सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

टोंगा टापुमा परमेश्‍वरका मित्रहरू

टोंगा टापुमा परमेश्‍वरका मित्रहरू

टोंगा टापुमा परमेश्‍वरका मित्रहरू

सन्‌ १९३२ मा एउटा जहाजले टोंगामा एकदमै अमूल्य बीउ ल्यायो। जहाजका कप्तानले चार्ल्स भेटेलाई “ह्वेयर आर द डेड?” भन्‍ने सानो पुस्तिका दिए। चार्ल्स आफूले सत्य पाएको कुरामा विश्‍वस्त भए। केही समयपछि यहोवाका साक्षीहरूको मुख्यालयले चार्ल्सले आफ्नो मातृभाषामा पुस्तिका अनुवाद गर्न गरेको आग्रहलाई अनुमति दियो। अनुवाद पूरा गरेपछि तिनले १,००० प्रति मुद्रित पुस्तिका प्राप्त गरे र ती वितरण गर्न थाले। यसरी यहोवाको राज्यबारे सत्यको बीउ टोंगा राज्यमा फैलिन थाल्यो।

दक्षिण प्रशान्तको मानचित्रमा तपाईं टोंगा देख्न सक्नुहुन्छ। यसको सबैभन्दा ठूलो टापु टोंगाटापु फिजीको सुभा भन्‍ने ठाउँको २,००० किलोमिटर उत्तरपूर्वमा पर्छ। टोंगामा जम्मा १७१ वटा टापु छन्‌ जसमध्ये ४५ वटामा मानिसहरू बसोबास गर्छन्‌। अठाह्रौं शताब्दीका प्रख्यात बेलाइती अन्वेषक जेम्स कूकले यी अनकन्टार टापुहरूको नाउँ मित्रैला टापु राखे।

सालाखाला १,०६,००० जनसंख्या भएको टोंगा तीनवटा टापुको समूह मिलेर बनेको छ र त्यसमध्ये प्रमुख चाहिं टोंगाटापु, हाप्पाइ र भाभाउ हो। यहोवाका साक्षीहरूको पाँचवटा स्थानीय मण्डलीमध्ये तीनवटा सबैभन्दा धेरै बस्ती भएको टोंगाटापु समूहमा, एउटा हाप्पाइमा र अर्को भाभाउमा छ। मानिसहरूलाई परमेश्‍वरको मित्र बन्‍न मदत गर्न राजधानी नुकुवालोफा नजिकै यहोवाका साक्षीहरूको मिसनरी घर र अनुवाद कार्यालय छ।—यशैया ४१:८.

चार्ल्स भेटेले सन्‌ १९६४ मा मात्र बप्तिस्मा लिएको भए तापनि सन्‌ १९३० को दशकदेखि नै तिनी यहोवाको साक्षीको रूपमा चारैतिर चिनिन्थे। अरूले पनि साक्षीकार्यमा तिनलाई साथ दिए अनि सन्‌ १९६६ मा ३० जना अट्‌ने राज्यभवन निर्माण गरियो। सन्‌ १९७० मा नुकुवालोफामा २० जना राज्य प्रकाशक भएको मण्डली स्थापना गरियो।

त्यतिबेलादेखि टोंगा टापुमा अगमवक्‍ता यशैयाका शब्दहरू पूरा भएको प्रस्टै देखिन्छ: “तिनीहरूले परमप्रभुलाई महिमा देऊन्‌, र समुद्र किनारका देशहरूमा उहाँको प्रशंसाको प्रचार गरून्‌।” (यशैया ४२:१२) राज्य गतिविधि त्यहाँ फस्टाउँदैछ जसबाट थुप्रैले यहोवासित सम्बन्ध गाँस्न मदत पाएका छन्‌। सन्‌ २००३ मा नुकुवालोफामा आयोजित जिल्ला अधिवेशनमा ४०७ जनाको शिखर उपस्थिति थियो र ५ जनाले बप्तिस्मा लिए। सन्‌ २००४ को स्मरणार्थमा उपस्थित भएका ६२१ ले पनि वृद्धिको सम्भावनालाई सङ्‌केत गर्छ।

सरल जीवन बिताउँदै

तथापि, राजधानी बाहिर राज्य उद्‌घोषकहरूको आवश्‍यकता अझै पनि खट्‌किरहेको छ। उदाहरणका लागि हाप्पाइ समूहको १६ वटा विभिन्‍न टापुमा ८,५०० मानिसहरू बसोबास गर्छन्‌ र ती मानिसहरूले बाइबलका सत्य कुराहरू सुन्‍न बाँकी नै छ। हाप्पाइमा प्रायजसो टापुहरू लगभग समुद्री सतहमै रहेका छन्‌ जहाँ ताडीको रूख, सेतो बलौटे समुद्री किनार प्रशस्तै छ। त्यहाँको समुद्री पानी यति स्वच्छ छ कि ३० मिटरभन्दा तलसम्म पनि छर्लंङ्‌गै देख्न सकिन्छ। मुगाढिस्को र उष्ण क्षेत्रका एक सयभन्दा बढी किसिमका रङ्‌गीचङ्‌गी माछाहरूबीच पौडी खेल्नु त एउटा विशेष अनुभव हो। गाउँहरू प्रायजसो साना छन्‌। घरहरू साधारण भए तापनि उष्ण क्षेत्रको आँधी थाम्न सक्ने गरी बनाइएका हुन्छन्‌।

रामफल र आँपको रूखले छहारी तथा आहार दुवै दिन्छ। खाना जोरजाम गर्न र तयार पार्दैमा दिन बित्छ। बङ्‌गुरको मासुबाहेक टापुका मानिसहरूले समुद्रमा पाइने थरीथरीका आहारहरूको आनन्द लिन्छन्‌। आ-आफ्नो बारीमा चाहिं मानिसहरूले कन्दमूल तथा तरकारीहरू लगाउँछन्‌। अमिलो फलफूलका फलहरू जताजतै पाइन्छ अनि नरिवल र केराका बोटहरू पनि प्रशस्तै पाइन्छन्‌। जडीबुटी उपचारको लागि प्रयोग गर्न सकिने रूखको पात, बोक्रा र जराबारे स्थानीय ज्ञान एउटा पुस्ताले अर्कोलाई दिन्छ।

निस्सन्देह, हाप्पाइको सबैभन्दा खास विशेषता भनेको त्यहाँका मित्रैला मानिसहरू हुन्‌ जो त्यहाँको शान्तमय वातावरण सुहाउँदा छन्‌। त्यहाँ सरल जीवन बिताइन्छ। प्रायजसो महिलाहरू बास्केट, टापा कपडा र मान्द्रो बुन्‍ने जस्ता हस्तकलाहरूमा व्यस्त रहन्छन्‌। टोंगाका महिलाहरू रूखको छहारीमा बसेर काम सँगसँगै कुराकानी गर्दै, गीत गाउँदै हाँसिरहेका हुन्छन्‌ र नजिकै तिनीहरूका केटाकेटी, लालाबालाहरू खेलिरहेका वा सुतिरहेका हुन्छन्‌। अनि साधारणतया महिलाहरूले निम्न ज्वारभाटमा शङ्‌खेमाछा र अन्य खानयोग्य समुद्री माछाहरूका साथै स्वादिष्ट सलाद बनाउन मिल्ने झुरुमझुरुम जाने समुद्री झ्याउ खोज्छन्‌।

अधिकांश पुरुषहरू चाहिं बारीमा, माछा मार्ने, कुँद्‌ने काम गरेर, डुङ्‌गा बनाएर र माछाको जाली मर्मत गरेर आफ्नो दिन बिताउँछन्‌। पुरुष, महिला तथा केटाकेटीहरू नातेदारहरू भेट्‌न, उपचारको लागि र किनबेच गर्न सानो, छत भएको माछा मार्ने डुङ्‌गा चढेर एउटा टापुबाट अर्को टापुमा यात्रा गर्छन्‌।

सुसमाचारको लागि कुनै पनि ठाउँ अति विकट छैन

यस्तो रमणीय वातावरणमा दुई जना मिसनरी र दुई जना अग्रगामी सेवक सन्‌ २००२ को स्मरणार्थताका त्यहाँ आइपुगे। पहिला पनि समय-समयमा मानिसहरूसित सम्पर्क गरिएको थियो र हाप्पाइका मानिसहरूले यहोवाका साक्षीहरूद्वारा प्रकाशित साहित्यहरू प्राप्त गर्नुका साथै साक्षीहरूसित बाइबल अध्ययन पनि गरेका थिए।

ती चार जना बाइबल शिक्षकको तीनवटा मूल उद्देश्‍य थियो: बाइबल साहित्यहरू वितरण गर्ने, गृह बाइबल अध्ययन सुरु गर्ने र जिज्ञासुहरूलाई प्रभुको साँझको भोजमा उपस्थित हुन निमन्त्रणा दिने। तीनै वटा उद्देश्‍य प्राप्त गर्न सकियो। येशूको मृत्युको स्मरणार्थमा उपस्थित हुने निमन्त्रणा ९७ व्यक्‍तिले स्वीकारे। भीषण वर्षा र तुफानी हावाको बावजुद कोही-कोही खुला डुङ्‌गामा यात्रा गरेर आए। खराब मौसमको कारण थुप्रैले स्मरणार्थ उत्सव मनाएको ठाउँमै रात काटे र भोलिपल्ट मात्र आ-आफ्ना घर फर्के।

स्मरणार्थ वक्‍ताको अवस्था पनि कम चुनौतीपूर्ण थिएन। “एकै साँझमा त्यो पनि विदेशी भाषामा दुई-दुईवटा स्मरणार्थ भाषण दिनु कति कठिन थियो भनी तपाईंहरूलाई भनिरहनु पर्दैन होला” भनी भाषण दिएका मिसनरीले सम्झन्छन्‌। “म कत्ति चिन्तित भएँ होला भनी तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ। प्रार्थना कस्तो मदतकारी साबित भयो! मैले सिकेको थिएँ भनेर थाह पनि नभएका शब्द तथा वाक्य संरचनाहरू मैले सम्झें।”

हाप्पाइ टापुमा सुसमाचारकहरू चासो देखाएकाहरूकहाँ गइरहेको कारण त्यस इलाकामा बस्ने दुई जोडी दम्पतीले बप्तिस्मा लिए। एउटा दम्पतीको श्रीमान्‌चाहिंले त स्थानीय चर्चको पादरी हुन प्रशिक्षण लिइरहेको बेला साक्षीहरूको साहित्यप्रति चासो देखाए।

भौतिक रूपमा गरिब भए तापनि यी मानिस र तिनकी पत्नीले वार्षिक पैसा सङ्‌कलन सेवाको दौडान चर्चमा आफ्नो नाउँ बोलाइँदा ठूलै रकम चन्दा दिन्थे। पहिला पनि भेट गर्न गइसकेका एक जना साक्षीले त्यस पतिलाई बाइबलमा १ तिमोथी ५:८ पल्टाएर पढ्‌न आग्रह गरेका थिए। प्रेरित पावलले यस्तो लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” बाइबलको यस सिद्धान्तले पतिको हृदय छोयो। चर्चले मागेजस्तै ठूलो रकम चन्दा दिंदा आफ्नो परिवारको आधारभूत आवश्‍यकता पूरा गर्न नै तिनी असमर्थ भएको तिनले महसुस गरे। अर्को वार्षिक सङ्‌कलन सेवामा तिनले आफ्नो खल्तीमा पैसा भए तापनि १ तिमोथी ५:८ बिर्सन सकेनन्‌। तिनको नाउँ बोलाइँदा तिनले पादरीलाई आफ्ना परिवारको आवश्‍यकता पूरा गर्नु बढी महत्त्वपूर्ण कुरा हो भनी बताउन साहस गरे। फलस्वरूप, त्यस दम्पतीलाई चर्चका पादरीहरूले सबैको अगाडि गाली गर्नुका साथै खिसी गरे।

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेपछि ती मानिस र तिनकी पत्नी सुसमाचारका प्रकाशक भए। पति भन्छन्‌: “बाइबल सत्यले मलाई परिवर्तन गरेको छ। म आफ्नो परिवारसित पहिलेजस्तो क्रूर र छुच्चो व्यवहार गर्दिनँ। म अहिले धेरै पिउदिनँ। सत्यले ममा ल्याएको परिवर्तन गाउँलेहरूले देख्न सक्छन्‌। आशा छ, तिनीहरूले पनि मैले जस्तै सत्यलाई प्रेम गर्न थाल्नेछन्‌।”

खोजमा प्रयोग गरिएको क्वेस्ट

सन्‌ २००२ को स्मरणार्थको केही महिनापछि दुर्गम हाप्पाइमा अर्को एउटा जहाजले अमूल्य सामान ल्याइपुऱ्‍यायो। अठाह्र मिटरको डुङ्‌गा क्वेस्ट न्युजील्याण्डबाट टोंगाका टापुहरू हुँदै आइपुगेको थियो। जहाजमा ग्यारी, हेटी र तिनीहरूकी छोरी क्येटी थिइन्‌। तिनीहरूले गरेको दुइटा यात्रामा तिनीहरूसँग टोंगाका नौ जना भाइबहिनी अनि दुई मिसनरीहरू आएका थिए। नक्सामा नदेखिएका ढिस्कोहरू छलाउँदै डुङ्‌गालाई कौशलतापूर्वक डोऱ्‍याउन स्थानीय साक्षीहरूले मदत गरे। यो रमाइलोको लागि गरिएको समुद्री यात्रा थिएन। डुङ्‌गाका यात्रुहरू बाइबल सत्य सिकाउन आएका थिए। छरिएर रहेको १४ वटा टापु ढाक्न तिनीहरूले निकै लामो समुद्री यात्रा गर्नुपऱ्‍यो। ती टापुहरूमध्ये कुनै-कुनैमा परमेश्‍वरको राज्यको सुसमाचार कहिल्यै प्रचार गरिएको थिएन।

मानिसहरूको प्रतिक्रिया कस्तो थियो? साधारणतया, जहाजमा यात्रा गरिरहेका प्रचारकहरूलाई जिज्ञासा, न्यानोपन र टापुको परम्परागत आतिथ्यका साथ स्वागत गरियो। टापुवासीहरूले तिनीहरूको भ्रमणको उद्देश्‍य बुझेपछि चाहिं गहिरो मूल्याङ्‌कन व्यक्‍त गर्थे। टापुका बासिन्दाहरूले परमेश्‍वरको वचनको आदर गर्छन्‌ र तिनीहरू आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग छन्‌ भन्‍ने कुरा भ्रमण गरिरहेका साक्षीहरूलाई स्पष्ट भयो।—मत्ती ५:३.

थुप्रै चोटि पाहुनाहरू उष्ण क्षेत्रमा पाइने रूखमुनि बस्थे र वरिपरि चाहिं मानिसहरू बसेर धर्मशास्त्रबारे थुप्रै प्रश्‍नहरू सोधिरहेका हुन्थे। रात परेपछि मानिसहरूको घर-घरमा बाइबल छलफल चल्थ्यो। एउटा टापुका मानिसहरूले जान लागेका साक्षीहरूलाई यसो भने: “बिन्ती छ, नजानुहोस्‌! तपाईंहरू गएपछि हाम्रो प्रश्‍नको जवाफ कसले दिन्छ?” एक जना साक्षीले यस्तो टिप्पणी गरिन्‌: “सत्यको लागि भोका त्यति धेरै भेडाखाले मानिसहरूलाई छोडेर जानु सधैं गाह्रो हुन्थ्यो। सत्यका थुप्रै बीउहरू रोपिएका छन्‌।” क्वेस्ट एउटा टापुमा आइपुग्दा सबै जनाले शोक परेको बेला लगाउने लुगा लगाइरहेको साक्षीहरूले याद गरे। सहरको हाकिमकी पत्नीको भर्खरै मृत्यु भएको रहेछ। बाइबलबाट सान्त्वनाको सन्देश ल्याएकोमा तिनी आफैले व्यक्‍तिगत रूपमा भाइहरूलाई धन्यवाद दिए।

कुनै-कुनै टापुहरूमा जान सजिलो थिएन। हेटी भन्छिन्‌: “एउटा टापुमा जान कुनै बाटो नै थिएन, समुद्र सिद्धिने बित्तिकै अलि अग्लो भीर थियो। त्यहाँ जाने एउटै मात्र तरिका रबरको सानो डुङ्‌गा थियो। पहिला हामीले किनारमा उभिरहेका मदतगार मानिसहरूलाई हाम्रो झोला फ्याँक्नुपर्थ्यो। अनि त्यो रबरको डुङ्‌गा भीरको छेउमा माथि उठ्‌दा तुरुन्तै हामफाल्नुपर्थ्यो नत्रता त्यो फेरि तल खसिहाल्थ्यो।”

तथापि, जहाजमा यात्रा गर्ने सबै निडर हुँदैनथे। दुई हप्ता यात्रा गरेपछि मुख्य टापु टोंगाटापु फर्किने सन्दर्भमा जहाजका कप्तानले यस्तो लेखे: “हामीले अझ १८ घण्टा यात्रा गर्नुपर्छ। हामी एकैचोटि त्यो यात्रा पूरा गर्न सक्दैनौं किनभने कसै-कसैलाई जहाज लागेको छ। हामी घर फर्कन लागेकोले खुसी छौं तर अर्कोतर्फ दुःखी पनि छौं किनभने राज्यसन्देश सुनेका थुप्रैलाई हामीले छोडेर जानुपर्छ। हामी तिनीहरूलाई यहोवाको हेरचाहमा छोड्‌छौं र उहाँको पवित्र आत्मा र स्वर्गदूतहरूले तिनीहरूलाई आध्यात्मिक रूपमा बढ्‌न मदत गर्नेछन्‌।”

आशालाग्दो प्रत्याशा भएका टापुहरू

क्वेस्ट फर्केको झन्डै छ महिनापछि दुई जना विशेष अग्रगामी स्टिफेन र मलाकीलाई हप्पाइका टापुहरूमा प्रचार गर्न खटाइयो। त्यहाँ तिनीहरूले भर्खरै बप्तिस्मा लिएका दुई जोडी दम्पतीलाई साथ दिए। सैद्धान्तिक विषयहरूमा थुप्रै चाखलाग्दा छलफलहरू भइरहेका छन्‌ र प्रकाशकहरूले बाइबलको सदुपयोग गरिरहेका छन्‌।

डिसेम्बर १, २००३ मा हप्पाइमा एउटा मण्डली स्थापना भयो जुन टोंगाको पाँचौं हो। मण्डलीमा आउनेहरूमध्ये थुप्रै केटाकेटीहरू छन्‌। तिनीहरूले ध्यान दिएर सुन्‍न सिकेका छन्‌। तिनीहरू चुपो लागेर बस्छन्‌ र श्रोताहरूसितको छलफलमा उत्सुकतासाथ भाग लिन्छन्‌। “बाइबलका कथाहरू भएको मेरो पुस्तक-बारे तिनीहरूको ज्ञान हेर्दा आमाबाबुहरूले आफ्ना छोराछोरीलाई बाइबल सत्य सिकाओ भन्‍ने जिम्मेवारी गम्भीरतापूर्वक लिएको देखिन्छ” भनी एक जना क्षेत्रीय निरीक्षकले टिप्पणी गरे। स्पष्टतः ती टापुहरूमा परमेश्‍वरका मित्रहरू अझ धेरै भेट्टाउने आशालाग्दो प्रत्याशा छ।

सत्तरी वर्षभन्दा अघि चार्ल्स भेटेले आफ्नो मातृभाषा टोंगामा ह्वेयर आर द डेड? पुस्तिका अनुवाद गर्दा तिनलाई आफ्ना देशवासीहरूको मनमा राज्य बीउले कत्तिसम्म जरा गाड्‌ला भनेर कहाँ थाह थियो र। संसारको त्यस कुनामा सानो सुरुवात भए तापनि यहोवाले विस्तार भइरहेको राज्य सुसमाचारको उद्‌घोषण कार्यलाई आशिष्‌ दिइरहनुभएको छ। आज, टोंगा साँच्चै एउटा यस्तो विकट टापु हो जुन यहोवातर्फ आकर्षित हुँदैछ भनी भन्‍न सकिन्छ। (भजन ९७:१; यशैया ५१:५) यी “मित्रैला टापुहरूमा” आज यहोवाका थुप्रै मित्रहरू छन्‌।

[पृष्ठ ८-मा भएको चित्र]

चार्ल्स भेटे, १९८३

[पृष्ठ ९-मा भएको चित्र]

टापा लुगा बनाउँदै

[पृष्ठ १०-मा भएको चित्र]

टोंगामा सुसमाचार फैलाउन “क्वेस्ट” प्रयोग गरियो

[पृष्ठ ११-मा भएको चित्र]

अनुवाद टोली, नुकुवालोफा

[पृष्ठ ९-मा भएको चित्रको स्रोत]

Making tapa cloth: © Jack Fields/CORBIS; background of pages 8 and 9, and fishing: © Fred J. Eckert