सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अय्यूबको पुस्तकका विशेषताहरू

अय्यूबको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

अय्यूबको पुस्तकका विशेषताहरू

कुलपिता अय्यूब ऊज भन्‍ने ठाउँमा बस्थे। अहिले त्यो ठाउँ अरेबियन प्रायद्वीपमा पर्छ। त्यतिखेर इस्राएलीहरूको ठूलो जमात मिश्र देशमा बसोबास गर्थ्यो। अय्यूब इस्राएली थिएनन्‌ तरैपनि तिनी यहोवा परमेश्‍वरको उपासना गर्थे। तिनको विषयमा बाइबल भन्छ: “परमेश्‍वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्यो जस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस” कोही छैन। (अय्यूब १:८) यो, यहोवाका उल्लेखनीय सेवक याकूबको छोरा यूसुफ मरेपछि र मोशाले अगमवक्‍ताको रूपमा सेवा गर्नुअघिको कुरा हो।

भनिन्छ, अय्यूबको पुस्तक मोशाले लेखेका हुन्‌। ऊज नजिकै पर्ने मिद्यानमा ४० वर्ष बिताएको बेला मोशाले अय्यूबबारे थाह पाएका हुन सक्छन्‌। उजाडस्थानमा प्रवासी जीवन बिताएको ४० वर्ष बित्नै लाग्दा इस्राएलीहरू ऊज नजिकै पुगेका थिए। त्यतिबेला नै मोशाले अय्यूबको जीवनका अन्तिम वर्षहरूमा घटेका घटनाहरू सुनेका हुन सक्छन। a अय्यूबले भोगेका तीता-मीठा अनुभवलाई अत्यन्तै सुन्दर ढङ्‌गमा लेखिएको छ। त्यसैले अय्यूबको पुस्तकलाई उत्कृष्ट साहित्यिक कृतिको रूपमा पनि हेर्ने गरिन्छ। त्योभन्दा महत्त्वपूर्ण कुरा त, अय्यूबको पुस्तकले यस्ता प्रश्‍नहरूको जवाफ पनि दिन्छ: असल मान्छेलाई पनि किन यतिबिघ्न कष्ट? के कारण यहोवाले अझै दुष्टता नहटाउनुभएको? के असिद्ध मानिस परमेश्‍वरसामु निष्ठावान्‌ रहिरहन सक्छ? अय्यूबको पुस्तकको एक-एक सन्देश परमेश्‍वरकै वचन भएकोले यो पुस्तक जीवित र आज पनि उतिकै प्रबल छ।—हिब्रू ४:१२.

“धिक्कार होस्‌ म जन्मेको दिन”

(अय्यूब १:१–३:२६)

एक दिनको कुरा हो, अय्यूब परमेश्‍वरप्रति निष्ठावान्‌ छैन भनेर शैतानले आरोप लगाउँछ। शैतानले लगाएको आरोप यहोवा सुन्‍नुहुन्छ र अय्यूबको निष्ठा जाँच्न तिनीमाथि एकपछि अर्को विपत्ति ल्याउने अनुमति दिनुहुन्छ। तरैपनि अय्यूबले ‘परमेश्‍वरलाई सराप्दैनन्‌।’—अय्यूब २:९.

अय्यूबका तीन मित्र “तिनीकहाँ सहानुभूति प्रकट गर्न” आउँछन्‌। (अय्यूब २:११) “धिक्कार होस्‌, म जन्मेको दिन” भनेर अय्यूबले आफ्नो मुख नफोरेसम्म उनीहरू चुपचाप बसिरहन्छन्‌। (अय्यूब ३:३) अय्यूबलाई आफू “दिनको उज्यालो कहिल्यै नदेखेको बालक” अर्थात्‌ जन्मँदै नजन्मिएको बालकजस्तै हुन पाए पनि हुन्थ्यो जस्तो लाग्छ।—अय्यूब ३:११, १६, NRV.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:४के अय्यूबका छोराछोरीले जन्मदिन मनाए? मनाएनन्‌। तर कोही-कोही भन्छन्‌, उनीहरूले जन्मदिन मनाए। हुन पनि, कुनै-कुनै अनुवादका शब्दहरू हेर्दा त्यस्तै लाग्छ। जस्तै, कतिपय अनुवादहरूमा अय्यूबका छोराछोरीले “आफ्नो पालो परेको दिन आ-आफ्नो घरमा भोज दिने गर्थे” भनी लेखिएको छ। वास्तवमा “दिन” र “जन्मदिन[का]” लागि प्रयोग भएका मूल शब्दहरू फरक-फरक मात्र होइन यसको अर्थ पनि बेग्लाबेग्लै छ। (उत्पत्ति ४०:२०) अय्यूब १:४ मा प्रयोग भएको “दिन” शब्दले सूर्योदयदेखि सूर्यास्तसम्मको अवधिलाई सङ्‌केत गर्छ। अय्यूबका सात छोराले वर्षको एकपल्ट सात दिने पारिवारिक जमघट आयोजना गर्थे जस्तो देखिन्छ। उनीहरू पालैपालो जमघट आयोजना गर्थे। त्यसकारण, आफ्नो पालो परेको “दिन” प्रत्येक छोराले आ-आफ्नो घरमा भोज दिन्थे।

१:६; २:१—क-कसलाई यहोवासामु उपस्थित हुने अनुमति दिइयो? परमेश्‍वरको एक मात्र प्यारो पुत्र ‘वचन’; वफादार स्वर्गदूतहरू र शैतान अर्थात्‌ दियाबललगायत परमेश्‍वरका अवफादार “स्वर्गीय-जनहरू” यहोवासामु उपस्थित भएका थिए। (यूहन्‍ना १:१, १८) सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भएलगत्तै शैतान तथा त्यसका आसेपासेहरूलाई घोक्र्‌याएर स्वर्गबाट निकालियो। तर त्यसअघि चाहिं तिनीहरू स्वर्गमै थिए। (प्रकाश १२:१-१२) यहोवाले तिनीहरू सबैलाई आफ्नोसामु आउने अनुमति दिनुभएर शैतानले खडा गरेको चुनौती र त्यस चुनौतीले उत्पन्‍न गरेको विवादबारे सबै आत्मिक प्राणीलाई थाह दिनुभयो।

१:७; २:२—के यहोवाले शैतानसित सीधै कुरा गर्नुभयो? आफ्ना आत्मिक प्राणीहरूसित यहोवा कसरी कुरा गर्नुहुन्छ भन्‍ने विषयमा बाइबलले विस्तृत जानकारी दिएको छैन। तर अगमवक्‍ता मीकायाले देखेको दर्शनमा एउटा स्वर्गदूतले यहोवासित सीधै कुरा गरिरहेका थिए। (१ राजा २२:१४, १९-२३) त्यसकारण, यहोवाले कुनै मध्यस्थविना शैतानसित कुरा गर्नुभए जस्तो देखिन्छ।

१:२१—कुन अर्थमा अय्यूब ‘आफ्नी आमाको गर्भमा फर्केर जान’ सक्थे? यहोवा परमेश्‍वरले “भूमिको माटोबाट” मानिस बनाउनुभएको थियो। त्यसकारण, यहाँ प्रयोग भएको “आमा” शब्दले लाक्षणिक अर्थमा पृथ्वीलाई बुझाउँछ।—उत्पत्ति २:७.

२:९—आफ्नो पतिले परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ भन्दा अय्यूबकी पत्नी कस्तो मानसिक स्थितिमा थिइन्‌ होला? अय्यूबले जस्तो क्षति बेहोरे, तिनकी पत्नीले पनि उस्तै क्षति बेहोरेकी थिइन्‌। हट्टाकट्टा श्रीमान्‌लाई घिनलाग्दो रोगले ग्रस्त पारेको देख्दा तिनको मन कत्ति रोयो होला! तिनले आफ्नो मुटुको टुक्राजस्तै छोराछोरी पनि गुमाएकी थिइन्‌। यी सब कुराको पीरले तिनलाई निकै व्याकुल पाऱ्‍यो होला। नत्र तिनले साँच्चै महत्त्वपूर्ण कुरा अर्थात्‌ यहोवासितको सम्बन्धलाई त्यसरी चटक्क बिर्सिने थिइनन्‌।

हाम्रो लागि पाठ:

१:८-११; २:३-५. यी पदहरूबाट थाह लागेअनुसार सही काम गरेर अनि सही बोलेर मात्र निष्ठावान्‌ रहन सकिंदैन, यहोवाको सेवा गर्ने मनसाय पनि चोखो हुनै पर्छ।

१:२१, २२. सजिलो र असजिलो दुवै परिस्थितिमा यहोवाप्रति वफादार रहेर हामी शैतानलाई झूटो साबित गर्न सक्छौं।—हितोपदेश २७:११.

२:९, १०. परिवारका सदस्यहरूले हाम्रो आध्यात्मिक कुराको मोल नगरे तापनि अथवा आफ्नो विश्‍वासमा सम्झौता गर्न वा विश्‍वासबाट तर्किन दबाब दिंदासमेत हामी आफ्नो विश्‍वासमा अय्यूबजस्तै दृढ रहनुपर्छ।

२:१३. अय्यूबका मित्रहरूसित परमेश्‍वर अनि उहाँका प्रतिज्ञाहरूबारे बातचित गर्ने एउटै सान्त्वनादायी कुरा थिएन किनभने उनीहरू आध्यात्मिकतामा खोक्रो थिए।

“नमरुञ्जेल म निर्दोष [“निष्ठावान्‌,” NW] छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।”

(अय्यूब ४:१–३१:४०)

अय्यूबका तीनै मित्रको मुखबाट एउटै आरोप निस्कन्छ, ‘अय्यूबले पक्कै पनि घोर दुष्ट काम गरेको हुनुपर्छ नत्र परमेश्‍वरले तिनलाई यस्तो कठोर सजाय दिनुहुने थिएन।’ सबभन्दा पहिला एलीपजले आरोप लगाउँछ। त्यसपछि बिल्दद बोल्न थाल्छ, अय्यूबको मन चिमोट्‌ने गरी। सोपरको बोली त झन्‌ छुराजस्तै छ, मनै छियाछिया पार्ने।

अय्यूब, आफ्ना मित्रहरूले लगाएको हावादारी आरोपको खण्डन गर्छन्‌। आफूलाई परमेश्‍वरले त्यतिबिघ्न कष्ट हुन दिनुको कारण बुझ्न नसक्दा अय्यूब आफ्नो सफाइ दिन हतारिन्छन्‌। तैपनि अय्यूब परमेश्‍वरलाई माया गर्छन्‌ र यस्तो उद्‌गार गर्छन्‌: “नमरुञ्जेल म निर्दोष [“निष्ठावान्‌,” NW] छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।”—अय्यूब २७:५.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

७:१; १४:१४“कठिन कार्य” र अनिवार्य “सेवा” भन्‍नाले के बुझिन्छ? अय्यूबले यत्ति नमीठो पीडा भोगे कि तिनलाई जीवन अत्यन्तै चुनौतीपूर्ण र कडा मेहनत नगरी नहुने “कठिन कार्य” अथवा अनिवार्य “कार्य” जस्तो लाग्यो। अय्यूब १०:१७ मा बताइएको “नयाँ फौज” भन्‍ने अभिव्यक्‍तिलाई ‘एकपछि अर्को अनिवार्य कार्य’ भनेर पनि अनुवाद गर्न सकिन्छ। मरेपछि पुनरुत्थान नभएसम्मको अवस्था अर्थात्‌ शिओलमा हुँदा मानिसको केही जोर चल्दैन। यस्तो अवस्थालाई चाहिं अय्यूबले अनिवार्य “सेवा” भनिरहेका थिए।

७:९, १०; १०:२१; १६:२२—यी पदहरूमा भनिएका कुराबाट के पुनरुत्थानमाथि अय्यूबको विश्‍वास थिएन भन्‍ने बुझिन्छ? यी पदहरूमा अय्यूबले आफ्नो निकट भविष्यबारे कुरा गरिरहेका थिए। उसोभए, अय्यूबको भनाइको मतलब के थियो? केही गरी अय्यूब मरिहालेमा तिनका दौंतरीहरूमध्ये कसैले पनि तिनलाई भेट्‌ने थिएनन्‌ भन्‍न खोजिएको हुन सक्छ। साथै, कोही व्यक्‍ति पाताल अर्थात्‌ शिओलबाट आफै फर्कन सक्दैन भनेर पनि अय्यूबले भनिरहेका हुन सक्छन्‌। भविष्यमा हुने पुनरुत्थानमा अय्यूबले विश्‍वास गर्थे भन्‍ने कुरा अय्यूब १४:१३-१५ बाट छर्लङ्‌ग हुन्छ।

१०:१०—यहोवाले कसरी ‘अय्यूबलाई दूधझैं खन्याउनुभयो र दहीझैं जमाउनुभयो?’ यो त अय्यूब आफ्नी आमाको गर्भमा कसरी बनिए भन्‍ने कुरालाई कवितात्मक शैलीमा भनिएको हो।

१९:२०—अय्यूबले “मता मरिसकेरै बाँचेको [“दाँतको छालाबाट बाँचेको,” NW] छु” भन्‍नुको अर्थ के हो? छाला नै नभएको दाँतको छालाबाट बचें भनी अय्यूबले भन्‍नुको अर्थ तिनी मरिसकेरै बाँचेको थिएँ भन्‍न खोजेको हुन सक्छ।

हाम्रो लागि पाठ:

४:७, ८; ८:५, ६; ११:१३-१५. दुःख पाइरहेको व्यक्‍ति देख्नासाथ यसो भनिहाल्नु हुँदैन, ‘उसले केही न केही गल्ती गऱ्‍यो होला। परमेश्‍वर ऊसित खुसी हुनुहुन्‍न जस्तो छ!’

४:१८, १९; २२:२, ३. हामीले दिने सल्लाह परमेश्‍वरको वचनमा आधारित हुनुपर्छ, आफ्नै विचारधारामा होइन।—२ तिमोथी ३:१६.

१०:१. आफूले दुःख पाउनुको कारण अरू पनि हुन सक्छ भनेर अय्यूबले सोच्दै सोचेनन्‌ किनकि आफूले भोग्नुपरेको दुःखकष्टले गर्दा तिनको मनै कुँडिएको थियो। दुःख पाउँदा हाम्रो मन कुँडिनु हुँदैन किनभने दुःखकष्ट आइपर्नुमा के-कस्ता विवादहरू मुछिएका छन्‌, हामीले राम्रोसँग बुझेका छौं।

१४:७, १३-१५; १९:२५; ३३:२४. अनेकौं परीक्षा ल्याएर शैतानले हामीलाई ढाल्न खोजे पनि पुनरुत्थानको आशाले हामीलाई सम्हाल्छ।

१६:५; १९:२. हाम्रो बोली अरूलाई प्रोत्साहित गर्ने र बलियो पार्ने खालको हुनुपर्छ, झोंक चलाउने हुनु हुँदैन।—हितोपदेश १८:२१.

२२:५-७. हचुवाको भरमा लगाइएको आरोपलाई आधार मानेर दिइएको सल्लाह केही कामको हुँदैन, बरु त्यसले अरूलाई गहिरो चोटचाहिं पार्छ।

२७:२; ३०:२०, २१. निष्ठावान्‌ रहन सिद्ध हुनै पर्छ भन्‍ने छैन। अय्यूबले बित्थामा परमेश्‍वरलाई दोष लगाए।

२७:५. निष्ठावान्‌ रहने नरहने कुरा अय्यूबकै हातमा थियो किनभने निष्ठा भन्‍ने कुरा परमेश्‍वरप्रतिको प्रेममा निर्भर हुन्छ। त्यसकारण, निष्ठा कायम राख्न हामीले यहोवाप्रतिको प्रेम अझ गहिरो बनाउनुपर्छ।

२८:१-२८. पृथ्वीको कुन-कुन ठाउँमा प्राकृतिक सम्पदा छ भनेर मानिसलाई थाह हुन्छ। ती सम्पदाको खोजी गर्दै जाँदा मानिसको कौशलताले उसलाई शिकारी पन्छीले पनि पत्ता लगाउन नसक्ने जमिनभित्र पुऱ्‍याउँछ। तर परमेश्‍वरको बुद्धि भने यहोवाको भय राख्दा मात्र पाइन्छ।

२९:१२-१५. खाँचोमा परेकाहरूलाई खुसीसाथ करुणा देखाउनुपर्छ।

३१:१, ९-२८. पराई स्त्रीसित उत्ताउलो भई नजिस्किएर, लसपस नगरेर, अरूलाई अन्याय तथा निर्दय व्यवहार नगरेर, भौतिकवाद अनि मूर्तिपूजादेखि अलग रहेर अय्यूबले हाम्रो लागि राम्रो उदाहरण बसाले।

“म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु”

(अय्यूब ३२:१–४२:१७)

नजिकै उभिरहेका एलीहूले अय्यूब र तिनका मित्रहरूबीच भएको वादविवाद धैर्यपूर्वक सुनिरहेका थिए। अब भने एलीहू चुप लागेर बस्न सक्दैनन्‌। तिनी अय्यूब र तिनको कष्टमा नुन-चुक छर्ने तिनका तीन मित्रलाई सच्च्याउँछन्‌।

एलीहूले बोल्न सिध्याएको मात्र के हुन्छ, यहोवा आँधीबेहरीबाट जवाफ दिनुहुन्छ। उहाँ अय्यूबले कष्ट भोग्नुको कारण त बताउनुहुन्‍न तर एकपछि अर्को प्रश्‍न सोधेर सर्वशक्‍तिमान्‌ परमेश्‍वरले आफ्नो विस्मयकारी शक्‍ति र अथाह बुद्धिबारे अय्यूबलाई थाह दिनुहुन्छ। आफूले कुरै नबुझी बोलेको स्वीकार्दै अय्यूब भन्छन्‌: “म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।” (अय्यूब ४२:६) परीक्षाको अन्तिम घडीसम्मै अय्यूब निष्ठावान्‌ रहन्छन्‌ र इनाम पाउँछन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३२:१-३—एलीहू कतिबेला आइपुगे? अय्यूब र तिनका तीन मित्रबीच के-के वादविवाद भयो ती सब एलीहूले सुनेका थिए। त्यसकारण, अय्यूबले आफ्नो मुख खोल्नुभन्दा केही समयअघि र तिनका तीन मित्रले पनि बोल्न थाल्नुअघि नै नजिकै आएर एलीहूले कुरा सुनिरहेका हुन सक्छन्‌।—अय्यूब ३:१, २.

३४:७, NRV—कुन अर्थमा अय्यूब “गिल्लालाई पानीझैं पिउने” मानिस थिए? अय्यूबका तीन मित्रले अय्यूबको खिल्ली उडाउनु वास्तवमा परमेश्‍वरको खिल्ली उडाउनु थियो। तर पीडाले छटपटाइरहेको बेला अय्यूबलाई लाग्यो, मित्रहरूले उसैको खिल्ली उडाइरहेछन्‌। (अय्यूब ४२:७) त्यसकारण, कसैले आनन्दसँग घुट्ट-घुट्ट पानी पिएझैं अय्यूबले पनि गिल्लालाई पानीझैं पिइरहेका थिए।

हाम्रो लागि पाठ:

३२:८, ९. उमेर छिप्पिंदैमा मानिस बुद्धिमान्‌ हुन्छ भन्‍ने छैन। बुद्धिमान्‌ हुन त परमेश्‍वरको वचन राम्ररी बुझ्नुपर्छ र उहाँको आत्माले डोऱ्‍यइएको हुनुपर्छ।

३४:३६, NRV. कुनै न कुनै तरिकामा “सकेसम्म जाँच” अर्थात्‌ हदैसम्म हाम्रो जाँच भएपछि मात्र हामी साँच्चै निष्ठावान्‌ छौं कि छैनौं भन्‍ने प्रमाणित हुन्छ।

३५:२, NRV. केही भन्‍नुअघि एलीहूले ध्यान दिएर कुरा सुने र मुख्य विवाद औंल्याइदिए। (अय्यूब १०:७; १६:७; ३४:५) सल्लाह दिनुअघि मसीही प्राचीनहरूले ध्यान दिएर कुरा सुन्‍नै पर्छ, वास्तविक कुरा थाह पाउनै पर्छ र सम्बन्धित विषय प्रस्टसित बुझ्नै पर्छ।—हितोपदेश १८:१३.

३७:१४; ३८:१–३९:३०. यहोवाको शक्‍ति र बुद्धि प्रकट गर्ने उहाँका आश्‍चर्यजनक कामहरू घोरिएर विचार गर्दा हामी आफूलाई नम्र तुल्याउन बाध्य हुन्छौं र आफ्नो व्यक्‍तिगत इच्छा-आकाङ्‌क्षाभन्दा यहोवाको सार्वभौमिकता उच्च पार्नु बढी महत्त्वपूर्ण कुरा हो भनेर बुझ्न मदत पाउँछौं।—मत्ती ६:९, १०.

४०:१-४. सर्वशक्‍तिमान्‌ परमेश्‍वर विरुद्ध गनगन गर्न मन लाग्दा हामीले आफ्नो ‘हात मुखमा राख्नुपर्छ।’

४०:१५–४१:३४, NRV. बहेमोथ (जल-गैंडा) र लिव्यातन्‌ (गोही) निकै शक्‍तिशाली हुन्छन्‌! परमेश्‍वरको सेवामा लागिरहन यी शक्‍तिशाली पशुहरू सृष्टि गर्नुहुने र शक्‍ति दिनुहुने सृष्टिकर्ताबाट हामीलाई पनि बल चाहिन्छ।—फिलिप्पी ४:१३.

४२:१-६. यहोवाको कुरा सुनेपछि र उहाँको शक्‍ति सम्झेपछि अय्यूबले ‘परमेश्‍वरलाई देख्न सके’ अर्थात्‌ उहाँको विषयमा सत्य कुरा थाह पाउन सके। (अय्यूब १९:२६) त्यसले गर्दा तिनले आफ्नो सोचाइ छाँटकाँट गरे। बाइबल चलाएर हामीलाई सच्याइँदा आफ्नो गल्ती स्वीकार्न र आवश्‍यक छाँटकाँट गर्न हामी इच्छुक हुनुपर्छ।

‘अय्यूबजस्तै स्थिर’ हुनुहोस्‌

मानिसले जे-जस्तो कष्ट झेलिरहेका छन्‌, त्यसको दोषी परमेश्‍वर हुनुहुन्‍न भन्‍ने कुरा अय्यूबको पुस्तकबाट स्पष्ट हुन्छ। बरु शैतानले गर्दा यस्तो भएको हो। परमेश्‍वरले पृथ्वीमा दुष्टता रहिरहन दिनुभएको कारण यहोवाको सार्वभौमिकता र हाम्रो निष्ठामाथि उठाइएको प्रश्‍नको जवाफ दिने मौका पाएका छौं।

जसरी अय्यूबको जाँच भयो, उसै गरी यहोवालाई माया गर्नेहरू सबैको जाँच हुनेछ। अय्यूबको विवरणले हामी पनि स्थिर रहन सक्छौं भनेर विश्‍वास दिलाउँछ। यस पुस्तकले हाम्रा समस्याहरू सधैंभरि रहिरहनेछैनन्‌ भनेर पनि सम्झाउँछ। याकूब ५:११NW) यसो भन्छ, “तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ र यहोवाले हुन दिनुभएको परिणाम पनि देखेकै छौ।” हो, निष्ठावान्‌ रहेकोमा यहोवाले अय्यूबलाई इनाम दिनुभयो। (अय्यूब ४२:१०-१७) अब यो पृथ्वी सुन्दर बगैंचाजस्तै हुनेछ। त्यस्तो सुन्दर ठाउँमा सधैंभरि बाँच्ने ठूलो आशा हामीसित छ। त्यसकारण आउनुहोस्‌, अय्यूबजस्तै निष्ठावान्‌ रहने अठोट गरौं।—हिब्रू ११:६. (w06 3/15)

[फुटनोट]

a ईसापूर्व १६५७ देखि १४७३ बीचको १४० वर्षभित्र घटेका घटनाहरू अय्यूबको पुस्तकमा समेटिएका छन्‌।

[पृष्ठ ६-मा भएका चित्रहरू]

‘अय्यूबको स्थिरताबाट’ के सिक्न सक्छौं?