सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

योएल र आमोसको पुस्तकका विशेषताहरू

योएल र आमोसको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

योएल र आमोसको पुस्तकका विशेषताहरू

तिनले आफूबारे केवल यति मात्रै भनेका छन्‌ कि तिनी “पतुएलको छोरो योएल” हुन्‌। (योएल १:१) तिनकै नाउँले चिनिने बाइबल पुस्तक योएलमा तिनले आफ्नो सन्देशबाहेक अरू कुनै कुरा बताएका छैनन्‌ भने पनि हुन्छ। यहाँसम्म कि तिनले भविष्यवाणी गरेको समयबारे पनि अनुमान मात्र लगाउन सकिन्छ। तिनले उज्जियाह यहूदाको राजा भएको नौ वर्षपछि अर्थात्‌ ईसापूर्व ८२० तिर भविष्यवाणी गरेका हुन सक्छन्‌। आफूबारे बताउन योएलले किन त्यस्तो कन्जुस्याइँ गरेका? यसको सम्भाव्य कारण तिनी सन्देशवाहकमा होइन तर सन्देशमा जोड दिन चाहन्छन्‌।

उज्जियाहको शासनकालमा “गोठाला र किम्बुका रूखहरू छिवँल्ने” यहूदाका आमोसलाई पनि अगमवक्‍ता नियुक्‍त गरिन्छ। (आमोस ७:१४) योएलले यहूदामा अगमवाणी गर्छन्‌ भने आमोसलाई चाहिं इस्राएलको दस गोत्रे उत्तरी राज्यमा पठाइन्छ। आमोस यहूदामा फर्केपछि ईसापूर्व ८०४ तिर लेख्न सिध्याइएको आमोसको पुस्तकको भाषा सरल तर जीवन्त छ।

“हाय, त्यो दिन!”—किन?

(योएल १:१–३:२१)

दर्शनमा योएलले झुसिल्कीरा, सलह र साङ्‌लाले आक्रमण गरेको देख्छन्‌। ती आक्रमणकारीहरूलाई “एक ठूलो र शक्‍तिशाली जाति” र “वीर योद्धाहरू” भनी बताइएको छ। (योएल १:४, NW; २:२-७) योएल यसरी विलौना गर्छन्‌: “हाय, त्यो दिन! किनकि परमप्रभुको दिन नजीकै छ। त्यो ता सर्वशक्‍तिमानको तर्फबाट सत्यानाश जस्तै आउनेछ।” (योएल १:१५) यहोवा सियोनका बासिन्दालाई यस्तो सल्लाह दिनुहुन्छ: “तिमीहरू आफ्ना सम्पूर्ण हृदयले . . . मतिर फर्क।” तिनीहरू फर्केको खण्डमा यहोवाले ‘आफ्नो प्रजालाई टिठाउनुहुनेछ’ र “उत्तरतिरबाट आएको” अर्थात्‌ कीराफटेङ्‌ग्राको आक्रमणबाट जोगाउनुहुनेछ। तर यहोवाको ठूलो दिन आउनुअघि उहाँले ‘आफ्नो आत्मा सबैमाथि खन्याउनुहुनेछ’ अनि ‘आकाश र पृथ्वीमा अचम्मका कामहरू देखाउनुहुनेछ।’—योएल २:१२, १८-२०, २८-३१.

राष्ट्रहरूलाई यस्तो चुनौती दिइन्छ: “तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका हँसियाहरू भाला बनाऊ” र लडाइँको लागि तयार होओ। तिनीहरूलाई “यहोशापातको बेंसीमा” आउन भनिन्छ जहाँ तिनीहरूको इन्साफ हुनेछ र तिनीहरू नष्ट हुनेछन्‌। तर “यहूदा सदा सर्वदैको निम्ति . . . रहिरहनेछ।”—योएल ३:१०, १२, २०.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

१:१५; २:१, ११, ३१; ३:१४—“परमप्रभुको दिन” भनेको के हो? यहोवाको दिन भनेको उहाँले आफ्ना शत्रुहरूमाथि न्याय गर्ने समय हो। त्यतिबेला उहाँका शत्रुहरूले विनाश भोग्नेछन्‌ भने साँचो उपासकहरूले उद्धार पाउनेछन्‌। उदाहरणका लागि, ईसापूर्व ५३९ मा मादी र फारसीहरूको हातबाट पतन हुँदा प्राचीन बेबिलोनमा त्यस्तो दिन आइपऱ्‍यो। (यशैया १३:१, ६) अब फेरि “परमप्रभुको दिन” आउनै लागेको छ। त्यतिबेला उहाँले “महान्‌ बेबिलोन” अर्थात्‌ झूटा धर्मको विश्‍व साम्राज्यमाथि न्याय गर्नुहुनेछ।—प्रकाश १८:१-४, २१.

२:१-१०, २८—कीराफटेङ्‌ग्राको आक्रमणबारे गरिएको भविष्यवाणी कसरी पूरा भएको छ? योएलको पुस्तकमा, कनान देशमाथि ठूलो संख्यामा किराफटेङ्‌ग्राले आक्रमण गरेको वर्णन गरिएको छ। त्यसको कुनै रेकर्ड अरू बाइबल पुस्तकमा पाइँदैन। त्यसैले स्पष्ट छ, योएलले वर्णन गरेको आक्रमण इस्वी संवत्‌ ३३ सम्बन्धी भविष्यवाणी हो। त्यतिबेला यहोवाले येशूका प्रारम्भिक अनुयायीहरूमाथि पवित्र आत्मा खन्याउन थाल्नुभयो र तिनीहरूले प्रचार गरेको सन्देशले झूटा धर्मगुरुहरूलाई पिरोल्यो। (प्रेरित २:१, १४-२१; ५:२७-३३) आज हामीले पनि त्यस्तै काममा भाग लिन पाउनु एउटा सुअवसर हो।

२:३२—‘यहोवाको नाउँ लिनुको’ अर्थ के हो? परमेश्‍वरको नाउँ लिनुको अर्थ उहाँको नाउँ जान्‍नु, उक्‍त नाउँको गहिरो आदर गर्नु र उहाँमा भर पर्नु हो।—रोमी १०:१३, १४.

३:१४—“फैसला गरिने बेंसी” के हो? यो परमेश्‍वरले न्याय गर्ने लाक्षणिक ठाउँ हो। यहूदाका राजा यहोशापात जसको नाउँको अर्थ “यहोवा न्यायकर्ता हुनुहुन्छ” भन्‍ने हो, तिनको समयमा यहोवाले छिमेकी राष्ट्रका सेनाहरूलाई गोलमालमा पारेर यहूदालाई बचाउनुभयो। त्यसैले त्यस ठाउँलाई “यहोशापातको बेंसी” पनि भनिन्छ। (योएल ३:२, १२) हाम्रो समयमा यसले एउटा लाक्षणिक ठाउँलाई चित्रण गर्छ जहाँ राष्ट्रहरूलाई मद्यको कोलमा अंगुरजस्तै कुल्चिइनेछ।—प्रकाश १९:१५.

हाम्रो लागि पाठ:

१:१३, १४. उद्धार पाउन साँचो पश्‍चात्ताप गर्नुका साथै यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भनी मानिलिनु आवश्‍यक छ।

२:१२, १३. साँचो पश्‍चात्ताप हृदयदेखि नै गर्नुपर्छ। यसमा आफ्नो बाहिरी “लुगा” होइन तर “आफ्नो हृदय फटाउनु” समावेश छ।

२:२८-३२. “परमप्रभुको त्यो महा र भयङ्‌कर दिन[मा]” “परमप्रभुको नाउँ लिने” मात्र “बचाइनेछ।” सबै प्रकारका मानिसमाथि यहोवाले पवित्र आत्मा खन्याएर वृद्ध, जवान, पुरुष, स्त्री सबैलाई, भविष्यवाणी गर्ने अर्थात्‌ “परमेश्‍वरका महाकार्यहरूका” बारे घोषणा गर्ने काममा भाग लिन दिएकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौं! (प्रेरित २:११) यहोवाको दिन नजिकै भएकोले के हामी “पवित्र जीवन र भक्‍तिमा” प्रशस्त हुँदै जानुपर्दैन र?—२ पत्रुस ३:१०-१२.

३:४-८, १९. परमेश्‍वरका चुनिएका जनहरूमाथि दुर्व्यवहार गरेकाले यहूदा वरपरका राष्ट्रहरूले न्याय भोग्नुपर्नेछ भनी योएलले भविष्यवाणी गरे। तिनले भविष्यवाणी गरेझैं टायरको मुख्य सहरलाई बेबिलोनी राजा नबूकदनेसरले ध्वस्त पारिदिए। टापूमाथि बसालिएको यस सहरले पछि महान्‌ सिकन्दरको हातबाट पराजय भोग्नुपर्दा हजारौं सेना तथा प्रतिष्ठित मानिसहरू मारिए र त्यहाँका ३०,००० बासिन्दा दासत्वमा बेचिए। पलिश्‍तीहरूले पनि सिकन्दर र तिनका उत्तराधिकारीहरूको हातबाट त्यस्तै व्यवहार भोग्नुपऱ्‍यो। ईसापूर्व चौंथो शताब्दीसम्ममा त एदोम उजाड भइसकेको थियो। (मलाकी १:३) भविष्यवाणीहरूको यस्ता पूर्तिले यहोवा प्रतिज्ञा पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ भन्‍ने हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ। यसबाट, आज आफ्ना जनहरूलाई सतावट दिने राष्ट्रहरूसित यहोवा कस्तो व्यवहार गर्नुहुन्छ भनेर पनि बुझ्न सक्छौं।

३:१६-२१. पक्कै पनि “आकाश र पृथ्वी थरथर काम्नेछ” र राष्ट्रहरूले यहोवाको न्यायदण्ड भोग्नेछन्‌। तर “परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान” हुनुहुनेछ र तिनीहरूलाई प्रमोदवनमा जीवन दिनुहुनेछ। उहाँले यस दुष्ट संसारमाथि न्याय गर्ने समय नजिकै भएकोले उहाँसित नजिक रहिरहने दृढ अठोट हामीले गर्नुपर्दैन र?

“तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो”

(आमोस १:१–९:१५)

आमोसको सन्देश इस्राएल वरपरका शत्रु राष्ट्रहरू अनि यहूदा र इस्राएलको लागि हो। अराम, पलिश्‍ती, टायर, एदोम र मोआबले परमेश्‍वरका जनहरूसित क्रूर व्यवहार गरेकोले विनाश भोग्नेछन्‌। अनि यहूदाका बासिन्दाहरूले ‘परमप्रभुको व्यवस्थालाई अस्वीकार गरेकोले’ विनाश भोग्नेछन्‌। (आमोस २:४) अनि इस्राएलको दस गोत्रे राज्य नि? यसको पापमा, लोभको कारण गरिबहरूमाथिको थिचोमिचो, अनैतिकता र परमेश्‍वरका अगमवक्‍ताहरूप्रतिको अनादरपूर्ण व्यवहार पर्छ। यहोवाले “बेतेलका वेदीहरूलाई पनि दण्ड” दिनुहुनेछ र “हिउँदमा बस्ने निवासस्थान र गर्मीमा बस्ने निवासस्थानहरू दुवै नष्ट” पार्नुहुनेछ भनी आमोस चेतावनी दिन्छन्‌।—आमोस ३:१४, १५.

विभिन्‍न सजाय पाइसकेको भए तापनि मूर्तिपूजक इस्राएलीहरू अट्टेरी नै भइरहन्छन्‌। आमोस तिनीहरूलाई यसो भन्छन्‌: “तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार भइरहो!” (आमोस ४:१२) इस्राएलीहरूका लागि यहोवाको दिनको अर्थ तिनीहरू ‘दमीशकदेखि पनि पारि’ अर्थात्‌ अश्‍शूरमा ‘निर्वासित’ हुने थिए। (आमोस ५:२७, NRV) बेतेलका पूजाहारीहरू आमोसको विरोध गर्छन्‌ तर तिनी डराउँदैनन्‌। यहोवा आमोसलाई यस्तो भन्‍नुहुन्छ: “मेरो प्रजा इस्राएलको अन्त आइपुग्यो। म अब फेरि तिनीहरूलाई छोड्‌नेछैन।” (आमोस ८:२) नता शिओल नता अग्ला डाँडाहरूले तिनीहरूलाई परमेश्‍वरको न्यायबाट बचाउन सक्छ। (आमोस ९:२, ३) तर पुनर्स्थापनाको प्रतिज्ञा पनि छ। यहोवा भन्‍नुहुन्छ: “म मेरो प्रजा इस्राएलको कैदमा गएकाहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले ध्वंस भएका शहरहरूलाई फेरि बनाएर तिनमा बास गर्नेछन्‌, र दाखको बारी लगाएर त्यसका दाखमद्य पिउनेछन्‌। तिनीहरूले बारी बनाएर त्यसका फलहरू खानेछन्‌।”—आमोस ९:१४.

धर्मशास्त्रीय प्रश्‍नको जवाफ:

४:१—“बाशानका गाईहरू[ले]” कसलाई बुझाउँछ? गालीलको समुद्रको पूर्वमा पर्ने बाशान बेंसी उन्‍नत जातका गाई लगायत अन्य पशुहरूका लागि नामुद थियो। यसको एउटा कारण त्यहाँ हराभरा चरनहरू थिए। आमोसले सुखसुविधा मन पराउने सामरियाका स्त्रीहरूलाई बाशानका गाईहरूसित तुलना गरे। ती स्त्रीहरूले पक्कै पनि आफ्ना विलासी इच्छा पूरा गर्नको लागि गरिबगुरुवालाई ठग्न “आफ्ना लोग्नेहरूलाई” दबाब दिए।

४:६—“रित्तो मुख” अर्थात्‌ दाँत सफा भएको भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? “भोजनको अभाव” भन्‍ने अभिव्यक्‍ति सँगसँगै रित्तो मुख भन्‍ने अभिव्यक्‍ति पनि चलाइएकोले यसले अनिकालको समयमा खानाको कमी भएर मुख रित्तो भएको अर्थात्‌ दाँत पनि सफा नै रहेको कुरालाई संकेत गरेको हुन सक्छ।

५:५कुन तरिकामा इस्राएलले ‘बेतेललाई नखोज्नुपर्ने’ थियो? यारोबामले बेतेलमा बाछो उपासना स्थापना गरेका थिए। त्यतिबेलादेखि त्यो सहर झूटा उपासनाको केन्द्र बनेको थियो। गिलगाल र बेर्शेबा पनि धर्मत्यागी उपासनाको केन्द्र भएको हुनुपर्छ। भविष्यवाणी गरिएको विपत्तिबाट बच्न इस्राएलले ती ठाउँहरूमा तीर्थ जान बन्द गरेर यहोवाको खोजी गर्न थाल्नुपर्ने थियो।

७:१—‘राजाको निम्ति काटिसकेको घाँसले’ केलाई संकेत गर्छ? यसले सम्भवतः राजाले आफ्ना घोडचढी र पशुहरूको हेरचाहको लागि उठाएको करलाई संकेत गर्छ। यो कर, “पछि उम्रने घाँस पहलाउँदा पहलाउँदै” तिर्नुपर्ने थियो। पछि मानिसहरूले आफ्नो बाली कटनी गर्न सक्थे। तर मानिसहरूले कटनी गर्न नपाउँदै सलहको बथान आएर बाली र अरू बोटबिरुवा स्वाहा पारिदियो।

८:१, २—‘ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालोले’ केलाई चित्रण गर्थ्यो? यसले यहोवाको दिन नजिकै छ भनी चित्रण गर्थ्यो। ग्रीष्म ऋतुका फल कटनीको समयको अन्ततिर अर्थात्‌ कृषि वर्षको अन्तमा टिपिन्छ। यहोवाले आमोसलाई “ग्रीष्म ऋतुको फलले भरिएको एउटा डालो” देखाउनुको अर्थ इस्राएलको अन्त नजिकै छ भन्‍ने थियो। त्यसैले, यहोवाले आमोसलाई यसो भन्‍नुभयो: “मेरो प्रजा इस्राएलको अन्त आइपुग्यो। म अब फेरि तिनीहरूलाई छोड्‌नेछैन।”

हाम्रो लागि पाठ:

१:३, ६, ९, ११, १३; २:१, ४, . इस्राएल, यहूदा र वरपरका छ वटा राष्ट्रप्रति आफ्नो रीसबारे यहोवाले यसो भन्‍नुभयो: “त्यसले पाउने दण्ड म रद्द गर्नेछैनँ।” यहोवाको न्यायबाट उम्कन सकिंदैन!—आमोस ९:२-५.

२:१२. हामीले परिश्रमी अग्रगामी, परिभ्रमण निरीक्षक, मिसनरी र बेथेल परिवारका सदस्यहरूलाई पूर्ण-समय सेवा छोडी तथाकथित सामान्य जीवन बिताउन उक्साएर निरुत्साहित गर्नु हुँदैन। बरु, भलाइको काममा लागिरहन प्रोत्साहन दिनुपर्छ।

३:८. जसरी सिंहको गर्जन सुन्दा डर लाग्छ, त्यसरी नै यहोवाले “जा, मेरो प्रजा इस्राएललाई अगमवाणी कह” भनेको सुनेपछि आमोसले पनि प्रचार गर्न बाध्य महसुस गरे। (आमोस ७:१५) परमेश्‍वरप्रतिको डरले हामीलाई राज्य सन्देशको जोसिलो प्रचारक हुन प्रोत्साहित गर्नुपर्ने हो।

३:१३-१५; ५:११. यहोवाको मदत पाएर नम्र गोठालो आमोसले धनी र धनका कारण भावशून्य भएकाहरूलाई ‘साक्षी दिन’ सके। हामीले प्रचार गर्नुपर्ने इलाका जतिसुकै चुनौतीपूर्ण भए तापनि राज्य सन्देश घोषणा गर्न यहोवाले हामीलाई पनि सुसज्जित पार्न सक्नुहुन्छ।

४:६-११; ५:४, ६, १४. इस्राएलीहरू यहोवातर्फ ‘फर्कन’ बारम्बार चुके। तैपनि तिनीहरूलाई यसो भनियो: “परमप्रभुको खोजी गर तिमीहरू बाँच्नेछौ।” यहोवाले धीरजी भई यस दुष्ट रीतिरिवाजलाई रहिरहन दिनुभएसम्म हामीले मानिसहरूलाई परमेश्‍वरकहाँ आउन प्रोत्साहन दिनुपर्छ।

५:१८, १९. तयार नभई “परमप्रभुको दिनको अति इच्छा” गर्नु मूर्खता हो। त्यस्तो इच्छा गर्ने मानिसको अवस्था त सिहंबाट भाग्न खोज्दा भालु भेट्‌नु र त्यहाँबाट पनि भाग्दा सर्पले डस्नु जस्तै हो। आध्यात्मिक तवरमा ‘जागा रहेर’ सधैं तयार रहनु बुद्धिमानी हुनेछ।—लूका २१:३६.

७:१२-१७. परमेश्‍वरको सन्देश घोषणा गर्न हामी निडर र साहसी हुनुपर्छ।

९:७-१०. विश्‍वासी कुलपिता र मिश्रबाट छुटाइएका परमेश्‍वरको चुनिएका जनहरूका सन्तान भए तापनि अविश्‍वासी इस्राएलीहरूले कूशका सन्तानले जस्तै उहाँको नजरमा नराम्रो नाउँ कमाए। निष्पक्ष परमेश्‍वरको अघि स्वीकार्य हुन ‘उहाँसँग डराउनु र उचित काम’ गर्नु आवश्‍यक छ, कुनै खास वंशको हुनु महत्त्वपूर्ण होइन।—प्रेरित १०:३४, ३५.

हामीले के गर्नुपर्छ

शैतानको संसारमाथि परमेश्‍वरले ल्याउनुहुने न्यायदण्ड नजिकै छ। परमेश्‍वरले आफ्ना जनहरूमाथि पवित्र आत्मा खन्याएर मानिसहरूलाई आउनै लागेको उहाँको दिनबारे चेतावनी दिन सुसज्जित तुल्याउनुभएको छ। यहोवालाई चिन्‍न र ‘उहाँको नाउँ लिन’ अरूलाई मदत गर्ने काममा के हामीले पूरापूर भाग लिनुपर्दैन र?—योएल २:३१, ३२.

आमोस यस्तो सल्लाह दिन्छन्‌: “बुराइलाई घृणा औ भलाइलाई प्रेम गर, र शहरको मूल–ढोकामा न्याय स्थापित गर।” (आमोस ५:१५) यहोवाको दिन नजिकै भएकोले उहाँको नजिक हुनु अनि आफूलाई यस दुष्ट संसार र यसका भ्रष्ट संगतिबाट अलग राख्नु बुद्धिमानी मार्ग हो। त्यसको लागि हामी योएल र आमोसको पुस्तकबाट कत्ति समय सुहाउँदो पाठ सिक्न सक्छौं!—हिब्रू ४:१२. (w 07 10/1)