सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टिकर्ताबाटको कहिल्यै नाश नहुने एउटा उपहार

सृष्टिकर्ताबाटको कहिल्यै नाश नहुने एउटा उपहार

सृष्टिकर्ताबाटको कहिल्यै नाश नहुने एउटा उपहार

वैज्ञानिकहरू पृथ्वीमा जीवन सम्भव हुनको लागि जे–जति तत्त्वहरू चाहिन्छ भनी विश्‍वास गर्छन्‌, ती सबै बाइबलको पहिलो अध्यायमै स्पष्टसँग बताइएको छ। के तपाईंलाई यसमा छक्क लाग्दैन? ती आवश्‍यक तत्त्वहरू के–के हुन्‌?

जीवन फल्न-फुल्न उत्पत्ति १:२ मा बताइएझैं प्रशस्त पानी हुनै पर्छ। पानी तरलकै रूपमा रहिरहन तापक्रम पनि ठीक्कको हुनुपर्छ। यसको लागि पृथ्वी सूर्यदेखि ठीक्कको दूरीमा हुनु आवश्‍यक छ। उत्पत्तिको विवरणमा पृथ्वीमाथि सूर्यले पार्ने प्रभाव र सूर्यबारे बारम्बार बताइएको छ।

कुनै पनि ग्रह मानिस बस्न योग्यको हुन निश्‍चित मात्रामा ग्यासहरू मिसिएको वायुमण्डल हुनुपर्छ। यो महत्त्वपूर्ण कुरा उत्पत्ति १:६-८ मा बताइएको छ। त्यसै गरी उत्पत्ति १:११, १२ मा बताइएका वनस्पतिहरूले गर्दा प्रचुर मात्रामा अक्सिजन उपलब्ध हुन सकेको छ। विभिन्‍न प्रजातिका जीवजन्तुहरू बस्न सक्ने हुनको लागि उक्‍त ग्रहको भूमि उत्पत्ति १:९-१२ ले बताएझैं ओबानो र उत्पादनशील हुनुपर्छ। अन्तमा, सुहाउँदो मौसम हुनको लागि ग्रह ठीक्क मात्रामा ढल्किएको र ठीक स्थानमा हुनुपर्छ। पृथ्वीको सन्दर्भमा भन्‍नुपर्दा चन्द्रमाको गुरुत्वाकर्षण शक्‍तिले यसको लागि केही हदसम्म मदत गर्छ। चन्द्रमाको अस्तित्व र यसका केही लाभहरूबारे उत्पत्ति १:१४, १६ मा बताइएको छ।

प्राचीन समयका लेखक मोशाले माथिका विषयहरू आधुनिक विज्ञानको सहायताविना नै कसरी थाह पाए होलान्‌? के मोशासित ती कुरा थाह पाउन आफ्ना समयका मानिसहरूसँग नभएको विशेष क्षमता थियो? कुरो त्यसो होइन, बरु स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सृष्टिकर्ताद्वारा नै प्रेरित भएर उनले ती कुरा लेखेका थिए। उत्पत्तिको विवरण वैज्ञानिक दृष्टिकोणले पनि सही साबित हुनु साँच्चै उल्लेखनीय कुरा हो।

हाम्रो ब्रह्‍माण्डमा भएका ती आश्‍चर्यलाग्दा यावत्‌ कुराहरू सृजनुको पछि कुनै उद्देश्‍य पक्कै छ भनी बाइबलले ठोकेरै भन्छ। “स्वर्ग ता परमप्रभुकै हो तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ” भनी भजन ११५:१६ बताउँछ। अर्को भजन भन्छ: “त्यो कहिल्यै नडग्मगाओस्‌ भनेर, जसले पृथ्वीको जग बसाल्नुभयो।” (भजन १०४:५) यदि ब्रह्‍माण्ड र हाम्रो सुन्दर ग्रह पृथ्वी सृष्टिकर्ताद्वारा नै रचिएको हो भने, यसलाई दुरुस्त राख्ने क्षमता पनि उहाँसँग छ भनी विश्‍वास गर्नु अत्युक्‍ति नहोला! यसको मतलब “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌” भन्‍ने प्रतिज्ञाप्रति विश्‍वस्त हुँदै तपाईं यो पूरा हुने दिनलाई पर्खन सक्नुहुन्छ। (भजन ३७:२९) हो, परमेश्‍वरले पृथ्वीलाई “व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्न” अर्थात्‌ परमेश्‍वरका अद्‌भुत सृष्टिप्रति कृतज्ञ हुनेहरू सधैंभरि बसून्‌ भनेर सृजनुभयो।—यशैया ४५:१८.

बाइबलअनुसार येशू यस पृथ्वीमा हामीलाई परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सिकाउन आउनुभएको थियो। उहाँको उद्देश्‍य आज्ञाकारी मानिसजातिलाई अनन्त जीवन दिनु हो। (यूहन्‍ना ३:१६) हामी यस कुरामा निश्‍चित छौं कि परमेश्‍वरले चाँडै नै “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ तर उद्धारको लागि उहाँले मिलाउनुभएको प्रबन्धबाट लाभ उठाउन चाहने सबै शान्तिप्रिय मानिसहरू भने बच्नेछन्‌। (प्रकाश ७:९, १४; ११:१८) त्यसबेला परमेश्‍वरका अद्‌भुत सृष्टिहरूमा नयाँ-नयाँ कुराहरू पत्ता लगाउँदै सधैंभरि रम्न पाउँदा जीवन कस्तो होला, कल्पना गर्नुहोस्‌ त!—उपदेशक ३:११; रोमी ८:२१. (w07 2/15)

[पृष्ठ ८-मा भएको स्रोत]

NASA photo