्‌! यस्तो हुन्छ भनेर हामी आशा गर्न सक्छौं किनभने परमेश्‍वर यसो भन्‍नुहुन्छ: “जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरीनै मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अल्गो छ।” परमेश्‍वरको उद्देश्‍य पक्कै पूरा हुनेछ किनभने उहाँ अझै यसो भन्‍नुहुन्छ: “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमीनलाई भिजाएर बाली उमार्छ, औ छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:९-११.

२, ३. भजनको दोस्रो अध्यायमा कुन कुरा स्पष्ट पारिएको छ तर कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

मसीही राजाबारे परमेश्‍वरको उद्देश्‍य पूरा हुनेछ भनी भजन दोस्रो अध्यायमा स्पष्ट पारिएको छ। यसका रचयिता पुरातन इस्राएलका राजा दाऊद अन्यजातिहरू अर्थात्‌ राष्ट्रहरूले खैलबैला मच्चाउने उल्लेखनीय समय आउनेछ भनी भविष्यवाणी गर्न ईश्‍वर-प्रेरित भए। तिनका शासकहरू यहोवा परमेश्‍वर र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा खडा हुनेछन्‌। तथापि, भजनहारले यसरी पनि गाए: “[यहोवाको] उर्दी म घोषणा गर्नेछु। परमप्रभुले मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ। . . . मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु, र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु।’ ”—भजन २:७, ८.

“यहोवाको उर्दी[ले]” राष्ट्रहरूको लागि कस्तो अर्थ राख्छ? समग्रमा यसले मानिसजातिलाई कसरी असर गर्छ? वास्तवमा, भजनको दोस्रो अध्याय पढ्‌ने सबै ईश्‍वर-भीरु पाठकहरूका लागि यी घटनाक्रमहरूले कस्तो अर्थ राख्छ?

राष्ट्रहरू खैलाबैला मच्चाउँछन्‌

४. भजन २:१, २ का मुख्य बुँदाहरू तपाईं सारांशमा कसरी बताउनुहुन्छ?

राष्ट्रहरू र तिनका शासकहरूको कार्यलाई सङ्‌केत गर्दै भजनहार आफ्नो गीत यसरी सुरु गर्छन्‌: “अन्यजातिहरूले किन खैलाबैला मच्चाउछन्‌, र जाति जातिहरूले किन व्यर्थका कुरा सोच्तछन्‌? परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा, पृथ्वीका राजाहरू आफै खडा हुन्छन्‌, र शासकहरू आपसमा . . . सल्लाह गर्छन्‌।”—भजन २:१, २. a

५, ६. जाति जातिहरूले कस्तो “व्यर्थका कुरा सोच्तछन्‌”?

वर्तमान समयका जाति जातिहरूले कस्तो “व्यर्थका कुरा सोच्तछन्‌”? परमेश्‍वरले अभिषेक गर्नुभएको जन—मसीह वा ख्रीष्टलाई—स्वीकार्नुको सट्टा राष्ट्रहरूले आफ्नै अख्तियारलाई जोगाउनेबारे मात्र “सोच्तछन्‌” वा मनन गर्छन्‌। परमेश्‍वरको नियुक्‍त राजा येशू ख्रीष्टलाई मार्न यहूदी तथा रोमी अधिकारीहरूले हातेमालो गर्दा सा.यु. प्रथम शताब्दीमा पनि भजन दोस्रो अध्यायका यी शब्दहरू पूरा भए। तथापि, येशूलाई स्वर्गमा राजाको रूपमा स्थापित गरेपछि सन्‌ १९१४ मा यसको बृहत्‌ पूर्ति सुरु भयो। त्यस समयदेखि यता पृथ्वीको एउटा पनि राजनैतिक सरकारले परमेश्‍वरको गद्दीनसीन राजालाई स्वीकारेको छैन।

“जाति जातिहरूले किन व्यर्थका कुरा सोच्तछन्‌” भनी भजनहारले प्रश्‍न गर्दा यसको अर्थ के थियो? तिनीहरूको उद्देश्‍य व्यर्थ छ; यो खोक्रो छ र पक्कै विफल हुनेछ। तिनीहरूले यस संसारमा शान्ति र एकता ल्याउन सक्दैनन्‌। यद्यपि, तिनीहरूले ईश्‍वरीय शासनको विरोध गर्ने कार्यहरूसमेत गर्छन्‌। वास्तवमा, तिनीहरूले एक मत भएर वैमनस्यतापूर्ण अडान लिएका छन्‌ अनि सर्वोच्च र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा खडा भएका छन्‌। कस्तो घोर मूर्खता!

यहोवाको विजयी राजा

७. येशूका प्रारम्भिक अनुयायीहरूले प्रार्थना गर्दा भजन २:१, २ कसरी लागू गरे?

भजन २:१, २ येशूमा लागू हुन्छ भनी उहाँका अनुयायीहरूले देखाए। आफ्नो विश्‍वासको खातिर सताइँदा तिनीहरूले यसरी प्रार्थना गरे: “हे प्रभु [यहोवा], जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो, जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘किन अन्यजातिहरू झोंक्किन्छन्‌, र किन मानिसहरूले व्यर्थका कुराहरू रच्तछन्‌? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्‍त जनको विरुद्धमा, पृथ्वीका राजाहरू एक साथ खडा भए, र शासकहरू सँगसँगै भेला भए।’ किनभने साँच्चै यसै शहरमा तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक, येशूको विरुद्धमा हेरोद [एन्तिपस] र पन्तियस पिलातस दुवै, अन्यजाति र इस्राएली जनतासँग भेला भएका थिए।” (प्रेरित ४:२४-२७; लूका २३:१-१२) b हो, परमेश्‍वरका अभिषक्‍त जन येशूको विरुद्धमा प्रथम शताब्दीमा षड्यन्त्र गरिएको थियो। तथापि, शताब्दीयौंपछि यस भजनको अर्को पूर्ति हुने थियो।

८. वर्तमान समयका राष्ट्रहरूलाई भजन २:३ कसरी लागू हुन्छ?

पुरातन इस्राएलमा दाऊदजस्ता मानव राजा हुँदा मूर्तिपूजक राष्ट्र तथा शासकहरू परमेश्‍वर र उहाँको गद्दीनसीन अभिषिक्‍त जनको विरुद्धमा जम्मा भए। तर हाम्रो समयमा नि? वर्तमान समयका राष्ट्रहरू यहोवा र मसीहका आवश्‍यकताहरू अनुरूप चल्न चाहँदैनन्‌। त्यसकारण, तिनीहरूले यसो भनिरहेका छन्‌ भनी चित्रण गरिएको छ: “लौ, हामी तिनीहरूका बन्धन टुक्रा टुक्रा पारेर छिनालौं, र तिनीहरूका डोरीहरू हामीबाट फुकालेर फालिदिऔं।” (भजन २:३) परमेश्‍वर र उहाँको अभिषिक्‍त जनले लगाएको कुनै पनि प्रतिबन्धको ती शासक तथा राष्ट्रहरूले विरोध गर्नेछन्‌। निस्सन्देह, यस्तो बन्धन टुक्रा-टुक्रा पारेर छिनाल्ने र यस्ता डोरीहरू फुकालेर फाल्ने कुनै पनि प्रयत्न बेकार हुनेछ।

यहोवाले तिनीहरूलाई खिसी गर्नुहुन्छ

९, १०. यहोवा किन राष्ट्रहरूलाई खिसी गर्नुहुन्छ?

आफ्नै सार्वभौमिकता स्थापना गर्न राष्ट्रका शासकहरूले गरेका कुनै पनि प्रयत्नहरूले यहोवालाई फरक पार्दैन। भजनको दोस्रो अध्याय अझै यसो भन्छ: “स्वर्गमा विराजमान हुनुहुने चाहिं हाँस्नुहुनेछ। परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुनेछ।” (भजन २:४) ती शासकहरू केही कामका नभएजस्तै गरी परमेश्‍वर आफ्नो उद्देश्‍यमा अघि बढ्‌नुहुन्छ। तिनीहरूको अट्टेरीपन देखेर उहाँ हाँस्नुहुन्छ र तिनीहरूलाई खिसी गर्नुहुन्छ। आफूले गर्न चाहेको कुराबारे तिनीहरू घमण्ड गरिरहून्‌। यहोवाका लागि तिनीहरू हाँसोको पात्र हुन्‌। तिनीहरूको निरर्थक विरोध देखेर उहाँ हाँस्नुहुन्छ।

१० आफ्नो भजनको अर्को ठाउँमा शत्रुवत्‌ व्यवहार गर्ने मानव तथा राष्ट्रहरूलाई संकेत गर्दै दाऊद यसरी गाउँछन्‌: “हे सेनाहरूका परमप्रभु, परमेश्‍वर तपाईं इस्राएलका परमेश्‍वरनै, सबै अन्यजातिहरूलाई सजाय दिनालाई खडा हुनुहोस्‌। कुनै दुष्ट अपराधीहरूमाथि अनुग्रह नगर्नुहोस्‌। साँझैपिच्छे तिनीहरू कुकुरझैं भुक्‍तै आउँछन्‌, र शहरका चारैतिर घुम्छन्‌। हेर, तिनीहरू तिनकै मुखले डकार्छन्‌, तिनीहरूका ओठमा तरवार छन्‌। तिनीहरू भन्छन्‌, “सुन्‍ने को छ र?” तर तपाईंचाहिं, हे परमप्रभु, तिनीहरूमाथि हाँस्नुहुनेछ। सबै अन्यजातिहरूलाई तपाईंले हाँसोमा उडाउनुहुनेछ।” (भजन ५९:५-८) यहोवा विरुद्ध राष्ट्रहरूको मूर्खतापूर्ण मार्गमा तिनीहरूले देखाउने अहंकार र तिनीहरू अलमलिएको देखेर उहाँ हाँस्नुहुनेछ।

११. राष्ट्रहरूले यहोवाको उद्देश्‍य विरुद्ध काम गर्ने कोसिस गर्दा के हुन्छ?

११ परमेश्‍वरले कुनै पनि चुनौतीहरूको सामना गर्न सक्नुहुन्छ भन्‍ने हाम्रो विश्‍वासलाई भजन २ का शब्दहरूले बलियो बनाउँछ। उहाँले आफ्नो इच्छा सधैं पूरा गर्नुहुन्छ र आफ्ना वफादार सेवकहरूलाई कहिल्यै पनि त्याग्नुहुन्‍न भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं। (भजन ९४:१४) त्यसोभए, राष्ट्रहरूले यहोवाको उद्देश्‍य विरुद्ध काम गर्ने प्रयत्न गर्दा के हुन्छ? यस भजनअनुसार परमेश्‍वर मेघ गर्जिएजस्तै खालको आवाजमा “रिसाएर तिनीहरूसँग कुरा गर्नुहुनेछ।” साथै, “उहाँको बल्दो रीसमा” बिजुली चम्केझैं उहाँले तिनीहरूलाई “व्याकुल पार्नुहुनेछ।”—भजन २:५.

परमेश्‍वरको राजा स्थापित हुन्छ

१२. भजन २:६ कुन राज्यारोहणको सन्दर्भमा लागू हुन्छ?

१२ भजनहारमार्फत यहोवाले अब भन्‍नुहुने कुराले राष्ट्रहरूलाई पक्कै पनि चिन्तित तुल्याउँछ। परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ: “मैले आफ्नै पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु।” (भजन २:६) सियोन डाँडा यरूशलेमको एउटा पहाड थियो, जहाँ दाऊदलाई सारा इस्राएलको राजाको रूपमा स्थापित गरिएको थियो। तर मसीही राजा त्यस शहर वा पृथ्वीको अरू कतै भएको सिंहासनमा बस्नुहुनेछैन। वास्तवमा, यहोवाको चुनिएको मसीही राजाको हैसियतमा येशू ख्रीष्टलाई उहाँले स्वर्गीय सियोन डाँडामा स्थापित गरिसक्नुभएको छ।—प्रकाश १४:१.

१३. यहोवाले आफ्नो पुत्रसित कस्तो करार बाँध्नुभयो?

१३ अब मसीही राजा बोल्नुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “[आफ्नो पुत्रसित राज्यको करार बाँध्नुभएको यहोवाको] उर्दी म घोषणा गर्नेछु। परमप्रभुले [यहोवा परमेश्‍वरले] मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ। आज मैलेनै तिमीलाई जन्माएको छु।’ ” (भजन २:७) राज्य करारलाई सङ्‌केत गर्दै ख्रीष्टले आफ्ना प्रेरितहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु।”—लूका २२:२८, २९.

१४. येशूसित राजा बन्‍ने निर्विवाद अधिकार छ भनेर किन भन्‍न सकिन्छ?

१४ येशूले बप्तिस्मा लिनुहुँदा र उहाँलाई आत्मिक जीवनमा पुनरुत्थान गरेर भजन २:७ मा अग्रिमवाणी गरिएझैं यहोवाले येशूलाई आफ्नो पुत्रको रूपमा स्वीकार्नुभयो। (मर्कूस १:९-११; रोमी १:४; हिब्रू १:५; ५:५) हो, परमेश्‍वरको एकमात्र पुत्र नै त्यस स्वर्गीय राज्यको राजा हुनुहुन्छ। (यूहन्‍ना ३:१६) राजा दाऊदको शाही वंश हुनुभएको कारण येशूसित राजा बन्‍ने निर्विवाद अधिकार छ। (२ शमूएल ७:४-१७; मत्ती १:६, १६) यस भजनअनुसार परमेश्‍वर आफ्नो पुत्रलाई यसो भन्‍नुहुन्छ: “मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु, र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु।”—भजन २:८.

१५. येशू किन राष्ट्रहरूलाई आफ्नो सम्पत्तिको रूपमा माग्नुहुन्छ?

१५ यहोवापछिको सबैभन्दा ठूलो व्यक्‍ति यिनै राजा अर्थात्‌ परमेश्‍वरको आफ्नो पुत्र हुनुहुन्छ। येशू यहोवाको खारिएको, वफादार र भरपर्दो जन हुनुहुन्छ। साथै, येशूले परमेश्‍वरको जेठो पुत्र हुने अधिकार पनि पाउनुभएको छ। वास्तवमा, येशू ख्रीष्ट “अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्टिको जेठो हुनुहुन्छ।” (कलस्सी १:१५) उहाँले मागे मात्र पुग्छ अनि परमेश्‍वरले ‘अन्यजातिहरूलाई उहाँको सम्पत्ति तुल्याइदिनुहुनेछ र पृथ्वीको पल्लो छेउसम्म उहाँको अधिकारमा राखिदिनुहुनेछ।’ येशूले ‘मानवजातिमा आनन्द लिनुहुने’ भएकोले र पृथ्वी तथा मानिसजातिका लागि स्वर्गमा बस्नुहुने उहाँको पिताको इच्छा पूरा गर्ने उहाँको उत्कट चाहनाको कारण उहाँ यो बिन्ती गर्नुहुन्छ।—हितोपदेश ८:३०, ३१.

राष्ट्रहरू विरुद्ध यहोवाको उर्दी

१६, १७. भजन २:९ अनुसार राष्ट्रहरूले कस्तो नतिजा भोग्नेछन्‌?

१६ अहिले येशू ख्रीष्टको अदृश्‍य उपस्थितिको दौडान भजन दोस्रो अध्याय पूरा भइरहेकोले गर्दा राष्ट्रहरूको लागि यसको नतिजा कस्तो हुनेछ? राजाले चाँडै यहोवाको निम्न घोषणा पूरा गर्नुहुनेछ: “फलामको डण्डाले तिमीले तिनीहरूलाई [राष्ट्रहरूलाई] फोर्नेछौ। र कुमालेको भाँडालाई जस्तैगरी तिमीले तिनीहरूलाई चक्नाचूर पार्नेछौ।”—भजन २:९.

१७ पुरातन समयका राजाहरूको डण्डा शाही अख्तियारको प्रतीक थियो। यस भजनमा बताइएजस्तै कुनै-कुनै डण्डाहरू फलामले बनेका हुन्थे। यहाँ प्रयोग गरिएको प्रतिकात्मक भाषाले राजा ख्रीष्टले कति सजिलै राष्ट्रहरूलाई नाश गर्नुहुनेछ भन्‍ने कुरा सङ्‌केत गर्छ। कुमालेले बनाएको माटोको भाँडालाई फलामले डण्डाले जोडसित हान्‍ने हो भने त्यो फेरि कहिल्यै जोड्‌न नसकिने गरी टुक्रा-टुक्रा हुनेछ।

१८, १९. परमेश्‍वरको अनुमोदन पाउन पृथ्वीका राजाहरूले के गर्न आवश्‍यक छ?

१८ राष्ट्रका शासकहरूले के यसरी विनाशकारी ढङ्‌गमा चक्नाचूर भएको दिन देख्नै पर्छ र? पर्दैन, किनभने भजनहार तिनीहरूलाई यसरी आग्रह गर्छन्‌: “हे राजा हो, बुद्धिमान होओ। हे पृथ्वीका न्यायाधीश हो, शिक्षा लेओ।” (भजन २:१०) राजाहरूलाई बुद्धिमान हुन अर्थात्‌ अन्तरदृष्टि देखाउन र यो खेती गर्न अह्वान गरिएको छ। मानिसजातिको लाभको लागि परमेश्‍वरको राज्यले गर्ने कामहरूको तुलनामा तिनीहरूको योजना कति खोक्रो छ भन्‍ने कुरा तिनीहरूले विचार गर्नुपर्छ।

१९ परमेश्‍वरको अनुमोदन पाउन पृथ्वीका राजाहरूले आफ्नो मार्ग परिवर्तन गर्न आवश्‍यक हुनेछ। तिनीहरूलाई “डरसँग परमप्रभुको सेवा गर, थरथर कामेर रमाओ” भनी चेतावनी दिइएको छ। (भजन २:११) तिनीहरूले यसो गरे भने चाहिं के हुनेछ नि? खैलाबैला मच्चाउनु वा गोलमालमा पर्नुको सट्टा मसीही राजाले तिनीहरूसामु राखिदिनुहुने प्रत्याशामा तिनीहरू आनन्दित हुन सक्थे। पृथ्वीका शासकहरूले आफ्नो शासन शैलीमा देखाउने घमण्ड र अहंकार त्याग्न आवश्‍यक हुनेछ। यसको साथै, तिनीहरूले ढिलासुस्ती नगरी परिवर्तन गर्न अनि यहोवाको सार्वभौमिकताको अतुलनीय श्रेष्ठता र परमेश्‍वर तथा उहाँको मसीही राजाको अकाट्य शक्‍तिप्रति अन्तरदृष्टि विकास गर्नुपर्नेछ।

“पुत्रलाई चुम्बन गर”

२०, २१. “पुत्रलाई चुम्बन” गर्नुको अर्थ के हो?

२० भजन २ ले राष्ट्रका शासकहरूको लागि मायालु निमन्त्रणा दिन्छ। विरोधको लागि एकजूट हुनुको सट्टा तिनीहरूलाई यस्तो सल्लाह दिइएको छ: “पुत्रलाई चुम्बन गर, नत्रता उहाँ [यहोवा परमेश्‍वर] रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको क्रोध चाँडैनै दन्कनेछ।” (भजन २:१२क) सार्वभौम प्रभु यहोवाले उर्दी घोषणा गर्नुहुँदा यो पालन गर्नुपर्छ। परमेश्‍वरले आफ्नो पुत्रलाई सिंहासनमा बसाल्नुभएपछि पृथ्वीका शासकहरूले “व्यर्थका कुरा” सोच्न छोड्‌नुपर्ने थियो। तिनीहरूले तुरुन्तै राजालाई स्वीकार्नुपर्ने थियो र उहाँप्रति पूर्णतया आज्ञाकारी हुनुपर्ने थियो।

२१ किन “पुत्रलाई चुम्बन” गर्ने? यो भजन लेखिंदा मित्रता व्यक्‍त गर्न र पाहुनालाई घरमा स्वागत गरेर अतिथि-सत्कार देखाउन चुम्बन गरिन्थ्यो। वफादारिता वा निष्ठा देखाउन पनि चुम्बन गरिन्थ्यो। (१ शमूएल १०:१) भजन दोस्रो अध्यायको यस पदमा परमेश्‍वरले राष्ट्रहरूलाई उहाँको पुत्रलाई अभिषिक्‍त राजाको रूपमा चुम्बन गर्न वा स्वागत गर्न आज्ञा दिनुहुन्छ।

२२. राष्ट्रका शासकहरूले कुन चेतावनी पालन गर्नुपर्छ?

२२ परमेश्‍वरले रोज्नुभएको राजाको अख्तियार स्वीकार्न इन्कार गर्नेहरूले यहोवाको अपमान गर्छन्‌। तिनीहरू यहोवा परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकता र मानिसजातिको लागि सबैभन्दा असल शासक छान्‍ने उहाँको अख्तियार तथा क्षमतालाई अस्वीकार गर्छन्‌। आफ्ना योजनाहरू कार्यान्वयन गर्ने कोसिस गरिरहेको बेला राष्ट्रका शासकहरूले आफूमाथि अचानक परमेश्‍वरको क्रोध आएको थाह पाउनेछन्‌। “उहाँको क्रोध चाँडैनै दन्कनेछ” वा छिट्टै र रोक्न नसकिने गरी आउनेछ। राष्ट्रका शासकहरूले कृतज्ञतापूर्वक यो चेतावनी स्वीकार्नुपर्छ र यसै अनुरूप काम गर्नुपर्छ। यसो गर्नुको अर्थ जीवन हुनेछ।

२३. व्यक्‍तिविशेषको लागि अझै के गर्ने मौका छ?

२३ यो नाटकीय भजन यसरी टुंङ्‌गिन्छ: “उहाँको [यहोवाको] शरण लिनेहरू सबै धन्यका हुन्‌।” (भजन २:१२ख) व्यक्‍तिविशेषको लागि अझै पनि सुरक्षा पाउने मौका छ। आफ्नो राष्ट्रको योजना अनुरूप अघि बढिरहेका प्रत्येक शासकहरूलाई पनि यो कुरा लागू हुन्छ। तिनीहरू झट्टै यहोवातर्फ आउन सक्छन्‌, जसले राज्य शासनअन्तर्गत शरण दिनुहुन्छ। तर मसीही राज्यले विरोधी राष्ट्रहरूलाई चकनाचूर पार्नुअघि नै तिनीहरूले कदम चाल्नुपर्छ।

२४. यस सङ्‌कटग्रस्त संसारमा समेत हामी कसरी अझ बढी सन्तोषजनक जीवन बिताउन सक्छौं?

२४ हामीले लगनशीलतापूर्वक धर्मशास्त्र अध्ययन गऱ्‍यौं र यसको सल्लाहलाई जीवनमा लागू गऱ्‍यौं भने अहिले यस सङ्‌कटग्रस्त संसारमा समेत अझ बढी सन्तोषजनक जीवन बिताउन सक्छौं। धर्मशास्त्रीय सल्लाहहरू लागू गर्दा पारिवारिक सम्बन्ध अझ रमाइलो हुन्छ र यस संसारले भोग्ने थुप्रै चिन्ता तथा डरहरूबाट मुक्‍त हुन्छौं। बाइबलको डोऱ्‍याइ पछ्याउँदा यसले सृष्टिकर्तालाई प्रसन्‍न तुल्याइरहेका छौं भनेर हामीलाई विश्‍वस्त बनाउँछ। परमेश्‍वरको राज्य शासनलाई तिरस्कार गरेर सही कुराको विरोध गर्नेहरूलाई यस पृथ्वीबाट हटाउनुभएपछि विश्‍वव्यापी सार्वभौमबाहेक अरू कसैले पनि “अहिले भइरहेको र पछि हुनेसमेत जीवनको” ग्यारेण्टी दिन सक्दैन।—१ तिमोथी ४:८.

२५. “यहोवाको उर्दी” विफल हुन नसक्ने भएकोले हाम्रो समयमा के हुने आशा हामी गर्न सक्छौं?

२५ “यहोवाको उर्दी” विफल हुन सक्दैन। हाम्रो सृष्टिकर्ता हुनुभएकोले गर्दा मानिसजातिहरूको लागि सबैभन्दा राम्रो कुरा के हो भनी परमेश्‍वरलाई थाह छ र आफ्नो प्रिय पुत्रको राज्यअन्तर्गत आज्ञाकारी मानिसहरूलाई शान्ति, सन्तुष्टि र चिरकालीन सुरक्षाको आशिष्‌ दिने आफ्नो उद्देश्‍य उहाँले पूरा गर्नुहुनेछ। हाम्रो समयबारे अगमवक्‍ता दानियलले यस्तो लेखे: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन। . . . त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) त्यसैले, “पुत्रलाई चुम्बन” गर्ने र सार्वभौम प्रभु यहोवाको सेवा गर्ने समय पक्कै पनि अहिल्यै हो!

[फुटनोटहरू]

a सुरुमा, राजा दाऊद परमेश्‍वरले “अभिषेक गर्नुभएको जन” थिए र तिनको विरुद्ध सेनाहरू भेला गर्ने पलिश्‍ती शासकहरू चाहिं “पृथ्वीका राजाहरू” थिए।

b मसीही युनानी धर्मशास्त्रका अरू पदहरूले पनि भजन दोस्रो अध्यायमा सङ्‌केत गरिएको परमेश्‍वरको अभिषिक्‍त जन येशू नै हुनुहुन्छ भनी देखाउँछन्‌। भजन २:७ लाई प्रेरित १३:३२, ३३ र हिब्रू १:५; ५:५ सित तुलना गर्दा यो कुरा प्रष्ट हुन्छ। भजन २:९ र प्रकाश २:२७ पनि हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• जाति जातिहरूले कस्तो “व्यर्थका कुरा सोच्तछन्‌”?

• यहोवा किन राष्ट्रहरूलाई खिसी गर्नुहुन्छ?

• राष्ट्रहरू विरुद्ध परमेश्‍वरको उर्दी कस्तो छ?

• “पुत्रलाई चुम्बन” गर्नुको अर्थ के हो?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

दाऊदले विजयी मसीही राजाबारे गीत गाए

[पृष्ठ १७-मा भएको चित्र]

इस्राएलका शासक तथा जनताहरूले येशू ख्रीष्ट विरुद्ध षड्यन्त्र रचे

[पृष्ठ १८-मा भएको चित्र]

ख्रीष्टलाई स्वर्गीय सियोन डाँडामा राजाको हैसियतमा स्थापित गरिएको छ