सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं यहोवाको मदत स्वीकार्नुहुन्छ?

के तपाईं यहोवाको मदत स्वीकार्नुहुन्छ?

के तपाईं यहोवाको मदत स्वीकार्नुहुन्छ?

“[ यहोवा] मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ।”—हिब्रू १३:६.

१, २. हाम्रो जीवनमा यहोवाको मदत र निर्देशन स्वीकार्नु किन महत्त्वपूर्ण छ?

 कल्पना गर्नुहोस्‌, तपाईं पहाडी इलाकाको गोरेटो बाटो हुँदै पैदल यात्रा गर्दै हुनुहुन्छ। तर तपाईं एक्लो हुनुहुन्‍न किनभने एक जना गाइड तपाईंसित छन्‌ र उपलब्ध गाइडहरूमध्ये तिनी सबैभन्दा राम्रा गाइड हुन्‌। तिनी तपाईंभन्दा निक्कै अनुभवी र बलिया छन्‌ तैपनि धैर्यतापूर्वक तपाईं सँगसँगै हिंड्‌छन्‌। बेलाबेलामा तपाईंले ठेस खानुभएको तिनी याद गर्छन्‌। कुनै खास खतरनाक ठाउँमा तपाईंको सुरक्षाप्रति चिन्तित हुँदै तपाईंलाई मदत गर्न तिनी आफ्नो हात बढाउँछन्‌। त्यतिबेला के तपाईं तिनको मदत इन्कार गर्नुहुन्छ? पक्कै गर्नुहुन्‍न! तपाईंको सुरक्षा खतरामा छ।

मसीहीहरूको हैसियतमा हामीले पछ्याउनुपर्ने मार्ग पनि चुनौतीपूर्ण छ। त्यो साँघुरो बाटोमा के हामी एक्लै हिंड्‌नुपर्छ? (मत्ती ७:१४) अहँ, पर्दैन। हामीले पाउन सक्ने सबैभन्दा उत्तम गाइड यहोवा परमेश्‍वरले मानिसहरूलाई उहाँसितै हिंड्‌न दिनुहुन्छ भनेर बाइबलले देखाउँछ। (उत्पत्ति ५:२४; ६:९) आफ्ना सेवकहरू हिंड्‌दा के यहोवाले तिनीहरूलाई मदत गर्नुहुन्छ? उहाँ यसो भन्‍नुहुन्छ: “म, परमप्रभु तेरा परमेश्‍वले तँलाई यसो भनेर तेरो दाहिने हात समात्नेछु, ‘नडरा, म तँलाई सहायता गर्नेछु।’ ” (यशैया ४१:१३) यहोवासित हिंड्‌न चाहनेहरूलाई उहाँले हाम्रो दृष्टान्तको गाइडले जस्तै दयालुपूर्वक आफ्नो मदतकारी हात र मित्रता अघि बढाउनुहुन्छ। निस्सन्देह, हामीमध्ये कोही पनि उहाँको मदत इन्कार गर्न चाहँदैनौं!

३. यस छलफलको दौडान हामी कुन-कुन प्रश्‍नहरूबारे विचार गर्नेछौं?

पुरातन समयमा यहोवाले आफ्ना जनहरूलाई मदत गर्नुभएको चारवटा तरिकाबारे हामीले अघिल्लो लेखमा छलफल गऱ्‍यौं। के आज पनि उहाँले आफ्ना जनहरूलाई त्यसै गरी मदत गर्नुहुन्छ? अनि हामी यस्तो प्रकारको मदत स्वीकार्छौं भनी कसरी पक्का गर्न सक्छौं? आउनुहोस्‌, हामी ती प्रश्‍नहरूबारे विचार गरौं। यसो गर्दा यहोवा साँच्चै हाम्रो मदतगार हुनुहुन्छ भन्‍ने कुरामा हामी अझ निर्धक्क हुन सक्छौं।—हिब्रू १३:६.

स्वर्गदूतीय मदत

४. स्वर्गदूतीय समर्थनबारे आज परमेश्‍वरका सेवकहरू किन निर्धक्क हुन सक्छन्‌?

के स्वर्गदूतहरूले यहोवाका वर्तमान समयका सेवकहरूलाई मदत गर्छन्‌? हो, गर्छन्‌। हुन त हो, साँचो उपासकहरूलाई खतराबाट मुक्‍त गर्न तिनीहरू दृश्‍य रूपमा देखापर्दैनन्‌। बाइबलकालमा समेत स्वर्गदूतहरूले आकलझुकल मात्र यस्तो तरिकामा हस्तक्षेप गर्थे। आजजस्तै तिनीहरूले गर्ने अधिकांश कार्यहरू मानव नजरमा अदृश्‍य थिए। यद्यपि, स्वर्गदूतहरूले समर्थन गर्छन्‌ भनी महसुस गर्ने परमेश्‍वरका सेवकहरूले यस्तो ज्ञान असाध्यै प्रोत्साहनदायी पाए। (२ राजा ६:१४-१७) हामीले पनि यस्तै महसुस गर्ने ठोस कारण छ।

५. आज स्वर्गदूतहरू प्रचारकार्यमा समावेश छन्‌ भनी बाइबलले कसरी देखाउँछ?

हामी पनि समावेश भएको एउटा विशेष काममा यहोवाका दूतहरू खास चासो राख्छन्‌। त्यो काम के हो? यसको जवाफ हामी प्रकाश १४:६ मा पाउन सक्छौं: “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें।” येशूले अगमवाणी गर्नुभएअनुसार यस रीतिरिवाजको अन्त आउनुअघि “सब जातिहरूलाई साक्षीको निम्ति प्रचार” गरिने “राज्यको . . . सुसमाचार[सित]” यस “अनन्त सुसमाचार[को]” नजिकको सम्बन्ध छ। (मत्ती २४:१४) निस्सन्देह, स्वर्गदूतहरूले प्रत्यक्ष रूपमा प्रचार गरिरहेका छैनन्‌। येशूले यो गहन जिम्मेवारी मानिसहरूलाई दिनुभयो। (मत्ती २८:१९, २०) यो जिम्मेवारी पूरा गर्दा यसमा हामीलाई पवित्र स्वर्गदूतहरू, जो बुद्धिमान्‌ र शक्‍तिशाली आत्मिक सृष्टिहरू हुन्‌, तिनीहरूले मदत गर्छन्‌ भन्‍ने कुरा थाह पाउनु के प्रोत्साहनदायी छैन र?

६, ७. (क) स्वर्गदूतहरूले हाम्रो प्रचारकार्यलाई समर्थन गरिरहेका छन्‌ भनी कुन कुराले सङ्‌केत गर्छ? (ख) यहोवाका स्वर्गदूतहरूको समर्थन पाउने कुराबारे हामी कसरी पक्का हुन सक्छौं?

हाम्रो काममा स्वर्गदूतीय समर्थनको यथेष्ट प्रमाण छ। उदाहरणका लागि, हामीले अक्सर सुनेका छौं कि यहोवाका साक्षीहरूले सेवकाईमा भाग लिंदा यस्ता व्यक्‍तिहरूलाई भेटेका छन्‌ जसले सत्य भेट्टाउन सकूँ भनेर भर्खरै मात्र परमेश्‍वरलाई प्रार्थना गरेका थिए। यस्ता अनुभवहरू यति धेरै छन्‌ कि तिनलाई सन्जोगको कुरा भनेर बेवास्ता गर्नै सकिन्‍न। यस्तो स्वर्गदूतीय मदतको कारण धेरैभन्दा धेरै व्यक्‍तिले ‘स्वर्गको बीचमा उडिरहेको दूतले’ घोषणा गरेअनुसारको कार्य गर्न सिकिरहेका छन्‌: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ।”—प्रकाश १४:७.

के तपाईं यहोवाका बलवान्‌ स्वर्गदूतहरूको समर्थन पाउने इच्छा गर्नुहुन्छ? त्यसो हो भने सेवकाईमा यथाशक्य गर्न व्यस्त रहनुहोस्‌। (१ कोरिन्थी १५:५८) यहोवाबाट प्राप्त यो विशेष जिम्मेवारी खुसीसाथ पूरा गर्दा हामी उहाँका स्वर्गदूतहरूको मदतमा भर पर्न सक्छौं।

स्वर्गदूतहरूको प्रमुखबाट मदत

८. स्वर्गमा येशूको कस्तो उच्च स्थान छ र यो कुरा हाम्रो लागि किन आश्‍वासनदायी छ?

यहोवाले हामीलाई अर्को प्रकारको स्वर्गदूतीय मदत पनि दिनुहुन्छ। प्रकाश १०:१ ले एक जना “बलवान दूत[बारे]” बताउँछ जसको “मुख सूर्यजस्तो” थियो। दर्शनमा देखिएको यो स्वर्गदूतले पक्कै पनि स्वर्गीय शक्‍ति प्राप्त महिमित येशू ख्रीष्टलाई चित्रण गर्छ। (प्रकाश १:१३, १६) के येशू साँच्चै एउटा स्वर्गदूत हुनुहुन्छ? एक अर्थमा हुनुहुन्छ किनभने उहाँ प्रधान दूत हुनुहुन्छ। (१ थिस्सलोनिकी ४:१६) यहोवाका आत्मिक पुत्रहरूमध्ये येशू सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ। यहोवाले उहाँलाई आफ्नो सबै स्वर्गदूतीय पल्टनको कप्तान नियुक्‍त गर्नुभएको छ। यी प्रधान दूत पक्कै पनि मदतको शक्‍तिशाली स्रोत हुनुहुन्छ। कुन-कुन तरिकामा?

९, १०. (क) हामीले पाप गर्दा येशूले कसरी हाम्रो “सहायक[को]” रूपमा काम गर्नुहुन्छ? (ख) येशूको उदाहरणबाट हामी कस्तो मदत पाउन सक्छौं?

वृद्ध प्रेरित यूहन्‍नाले यस्तो लेखे: “कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट।” (१ यूहन्‍ना २:१) विशेष गरी हामीले ‘पाप गर्दा’ येशू हाम्रो “सहायक हुनुहुन्छ” भनेर यूहन्‍नाले किन बताए? हो, हामी दिनहुँ पाप गर्छौं र पापले मृत्युतर्फ लैजान्छ। (उपदेशक ७:२०; रोमी ६:२३) तथापि, हाम्रा पापहरूको लागि येशूले आफ्नो जीवन बलिदानको रूपमा दिनुभयो। अनि हाम्रो खातिर बिन्ती गरिदिनको लागि उहाँ हाम्रो दयालु पिताको छेवैमा हुनुहुन्छ। हामी प्रत्येकलाई यस्तो मदत चाहिन्छ। यो मदत हामी कसरी स्वीकार्न सक्छौं? हामीले आफ्ना पापहरूका लागि पश्‍चात्ताप गर्नुपर्छ र येशूको बलिदानको आधारमा क्षमा माग्नुपर्छ। हामीले आफ्ना पापहरू नदोहोऱ्‍याउनु पनि आवश्‍यक छ।

१० हाम्रो खातिर मर्नुको अलावा येशूले हाम्रो लागि सिद्ध उदाहरण पनि बसाल्नुभयो। (१ पत्रुस २:२१) उहाँको उदाहरणले हामीलाई मार्ग-निर्देशन दिन्छ र आफ्नो मार्ग तय गर्न मदत गर्छ ताकि हामी गम्भीर पापहरूबाट जोगिन र यहोवा परमेश्‍वरलाई खुसी तुल्याउन सक्नेछौं। यस्तो मदत पाएकोमा के हामी खुसी छैनौं र? अर्को मदतगार पनि दिइनेछ भनी येशूले आफ्ना अनुयायीहरूलाई प्रतिज्ञा गर्नुभयो।

पवित्र आत्माको मदत

११, १२. यहोवाको आत्मा के हो, यो कत्तिको शक्‍तिशाली छ र आज हामीलाई यो किन चाहिन्छ?

११ येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [“मदतगार,” NW ] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ। अर्थात्‌, सत्यका आत्मा जसलाई संसारले ग्रहण गर्नसक्‍तैन।” (यूहन्‍ना १४:१६, १७) यो “सत्यका आत्मा” वा पवित्र आत्मा कुनै व्यक्‍ति नभई एउटा शक्‍ति अर्थात्‌ यहोवाको आफ्नै सक्रिय शक्‍ति हो। यसको शक्‍तिको कुनै सीमा छैन। ब्रह्‍माण्ड सृष्टि गर्न, अद्‌भुत चमत्कारहरू गर्न र दर्शनहरू मार्फत आफ्नो इच्छा प्रकट गर्न यहोवाले चलाउनुभएको शक्‍ति यही हो। आज यहोवाले यी खास तरिकाहरूमा उहाँको पवित्र आत्मा चलाउनुभएको छैन भन्दैमा के हामीलाई यसको आवश्‍यकता पर्दैन भन्‍ने हो?

१२ बिलकुलै होइन! यो “डरलाग्दो समय[मा]” हामीलाई यहोवाको आत्माको आवश्‍यकता पहिलेभन्दा अझ बढी पर्छ। (२ तिमोथी ३:१) यसले हामीलाई परीक्षाहरू सहन बलियो बनाउँछ। यसले हामीलाई यहोवा र हाम्रा आध्यात्मिक भाइबहिनीहरूसित अझ नजिक बनाउने राम्रा गुणहरू खेती गर्न मदत गर्छ। (गलाती ५:२२, २३) त्यसो भए यहोवाको यो अद्‌भुत मदतबाट हामी कसरी लाभ उठाउन सक्छौं?

१३, १४. (क) यहोवाले आफ्ना जनहरूलाई खुसीसाथ उहाँको पवित्र आत्मा दिनुहुनेछ भनी हामी किन पक्का हुन सक्छौं? (ख) वास्तवमा हामी पवित्र आत्माको वरदान स्वीकार्दैनौं भन्‍ने कुरा हामी कस्तो खालको कार्यद्वारा देखाउन सक्छौं?

१३ पहिलो, हामीले पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ। येशूले यसो भन्‍नुभयो: “तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) हो, यहोवा कल्पना गर्न सकिने सबैभन्दा असल पिता हुनुहुन्छ। हामीले निष्कपट हुँदै विश्‍वासका साथ उहाँसित पवित्र आत्मा माग्यौं भने उहाँले हामीलाई यो वरदान दिन इन्कार गर्नुहुनेछ भन्‍ने कुरा अकल्पनीय छ। त्यसैले यस्तो प्रश्‍न उठ्‌छ—के हामी यो पवित्र आत्मा माग्छौं? हाम्रा प्रार्थनाहरूमा हरेक दिन यस्तो आग्रह गर्ने असल कारण छ।

१४ दोस्रो, पवित्र आत्माको वरदान अनुरूप काम गरेर हामी यसलाई स्वीकार्छौं। उदाहरणका लागि, कुनै एक जना मसीहीले अश्‍लील सामग्रीहरू हेर्ने झुकावविरुद्ध सङ्‌घर्ष गरिरहेका छन्‌। यो घिनलाग्दो बानीको प्रतिरोध गर्ने मदत पाउन तिनले पवित्र आत्माको लागि प्रार्थना गरेका छन्‌। तिनले मसीही प्राचीनहरूको सल्लाह खोजेका छन्‌ र उनीहरूले तिनलाई यस्ता पतित कुराहरूको नजिकसमेत नगएर निर्णायक कदम चाल्ने सल्लाह दिएका छन्‌। (मत्ती ५:२९) तर तिनले उनीहरूको सल्लाह बेवास्ता गर्छन्‌ र प्रलोभनमा पर्दा यस्ता कुराहरू हेरिरहन्छन्‌ भने नि? के तिनले आफूलाई मदत गर्न पवित्र आत्मा मागे अनुरूप काम गरिरहेका हुन्छन्‌? वा बरु तिनले परमेश्‍वरको आत्मालाई सन्ताप दिने र यो वरदान गुमाउने खतरा मोलिरहेका हुन्छन्‌? (एफिसी ४:३०) साँच्चै नै यहोवाबाट यो अद्‌भुत मदत प्राप्त गरिरहनेछौं भन्‍ने कुरा पक्का गर्न हामीले यथाशक्य गर्नु आवश्‍यक छ।

परमेश्‍वरको वचनबाट मदत

१५. हामी बाइबललाई हल्कासित लिंदैनौं भनेर कसरी देखाउन सक्छौं?

१५ यहोवाका विश्‍वासी सेवकहरूका लागि शताब्दीयौं अघिदेखि बाइबल मदतको एउटा स्रोत हुँदै आएको छ। यद्यपि, पवित्र धर्मशास्त्रलाई हल्कासित लिनुको सट्टा यो मदतको कति शक्‍तिशाली स्रोत हो भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ। यो मदत स्वीकार्न प्रयास चाहिन्छ। हामीले बाइबल पढाइलाई आफ्नो नियमित तालिकाको एउटा भाग बनाउनु आवश्‍यक छ।

१६, १७. (क) परमेश्‍वरको व्यवस्था पढ्‌दा पाइने इनामहरूबारे भजन १:२, ३ ले कसरी वर्णन गर्छ? (ख) भजन १:३ ले कसरी कडा परिश्रमको चित्र प्रस्तुत गर्छ?

१६ ईश्‍वरीय मानिसबारे भजन १:२, ३ यसो भन्छ: “परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” के तपाईंले यी पदहरूको महत्त्वपूर्ण सार बुझ्नुभयो? यी शब्दहरू पढ्‌नु र यसले शान्तिमय वातावरण अर्थात्‌ खोलाको छेउमा भएको छाया दिने रूखको सुन्दर चित्र प्रस्तुत गर्छ भन्‍ने निष्कर्षमा पुग्नु सजिलो छ। यस्तो ठाउँमा दिउँसो एकछिन झपक्क निदाउनु कति रमाइलो हुन्छ! तर यो भजनले हामीलाई आराम गर्नेबारे सोच्न आग्रह गरिरहेको छैन। यसले बेग्लै प्रकारको चित्र प्रस्तुत गरिरहेको छ अर्थात्‌ कडा परिश्रम गर्न सल्लाह दिइरहेको छ। कसरी?

१७ याद गर्नुहोस्‌, यहाँ बताइएको रूख खोलाको छेउमा आफसेआफ हुर्किरहेको छाया दिने रूख होइन। यो राम्रो ठाउँ छानेर अर्थात्‌ “खोलाको धारको छेउमा” जानीबुझीकन “रोपेको” फल दिने रूख हो। फलफूलका रूखहरू भएको बगैंचामा त्यसको मालिकले ती मूल्यवान्‌ रूखहरूको जरासम्म पानी पुऱ्‍याउनको लागि सिंचाइ गर्ने कुलोहरू खन्‍न सक्छन्‌। हो, अब भने कुरा प्रस्ट भयो! आध्यात्मिक अर्थमा हामी त्यो रूखजस्तै फस्टाउँछौं भने हाम्रो खातिर धेरै परिश्रम गरिएको कारण नै यस्तो भएको हो। सत्यको शुद्ध पानी हामीसम्म ल्याउने संगठनसित हामी आबद्ध छौं तर हामीले आफ्नो भूमिका निर्वाह गर्नै पर्छ। परमेश्‍वरको वचन हाम्रो मन अनि हृदयमा पुऱ्‍याउनको लागि आवश्‍यक पर्ने मनन तथा अनुसन्धानमा व्यस्त भएर हामीले आफूलाई यो अमूल्य पानी सोस्न सक्ने अवस्थामा राख्नुपर्छ। यसरी हामीले पनि राम्रो फल फलाउनेछौं।

१८. हाम्रा प्रश्‍नहरूबारे बाइबलको जवाफ फेला पार्न के गर्नु आवश्‍यक छ?

१८ हामीले बाइबल दराजमा सजाएर मात्र राखेका छौं भने यसले कुनै फाइदा पुऱ्‍याउँदैन। न त यो हामीले आफ्नो आँखा बन्द गरेर पाना पल्टाउँदा जुन पाना पल्ट्यो त्यही पानामा आफ्नो प्रश्‍नको जवाफ पाउने आशा गर्न सकिने मन्त्र वा जादु नै हो। निर्णयहरू गर्नुपर्दा हामीले “परमेश्‍वरको ज्ञान” गाडिएको धनझैं खोतल्नु पर्छ। (हितोपदेश २:१-५) हाम्रा खास आवश्‍यकताहरूसित मिल्ने धर्मशास्त्रीय सल्लाह फेला पार्न अक्सर लगनशीलतापूर्वक र होसियारसाथ अनुसन्धान गर्नुपर्छ। हाम्रो अनुसन्धानमा मदत गर्नको लागि हामीसित थुप्रै बाइबल आधारित प्रकाशनहरू छन्‌। परमेश्‍वरको वचनमा पाइने बुद्धिको रत्न उत्सुकतापूर्वक खोज्न जब हामी यी साधनहरू प्रयोग गर्छौं, हामीले साँच्चै नै यहोवाको मदतको सदुपयोग गरिरहेका हुन्छौं।

सँगी विश्‍वासीहरू मार्फत मदत

१९. (क) प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का लेखहरूलाई किन सँगी विश्‍वासीहरू मार्फत दिइएको मदतको रूपमा हेर्न सकिन्छ? (ख) हाम्रा पत्रिकाहरूको कुनै खास लेखले तपाईंलाई कसरी मदत गरेको छ?

१९ यहोवाका मानव सेवकहरू सधैं नै एक-अर्काको लागि मदतको स्रोत हुँदै आएका छन्‌। के यहोवा परिवर्तन हुनुभएको छ? पक्कै हुनुभएको छैन। निस्सन्देह, हामी यस्ता अवस्थाहरू सम्झन सक्छौं होला जतिबेला हामीले सँगी विश्‍वासीहरूबाट हामीलाई चाहिएकै मदत ठीक समयमा पायौं। उदाहरणका लागि, के तपाईं प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को कुनै यस्तो लेख सम्झन सक्नुहुन्छ जसले तपाईंलाई आवश्‍यक परेको बेलामा सान्त्वना दियो वा कुनै समस्या समाधान गर्न अथवा तपाईंको विश्‍वासको चुनौती सामना गर्न मदत गऱ्‍यो? “ठीक ठीक समयमा खान देओस्‌” भनेर नियुक्‍त गरिएको “विश्‍वासी र बुद्धिमान दास” मार्फत यहोवाले तपाईंलाई यो मदत दिनुभएको छ।—मत्ती २४:४५-४७.

२०. कुन-कुन तरिकामा मसीही प्राचीनहरू “पुरुषहरूमध्ये वरदान” साबित हुन्छन्‌?

२० यद्यपि, सँगी विश्‍वासीहरूबाट अक्सर हामीले प्रत्यक्ष मदत पाउँछौं। एक जना मसीही प्राचीनले हाम्रो मन छुने भाषण दिन्छन्‌ वा तिनले गर्ने गोठालो भेटले हामीलाई कठिन समयमा मदत गर्छ वा तिनले दयालुपूर्वक दिने सल्लाहले हामीलाई आफ्नो कमजोरी चिन्‍न र त्यसलाई हटाउन मदत गर्छ। एक जना प्राचीनबाट पाएको मदतको लागि कृतज्ञ हुँदै एउटी मसीही यस्तो लेख्छिन्‌: “आफ्नो मनको कुरा खुलेर बताउन क्षेत्र सेवकाईमा जाँदा उहाँले मलाई प्रोत्साहन दिनुभयो। त्यसको अघिल्लो रात, आफ्नो मनको कुरा बताउने कोही व्यक्‍ति भेट्‌न सकूँ भनेर मैले यहोवालाई प्रार्थना गरेकी थिएँ। त्यसको अर्को दिन यी भाइले मसित अनुकम्पापूर्ण ढङ्‌गमा कुरा गर्नुभयो। यहोवाले मलाई वर्षौंदेखि कसरी मदत गर्दै आउनुभएको छ भन्‍ने कुरा बुझ्न उहाँले मलाई मदत गर्नुभयो। मेरो लागि यी प्राचीन पठाइदिनुभएकोमा म यहोवाप्रति धन्यवादी छु।” मसीही प्राचीनहरू भनेका हामीलाई जीवनको मार्गमा धीरजी भइरहने मदत दिनको लागि यहोवाले येशू ख्रीष्टमार्फत प्रबन्ध गर्नुभएको “पुरुषहरूमध्ये वरदान” हुन्‌ भनेर तिनीहरूले यस्ता विभिन्‍न तरिकाहरूद्वारा देखाउँछन्‌।—एफिसी ४:८, NW.

२१, २२. (क) मण्डलीका सदस्यहरूले फिलिप्पी २:४ मा पाइने सल्लाह लागू गर्दा यसको परिणाम कस्तो हुन्छ? (ख) ससाना दयालु कार्यहरू पनि किन महत्त्वपूर्ण छन्‌?

२१ “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ” भन्‍ने प्रेरित आज्ञा प्राचीनहरूको अलावा प्रत्येक विश्‍वासी मसीहीहरूले लागू गर्न चाहन्छन्‌। (फिलिप्पी २:४) मसीही मण्डलीका सदस्यहरूले यो सल्लाह लागू गर्दा यसको परिणाम स्वरूप दयाका राम्रा कार्यहरू हुन्छन्‌। उदाहरणका लागि, एउटा परिवारले एक्कासि थुप्रै दुःखद घटनाहरू सहनुपऱ्‍यो। बुबा आफ्नी सानी छोरीलाई लिएर बजार गएका थिए। घर फर्कंदै गर्दा तिनीहरूको गाडी दुर्घटना भयो। छोरीको मृत्यु भयो र बुबा गम्भीर रूपमा घाइते भए। सुरुमा अस्पतालबाट फर्कंदा तिनी यति अशक्‍त थिए कि कुनै पनि काम तिनी आफै गर्न सक्दैनथे। तिनकी पत्नी एक्लै तिनको हेरविचार गर्न नसक्ने गरी भावनात्मक तवरमा विक्षिप्त अवस्थामा थिइन्‌। त्यसैले मण्डलीको एउटा दम्पतीले यो शोकाकुल दम्पतीलाई आफ्नो घरमा लगेर केही हप्तासम्म तिनीहरूको हेरविचार गरे।

२२ निस्सन्देह, सबै दयालु कार्यहरूमा यस्तो दुःखद घटना र व्यक्‍तिगत त्याग समावेश हुँदैन। हामीले पाउने मदत कहिलेकाहीं एकदमै सानो हुन सक्छ। तर त्यो दयालु कार्य जतिसुकै सानो किन नहोस्‌, हामी त्यसको मूल्याङ्‌कन गर्छौं, होइन र? के तपाईं यस्तो समय सम्झन सक्नुहुन्छ, जतिबेला कुनै भाइ वा बहिनीको दयालु शब्द वा विचारशील कार्यले तपाईंलाई चाहिएकै मदत दियो? यहोवाले अक्सर यी तरिकाहरूमा हाम्रो हेरविचार गर्नुहुन्छ।—हितोपदेश १७:१७; १८:२४.

२३. हामीले एक-अर्कालाई मदत गर्ने कोसिस गर्दा यहोवाले यसलाई कसरी हेर्नुहुन्छ?

२३ यहोवाले तपाईंलाई अरूलाई मदत गर्ने माध्यमको रूपमा चलाएको के तपाईं चाहनुहुन्छ? यो सुअवसर तपाईंको लागि खुला छ। वास्तवमा तपाईंले गर्नुभएको यस्तो प्रयासको यहोवा मूल्याङ्‌कन गर्नुहुन्छ। उहाँको वचन यसो भन्छ: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” (हितोपदेश १९:१७) हाम्रा भाइबहिनीहरूको लागि आफूलाई अर्पण गर्दा ठूलो आनन्द प्राप्त हुन्छ। (प्रेरित २०:३५) जानाजानी आफूलाई अलग्याउने व्यक्‍तिहरूले न यस्तो मदत दिंदा प्राप्त हुने आनन्द अनुभव गर्न सक्छन्‌ न त मदत प्राप्त हुँदा पाइने प्रोत्साहन नै महसुस गर्न सक्छन्‌। (हितोपदेश १८:१) त्यसैले एक-अर्कालाई प्रोत्साहन दिन सक्नको लागि हामी नियमित रूपमा मसीही सभाहरूमा भेला होऔं।—हिब्रू १०:२४, २५.

२४. विगतमा जस्तो यहोवाका अद्‌भुत चमत्कारहरू देख्न पाएनौं भन्दैमा किन हामीले कुनै कुराबाट वञ्चित भएको महसुस गर्नु पर्दैन?

२४ यहोवाले हामीलाई मदत गर्ने तरिकाहरूबारे विचार गर्नु के आनन्ददायी छैन र? यहोवाले आफ्ना उद्देश्‍यहरू पूरा गर्न अद्‌भुत चमत्कारहरू गर्नुहुने समयमा हामी बाँचिरहेको नभए तापनि हामीले कुनै कुराबाट वञ्चित भएको महसुस गर्नु पर्दैन। वास्तवमा महत्त्वपूर्ण कुरा के हो भने विश्‍वासी रहिरहनको लागि चाहिने सम्पूर्ण कुरा यहोवाले हामीलाई दिनुहुन्छ। अनि हामी एकसाथ विश्‍वासमा स्थिर रहिरह्‍यौं भने सारा इतिहासमा यहोवाको सबैभन्दा सानदार र महिमित कार्य हेर्नको लागि हामी जीवित हुनेछौं! यहोवाको मायालु मदत स्वीकार्न र यसको पूर्ण सदुपयोग गर्न हामी कटिबद्ध होऔं ताकि सन्‌ २००५ को हाम्रो वार्षिक पदका शब्दहरू अनुरूप चल्छौं भन्‍ने कुरा हामी देखाउन सक्नेछौं: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW.

तपाईंको विचार कस्तो छ?

• स्वर्गदूतहरूद्वारा

• उहाँको पवित्र आत्मामार्फत

• उहाँको प्रेरित वचनद्वारा

• सँगी विश्‍वासीहरू मार्फत

यहोवाले आज हामीलाई चाहिएको मदत कसरी दिनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

स्वर्गदूतहरूले प्रचारकार्यलाई समर्थन गरिरहेका छन्‌ भनेर थाह पाउनु प्रोत्साहनदायी छ

[पृष्ठ २१-मा भएको चित्र]

हामीलाई चाहिएको सान्त्वना दिन यहोवाले हाम्रा सँगी विश्‍वासीहरूमध्ये कसैलाई चलाउन सक्नुहुन्छ