सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो”

“तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो”

“तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो”

“तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो। . . . हे मेरो छोरो, तँ किन वेश्‍याको [ “पराइ स्त्रीको,” NW] मोहमा फस्छस्‌?”—हितोपदेश ५:१८, २०, NRV.

१, २. श्रीमान्‌/श्रीमतीबीचको मायाप्रीति आशिष्‌ हो भनेर किन भन्‍न सकिन्छ?

 बाइबलमा यौनसम्बन्धबारे स्पष्ट कुरा गरिएको छ। हितोपदेश ५:१८, १९NRV) मा हामी यस्तो लेखिएको पाउँछौं: “तेरो फुहारा आशीर्वादी होस्‌, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो। मायालु मृगी र राम्ररी हरिणीझैं, त्यसकै स्तनमा तँ सन्तुष्ट बन्‌, तँ सधैं त्यसकै प्रेममा मोहित भइरहेस्‌।”

यहाँ उल्लेख गरिएको “फुहारा” शब्दले यौन सन्तुष्टि दिने कुरालाई संकेत गरिरहेको छ। यो आशिष्‌ हो किनकि श्रीमान्‌/श्रीमतीबीचको मायाप्रीति र मोह यहोवाले दिनुभएको उपहार हो। तर यो घनिष्ठ सम्बन्धको आनन्द विवाहपछि आफ्नो श्रीमान्‌ वा श्रीमतीसित मात्र उठाउन पाइन्छ। त्यसैकारण, हितोपदेशका लेखक प्राचीन इस्राएलका राजा सुलेमानले जोड दिंदै यसो भने: “हे मेरो छोरो, तँ किन वेश्‍याको [“पराई स्त्रीको,” NW] मोहमा फस्छस्‌? तँ किन अर्काकी पत्नीलाई आलिङ्‌गन गर्छस्‌?”—हितोपदेश ५:२०, NRV.

३. (क) थुप्रै विवाहबारे दुःखलाग्दो वास्तविकता कस्तो छ? (ख) व्यभिचारलाई यहोवा कस्तो ठान्‍नुहुन्छ?

पुरुष र स्त्रीले विवाह गरेको दिन एकअर्कालाई माया गर्ने अनि एकअर्काप्रति वफादार रहने गम्भीर बाचा बाँध्छन्‌। तैपनि, व्यभिचारको कारण थुप्रै विवाह टुक्रिएका छन्‌। हुन पनि वास्तवमा दुई दर्जनभन्दा धेरैको वैवाहिक सम्बन्धबारे अध्ययन गरेका एक जना शोधकर्ता यस्तो निष्कर्षमा पुगे: “२५ प्रतिशत श्रीमती अनि ४४ प्रतिशत श्रीमान्‌ले अरूसित अवैध यौनसम्बन्ध राखेको पाइयो।” प्रेरित पावलले यसो भने: “न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) कुरा स्पष्ट छ, व्यभिचार गर्नु यहोवाको नजरमा गम्भीर पाप हो र साँचो उपासकहरूले आफ्नो श्रीमान्‌ वा श्रीमतीलाई धोका दिएर अरूसित अवैध यौनसम्बन्ध राख्नै हुँदैन। आफ्नो ‘विवाह आदरणीय होस्‌ र ओछ्यान नबिटुलिओस्‌’ भन्‍ने चाहन्छौं भने मदत कहाँबाट पाउन सक्छौं?—हिब्रू १३:४.

छली हृदयदेखि होसियार!

४. विवाहित मसीहीहरू कसरी थाहै नपाई अरूसित प्रेमप्रसंग थाल्न पुग्छन्‌?

अहिलेको यो अनैतिक संसारमा थुप्रैको “आँखा” “पापबाट थामिन नसक्ने . . . व्यभिचारले भरिएका” छन्‌। (२ पत्रुस २:१४) तिनीहरू जानाजानी आफ्नो श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसित पनि रोमान्टिक सम्बन्ध बढाउँछन्‌ अर्थात्‌ प्रेमप्रसंग थाल्छन्‌। कतिपय मुलुकमा थुप्रै महिलाले पनि जागिर खान थालेको हुँदा महिला र पुरुषले सँगै काम गर्नुपरेको छ। यसले गर्दा अनुचित अफिस रोमान्स अर्थात्‌ अफिसका सहकर्मीहरूबीच प्रेमप्रसंग फस्टाउन थालेको छ। यसबाहेक, अत्यन्तै लजालु व्यक्‍तिहरूले पनि इन्टरनेटमा च्याट गरेर सजिलै घनिष्ठ सम्बन्ध गाँस्न थालेका छन्‌। थुप्रै विवाहित व्यक्‍ति पनि थाहै नपाई यस्तो पासोमा फसिरहेका छन्‌।

५, ६. एउटी मसीही बहिनी कसरी झन्डै समस्यामा पर्न लागेकी थिइन्‌ र तिनको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

झन्डै अवैध यौनसम्बन्ध राख्न पुगेकी मसीही बहिनीलाई विचार गर्नुहोस्‌, जसलाई हामी नीता भन्‍नेछौं। नीताका श्रीमान्‌ यहोवाका साक्षी होइनन्‌ र परिवारलाई त्यति माया देखाउने खालका पनि थिएनन्‌। केही वर्षअघि आफ्नो श्रीमान्‌को सहकर्मीलाई भेटेको घटना नीताले सम्झिन्‌। तिनी साह्रै शिष्ट थिए र पछि नीताले मान्‍ने धर्ममा पनि चासो देखाए। नीता भन्छिन्‌: “तिनी एकदम असल थिए, मेरो श्रीमान्‌भन्दा एकदमै फरक।” केही समय नबित्दै नीता त्यस व्यक्‍तिप्रति आकर्षित हुन थालिन्‌। नीताले मनमनै तर्क गरिन्‌: “मैले ऊसित यौनसम्बन्ध त राखेकी छैन नि। फेरि ऊ बाइबलबारे बुझ्न पनि खोजिरहेको छ। म उसलाई मदत गर्छु।”

त्यस्तो घनिष्ठताले अवैध यौनसम्बन्ध गाँस्ने हदसम्म पुऱ्‍याउनुअघि नै नीताको होस खुल्यो। (गलाती ५:१९-२१; एफिसी ४:१९) तिनको अन्तस्करणले तिनलाई घोच्न थाल्यो र तिनले परिस्थिति सुधार्न थालिन्‌। नीताको अनुभवले देखाएअनुसार “हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मिया १७:९) “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌” भनेर बाइबल हामीलाई सतर्क गराउँछ। (हितोपदेश ४:२३) तर हामी आफ्नो हृदयलाई कसरी सुरक्षित राख्न सक्छौं?

“चतुर मानिस दुःख आएको देखेर जोगिन्छ”

७. वैवाहिक समस्या भएको व्यक्‍तिसित कुरा गर्नुपऱ्‍यो भने, बाइबलको कुन सल्लाह पालन गर्दा सुरक्षित हुनेछौं?

प्रेरित पावलले लेखे: “म खडा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस्‌, नत्रता त्यो लड्‌छ।” (१ कोरिन्थी १०:१२) अनि हितोपदेश २२:३ यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।” मलाई केही पनि हुँदैन भनेर चाहिनेभन्दा बढी विश्‍वस्त हुनुको साटो के गर्दा समस्यामा परिन्छ, पहिल्यै विचार गर्नु बुद्धिमानी हुन्छ। उदाहरणको लागि, तपाईं पुरुष हुनुहुन्छ भने, वैवाहिक समस्याले व्याकुल स्त्रीको एक मात्र विश्‍वासपात्र हुनदेखि होसियार हुनुहोस्‌। त्यसै गरी यदि तपाईं स्त्री हुनुहुन्छ भने, वैवाहिक समस्याले व्याकुल पुरुषको एक मात्र विश्‍वासपात्र हुनदेखि जोगिनुहोस्‌। (हितोपदेश ११:१४) आफ्नो वैवाहिक समस्या आफ्नै श्रीमान्‌ वा श्रीमतीसित छलफल गर्नु बेस हो भन्‍नुहोस्‌। यसबाहेक, उनीहरूको भलो चाहने परिपक्व मसीहीसित कुरा गर्न सकिन्छ तर बहिनीले बहिनीसितै र भाइले भाइसितै कुरा गर्नुपर्छ अथवा तिनले प्राचीनहरूसित पनि कुरा गर्न सक्छन्‌ भनेर बताउनुहोस्‌। (तीतस २:३, ४) यस सम्बन्धमा यहोवाका साक्षीहरूको मण्डलीका प्राचीनहरूले राम्रो उदाहरण बसालेका छन्‌। कुनै एक प्राचीनले मसीही बहिनीसित मात्र कुरा गर्नुपरेको छ भने सबैले देख्ने गरी अर्थात्‌ राज्यभवनजस्तो ठाउँमा कुरा गर्नुपर्छ।

८. काम गर्ने ठाउँमा कस्तो सतर्कता अपनाउनु जरुरी छ?

काम गर्ने ठाउँमा होस्‌ वा अन्त कतै, अनावश्‍यक हिमचिम बढ्‌न सक्ने अवस्थाहरू सिर्जना हुँदा सतर्क हुनुहोस्‌। उदाहरणको लागि, काम गर्ने समय सिद्धिएपछि पनि कामकै सिलसिलामा महिलाले पुरुषसित र पुरुषले महिलासित नजिकिएर धेरै समय सँगै बिताउँदा प्रलोभनमा पर्न सकिन्छ। तपाईं विवाहित हुनुहुन्छ भने, आफ्नो श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसितको प्रेमप्रसंग गाँस्न चाहन्‍नँ भनेर आफ्नो बोलीवचन र बानीबेहोराबाट प्रस्टै देखाउनुहोस्‌। यहोवालाई खुसी पार्न चाहने व्यक्‍ति भएकोले तपाईं अरूसित जिस्केर वा उत्ताउलो लुगाफाटा लगाएर अथवा बढी सिंगारपटार गरेर अनावश्‍यक ध्यान खिच्न पक्कै चाहनुहुन्‍न। (१ तिमोथी ४:८; ६:११; १ पत्रुस ३:३, ४) काम गर्ने ठाउँमा आफ्नो श्रीमान्‌ वा श्रीमतीको अनि छोराछोरीको फोटो राख्नुभएको छ भने पनि आफ्नो परिवारलाई कदापि धोका दिनु हुँदैन भनेर तपाईं अनि तपाईंका सहकर्मीहरूलाई सतर्क गराउनेछ। कसैले तपाईंलाई प्रेम प्रस्ताव राख्न सजिलो हुने खालको व्यवहार नगर्न र प्रेम प्रस्ताव राख्दा मख्ख नपर्न दृढ संकल्प गर्नुहोस्‌।—अय्यूब ३१:१.

‘आफूले प्रेम गरेकी पत्नीसित जीवनको सुख-भोग गर्नुहोस्‌’

९. एकपछि अर्को गर्दै गाँसिने कस्तो सम्बन्धले गर्दा नयाँ प्रेमप्रसंग प्रिय लाग्न थाल्छ?

हृदय सुरक्षित राख्नुको अर्थ खतरापूर्ण परिस्थितिबाट जोगिनु मात्र होइन। अरूप्रति आकर्षित हुनुको अर्थ श्रीमान्‌/श्रीमती एकअर्काको आवश्‍यकता पूरा गर्न सजग छैनन्‌ भन्‍ने संकेत हो। श्रीमतीलाई लगातार बेवास्ता गर्दा अथवा श्रीमान्‌लाई सधैं कचकच गर्दा पनि यस्तो हुन सक्छ। यसो भएपछि अफिस वा मसीही मण्डलीको कुनै अर्को व्यक्‍ति पो आफ्नो श्रीमान्‌ वा श्रीमतीभन्दा राम्रो लाग्न थाल्छ। त्यसपछि घनिष्ठता बढ्‌न थाल्छ र यो नयाँ सम्बन्ध अत्यन्तै प्रिय लाग्न थाल्छ। एकपछि अर्को गर्दै गाँसिने यस्तो सम्बन्धले बाइबलका यी शब्दहरू सही हुन्‌ भनेर प्रमाणित गर्छ: “हरेक मानिस आफ्नै तृष्णाबाट खिचिई लोभिएर परीक्षामा पर्दछ।”—याकूब १:१४.

१०. श्रीमान्‌/श्रीमतीले आपसी सम्बन्धलाई कसरी अझ बलियो बनाउन सक्छन्‌?

१० अरूको माया पाउन, अरूसित घनिष्ठ हुन अथवा आपत्‌ पर्दा यी आवश्‍यकता पूरा गर्न अरूको सहारा खोज्नुभन्दा श्रीमान्‌/श्रीमतीले आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन अथक प्रयास गर्नुपर्छ। त्यसकारण अरू कुरालाई पन्छाएर भए पनि सँगै समय बिताउनुहोस्‌ अनि एकअर्कासित नजिक हुनुहोस्‌। सुरुमा एकअर्कालाई किन माया गर्न थाल्नुभएको थियो, फेरि सम्झनुहोस्‌। सुरु-सुरुमा एकअर्काप्रति महसुस गर्नुभएको भावना फेरि जगाउने कोसिस गर्नुहोस्‌। एकसाथ बिताउनुभएका रमाइला क्षणहरू सम्झनुहोस्‌। परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। भजनरचयिता दाऊदले यहोवालाई यस्तो आग्रह गरे: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।” (भजन ५१:१०) ‘परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस जीवनकालमा आफूले प्रेम गरेकी पत्नीसँग [वा आफूले प्रेम गरेको पतिसँग] जीवनको सुख-भोग गर्ने’ निधो गर्नुहोस्‌।—उपदेशक ९:९, NRV.

११. वैवाहिक बन्धनलाई बलियो बनाउन ज्ञान, बुद्धि अनि समझ-शक्‍तिको कस्तो भूमिका छ?

११ वैवाहिक बन्धनलाई बलियो बनाउन ज्ञान, बुद्धि अनि समझ-शक्‍तिको महत्त्वलाई बेवास्ता गर्नु हुँदैन। हितोपदेश २४:३, ४ यसो भन्छ: “बुद्धिले घर बनाउँछ, असल समझ-शक्‍तिले त्यसलाई सुरक्षित राख्छ। ज्ञानले कोठाहरू धन-सम्पत्तिले किन्‍न सक्ने सबै दामी दामी र सुन्दर थोकहरूद्वारा सुसज्जित पार्छ।” सुखी परिवार सुसज्जित पार्ने यस्ता दामी थोकहरूमा प्रेम, वफादार, परमेश्‍वरको भय अनि विश्‍वासजस्ता गुणहरू पर्छन्‌। यी गुणहरू हासिल गर्न परमेश्‍वरको ज्ञान आवश्‍यक छ। त्यसकारण, विवाहित दम्पती परमेश्‍वरको वचन बाइबलको लगनशील विद्यार्थी हुनुपर्छ। अनि बुद्धि र समझ-शक्‍ति कति महत्त्वपूर्ण छन्‌? दिनहुँ आइपर्ने समस्या सफलतासाथ सामना गर्न बुद्धि अर्थात्‌ बाइबलको ज्ञानलाई प्रयोग गर्न सक्ने क्षमता चाहिन्छ। समझ-शक्‍ति भएको व्यक्‍तिले आफ्नो श्रीमान्‌ वा श्रीमतीको विचार र भावना बुझ्न सक्छ। (हितोपदेश २०:५) सुलेमानमार्फत यहोवा यसो भन्‍नुहुन्छ: “हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान दे, र मेरो अर्तीलाई [“समझ-शक्‍तिलाई,” NW] ध्यानसित सुन्‌।”—हितोपदेश ५:१.

“कष्ट” हुँदा

१२. विवाहित दम्पतीलाई समस्या हुन्छ भनेर थाह पाउनु किन अचम्मको कुरा होइन?

१२ उत्कृष्ट विवाह कसैको पनि छैन। बाइबलले त श्रीमान्‌ र श्रीमतीलाई “शरीरमा कष्ट हुनेछ” समेत भनेको छ। (१ कोरिन्थी ७:२८) फिक्री, रोगबिमार, दुःखकष्ट अनि अरू कारणले गर्दा वैवाहिक जीवन तनावग्रस्त हुन सक्छ। तर समस्या हुँदा यहोवालाई खुसी पार्न खोज्दै दुवैले वफादार भई एकसाथ समाधान खोज्नु जरुरी छ।

१३. श्रीमान्‌/श्रीमतीले आफैलाई कुन-कुन तरिकामा जाँच्न सक्छन्‌?

१३ आपसमा व्यवहार गर्ने तरिकाले गर्दा वैवाहिक सम्बन्ध तनावग्रस्त भएको छ भने के गर्न सकिन्छ? समाधान खोज्ने प्रयास गर्नुपर्छ। उदाहरणको लागि, एकअर्कासित छुच्चो बोली बोल्न थाल्दाथाल्दै अहिले त बानी नै परिसकेको हुन सक्छ। (हितोपदेश १२:१८) यस्तो बोलीले नराम्रो असर गर्न सक्छ भनेर अघिल्लो लेखमा छलफल गरिसकेका छौं। बाइबलको हितोपदेश यसो भन्छ: “कचकचे र रीसाहा पत्नीसँग बस्नुभन्दा एक्लै उजाड-स्थानमा बस्नु असल हो।” (हितोपदेश २१:१९) तपाईं यस्तै श्रीमती हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘कतै मेरो बेहोराले गर्दा नै उहाँ मसित पर-पर हुन थाल्नुभएको हो कि?’ श्रीमान्‌हरूलाई बाइबल यसो भन्छ: “पत्नीलाई प्रेम गर औ तिनीहरूप्रति कठोर नहोओ।” (कलस्सी ३:१९) तपाईं श्रीमान्‌ हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘कतै मैले उनलाई माया नदेखाएकोले नै उनी अरूसित नजिकिन खोजेकी त होइनन्‌?’ बहाना बनाएर अवैध यौनसम्बन्ध राख्नुपर्ने कुनै कारण छैन। तैपनि, यस्तो समस्या हुन सक्ने भएकोले समस्या हुनुका कारणहरू के-के हुन्‌, खुलस्त छलफल गर्नु बेस हुन्छ।

१४, १५. श्रीमान्‌ वा श्रीमतीबाहेक अरूको माया खोज्दैमा वैवाहिक समस्या समाधान हुँदैन भनेर किन भन्‍न सकिन्छ?

१४ श्रीमान्‌ वा श्रीमतीबाहेक अरूको माया खोज्दैमा वैवाहिक समस्या समाधान हुँदैन। त्यसोभए, यस्तो सम्बन्धको नतिजा कस्तो हुन्छ? के अर्को वैवाहिक सम्बन्ध सुखी र आनन्दित होला? कसै-कसैलाई त्यस्तै लाग्न सक्छ। ‘मैले आफ्नो श्रीमान्‌ वा श्रीमती यस्तै होस्‌ भन्‍ने चाहेको थिएँ’ भन्‍ने तर्क पनि तिनीहरू गर्लान्‌। तर यस्तो तर्क सरासर गलत हो किनकि आफ्नो श्रीमान्‌ वा श्रीमती छोड्‌ने व्यक्‍ति वा छोड्‌न प्रोत्साहन दिने व्यक्‍तिले विवाहको पवित्र बन्धनलाई एकदमै तुच्छ ठान्छ। अर्को विवाह सफल हुन्छ भनेर आशा गर्नु पनि बेकार हो।

१५ अगाडि वर्णन गरिएकी नीताले आफ्नो व्यवहारले गर्दा आफू अनि अर्को पक्षले परमेश्‍वरको निगाह गुमाउन सक्ने सम्भावनालगायत अन्य दुःखलाग्दो परिणामलाई गम्भीर भई विचार गरिन्‌। (गलाती ६:७) तिनी भन्छिन्‌: “श्रीमान्‌को सहकर्मीसित म भावनात्मक रूपमा जसरी नजिकिएँ, त्यसलाई विचार गर्दा उसले बाइबल सच्चाइ साँच्चै बुझ्न खोजिरहेको हो भने, मैले नै पो उसलाई बाधा पुऱ्‍याइरहेकी रहेछु भनेर म झसङ्‌ग भएँ। यस्तो गल्तीले हामीलाई त असर गर्ने नै थियो, अरूले पनि ठोकर खाने थिए!”—२ कोरिन्थी ६:३.

सबैभन्दा बलियो उत्प्रेरणा

१६. नैतिक अशुद्धताको दुःखदायी परिणाम कस्तो हुन्छ?

१६ बाइबल यस्तो चेतावनी दिन्छ: “व्यभिचारी स्त्रीको [“पराई स्त्रीको,” NW] ओठबाट मह चुहुन्छ, औ त्यसको जिब्रो तेलभन्दा चिप्लो हुन्छ। तापनि अन्तमा ता त्यो ऐरेलुभन्दा तीतो हुन्छ, र दुइ-धारे तरवारजस्तै लाग्नेहुन्छ।” (हितोपदेश ५:३, ४) नैतिक अशुद्धताको परिणाम दुःखदायी अनि घातक हुन सक्छ। जस्तै: अन्तस्करणले घोच्छ, यौनजन्य रोग लाग्छ र निर्दोष श्रीमान्‌ वा श्रीमतीलाई गहिरो भावनात्मक चोट लाग्छ। यस्तो परिणाम विचार गऱ्‍यौं भने, आफ्नो श्रीमान्‌ वा श्रीमतीलाई धोका दिने हदसम्म नपुग्न सजग हुनेछौं।

१७. श्रीमान्‌ वा श्रीमतीलाई धोका नदिने सबैभन्दा बलियो उत्प्रेरणा के हो?

१७ श्रीमान्‌ वा श्रीमतीलाई धोका दिनु सरासर गलत हुनुको प्रमुख कारण हो, विवाहका आरम्भक अनि श्रीमान्‌/श्रीमतीलाई यौनसम्बन्ध राख्न अनुमति दिनुहुने यहोवा यस्तो बेइमानीको घोर विरोध गर्नुहुन्छ। मलाकी अगमवक्‍तामार्फत उहाँ यसो भन्‍नुहुन्छ: “म न्याय गर्नलाई तिमीहरूकहाँ आउनेछु, र . . . व्यभिचारीहरू[का] . . . विरूद्धमा म विलम्ब नगरी साक्षी दिनेछु।” (मलाकी ३:५) यहोवाको दृष्टिकोणबारे हितोपदेश ५:२१ यसो भन्छ: “मानिसको चाल ता सधैं परमप्रभुको दृष्टिमा रहिरहन्छ, त्यो हिंड्‌ने हरेक मार्गलाई उहाँले हेर्नुहुन्छ।” हो, “उहाँको दृष्टिमा . . . कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्‌।” (हिब्रू ४:१३) त्यसकारण, जतिसुकै गोप्य रूपमा व्यभिचार गरिएको होस्‌ अथवा यसले गर्दा हुने शारीरिक तथा सामाजिक हानि जतिसुकै सानो देखियोस्‌, जस्तोसुकै यौन अशुद्धताले यहोवासितको हाम्रो घनिष्ठ सम्बन्धलाई बिगार्छ भनेर सम्झ्यौं भने आफ्नो श्रीमान्‌ वा श्रीमतीलाई धोका नदिने बलियो उत्प्रेरणा पाउनेछौं।

१८, १९. यूसुफ र पोतीफरकी श्रीमतीको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१८ कुलपिता याकूबका छोरा युसूफको उदाहरणले देखाएअनुसार परमेश्‍वरसित शान्तिमय सम्बन्ध राख्ने इच्छा गर्नु पनि बलियो उत्प्रेरणा हो। फिरऊनका अफिसर पोतीफरको निगाह पाएको कारण यूसुफले पोतीफरको घरमा विशेष स्थान पाएका थिए। यूसुफ “सुन्दर र हेर्नमा राम्रा थिए” र पोतीफरकी श्रीमतीलाई पनि त्यो कुरा थाह थियो। त्यसैले, दिनदिनै उनी यूसुफलाई फकाउँथिन्‌ तर सफल भने भईनन्‌। के कारण यूसुफ पोतीफरकी श्रीमतीको बहकाउमा परेनन्‌? बाइबल हामीलाई यसो भन्छ: “तिनले अस्वीकार गरेर आफ्ना मालिककी पत्नीलाई भने, ‘हेर्नुहोस्‌, . . . मेरा मालिक[ले] . . . तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?”—उत्पत्ति ३९:१-१२.

१९ अविवाहित यूसुफले अर्काकी श्रीमतीसित अवैध यौनसम्बन्ध राख्न इन्कार गरेर नैतिक शुद्धता कायम राखे। हितोपदेश ५:१५ (NRV ) यसो भन्छ: “आफ्नै कुण्डको पानी र आफ्नै कूवाबाट बगेको पानी पी।” श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसित थाहै नपाई प्रेम सम्बन्ध गाँसेर घनिष्ठ हुनदेखि सतर्क हुनुहोस्‌। श्रीमान्‌ वा श्रीमतीप्रतिको आफ्नो माया अझ गाढा बनाउने प्रयास गर्नुहोस्‌ र तपाईंहरूबीच आइपर्ने जस्तोसुकै समस्या समाधान गर्न कडा मिहेनत गर्नुहोस्‌। अरू कुरालाई पन्छाएर भए पनि ‘युवावस्थाको आफ्नी पत्नीसित [वा आफ्नो पतिसित] आनन्दित हुनुहोस्‌।’—हितोपदेश ५:१८, NRV. (w 06 9/15)

तपाईंले के सिक्नुभयो?

• एक जना मसीही थाहै नपाई कसरी अरूसित प्रेमप्रसंगमा पर्न सक्छन्‌?

• श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसित घनिष्ठ हुनदेखि जोगिन कस्ता कुराले मदत गर्न सक्छन्‌?

• समस्या आइपर्दा विवाहित दम्पतीले के गर्नुपर्छ?

• श्रीमान्‌ वा श्रीमतीलाई धोका नदिने सबैभन्दा बलियो उत्प्रेरणा के हो?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

दुःखको कुरा, काम गर्ने ठाउँ अनुचित अफिस रोमान्स फस्टाउने ठाउँ हुन सक्छ

[पृष्ठ १५-मा भएको चित्र]

‘ज्ञानले कोठाहरू सुन्दर थोकहरूद्वारा सुसज्जित पार्छ’