सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क्यापडोसिया—जहाँ मानिसहरू हावा र पानीले कुँदेका घरहरूमा बस्थे

क्यापडोसिया—जहाँ मानिसहरू हावा र पानीले कुँदेका घरहरूमा बस्थे

क्यापडोसिया—जहाँ मानिसहरू हावा र पानीले कुँदेका घरहरूमा बस्थे

प्रेरित पत्रुसले क्यापडोसियाबारे बताए। आफ्नो पहिलो प्रेरित पत्रमा उनले “क्यापडोसिया . . . मा परदेशी भई बसेकाहरू[लाई]” पनि सम्बोधन गरे। (१ पत्रुस १:१) क्यापडोसिया कस्तो ठाउँ थियो? यहाँका बासिन्दाहरू किन ढुङ्‌गाले कुँदेका घरहरूमा बस्थे? तिनीहरूले कसरी मसीहीधर्मबारे जाने?

सन्‌ १८४० को दशकमा क्यापडोसियाको भ्रमण गर्ने एक जना बेलाइती यात्री डब्लु. एफ. एन्सवर्थले यसो भने, “अचानक हामी चुच्चे चट्टान र चट्टाने खम्बाहरूको जङ्‌गलमा हराउन पुग्यौं।” टर्कीको यस अद्वितीय भूदृश्‍यले वर्तमान समयका आगन्तुकहरूलाई आज पनि तीनछक पार्छ। क्यापडोसिया उपत्यकाभरि नै चुपचाप लहरै ठिङ्‌ग उभिरहेका पहरेदारहरू जस्ता देखिने ढुङ्‌गाका अनौठा “मूर्तिहरू” रहेका छन्‌। कुनै-कुनै त ३० मिटरभन्दा अग्ला आकाशै छुने भीमकाय चिम्नीहरूजस्ता देखिन्छन्‌। अन्य कतिपय विशाल आइसक्रिमको कोन, चुच्चे चारपाटे स्तम्भ अथवा च्याउजस्ता देखिन्छन्‌।

बिहानदेखि बेलुकीसम्म सूर्यले कति सुन्दर ढङ्‌गमा यी मूर्तिहरूलाई विभिन्‍न रङ्‌गहरूले पोतिदिन्छन्‌! मिरमिरेमा तिनीहरू फिका गुलाबी रङ्‌गले सजिन्छन्‌। मध्यदिनतिर तिनीहरू फिक्का घ्यू रङ्‌गले पोतिन्छन्‌ अनि सूर्यास्तले तिनीहरूलाई सुनौला गेरु रङ्‌गले सजाइदिन्छ। यी “चुच्चे चट्‌टान र चट्टानको जङ्‌ल” कसरी बने? अनि यस इलाकाका मानिसहरूले यसभित्र आफ्नो बासस्थान किन बनाए?

हावा र पानीले कुँदेका

क्यापडोसिया एसिया र युरोपलाई जोड्‌ने साँघु भनेर चिनिने एनाटोलियन प्रायद्वीपको मुटुमा रहेको छ। यदि यहाँ दुई वटा ज्वालामुखी नहुँदो हो त यो क्षेत्र अग्लो भागमा रहेको समथर मैदान हुने थियो। हजारौं वर्ष पहिले यहाँ शक्‍तिशाली ज्वालामुखी विस्फोट हुँदा यस क्षेत्रलाई दुई प्रकारको चट्टानले ढाक्यो—एउटा कडा आग्नेय चट्टान र अर्को ज्वालामुखीका खरानीहरू ठोसमा परिणत भएर बनेका फुस्रे रङ्‌गको नरम खाले टुफा नाउँको चट्टान।

नदी, वर्षा र हावाले यी नरम टुफा नाउँको चट्टानलाई खियाउन थालेपछि यहाँ नदी बग्ने घाटी बन्यो। समयको अन्तरालमा यी नदी बग्ने घाटीको छेउतिर रहेका केही भिरालो चट्टान बिस्तारै खिइदै गएर हजारौं चुच्चे चट्‌टानका स्तम्भहरूमा परिणत भए जसले यो भूभागलाई संसारमै कतै नभएका मूर्तिहरूले सजाइदियो। कुनै-कुनै चुच्चे चट्टानहरूमा यत्ति धेरै प्वालहरू छन्‌ कि तिनीहरू मौरीका चाकाहरू जस्तै देखिन्छन्‌। स्थानीय बासिन्दाहरूले नरम खालका चट्टानहरूमा कोठाहरू कुँदे र परिवार बढ्‌दै जाँदा कोठाहरूको संख्या बढाए। तिनीहरूले यी बासस्थानहरू गर्मीमा शीतल र जाडोमा न्यानो पाए।

सभ्यताको दोबाटोमा बसोबास गर्ने

क्यापडोसियाका बासिन्दाहरू सभ्यताको दोबाटोमा बसोबास नगरेका भए गुफाका यी बासिन्दाहरूको बाहिरी संसारसित त्यति सम्पर्क हुने थिएन। रोमी साम्राज्यलाई चीनसित जोड्‌ने ४,००० माइलको [६,५०० किलोमिटर] व्यापारिक मार्ग प्रसिद्ध सिल्क रोड क्यापडोसिया भएरै जान्थ्यो। व्यापारीहरूको अलावा, फारसी, युनानी र रोमी सिपाहीहरू समेत यही मार्ग भएर यात्रा गर्थे। यी यात्रीहरूले नयाँ धार्मिक विचारहरू भित्र्याए।

सा.यु.पू. दोस्रो शताब्दीसम्ममा क्यापडोसियामा यहूदी बस्तीहरू बस्न थालिसकेको थियो। अनि सा.यु. ३३ मा यस क्षेत्रका यहूदीहरू यरूशलेममा उपस्थित थिए। तिनीहरू त्यहाँ पेन्तिकोसको चाड मनाउन आएका थिए। त्यसैले, पवित्र-आत्मा खन्याइसकिएपछि प्रेरित पत्रुसले क्यापडोसियाली यहूदीहरूलाई प्रचार गरे। (प्रेरित २:१-९) कसै-कसैले उनको सन्देश ग्रहण गरेजस्तो देखिन्छ अनि तिनीहरूले आफूले पाएको नयाँ विश्‍वास आ-आफ्नो घरमा लिएर फर्के। त्यसैले पत्रुसले आफ्नो पहिलो पत्रमा क्यापडोसियाली मसीहीहरूलाई सम्बोधन गरे।

यद्यपि, समय बित्दै जाँदा क्यापडोसियाका मसीहीहरू गैर-मसीही दर्शनबाट प्रभावित हुन थाले। चौथो शताब्दीका तीन मुख्य क्यापडोसियाली चर्चका नेताहरूले त्रिएकको गैरधर्मशास्त्रीय सिद्धान्तलाई बचाउने प्रयास समेत गरे। तिनीहरू नाजीआन्जसका ग्रेगोरी, बासिल द ग्रेट र तिनका भाइ नीसाका ग्रेगोरी थिए।

बासिल द ग्रेटले भिक्षु जीवन शैलीलाई प्रोत्साहन दिने काम पनि गरे। ढुङ्‌गाले कुँदेका घरहरूमा बस्ने सीधासादा क्यापडोसियाली बासिन्दाहरूलाई उनले सल्लाह दिएको भिक्षु जीवन शैली अपनाउन सजिलो थियो। यस्तो जीवन शैली अपनाउने समुदायहरूको वृद्धि हुँदै जाँदा केही ठूल-ठूला चुच्चे चट्टानभित्र सिङ्‌गो चर्चहरू बनाइए। तेह्रौं शताब्दीसम्ममा यी चट्‌टानहरूभित्र तीन सय चर्चहरू निर्माण भइसेकका थिए। यी मध्ये धेरैजसो अहिलेसम्म पनि संरक्षित नै रहेका छन्‌।

चर्च र मठहरू अहिले प्रयोगमा नभए तापनि शताब्दीयौंको दौडान स्थानीय मानिसहरूको जीवन शैलीमा त्यति धेरै परिवर्तनहरू आएका छैनन्‌। अहिले पनि धेरै गुफाहरू बासस्थानकै रूपमा रहेका छन्‌। क्यापडोसियामा भ्रमण गर्न आगन्तुकहरू यहाँका उद्यमी बासिन्दाहरूले कसरी प्राकृतिक बनौटहरूलाई बस्न लायकको बासस्थानमा परिणत गरे भनी तीनछक नपर्ने कमै हुन्छन्‌।

[पृष्ठ २५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

क्यापडोसिया

चीन (क्याथे)