सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दानियलको पुस्तकका विशेषताहरू

दानियलको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

दानियलको पुस्तकका विशेषताहरू

“बाइबलमा दानियलको पुस्तक अत्यन्तै चासो जगाउने पुस्तकहरूमध्ये एउटा हो। यसका पानाहरू अनन्त सत्य वचनले भरिएका छन्‌” भनी होलम्यान इलस्ट्रेटेड बाइबल डिक्सनरी बताउँछ। दानियलको विवरण ईसापूर्व ६१८ मा सुरु हुन्छ जब बेबिलोनका राजा नबूकदनेसर यरूशलेम आएर सहरलाई घेरा हाल्छन्‌। अनि तिनले ‘इस्राएलीहरूमध्येबाट केही जवान मानिसहरूलाई’ बेबिलोनमा कैदी बनाएर लग्छन्‌। (दानियल १:१-३, NRV) तीमध्ये एक जना दानियल हुन्‌ जो सायद किशोरावस्थामै छन्‌। दानियलको पुस्तकको अन्त हुँदासम्म पनि तिनी बेबिलोनमै छन्‌। अहिले १०० वर्षको छेउछाउ पुगिसकेका दानियललाई परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “विश्राम लेऊ। औ युगको अन्तमा तिमी आफ्नो ठहराइएको दिन हेर्नलाई खडा हुनेछौ।”—दानियल १२:१३.

दानियलको पुस्तकको पहिलो भाग कालक्रमअनुसार तृतीय पुरुषमा प्रस्तुत गरिएको छ भने अन्तिम भाग चाहिं प्रथम पुरुषमा। दानियलद्वारा लिखित यस पुस्तकमा विश्‍वशक्‍तिहरूको उत्थान र पतन, मसीहको आगमन हुने समय र हाम्रो समयमा हुने घटनासम्बन्धी भविष्यवाणीहरू छन्‌। a वृद्ध अगमवक्‍ताले आफ्नो लामो जीवनको सम्झना गर्दै हामीलाई परमेश्‍वरप्रति निष्ठा कायम राख्न प्रोत्साहन मिल्ने घटनाबारे पनि बेलीबिस्तार लगाएका छन्‌। दानियलको सन्देश जीवित र प्रबल छ।—हिब्रू ४:१२.

कालक्रमअनुसारको विवरणले हामीलाई के सिकाउँछ?

(दानियल १:१–६:२८)

कुरा ईसापूर्व ६१७ को हो। दानियल र तिनका तीन साथी शद्रक, मेशक र अबेद्‌नगो बेबिलोनी राजदरबारमा छन्‌। बेबिलोनी राजदरबारको प्रचलन र संस्कारसम्बन्धी तीन वर्षीय प्रशिक्षणको दौडान ती जवानहरूले परमेश्‍वरप्रति आफ्नो निष्ठा कायम राख्छन्‌। झन्डै आठ वर्षपछि राजा नबूकदनेसरले एउटा अचम्मको सपना देख्छन्‌। दानियलले सपना बताइदिन्छन्‌ र त्यसको अर्थ खुलाइदिन्छन्‌। यहोवा “ईश्‍वरहरूका परमेश्‍वर, राजाहरूका प्रभु रहस्य खोलिदिनुहुने हुनुहुँदो रहेछ” भनी राजाले मानिलिन्छन्‌। (दानियल २:४७) तर केही समय बित्न नपाउँदै राजा नबूकदनेसरले त्यो कुरा बिर्सिसके जस्तो देखिन्छ। दानियलका तीन जना साथीले विशाल मूर्तिलाई दण्डवत्‌ गर्न इन्कार गर्दा राजाले तिनीहरूलाई दन्केको आगोको भट्टीमा फाल्न लगाउँछन्‌। साँचो परमेश्‍वरले ती तीन जनालाई बचाउनुहुन्छ र नबूकदनेसर “यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैन” भनी मानिलिन बाध्य हुन्छन्‌।—दानियल ३:२९.

नबूकदनेसरले अर्को अर्थपूर्ण सपना देख्छन्‌। तिनले एउटा विशाल रूख देख्छन्‌ जसलाई ढालिन्छ र बढ्‌नै नमिल्ने गरी ठुटो मात्र छोडिन्छ। दानियलले यस सपनाको अर्थ खुलाइदिन्छन्‌। नबूकदनेसर बौलाहा भएर पछि फेरि सद्दे हुँदा यो सपनाको आंशिक पूर्ति हुन्छ। धेरै वर्षपछि राजा बेलसजरले आफ्ना भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाउँछन्‌ र यहोवाको मन्दिरबाट ल्याइएका भाँडाकुँडा अनादरपूर्ण ढंगमा चलाउँछन्‌। त्यसै रात बेलसजर मारिन्छन्‌ र मादी राजा दाराले त्यो राज्य हत्याउँछन्‌। (दानियल ५:३०, ३१) दारा राजाको शासनकालमा केही डाही अधिकारीहरूले ९० वर्ष नाघिसकेका वृद्ध दानियललाई मार्ने षड्यन्त्र रच्छन्‌। तर यहोवाले तिनलाई “सिंहहरूको शक्‍तिदेखि” बचाउनुहुन्छ।—दानियल ६:२७.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

१:११-१५—के शाकाहारी भोजन खाएकोले गर्दा मात्र ती हिब्रू ठिटाहरूको अनुहार झन्‌ राम्रो र पुष्टिएको थियो? थिएन। कुनै पनि भोजनले केवल दस दिनमा त्यस्तो फरक ल्याउन सक्दैन। तिनीहरूको अनुहार त्यस्तो राम्रो देखिनुको श्रेय यहोवा परमेश्‍वरलाई जान्छ। उहाँमा भरोसा गरेको कारण उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभएको थियो।—हितोपदेश १०:२२.

२:१—नबूकदनेसरले विशाल मूर्तिको सपना कहिले देखेका थिए? विवरणले “नबूकदनेसर राजाको शासनकालको दोस्रो वर्षमा” भनी बताउँछ। तिनी ईसापूर्व ६२४ मा राजा भए। यसअनुसार, तिनको शासनकालको दोस्रो वर्ष ईसापूर्व ६२३ देखि सुरु हुन्छ—तिनले यहूदामाथि आक्रमण गर्नुभन्दा वर्षौंअघि। तर सपनाको अर्थ खुलाइदिन दानियल त्यतिबेला बेबिलोनमा भएका हुन सक्दैनन्‌। त्यसैले “दोस्रो वर्ष” ईसापूर्व ६०७ देखि गन्ती गरिएको हुनुपर्छ जतिबेला बेबिलोनी राजाले यरूशलेमको विनाश गरे र विश्‍व शासक बने।

२:३२, ३९—चाँदीको राज्य सुनको टाउको भएको राज्यभन्दा र पितलको राज्य चाँदीको राज्यभन्दा कुन अर्थमा निम्न स्तरको थियो? मूर्तिको चाँदीको भागले चित्रण गर्ने मादी-फारसी राज्यले यहूदालाई पराजय गर्ने विशेष अवसर पाएन। त्यसैले, यो सुनको टाउको अर्थात्‌ बेबिलोनभन्दा निम्न स्तरको थियो। मादी-फारसीपछि युनान विश्‍वशक्‍ति भयो जसको चित्रण पितलले गर्छ। चाँदीभन्दा पितल निम्न स्तरीय भएझैं युनान झन्‌ निम्न स्तरको थियो। युनानी साम्राज्यले ठूलो इलाका ढाकेको भए तापनि मादी-फारसीले जस्तो यसले परमेश्‍वरका जनहरूलाई निर्वासनबाट उद्धार गर्ने सुअवसर पाएन।

४:८, ९—के दानियल जादूगरहरूका प्रधान थिए? अहँ, थिएनन्‌। “जादूगरहरूका प्रधान” भन्‍ने अभिव्यक्‍तिले केवल “बाबेलका सबै ज्ञानी पुरुषमाथि प्रधान[को]” रूपमा दानियलको ओहदालाई संकेत गर्छ।—दानियल २:४८.

४:१०, ११, २०-२२—नबूकदनेसरले सपनामा देखेको विशाल रूखले केको चित्रण गर्छ? रूखले सुरुमा त विश्‍वशक्‍तिको शासकको रूपमा नबूकदनेसरलाई चित्रण गर्थ्यो। तर शासन “पृथ्वीको पल्लो छेउसम्मै” फैलिएकोले यसले अझै ठूलो कुरालाई चित्रण गरेको हुनुपर्छ। दानियल ४:१७ मा हेऱ्‍यौं भने सपनालाई मानिसहरूमाथि शासन गर्ने “सर्वोच्च[सित]” जोडिएको छ। त्यसकारण, यो रूख विशेष गरी पृथ्वीको सम्बन्धमा यहोवाको विश्‍वव्यापी सार्वभौमिकताको प्रतीक हो। त्यसैले यो सपनाको पूर्ति दुई प्रकारले हुन्छ—नबूकदनेसरको शासनकालमा र यहोवाको सार्वभौमिकताको सम्बन्धमा।

४:१६, २३, २५, ३२, ३३—“सात काल” कति लामो थियो? राजा नबूकदनेसरको रूपरंगमा आएका परिवर्तनहरूलाई विचार गर्दा “सात काल” सात दिन मात्र त हुन सक्दैन, अझ लामै समय हुनुपर्छ। तिनको सन्दर्भमा भन्‍नुपर्दा यो ७ गुणा ३६० दिन अथवा २,५२० दिन थियो। यसको महान्‌ पूर्तिको बारे भन्‍नुपर्दा चाहिं “सात काल” २,५२० वर्ष हो। (इजकिएल ४:६, ७) यो, ईसापूर्व ६०७ मा यरूशलेमको विनाशसँगै सुरु भयो र सन्‌ १९१४ मा येशू स्वर्गमा राजा हुनुभएपछि अन्त भयो।—लूका २१:२४.

६:६-१०—यहोवालाई प्रार्थना गर्दा कुनै खास आसनमा बस्नै पर्छ भन्‍ने नभएकोले दानियलले त्यो ३० दिन गोप्यमा प्रार्थना गर्नु बुद्धिमानी हुने थिएन र? दानियलले दिनको तीन चोटि प्रार्थना गर्छन्‌ भनेर सबैलाई थाह थियो। त्यसैकारण षड्यन्त्रकारीहरूले प्रार्थना गर्न नपाउने उर्दी निकाल्ने योजना बनाएका थिए। दानियलले दिनहुँ प्रार्थना गर्ने आफ्नो बानीमा कुनै परिवर्तन ल्याएको खण्डमा अरूले यसलाई तिनले सम्झौता गरेको र यहोवालाई ऐकान्तिक भक्‍ति चढाउनबाट चुकेको भन्‍ने निष्कर्ष निकाल्न सक्थे।

हाम्रो लागि पाठ:

१:३-८. यहोवाप्रति वफादार रहने दानियल र तिनका साथीहरूको कटिबद्धताले तिनीहरूले आफ्ना आमाबाबुबाट पाएको प्रशिक्षणको महत्त्वलाई जोड दिन्छ। परमेश्‍वरको डर मान्‍ने आमाबाबुले आध्यात्मिक कुराहरूलाई आफ्नो जीवनमा प्राथमिकता दिंदै छोराछोरीलाई पनि त्यसै गर्न सिकाउँदा छोराछोरीले स्कूल वा अन्य ठाउँमा आइपर्न सक्ने प्रलोभन र दबाबहरूको प्रतिरोध गर्न सक्नेछन्‌।

१:१०-१२. “नपुंसकहरूका प्रधान” राजासँग डराउनुको कारण दानियलले बुझेका थिए। त्यसैले दानियलले तिनीसँग बिन्तीभाउ गरेनन्‌। तर तिनले पछि “कारिन्दालाई” आफ्नो कुरा बताए जो सायद केही छुट दिन सक्ने अवस्थामा थिए। कठीन परिस्थितिको सामना गर्नुपर्दा हामीले पनि त्यस्तै अन्तरदृष्टि, बुद्धि र समझका साथ व्यवहार गर्नुपर्छ।

२:२९, ३०. बाइबल शिक्षाको पूरापूर लाभ उठाएर हासिल गरेको ज्ञान, गुण र योग्यताको लागि हामीले पनि दानियलले जस्तै यहोवालाई श्रेय दिनुपर्छ।

३:१६-१८. ती तीन जना हिब्रूले भोजनको सन्दर्भमा सम्झौता गरेका भए, पछि त्यस्तो बलियो विश्‍वास देखाउन सक्ने थिएनन्‌। हामीले पनि “सबै कुरामा विश्‍वासी” हुने प्रयास गर्नुपर्छ।—१ तिमोथी ३:११.

४:२४-२७. नबूकदनेसरमाथि आइपर्ने कुरा र तिनले आफ्नो “ऐश्‍वर्य कायम” [ NRV] राख्न के गर्नुपर्छ भनी बताउँदा दानियलले जस्तो विश्‍वास र साहस देखाए हामीले पनि परमेश्‍वरको प्रतिकूल न्यायको घोषणालगायत उहाँको राज्यको सन्देश बताउन त्यस्तै विश्‍वास र साहस देखाउनुपर्छ।

५:३०, ३१. “बेबिलोनको राजाको विरुद्धमा . . . ठट्टा” साँचो साबित भयो। (यशैया १४:३, ४, १२-१५, NRV) बेबिलोनी राजकुलको अन्त भएझैं अहंकारी शैतानको पनि अपमानजनक पतन हुनेछ।—दानियल ४:३०; ५:२-४, २३.

दानियलको दर्शनले के प्रकाश पार्छ?

(दानियल ७:१–१२:१३)

ईसापूर्व ५३३ मा पहिलो दर्शन देख्दा दानियल ७० वर्ष नाघिसकेका छन्‌। दानियलले दर्शनमा चार ठूला जनावर देख्छन्‌। ती जनावरले तिनको दिनदेखि अहिले हाम्रो समयसम्मका विश्‍वशक्‍तिहरूलाई क्रमिक रूपमा चित्रण गर्छ। स्वर्गको एउटा दृश्‍यमा तिनले “मानिसका पुत्रजस्तै कोही” व्यक्‍तिलाई “कहिल्यै नबित्ने सदा सर्वदैको सर्वाधिकार” दिइएको देख्छन्‌। (दानियल ७:१३, १४) दुई वर्षपछि देखेको एउटा दर्शनमा दानियलले मादी-फारसी, युनान र ‘निष्ठूर राजा’ भएको एउटा राष्ट्रलाई देख्छन्‌।—दानियल ८:२३.

कुरा ईसापूर्व ५३९ को हो। बेबिलोनको पतन भएको छ र मादी दारा कल्दीहरूका राज्यमा राजा भएका छन्‌। दानियलले यहोवालाई आफ्नो मातृभूमिको पुनस्थार्पनाबारे प्रार्थना गर्छन्‌। तिनले प्रार्थना गरिरहेकै बेला यहोवाले गब्रिएल स्वर्गदूतलाई मसीहको आगमनबारे तिनको “समझ खोलिदिनलाई” पठाउनुहुन्छ। (दानियल ९:२०-२५) अब समयको सुईले ईसापूर्व ५३६/५३५ मा छुन्छ। बाँकी रहेका यहूदीहरू यरूशलेम फर्केका छन्‌। तर मन्दिरको निर्माण कार्यमा तिनीहरूले विरोधको सामना गर्नु परिरहेको छ। दानियलको लागि यो चिन्ताको विषय बन्छ। तिनले यसबारे प्रार्थना गरिरहन्छन्‌ र यहोवाले उच्च श्रेणीका स्वर्गदूत तिनीकहाँ पठाउनुहुन्छ। दानिलनलाई बल र प्रोत्साहन दिएपछि स्वर्गदूतले प्रभुत्वको लागि उत्तरको राजा र दक्षिणको राजाबीच हुने संघर्षबारे भविष्यवाणी बताउँछन्‌। दुई राजाबीचको संघर्ष, महान्‌ सिकन्दरको राज्य तिनको चार सेनापतिमा बाँडिएदेखि महान्‌ राजकुमार माइकल “देखा पर्ने” समयसम्म नै चल्छ।—दानियल १२:१.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

८:९—‘सुन्दर भूमिले’ केको चित्रण गर्छ? ‘सुन्दर भूमिले’ एंग्लो-अमेरिकी विश्‍वशक्‍तिको बेला पृथ्वीमा रहेका अभिषिक्‍त मसीहीहरूको अवस्थालाई चित्रण गर्छ।

८:२५, NRV“राजकुमारहरूका राजकुमार” को हुन्‌? “राजकुमार” भनेर अनुवाद गरिएको हिब्रू शब्द सार-को अर्थ मुख्यतया “प्रमुख” वा “शिर” हो। “राजकुमारहरूका राजकुमार” भन्‍ने पदवी यहोवा परमेश्‍वरलाई मात्र लागू हुन्छ। उहाँ “मुख्य कुमारहरूमध्येका एक जना . . . माइकल” लगायत अरू सबै कुमार दूतहरूको प्रमुख हुनुहुन्छ।—दानियल १०:१३.

९:२१—दानियलले गब्रिएल स्वर्गदूतलाई किन “मानिस” भनेर सम्बोधन गरे? किनभने पहिला देखेको एउटा दर्शनमा झैं गब्रिएल स्वर्गदूत दानियलको अगाडि पनि मानिसको रूपमा देखा परे।—दानियल ८:१५-१७.

९:२७—वर्षमा गणना गरिने ७० औं हप्ताको अन्त अर्थात्‌ इस्वी संवत्‌ ३६ सम्म कुन करार “धेरैसित” बाँधियो? इस्वी संवत्‌ ३३ मा येशूलाई झुन्ड्याएर मारिंदा व्यवस्थाको करार खारेज भयो। तर इस्वी संवत्‌ ३६ सम्म अब्राहामको करारलाई प्राकृतिक इस्राएलसित कायम राखिराखेर यहोवाले यहूदीहरूलाई अब्राहामका सन्तानको हैसियतमा विशेष अनुग्रह देखाइरहनुभएको थियो। अब्राहामको करार ‘परमेश्‍वरका इस्राएलसित’ कायमै छ।—गलाती ३:७-९, १४-१८, २९; ६:१६.

हाम्रो लागि पाठ:

९:१-२३; १०:११. दानियल नम्र र अध्ययनशील हुनुका साथै ईश्‍वरीय भक्‍ति देखाउँथे अनि लगनशील भई प्रार्थना गर्थे। यसैकारण तिनी “अति प्रिय मानिस” थिए। अनि यिनै गुणहरूले तिनलाई जीवनको अन्तिम घडीसम्मै यहोवाप्रति विश्‍वासी रहिरहन मदत गऱ्‍यो। हामी पनि दानियलको उदाहरण पछ्याउने अठोट गरौं।

९:१७-१९. चाँडै आउन लागेको “धार्मिकताले बास” गर्ने परमेश्‍वरको नयाँ संसारको लागि प्रार्थना गर्दा समेत आफ्नै दुःखकष्ट र कठिनाइहरूभन्दा पनि परमेश्‍वरको नाउँको पवित्रीकरण र उहाँको सार्वभौमिकताको महिमा नै प्रार्थनाको मुख्य विषय हुनुपर्दैन र?—२ पत्रुस ३:१३.

१०:९-११, १८, १९. दानियलकहाँ आएका स्वर्गदूतको अनुकरण गर्दै हामीले मदतको हात बढाएर र सान्त्वनाका दुई-चार शब्द बोलेर एकअर्कालाई प्रोत्साहन र बल दिनुपर्छ।

१२:३. आखिरी दिनको दौडान “ज्ञानी अगुवा” अर्थात्‌ अभिषिक्‍त मसीहीहरू “ज्योतिहरूझैं” भएका छन्‌ र ‘मानिसहरूलाई सत्यको मार्गमा’ डोऱ्‍याएका छन्‌। यसमा “अरू भेडा[को]” “ठूलो भीड” पनि समावेश छ। (फिलिप्पी २:१५; प्रकाश ७:९; यूहन्‍ना १०:१६) ख्रीष्टको हजार वर्षको शासनको दौडान अभिषिक्‍त जनहरूले ख्रीष्टसँगै मिलेर पृथ्वीका सारा आज्ञाकारी मानिसहरूलाई छुटकाराको बलिदानको पूरापूर लाभ उठाउन प्रबन्ध मिलाउनेछन्‌ तब तिनीहरू ‘ताराझैं चम्कनेछन्‌’ भन्‍ने कुरा पूर्णतया पूरा हुनेछ। ‘अरू भेडाले’ हर तरिकामा अभिषिक्‍त जनहरूलाई तनमनले समर्थन गरेर तिनीहरूसित एकतामा रहनुपर्छ।

यहोवासँग “डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ”

हामीले उपासना गर्ने परमेश्‍वरबारे दानियलको पुस्तकले के सिकाउँछ? दानियलको पुस्तकमा उल्लिखित पूरा भइसकेका र पूरा हुन बाँकी भविष्यवाणीहरूबारे विचार गर्नुहोस्‌। यहोवा आफ्नो वचन पूरा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ भनी यो पुस्तकमा कत्ति जीवन्त ढंगमा वर्णन गरिएको छ!—यशैया ५५:११.

दानियलको पुस्तकको वर्णात्मक भागबाट परमेश्‍वरबारे के थाह पाउँछौं? बेबिलोनी राजदरबारको रहनसहनमा आफूलाई ढाल्न नचाहेका चार हिब्रू ठिटाहरूले ‘विद्या, बुद्धि र ज्ञान’ पाए। (दानियल १:१७) साँचो परमेश्‍वरले शद्रक, मेशक र अबेद्‌नगोलाई दन्केको आगोको भट्टीबाट बचाउन स्वर्गदूत पठाउनुभयो। दानियललाई सिंहको खोरबाट बचाइयो। यहोवा उहाँमा ‘भरोसा राख्नेहरूका सहायक र ढाल’ हुनुहुन्छ र उहाँसँग ‘डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ।’—भजन ११५:९, १३. (w 07 9/1)

[फुटनोट]

a दानियलको पुस्तकको एक-एक पदको छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! पुस्तक हेर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

दानियल किन “अति प्रिय मानिस” थिए?