सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गन्तीको पुस्तकका विशेषताहरू

गन्तीको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

गन्तीको पुस्तकका विशेषताहरू

मिश्रबाट प्रस्थान गरेपछि इस्राएलीहरूलाई एउटा राष्ट्रको रूपमा संगठित बनाइयो। त्यसको लगत्तै तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न सक्थे तर तिनीहरू प्रवेश गरेनन्‌। त्यसो नगरी तिनीहरू झन्डै चार दशकसम्म “विशाल र भयानक जङ्‌गलका बीच” भौंतारिनुपऱ्‍यो। (व्यवस्था ८:१५) किन? बाइबलको पुस्तक गन्तीमा दिइएको ऐतिहासिक विवरणले के भएको थियो भनी हामीलाई बताउँछ। यसले हामीलाई यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्ने र उहाँका प्रतिनिधिहरूको आदर गर्नुपर्ने कुराको महत्त्व बुझ्न मदत गर्नुपर्छ।

मोशाले गन्तीको पुस्तक उजाडस्थान अनि मोआबको मैदानमा लेखेका थिए र यो पुस्तक लेख्न ३८ वर्ष र ९ महिना लागेको थियो अर्थात्‌ सा.यु.पू. १५१२ देखि सा.यु.पू. १४७३ सम्म। (गन्ती १:१; व्यवस्था १:३) यस पुस्तकको नाउँ इस्राएलमा ३८ वर्षको अन्तरमा लिइएको दुइटा गणनामा आधारित छ। (अध्याय १-४, २६) यो विवरण तीन भागमा विभाजित छ। पहिलो भागमा सीनै पर्वतमा घटेका घटनाहरूको वृत्तान्त छ। दोस्रो भागमा इस्राएलीहरू उजाडस्थानमा भौंतारिंदा भएका घटनाहरू समावेश छन्‌। अनि अन्तिम भागमा मोआबको मैदानमा भएका घटनाहरू छलफल गरिएको छ। यो विवरण पढ्‌दै जाँदा तपाईं आफूलाई यस्तो प्रश्‍न सोध्न चाहनुहोला: ‘यी घटनाहरूबाट म के सिक्न सक्छु? आज पनि मैले लाभ उठाउन सक्ने के त्यस्ता सिद्धान्तहरू यस पुस्तकमा छन्‌?’

सीनै पर्वतमा

(गन्ती १:१–१०:१०)

गन्तीको पुस्तकमा उल्लेख गरिएका दुइटा गणनामध्ये पहिलो चाहिं इस्राएलीहरू सीनै पर्वतको बेंसीमै हुँदा गरिन्छ। लेवीहरू बाहेक २० वर्ष र त्यसभन्दा माथिका पुरुषहरूको जम्मा संख्या ६,०३,५५० थियो। गणना लिनुको उद्देश्‍य स्पष्टतः सेनाको लागि थियो। स्त्री, केटाकेटी र लेवीहरू गरेर शिविरमा ३० लाखभन्दा बढी मानिसहरू भएका हुन सक्छन्‌।

गणनापछि इस्राएलीहरूलाई कसरी अनुशासित ढङ्‌गमा हिंड्‌ने, लेवीको काम र बासस्थानको सेवासम्बन्धी विस्तृत जानकारी, रोगीहरूलाई अलग्गै राख्नेसम्बन्धी आज्ञा, डाहसम्बन्धी मामिलाको व्यवस्था र नाजिरीहरूको भाकलसम्बन्धी निर्देशनहरू दिइयो। अध्याय ७ मा वेदीको समर्पणमा कुलनायकहरूले चढाउने बलिदानबारे जानकारी दिइएको छ भने अध्याय ९ मा निस्तार चाडबारे छलफल गरिएको छ। समुदायलाई पाल टाँग्दा र त्यहाँबाट प्रस्थान गर्दा सम्बन्धी निर्देशनहरू पनि दिइएको छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१, २—तीन भागमा विभाजित कुलले उजाडस्थानमा आ-आफ्नो “ध्वजा[को]” छेउमा पाल टाँग्नुपर्ने थियो र यी “ध्वजा[हरू]” के थिए? बाइबलले यी ध्वजाहरू के थिए भनी बताउँदैन। तथापि, तिनीहरू पवित्र चिह्न थिएनन्‌ न त्यसको कुनै धार्मिक महत्त्व नै थियो। ती ध्वजाहरू व्यावहारिक उद्देश्‍यको लागि अथवा भन्‍ने हो भने, छाउनीमा आफ्नो ठाउँ भेट्टाउन मदत गर्नको लागि थिए।

५:२७—व्यभिचारको दोषी पत्नीको ‘जाङ कुहिजानेछ’ भन्‍नुको अर्थ के हो? यहाँ “जाङ” शब्द प्रजनन अङ्‌गहरू बुझाउन प्रयोग गरिएको छ। ‘कुहिजानेछ’ भन्‍ने शब्दले गर्भधारण गर्न असमर्थ हुने गरी ती अङ्‌गहरू काम नलाग्ने हुँदै जानुलाई बुझाउँछ।

हाम्रा लागि पाठहरू:

६:१-७. नाजिरीहरूले दाखमद्य र कुनै पनि मत्ताउने पेयपदार्थ पिउनु हुँदैनथ्यो, आत्म-तिरस्कार आवश्‍यक थियो। तिनीहरूले आफ्नो कपाल लामो राख्नुपर्थ्यो—यो कुनै स्त्री आफ्नो पति वा पिताको अधीनमा बस्नुपरेझैं यहोवाको अधीनमा रहेको चिह्न थियो। नजिकको नातेदारको मुर्दाको समेत नजिक नगएर नाजिरीहरूले आफूलाई शुद्ध राख्नुपर्थ्यो। पूर्ण-समय सेवकहरूले आत्म-तिरस्कार र यहोवा अनि उहाँको प्रबन्धको अधीनमा बस्ने सन्दर्भमा आत्मत्यागको भाव देखाउँछन्‌। कुनै-कुनै कार्यभारहरू स्वीकार्नुको अर्थ टाढा मुलुकहरूमा जानु हुन सक्छ जसको कारण आफ्नो परिवारको नजिकको सदस्यको मृत्यु हुँदा समेत घर फर्कन गाह्रो वा असम्भव समेत हुन सक्छ।

८:२५, २६. लेवीहरूको सेवाको काममा योग्य व्यक्‍ति होस्‌ भनी सुनिश्‍चित गर्न अनि पाको व्यक्‍तिहरूको उमेरको ख्याल राख्दै तिनीहरूले अनिवार्य रूपमा सेवाबाट अवकाश लिनुपर्थ्यो। तथापि, तिनीहरूले अन्य लेवीहरूलाई सहायता गर्न सक्थे। आज परमेश्‍वरको राज्य उद्‌घोषक हुनबाट अवकाश त पाइँदैन तर यस व्यवस्थाको सिद्धान्तले हामीलाई महत्त्वपूर्ण पाठ सिकाउँछ। ढल्कँदो उमेरको कारण कुनै मसीहीले आफ्ना केही जिम्मेवारीहरू पूरा गर्न सक्दैनन्‌ भने आफ्नो बलले भ्याउने सेवामा भाग लिन सक्छन्‌।

उजाडस्थानमा एक ठाउँबाट अर्को ठाउँ

(गन्ती १०:११–२१:३५)

जब बासस्थानको माथिबाट बादल अन्ततः हट्‌छ तब इस्राएलीहरूले आफ्नो यात्रा सुरु गर्छन्‌ र ३८ वर्ष र एक वा दुई महिनापछि तिनीहरू मोआबको मैदानमा पुग्ने यात्रा थाल्छन्‌। तिनीहरूले कुन-कुन बाटो हुँदै यात्रा गरे भनी थाह पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित “सी द गूड ल्याण्ड” पुस्तिकाको पृष्ठ ९ को मानचित्र हेर्नु लाभकारी हुन सक्छ।

उजाडस्थान पारानको कादेश भन्‍ने ठाउँतिर लाग्दा गनगन गरिएका घटनाहरूमध्ये तीनवटा लिपिबद्ध छन्‌। यहोवाले केही व्यक्‍तिहरूलाई भस्म पार्न अग्नि पठाउनुहुँदा पहिलो गनगन सामसुम हुन्छ। त्यसपछि इस्राएलीहरू मासुको लागि कराउन थाल्छन्‌ र यहोवाले तिनीहरूलाई बट्टै चराहरू दिनुहुन्छ। मरियम र हारूनले मोशा विरुद्ध गनगन गर्दा मरियम केही समयको लागि कोरले ग्रस्त हुन्छिन्‌।

कादेशमा पाल टाँगेर बस्दा प्रतिज्ञा गरिएको देशको जासुसी गर्न मोशाले १२ जना मानिसलाई पठाउँछन्‌। तिनीहरू ४० दिनपछि फर्कन्छन्‌। ती जासुसहरूमध्ये दस जनाको खराब वृत्तान्त पत्याएर तिनीहरू मोशा, हारून र विश्‍वासी जासुस यहोशू र कालेबलाई ढुङ्‌गाले हान्‍न खोज्छन्‌। यहोवाले तिनीहरूलाई रूढीले मार्ने विचार गर्नुहुन्छ तर मोशाले बिन्ती गर्छन्‌ र ती गणना भएकाहरूको मृत्यु नभएसम्म अर्थात्‌ ४० वर्षसम्म उजाडस्थानमा भौंतारिरहनेछन्‌ भनी परमेश्‍वरले घोषणा गर्नुहुन्छ।

यहोवाले थप नियमहरू दिनुहुन्छ। कोरह र अरूले मोशा तथा हारून विरुद्ध विद्रोह गर्न थाल्छन्‌ तर विद्रोहीहरू या त आगोले भस्म हुन्छन्‌ वा धर्ती फाटिएर तिनीहरू निलिन्छन्‌। भोलिपल्ट सम्पूर्ण समुदायले मोशा र हारून विरुद्ध गनगन गर्न थाल्छन्‌। फलस्वरूप यहोवाबाट आएको विपत्तिमा १४,७०० को मृत्यु हुन्छ। आफूले प्रधान पूजाहारी छानेको थाह दिन परमेश्‍वरले हारूनको लहुरोमा कोपिला लगाउनुहुन्छ। त्यसपछि यहोवाले लेवीहरूको जिम्मेवारी र मानिसहरूलाई चोख्याउने सन्दर्भमा थप नियमहरू दिनुहुन्छ। रातो कोरलीको खरानी छर्कनुले येशूको बलिदानमार्फत शुद्ध पारिने कुरालाई पूर्वचित्रण गर्छ।—हिब्रू ९:१३, १४.

इस्राएलीहरू कादेशमा फर्कन्छन्‌ र त्यहाँ मरियमको मृत्यु हुन्छ। समुदायले फेरि मोशा र हारून विरुद्ध गनगन गर्न थाल्छन्‌। तिनीहरूले गनगन गर्नुको कारण? पानीको अभाव। चमत्कारपूर्ण ढङ्‌गमा पहराबाट पानी निकाल्दा मोशा र हारूनले यहोवाको नाउँको प्रशंसा गर्न चुकेको कारण तिनीहरूले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने सुअवसर गुमाउँछन्‌। इस्राएल कादेशबाट हिंड्‌छन्‌ र होर पर्वतमा हारूनको मृत्यु हुन्छ। एदोममा यात्रा गर्दै गर्दा इस्राएलीहरू थाक्छन्‌ र परमेश्‍वर र मोशा विरुद्ध बोल्न थाल्छन्‌। यहोवाले तिनीहरूलाई सजाय दिन विषालु सर्पहरू पठाउनुहुन्छ। फेरि मोशाले ती मानिसहरूको निम्ति बिन्ती गर्छन्‌ र यहोवाले तिनलाई पित्तले साँप बनाएर खाँबामा झुन्ड्याउन भन्‍नुहुन्छ र सर्पले डसेकाहरू त्यसलाई हेरेपछि निको हुन्छन्‌। सर्पले हाम्रो अनन्त हितको लागि येशूलाई झुन्ड्याइने कुरालाई पूर्वचित्रण गर्छ। (यूहन्‍ना ३:१४, १५) इस्राएलले एमोरी राजाहरू सीहोन र ओगलाई परास्त गर्छन्‌ र तिनीहरूको भूमि कब्जा गर्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१२:१—मरियम र हारून किन मोशाको विरुद्ध बोल्न थाले? तिनीहरूले मोशाको विरुद्धमा बोल्न थाल्नुको खास कारण वास्तवमा अझ शक्‍ति हासिल गर्ने मरियमको इच्छा थियो। जब मोशाकी पत्नी सिप्पोरा फेरि तिनीकहाँ उजाडस्थानमा फर्किन्‌, मरियमलाई आफू अब शिविरकी प्रथम महिला हुँदिन भन्‍ने डर लागेको हुन सक्छ।—प्रस्थान १८:१-५.

१२:९-११—मरियमलाई मात्र कोर लाग्नुको कारण के थियो? विरोध गर्न उक्साउने र हारूनलाई पनि उनको साथ दिन मनाउने सम्भवतः उनी नै थिइन्‌। हारूनले आफ्नो गल्ती स्वीकारेर सही मनोवृत्ति देखाए।

२१:१४, १५—यहाँ उल्लेख गरिएको पुस्तक के थियो? बाइबल लेखकहरूले स्रोत वस्तुको रूपमा चलाएका विभिन्‍न पुस्तकहरूबारे धर्मशास्त्रमा सङ्‌केत गरिएको छ। (यहोशू १०:१२, १३; १ राजा ११:४१; १४:१९, २९) “परमप्रभुको युद्धपुस्तक” पनि त्यस्तै एउटा पुस्तक थियो। त्यस पुस्तकमा यहोवाका जनहरूले लडेका युद्धहरूको ऐतिहासिक विवरण थियो।

हाम्रा लागि पाठहरू:

११:२७-२९. यहोवाको सेवामा अरूले सुअवसरहरू प्राप्त गर्दा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ भन्‍ने सन्दर्भमा मोशाले असाध्यै राम्रो उदाहरण बसालेका छन्‌। एलदाद र मेदादले अगमवाणी गर्न थाल्दा मोशा डाही हुँदै आफ्नो लागि महिमा खोज्नुको सट्टा खुसी भए।

१२:२, ९, १०; १६:१-३, १२-१४, ३१-३५, ४१, ४६-५०. ईश्‍वर-प्रदत्त अख्तियारप्रति आफ्ना उपासकहरूले आदर देखाएको यहोवा चाहनुहुन्छ।

१४:२४. खराब गर्ने सांसारिक दबाबको प्रतिरोध गर्ने मुख्य तरिका “अर्कै आत्मा” अथवा मनोवृत्ति विकास गर्ने हो। यो मनोवृत्ति संसारको जस्तो हुनुहुँदैन।

१५:३७-४१. इस्राएलीहरूको लुगाको किनारमा विशेष प्रकारको झुम्काले तिनीहरूलाई, तिनीहरू परमेश्‍वरको उपासनाको लागि छुट्याइएको जाति हुनुका साथै तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नुपर्छ भनी सम्झाउनु पर्थ्यो। के हामी पनि परमेश्‍वरको स्तर अनुरूप जीवन बिताएर संसारबाट भिन्‍न देखिनु पर्दैन र?

मोआबको मैदानमा

(गन्ती २२:१–३६:१३)

इस्राएलीहरू मोआबको मैदानमा पाल टाँगेर बस्न थालेपछि मोआबीहरू तिनीहरूसँग साह्रै डराउँछन्‌। त्यसपछि मोआबका राजा बालाकले इस्राएलीहरूलाई सराप्न बिलामलाई बोलाउन पठाउँछन्‌। तर यहोवाले बिलामलाई उल्टै तिनीहरूलाई आशिष्‌ दिन लगाउनुहुन्छ। त्यसपछि इस्राएली पुरुषहरूलाई अनैतिकता र मूर्तिपूजामा फसाउन मोआबी तथा मिद्यानी स्त्रीहरू चलाइन्छ। फलस्वरूप यहोवाले गल्ती गर्ने २४,००० जनालाई नाश गर्नुहुन्छ। पीनहासले यहोवासँग टक्कर लिनु आफूलाई सह्‍य हुनेछैन भनी हात उठाएपछि मात्र विपत्तिको अन्त हुन्छ।

दोस्रो गणनाले यहोशू र कालेबबाहेक पहिलो गणनामा गन्ती गरिएको कोही पनि मानिस जीवित नभएको देखाउँछ। यहोशूलाई मोशाको उत्तराधिकारी बनाइन्छ। इस्राएलीहरूलाई विभिन्‍न बलिदान चढाउने विधि तथा भाकलहरूको सन्दर्भमा नियमहरू दिइन्छ। इस्राएलीहरूले मिद्यानीहरूसँग बदला लिन्छन्‌। रूबेन, गाद र मनश्‍शेको आधा कुल यर्दन नदीको पूर्वमा बस्न थाल्छन्‌। इस्राएलीहरूलाई यर्दन पार गर्ने र भूमि लिने सन्दर्भमा निर्देशन दिइन्छ। जमिनको सीमा कसरी तोक्ने भनी विस्तृत निर्देशन दिइन्छ। गोला हालेर जमिन कसलाई कति भनी निर्णय गर्नुपर्छ। लेवीहरूको जिम्मामा ४८ वटा सहर दिइन्छ र त्यसमध्ये ६ वटा शरण-नगर हुन्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२२:२०-२२—यहोवा किन बिलामसँग रिसाउनुभयो? इस्राएलीहरूलाई नसराप्नू भनी यहोवाले अगमवक्‍ता बिलामलाई भन्‍नुभएको थियो। (गन्ती २२:१२) तथापि, ती अगमवक्‍ता इस्राएलीहरूलाई सराप्ने मनसायले बालाकका मानिसहरूसँग गए। बिलाम मोआबी राजालाई खुसी पारेर तिनीबाट इनाम लिन चाहन्थे। (२ पत्रुस २:१५, १६; यहूदा ११) इस्राएलीहरूलाई सराप्नुको सट्टा आशिष्‌ दिन लगाइँदा समेत बिलामले इस्राएली पुरुषहरूलाई फसाउन बाल उपासक स्त्रीहरूलाई चलाउन सल्लाह दिएर राजाबाट निगाह खोजे। (गन्ती ३१:१५, १६) यसकारण, बिलामसँग परमेश्‍वरको रिसको कारण उनको अचाक्ली लोभ थियो।

३०:६-८—के मसीही पुरुषले आफ्नी पत्नीको भाकल रद्द गर्न सक्छन्‌? भाकलको सन्दर्भमा भन्‍ने हो भने, यहोवाले अहिले आफ्ना उपासकहरूलाई व्यक्‍तिविशेषको हिसाबमा हेर्नुहुन्छ। उदाहरणका लागि, यहोवाप्रतिको समर्पण व्यक्‍तिगत भाकल हो। (गलाती ६:५) एक जना पतिसँग त्यस्तो भाकल रद्द गर्ने अख्तियार छैन। तर पत्नीले परमेश्‍वरको वचनसँग वा पतिप्रति आफ्नो जिम्मेवारीसँग बाझिने भाकलहरू गर्नदेखि होसियार हुनुपर्छ।

हाम्रा लागि पाठहरू:

२५:११. पीनहासले यहोवाको उपासनाको लागि जोसको सन्दर्भमा हाम्रो लागि कस्तो राम्रो उदाहरण बसाले! मण्डली स्वच्छ राख्ने चाहनाले के हामीलाई कुनै घोर अनैतिकता भएको थाह भएमा मसीही प्राचीनहरूलाई रिपोर्ट गर्न उत्प्रेरित गर्नु पर्दैन र?

३५:९-२९. अन्जानमा कसैले मान्छे माऱ्‍यो भने त्यो मानिस केही समय भागेर शरण-नगरमा बस्नुपर्ने तथ्यले जीवन पवित्र हुनुका साथै हामीले यसलाई आदर गर्नुपर्छ भन्‍ने कुरा सिकाउँछ।

३५:३३. निर्दोषहरूको रगत बगाएर अशुद्ध पारिएको पृथ्वीलाई रक्‍तपात गर्नेको रगतले मात्र प्रायश्‍चित्त गर्न सक्छ। पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुअघि यहोवाले दुष्टहरूलाई नाश गर्नु कत्ति उचित छ!—हितोपदेश २:२१, २२; दानियल २:४४.

परमेश्‍वरको वचन प्रबल छ

हामीले यहोवा र उहाँका जनहरूमाझ जिम्मेवार ओहदामा नियुक्‍त भएकाहरूप्रति आदर देखाउनुपर्छ। यस कुरा गन्तीको पुस्तकले झनै स्पष्ट पार्छ। आज मण्डलीमा शान्ति र एकता कायम राख्न कस्तो महत्त्वपूर्ण पाठ!

गन्तीको पुस्तकमा बताइएका घटनाहरूले आफ्नो आध्यात्मिकतालाई बेवास्ता गर्नेहरू कत्ति सजिलै गनगन, अनैतिकता र मूर्तिपूजाजस्ता गलत कार्यहरूमा फस्न सक्छन्‌ भनी देखाउँछ। यस बाइबल पुस्तकमा पाइने केही उदाहरण तथा पाठहरू यहोवाका साक्षीहरूको मण्डलीहरूमा सेवा सभामा स्थानीय आवश्‍यकताको भागको लागि आधार हुन सक्छन्‌। साँच्चै हाम्रो जीवनमा “परमेश्‍वरको वचन जीवित र प्रबल” छ।—हिब्रू ४:१२.

[पृष्ठ २४, २५-मा भएको चित्र]

बासस्थानमाथि चमत्कारपूर्ण बादलमार्फत यहोवाले इस्राएली पाल टाँग्ने र प्रस्थान गर्ने निर्देशन दिनुभयो

[पृष्ठ २६-मा भएका चित्रहरू]

यहोवा हाम्रो आज्ञाकारिताको योग्य हुनुहुन्छ र आफ्ना प्रतिनिधिहरूलाई आदर गरेको उहाँ चाहनुहुन्छ