सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌

जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌

जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌

“आफैलाई भक्‍तितर्फ साधना गर।”—१ तिमोथी ४:७.

१, २. (क) पावलले किन तिमोथीको प्रशंसा गरे? (ख) आज जवानहरूले कसरी ‘आफैलाई भक्‍तितर्फ साधना गरिरहेका’ छन्‌?

 तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। . . . जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।” (फिलिप्पी २:२०, २२, NRV) प्रथम शताब्दीमा प्रेरित पावलले फिलिप्पीका मसीहीहरूलाई लेखेको पत्रमा प्रशंसाका यी शब्दहरू पनि थिए। तिनले कसबारे कुरा गर्दै थिए? तिनका जवान सहयात्री तिमोथीबारे। पावलले त्यत्तिको माया र विश्‍वास गर्दो रहेछन्‌ भनी थाह पाउँदा तिमोथी कत्ति खुसी भए होलान्‌ कल्पना गर्नुहोस्‌ त!

तिमोथीजस्ता परमेश्‍वरको डर मान्‍ने जवानहरू यहोवाका जनहरूमाझ सधैं मूल्यवान्‌ साबित भएका छन्‌। (भजन ११०:३) आज परमेश्‍वरको संगठनमा थुप्रै जवानहरू अग्रगामी, मिसनरी र बेथलाइटको रूपमा सेवा गर्दैछन्‌ भने अरू कतिपय चाहिं निर्माण कार्यमा स्वयम्‌सेवकको रूपमा सेवा गर्छन्‌। अन्य जिम्मेवारीहरू पूरा गर्दै मण्डलीको गतिविधिमा जोसका साथ भाग लिने अरू जवानहरू पनि एकदमै प्रशंसायोग्य छन्‌। स्वर्गमा हुनुहुने हाम्रा पिता यहोवाको आदर हुने लक्ष्यहरू राख्ने त्यस्ता जवानहरूले साँचो सन्तुष्टि पाउँछन्‌। तिनीहरूले साँच्चै ‘आफैलाई भक्‍तितर्फ साधना गरिरहेका’ हुन्छन्‌।—१ तिमोथी ४:७, ८.

३. यस लेखमा कस्ता प्रश्‍नहरूमाथि विचार गर्नेछौं?

तपाईं जवान व्यक्‍तिहरू के कुनै खास आध्यात्मिक लक्ष्यतर्फ अघि बढ्‌दै हुनुहुन्छ? त्यसको लागि मदत र प्रोत्साहन कहाँ पाउन सक्नुहुन्छ? यस भौतिकवादी संसारका दबाबहरूको कसरी प्रतिरोध गर्न सक्नुहुन्छ? परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्दा कस्ता आशिष्‌हरू पाउने आशा गर्न सक्नुहुन्छ? आउनुहोस्‌, तिमोथीको जीवन र तिनले अँगालेको पेसालाई विचार गर्दै हामी यी प्रश्‍नहरूको जवाफ खोजौं।

तिमोथीको पृष्ठभूमि

४. तिमोथीले अँगालेको मसीही पेसाबारे छोटकरीमा बताउनुहोस्‌।

तिमोथी रोमी प्रान्त गलातियाको एउटा सानो सहर लिस्त्रामा हुर्के। पावलले इस्वी संवत्‌ ४७ तिर लिस्त्रामा प्रचार गर्दा किशोर तिमोथीले येशूका शिक्षाहरूबारे थाह पाएको हुनुपर्छ। चाँडै नै तिमोथीले त्यहाँका भाइबहिनीहरूमाझ असल नाउँ कमाए। दुई वर्षपछि पावल लिस्त्रा फर्कंदा तिनले तिमोथीको प्रगतिबारे थाह पाए र तिमोथीलाई मिसनरी यात्राको लागि छाने। (प्रेरित १४:५-२०; १६:१-३) तिमोथी परिपक्व हुँदै जाँदा तिनलाई झन्‌ ठूल्ठूला जिम्मेवारीहरू सुम्पियो जसमा भाइहरूलाई सुदृढ बनाउने महत्त्वपूर्ण काम पनि समावेश थियो। पावलले इस्वी संवत्‌ ६५ तिर रोमको झ्यालखानाबाट तिमोथीलाई पत्र लेख्दा तिनी एफिससमा मसीही प्राचीनको हैसियतमा सेवा गर्दैथिए।

५. दोस्रो तिमोथी ३:१४, १५ अनुसार आध्यात्मिक लक्ष्यको पछि लाग्ने तिमोथीको निर्णयमा कुन दुई कुराले मदत गऱ्‍यो?

स्पष्ट छ, तिमोथीले आध्यात्मिक लक्ष्यको पछि लाग्ने छनौट गरे। त्यसो गर्न तिनले कहाँबाट प्रेरणा पाए? तिमोथीलाई लेखेको दोस्रो पत्रमा पावलले त्यो प्रेरणाको दुइटा स्रोत उल्लेख गरे: “तिमी चाहिं, यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरह। तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्‍तछ।” (२ तिमोथी ३:१४, १५) आउनुहोस्‌, तिमोथीको छनौटमा अरू मसीहीहरूले के कस्ता प्रभाव पारे, त्यो पहिला जाँचेर हेरौं।

असल प्रभावहरूबाट लाभ उठाउनुहोस्‌

६. तिमोथीले कस्तो प्रशिक्षण पाए र तिनले त्यसलाई कसरी लिए?

दुई भिन्‍न धर्म मान्‍ने घरमा तिमोथी हुर्केका थिए। तिनका बुबा ग्रीक थिए भने आमा युनिस र बज्यै लोइस यहूदी मूलका थिए। (प्रेरित १६:१) युनिस र लोइसले तिमोथीलाई बाल्यकालदेखि नै हिब्रू धर्मशास्त्रबाट सत्य कुरा सिकाएका थिए। तिनीहरूले साँचो धर्म अँगालेपछि तिमोथीलाई पनि मसीही शिक्षा स्वीकार्न मनाएको हुनुपर्छ। यस उत्तम प्रशिक्षणबाट तिमोथीले पक्कै पनि पूरापूर लाभ उठाए। पावलले यसो भने: “तिमीमा भएको निष्कपट विश्‍वासको सम्झना भएर, जो पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो, र तिमीमा पनि छ भन्‍ने मलाई निश्‍चय छ।”—२ तिमोथी १:५.

७. थुप्रै जवानहरूले कस्तो आशिष्‌को आनन्द उठाउँछन्‌ र यो तिनीहरूका लागि कसरी लाभदायक हुन सक्छ?

परमेश्‍वरको डर मान्‍ने आमाबाबु र बाजे-बज्यै पाउनु आजका जवानहरूका लागि पनि आशिष्‌को कुरा हो र तिनीहरूले पनि युनिस र लोइसले जस्तै आध्यात्मिक लक्ष्यको महत्त्व बुझेका छन्‌। उदाहरणका लागि, समिराले आफू किशोरी छँदा आमाबाबुसँग घन्टौं कुरा गरेको बिर्सेकी छैनन्‌। उनी भन्छिन्‌, “बा-आमा दुवैले नै मलाई कामकुरालाई परमेश्‍वरको नजरले हेर्न र प्रचारकार्यलाई पहिलो स्थान दिन सिकाउनुभयो। उहाँहरूले मलाई पूर्ण-समय सेवामा लाग्न सधैं प्रोत्साहन दिनुभयो।” समिराले आफ्नो आमाबाबुबाट पाएको प्रोत्साहन अनुरूपै गरिन्‌ र अहिले आफ्नो देशमा रहेको बेथेलमा सेवा गर्ने सुअवसर पाएकी छिन्‌। तपाईंको आमाबाबुले तपाईंलाई आध्यात्मिक लक्ष्य राख्न प्रोत्साहन दिन्छन्‌ भने, त्यसलाई गम्भीरता साथ विचार गर्नुहोस्‌। उहाँहरूले तपाईंको हित नै चाहनुहुन्छ।—हितोपदेश १:५.

८. आध्यात्मिक तवरमा मदत गर्ने खालको संगतिबाट तिमोथीले कसरी लाभ उठाए?

मण्डलीमा आफूलाई आध्यात्मिक मदत गर्ने खालका संगति खोज्नु पनि महत्त्वपूर्ण छ। आफ्नै मण्डलीका र झन्डै ३० किलोमिटर टाढा पर्ने आइकोनियमका मसीही प्राचीनहरूले तिमोथीलाई राम्ररी चिन्थे। (प्रेरित १६:१, २) सक्रिय र जोसिलो पावलसित तिनको एकदमै घनिष्ठ मित्रता थियो। (फिलिप्पी ३:१४) तिमोथीले सल्लाह-सुझाव सजिलै स्वीकार्थे र विश्‍वासका असल उदाहरणहरूको देखासिकी गरिहाल्थे भनी पावलले आफ्नो पत्रमा बताएका छन्‌। (१ कोरिन्थी ४:१७; १ तिमोथी ४:६, १२-१६) पावलले यस्तो लेखे: “तिमी ता मेरो शिक्षा, चालचलन, अभिप्राय, विश्‍वास, सहनशीलता, प्रेम, धीरज[को] . . . पछि लाग्यौ।” (२ तिमोथी ३:१०, ११) हो, तिमोथीले पावलको उदाहरण दुरुस्तै पछ्याए। त्यसै गरी, तपाईंले मण्डलीका आध्यात्मिक तवरमा बलियो व्यक्‍तिहरूसित घनिष्ठ सम्बन्ध राख्नुभयो भने उचित आध्यात्मिक लक्ष्य राख्न मदत पाउनुहुनेछ।—२ तिमोथी २:२०-२२.

“पवित्र लेखोटहरू” अध्ययन गर्नुहोस्‌

९. ‘भक्‍तितर्फ साधना गर्न’ असल संगति छान्‍नुको अलावा तपाईंले के पनि गर्नै पर्छ?

आध्यात्मिक लक्ष्यमा पुग्न के सही संगति छान्‍नु मात्र पर्याप्त छ? अहँ, छैन। तिमोथीले जस्तै तपाईंले पनि “पवित्र लेखोटहरू” गहिरिएर अध्ययन गर्नुपर्छ। पढ्‌न भनेपछि तपाईंलाई झिंजो लाग्छ होला। तर सम्झनुहोस्‌ त, तिमोथीले पनि ‘आफैलाई भक्‍तितर्फ साधना’ गर्नुपरेको थियो। खेलाडीहरूले लक्ष्यमा पुग्न अक्सर महिनौं अगाडिदेखि कडा तालिम लिन्छन्‌। त्यसै गरी आध्यात्मिक लक्ष्यमा पुग्न त्याग र जोरदार प्रयास चाहिन्छ। (१ तिमोथी ४:७, ८, १०) तर तपाईं भन्‍नुहोला, ‘बाइबल अध्ययन त गरुँला तर यसले मलाई आध्यात्मिक लक्ष्यमा पुग्न कसरी मदत गर्न सक्छ?’ आउनुहोस्‌ यसबारे तीन तरिकाहरू विचार गरौं।

१०, ११. बाइबलले तपाईंलाई कसरी आध्यात्मिक लक्ष्यमा पुग्न उत्प्रेरणा दिन सक्छ? उदाहरण दिनुहोस्‌।

१० पहिलो, बाइबलले तपाईंलाई सही उत्प्रेरणा दिनेछ। बाइबलले हाम्रा स्वर्गमा हुनुहुने पिताको व्यक्‍तित्व, उहाँले हाम्रोलागि देखाउनुभएको सर्वोत्कृष्ट प्रेम र आफ्ना विश्‍वासी जनहरूको लागि साँचेर राख्नुभएको अनन्त आशिष्‌हरूबारे बताउँछ। (आमोस ३:७; यूहन्‍ना ३:१६; रोमी १५:४) यहोवाबारे तपाईंको ज्ञान बढ्‌दै जाँदा उहाँप्रतिको प्रेम र उहाँलाई आफ्नो जीवन समर्पण गर्ने इच्छा पनि प्रबल हुँदै जान्छ।

११ सच्चाइलाई आफ्नो बनाउनुमा नियमित व्यक्‍तिगत बाइबल अध्ययनको ठूलो भूमिका छ भनी थुप्रै जवान मसीहीहरूले बताएका छन्‌। उदाहरणको रूपमा अडेललाई लिनुहोस्‌। तिनी साक्षी परिवारमै हुर्केकी थिइन्‌ तर तिनले कहिल्यै कुनै आध्यात्मिक लक्ष्य राखेकी थिइनन्‌। तिनी भन्छिन्‌, “आमाबाबुले मलाई राज्यभवनमा लानुहुन्थ्यो तर म व्यक्‍तिगत अध्ययन गर्दिन थिएँ र सभामा पनि कहिल्यै ध्यान दिएर सुन्दिन थिएँ।” तर तिनको दिदीले बप्तिस्मा लिएपछि भने अडेलले सच्चाइलाई गम्भीरता साथ लिन थालिन्‌। “मैले पूरै बाइबल पढ्‌ने सुर कसें। बाइबलको सानो अंश पढ्‌थें र पढेको अंशबारे नोट लेख्थें। त्यसरी लेखेका नोटहरू मसित अझै छन्‌। बाइबल एक वर्षमा पढी सिध्याएँ।” फलस्वरूप, अडेल आफ्नो जीवन यहोवालाई समर्पण गर्न उत्प्रेरित भइन्‌। गम्भीर शारीरिक असक्‍तताको बावजूद तिनी अहिले अग्रगामी गर्दैछिन्‌।

१२, १३. (क) बाइबल अध्ययनले जवान व्यक्‍तिलाई कस्ता परिवर्तनहरू गर्न मदत गर्नेछ र कसरी? (ख) परमेश्‍वरको वचनमा पाइने व्यावहारिक बुद्धिका उदाहरणहरू दिनुहोस्‌।

१२ दोस्रो, बाइबलले तपाईंको व्यक्‍तित्वमा आवश्‍यक परिवर्तनहरू गर्न मदत गर्नेछ। “पवित्र लेखोटहरू” “सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” हुन सक्छन्‌ भनी पावलले तिमोथीलाई बताए। (२ तिमोथी ३:१६, १७) परमेश्‍वरको वचनसित सम्बन्धित विषयहरूमा नियमित मनन गर्दा र बाइबल सिद्धान्तहरू लागू गर्दा तपाईं परमेश्‍वरको आत्माद्वारा आफ्नो व्यक्‍तित्व निखार्दै लैजान सक्नुहुनेछ। अनि तपाईंले नम्रता, लगनशीलता जस्ता नभई नहुने गुणहरू खेती गर्नुका साथै परिश्रमी हुन र सँगी विश्‍वासीहरूप्रति साँचो प्रेम देखाउन सिक्नुहुनेछ। (१ तिमोथी ४:१५) तिमोथीले यस्ता गुणहरू फलाएका थिए। त्यसैकारण तिनी पावल र तिनले सेवा गरेका मण्डलीहरूको लागि एक मूल्यवान्‌ सम्पत्ति साबित भए।—फिलिप्पी २:२०-२२, NRV.

१३ तेस्रो, परमेश्‍वरको वचन व्यावहारिक बुद्धिको खानी हो। (भजन १:१-३; १९:७; २ तिमोथी २:७; ३:१५) यसले तपाईंलाई बुद्धिमानीपूर्वक साथीहरू र स्वास्थ्यकर मनोरञ्जन छान्‍न र अन्य थुप्रै चुनौतीहरूसित जुझ्न मदत गर्नेछ। (उत्पत्ति ३४:१, २; भजन ११९:३७; १ कोरिन्थी ७:३६) आध्यात्मिक लक्ष्यमा पुग्न अहिल्यै बुद्धिमानी निर्णयहरू गर्नु अत्यावश्‍यक छ।

“उत्तम लडन्त लड”

१४. आध्यात्मिक लक्ष्यको पछि लाग्नु किन सजिलो छैन?

१४ यहोवाको आदर हुने लक्ष्यहरूलाई पहिलो स्थान दिनु सबैभन्दा बुद्धिमानी मार्ग हो तर यो कुनै हालतमा पनि सजिलो भने होइन। उदाहरणका लागि, पेसा छान्‍ने विषयमा आफ्ना नातेदार, साथीभाइ र असलै मनसाय भएका शिक्षकहरूबाट निकै दबाब आउन सक्छ किनभने उनीहरूको विचारमा उच्च शिक्षा र धेरै पैसा आउने जागिर नै साँचो सुखको स्रोत हो। (रोमी १२:२) यहोवाले तपाईंसामु राखिदिनुभएको ‘अनन्त जीवन पक्री राख्न’ तपाईंले पनि तिमोथीले जस्तै ‘विश्‍वासको उत्तम लडन्त लड्‌नुपर्नेछ।’—१ तिमोथी ६:१२; २ तिमोथी ३:१२.

१५. तिमोथीले सम्भवतः कस्तो विरोधको सामना गर्नुपऱ्‍यो?

१५ अर्कै धर्म मान्‍ने आफ्नो परिवारको सदस्यले तपाईंको छनौटलाई नस्वीकार्दा एकदमै गाह्रो हुन सक्छ। सम्भवतः तिमोथीले त्यस्तो विरोधको सामना गर्नुपरेको थियो। एउटा पुस्तकअनुसार तिमोथीको परिवार सम्भवतः “पढेलेखेको र खानदानी” थियो। तिनका बुबा छोराले उच्च शिक्षा हासिल गरेको र परिवारको व्यापारमा हात बढाएको चाहन्थे होलान्‌। a तिमोथीले पावलसँगै खतरापूर्ण र कमाइधमाइ केही नहुने मिसनरी कार्य रोज्दा तिनको बुबाले कस्तो प्रतिक्रिया देखाए होलान्‌, कल्पना गर्नुहोस्‌ त!

१६. एक जवानले बुबाबाट विरोध आउँदा के गरे?

१६ आज पनि जवान मसीहीहरूले त्यस्तै खालका चुनौतीहरूको सामना गर्छन्‌। यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालयमा सेवा गर्ने म्याथ्यु सम्झन्छन्‌: “मैले अग्रगामी सेवा गर्न थाल्दा बुबा एकदमै दुःखी हुनुभएको थियो। पूर्ण-समय सेवालाई टेवा पुऱ्‍याउन जब मैले सरसफाइ गर्ने काम थालें तब बुबालाई मैले आफ्नो शिक्षालाई ‘खेर फालेको’ जस्तो लाग्यो। पूर्ण-समय जागिर खाएको भए तैंले कति कमाउथिस्‌ भन्दै मेरो खिल्ली उडाउने गर्नुहुन्थ्यो।” म्याथ्युले यस विरोधको सामना कसरी गरे? “मैले आफ्नो बाइबल अध्ययन तालिकालाई कायमै राखें, एक दिन पनि छुटाइनँ र प्रार्थना पनि निरन्तर गरिरहें। विशेष गरी रीसले सही नसक्नु हुँदा प्रार्थना गरिहाल्थें।” म्याथ्युको यस्तो संकल्पको नतिजा राम्रो भएको छ। समयको दौडान बुबासितको सम्बन्धमा सुधार आयो। यहोवासितको सम्बन्ध पनि अझ घनिष्ठ भएको छ। “यहोवाले मेरा आवश्‍यकताहरू पूरा गर्नुभएको, मलाई प्रोत्साहन दिनुभएको र खराब निर्णयहरूबाट जोगाउनुभएको अनुभव गरेको छु। आध्यात्मिक लक्ष्यको लागि अघि नबढेको भए यी कुनै पनि कुरा अनुभव गर्न सक्दिन थिएँ।”

आध्यात्मिक लक्ष्यहरू ओझेलमा पर्न नदिनुहोस्‌

१७. पूर्ण-समय सेवा गर्ने योजना भएकाहरूलाई कसै-कसैले अन्जानमै कसरी निरुत्साहित पार्न सक्छन्‌? (मत्ती १६:२२)

१७ आध्यात्मिक लक्ष्यतर्फ अघि बढ्‌दा चालै नपाउने गरी आउने एउटा चुनौती भनेको आफ्ना सँगी विश्‍वासीहरूबाट आउने चुनौती हो। कसै-कसैले भन्लान्‌, ‘अग्रगामी नै किन गर्नुपऱ्‍यो र? सामान्य जीवन बिताएर पनि त प्रचारकार्यमा भाग लिन सकिन्छ नि। राम्रो पैसा आउने जागिर खाएर पहिला आर्थिक रूपमा सुरक्षित हुनुपर्छ।’ तपाईंलाई यो कुरा ठीकै जस्तो लाग्ला तर यस्तो सल्लाह सुन्‍नुभयो भने के तपाईंले ईश्‍वरीय भक्‍तितर्फ साधना गरिरहनुभएको हुनेछ र?

१८, १९. (क) आध्यात्मिक लक्ष्यहरू ओझेलमा पर्न नदिन तपाईं के गर्न सक्नुहुन्छ? (ख) राज्यको खातिर तपाईं जवानहरूले कस्ता त्यागहरू गर्दै हुनुहुन्छ, बताउनुहोस्‌।

१८ तिमोथीको समयका कोही-कोही मसीहीहरूको सोचाइ पनि त्यस्तै थियो। (१ तिमोथी ६:१७) तिमोथीलाई आध्यात्मिक लक्ष्यमै केन्द्रित रहन पावलले यस्तो प्रोत्साहन दिए: “आफूलाई सिपाहीमा भर्ना गर्नेलाई खुशी तुल्याउन कुनै सिपाहीले सेवामा यस जीवनको टण्टासँग आफूलाई अल्मल्याउँदैन।” (२ तिमोथी २:४) एक जना सिपाही आफ्नो जिम्मेवारी पूरा गर्ने बेला जीवनका अन्य कुराहरूमा अलमलिनु हुँदैन। तिनी अफिसरको आदेशअनुसार गर्न तत्पर हुनु/नहुनुमा तिनको र अरूको जीवन निर्भर हुन्छ। तपाईं पनि ख्रीष्टको सिपाहीको रूपमा, जीवन बचाउने सेवाको काम पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ र यस काममा बाधा पुऱ्‍याउन सक्ने अनावश्‍यक भौतिक कुराहरूमा अलमलिनु हुँदैन।—मत्ती ६:२४; १ तिमोथी ४:१६; २ तिमोथी ४:२, ५.

१९ आरामदायी जीवनलाई आफ्नो लक्ष्य बनाउनुको सट्टा आत्मत्यागी मनोभाव खेती गर्नुहोस्‌। “येशूको सिपाहीको रूपमा सुख-सुविधाविनाको जीवन बिताउन तयार होओ।” (२ तिमोथी २:३, द इङ्‌ग्लीस बाइबल इन बेसिक इङ्‌ग्लीस) पावलसितको संगतिले गर्दा तिमोथीले गाह्रो-भन्दा-गाह्रो परिस्थितिमा पनि सन्तुष्ट हुन सिके। (फिलिप्पी ४:११, १२; १ तिमोथी ६:६-८) तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। के तपाईं राज्यको खातिर त्यागहरू गर्न तयार हुनुहुन्छ?

अहिले र भविष्यमा पाइने आशिष्‌

२०, २१. (क) आध्यात्मिक लक्ष्यहरूको पछि लाग्दा पाइने केही आशिष्‌हरूबारे बताउनुहोस्‌। (ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

२० तिमोथीले पावल सँगसँगै झन्डै १५ वर्षसम्म काम गरे। भूमध्यसागरको उत्तरी इलाकामा सुसमाचार फैलिंदै जादाँ नयाँ मण्डलीहरूको स्थापना भएको तिमोथीले देखे। तिनले “सामान्य” जीवन बिताउने छनौट गरेको भए त्यस्तो रोमाञ्चकारी र सन्तोषजनक जीवन बिताउन सक्दैन थिए होला। आध्यात्मिक लक्ष्यहरूको पछि लाग्दा तपाईंले पनि अमूल्य आध्यात्मिक आशिष्‌हरू पाउनुहुनेछ। परमेश्‍वरसँग नजिक हुनुहुनेछ र सँगी विश्‍वासीहरूबाट प्रेम र आदर कमाउन सक्नुहुनेछ। भौतिक धनसम्पत्तिको पछि लाग्दा आइपर्ने दुःख र निराशाको सट्टा निस्वार्थ भावले दिंदा साँचो आनन्द पाउनुहुनेछ। सबैभन्दा बहुमूल्य त तपाईंले ‘साँच्चैको जीवन पक्री राख्न’ सक्नुहुनेछ अर्थात्‌ पार्थिव प्रमोदवनमा अनन्त जीवन!—१ तिमोथी ६:९, १०, १७-१९; प्रेरित २०:३५.

२१ त्यसैकारण तपाईंले अहिलेसम्म ईश्‍वरीय भक्‍तिलाई आफ्नो जीवनको लक्ष्य बनाइसक्नुभएको छैन भने हामी तपाईंलाई तुरुन्तै त्यसो गर्न हार्दिक अनुरोध गर्छौं। मण्डलीमा तपाईंलाई आध्यात्मिक लक्ष्यमा पुग्न मदत गर्न सक्नेहरूको नजिक हुनुहोस्‌ र उनीहरूको डोऱ्‍याइ माग्नुहोस्‌। परमेश्‍वरको वचनको नियमित व्यक्‍तिगत अध्ययनलाई प्राथमिकतामा राख्नुहोस्‌। यस संसारको भौतिकवादी मनोभावको प्रतिरोध गर्न कटिबद्ध हुनुहोस्‌। अनि यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, परमेश्‍वरको आदर हुने लक्ष्यहरू राख्नुभयो भने तपाईंले अहिले र भविष्यमा प्रचुर आशिष्‌ पाउनु सक्नुहुन्छ भनी “सबै चीज प्रशस्तसँग उपभोग गर्न” दिनुहुने परमेश्‍वर प्रतिज्ञा गर्नुहुन्छ।—१ तिमोथी ६:१७. (w 07 5/1)

[फुटनोट]

a ग्रीक समाजले शिक्षालाई निकै महत्त्व दिन्थ्यो। तिमोथीका समकालीन प्लुटार्कले यस्तो लेखे: “उचित शिक्षा नै सबै प्रकारको भलाइको जड र स्रोत हो। . . . मलाई लाग्छ, यसले नै नैतिक श्रेष्ठता र सुखतर्फ डोऱ्‍याउन मदत गर्छ। . . . अरू सबै कुरा भनेको त मानव कमजोरीहरूले भरिएका र तुच्छ छन्‌, त्यति चासो दिन योग्यको नै छैनन्‌।”—मोरालिया, खण्ड १, “द एडुकेसन अफ चिल्ड्रेन।”

के तपाईंले सम्झनुभएको छ?

• आध्यात्मिक लक्ष्यतर्फ अघि बढ्‌न जवानहरूले कहाँ मदत पाउन सक्छन्‌?

• ध्यान दिएर बाइबल अध्ययन गर्नु किन महत्त्वपूर्ण छ?

• जवानहरूले यस संसारको भौतिकवादी प्रभावको कसरी प्रतिरोध गर्न सक्छन्‌?

• आध्यात्मिक लक्ष्यको पछि लाग्दा कस्ता आशिष्‌हरू पाइन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएका चित्रहरू]

कस्ता असल प्रभावहरूले तिमोथीलाई मदत गऱ्‍यो?