सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साहसी भई परमेश्‍वरको वचन बोल्नुहोस्‌

साहसी भई परमेश्‍वरको वचन बोल्नुहोस्‌

साहसी भई परमेश्‍वरको वचन बोल्नुहोस्‌

“जा, मेरो प्रजा इस्राएललाई अगमवाणी कह।”—आमोस ७:१५.

१, २. आमोस को थिए र तिनीबारे बाइबलले कुन कुरा प्रकट गर्छ?

 सेवकाईमा भाग लिंदा यहोवाको एक जना सेवकले पूजाहारीबाट विरोधको सामना गर्नुपऱ्‍यो। ती पूजाहारी यसरी कराए: ‘प्रचार गर्न बन्द गर्‌! यहाँबाट गइहाल्‌!’ ती सेवकले के गरे? तिनले खुरुक्क यो आदेश माने वा साहसी भई परमेश्‍वरको वचन बोलिरहे? तपाईं यसको जवाफ थाह पाउन सक्नुहुन्छ किनभने ती सेवकले आफ्ना अनुभवहरू तिनकै नाउँ भएको पुस्तकमा लिपिबद्ध गरे। त्यो बाइबलको आमोस भन्‍ने पुस्तक हो। तर आमोस र ती पूजाहारीबीच भएको जम्काभेटबारे अझ बढी सिक्नुभन्दा पहिले हामी आमोसको पृष्ठभूमिबारे केही जानकारी विचार गरौं।

आमोस को थिए? तिनी कुन समयका थिए अनि तिनी कहाँ बस्थे? यी प्रश्‍नहरूको जवाफ हामी आमोस १:१ मा पाउँछौं, जहाँ यस्तो लेखिएको छ: “तकोमा बस्ने गोठालाहरूमध्येका आमोसले यहूदाका राजा उज्जियाह र योआशका छोरा इस्राएलका राजा यारोबामका पालामा . . . भनेका कुरा यिनै हुन्‌।” आमोस यहूदाका बासिन्दा थिए। तिनको गृहनगर यरूशलेमदेखि १६ किलोमिटर दक्षिण, तकोमा थियो। तिनी राजा उज्जियाहले यहूदामा शासन गर्दा र यारोबाम द्वितीय इस्राएलको दस-गोत्रे राज्यको राजा हुँदाको समय सा.यु.पू. नवौं शताब्दीको अन्ततिरका मानिस थिए। आमोस गोठाला थिए। वास्तवमा, आमोस “गोठाला” मात्र होइनन्‌ तर “किम्बुका रूखहरू छिवँल्ने मानिस” पनि थिए भनी आमोस ७:१४ ले बताउँछ। त्यसकारण तिनले वर्षको केही समय मौसमी कामदारको रूपमा बिताउँथे। तिनी किम्बुका रूखहरू छिवँल्थे वा छाँट्‌थे। किम्बु चाँडै पाकोस्‌ भनेर यसो गरिन्थ्यो। यो निकै थकाइलाग्दो काम थियो।

“जा, . . . अगमवाणी कह”

३. हामी आफूलाई प्रचार गर्न अयोग्य ठान्छौं भने आमोसबारे सिक्दा यसले हामीलाई कसरी मदत गर्छ?

आमोसले कुरा नलुकाईकन सीधै यसो भने: “म ता अगमवक्‍ता होइन, नता अगमवक्‍ताको छोरोनै हुँ!” (आमोस ७:१४) साँच्चै, आमोस न अगमवक्‍ताको छोराको रूपमा जन्मेका थिए न त तिनले अगमवक्‍ताको रूपमा प्रशिक्षण नै पाएका थिए। यद्यपि, यहोवाले आफ्नो काम गर्न सारा यहूदाका मानिसहरूमध्येबाट आमोसलाई रोज्नुभयो। त्यतिबेला परमेश्‍वरले शक्‍तिशाली राजा, ज्ञानी पूजाहारी वा धनी मुखियालाई छान्‍नुभएन। यसले हामी सबैलाई एउटा आश्‍वासनदायी पाठ सिकाउँछ। हामी उच्च सामाजिक ओहदामा छैनौं होला वा धेरै पढलेख गरेका छैनौं होला। तर के यसको कारण हामीले आफूलाई परमेश्‍वरको वचन प्रचार गर्न अयोग्य ठान्‍नुपर्छ र? कुनै पनि हालतमा पर्दैन! चुनौतीपूर्ण इलाकाहरूमा समेत यहोवाको सन्देश घोषणा गर्न उहाँले हामीलाई सुसज्जित पार्न सक्नुहुन्छ। आमोसको सन्दर्भमा यहोवाले ठीक त्यसै गर्नुभएको हुनाले साहसी भई परमेश्‍वरको वचन बोल्ने इच्छा गर्नेहरू सबैको लागि ती साहसी अगमवक्‍ताले बसालेको उदाहरण विचार गर्नु शिक्षाप्रद हुनेछ।

४. इस्राएलमा अगमवाणी गर्नु आमोसको लागि किन एउटा चुनौती थियो?

यहोवाले आमोसलाई यस्तो आज्ञा दिनुभयो: “जा, मेरो प्रजा इस्राएललाई अगमवाणी कह।” (आमोस ७:१५) उक्‍त कार्यभार चुनौतीपूर्ण थियो। त्यसबेला इस्राएलको दस-गोत्रे राज्यमा शान्ति र सुरक्षा छाएको थियो अनि त्यो राष्ट्र भौतिक तवरमा सम्पन्‍न थियो। धेरै जनाको “हिउँदमा बस्ने निवासस्थान” र “गर्मीमा बस्ने निवासस्थानहरू” थिए र यी माटोको साधारण इँटद्वारा नभई “कूँदेका ढुंगा”-ले बनाइका हुन्थे। कसै-कसैसित हात्तीको दाँतले सिंगारिएका भव्य फर्निचरहरू थिए र तिनीहरू “सुन्दर दाखबारी[बाट]” उत्पादन गरिएको मद्य पिउँथे। (आमोस ३:१५; ५:११) फलस्वरूप, थुप्रै मानिसहरू भावशून्य थिए। वास्तवमा, आमोसलाई खटाइएको इलाका पनि आज हामीमध्ये कसै-कसैले सेवा गरिरहेको इलाकाजस्तै थियो होला।

५. कोही-कोही इस्राएलीहरूले कस्ता अन्यायपूर्ण कामहरू गरिरहेका थिए?

इस्राएलीहरूसित भौतिक धन-सम्पत्ति हुनु कुनै गलत कुरा थिएन। तथापि, कोही-कोही इस्राएलीहरूले बेइमानी तरिकाहरू अपनाएर धन-सम्पत्ति थुपारिरहेका थिए। धनीहरूले “गरीबहरूलाई थिचोमिचो” गर्नुका साथै ‘दरिद्रहरूलाई कुल्चिरहेका’ थिए। (आमोस ४:१) शक्‍तिशाली व्यापारी, न्यायाधीश र पूजाहारीहरूले गरिबहरूलाई लुट्‌ने षड्यन्त्र रचे। अब हामी समयको गतिमा पछाडि फर्कौं र यी मानिसहरूले के गरिरहेका थिए भनी नियालौं।

परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गरियो

६. इस्राएली व्यापारीहरूले कसरी अरूलाई कङ्‌गाल बनाउँथे?

पहिला हामी बजारतिर लागौं। त्यहाँ व्यापारीहरूले “माना सानो र ढक गह्रौं” बनाउनुका साथै “कुहेका गहुँ” समेत बेचिरहेका थिए। (आमोस ८:५, ६) व्यापारीहरू आफ्ना ग्राहकहरूलाई तौलमा ठग्थे, मोल पनि चर्को लिन्थे र कमसल खालको माल बेच्थे। व्यापारीहरूले गरिबहरूलाई कङ्‌गाल बनाएपछि ती गरिबहरूले आफूलाई दासको रूपमा बेच्नुपर्ने हुन्थ्यो। त्यसपछि, व्यापारीहरूले तिनीहरूलाई “एक जोर जुत्तामा” किन्थे। (आमोस ८:६) कल्पना गर्नुहोस्‌ त! ती लोभी व्यापारीहरू आफ्ना सँगी इस्राएलीहरूलाई खुट्टामा लगाउने जुत्ता बराबर ठान्थे! खाँचोमा परेकाहरूप्रति कस्तो अचाक्ली हेलाँ र परमेश्‍वरको व्यवस्थाको कस्तो घोर उल्लङ्‌घन! तैपनि, तिनै धर्मत्यागी व्यापारीहरूले “विश्राम-दिन” मनाउँथे। (आमोस ८:५) हो, तिनीहरू धर्मपरायण त थिए तर देखावटी रूपमा मात्रै।

७. के कारणले गर्दा इस्राएलका व्यापारीहरूले परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गर्न सके?

“आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर” भन्‍ने परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गरेर पनि ती व्यापारीहरू कसरी सजाय नपाई उम्कन सके? (लेवी १९:१८) व्यापारीहरू उम्कन सफल भए किनभने व्यवस्था लागू गराउनुपर्ने न्यायाधीशहरू नै तिनीहरूको अपराधका साझेदारहरू थिए। मुद्दा-मामिलाहरूको छिनाफाना गरिने सहरको मूल-ढोकामा न्यायाधीशहरूले ‘घूस लिन्थे र न्याय माग्न आएका दरिद्रहरूलाई धपाइदिन्थे।’ न्यायाधीशहरूले गरिबहरूको सुरक्षा गर्नुको सट्टा घूसको लागि उल्टै तिनीहरूलाई धोका दिन्थे। (आमोस ५:१०, १२) त्यसैले न्यायाधीशहरूले पनि परमेश्‍वरको व्यवस्था बेवास्ता गरिरहेका थिए।

८. दुष्ट पूजाहारीहरूले कस्तो आचरणप्रति आँखा चिम्लिरहेका थिए?

यतिबेला, इस्राएलका पूजाहारीहरूचाहिं के गरिरहेका थिए नि? यो कुरा थाह पाउन हामीले अर्को स्थानतर्फ ध्यान दिनै पर्छ। पूजाहारीहरूले तिनीहरूको “परमेश्‍वरको भवनमा” कस्ता पापहरू हुन दिइरहेका थिए, याद गर्नुहोस्‌। परमेश्‍वरले आमोसमार्फत यसो भन्‍नुभयो: “बाबु र छोरो एउटै तरूणीकहाँ गएर मेरो पवित्र नाउँ बिटुलो पार्छन्‌।” (आमोस २:७, ८) यो कुरा कल्पना गर्नुहोस्‌ त! इस्राएली बुबा र उसको छोराले मन्दिरको एउटै वेश्‍यासित अनैतिक यौनसम्बन्ध राख्थे। अनि ती दुष्ट पूजाहारीहरूले यस्तो अनैतिकताप्रति आँखा चिम्लिरहेका थिए!—लेवी १९:२९; व्यवस्था ५:१८; २३:१७.

९, १०. परमेश्‍वरको कुन व्यवस्था उल्लङ्‌घन गरेकोमा इस्राएलीहरू दोषी थिए र हाम्रो समयमा कस्तो समानता पाउँछौं?

अरू पापपूर्ण आचरणहरूप्रति सङ्‌केत गर्दै यहोवाले यसो भन्‍नुभयो: “तिनीहरू हेरक वेदीको छेउमा बन्धकको लुगामा सुत्छन्‌, र जरिमाना गरेकाहरूबाट पाएका दाखमद्य आफ्ना परमेश्‍वरको भवनमा खान्छन्‌।” (आमोस २:८) हो, पूजाहारीहरू र जनसाधारणहरूले पनि प्रस्थान २२:२६, २७ मा लिपिबद्ध व्यवस्थाको बेवास्ता गरे, जहाँ बन्धकमा लिएको लुगा सूर्यास्त हुनुअघि नै फर्काइदिनु भनी बताइएको थियो। बरु, तिनीहरूले त्यसैमा लडीबुडी गर्दै झूटा देवताहरूको मन्दिरमा भोज खाने र पिउने गरे। अनि तिनीहरूले गरिबबाट असुलेको जरिमानाले झूटो धर्मका चाडहरूमा पिउन दाखमद्य किने। तिनीहरू शुद्ध उपासनाको मार्गबाट कत्ति टाढासम्म तर्किसकेका थिए!

१० यहोवालाई प्रेम गर्नू र सँगी मानवलाई प्रेम गर्नू भन्‍ने व्यवस्थाका दुईवटा सबैभन्दा प्रमुख आज्ञा इस्राएलीहरूले लाजै नमानी उल्लङ्‌घन गरिरहेका थिए। त्यसैले तिनीहरूको अविश्‍वासको लागि तिनीहरूको भर्त्सना गर्न यहोवाले आमोसलाई पठाउनुभयो। आज मसीहीजगत्‌का राष्ट्रहरू लगायत संसारका अरू राष्ट्रहरूले प्राचीन इस्राएलको भ्रष्ट अवस्था प्रतिबिम्बित गर्छन्‌। कसै-कसैको फलिफाप भए तापनि ठूल्ठूला व्यापार, राजनीति र झूटा धर्मका बेइमान नेताहरूका अनैतिक प्रचलनहरूको कारण अरू थुप्रै जना भने आर्थिक तवरमा कङ्‌गाल हुनुका साथै तिनीहरूलाई भावनात्मक क्षति पुग्छ। तथापि, दुःख भोगिरहेका र उहाँको खोजी गर्न उत्प्रेरित व्यक्‍तिहरूप्रति यहोवा चासो राख्नुहुन्छ। त्यसकारण उहाँले वर्तमान समयका आफ्ना सेवकहरूलाई आमोसजस्तै साहसी भई उहाँको वचन प्रचार गर्न खटाउनुभएको छ।

११. आमोसको उदाहरणबाट हामी के-के सिक्न सक्छौं?

११ हाम्रो काम र आमोसको कामबीच समानताहरू भएको कारण तिनको उदाहरणबारे विचार गर्दा हामीले धेरै लाभ उठाउनेछौं। वास्तवमा, आमोस हामीलाई यी कुराहरू देखाउँछन्‌: (१) हामीले के प्रचार गर्नुपर्छ, (२) हामीले कसरी प्रचार गर्नुपर्छ र (३) विरोधीहरूले हाम्रो प्रचारकार्यलाई किन रोक्न सक्दैनन्‌। आउनुहोस्‌, हामी यी बुँदाहरूबारे एक-एक गरी विचार गरौं।

हामी कसरी आमोसको अनुकरण गर्न सक्छौं

१२, १३. यहोवा इस्राएलसित अप्रसन्‍न हुनुहुन्थ्यो भन्‍ने कुरा उहाँले कसरी देखाउनुभयो र यसप्रति तिनीहरूको प्रतिक्रिया कस्तो थियो?

१२ यहोवाका साक्षीहरूको हैसियतमा हामी आफ्नो सेवकाईलाई परमेश्‍वरको राज्यको प्रचार गर्ने तथा चेला बनाउने कार्यमा केन्द्रित गर्छौं। (मत्ती २८:१९, २०; मर्कूस १३:१०) यद्यपि, यहोवाले दुष्टहरूमाथि प्रतिकूल न्याय ल्याउनुहुनेछ भनी आमोसले घोषणा गरेजस्तै, हामी पनि परमेश्‍वरका चेतावनीहरूतर्फ ध्यान केन्द्रित गर्छौं। उदाहरणका लागि यहोवा इस्राएलसित अप्रसन्‍न हुनुभएको कुरा उहाँले बारम्बार प्रस्ट पार्नुभयो भनी आमोस ४:६-११ ले देखाउँछ। उहाँले मानिसहरूलाई ‘भोजनको अभाव गराइदिनुभयो,’ ‘तिनीहरूका निम्ति वर्षा रोकिदिनुभयो,’ ‘उब्जनी ओइलाएर नाश पारिदिनुभयो’ र तिनीहरूका बीचमा “रूढ़ीहरू” पठाउनुभयो। के यी कुराहरूले इस्राएलीहरूलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गऱ्‍यो? “तिमीहरू फर्केर मतिर आएनौ” भनी परमेश्‍वरले बताउनुभयो। वास्तवमा, इस्राएलीहरूले यहोवालाई बारम्बार तिरस्कार गरे।

१३ यहोवाले अपश्‍चात्तापी इस्राएलीहरूलाई सजाय दिनुभयो। तथापि, पहिले तिनीहरूले एउटा भविष्यसूचक चेतावनी पाए। त्यसै अनुरूप, परमेश्‍वर स्वयम्‌ले यस्तो घोषणा गर्नुभयो: “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” (आमोस ३:७) यहोवाले नूहलाई जलप्रलय आउँदैछ भनेर बताउनुभएको थियो र तिनलाई चेतावनी दिने आज्ञा गर्नुभएको थियो। त्यसरी नै यहोवाले आमोसलाई अन्तिम चेतावनी दिने आज्ञा गर्नुभयो। दुःखको कुरा, इस्राएलीहरूले उक्‍त ईश्‍वरीय सन्देशलाई बेवास्ता गरे अनि सही कदम चाल्नदेखि चुके।

१४. आमोसको समय र हाम्रो समयबीच कस्ता समानताहरू छन्‌?

१४ आमोसको समय र हाम्रो समयबीच केही उल्लेखनीय समानताहरू छन्‌ भन्‍ने कुरामा तपाईं पक्कै पनि सहमत हुनुहुनेछ। अन्तको समयमा असंख्य विपत्तिहरू हुनेछन्‌ भनी येशू ख्रीष्टले अगमवाणी गर्नुभयो। उहाँले विश्‍वव्यापी प्रचारकार्यबारे पनि अग्रिमवाणी गर्नुभयो। (मत्ती २४:३-१४) यद्यपि, आमोसको दिनमा झैं आज पनि अधिकांश मानिसहरूले समयको चिह्नका साथै परमेश्‍वरको राज्यको सन्देशलाई पनि बेवास्ता गर्छन्‌। यस्ता व्यक्‍तिहरूले अपश्‍चात्तापी इस्राएलीहरूले भोगेजस्तै नतिजाहरू भोग्नेछन्‌। यहोवाले तिनीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो।” (आमोस ४:१२) अश्‍शूरले तिनीहरूमाथि विजय हासिल गर्दा तिनीहरूले परमेश्‍वरको न्याय भोगे वा ‘परमेश्‍वरसित भेट गरे।’ आजको यो अभक्‍त संसारले आरमागेडोनमा ‘परमेश्‍वरसित भेट गर्नेछ’ वा उहाँको न्याय भोग्नेछ। (प्रकाश १६:१४, १६) यद्यपि, जबसम्म यहोवाले धैर्य धारण गर्नुहुन्छ, हामी सकेसम्म धेरै मानिसहरूलाई यस्तो आग्रह गर्छौं: “परमप्रभुको खोजी गर तिमीहरू बाँच्नेछौ।”—आमोस ५:६.

आमोसले जस्तै विरोधको सामना गर्ने

१५-१७. (क) अमस्याह को थिए र आमोसको घोषणाप्रति तिनले कस्तो प्रतिक्रिया देखाए? (ख) आमोसको विरुद्धमा अमस्याहले कस्ता आरोपहरू लगाए?

१५ कुन कुरा प्रचार गर्ने भनेर मात्र होइन तर कसरी प्रचार गर्ने भन्‍ने सन्दर्भमा पनि हामी आमोसको अनुकरण गर्न सक्छौं। यस तथ्यबारे अध्याय ७ मा प्रकाश पारिएको छ, जहाँ हामीलाई हाम्रो छलफलको सुरुमा उल्लेख गरिएको पूजाहारीबारे बताइएको छ। तिनी “बेतेलका पूजाहारी अमस्याह” थिए। (आमोस ७:१०) बेतेल सहर इस्राएलको धर्मत्यागी धर्मको केन्द्र थियो र यो सहर बाछो उपासनामा पनि मुछिएको थियो। त्यसकारण अमस्याह त्यहाँको राष्ट्रिय धर्मका पूजाहारी थिए। आमोसको साहसी घोषणाप्रति तिनले कस्तो प्रतिक्रिया देखाए?

१६ अमस्याहले आमोसलाई यसो भने: “हे दर्शन देख्ने, यहाँबाट भागेर यहूदामा जाऊ, र त्यहीं रोटी खाएर अगमवाणी कह। तर बेतेलमा फेरि कहिल्यै अगमवाणी नकह, किनकि यो ता राजाको शरण–स्थान र शाही निवासस्थान हो।” (आमोस ७:१२, १३) वास्तवमा अमस्याहले यसो भने, ‘तिमी आफ्नो घर जाऊ! हाम्रो आफ्नै धर्म छ।’ आमोसको क्रियाकलापमाथि प्रतिबन्ध लगाउन सरकारलाई उक्साउने कोसिस गर्दै तिनले राजा यारोबाम द्वितीयलाई यसो पनि भने: “इस्राएलका घरानाको बीचमा आमोसले तपाईंको विरुद्धमा षड़यन्त्र रचेको छ।” (आमोस ७:१०) हो, अमस्याहले आमोसलाई राजद्रोहको आरोप लगाए! तिनले राजालाई यसो भने: “आमोस यसो भन्छ, ‘यारोबाम तरवारद्वारा मारिनेछ, र इस्राएल चाहिं आफ्नो देशदेखि निश्‍चय कैदमा जानैपर्नेछ।’ ”—आमोस ७:११.

१७ ती शब्दहरूमा अमस्याहले तीनवटा झूटा कुरा बताए। तिनले यसो भने: “आमोस यसो भन्छ।” यद्यपि, आमोसले कहिल्यै पनि आफू भविष्यवाणीको स्रोत हुँ भन्‍ने दाबी गरेका थिएनन्‌। बरु, तिनले सधैं यसो भनेका थिए: “परमप्रभुको यो वाणी छ।” (आमोस १:३) आमोसलाई यस्तो कुरा भनेको आरोप पनि लगाइयो: “यारोबाम तरवारद्वार मारिनेछ।” तथापि, आमोस ७:९ मा लिपिबद्ध गरिएअनुसार आमोसले यस्तो भविष्यवाणी गरेका थिए: “म [यहोवा] तरवार लिएर यारोबामको [“घरानाको,” NRV] विरुद्धमा खड़ा हुनेछु।” परमेश्‍वरले यारोबामको “घराना” अर्थात्‌ सन्तानलाई सजाय दिने कुरा बताउनुभएको थियो। अझ अमस्याहले आमोसलाई यसो भनेको दोष पनि लगाए: ‘इस्राएल चाहिं निश्‍चय कैदमा जानैपर्नेछ।’ तर परमेश्‍वरतर्फ फर्कने हरेक इस्राएलीहरूले आशिष्‌ पाउनेछन्‌ भनेर पनि आमोसले भविष्यवाणी गरेका थिए। स्पष्टतः अमस्याहले आमोसको प्रचारकार्यमा आधिकारिक प्रतिबन्ध लगाउने कोसिसमा कुरा बङ्‌ग्याएर अर्ध-सत्यको सहारा लिए।

१८. अमस्याहले चलाएको तरिका र पादरीहरूले आज उपयोग गर्ने तरिकाहरूबीच कस्ता समानताहरू छन्‌?

१८ के तपाईंले अमस्याहले चलाएको तरिका र यहोवाका उपासकहरूका विरोधीहरूले आज उपयोग गर्ने तरिकाहरूबीचका समानताहरू याद गर्नुभएको छ? जसरी अमस्याहले आमोसको मुख बन्द गराउन खोजे त्यसरी नै हाम्रो समयका कुनै-कुनै पादरी, धर्मगुरु र मुखियाहरूले यहोवाका सेवकहरूको प्रचारकार्यमाथि अवरोध ल्याउने कोसिस गर्छन्‌। अमस्याहले आमोसमाथि राजद्रोहको झूटो आरोप लगाए। त्यसै गरी, आजका केही पादरीहरूले यहोवाका साक्षीहरू राष्ट्रिय सुरक्षाको लागि खतरा हुन्‌ भन्‍ने झूटो आरोप लगाउँछन्‌। अनि आमोस विरुद्ध लड्‌ने सहायताको लागि अमस्याहले राजाको मुख ताकेझैं, यहोवाका साक्षीहरूलाई सताउन पादरीहरूले अक्सर राजनैतिक गठबन्धनको मुख ताक्छन्‌।

विरोधीहरूले हाम्रो प्रचारकार्यलाई रोक्न सक्दैनन्‌

१९, २०. अमस्याहको विरोधप्रति आमोसले कस्तो प्रतिक्रिया देखाए?

१९ अमस्याहको विरोधप्रति आमोसले कस्तो प्रतिक्रिया देखाए? पहिलो, आमोसले पूजाहारीलाई यसरी सोधे: “तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नकह?’ ” त्यसपछि, परमेश्‍वरका साहसी अगमवक्‍ताले नहिचकिचाईकन त्यस्ता शब्दहरू बोले, जुन शब्दहरू अमस्याहले पक्कै पनि सुन्‍न चाहँदैनथे। (आमोस ७:१६, १७) आमोस डराएनन्‌। हाम्रो लागि कस्तो उत्कृष्ट उदाहरण! वर्तमान समयका अमस्याहहरूले क्रूर सतावट मच्चाइरहेका मुलुकहरूमा समेत परमेश्‍वरको वचन बोल्ने सन्दर्भमा आफ्ना परमेश्‍वरप्रति हामी अनाज्ञाकारी हुनेछैनौं। आमोसजस्तै हामी पनि यस्तो उद्‌घोषणा गरिरहन्छौं: “[यहोवा] यसो भन्‍नुहुन्छ।” अनि विरोधीहरूले हाम्रो प्रचारकार्यलाई कहिल्यै पनि रोक्न सक्दैनन्‌ किनभने यहोवाको ‘बाहुली हामीसँग छ।’—प्रेरित ११:१९-२१.

२० अमस्याहले आफ्नो धम्की बेकार हुनेछ भन्‍ने कुरा बुझ्नुपर्ने थियो। पृथ्वीको कसैले पनि आफूलाई बोल्नदेखि रोक्न सक्नेछैन भनी आमोसले बताइसकेका थिए—अनि हामीले विचार गर्ने तेस्रो बुँदा यही नै हो। आमोस ३:३-८ अनुसार हरेक घटनाको पछाडि कुनै न कुनै कारण हुन्छ भनेर देखाउन आमोसले एकपछि अर्को गर्दै प्रश्‍न अनि दृष्टान्तहरू चलाए। त्यसपछि, यो कुरा कसरी लागू हुन्छ भनी तिनले यसरी बताए: “सिंह गर्जेको छ, को डराउँदैन? परमेश्‍वर बोल्नुभएको छ, कसले अगमवाणी कहँदैन र?” अर्को शब्दमा, आमोसले आफ्ना स्रोताहरूलाई यसो भने: ‘जसरी सिंह गर्जेको सुन्दा तपाईंहरू नडराईकन बस्न सक्नुहुन्‍न, त्यसै गरी मैले पनि यहोवाबाट आज्ञा पाएको हुनाले परमेश्‍वरको वचन प्रचार नगरीकन बस्नै सक्दिनँ।’ ईश्‍वरीय भय वा यहोवाप्रतिको गहिरो श्रद्धाले आमोसलाई साहसी भई बोल्न उत्प्रेरित गऱ्‍यो।

२१. सुसमाचार प्रचार गर्नेबारे परमेश्‍वरले दिनुभएको आज्ञाप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं?

२१ हामी पनि यहोवाबाट प्रचार गर्ने आज्ञा सुन्छौं। हामी कस्तो प्रतिक्रिया देखाउँछौं? आमोस र येशूका प्रारम्भिक अनुयायीहरूजस्तै यहोवाको मदत पाएर हामी पनि साहसी भई उहाँको वचन बोल्छौं। (प्रेरित ४:२३-३१) न विरोधीहरूले उक्साएको सतावटले न त हामीले प्रचार गर्ने व्यक्‍तिहरूको भावशून्यताले नै हाम्रो मुख बन्द गराउनेछ। विश्‍वभरिका यहोवाका साक्षीहरू आमोसको जस्तै जोस देखाउँदै साहसी भई सुसमाचार घोषणा गरिरहन उत्प्रेरित छन्‌। यहोवाको आउँदै गरेको न्यायबारे मानिसहरूलाई चेतावनी दिने जिम्मेवारी हामीसित छ। यो न्यायमा कुन कुरा समावेश छ? यस प्रश्‍नको जवाफ अर्को लेखले दिनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आमोसले कस्तो परिस्थितिमा आफ्नो ईश्‍वर-प्रदत्त जिम्मेवारी पूरा गरे?

• आमोसले जस्तै हामीले के प्रचार गर्नुपर्छ?

• हामीले कस्तो मनोवृत्ति राखेर प्रचारकार्य गर्नुपर्छ?

• साक्षी दिने हाम्रो क्रियाकलापलाई विरोधीहरूले किन रोक्न सक्दैनन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

आफ्नो काम गर्न परमेश्‍वरले किम्बुका रूखहरू छिवँल्ने आमोसलाई रोज्नुभयो

[पृष्ठ १३-मा भएका चित्रहरू]

आमोसले जस्तै के तपाईंले पनि साहसी भई यहोवाको सन्देश घोषणा गरिरहनुभएको छ?