सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌

आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌

आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌

“कुनै मानिसलाई आफू कुन बन्दरगाहतर्फ जाँदैछु भन्‍ने नै थाह छैन भने उसलाई जुन दिशाबाट हावा बहे पनि के मतलब।” यो कथन प्रथम-शताब्दीका रोमी दर्शनशास्त्रीको हो जसले जीवनलाई कुनै दिशातर्फ लैजानको लागि लक्ष्य हुनु आवश्‍यक छ भन्‍ने तथ्यलाई औंल्याउँछ।

बाइबलमा लक्ष्यहरू निर्धारण गर्न सजग भएका व्यक्‍तिहरूको उदाहरण पाइन्छ। लगभग ५० वर्षसम्म खटेर नूहले “आफ्ना परिवारलाई बचाउन . . . जहाज तयार पारे।” अगमवक्‍ता मोशाले ‘आफ्नो दृष्टि प्रतिफलतिर लगाए।’ (हिब्रू ११:७, २६) मोशाका उत्तराधिकारी यहोशूलाई कनानी भूभाग जित्ने लक्ष्य परमेश्‍वरले नै राखिदिनुभयो।—व्यवस्था ३:२१, २२, २८; यहोशू १२:७-२४.

सा.यु. प्रथम शताब्दीमा प्रेरित पावलको आध्यात्मिक लक्ष्य “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई . . . प्रचार गरिनेछ” भनी येशूले भन्‍नुभएका शब्दहरूले अवश्‍य पनि अत्यन्तै प्रभावित थिए। (मत्ती २४:१४) “अन्यजातिहरू . . . सामु [येशूको] नाउँ” वहन गर्ने जिम्मेवारीलगायत प्रभु येशू स्वयम्‌ले दिनुभएको सन्देश तथा दर्शनबाट प्रोत्साहित हुँदै एसिया माइनरभरि र युरोपसम्म धेरै मसीही मण्डलीहरू स्थापना गर्नमा प्रेरित पावलले मुख्य भूमिका निभाए।—प्रेरित ९:१५; कलस्सी १:२३.

हो, यहोवाका सेवकहरूले इतिहासभरि नै उच्च लक्ष्यहरू राख्नुका साथै परमेश्‍वरको महिमा गर्न ती लक्ष्यहरू पूरा गरेका छन्‌। आज हामी कसरी आध्यात्मिक लक्ष्यहरू राख्न सक्छौं? हामीले कस्ता लक्ष्यहरू प्राप्त गर्न प्रयत्न गर्न सक्छौं अनि ती हासिल गर्नको लागि कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौं?

सही मनोवृत्ति अत्यावश्‍यक छ

जीवनका कुनै पनि क्षेत्रमा लक्ष्यहरू राख्न सकिन्छ अनि लक्ष्यप्रति सजग मानिसहरू यो संसारमा पनि छन्‌। यद्यपि, ईश्‍वरतान्त्रिक लक्ष्यहरू र सांसारिक महत्त्वाकांक्षाहरू एउटै होइनन्‌। संसारमा राखिने धेरैजसो लक्ष्यको पछाडि धन प्राप्त गर्ने अचाक्ली चाहना अनि ओहदा र शक्‍तिको अतृप्त भोक लुकेको हुन्छ। शक्‍ति हासिल गर्न र नाम कमाउनको लागि लक्ष्यको पछाडि दौडनु कस्तो भूल हुनेछ! यहोवा परमेश्‍वरको महिमा गर्ने लक्ष्यहरूको प्रत्यक्ष सम्बन्ध उहाँको उपासना र परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिहरूसित हुन्छ। (मत्ती ६:३३) यस्ता लक्ष्यहरू परमेश्‍वर र सहमानवहरूप्रतिको प्रेमबाट उत्प्रेरित हुन्छ र यी लक्ष्यहरूको मुख्य उद्देश्‍य ईश्‍वरीय भक्‍ति हो।—मत्ती २२:३७-३९; १ तिमोथी ४:७.

हामीले आध्यात्मिक लक्ष्यहरू राख्दा र त्यो प्राप्त गर्न अघि बढ्‌दा हाम्रा मनसायहरू शुद्ध होऊन्‌ चाहे ती लक्ष्यहरू सेवाका सुअवसरहरू बढाउन होस्‌ वा व्यक्‍तिगत तवरमा आध्यात्मिक प्रगति गर्न होस्‌। यद्यपि, शुद्ध मनसायले राखिएका लक्ष्यहरू पनि कहिलेकाहीं हासिल हुँदैनन्‌। हामी कसरी लक्ष्यहरू राख्न र त्यो हासिल गर्ने सम्भावनालाई अझ प्रबल बनाउन सक्छौं?

तीव्र इच्छा हुनै पर्छ

यहोवाले ब्रह्‍माण्डको सृष्टि कसरी पूरा गर्नुभयो विचार गर्नुहोस्‌। “साँझ पऱ्‍यो बिहान भयो” भन्‍नुभएर यहोवाले सृष्टिको क्रमबद्ध चरणलाई स्पष्टसित सङ्‌केत गर्नुभयो। (उत्पत्ति १:५, ८, १३, १९, २३, ३१) हरेक सृष्टिको क्रमबद्ध चरणको सुरुमा उहाँलाई उक्‍त दिनको लागि आफ्नो लक्ष्य, उद्देश्‍य थाह थियो। अनि परमेश्‍वरले विभिन्‍न थोकहरू सृष्टि गर्ने आफ्नो उद्देश्‍य हासिल गर्नुभयो। (प्रकाश ४:११) कुलपिता अय्यूबले यसो भने, “[यहोवाले] आफ्नो मनको इच्छाबमोजिम गर्नुहुन्छ।” (अय्यूब २३:१३) “आफुले बनाउनुभएको हरेक कुरा” हेर्दा अनि “त्यो साह्रै राम्रो” भनी उद्‌घोष गर्न पाउँदा यहोवालाई कति ठूलो सन्तुष्टि महसुस भएको हुनुपर्छ।—उत्पत्ति १:३१.

हाम्रा लक्ष्यहरू वास्तविकतामा परिणत हुन हामीसित पनि लक्ष्य हासिल गर्ने बलियो इच्छा हुनै पर्छ। त्यस्तो तीव्र इच्छा विकास गर्न हामीलाई कुन कुराले मदत गर्नेछ? पृथ्वी आकार बिनाको र शून्य हुँदा समेत यहोवाले अन्तिम परिणाम पहिल्यै हेर्न सक्नुहुन्थ्यो अनि त्यो अन्तिम परिणाम अन्तरिक्षमा भएको एउटा सुन्दर रत्न थियो, जसले उहाँको महिमा र आदर गर्थ्यो। त्यसरी नै लक्ष्य हासिल गरेपछि प्राप्त हुने नतिजा र फाइदाहरूमा मनन गरेर लक्ष्य हासिल गर्ने इच्छा बढाउन सकिन्छ। टोनी नाउँको १९ वर्षीय जवानको यस्तै अनुभव थियो। पश्‍चिमी युरोपको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा भ्रमण गर्दा उनको मनमा परेको पहिलो छापलाई उनले कहिल्यै बिर्सेनन्‌। त्यसपछि टोनीको दिमागमा यो प्रश्‍न घुमिरह्‍यो, ‘यस्तो ठाउँमा बस्न र सेवा गर्न पायो भने जीवन कस्तो होला?’ टोनीले त्यहाँ काम गर्ने सम्भावनाबारे सोच्न कहिल्यै बन्द गरेनन्‌ अनि उनले उक्‍त लक्ष्य हासिल गर्न प्रयास गरिरहे। केही वर्षपछि शाखामा काम गर्ने उनको निवेदन स्वीकृत हुँदा उनी कत्ति खुसी भए!

कुनै खास लक्ष्य हासिल गरिसकेका व्यक्‍तिहरूसित सङ्‌गत गर्नाले पनि हाम्रो मनमा उक्‍त लक्ष्य हासिल गर्ने चाहना पलाउँछ। तीस वर्ष पुगेका जेसनलाई भर्खरै किशोरावस्थामा प्रवेश गर्दा क्षेत्र सेवकाईमा भाग लिन रमाइलो लाग्दैनथ्यो। तर हाई-स्कूलको पढाइ सकेपछि उनी उत्सुकतासाथ अग्रगामी सेवामा प्रवेश गरे र यसरी उनी पूर्ण-समय राज्य उद्‌घोषक बने। जेसनलाई अग्रगामी बन्‍ने चाहना विकास गर्न कुन कुराले मदत गऱ्‍यो? उनी यस्तो जवाफ दिन्छन्‌: “अग्रगामी गर्नेहरूसित कुराकानी गर्दा र सेवकाईमा उनीहरूसित सँगै काम गर्दा त्यसले उनको मनमा गहिरो असर पाऱ्‍यो।

आफ्ना लक्ष्यहरू लेख्दा ती हासिल गर्न मदत मिल्न सक्छ

कुनै अस्पष्ट विचारलाई व्यक्‍त गर्न जब हामी शब्दहरूको चयन गर्छौं तब मात्र त्यो विचार स्पष्ट अनि ठोस हुन्छ। सुलेमानले सही शब्दहरू गोठालाका लाठोहरूझैं जीवनलाई निर्देशन दिन शक्‍तिशाली साबित हुन सक्छ भनी बताए। (उपदेशक १२:११) जब विचारलाई शब्दहरूमा लेखिन्छ त्यसले मन अनि हृदयमा गहिरो छाप पार्छ। अन्यथा, यहोवाले किन इस्राएलका राजाहरूलाई व्यवस्थाको व्यक्‍तिगत लिखित प्रति बनाउने आज्ञा दिनुहुन्थ्यो र? (व्यवस्था १७:१८) त्यसैले हामी आफ्ना लक्ष्यहरू र ती हासिल गर्ने तरिकाहरू अनि अपेक्षित बाधा र त्यसलाई जित्न सक्ने तरिकाहरू लेख्न चाहन्छौं होला। हामीले जान्‍नुपर्ने विषयहरू, सिक्नुपर्ने सीपहरू अनि हामीलाई मदत र सहयोग गर्न सक्ने व्यक्‍तिविशेष ठम्याउनु पनि मदतकारी हुन सक्छ।

एउटा एसियाली मुलुकको पृथक इलाकामा विशेष अग्रगामीको हैसियतमा लामो समयसम्म काम गरिरहेका जेफ्रीलाई आध्यात्मिक लक्ष्यहरू राख्दा आफ्नो सन्तुलन नगुमाउन मदत गऱ्‍यो। उनकी पत्नीको अचानक मृत्यु हुँदा उनीमाथि विपत्तिको बज्रपात भयो। शोकाकुल अवस्थापछि जेफ्रीले लक्ष्यहरू राखेर अग्रगामी सेवामा दत्तचित्त भएर लाग्ने निर्णय गरे। उनले आफ्ना योजनाहरू कागजमा लेखिसकेपछि महिनाको अन्तमा तीन जना बाइबल विद्यार्थीहरू बनाउने लक्ष्य प्रार्थनापूर्वक राखे। उनले हरेक दिन आफ्ना गतिविधिहरू पुनरावलोकन गरे र हरेक दश दिनपछि आफ्नो प्रगति जाँचे। के उनी आफ्नो लक्ष्यमा पुगे? आफ्ना नयाँ चार जना बाइबल अध्ययनहरूको रिपोर्ट दिएर उनी खुसीसाथ आफू आफ्नो लक्ष्यमा पुगेको कुरा बताउँछन्‌।

परीक्षणको रूपमा छोटो समयमा हासिल हुने लक्ष्यहरू राख्नुहोस्‌

सुरुमा कुनै-कुनै लक्ष्यहरू हासिल गर्न निकै गाह्रो जस्तो देखिन सक्छ। यहोवाका साक्षीहरूको शाखा कार्यालयमा काम गर्नु माथि उल्लिखित टोनीलाई सपना जस्तो लागेको थियो। किनभने उनले मनपरी जीवन शैली बिताइरहेका थिए र परमेश्‍वरलाई समर्पणसमेत गरेका थिएनन्‌। तर टोनीले आफ्नो जीवनलाई यहोवाको तौरतरिकाहरू अनुरूप बिताउने निर्णय गरे अनि बप्तिस्माको लागि योग्य हुने लक्ष्य बनाए। बप्तिस्मा लिने लक्ष्य हासिल गरिसकेपछि उनले सहायक र नियमित अग्रगामी सेवा गर्ने लक्ष्य राखेर त्यो सुरु गरेको दिन क्यालेन्डरमा चिह्न लगाए। केही समय अग्रगामी गरिसकेपछि शाखा कार्यालयमा सेवा गर्नु उनको लागि अव्यावहारिक लक्ष्य जस्तो देखिएन।

हामीले पनि लामो समयमा हासिल हुने लक्ष्यहरूलाई थोरै समयमा हासिल हुने लक्ष्यहरूमा विभाजन गर्न सक्छौं। ठूल-ठूला लक्ष्यहरू हासिल गर्ने प्रयासको क्रममा बीच-बीचमा राखिने स-साना लक्ष्यहरूले हासिल हुन धेरै समय लाग्ने लक्ष्यहरू हासिल गर्ने आधार दिन्छ। यस्ता स-साना लक्ष्यहरू राखेर उन्‍नति पुनरावलोकन गरिरहेमा आफ्नो ध्यान अन्त नअलमल्याइ लक्ष्यमा केन्द्रित गर्न हामीलाई मदत गर्छ। आफ्ना योजनाहरूबारे बारम्बार प्रार्थना गरिरहँदा लक्ष्यमा अटल भई लागिरहन मदत मिल्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए, “निरन्तर प्रार्थना गरिरहो।”—१ थिस्सलोनिकी ५:१७.

दृढ संकल्प र लगनशीलता चाहिन्छ

राम्ररी सोचीसम्झी बनाएका योजनाहरू र ती लागू गर्ने बलियो अठोट हुँदाहुँदै पनि कुनै-कुनै लक्ष्यहरू प्राप्त हुँदैनन्‌। आफ्नो दोस्रो मिसनरी यात्रामा प्रेरित पावलले चेला यूहन्‍ना-मर्कूसलाई लैजान नचाहँदा उनी कत्ति निराश भएको हुनुपर्छ! (प्रेरित १५:३७-४०) यस निराशाबाट मर्कूसले पाठ सिक्नुका साथै आफ्नो सेवकाईमा उन्‍नति ल्याउन उनले आफ्नो लक्ष्यमा छाँटकाँट गर्नुपरेको थियो। उनले ठीक त्यस्तै गरे। पछि पावलले मर्कूसबारे राम्रो टिप्पणी गरे र बेबिलोनमा उनले प्रेरित पत्रुससित घनिष्ठ सङ्‌गतिको आनन्द उठाए। (२ तिमोथी ४:११; १ पत्रुस ५:१३) सायद उनले पाएको सबैभन्दा ठूलो सुअवसर येशूको जीवन तथा सेवकाईबारे प्रेरित विवरणहरू लेख्न पाउनु थियो।

आफ्ना आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्ने क्रममा हामीले पनि असफलताहरू अनुभव गर्नुपर्ने हुन सक्छ। हरेस खानुको सट्टा पुनरावलोकन, पुनर्मूल्याङ्‌कन र काँटछाँटहरू गर्नै पर्छ। बाधाहरू आउँदा दृढ संकल्प अनि लगिरहने कटिबद्धताकासाथ अघि बढिरहनै पर्छ। बुद्धिमान्‌ राजा सुलेमान हामीलाई यस्तो आश्‍वसन दिन्छन्‌, “आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदेऊ, र तिम्रा योजनाहरू सफल हुनेछन्‌।”—हितोपदेश १६:३.

तैपनि, कहिलेकाहीं परिस्थितिले कुनै खास लक्ष्य प्राप्त गर्ने प्रयासलाई अव्यावहारिक बनाइदिन्छ। उदाहरणको लागि, खराब स्वास्थ्य अथवा पारिवारिक जिम्मेवारीहरूले कुनै-कुनै लक्ष्यहरू प्राप्त गर्न नसक्ने हुन सक्छन्‌। कहिल्यै नबिर्सौं, हाम्रो अन्तिम पुरस्कार भनेको स्वर्ग या पार्थिव प्रमोदवनमा अनन्त जीवन हो। (लूका २३:४३, NW; फिलिप्पी ३:१३, १४) यो कसरी प्राप्त गरिन्छ? प्रेरित यूहन्‍नाले यस्तो लेखे, “परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) हाम्रो परिस्थितिले हामीलाई कुनै लक्ष्य हासिल गर्नबाट रोके तापनि हामी ‘साँचो परमेश्‍वरको भय राख्न र उहाँका आज्ञा पालन गर्न’ सक्छौं। (उपदेशक १२:१३) आध्यात्मिक लक्ष्यहरूले ईश्‍वरीय इच्छा गर्नमा ध्यान केन्द्रित गरिरहन हामीलाई मदत गर्छ। त्यसैकारण आउनुहोस्‌, आध्यात्मिक लक्ष्यहरू राखेर हाम्रो सृष्टिकर्ताको महिमा गरौं।

[पृष्ठ २२-मा भएको चित्र]

विचार गर्न सकिने आध्यात्मिक लक्ष्यहरू

○ दिनहुँ बाइबल पढ्‌ने

प्रहरीधरहराब्यूँझनुहोस्‌!-को प्रत्येक अंकहरू पढ्‌ने

○ हाम्रा प्रार्थनाहरूको गुणस्तर बढाउने

○ आत्माका फलहरू खेती गर्ने

○ थप गतिविधिको लागि अग्रसर हुने

○ प्रचार गर्न र सिकाउन अझ प्रभावकारी बन्‍ने

○ टेलिफोन, अनौपचारिक तथा व्यापारीक क्षेत्रमा साक्षी दिने जस्ता दक्षताहरूको विकास गर्ने