सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

व्यवस्थाको पुस्तकका विशेषताहरू

व्यवस्थाको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

व्यवस्थाको पुस्तकका विशेषताहरू

सा.यु.पू. १४७३ को कुरा हो। इस्राएलका सन्तानहरूलाई यहोवाले मिश्रको दासत्वबाट छुटाउनुभएको ४० वर्ष बितिसकेको छ। यत्तिका वर्ष उजाड-स्थानमा बिताइसकेपछि पनि इस्राएलीहरू अझै भूमिविहीन राष्ट्र छन्‌। यद्यपि, अन्तमा तिनीहरू प्रतिज्ञा गरिएको देशको सँघारमा उभिएका छन्‌। तिनीहरूले यसमाथि अधिकार गरेपछि के हुनेछ? तिनीहरूमाथि कस्ता समस्याहरू आइपर्नेछन्‌ अनि यसको सामना तिनीहरूले कसरी गर्नुपर्नेछ?

कनान देशमा प्रवेश गर्न इस्राएलले यर्दन नदी तर्नुअघि तिनीहरूसामु भएको गह्रौं जिम्मेवारीको लागि मोशाले समुदायलाई तयार पार्छन्‌। कसरी? प्रोत्साहन, आग्रह, सल्लाह र चेतावनीले भरिएका शृङ्‌खलाबद्ध प्रवचनहरू दिएर। यहोवा परमेश्‍वर ऐकान्तिक भक्‍तिको योग्य हुनुहुन्छ र इस्राएलीहरूले आफू वरपरका राष्ट्रहरूको तौरतरिका पछ्याउनु हुँदैन भनेर उनले तिनीहरूलाई सम्झाउँछन्‌। यिनै भाषणहरू मिलेर बाइबलको पुस्तक व्यवस्थाको मुख्य भाग बनेको छ। अनि ती भाषणहरूमा दिइएको सल्लाह आज हामीलाई पनि चाहिएकै सल्लाह हो किनभने हामी पनि यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ यहोवालाई ऐकान्तिक भक्‍ति चढाउनु एउटा चुनौती हो।—हिब्रू ४:१२.

अन्तिम अध्यायबाहेक अरू मोशाले लेखेको व्यवस्थाको पुस्तकले दुई महिनाभन्दा अलि बढी समयावधि ढाक्छ। a (व्यवस्था १:३; यहोशू ४:१९) त्यहाँ बताइएको कुराले आफ्नो सारा हृदयले यहोवा परमेश्‍वरलाई प्रेम गर्न र विश्‍वासीपूर्वक उहाँको सेवा गर्न हामीलाई कसरी मदत दिन सक्छ, आउनुहोस्‌ हेरौं।

‘तिमीहरूको आँखाले देखेका कुराहरू नबिर्स’

(व्यवस्था १:१–४:४९)

आफ्नो पहिलो प्रवचनमा, मोशा उजाड-स्थानमा भोगेका केही अनुभवहरू बताउँछन्‌। तिनी विशेष गरी त्यस्ता अनुभवहरू बताउँछन्‌, जो इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा अधिकार गर्ने तयारी गर्दा तिनीहरूको लागि मदतकारी हुनेछ। यहोवाले आफ्ना जनहरूलाई मायालु चासो प्रकट हुने ढङ्‌गमा संगठित पार्नुहुन्छ भनेर न्यायकर्त्ताहरूको नियुक्‍तिको विवरणले तिनीहरूलाई सम्झाएको हुनुपर्छ। दस जना जासूसको खराब रिपोर्टको कारण अघिल्लो पुस्ताले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएन भन्‍ने कुरा पनि मोशा बताउँछन्‌। आफ्नै आँखासामु प्रतिज्ञा गरिएको देश हुँदा यो चेतावनीमूलक उदाहरणले मोशाका स्रोताहरूलाई कस्तो प्रभाव पारेको हुनुपर्छ, विचार गर्नुहोस्‌ त।

तिनीहरू यर्दन नदी तर्नुअघि, यहोवाले इस्राएलका सन्तानहरूलाई दिनुभएको विजयहरूबारे सम्झँदा यसले नदी पारिपट्टि आफ्नो विजय सुरु गर्न तयार हुँदा तिनीहरूलाई साहस दिएको हुनुपर्छ। तिनीहरूले कब्जा गर्न लागेको भूमिमा मूर्तिपूजा व्याप्त थियो। त्यसैले मोशाले मूर्तिको उपासना विरुद्ध कडा चेतावनी दिनु कत्ति उपयुक्‍त छ!

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:४-६, ९, १९, २४, ३१-३५; ३:१-६—इस्राएलीहरूले किन यर्दनको पूर्वपट्टि बस्ने केही जातिहरूलाई नाश पारे तर त्यही क्षेत्रका अरूलाई भने नाश पारेनन्‌? यहोवाले इस्राएललाई एसावका सन्तानहरूसित झगडा नगर्न आज्ञा दिनुभयो। किन? किनभने तिनीहरू याकूबको दाइका सन्तानहरू थिए। इस्राएलीहरूले मोआबी र अम्मोनीहरूलाई दुर्व्यवहार गर्नु हुँदैनथ्यो वा तिनीहरू विरुद्ध युद्ध गर्नु हुँदैनथ्यो किनभने तिनीहरू अब्राहामको भतिजा लूतका वंशजहरू थिए। तथापि, एमोरी राजाहरू सीहोन र ओगसित भने त्यो भूमिमाथि आफ्नो अधिकार दाबी गर्ने यस्तो कुनै आधार थिएन। त्यसैले, सीहोनले इस्राएलीहरूलाई आफ्नो देश भएर जान नदिंदा र ओग तिनीहरूसित युद्ध गर्न आउँदा, कोही पनि नबाँच्ने गरी तिनीहरूको सहर ध्वंस पार्न यहोवाले इस्राएलीहरूलाई आज्ञा दिनुभयो।

४:१५-२०, २३, २४—प्रतिमाहरू बनाउन निषेध गर्नुको अर्थ कलात्मक उद्देश्‍य राखेर कुनै वस्तुहरूको नक्कल उतार्नु पनि के गलत हो? होइन। यहाँ उपासनाको लागि मूर्तिहरू बनाउन अर्थात्‌ ‘मूर्तिहरूको पूजा र सेवा गर्न’ निषेध गरिएको थियो। कलात्मक उद्देश्‍य राखेर कुनै वस्तुको मूर्ति वा चित्रहरू बनाउन धर्मशास्त्रले निषेध गर्दैन।—१ राजा ७:१८, २५.

हाम्रा लागि पाठहरू:

१:२, १९. “सेईर पर्वतको बाटो भएर होरेबबाट [सिनै पर्वत वरपरको पहाडी इलाका जहाँ दस आज्ञा दिइएको थियो] कादेशबर्नेसम्म जान” जम्मा एघार दिन मात्र लाग्ने भए तापनि इस्राएलका सन्तानहरू लगभग ३८ वर्षसम्म उजाड-स्थानमा डुलिरहे। यहोवाप्रति अनाज्ञाकारी हुँदा कत्ति ठूलो मोल चुकाउनुपऱ्‍यो!—गन्ती १४:२६-३४.

१:१६, १७. न्याय गर्ने सन्दर्भमा परमेश्‍वरको स्तर आज पनि परिवर्तन भएको छैन। न्यायिक समितिमा सेवा गर्ने जिम्मेवारी पाएकाहरूले कृपावाद वा मानिसको डरले आफ्नो न्यायलाई बङ्‌ग्याउन दिनु हुँदैन।

४:९. इस्राएलको सफलताको लागि ‘आफ्नो आँखाले देखेका कुराहरू नबिर्सन’ अत्यावश्‍यक थियो। प्रतिज्ञा गरिएको नयाँ संसार नजिकिंदै जाँदा, यहोवाको वचनको लगनशील विद्यार्थी भएर हामीले पनि उहाँका अद्‌भुत कार्यहरूमा ध्यान केन्द्रित गरिरहनु महत्त्वपूर्ण छ।

यहोवालाई प्रेम गर्नुहोस्‌ र उहाँका आज्ञाहरू पालन गर्नुहोस्‌

(व्यवस्था ५:१–२६:१९)

आफ्नो दोस्रो भाषणमा मोशाले सीनै पर्वतमा व्यवस्था दिएको कुरा सम्झाउँछन्‌ र दस आज्ञा दोहोऱ्‍याउँछन्‌। सातवटा राष्ट्र पूर्णतया विनाश हुनेछन्‌ भनी उल्लेख गरिएको छ। इस्राएलका सन्तानहरूलाई तिनीहरूले उजाड-स्थानमा सिकेको एउटा महत्त्वपूर्ण पाठबारे सम्झाइन्छ: “मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ।” नयाँ परिस्थितिमा तिनीहरूले ‘सबै आज्ञाहरू मान्‍नै पर्छ।’—व्यवस्था ८:३; ११:८.

प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि इस्राएलीहरूलाई उपासनाबारे मात्र नभई न्याय, सरकार, युद्ध र सामाजिक तथा व्यक्‍तिगत जीवनका सबै क्षेत्रहरूबारे नियमको खाँचो पर्नेछ। मोशाले यी नियमहरू दोहोऱ्‍याउँछन्‌ र यहोवालाई प्रेम गर्नु तथा उहाँका आज्ञाहरू पालन गर्नुको आवश्‍यकतामाथि जोड दिन्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

८:३, ४—उजाड-स्थानको यात्राको दौडान कुन अर्थमा इस्राएलीहरूको लुगा फाटेन र तिनीहरूको खुट्टा सुन्‍निएन? नियमित रूपमा मन्‍नको आपूर्ति भएजस्तै यो पनि एउटा चमत्कारपूर्ण प्रबन्ध थियो। सम्भवतः बच्चाहरू बढ्‌दै गएपछि र वयस्क व्यक्‍तिहरूको मृत्युपछि, इस्राएलीहरूले यात्रा सुरु गर्दा लगाएको लुगा र जुत्ता अर्को व्यक्‍तिलाई दिएर एकपछि अर्कोले गर्दै एउटै लुगा वा जुत्ता थुप्रै व्यक्‍तिहरूले लगाए। उजाड-स्थानको यात्रा सुरु गर्नुभन्दा अगाडि र उक्‍त यात्रा सिद्धिएपछि लिइएको दुइटा जनगणनाले देखाएअनुसार यात्राको दौडान इस्राएलीहरूको संख्यामा कुनै वृद्धि नभएकोले गर्दा सुरुमा यी सामग्रीहरू जति थिए ती सबैको लागि पर्याप्त भएको हुनुपर्छ।—गन्ती २:३२; २६:५१.

१४:२१—इस्राएलीहरूले आफैले चाहिं रगत ननिथारिएको मासु नखाने भए तापनि तिनीहरूले किन यो आफ्नो सहरमा बसोबास गर्ने परदेशीलाई दिन वा विदेशीहरूलाई बेच्न सक्थे? बाइबलमा चलाइएको “परदेशी” भन्‍ने शब्दले धर्म परिवर्तन गरेका वा त्यस देशको आधारभूत नियमहरू अनुरूप चलेर इस्राएलमा बसोबास गरेका तर यहोवाका उपासकहरू भने नबनेका गैर-इस्राएलीहरूलाई बुझाउन सक्छ। धर्म परिवर्तन नगरेको विदेशी वा परदेशी बासिन्दा व्यवस्थाको अधीनमा थिएनन्‌ र तिनले रगत ननिथारिएको मृत जनावर विभिन्‍न तरिकामा प्रयोग गर्न सक्थे। यस्ता जनावरहरू तिनीहरूलाई दिन वा बेच्न इस्राएलीहरूलाई अनुमति दिइएको थियो। अर्कोतर्फ, धर्म परिवर्तन गरेकाहरू भने व्यवस्थाको करारद्वारा बाँधिएका थिए। लेवी १७:१० मा सङ्‌केत गरिएअनुसार यस्ता व्यक्‍तिहरूलाई जनावरको रगत खान निषेध गरिएको थियो।

२४:६—“घट्ट वा जाँतो धितोमा” लिनु भनेको किन “प्राण बन्धक लिएको बराबर” थियो? घट्ट वा जाँतोले कुनै व्यक्‍तिको “प्राण” वा तिनको जीवन धान्‍ने साधनलाई सङ्‌केत गर्थ्यो। यीमध्ये कुनै एउटा धितोमा लिंदा सारा परिवार नै आफ्नो दैनिक भोजनबाट वञ्चित हुनुपर्थ्यो।

२५:९—विधवा भाउजूसित विवाह गर्न नमान्‍ने देवरलाई उसको जुत्ता फुकालेर मुखमा थुक्नुको अर्थ के हो? प्राचीन समयको इस्राएलमा “जग्गा-जमीन मोल तिरेर छुटाउँदा . . . दिने मानिसले आफ्नो जुत्ता फुकालेर, लिने मानिसलाई दिने चलन थियो।” (रूथ ४:७) त्यसैले विधवा भाउजूसित विवाह गर्न इन्कार गर्ने मानिसले आफ्नो जुत्ता फुकाल्नुले आफ्नो मृतक दाजुको लागि उत्तराधिकारी पैदा गर्ने आफ्नो ओहदा र अधिकार त्यागेको कुरा प्रमाणित गर्थ्यो। यो घृणित कार्य थियो। (व्यवस्था २५:१०) उसको मुखमा थुक्नु भनेको लाजमर्दो कुरा थियो।—गन्ती १२:१४.

हाम्रा लागि पाठहरू:

६:६-९. जसरी इस्राएलीहरूलाई व्यवस्था थाह हुनुपर्थ्यो त्यसरी नै हामीलाई पनि परमेश्‍वरका आज्ञाहरू थाह हुनुपर्छ, ती आज्ञाहरू सधैं सम्झनुपर्छ र आफ्ना छोराछोरीहरूलाई सिकाउनुपर्छ। हाम्रो हातले हाम्रा कामहरूलाई सङ्‌केत गर्ने हुनाले हामी यहोवाप्रति आज्ञाकारी छौं भन्‍ने कुरा हाम्रा कामहरूद्वारा देखाएर ‘ती आफ्नो हातमा चिह्नको लागि बाँधिराख्नुपर्छ।’ अनि ‘निधारमा भएको व्यवस्था-पत्रीझैं’ हाम्रो आज्ञाकारिता सबैले देख्ने हुनुपर्छ।

६:१६. पानीको अभाव भयो भनी गनगन गरेर इस्राएलीहरूले मस्सामा अविश्‍वासीपूर्वक यहोवाको परीक्षा गरेझैं हामी कहिल्यै पनि उहाँको परीक्षा नगरौं।—प्रस्थान १७:१-७.

८:११-१८. भौतिकवादले हामीलाई यहोवालाई बिर्सने बनाइदिन सक्छ।

९:४-६. हामी आत्म-धर्मी हुनदेखि जोगिनै पर्छ।

१३:६. अरू कसैको कारणले गर्दा हामीले आफूलाई यहोवाको उपासनादेखि अलग्याउनु हुँदैन।

१४:१. आफ्नो शरीरमा चोट पुऱ्‍याउँदा यसले मानव शरीरप्रति अनादर देखाउँछ र यो झूटो धर्मसित सम्बन्धित हुन सक्छ, त्यसैले यसबाट जोगिनै पर्छ। (१ राजा १८:२५-२८) हामीसित पुनरुत्थानको आशा भएकोले मृतकहरूको लागि यसरी अलापविलाप गर्नु अनुचित हो।

२०:५-७; २४:५. आफूले गरिरहेको काम महत्त्वपूर्ण भए तापनि विशेष परिस्थितिमा भएका व्यक्‍तिहरूप्रति विचारशील हुनुपर्छ।

२२:२३-२७. कुनै स्त्री बलात्कारको खतरामा पर्दा तिनको लागि सबैभन्दा प्रभावकारी सुरक्षा उपाय भनेको चिच्याउनु हो।

“जीवननै रोज”

(व्यवस्था २७:१–३४:१२)

यर्दन तरेपछि इस्राएलीहरूले ठूलठूला ढुङ्‌गाहरूमा व्यवस्था लेख्नुपर्छ र अनाज्ञाकारी व्यक्‍तिहरूले पाउने श्रापहरू र आज्ञाकारी व्यक्‍तिहरूले पाउने आशिष्‌हरू पनि घोषणा गर्नुपर्छ भनी आफ्नो तेस्रो भाषणमा मोशा बताउँछन्‌। चौथो भाषणको सुरुमा यहोवा र इस्राएलबीचको करारको नवीकरणबारे बताइएको छ। फेरि पनि मोशा अनाज्ञाकारिता विरुद्ध चेतावनी दिन्छन्‌ र “जीवननै रोज” भनी मानिसहरूलाई आग्रह गर्छन्‌।—व्यवस्था ३०:१९.

चारवटा प्रवचन दिनुको अलावा नेतृत्व परिवर्तनबारे मोशा बताउँछन्‌ र यहोवाको प्रशंसा गर्ने तथा अविश्‍वासको कारण आइपर्ने विपत्तिहरूबारे चेतावनी दिने एउटा मीठो भजन पनि इस्राएलीहरूलाई सिकाउँछन्‌। सबै कुलहरूलाई आशिष्‌ दिइसकेपछि १२० वर्षको उमेरमा मोशा मर्छन्‌ र तिनलाई गाडिन्छ। तिनको लागि ३० दिनसम्म शोक मनाइन्छ र यसले व्यवस्थाको पुस्तकको लगभग आधा समयावधि ढाक्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३२:१३, १४—इस्राएलीहरूलाई कुनै पनि प्रकारको बोसो खान निषेध गरिएको थियो, त्यसो भए तिनीहरूले ‘भेडाको बोसो’ खानुको अर्थ के हो? यहाँ यो अभिव्यक्‍ति लाक्षणिक रूपमा चलाइएको छ र यसले बगालको सर्वोत्कृष्ट भागलाई जनाउँछ। यही पदमा “गहुँको सबैभन्दा असल पीठो [“बोसो,” NW]” र “दाखको रस [“रगत,” NW]” भनी उल्लेख गरिएकोले यो अभिव्यक्‍ति यहाँ कवितात्मक शैलीमा चलाइएको हो भन्‍ने सङ्‌केत पाइन्छ।

३३:१-२९—इस्राएलका सन्तानहरूलाई आशिष्‌ दिंदा मोशाले किन शिमोनको नाउँ तोकेरै उल्लेख गरेनन्‌? किनभने शिमोन र लेवीले “निष्ठूर” व्यवहार गरेका थिए र तिनीहरूको रिस “भयानक” थियो। (उत्पत्ति ३४:१३-३१; ४९:५-७) तिनीहरूले अरू कुलहरूको जत्तिकै उत्तराधिकार पाएनन्‌। लेवीले ४८ वटा सहर पाए र शिमोनको भागचाहिं यहूदाकै इलाकाभित्र पर्थ्यो। (यहोशू १९:९; २१:४१, ४२) त्यसैले, मोशाले शिमोनलाई नाउँ तोकेरै आशिष्‌ दिएनन्‌। तथापि, सबै इस्राएलीहरूलाई एकै चोटि दिएको आशिष्‌मा शिमोनको आशिष्‌ पनि समावेश थियो।

हाम्रा लागि पाठहरू:

३१:१२. ससाना बच्चाहरू मसीही सभाहरूमा ठूला व्यक्‍तिहरूसित बस्नुपर्छ र सुन्‍ने तथा सिक्ने कोसिस गर्नुपर्छ।

३२:४. यहोवाले न्याय, बुद्धि, प्रेम र शक्‍तिजस्ता आफ्ना गुणहरू एकदमै सन्तुलित ढङ्‌गमा देखाउनुहुने हुनाले उहाँका सबै कामहरू सिद्ध छन्‌।

हाम्रो लागि मूल्यवान्‌

व्यवस्थाको पुस्तकले यहोवा “परमेश्‍वर एउटै” हुनुहुन्छ भनी बताउँछ। (व्यवस्था ६:४) यो पुस्तक परमेश्‍वरसित एउटा अद्वितीय सम्बन्धमा बाँधिएका मानिसहरूबारे बताउने पुस्तक हो। व्यवस्थाको पुस्तकले मूर्तिपूजा विरुद्ध पनि चेतावनी दिन्छ र साँचो परमेश्‍वरलाई ऐकान्तिक भक्‍ति चढाउनुको आवश्‍यकतामाथि जोड दिन्छ।

निस्सन्देह, व्यवस्थाको पुस्तक हाम्रो लागि मूल्यवान्‌ छ! हामी व्यवस्थाको अधीनमा नभए तापनि यसबाट हामी थुप्रै कुरा सिक्न सक्छौं जसले हामीलाई ‘परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर्न’ मदत दिनेछ।—व्यवस्था ६:५.

[फुटनोट]

a मोशाको मृत्युको विवरण समावेश भएको अन्तिम अध्याय यहोशू वा प्रधान पूजाहारी एलाजारद्वारा थपिएको हुन सक्छ।

[पृष्ठ २४-मा भएको नक्सा]

सेईर

कादेशबर्ने

सीनै पर्वत (होरेब)

लाल समुद्र

[स्रोत]

Based on maps copyrighted by Pictorial Archive (Near Eastern History) Est. and Survey of Israel

[पृष्ठ २४-मा भएको चित्र]

मोशाका प्रवचनहरू व्यवस्था पुस्तकको मुख्य भाग हो

[पृष्ठ २६-मा भएको चित्र]

यहोवाले मन्‍नको प्रबन्ध गर्नुभएको कुराले के पाठ सिकाउँछ?

[पृष्ठ २६-मा भएको चित्र]

घट्ट वा जाँतो धितोमा लिनु भनेको “प्राण” बन्धक लिए बराबर थियो