सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जहाँ साँचो उपासना र गैर-मसीहीधर्म बाझियो

जहाँ साँचो उपासना र गैर-मसीहीधर्म बाझियो

जहाँ साँचो उपासना र गैर-मसीहीधर्म बाझियो

टर्कीको पश्‍चिमी तटमा रहेको पुरातन एफिससको भग्नावशेष एक शताब्दीभन्दा अघिदेखि तीव्र पुरातात्त्विक अनुसन्धानको उद्‌गम थलो भएको छ। केही भवनहरू पुनर्निर्माण गरिएका छन्‌ भने अरू कतिबारे अध्ययन गरेर वैज्ञानिकहरूले यसको व्याख्या गरेका छन्‌। फलस्वरूप, टर्कीमा आउने पर्यटकहरूको लागि एफिसस एउटा अत्यन्तै लोकप्रिय आकर्षण बनेको छ।

एफिससबारे कुन कुरा पत्ता लगाइएको छ? त्यस मनमोहक पुरातन महानगरबारे आज कस्तो चित्र कोर्न सकिन्छ? एफिससको भग्नावशेष र अस्ट्रियाको भियनामा रहेको एफिसस सङ्‌ग्रहालयमा जाँदा हामी एफिससमा साँचो उपासना र गैर-मसीहीधर्म कसरी बाझियो भनी बुझ्न मदत पाउनेछौं। पहिला हामी एफिसस सहरको पृष्ठभूमिबारे केही बुझौं।

सबैको आँखा गडेको थलो

सा.यु.पू. ११ औं शताब्दीको दौडान युरेसियामा कलह र बसाइँ सराइ सामान्य कुरा थियो। त्यही बखत, एसिया माइनरको पश्‍चिमी तटलाई आफ्नो उपनिवेश बनाउन आयोनियन ग्रीकहरू सुरिए। ती सुरु-सुरुमा बसोबास गर्न आएकाहरू माता-देवी पूज्ने मानिसहरूको सम्पर्कमा आए, उक्‍त देवी पछि एफिससको आर्टेमिस अर्थात्‌ डायनाको रूपमा चिनियो।

सा.यु.पू. ७ औं शताब्दीको बीचतिर फिरन्ते सिमेरीयालीहरू उत्तरमा मृत-सागरबाट एसिया माइनरमाथि कब्जा जमाउन आए। पछि, सा.यु.पू. ५५० तिर प्रशस्त धनका लागि प्रख्यात लिडियाका शक्‍तिशाली शासक राजा क्रिसस शक्‍तिमा आए। पछि फारसी साम्राज्यको विस्तार हुँदा कोरस राजाले एफिससलगायत अन्य आयोनियन सहरहरूमाथि पनि आफ्नो आधिपत्य जमाए।

सा.यु.पू. ३३४ मा म्यासिडोनियाका सिकन्दरले फारस विरुद्ध आफ्नो अभियान सुरु गरे र यसरी तिनी एफिससको नयाँ शासक बने। सा.यु.पू. ३२३ मा सिकन्दरको अचानक मृत्यु भएपछि तिनका जर्नलहरूबीच एफिससको लागि शक्‍ति सङ्‌घर्ष भयो। सा.यु.पू. १३३ मा पर्गाममका निसन्तान राजा अट्टालस तृतीयले एफिसस रोमीहरूलाई सुम्पे र यो रोमको एसिया प्रान्तको भाग बन्यो।

साँचो उपासना गैर-मसीहीधर्मसित बाझिन्छ

सा.यु. प्रथम शताब्दीमा प्रेरित पावल आफ्नो दोस्रो मिसनरी यात्राको अन्ततिर एफिससमा आइपुग्दा तिनले झन्डै ३,००,००० बासिन्दाहरू भएको सहर पत्ता लगाए। (प्रेरित १८:१९-२१) आफ्नो तेस्रो मिसनरी यात्राको दौडान पावल फेरि एफिसस फर्के र परमेश्‍वरको राज्यबारे नयाँ साहसका साथ सभाघरमा बोले। तथापि तीन महिनापछि यहूदीहरूबाट तीव्र सतावट आउन थाल्यो र पावलले आफ्नो दिनहुँको भाषण टिरान्‍नसको विद्यालयमा दिने निर्णय गरे। (प्रेरित १९:१, ८, ९) चमत्कारपूर्ण ढङ्‌गमा निको पार्ने र दुष्टात्माहरूलाई भगाउने जस्ता असाधारण आश्‍चर्यका कामहरू सँगसँगै तिनी दुई वर्षसम्म त्यहाँ प्रचारकार्यमा लागिरहे। (प्रेरित १९:१०-१७) त्यसैले त थुप्रै विश्‍वासी भए! हो परमेश्‍वरको वचन फैलियो र पहिला टुनामुना गर्ने धेरैले स्वेच्छाले त्यससम्बन्धी आफ्ना अमूल्य पुस्तकहरू बटुलेर जलाइदिए।—प्रेरित १९:१९, २०.

पावलको सफल प्रचारकार्यको कारण डायना देवीको उपासना त्याग्न थुप्रै उत्प्रेरित हुनुका साथै मूर्तिपूजाका समर्थकहरू थुप्रैलाई क्रोधित पनि तुल्यायो। डायनाका चाँदीका मूर्तिहरू बनाउनु एउटा मुनाफादायी व्यापार थियो। तिनीहरूको व्यापार खतरामा परेकोले डेमेत्रियस नाउँ भएको चाँदीको शिल्पकारीले हलचल मच्चायो।—प्रेरित १९:२३-३२.

यस मतभेद चरमसीमामा पुगेपछि भीड दुई घण्टासम्म उत्तेजित हुँदै यसो भनेर करायो: “एफिसियनहरूको डायना महान्‌ हुन्‌!” (प्रेरित १९:३४) यो खैलाबैला थामिएपछि पावलले फेरि एक चोटि सँगी मसीहीहरूलाई प्रोत्साहन दिए अनि तिनी आफ्नो यात्रामा हिंडे। (प्रेरित २०:१) तथापि, तिनी म्यासिडोनिया जाँदैमा डायना गुटको ओरालो लाग्ने क्रम रोकिएन।

डायनाको मन्दिर धरमराउँछ

डायना गुटले एफिससमा बलियो जरा गाडेको थियो। राजा क्रिससको समयभन्दा अघिसम्म माता-देवी सिबिलले त्यस इलाकाको धार्मिक जीवनमा महत्त्वपूर्ण स्थान ओगटेको थियो। मिथ्याको भरमा सिबिलको वंशावली युनानी देवहरूसँग जोडेर क्रिससले युनानी र गैर-युनानी दुवैलाई स्वीकार्य धार्मिक चरित्र सृजना गर्ने आशा गरे। तिनकै समर्थनमा सा.यु.पू. छैटौं शताब्दीको बीचतिर सिबिलको उत्तराधिकारी डायनाको मन्दिर निर्माण कार्य सुरु भयो।

युनानी वास्तुकलाको लागि मन्दिर एउटा उल्लेखनीय उपलब्धि थियो। यत्रो साइज र यस्तो प्रकारको भवन निर्माण गर्न पहिला कहिल्यै मार्बलका यति ठूला ब्लकहरू प्रयोग गरिएको थिएन। त्यो मन्दिर सा.यु.पू. ३५६ मा आगोले भस्म भएको थियो। उत्तिकै भव्य किसिमले पुनर्निर्माण गरिएको मन्दिर रोजगारीको लागि महत्त्वपूर्ण स्रोत हुनुका साथै तीर्थयात्रीहरूका लागि प्रमुख आकर्षण थियो। झन्डै ७३ मिटर चौडा र १२७ मिटर लामो मञ्चमा स्थापना गरिएको पुनर्निर्मित मन्दिर झन्डै ५० मिटर चौडा र १०५ मिटर लामो थियो। विश्‍वका सातवटा आश्‍चर्यमध्ये यसलाई एउटा मानिएको थियो। तथापि, सबैलाई यो चित्त बुझेको थिएन। एफिससका दार्शनिक हेराक्लिटसले वेदीमा जाने अँध्यारो बाटोलाई नीच कुराको अँध्यारोसित तुलना गरे र मन्दिरसँग सम्बन्धित नैतिकता जनावरहरूको भन्दा पनि खत्तम छ भन्‍ने तिनको धारणा थियो। तथापि, अधिकांशले एफिससमा रहेको डायना मन्दिरको कहिल्यै नाश हुनेछैन जस्तो ठानेका थिए। तर इतिहासले भने अर्कै कुरा देखायो। एफिसोस—दर नोय फ्युरोर (एफिसस—नयाँ गाइड) भन्‍ने पुस्तक यस्तो उल्लेख गर्छ: “दोस्रो शताब्दीसम्ममा डायना तथा अन्य स्थापित देव-देवीहरूको उपासनामा अकस्मात्‌ कमी आइसकेको थियो।”

सा.यु. तेस्रो शताब्दीमा एफिससलाई ठूलो भुइँचालोले हल्लायो। यसबाहेक, ब्ल्याक सीबाट समुद्री यात्रा गरेर आएका गथहरूले डायना मन्दिरको अपार धनसम्पत्ति लुटेर मन्दिरमा आगो लगाइदिए। भर्खरै उल्लेख गरिएको पुस्तकले यसो भन्छ: “पराजित र आफ्नै वासस्थानको रक्षा गर्न असमर्थ डायनाले सहरको सुरक्षा गर्नेछ भनेर कतिन्जेल पत्याउन सकिन्थ्यो र?”—भजन १३५:१५-१८.

अन्ततः सा.यु. चौथो शताब्दीको अन्ततिर सम्राट्‌ थियोडोसियस प्रथमले “मसीहीधर्म” नै राज्यको धर्म हो भनी पुष्टि गरे। कुनै समयको प्रतिष्ठित डायना मन्दिर चाँडै निर्माण सामग्रीहरूको लागि मुख्य भण्डार भयो। डायनाको उपासनाले आफ्नो महत्त्व पूर्णतया गुमायो। पुरातन संसारको आश्‍चर्यमध्ये एउटा भनी मन्दिरको प्रशंसा गरिएको एउटा पङ्‌क्‍तिको सन्दर्भमा नाउँ थाह नभएका एक जना अवलोकनकर्ताले यस्तो टिप्पणी गरे: “अहिले यो संसारको सबैभन्दा उजाड र दयनीय ठाउँ भएको छ।”

पहिले डायना पछि “परमेश्‍वरकी माता”

आफू गएपछि “डरलाग्दा ब्वाँसाहरू” देखापर्नेछन्‌ र तिनीहरूमध्ये कुनै कुनैले “बराल्ने कुरा” बोल्नेछन्‌ भनी एफिसस मण्डलीका बूढा प्रधानहरूलाई पावलले चेतावनी दिए। (प्रेरित २०:१७, २९, ३०) ठीक त्यस्तै भयो। एफिससमा धर्मत्यागी मसीहीधर्मको रूपमा झूटो धर्म व्याप्त भयो भनी घटना विवरणहरूले देखाउँछ।

सा.यु. ४३१ मा एफिससमा मसीही एकता परिषद्‌को तेस्रो बैठक बसेको थियो जहाँ ख्रीष्टको स्वरूपसम्बन्धी विवादको छलफल गरियो। एफिसोस—दर नोय फ्युरोर यस्तो भन्छ: “ख्रीष्टको एउटै मात्र स्वरूप अर्थात्‌ ईश्‍वरीय स्वरूप छ भन्‍ने अलेक्जेन्ड्रियालीहरूको विजय . . . पूरा भयो।” यस नतिजाको प्रभाव व्यापक भयो। “एफिससमा गरिएको निर्णयको आधारमा मरियमलाई ख्रीष्टको जन्मदाता-बाट उचालेर परमेश्‍वरको जन्मदाता तुल्याइयो र यो मरियमको गुट स्थापना गर्न आधार मात्र भएन तर यसले चर्चभित्र पहिलो ठूलो विभाजन सुरु गऱ्‍यो। . . . यो विवाद आजसम्म पनि यथावत्‌ छ।”

यसरी सिबिल र डायनाको उपासनाको ठाउँ “परमेश्‍वरको जन्मदाता” मरियम वा “परमेश्‍वरकी माता”-ले ओगट्‌न थाल्यो। पुस्तकमा उल्लेख गरिएअनुसार “एफिससमा मरियमको गुट . . . आजसम्म पनि प्रचलनमा छ र त्यस गुटबारे कुरा गर्दा डायना गुटको पनि नाउँ आइहाल्छ।”

इतिहासमा विलीन भएको घटना

डायनाको उपासना खस्किंदै गएपछि एफिससको पनि पतन भयो। भुइँचालो, औलो र बन्दरगाह बिस्तारै माटोले पुरिन थालेपछि त्यस सहरमा जीवन झनै कष्टदायी हुन थाल्यो।

सा.यु. सातौं शताब्दीसम्ममा इस्लाम धर्म व्यापक रूपमा फैलिन थालिसकेको थियो। अरबी कुलहरूलाई एकतामा बाँध्ने काममा मात्र इस्लाम सीमित भएन। अरबी जहाजहरूले सा.यु. सातौं र आठौं शताब्दीभरि नै एफिससमा लुटपाट मच्चाए। बन्दरगाह पूरै पुरिएर सहर फोहोरको ढेर हुँदा एफिससले सदाको लागि विनाश भोग्यो। कुनै समय भव्य महानगरमा रहेको सहरको एउटा सानो भाग आया सोलुक (अहिले सेल्चुक) मात्रै बाँकी रह्‍यो।

एफिससको भग्नावशेषलाई हेर्दा

पहिलेको एफिससको महिमा कस्तो थियो भनी बुझ्न यसको भग्नावशेष हेर्न सकिन्छ। तपाईंले आफ्नो भ्रमण माथिल्लो प्रवेशद्वारबाट सुरु गर्नुभयो भने त्यहाँ प्रवेश गर्नेबित्तिकै क्युरेटिस सडकदेखि तल सेल्सस लाइब्रेरीसम्मको भव्य दृश्‍य देख्न सक्नुहुनेछ। यस सडकको दायाँतर्फ सा.यु. दोस्रो शताब्दीमा निर्माण गरिएको सानो नाचघरले तपाईंको ध्यान खिच्नेछ। झन्डै १,५०० मान्छे अटाउने क्षमता भएको यस ठाउँ सम्भवतः औपचारिक बैठकहरूको लागि मात्र नभई सर्वसाधारणको मनोरञ्जनको लागि पनि प्रयोग गरिन्थ्यो। क्युरेटिस सडकको दुवै छेउमा भवनहरू छन्‌। जस्तै: राज्यसम्बन्धी विषयहरू छलफल गरिने सरकारी जमघट हुने थलो, हाड्रियनको मन्दिर, केही सार्वजनिक फोहराहरू र गण्यमान्य एफिसियनहरूको डाँडा छेउमा बनाइएका घरहरू।

सा.यु. दोस्रो शताब्दीमा निर्माण गरिएको सुन्दर सेल्सस लाइब्रेरीको सौन्दर्य देखेर तपाईं प्रभावित हुनुहुनेछ। थुप्रै बेरुवाहरू यहाँको ठूलो पढ्‌ने कोठाका खोपाहरूमा राखिएका थिए। भव्य भवनमा राखिएको चारवटा मूर्तिले सेल्ससजस्ता उच्च पदस्थ रोमी निजामती कर्मचारीले देखाउनुपर्ने गुण चित्रण गर्थ्यो: सोफिया (बुद्धि), आरेट (सद्‌गुण), अनोइया (समर्पण) र एपिस्टेम (ज्ञान वा समझ)। सुरुका मौलिक मूर्तिहरू भियनाको एफिसस सङ्‌ग्रहालयमा देख्न सकिन्छ। लाइब्रेरीको अगाडिपट्टिको चोकसँगै एउटा बडेमाको ढोका छ जहाँबाट तपाईं टेट्रागोनस बजार पुग्नुहुन्छ। पहिला-पहिला टहल्ने ठाउँले घेरिएको यो ठूलो चोकमा मानिसहरू आफ्नो सामान्य व्यापारिक गतिविधिमा व्यस्त हुन्थे।

त्यसपछि तपाईं मार्बल रोडमा पुग्नुहुन्छ जहाँ अझै एउटा ठूलो रङ्‌गमञ्च छ। रोमी सम्राट्‌हरूको समयमा अन्तिम चोटि विस्तार गरिएको यस ठाउँमा झन्डै २५,००० दर्शकहरू अटाउन सक्छन्‌। यसको मोहडा एकदमै भव्य खम्बा, आकृति र मूर्तिहरूले सजिएको थियो। चाँदीको शिल्पकारी डेमेत्रियसले त्यहाँ भेला भएका भीडमाझ कत्तिको हलचल मचायो होला तपाईं सजिलै कल्पना गर्न सक्नुहुन्छ।

ठूलो रङ्‌गमञ्चदेखि सहरको बन्दरगाहसम्म फैलिएको सडक भव्य छ। एघार मिटर चौडा यो सडक झन्डै ५०० मिटर लामो छ र दुवै छेउमा खम्बाहरू छन्‌। यसै मार्गमा पर्ने रङ्‌गमञ्च व्यायामशाला र बन्दरगाह व्यायामशाला दुवै शारीरिक कसरतको लागि बनाइएका थिए। सडकको पुछारमा रहेको बडेमाको बन्दरगाहद्वार संसारको लागि प्रवेशद्वार थियो र यही बिन्दुमा पुगेपछि संसारको सबैभन्दा मनमोहक भग्नावशेषको छोटो भ्रमण टुङ्‌गिन्छ। भियनाको एफिसस सङ्‌ग्रहालयमा यस ऐतिहासिक महानगरका साथै विभिन्‍न स्मारकहरूको काष्ठ मोडल बनाइएको छ।

सङ्‌ग्रहालयमा हेर्दै जाँदा र एफिसियन डायनाको मूर्ति देख्दा एफिससका प्रारम्भिक मसीहीहरूले कत्ति धैर्य धारण गर्नुपऱ्‍यो होला भन्‍ने कुरा दिमागमा खेल्न थाल्छ। तिनीहरू प्रेतवाद र धार्मिक पूर्वाग्रहले जकडिएको सहरमा बस्नुपरेको थियो। डायनाका उपासकहरूले राज्यसन्देशको तीव्र विरोध गरे। (प्रेरित १९:१९; एफिसी ६:१२; प्रकाश २:१-३) त्यस्तो अमित्रैलो वातावरणमा साँचो उपासनाले जरा गाड्यो। प्राचीन समयमा डायनाले आफ्नो विनाश भोग्नुपरेजस्तै हाम्रो समयमा पनि साँचो परमेश्‍वरको उपासना झूटो धर्ममाथि विजयी हुनेछ।—प्रकाश १८:४-८.

[पृष्ठ २६--मा भएको नक्सा/चित्र]

म्यासिडोनिया

कृष्ण सागर

एसिया माइनर

एफिसस

भूमध्य सागर

मिश्र

[पृष्ठ २७-मा भएको चित्र]

डायना मन्दिरको भग्नावशेष

[पृष्ठ २८, २९-मा भएका चित्रहरू]

१. सेल्सस लाइब्रेरी

२. नजिकबाट आरेट

३. भव्य रङ्‌गमञ्चतर्फ जाने मार्बल रोड