सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपदेशकको पुस्तकका विशेषताहरू

उपदेशकको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

उपदेशकको पुस्तकका विशेषताहरू

कुलपिता अय्यूबले यसो भने: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) अनावश्‍यक कुरा प्राप्त गर्न दौडधूप गरेर आफ्नो छोटो जीवन बेकारमा खेर फाल्नु कत्ति मूर्खता हो! त्यसोभए हामीले आफ्नो समय, शक्‍ति अनि स्रोतसाधन केको लागि प्रयोग गर्नुपर्छ? अनि केको लागि दौडधूप गर्नु हुँदैन? यस सम्बन्धमा बाइबलको पुस्तक उपदेशकमा भएको बुद्धिमानी कुराले हामीलाई भरपर्दो जवाफ दिन्छ। यसमा भएको सन्देशले “हृदयको भावना र विचारलाई जाँच्न” सक्छ र हामीलाई अर्थपूर्ण जीवन बिताउन मदत गर्न सक्छ।—हिब्रू ४:१२.

उपदेशकको पुस्तकका लेखक प्राचीन इस्राएलका राजा सुलेमान थिए र तिनी बुद्धिमान्‌ भनेर चिनिन्थे। केले जीवनलाई सार्थक बनाउँछ अनि केले बेकार, त्यसबारे यस पुस्तकमा व्यावहारिक सल्लाहहरू पाइन्छन्‌। उपदेशकको पुस्तकमा सुलेमानले केही निर्माणकार्यबारे पनि उल्लेख गरेका छन्‌। अतः तिनले ती निर्माणकार्यहरू सिध्याएपछि तर साँचो उपासनाबाट तर्कनुअघि उपदेशकको पुस्तक लेखेको हुनुपर्छ। (नहेम्याह १३:२६) यसको मतलब ईसापूर्व १००० अघि नै अर्थात्‌ सुलेमानको ४० वर्षे शासनकालको अन्ततिर यो पुस्तक लेखिसिद्धिएको हुनुपर्छ।

के व्यर्थ छैन?

(उपदेशक १:१–६:१२)

“सबै व्यर्थ हुन्‌” भन्‍ने सुलेमान यसरी सोध्छन्‌: “मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?” (उपदेशक १:२, ३, NRV) “व्यर्थ” अनि “सूर्यमुनि” भन्‍ने अभिव्यक्‍तिहरू उपदेशकको पुस्तकमा बारम्बार दोहऱ्‍याइएको पाउँछौं। “व्यर्थ” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “सास” अथवा “वाफ” हो र यसले व्यावहारिक महत्त्व, स्थायित्व अथवा स्थिरताको कमीलाई बुझाउँछ। “सूर्यमुनि” भन्‍ने अभिव्यक्‍तिले चाहिं “यस पृथ्वीमा” अथवा “संसारमा” भन्‍ने अर्थ बुझाउँछ। यसर्थ, परमेश्‍वरको इच्छालाई बेवास्ता गर्दै मानिसले गर्ने सम्पूर्ण प्रयास व्यर्थ हुन्‌।

सुलेमान भन्छन्‌: “परमेश्‍वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। . . . परमेश्‍वरको वचन सुन्‍नलाई जाओ।” (उपदेशक ५:१, NRV ) साँचो परमेश्‍वर यहोवाको उपासनामा व्यस्त हुनु व्यर्थ होइन। वास्तवमा, अर्थपूर्ण जीवन बिताउन उहाँसितको हाम्रो सम्बन्धलाई ध्यान दिनु अत्यन्तै महत्त्वपूर्ण छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:४-१०—प्राकृतिक चक्रमा के कुरा ‘विरक्‍तको’ छ? पृथ्वीमा जीवन धान्‍न अत्यन्त आवश्‍यक तीन कुरा मात्र उपदेशक उल्लेख गर्छन्‌। ती हुन्‌: सूर्य, बतास बहने तरिका अनि जलचक्र। वास्तवमा, प्राकृतिक चक्र थुप्रै छन्‌ र ती बुझ्न निकै गाह्रो छ। जीवनभर अध्ययन गर्दा पनि तीबारे सबै कुरा बुझ्न सकिंदैन। यो नै ‘विरक्‍तको’ हुन सक्छ। अनि यी अनन्त चक्रसित हाम्रो छोटो जीवनलाई तुलना गर्नु पनि दिक्कलाग्दो छ। नयाँ-नयाँ खोजहरू समेत विरक्‍तका छन्‌। आखिर, यी नयाँ आविष्कारहरू पनि परमेश्‍वरले स्थापित गर्नुभएका र सृष्टिमा प्रयोग गरिसक्नुभएका सिद्धान्तहरू प्रयोग गरिएको मात्र हो, अरू केही होइन।

२:१, २—हाँसो किन “पागलपना” हो? हाँस्दा क्षणभरको लागि आफ्ना समस्याहरू बिर्सन्छौं र मोजमस्ती गर्दा आइपरेका समस्याहरू हामीलाई त्यत्ति गम्भीर नलाग्न सक्छ। तर हाँस्दैमा हाम्रा समस्याहरू त्यसै हराउँदैनन्‌। त्यसकारण, हाँसेर सुख खोज्नुलाई नै “पागलपना” भनिएको हो।

३:११ (NRV )—परमेश्‍वरले के कुरालाई “आफ्नो समयमा सुन्दर बनाउनुभएको छ”? यहोवा परमेश्‍वरले ठीक समयमा “सुन्दर” अथवा उपयुक्‍त र लाभकारी बनाउनुभएका थोकहरूमध्ये केही हुन्‌: आदम र हव्वाको सृष्टि, इन्द्रेणीको करार, अब्राहामसितको करार, दाऊदसितको करार, मसीह देखा पर्ने समय र येशू ख्रीष्ट परमेश्‍वरको राज्यको राजा नियुक्‍त हुनु। तर निकट भविष्यमा परमेश्‍वरले अर्को कुरालाई पनि “सुन्दर” बनाउनुहुनेछ। उपयुक्‍त समयमा धार्मिक नयाँ संसार वास्तविक हुनेछ भनेर हामी ढुक्क हुन सक्छौं।—२ पत्रुस ३:१३.

हाम्रो लागि पाठ:

१:१५. अहिले भइरहेको अन्याय र अत्याचारलाई रोक्न हामीले आफ्नो समय र शक्‍ति खर्च गर्नु बेकार छ। परमेश्‍वरको राज्यले मात्र यस्तो दुष्टता हटाउन सक्छ।—दानियल २:४४.

२:४-११. आफ्नो संस्कृतिअनुसार निर्माणकार्य गर्नु, बगैंचा बनाउनु, गीत-संगीतमा लाग्नु र विलासी जीवन बिताउनु “बतासलाई खेदेको जस्तो” हो। किनकि यी कुराले जीवन अर्थपूर्ण बनाउँदैन र स्थायी आनन्द पनि दिंदैन।

२:१२-१६. मूर्ख हुनुभन्दा बुद्धिमान्‌ हुनु धेरै असल हो। बुद्धिमान्‌ भयौं भने, केही खास समस्या हल गर्न सक्छौं। तर मरेपछि बुद्धि काम लाग्दैन। यसबाहेक, बुद्धिकै कारण प्रख्यात भएको व्यक्‍ति मऱ्‍यो भने उसलाई सबैले बिर्सन्छन्‌।

२:२४; ३:१२, १३, २२. मेहनतको फल पाउँदा खुसी हुनु गलत होइन।

२:२६. यहोवाले दिने बुद्धिले आनन्दित तुल्याउँछ र ‘यहोवालाई खुशी तुल्याउने’ मानिसले मात्र यस्तो बुद्धि पाउँछ। परमेश्‍वरसित राम्रो सम्बन्ध गाँसेका छैनौं भने यस्तो बुद्धि प्राप्त गर्न पटक्कै सकिंदैन।

३:१६, १७. सधैं नै न्याय पाइन्छ भनेर आशा गर्नु व्यावहारिक कुरा होइन। संसारमा भइरहेका घटनामा चिन्तित हुनुभन्दा यहोवाले अवस्था सुधार्नुहुन्छ भनेर उहाँमा भरोसा गर्नुपर्छ।

४:४. सिपालु भई गरेको परिश्रमले सन्तुष्टि मिल्छ। तर अरूलाई जित्न मात्र मेहनत गरेका छौं भने प्रतिस्पर्धा गर्ने भावना जाग्छ र वैमनश्‍यता र ईष्या पलाउन थाल्छ। हामीले मसीही सेवकाईमा गर्ने मेहनत सही मनोवृत्तिले गरेको हुनै पर्छ।

४:७-१२. भौतिक सरसम्पत्तिभन्दा मानव सम्बन्ध बढी महत्त्वपूर्ण छ र धनसम्पत्ति कमाउने होडमा यी सम्बन्धहरूलाई चटक्कै बिर्सनु हुँदैन।

४:१३. ओहदा र पाको उमेरको हुँदैमा आदर कमाइन्छ नै भन्‍ने छैन। जिम्मेवारी सँभाल्ने व्यक्‍तिहरूले बुद्धिमानी व्यवहार गर्नुपर्छ।

४:१५, १६. सुरुमा, ‘अघिका सबैले’ “अर्को जवान मानिस” अर्थात्‌ राजाको उत्तराधिकारीलाई समर्थन गरे तापनि ‘पछि आएकाहरू त्यस उत्तराधिकारीसँग प्रसन्‍न हुँदैनन्‌।’ हो, लोकप्रियता क्षणिक हुन्छ।

५:२. हाम्रा प्रार्थनाहरू ठूलठूला शब्दले भरिएको हुनु हुँदैन। बरु, सोचविचार गर्दै श्रद्धा भावले प्रार्थना गर्नुपर्छ।

५:३-७. भौतिक सरसम्पत्ति जोड्‌नमा नै आफ्नो सम्पूर्ण ध्यान लगायो भने स्वार्थी कुराबारे दिउँसै सपना देख्न थालिन्छ। यसबाहेक, रातभर छटपटिएर अनि कल्पनाको संसारमा डुबेर मीठो निद्रा पनि गुम्न सक्छ। धेरै बोल्दा अरूसामु मूर्ख देखिन्छ र हत्त न पत्त परमेश्‍वरको नाउँमा कसम खान पुगिन्छ। तर ‘परमेश्‍वरको भय मान्दा’ यी कुराबाट जोगिन सकिन्छ।

६:१-९. आफूसित भएको धन-सम्पत्ति, मान-मर्यादा, दीर्घ जीवनको अनि ठूलो परिवारमा हुँदाखेरि पाइने आनन्द उठाउन कारणवश सकेनौं भने ती सबको के फाइदा हुन्छ र? त्यसैले “आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनु” अथवा वास्तविकता स्वीकार्नु “अरू कुराको लोभ गरिरहनुभन्दा” अर्थात्‌ सन्तुष्टि पाउन नसकिने इच्छा गर्नुभन्दा “असल छ।” त्यसकारण, “खान र लाउन भएपछि” सन्तुष्ट भएर लाभदायी कुराहरूको आनन्द उठाउँदै यहोवासितको घनिष्ठ सम्बन्धलाई कायम राखिरहनु नै जीवन बिताउने सर्वोत्तम तरिका हो।—१ तिमोथी ६:८.

बुद्धिमान्‌लाई सल्लाह

(उपदेशक ७:१–१२:८)

आफ्नो असल नाउँ अथवा प्रतिष्ठालाई हामी कसरी जोगाउन सक्छौं? मानव सरकार अनि हामीले देखे-भोगेका अन्यायप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ? मरेपछि केही पनि थाह नहुने भएकोले अहिले जीवन कसरी बिताउनुपर्छ? युवायुवतीहरूले आफ्नो समय र शक्‍ति केमा खर्च गर्नु बुद्धिमानी हुन्छ? उपदेशकले यीलगायत अन्य कुराबारे दिएको राम्रो सल्लाह अध्याय ७ देखि १२ सम्म पाउँछौं।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

७:१९—बुद्धिले कसरी “दश जना शासकहरूभन्दा बढी बल दिन्छ”? बाइबलमा प्रयोग गरिएको दश संख्याले लाक्षणिक अर्थमा पूर्णतालाई जनाउँछ। बुद्धिले दिन सक्ने सुरक्षा भएभरका सिपाहीले एउटा सहरलाई दिने सुरक्षाभन्दा बलियो हुन्छ भनेर सुलेमान बताउँछन्‌।

१०:१५—कसरी “मूर्ख आफ्नो परिश्रमले आफै थाक्छ”? सही निर्णय गर्न नसक्ने व्यक्‍तिले जतिसुकै कडा परिश्रम गरे पनि त्यो परिश्रम त्यसै खेर जान्छ। त्यो कामबाट उसले सन्तुष्टि पनि पाउन सक्दैन। यस्तो व्यर्थको परिश्रमले ऊ बेकारमा थाक्छ मात्र।

११:७, ८ NRV)—“उज्यालो असल हुन्छ। आँखाले घामलाई हेर्न मन पराउँछ।” यसको अर्थ के हो? उज्यालो र घामले जीवन रमाइलो बनाइदिन्छ। सुलेमानले यस पदमा जीवित हुनु असल हो र अन्धकार अथवा वृद्धावस्थाले हाम्रो जोस र जाँगर मेटिदिनुअघि नै “आनन्दित” हुनुपर्छ भन्‍न खोजेका हुन्‌।

११:१०—“बाल्यावस्था र बैंस” किन व्यर्थ हुन्‌? सही ढङ्‌गमा उपयोग गरिएको छैन भने यी पनि व्यर्थ हुन्‌ किनकि युवावस्थाको जोस र जाँगर वाफजस्तै तुरुन्तै बिलाइहाल्छ।

हाम्रो लागि पाठ:

७:६. बेला न कुबेला हाँस्दा रीस उठ्‌छ र यसो गर्नु भाँडामुनि पड्‌कने काँडाजस्तो बेकारको हुन्छ। यसरी नहाँस्न हामी होसियार हुनुपर्छ।

७:२१, २२. अरूले हामीबारे के भन्छन्‌, त्यसमा ज्यादै चिन्तित हुनु पर्दैन।

८:२, ३ (NRV ); १०:४. हाकिम अथवा मालिकले हपार्दा वा कुनै काम गरेको मिलेन भन्दा शान्त रहनु बुद्धिमानी हुन्छ। हत्त न पत्त राजीनामा दिनुको साटो ‘तिनको उपस्थितिबाट बिदा हुन हतार नगर्नु’ बेस हो।

८:८ (NRV ); ९:५-१०, १२. माछा जालमा अनि चरा पासोमा परेझैं हाम्रो जीवन पनि नसोचेको बेला अचानक टुंगिन सक्छ। यसबाहेक, मृत्युको दिनमाथि कसैको अधिकार छैन। युद्धमा बिदा नपाएझैं मानिस र मृत्युबीचको संघर्षबाट पनि छुट पाइँदैन। त्यसकारण, बेकारमा समय खेर फाल्नु हुँदैन। यहोवा हामीले आफ्नो जीवनको कदर गरेको र उचित तरिकामा जीवनको आनन्द उठाएको चाहनुहुन्छ। यसको लागि हामीले जीवनमा यहोवाको सेवालाई प्राथमिकता दिनुपर्छ।

८:१६, १७. परमेश्‍वरले गर्नुभएका सबै कुरा र उहाँले मानिसमाथि आइपर्न अनुमति दिनुभएका कुरा रातदिन लगाएर बुझ्न खोजे तापनि हामी ती कुरा पूर्णतया बुझ्न सक्दैनौं। संसारमा भएका एक-एक अन्याय र अत्याचारबारे चिन्तित भयौं भने, हाम्रो आनन्द हरण हुनुसिवाय अरू केही हुँदैन।

९:१६-१८. कतिले बुद्धिको त्यति कदर गर्दैनन्‌ तर हामीले यसको महत्त्व बिर्सनु हुँदैन। मूर्खको कर्कश बोलीभन्दा त बुद्धिमान्‌को शान्त बोली नै मनपर्दो हुन्छ।

१०:१. हामी आफ्नो बोलीवचन र काममा होसियार हुनै पर्छ। एक पटक मात्र होसियार नहुँदा पनि जस्तै: झनक्क रिसाउँदा, रक्सीको सुरमा जथाभावी गर्दा र बोल्दा अथवा अनुचित यौन व्यवहार गर्दा सम्मानित व्यक्‍तिले आफ्नो मानसम्मान सबै गुमाउन सक्छ।

१०:५-११. उच्च ओहदामा भएको अयोग्य व्यक्‍तिको ईर्ष्या गर्नु हुँदैन। सानो काम पनि पूरा गर्न नसक्दा परिणाम दुःखदायी हुन सक्छ। बरु, बुद्धिमान्‌ हुनु बेस किनकि “बुद्धिमान मानिसलाई सफलता पाउने ठूलो मौका हुन्छ।” त्यसैले, परमेश्‍वरको राज्यको प्रचार गर्ने र चेला बनाउने काममा योग्य साबित हुनु कत्ति महत्त्वपूर्ण छ!

११:१, २. उदार हुन हामीले अथक प्रयास गर्नुपर्छ। अनि मात्र हामीप्रति पनि उदारता देखाइनेछ।—लूका ६:३८.

११:३-६. जीवनमा आइपर्ने अप्रत्याशित घटनाहरूले गर्दा हामी निर्णय गर्नै नसक्ने हदसम्म पुग्नु हुँदैन।

११:९; १२:१-७. युवायुवतीले यहोवालाई आफ्नो लेखा दिनुपर्छ। त्यसकारण, वृद्धावस्थामा आफ्नो जोस र जाँगर गुमाउनुअघि नै उनीहरूले आफ्नो समय र शक्‍ति यहोवाको सेवामा लगाउनुपर्छ।

हामीलाई डोऱ्‍याउने “बुद्धिमान्‌का वचनहरू”

(उपदेशक १२:९-१४)

उपदेशकले छानी-छानी लेखेका ‘मीठा मीठा शब्दहरूलाई’ हामीले कसरी लिनुपर्छ? मानिसले आफ्नै बुद्धिबाट लेखेका ‘पुस्तकहरूको’ तुलनामा “बुद्धिमानका वचनहरू गोठालाका लाठोझैं, ठीक स्थानमा ठोकेका कीलाझैं छन्‌। ती वचनले मानिसको समुदायलाई डोस्याउँछ, किनकि ती एउटै गोठालाबाट आएका हुन्‌।” (उपदेशक १२:१०-१२) “एउटै गोठाला” यहोवाबाट आएका वचनमा पाइने बुद्धिले हाम्रो जीवन स्थिर बनाउँछ।

उपदेशकको पुस्तकमा पाइने बुद्धिले भरिएका सल्लाहहरू प्रयोग गर्दा पक्कै पनि अर्थपूर्ण अनि सुखी जीवन बिताउने मदत पाउनेछौं। यसबाहेक, हामीलाई यस्तो आश्‍वासन पनि दिइएको छ: “परमेश्‍वरसँग डराउनेहरूलाई असलै हुनेछ।” त्यसकारण आउनुहोस्‌, ‘परमेश्‍वरको भय राख्ने, र उहाँका आज्ञा पालन गर्ने’ दृढ अठोट गरौं।—उपदेशक ८:१२; १२:१३. (w 06 11/01)

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरले दिनुभएका उपहारमध्ये खानु, पिउनु र आफ्नो मेहनतको फल पाउँदा खुसी हुनु पनि पर्छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरले बनाउनुभएका सुन्दर कुराहरूमध्ये एउटा त्यसको उपयुक्‍त समयमा पूरा हुनेछ