सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌

जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌

जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌

“ती अब दुई होइन तर एउटै शरीर हुन्छन्‌। यसकारण जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।”—मत्ती १९:६.

१, २. विवाहित जोडीहरूको जीवनमा समय-समयमा समस्याहरू आउँछन्‌ भनी अपेक्षा गर्नु बाइबलअनुसारै र व्यावहारिक पनि हो, किन?

 कल्पना गर्नुहोस्‌, तपाईं गाडी हाँकेर लामो यात्रामा निस्कँदै हुनुहुन्छ। के बाटोमा समस्याहरू आइपर्न सक्छन्‌? समस्या आउँदैन भनेर सोच्नु त मूर्खता हुनेछ! उदाहरणको लागि, जाँदाजाँदै मौसम एकदमै बिग्रन सक्छ जसको कारण तपाईंले असाध्यै होस पुऱ्‍याएर अनि बिस्तारै गाडी हाँक्नुपर्ने हुन सक्छ। कतै पुगेर तपाईंको गाडी नै बिग्रिन पनि सक्ला जुन सायद तपाईं आफैले बनाउन सक्नुहुन्‍न। यस्तो अवस्थामा गाडी बाटोको एक छेउमा रोकेर अरूको मदत लिनुपर्ने हुन्छ। यस्तो परिस्थितिमा, म यो यात्रामा व्यर्थै निस्केछु अब गाडी नै छोडिदिन्छु भन्‍ने निष्कर्षमा पुग्नुहुन्छ र? अहँ पुग्नुहुन्‍न। लामो यात्रामा निस्कँदा समस्याहरू आउन सक्छन्‌ भनी अपेक्षा गर्नुहुन्छ र त्यसको बुद्धिमानीपूर्वक समाधान गर्ने उपाय खोज्नुहुन्छ।

विवाह भन्‍ने कुरा पनि त्यस्तै हो। समस्या त आइहाल्छ। बिहे गर्ने विचार गरिरहेका जोडीहरूले आफ्नो दाम्पत्य जीवन सुखै सुखले भरिएको हुन्छ भनेर सोच्नु त मूर्खता हुनेछ। पहिलो कोरिन्थी ७:२८ मा पति-पत्नीलाई “शरीरमा कष्ट हुनेछ” भनेर स्पष्टै बताइएको छ। किन? एक वाक्यमा भन्‍ने हो भने, पति-पत्नी दुवै असिद्ध छन्‌ र हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१; रोमी ३:२३) त्यसैकारण, एकदमै मन मिल्ने र आध्यात्मिक कुरामा ध्यान दिने दम्पतीहरूको जीवनमा पनि समय-समयमा समस्याहरू आउँछन्‌।

३. (क) आज संसारमा थुप्रैले विवाहबारे कस्तो दृष्टिकोण राख्छन्‌? (ख) मसीहीहरूले आफ्नो वैवाहिक सम्बन्ध जोगाइराख्ने प्रयास गर्छन्‌, किन?

आजभोलि, समस्या उत्पन्‍न हुनासाथ कतिपय दम्पतीहरू सम्बन्ध विच्छेद गर्ने मोडमा पुगिहाल्छन्‌। थुप्रै मुलुकमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या आकासिंदो छ। तर साँचो परमेश्‍वरका उपासकहरू समस्याबाट भाग्नुको सट्टा त्यसको समाधान गर्ने कोसिस गर्छन्‌। किन? किनभने तिनीहरू विवाहलाई यहोवाले दिनुभएको पवित्र वरदान ठान्छन्‌। विवाहित जोडीहरूको विषयमा येशूले यसो भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:६) हो, येशूले भन्‍नुभएको यो स्तरअनुरूप जीवन बिताउनु सधैं सजिलो नहोला। उदाहरणको लागि, बाइबलका सिद्धान्तहरू मानि नलिने विवाहसम्बन्धी केही सल्लाहकार, नातेदार र अरूले अक्सर बाइबलका सिद्धान्त विपरीत कुराहरूको आधारमा छुट्टिन वा सम्बन्ध विच्छेद गर्न प्रोत्साहन दिन्छन्‌। a तर साँचो उपासकहरूलाई के कुरा थाह छ भने, हतारमा विवाह बन्धन टुटाउनुको सट्टा बिग्रिएको सम्बन्धलाई सुधारेर जोगाइराख्नु बेस हो। तर यसको लागि सुरुदेखि नै यहोवाले दिनुहुने सल्लाहअनुसार गर्नु अत्यावश्‍यक छ, अरूको सल्लाहअनुसार होइन।—हितोपदेश १४:१२.

कठिनाइहरू पार गर्ने

४, ५. (क) विवाहमा कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ? (ख) विवाहमा समस्याहरू उत्पन्‍न हुँदा समेत परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरू किन साँच्चै प्रभावकारी छन्‌?

तथ्य कुरा के हो भने, विवाहमा आइपर्ने समस्याहरू समाधान गर्न विशेष ध्यान दिनुपर्छ। धेरैजसो अवस्थामा त केवल स-साना मतभिन्‍नताहरू सुल्झाउनुपर्ने हुन सक्छ। तर कुनै-कुनै विवाहमा ठूल्ठूला चुनौतीहरू आउन सक्छन्‌ जसले वैवाहिक सम्बन्धको जगलाई नै हल्लाइदिन सक्छ। कहिलेकाहीं तपाईंले परिपक्व विवाहित मसीही प्राचीनको मदत लिनुपर्ने हुन सक्छ। तर यसको अर्थ तपाईंको विवाह असफल भयो भन्‍ने होइन। उनीहरूले त केवल समस्याहरूको समाधान गर्न बाइबलका सिद्धान्तहरू पछ्याउनुपर्ने आवश्‍यकतामाथि जोड दिन्छन्‌।

सफल वैवाहिक जीवनको लागि के गर्नुपर्छ भनी यहोवालाई जत्ति अरू कसैलाई थाह छैन किनभने उहाँ मानिसजातिका सृष्टिकर्ता र विवाहको सुरुआतकर्ता हुनुहुन्छ। कुरा यति हो, के हामी उहाँको वचनमा पाइने सल्लाह सुनेर त्यसअनुसार गर्न तयार छौं? सल्लाह सुन्यौं भने पक्कै लाभ उठाउनेछौं। प्राचीन समयमा यहोवाले आफ्ना जनहरूलाई यसो भन्‍नुभयो: “यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!” (यशैया ४८:१८) बाइबलले दिएको डोऱ्‍याइ पछ्यायौं भने सफल वैवाहिक जीवन बिताउन सक्नेछौं। बाइबलमा पतिहरूलाई कस्तो सल्लाह दिइएको छ, पहिला त्यो जाँचेर हेरौं।

“आफ्ना पत्नीहरूलाई प्रेम गर”

६. पतिहरूलाई बाइबलमा कस्तो सल्लाह दिइएको छ?

प्रेरित पावलले एफिसीहरूलाई लेखेको पत्रमा पतिहरूका लागि स्पष्ट डोऱ्‍याइ पाउँछौं। पावलले यस्तो लेखे: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसरीनै पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको [“कदर गरेर,” NRV] पालन पोषण गर्दछ। तापनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर।”—एफिसी ५:२५, २८, २९, ३३.

७. (क) कुन एउटा कुरा मसीही विवाहमा नभई हुँदैन? (ख) पतिहरूले आफ्नी पत्नीलाई कसरी प्रेम गरिरहन सक्छन्‌?

पति-पत्नीबीच हुन सक्ने एक-एक समस्याबारे त पावलले चर्चा गरेका छैनन्‌। बरु, पावल प्रत्येक साँचो उपासकहरूको विवाहमा नभई नहुने तत्त्व प्रेम नै हो भनेर कुरोको चुरोमा पुग्छन्‌। वास्तवमा, अघिल्लो अनुच्छेदको बाइबल पदमा प्रेम भन्‍ने शब्द छ चोटि उल्लेख गरिएको छ। याद गर्नुहोस्‌, पावलले जहाँ पतिहरूलाई “आफ्ना पत्नीहरूलाई प्रेम गर” भनेका छन्‌ त्यहाँ मौलिक भाषामा गरिरह भन्‍ने अर्थ लाग्ने शब्द चलाइएको छ। मायाप्रीती गाँस्नु जति सजिलो छ त्यसलाई बचाइराख्नु त्यति नै गाह्रो छ भनी पावललाई पक्कै थाह थियो। यस “आखिरी दिनमा” यसो गर्नु विशेष गरी गाह्रो छ किनभने थुप्रै मानिस “स्वार्थी” र “खुशी नहुने” खालका छन्‌। (२ तिमोथी ३:१-३) यस्ता दुर्गुणहरूको कारण आज थुप्रै विवाह टुटिरहेका छन्‌ तर एक मायालु पतिले आफ्नो सोचाइ र कार्य संसारको स्वार्थी तौरतरिकाहरूबाट प्रभावित हुन दिने छैनन्‌।—रोमी १२:२.

तपाईं कसरी पत्नीको पालनपोषण गर्न सक्नुहुन्छ?

८, ९. मसीही पतिले कुन-कुन तरिकामा पत्नीको पालनपोषण गर्छन्‌?

तपाईं मसीही पति हुनुहुन्छ भने कसरी स्वार्थी झुकावहरूको प्रतिरोध गर्दै पत्नीप्रति साँचो प्रेम देखाउन सक्नुहुन्छ? माथि उद्धृत एफिसीहरूलाई लेखेको पत्रमा, पतिहरूले गर्नुपर्ने दुइटा कुरा पावलले उल्लेख गरे। ती हुन्‌, पत्नीको पालनपोषण गर्ने र आफैलाई झैं तिनको कदर गर्ने। तपाईंले कसरी पत्नीको पालनपोषण गर्न सक्नुहुन्छ? एउटा त पत्नीका भौतिक आवश्‍यकताहरू पूरा गरेर। पावलले तिमोथीलाई यस्तो लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”—१ तिमोथी ५:८.

तर खान, बस्न र लाउन दिनु मात्र त पर्याप्त छैन। किन? किनभने कुनै-कुनै पतिहरूले पत्नीका भौतिक आवश्‍यकताहरू त राम्ररी पूरा गरिरहेका होलान्‌ तर तिनको भावनात्मक र आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्ने कुरामाचाहिं चुकिरहेका हुन सक्छन्‌। पत्नीको भावनात्मक र आध्यात्मिक आवश्‍यकताहरू बेवास्ता गर्न मिल्दै-मिल्दैन। हो, थुप्रै मसीही पुरुषहरू मण्डलीका कामकुराहरूमा एकदमै व्यस्त हुन्छन्‌। तर मण्डलीमा गम्भीर जिम्मेवारीहरू छ भन्दैमा परमेश्‍वरले पतिलाई परिवारको शिरको हैसियतमा सुम्पनुभएका जिम्मेवारीलाई बेवास्ता गर्न पटक्कै मिल्दैन। (१ तिमोथी ३:५, १२) यसै विषयमा टिप्पणी गर्दै केही वर्षअघि यसै पत्रिकामा यसो भनिएको थियो: “बाइबलमा लेखिएका आवश्‍यकताहरूलाई विचार गर्दा ‘गोठालो गर्ने काम घरबाटै सुरु हुन्छ’ भन्‍न सकिन्छ। यदि कुनै प्राचीनले आफ्नो परिवारलाई बेवास्ता गर्छन्‌ भने प्राचीनको रूपमा सेवा गर्ने सुअवसर तिनले गुमाउन सक्छन्‌।” b स्पष्टतः तपाईंले आफ्नी पत्नीको शारीरिक, भावनात्मक र सबैभन्दा महत्त्वपूर्ण, आध्यात्मिक आवश्‍यकता पूरा गर्नै पर्छ।

पत्नीको कदर गर्नुको अर्थ के हो?

१०. पतिले कसरी आफ्नी पत्नीको कदर गर्न सक्छन्‌?

१० तपाईं आफ्नी पत्नीको कदर गर्नुहुन्छ भने तिनको राम्रो हेरचाह गर्नुहुन्छ किनभने तपाईं तिनलाई माया गर्नुहुन्छ। तपाईं यो विभिन्‍न तरिकामा गर्न सक्नुहुन्छ। पहिलो, आफ्नी पत्नीसित प्रशस्त समय बिताउनुहोस्‌। यसो गर्नुभएन भने तपाईंप्रतिको तिनको माया चिसिंदै जान सक्छ। साथै, यो कुरा पनि मनमा राख्नुहोस्‌ कि तपाईंको विचारमा तिनलाई जति समय र ध्यान दिए पुग्छ, त्यो तपाईंको पत्नीको विचारमा अपुग हुन सक्छ। श्रीमतीलाई म तिम्रो कदर गर्छु भनेर मात्र पुग्दैन। तिनले आफ्नो कदर भएको महसुस गरेकी हुनै पर्छ। पावलले यस्तो लेखे: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज।” (१ कोरिन्थी १०:२४) मायालु पतिको रूपमा तपाईं आफ्नी पत्नीलाई खास केको आवश्‍यकता छ भनी बुझ्ने प्रयास गर्नुहुन्छ।—फिलिप्पी २:४.

११. पत्नीसित गर्ने व्यवहारले परमेश्‍वर र मण्डलीसितको पतिको सम्बन्धमा कसरी असर गर्छ?

११ तपाईं पत्नीको कदर गर्नुहुन्छ भनी देखाउने अर्को तरिका मीठो बोलेर र कोमल व्यवहार गरेर हो। (हितोपदेश १२:१८) पावलले कलस्सीका भाइहरूलाई यस्तो लेखे: “ए पति हो, पत्नीलाई प्रेम गर औ तिनीहरूप्रति कठोर नहोओ।” (कलस्सी ३:१९) यसको अर्थ पतिले उनलाई खुट्टाको धूलो ठान्‍नु हुँदैन अर्थात्‌ कहिल्यै पनि पत्नीलाई कमारालाई जस्तो कठोर व्यवहार गर्नुहुँदैन। पत्नी एक्लै हुँदा होस्‌ वा अरूको अगाडि, उनीसँग निरङ्‌कुश व्यवहार गर्ने पतिले पक्कै पनि पत्नीको कदर गरिरहेका हुँदैनन्‌। पत्नीसित कठोर व्यवहार गर्दा तिनले परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई पनि खतरामा पार्न सक्छन्‌। प्रेरित पत्रुसले पतिहरूलाई यस्तो लेखे: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्‌।” c१ पत्रुस ३:७.

१२. येशूले मसीही मण्डलीसित गर्नुभएको व्यवहारबाट मसीही पतिहरूले के सिक्न सक्छन्‌?

१२ पत्नीको मायालाई कहिल्यै हल्कासित नलिनुहोस्‌। आफ्नी श्रीमतीलाई धेरै माया गर्छु भनी आश्‍वस्त पार्नुहोस्‌। येशूले मसीही मण्डलीसित गर्नुभएको व्यवहार मसीही पतिहरूका लागि उदाहरण हो। चेलाहरूले बारम्बार दुर्गुण देखाउँदा समेत उहाँ नम्र, दयालु र क्षमाशील हुनुभयो। त्यसैले त येशूले अरूलाई यसो भन्‍न सक्नुभयो: “मकहाँ आओ, . . . किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम [“स्फूर्ति,” NW] पाउनेछौ।” (मत्ती ११:२८, २९) येशूले मण्डलीसित जस्तो व्यवहार गर्नुभयो त्यसको नकल गर्दै मसीही पतिहरूले पनि आफ्नी पत्नीसित त्यस्तै व्यवहार गर्छन्‌। आफ्नो व्यवहार र बोलीद्वारा पत्नीको कदर गर्ने पति, पत्नीको लागि स्फूर्तिको स्रोत हुनेछन्‌।

बाइबल सिद्धान्तअनुसार चल्ने पत्नी

१३. बाइबलमा पाइने कस्ता सिद्धान्तहरूले पत्नीहरूलाई मदत गर्न सक्छन्‌?

१३ बाइबलमा पत्नीहरूलाई मदत गर्ने सिद्धान्तहरू पनि छन्‌। एफिसी ५:२२-२४, ३३ मा यसो भनिएको छ: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ। तर जसरी मण्डली ख्रीष्टको अधीनमा छ, उसरी पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌। . . . औ पत्नीले पनि आफ्ना पतिको डर [“गहिरो आदर,” NW] मानोस्‌।”

१४. अधीनता सम्बन्धी बाइबलको सिद्धान्त स्त्रीहरूका लागि किन अपमान होइन?

१४ पावलले अधीनता र आदरमा जोड दिएको कुरालाई याद गर्नुहोस्‌। पत्नीलाई पतिको अधीनमा बस्न सम्झाइएको छ। यो परमेश्‍वरको प्रबन्धअनुरूप हो। स्वर्ग र पृथ्वीमा भएका सबै जीवित कुराहरू कसै न कसैको अधीनमा छ। येशू समेत यहोवा परमेश्‍वरको अधीनमा हुनुहुन्छ। (१ कोरिन्थी ११:३) वास्तवमा, शिरत्वको उचित अभ्यास गर्ने पतिको अधीनमा बस्न पत्नीलाई सजिलो हुन्छ।

१५. बाइबलमा पत्नीहरूका लागि दिइएका केही सल्लाह के-के हुन्‌?

१५ “पत्नीले आफ्नो पतिको गहिरो आदर गरोस्‌” भनेर पनि पावलले भने। मसीही पत्नीले “नम्र र शान्त आत्मा” झल्काउनुपर्छ। पतिको अधिकारलाई घमन्डी हुँदै नमान्‍ने वा आफूलाई मनलाग्दी गर्ने हुनु हुँदैन। (१ पत्रुस ३:४) परमेश्‍वरको डर राख्ने पत्नीले घरपरिवारको भलाइको लागि मेहनत गर्छिन्‌ र आफ्नो शिरको आदर हुने काम गर्छिन्‌। (तीतस २:४, ५) तिनले आफ्नो पतिबारे असल-असल कुराहरू बोल्छिन्‌ र अरूले आफ्नो पतिको अनादर गर्ने खालको कुनै काम गर्दिनन्‌। श्रीमान्‌का निर्णयहरू सफल पार्न पनि तिनले कडा परिश्रम गर्नेछिन्‌।—हितोपदेश १४:१.

१६. सारा र रिबेकाको उदाहरणबाट मसीही पत्नीहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

१६ नम्र र शान्त आत्मा झल्काउनुको अर्थ मसीही स्त्रीको कुनै राय नै हुनुहुँदैन वा तिनको विचारको कुनै महत्त्व नै छैन भन्‍ने होइन। प्राचीन समयका सारा र रिबेका आफूलाई चिन्ता लागेको विषयबारे बताउन आफै अग्रसर भए र तिनीहरूको कदमलाई यहोवाले स्वीकार्नुभयो भनी बाइबल रेकर्डले देखाउँछ। (उत्पत्ति २१:८-१२; २७:४६–२८:४) मसीही पत्नीहरूले पनि आफ्ना भावना व्यक्‍त गर्न सक्छन्‌। तर विचार पुऱ्‍याएर गर्नुपर्छ, कड्‌केर होइन। यसो गर्दा कुराकानी सन्तोषजनक र प्रभावकारी हुन सक्छ।

वचनबद्धताको महत्त्व

१७, १८. वैवाहिक बन्धनलाई भताभुंग पार्ने शैतानको प्रयासको पतिपत्नीले प्रतिरोध गर्न सक्ने केही तरिकाहरू के हुन्‌?

१७ विवाह जीवनभरको वचनबद्धता हो। त्यसैले पतिपत्नी दुवैमा विवाह सफल बनाउने साँचो चाहना हुनुपर्छ। खुलस्त कुराकानीको कमी भयो भने झिनामसिना समस्याहरूले पनि ठूलो रूप लिन सक्छन्‌। आपसमा खटपट हुँदा विवाहित जोडीहरू अक्सर ठुस्केर बस्छन्‌ जसले गर्दा द्वेष उत्पन्‍न हुन्छ। कोही-कोहीले त विवाह बन्धनबाट मुक्‍ति पाउनको लागि निहुँ खोज्न थाल्छन्‌, सायद विवाह बाहिर रोमान्टिक सम्बन्ध राखेर। येशूले यस्तो चेताउनी दिनुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।”—मत्ती ५:२८.

१८ प्रेरित पावलले विवाहित मसीहीहरूलगायत सबैलाई यस्तो सल्लाह दिए: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌। शैतानलाई मौका नदेओ।” (एफिसी ४:२६, २७) हाम्रो प्रमुख शत्रु शैतानले मसीहीहरूबीच उत्पन्‍न हुन सक्ने मतभिन्‍नताको नाजायज फाइदा उठाउने कोसिस गर्छ। त्यसलाई सफल हुन नदिनुहोस्‌! समस्या आउँदा त्यस विषयमा यहोवाको दृष्टिकोण बुझ्न बाइबल आधारित साहित्यहरूको मदत लिंदै खोजीनिती गर्नुहोस्‌। मतभिन्‍नता हुँदा शान्तपूर्वक र इमानदारीसाथ छलफल गर्नुहोस्‌। आफूलाई थाह भएको यहोवाको स्तर पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्‌। (याकूब १:२२-२५) तपाईंको विवाहको विषयमा कुरा गर्नुपर्दा, विवाहित जोडीको रूपमा परमेश्‍वर सँगसँगै हिंडिरहने संकल्प गर्नुहोस्‌ र यहोवाले एक साथ जोड्‌नुभएको सम्बन्धलाई कुनै पनि कुराले छुट्याउन नदिनुहोस्‌।—मीका ६:८. (w 07 5/1)

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित फेब्रुअरी ८, २००२ अवेक!-को पृष्ठ १० मा “सम्बन्ध बिच्छेद र छुट्टेर बस्ने” पेटी हेर्नुहोस्‌।

b वाचटावर मे १५, १९८९, पृष्ठ १२ हेर्नुहोस्‌।

c मसीही मण्डलीमा सुअवसरहरूको लागि योग्य हुन कुनै पनि पुरुष “मारपीट” गर्ने हुनुहुँदैन र यसमा शारीरिक रूपमा कुटपिट गर्ने मात्र होइन तर कटुवचन बोल्नु पनि समावेश छ। त्यसैले मे १, १९९१ अंकको प्रहरीधरहरा-को पृष्ठ १७ मा यसो भनिएको थियो: “ती मानिस अन्य ठाउँमा चाहिं ईश्‍वरीय ढंगमा व्यवहार गर्नेछ तर घरका लागि चाहिं एउटा क्रूर शासक हुन्‌ भने, तिनमा योग्यता छैन।”—१ तिमोथी ३:२-५, १२.

के तपाईंलाई याद छ?

• मसीही विवाहहरूमा समेत किन समस्याहरू आउन सक्छन्‌?

• पतिले आफ्नी पत्नीको पालनपोषण कसरी गर्न सक्छन्‌ साथै तिनको कदर गरेको कसरी देखाउन सक्छन्‌?

• पतिको गहिरो आदर गरेको कुरा पत्नीले कसरी देखाउन सक्छिन्‌?

• पति-पत्नीले आफ्नो वचनबद्धतालाई कसरी मजबुत बनाउन सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको चित्र]

पतिले भौतिक तवरमा मात्र होइन तर आध्यात्मिक तवरमा पनि पत्नीको पालनपोषण गर्नुपर्छ

[पृष्ठ २५-मा भएको चित्र]

मसीही पत्नीहरूले आफ्नो भावना आदरपूर्वक व्यक्‍त गर्छन्‌