सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भजनसंग्रहको तेस्रो र चौथो भागका विशेषताहरू

भजनसंग्रहको तेस्रो र चौथो भागका विशेषताहरू

यहोवाको वचन जीवित छ

भजनसंग्रहको तेस्रो र चौथो भागका विशेषताहरू

परमेश्‍वरलाई गरेको प्रार्थनामा भजनहार सोध्छन्‌: “चिहानमा तपाईंको करुणा अथवा विनाशमा तपाईंको सत्यताको घोषणा गरिनेछ र?” (भजन ८८:११) यसको सोझो जवाफ हुन्छ—गरिनेछैन। किनभने मरेपछि यहोवाको प्रशंसा गर्न सकिंदैन। यहोवाको प्रशंसा गर्ने इच्छा भएकोले हामी बाँचिरहन चाहन्छौं। अहिले जीवित छौं त्यसकारण यहोवाको प्रशंसा गर्नुपर्छ।

भजनसंग्रहको तेस्रो र चौथो भागमा भजन अध्याय ७३ देखि अध्याय १०६ सम्म समेटिएको छ। यी अध्यायहरूमा सृष्टिकर्ताको प्रशंसा गर्ने र उहाँको नाउँलाई धन्यको भन्‍ने थुप्रै कारण बताइएका छन्‌। यी भजनमा भन्‍न खोजिएको कुरा विचार गरेपछि “परमेश्‍वरको वचन” पाएकोमा कृतज्ञताले हाम्रो मन ओतप्रोत हुनुपर्ने हो अनि अझ धेरै र राम्रोसँग यहोवाको प्रशंसा गर्ने थप उत्साह मिल्नुपर्ने हो। (हिब्रू ४:१२) आउनुहोस्‌, सबैभन्दा पहिला हामी भजनसंग्रहको तेस्रो भाग पल्टाएर त्यहाँका विशेषताहरू बुझौं।

“परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ”

(भजन ७३:१–८९:५२)

भजनसंग्रहको तेस्रो भागका पहिलो ११ वटा अध्यायमा भएका भजन आसाप अथवा आसापकै परिवारका सदस्यहरूले रचेका हुन्‌। गलत सोचाइमा परेर नबहकिन आसापलाई केले मदत गऱ्‍यो भन्‍ने कुरा यस भागको सुरुको अध्यायमा बताइएको पाउँछौं। आसाप सही निचोडमा पुगेका छन्‌ किनकि तिनी यसो भन्दै गाउँछन्‌, “परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ।” (भजन ७३:२८) भजन अध्याय ७४ मा यरूशलेम विनाश भएकोमा विलाप गरिएको छ। भजन अध्याय ७५, ७६ र ७७ मा चाहिं यहोवालाई धार्मिक न्यायकर्ता, नम्रहरूलाई बचाउनुहुने र प्रार्थना सुन्‍नुहुने परमेश्‍वर भनिएको छ। भजन अध्याय ७८ मा मोशाको समयदेखि दाऊदको समयसम्म इस्राएलमा भएको घटना दोहोऱ्‍याइएको छ। भजन अध्याय ७९ मा चाहिं मन्दिर ध्वस्त भएकोमा विलाप गरिएको विवरण छ। भजन अध्याय ८० मा परमेश्‍वरका जनहरूलाई फेरि उनीहरूको आफ्नै देशमा फर्काएर ल्याउन प्रार्थना गरिएको छ। भजन अध्याय ८१ मा यहोवाको आज्ञा पालन गर्न प्रोत्साहन दिइएको छ भने, भजन अध्याय ८२ र ८३ मा अन्यायी शासक र परमेश्‍वरका शत्रुहरूमाथि कारबाही गर्न परमेश्‍वरलाई प्रार्थना गरिएको छ।

कोरहवंशीहरूले गाएको गीतमा यसो भनिएको छ: “परमप्रभुका दरवारका निम्ति मेरो आत्माले अति इच्छा गर्छ, मुर्छा पनि खान्छ।” (भजन ८४:२) भजन अध्याय ८५ मा निर्वासनबाट फर्केकाहरूलाई आशिष्‌ दिनुहोस्‌ भन्दै परमेश्‍वरलाई निवेदन गरिएको विवरण छ। यस भजनले भौतिक आशिष्‌भन्दा आध्यात्मिक आशिष्‌ कता हो कता अमूल्य हुन्छ भनेर जोड दिन्छ। भजन अध्याय ८६ मा मलाई जोगाउनुहोस्‌ र सिकाउनुहोस्‌ भन्दै दाऊदले परमेश्‍वरलाई बिन्ती गरेका छन्‌। भजन अध्याय ८७ मा सियोन र त्यहाँ जन्मेका मानिसहरूको बारेमा गाइएको भजन छ भने, अध्याय ८८ मा चाहिं यहोवालाई प्रार्थना गरिएको छ। भजन अध्याय ८९ एथानले रचेका हुन्‌ र यस अध्यायमा यहोवाले दाऊदसँग करार बाँध्नुभएको विवरण छ। यस करारमा यहोवाको कृपालाई विशेष जोड दिइएको छ। सुलेमानको समयका चार बुद्धिमान्‌ मानिसमध्ये एथान अथवा एतान पनि थिए होलान्‌।—१ राजा ४:३१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

७३:९—कुन अर्थमा दुष्टहरू “स्वर्गमा बसेझैं बोल्छन्‌, र पृथ्वीमा जिब्रो चलाउँछन्‌”? दुष्टहरू स्वर्ग वा पृथ्वीमा भएका कसैलाई टेर-पुच्छर लाउँदैनन्‌। त्यसकारण तिनीहरू परमेश्‍वरको निन्दा गर्छन्‌ र मानिसहरूको बदनाम गर्छन्‌।

७४:१३, १४—यहोवाले कहिले ‘समुद्रका जलचरहरूका टाउको चूर्ण पार्नुभयो र लिब्यातान माछाहरूका शिर चूर-चूर पार्नुभयो’? ‘मिश्र देशको राजा, फिरऊनलाई’ “नदीहरूका बीचमा सुतिरहने . . . ठूलो अजीङ्‌गर” भनिएको छ। (इजकिएल २९:३) लिब्यातानले फिरऊनका शक्‍तिशाली मानिसहरूलाई सङ्‌केत गरेको हुन सक्छ। (भजन ७४:१४) ती मानिसहरूको शिर चूर-चूर पार्नु भन्‍नाले चाहिं मिश्रको दासत्वबाट यहोवाले इस्राएलीहरूलाई मुक्‍त गर्नुहुँदा फिरऊन र तिनका सेनाहरूले लज्जास्पद हार बेहोर्नुपरेको कुरालाई संकेत गरिरहेको हुन सक्छ।

७५:४, ५, १०—यहाँ प्रयोग भएको “सीङ” शब्दले कुन कुरालाई बुझाउँछ? जनावरको सीङ शक्‍तिशाली हतियार हो। त्यसकारण, “सीङ” शब्दले लाक्षणिक अर्थमा शक्‍ति वा बललाई संकेत गर्छ। यहोवा आफ्ना जनहरूको सीङलाई ठाडो पारेर उच्च पार्नुहुन्छ। तर उहाँ ‘दुष्टहरूको सीङलाई भने च्वाट्टै काटिदिनुहुन्छ।’ हामीलाई ‘आफ्नो सीङ ठाडो नपार्न’ चेतावनी दिइएको छ। तर कुन अर्थमा? हामीले घमन्ड वा सेखी गर्नु हुँदैन। यहोवाले नै उच्च पार्नुहुने भएकोले मण्डलीमा पाइने जिम्मेवारीलाई यहोवाले दिनुभएको काम सम्झनुपर्छ।—भजन ७५:७.

७६:१०—“मानिसको क्रोधले” कसरी यहोवाको प्रशंसा गर्न सक्छ? हामी यहोवाका सेवकहरू हौं। त्यसकारण यहोवाले मानिसहरूलाई उनीहरूको क्रोध हामीमाथि पोखाउन दिनुहुँदा परिणाम राम्रो पनि हुन सक्छ। जस्तै—हामीले भोग्ने कठिनाइले कुनै न कुनै तरिकामा हामीलाई प्रशिक्षण दिइरहेको हुन्छ। हामीले प्रशिक्षण पाउने हदसम्म मात्रै यहोवाले दुःखकष्ट हुन दिनुहुन्छ। (१ पत्रुस ५:१०) ‘मानिसको बाँकी क्रोधलाई परमेश्‍वर रोक्नुहुन्छ।’ हामीले ज्यानै गुमाउनुपऱ्‍यो भने नि? यसले पनि यहोवाकै प्रशंसा गर्न सक्छ किनभने हामीले विश्‍वासी भई कठिनाइ सहेको देख्नेहरूले पनि परमेश्‍वरको महिमा गर्न सक्छन्‌।

७८:२४, २५—मन्‍नलाई “स्वर्गको अन्‍न” र “स्वर्गदूतहरूको रोटी” भनिएको छ, किन होला? यी दुवै अभिव्यक्‍तिले स्वर्गदूतहरू मन्‍न खान्थे भन्‍न खोजेको होइन। मन्‍न स्वर्गबाट आएकोले यसलाई “स्वर्गको अन्‍न” भनिएको हो। (भजन १०५:४०) स्वर्गदूतहरू स्वर्गमा बस्छन्‌। त्यसकारण “स्वर्गदूतहरूको रोटी” भन्‍नाले स्वर्गमा बस्नुहुने परमेश्‍वरले रोटी अर्थात्‌ मन्‍न दिनुभएको थियो भन्‍न खोजिएको हुन सक्छ। (भजन ११:४) इस्राएलीहरूलाई मन्‍न दिन पनि यहोवाले स्वर्गदूतहरू नै चलाउनुभएको हुन सक्छ।

८२:१, —“देवहरू” र “सर्वोच्चका छोरा” को हुन्‌? यी दुवै अभिव्यक्‍तिले इस्राएलका मानव न्यायकर्तालाई सङ्‌केत गर्छ। ती न्यायकर्ताहरूलाई यसो भन्‍न सुहाउँछ किनभने उनीहरूले परमेश्‍वरको प्रवक्‍ता र प्रतिनिधि भएर काम गर्नुपर्थ्यो।—यूहन्‍ना १०:३३-३६.

८३:२—‘शिर ठाडो पार्नुले’ केलाई सङ्‌केत गर्छ? यस्तो हाउभावले प्रायः विरोध गर्न, लडाइँ लड्‌न अथवा थिचोमिचो गर्नको लागि शक्‍ति परिचालन गर्न वा कदम चाल्न तयार भएको अवस्थालाई बुझाउँछ।

हाम्रो लागि पाठ:

७३:२-५, १८-२०, २५, २८. दुष्टहरूको उन्‍नति भएको देख्दा डाही हुनु हुँदैन र तिनीहरूको खराब बानी नक्कल गर्नु हुँदैन। दुष्टहरू चिप्ला ठाउँमा छन्‌। तिनीहरूको “सर्वनाश” पक्कै हुन्छ। असिद्ध मानिसहरूले राज गरिरहेको यस दुनियाँमा दुष्टहरूलाई हटाउन नसकिने भएकोले अहिले दुष्टता निमिट्यान्‍न पार्ने कोसिस गर्नु व्यर्थ छ। यसकारण “परमेश्‍वरको नजीक” गएर अनि उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न पाएकोमा खुसी भएर दुष्टहरूको नराम्रो प्रभावबाट जोगिने कोसिस गर्नु बुद्धिमानी हुन्छ। आसापले पनि त्यसै गरेका थिए।

७३:३, ६, ८, २७. डाह नगर्न, अहंकार नदेखाउन, गिल्ला र धाक नलगाउन हामी होसियार हुनै पर्छ। यस्तो नराम्रो गुण देखाउँदा फाइदै हुन्छ जस्तो लाग्ला तर यसो नगर्न होसियार हुनै पर्छ।

७३:१५-१७. कुनै कुरा राम्रोसँग बुझ्न नसकेर दोधारमा परेको बेला पक्का नभएको कुरा प्याच्च भनिहाल्नु हुँदैन। मलाई त यस्तो लाग्यो भनेर आधारहीन कुरामा जिद्दी गर्दा बेकारमा हाम्रो कुराले अरूलाई निराश मात्र बनाउँछ। बरु, जुन कुराले हामीलाई अन्योलमा पार्छ, त्यसबारे शान्त भई मनन गर्नु र सँगी भाइबहिनीसित सरसंगत गरेर मन हलुका बनाउने कोसिस गर्नु राम्रो हुन्छ।—हितोपदेश १८:१.

७३:२१-२४. दुष्टहरूको फलिफाप भएजस्तो देख्दा ‘दुःखित हुनु’ भनेको केही तर्क गर्न नसक्ने पशुजस्तै व्यवहार गर्नु हो। आवेशमा आएर यस्तो महसुस गर्नु ठीक होइन। बरु, यहोवाले ‘हाम्रो दाहिने हात थामेर’ हामीलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुँदै यहोवाको डोऱ्‍याइअनुसार चल्नुपर्छ। साथै, यहोवाले ‘हाम्रो महिमा गर्नुहुनेछ’ अर्थात्‌ हामी उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न सक्नेछौं।

७७:६. आध्यात्मिक सत्यलाई मनबाटै माया गर्न र परिश्रमसाथ त्यस्तो सत्य खोजी गर्न अध्ययन र मनन गर्नुपर्छ। एकान्तमा बसेर यस्तो कुरा विचार गर्न समय निकाल्नु नितान्त जरुरी छ।

७९:९. हामीले गरेको प्रार्थना विशेष गरी यहोवाको नाउँ पवित्र गर्ने कुरासित सम्बन्धित छ भने उहाँले हाम्रो प्रार्थना अवश्‍य सुन्‍नुहुन्छ।

८१:१३, १६. यहोवाले भनेको सुन्दा र उहाँको मार्गमा हिंड्‌दा थुप्रै आशिष्‌ पाउन सकिन्छ।—हितोपदेश १०:२२.

८२:२, . अन्यायले “पृथ्वीका . . . जग” हल्लाइदिन्छ। अन्याय-अत्याचारले मानव समाजको सुख-शान्ति हरण गर्छ।

८४:१-४, १०-१२. भजनका लेखकहरू, यहोवाको उपासना गरिने ठाउँ भनेपछि हुरुक्कै हुन्थे। साथै, सेवा गर्ने विशेष सुअवसर पाएकोमा उनीहरू गर्व गर्थे। हाम्रो लागि कत्ति राम्रो उदाहरण, हैन?

८६:५. यहोवा “क्षमा गर्न” तयार हुनुभएकोमा उहाँलाई मुरीमुरी धन्यवाद दिनुपर्छ। गल्ती गरेर पश्‍चात्ताप गर्नेहरूप्रति दया देखाउन सकिने अलिकति पनि ठाउँ छ भने उहाँ दया देखाउन तयार भइहाल्नुहुन्छ।

८७:५, ६. पुनरुत्थान भएर को-को स्वर्ग गए भन्‍ने कुरा प्रमोदवनमा जीवन बिताउनेहरूलाई थाह हुन्छ होला? यी दुई पद विचार गर्दा त थाह हुन्छ जस्तो देखिन्छ।

८८:१३, १४. कुनै समस्याबारे हामीले गरेको प्रार्थनाको जवाफ पाउन ढिलो हुनुको मतलब, हामीले सही मनसायले सेवा गरिरहेका छौं कि छैनौं, हामीले देखाओस्‌ भन्‍ने यहोवाले चाहनुभएको हुन सक्छ।

“उहाँलाई धन्यवाद चढाओ, र उहाँको नाउँलाई धन्यको भन”

(भजन ९०:१–१०६:४८)

भजनसंग्रहको चौथो भागमा यहोवाको जोडदार प्रशंसा गर्नुपर्ने कस्ता कारणहरू दिइएका छन्‌, विचार गर्नुहोस्‌। भजन अध्याय ९० मा मोशाले ‘अनन्तका राजा’ यहोवाको तुलनामा मानिसको जीवन एकदमै छोटो छ भनेका छन्‌। (१ तिमोथी १:१७) भजन अध्याय ९१:२ मा मोशाले भनेका छन्‌, यहोवा ‘मेरो शरणस्थान र मेरो किल्ला’ अर्थात्‌ सुरक्षाको स्रोत हुनुहुन्छ। यसपछिका भजनहरूमा चाहिं परमेश्‍वरको मनमोहक गुण, उच्च विचार अनि अचम्म-अचम्मका कामबारे वर्णन गरिएको पाउँछौं। तीनवटा भजनको सुरुमै यसो भनिएको छ, “परमप्रभुले राज्य गर्नुहुन्छ।” (भजन ९३:१; ९७:१; ९९:१) यहोवाले नै हामीलाई बनाउनुभएको हो भन्दै भजनहार हामीलाई यस्तो आह्वान्‌ गर्छन्‌, “उहाँलाई धन्यवाद चढाओ, र उहाँको नाउँलाई धन्यको भन।”—भजन १००:४.

यहोवाको डर मान्‍ने शासकले कसरी शासन गर्छ? यस प्रश्‍नको जवाफ राजा दाऊदले रचेको भजन अध्याय १०१ मा पाउन सकिन्छ। अर्को भजनमा भनिएको छ, यहोवाले “दीनहरूका प्रार्थनातर्फ ध्यान लगाउनुभएको छ, तिनीहरूको प्रार्थनालाई उहाँले तुच्छ गर्नुभएको छैन।” (भजन १०२:१७) भजन अध्याय १०३ मा यहोवाको करुणा र दयाबारे चर्चा गरिएको पाउँछौं। पृथ्वीमा परमेश्‍वरले बनाउनुभएका थुप्रै कुरालाई संकेत गर्दै भजनहार यसरी पुकार्छन्‌: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो।” (भजन १०४:२४) चौथो भागको अन्तिम दुइटा भजनमा यहोवाले गर्नुभएका अचम्मका कामहरूको प्रशंसा गरिएको छ।—भजन १०५:२, ५; १०६:७, २२.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

९१:१, २—“परम प्रधानको गुप्त ठाउँ” के हो र हामी कसरी त्यहाँ “बास” गर्न सक्छौं? यो, आध्यात्मिक सुरक्षा पाउन सकिने लाक्षणिक ठाउँ हो। आध्यात्मिक सुरक्षा भन्‍नाले हाम्रो आध्यात्मिकता सुरक्षित रहने अवस्थालाई बुझाउँछ। यो ठाउँ गुप्तमा छ किनभने परमेश्‍वरमाथि भरोसा नगर्ने व्यक्‍तिलाई यसबारे केही थाह हुँदैन। यहोवालाई आफ्नो शरणस्थान र किल्ला बनाएर, ब्रह्‍माण्डकै सार्वभौम शासकको रूपमा उहाँको जयजयकार गरेर अनि राज्यको सुसमाचार प्रचार गरेर हामी उहाँलाई आफ्नो बासस्थान बनाउँछौं। आध्यात्मिक रूपमा हामी सुरक्षित छौं किनभने हामीलाई मदत गर्न यहोवा सदा तत्पर हुनुहुन्छ भनेर हामीलाई थाह छ।—भजन ९०:१.

९२:१२—कुन अर्थमा “धर्मात्माचाहिं खजूरका बोटझैं लहलह हुन्छन्‌”? खजूरको बोट, लटरम्म फल फल्ने रूख भनेर चिनिन्छ। धर्मी व्यक्‍ति खजूरको बोटजस्तै हुन्छ भन्‍नुको मतलब यस्तो व्यक्‍ति यहोवाको नजरमा धर्मी हुन्छ र “बढिया फल” फलाइरहन्छ अर्थात्‌ असल काम गरिरहन्छ।—मत्ती ७:१७-२०.

हाम्रो लागि पाठ:

९०:७, ८, १३, १४. खराब कामले साँचो परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई सधैं बिगार्छ। अनि उहाँको नजरबाट कुनै पनि पाप लुकाउन सकिंदैन। तर साँचो पश्‍चात्ताप गऱ्‍यौं र खराब काम गर्न छोड्यौं भने यहोवाले हामीलाई फेरि निगाह देखाउनुहुनेछ र “कृपाले हामीलाई तृप्त” पार्नुहुनेछ।

९०:१०, १२. हाम्रो आयु छोटो भएकोले “आफ्नो दिन गनेर” बस्नुपर्छ। तर कसरी गन्‍ने? “बुझ्ने हृदय” पाएर अर्थात्‌ बुद्धि चलाएर। बुद्धि चलायौं भने हामी आफ्ना बाँकी दिनहरू त्यतिकै खेर फाल्नेछैनौं तर यहोवालाई खुसी पार्ने गरी बिताउनेछौं। यसको लागि हामीले आध्यात्मिक कुरालाई प्रथम स्थानमा राख्नुपर्छ र बुद्धिमान्‌ भई समयको सदुपयोग गर्नुपर्छ।—एफिसी ५:१५, १६; फिलिप्पी १:१०.

९०:१७. “हाम्रा हातका कामहरू . . . स्थिर गर्नुहोस्‌” र प्रचारमा जे-जति मेहनत गर्छौं त्यसमा आशिष्‌ दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नु उचित छ।

९२:१४, १५. परमेश्‍वरको वचनको जेहेनदार विद्यार्थी भएर अनि यहोवाका जनहरूसित नियमित रूपमा सरसंगत गरेर वृद्ध-वृद्धाहरू बूढेसकालमा पनि “रसले भरिएका हरिया-भरिया हुन्छन्‌” अर्थात्‌ आध्यात्मिक रूपमा जोसिला र मण्डलीको लागि अमूल्य सम्पत्ति साबित हुन सक्छन्‌।

९४:१९. “मनमा ज्यादा फिक्री” हुनुको कारण जेसुकै होस्‌, यदि बाइबलमा पाइने “सान्त्वनाहरू” पढ्यौं र त्यसमा मनन गऱ्‍यौं भने मन हलुका हुनेछ।

९५:७, ८. बाइबलमा दिइएको सल्लाह सुन्यौं, त्यसमा ध्यान दियौं र खुसीसाथ ती पालन गऱ्‍यौं भने हाम्रो मन कठोर हुनेछैन।—हिब्रू ३:७, ८.

१०६:३६, ३७. यी दुई पदमा भनिएको कुरा भूतप्रेतलाई बलि चढाउन मूर्तिपूजा गर्नुसित सम्बन्धित छ। मूर्ति प्रयोग गर्ने व्यक्‍ति भूतप्रेतको वशमा पर्न सक्छ भन्‍ने कुरा यसले सङ्‌केत गर्छ। यसैकारण त बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “मूर्तिहरूबाट जोगिएर बस।”—१ यूहन्‍ना ५:२१.

“याहको प्रशंसा गर”

भजनसंग्रहको चौथो भागका अन्तिम तीनवटा भजन यस्तो सुझावसहित टुङ्‌गिन्छ: “याहको प्रशंसा गर।” चौथो भागको सुरुमा पनि यस्तै सुझाव दिइएको छ। (भजन १०४:३५; १०५:४५; १०६:१, ४८) वास्तवमा, “याहको प्रशंसा गर” अथवा “परमप्रभुको प्रशंसा गर” भन्‍ने अभिव्यक्‍ति भजनसंग्रहको चौथो भागमा घरी-घरी दोहोरिएको छ।

हो, यहोवाको प्रशंसा गर्नुपर्ने हामीसित थुप्रै कारण छन्‌। भजनसंग्रह अध्याय ७३ देखि अध्याय १०६ सम्म ध्यानपूर्वक विचार गर्नुपर्ने कुरा धेरै छन्‌। साथै, यहाँ बताइएको कुरा पढेपछि स्वर्गमा बस्नुहुने पितालाई धन्यवाद दिन हाम्रो मन हौसिन्छ। यहोवाले हाम्रो खातिर गर्नुभएका र भविष्यमा गर्नुहुने सबै कुरा सम्झिंदा सारा बलबुताले “याहको प्रशंसा” गर्न हाम्रो मन जुरमुरिन्छ, होइन र? (w 06 7/15)

[पृष्ठ ४-मा भएको चित्र]

“परमेश्‍वरको नजीक” गयौं भने, दुष्टहरूको नराम्रो प्रभावबाट जोगिन सक्नेछौं। आसापले पनि त्यसै गरेका थिए

[पृष्ठ ५-मा भएको चित्र]

फिरऊनले लाल समुद्रमा नमीठो पराजय भोगे

[पृष्ठ ५-मा भएको चित्र]

मन्‍नलाई “स्वर्गदूतहरूको रोटी” भनिएको छ, किन होला?

[पृष्ठ ६-मा भएको चित्र]

“मनमा ज्यादा फिक्री” भयो भने, के गर्नु ठीक होला?