सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरू

नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

नहूम, हबकूक र सपन्याहको पुस्तकका विशेषताहरू

अश्‍शूरी विश्‍वशक्‍तिले इस्राएलको दस गोत्रे राज्यको राजधानी सामरियालाई तहसनहस पारिसकेको छ। अश्‍शूर, यहूदाको लागि पनि लामो समयदेखि खतरा साबित भइरहेको छ। यहूदाका अगमवक्‍ता नहूमसित अश्‍शूरको राजधानी निनवेको लागि एउटा सन्देश छ। ईसापूर्व ६२३ अघि लेखिएको नहूम पुस्तकमा त्यो सन्देश पाइन्छ।

अश्‍शूरपछि विश्‍वशक्‍तिको रूपमा बेबिलोनी साम्राज्यको उदय हुन्छ। बेबिलोनी साम्राज्यमाथि कुनै समय कल्दी राजाहरूले शासन गरे। सम्भवतः ईसापूर्व ६२८ मा हबकूकको पुस्तक लेख्न सिध्याइएको हुन सक्छ। यस पुस्तकमा यहोवाले न्यायदण्ड दिन कसरी त्यो विश्‍वशक्‍तिलाई चलाउनुहुनेछ र अन्ततः त्यसले कस्तो नतिजा भोग्नेछ भनी भविष्यवाणी गरिएको छ।

यहूदाका अगमवक्‍ता सपन्याहले नहूम र हबकूकभन्दा अघि भविष्यवाणी गरे। ईसापूर्व ६०७ मा यरूशलेम विनाश भएको ४० वर्षभन्दा अघि तिनले भविष्यवाणी गरे जसमा तिनले यहूदाको लागि विनाश र आशाको सन्देश सुनाए। सपन्याहको पुस्तकमा अरू राष्ट्रहरू विरुद्ध ईश्‍वरवाणी पनि पाइन्छन्‌।

“हत्यारा शहरलाई धिक्कार!”

(नहूम १:१–३:१९)

“निनवेको विषयमा ईश्‍वर-वाणी” यहोवा परमेश्‍वरबाट आएको हो। उहाँ “रीस गर्नमा धीरजी [र] . . . अत्यन्त शक्‍तिमान हुनुहुन्छ।” यहोवामा शरण खोज्नेहरूका लागि उहाँ “संकष्टको दिनमा बलियो किल्ला” हुनुभए तापनि निनवेले विनाश भोग्नु पर्नेछ।—नहूम १:१, ३, ७.

“परमप्रभुले याकूबको श्रेष्ठतालाई फेरि . . . जस्ताको तस्तै तुल्याइदिनुहुनेछ।” तर अश्‍शूरीहरूले ‘फराउने सिंहले’ झैं परमेश्‍वरका जनहरूको राष्ट्रलाई आतंकित पारेका छन्‌। यहोवाले “[निनवेका] रथहरू धुँवै धुँवा हुने गरी जलाइदिनुहुनेछ र [त्यसका] जवान सिंहहरू तरवारले काटिनेछन्‌।” (नहूम २:२, १२, १३) “हत्यारा शहर” निनवेलाई “धिक्कार!” “जत्तिले [त्यसको] विषयमा सुन्छन्‌ ती सबैले . . . ताली बजाउँछन्‌” र रमाहट गर्छन्‌।—नहूम ३:१, १९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:९, NRV—निनवेलाई “खतम” पारिनुले यहूदाको लागि कस्तो अर्थ राख्ने थियो? यसको अर्थ, तिनीहरूले अश्‍शूरीहरूबाट सधैंको लागि छुटकारा पाउनेथिए अर्थात्‌ ‘दुःख दोस्रो पटक आउने’ थिएन। निनवेको अस्तित्व हराइ नै सकेको जस्तो गरी नहूम यस्तो लेख्छन्‌: “हेर्‌, सुसमाचार ल्याउने र शान्ति प्रचार गर्नेका खुट्टाहरू डाँडाहरूतिर आएका छन्‌। हे यहूदा, तैंले आफ्नो चाड मना।”—नहूम १:१५.

२:६—कुन “नहर-द्वारहरू” खोलिए? यहाँ भनिएको द्वार टाइग्रिस नदीको पानीले निनवेको पर्खालमा बनाएको प्वाल थियो। ईसापूर्व ६३२ मा बेबिलोनी तथा मादीहरूको संयुक्‍त सेना निनवे विरुद्ध खडा हुँदा त्यसले खासै खतरा महसुस गरेको थिएन। त्यसले आफ्ना बडेमाका पर्खालको कारण सुरक्षित महसुस गऱ्‍यो र त्यो पार गरेर कोही आउन सक्दैन भन्ठान्यो। तर भीषण वर्षाको कारण टाइग्रिस नदीमा पानी निकै बढ्यो। इतिहासकार डियोडोरसका अनुसार यसले गर्दा “सहरको एउटा भाग डुबानमा पऱ्‍यो र पर्खाल पनि केही परसम्म भत्कियो।” यसरी नदीका द्वारहरू खोलिए र सुकेका ठुटालाई आगोले सखाप पारेझैं भविष्यवाणी अनुरूपै निनवेको विनाश भयो।—नहूम १:८-१०.

३:४—निनवे कसरी एउटी वेश्‍या जस्तै भई? निनवेले राष्ट्रहरूसित मित्रता र मदत दिने वाचा बाँधे तापनि वास्तवमा यसले तिनीहरूलाई थिचोमिचोमा राखेर धोका दियो। उदाहरणको लागि, अराम र इस्राएल विरुद्धको षड्यन्त्रमा अश्‍शूरले यहूदी राजा आहाजलाई केही मदत दिए। तर अन्ततः “अश्‍शूरका राजा . . . [आहाजको] विरुद्धमा सेना लिएर आए, र . . . तिनलाई कष्ट दिए।”—२ इतिहास २८:२०.

हाम्रो लागि पाठ:

१:२-६. यहोवाले उहाँलाई ऐकान्तिक भक्‍ति चढाउन इन्कार गर्ने शत्रुहरूको बदला लिने कुराबाट के स्पष्ट हुन्छ भने उहाँ आफ्ना उपासकहरूबाट पूर्णतया ऐकान्तिक भक्‍ति चाहनुहुन्छ।—प्रस्थान २०:५.

१:१०. सयौं किल्लाहरू भएका बडेमाको पर्खालले निनवे विरुद्ध यहोवाको वचन पूरा हुनदेखि रोक्न सकेन। आज पनि यहोवाका जनका शत्रुहरू उहाँको न्यायदण्डबाट भाग्न सक्ने छैनन्‌।—हितोपदेश २:२२; दानियल २:४४.

‘धर्मीचाहिं जिइरहनेछ’

(हबकूक १:१–३:१९)

हबकूकको पुस्तकको सुरुका दुइटा अध्यायमा यहोवा परमेश्‍वर र हबकूक अगमवक्‍ताबीचको कुराकानी पाउन सकिन्छ। यहूदामा भइरहेका कुराहरूदेखि दुःखित भएका हबकूक परमेश्‍वरलाई यस्तो प्रश्‍न गर्छन्‌: “तपाईं मलाई किन अधर्म हेर्न लाउनुहुन्छ? र विपत्ति हेरिरहनुहुन्छ?” जवाफमा यहोवा यसो भन्‍नुहुन्छ: “हेर्‌, म कल्दीहरूलाई खडा गर्नेछु, जो निष्ठूर र फूर्तिलो जाति छ।” “छल गर्ने मानिसहरू” चलाएर यहूदालाई सजाय दिने कुरा सुनेपछि हबकूक आश्‍चर्य व्यक्‍त गर्छन्‌। (हबकूक १:३, ६, १३) धर्मीहरू जिइरहने छन्‌ तर दुष्टहरूले पक्कै सजाय भोग्ने छन्‌ भनी हबकूकलाई आश्‍वासन दिइन्छ। यसबाहेक, कल्दी शत्रुहरू विरुद्ध आइपर्ने पाँच विपत्ति हबकूक रेकर्ड गर्छन्‌।—हबकूक २:४.

“शिग्गिओनोथ” अर्थात्‌ विलाप-गीतको रूपमा कृपाको लागि प्रार्थना गर्दा हबकूक यहोवाले विगतमा लाल समुद्र, उजाडस्थान र यरीहोमा आफ्नो अद्‌भुत शक्‍ति प्रदर्शन गरेको कुरा सम्झन्छन्‌। आरमागेडोनमा भयानक रीससहित यहोवा अघि बढ्‌ने कुराको पनि हबकूक भविष्यवाणी गर्छन्‌। प्रार्थनाको अन्तमा यसो भन्छन्‌: “परमप्रभु, मेरा परमेश्‍वर, मेरा बल हुनुहुन्छ, उहाँले मेरो खुट्टा हरिणका खुट्टाझैं पार्नुहुनेछ, उहाँलेनै मलाई मेरा अल्गा-अल्गा स्थानहरूमा हिंडाउनुहुनेछ।”—हबकूक ३:१, १९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:५, ६—यरूशलेम विरुद्ध कल्दीहरूलाई खडा गर्नु किन यहूदीहरूका लागि पत्याउनै नसकिने कुरा देखिन्थ्यो? हबकूकले भविष्यवाणी गर्न थाल्दासम्म यहूदामाथि मिश्रको प्रभाव एकदमै बढिसकेको थियो। (२ राजा २३:२९, ३०, ३४) बेबिलोनीहरू शक्‍तिशाली हुँदै गइरहेको भए तापनि तिनीहरूले अहिलेसम्म फिरऊन नेकोलाई पराजित गरिसकेका थिएनन्‌। (यर्मिया ४६:२) यसबाहेक, यहोवाको मन्दिर यरूशलेममा थियो र दाऊदको वंशले त्यहाँबाट अटुट रूपमा शासन गरिरहेको थियो। त्यसैकारण त्यतिबेलाका यहूदीहरूका लागि कल्दीहरूको हातबाट यरूशलेमको विनाश गर्ने यहोवाको “काम” पत्याउनै नसकिने देखिन्थ्यो। तिनीहरूलाई हबकूकका शब्दहरू जत्ति नै अपत्यारिलो लागे तापनि बेबिलोनीहरूको हातबाट यरूशलेमको विनाश हुने दर्शन ईसापूर्व ६०७ मा ‘निश्‍चय पूरा भयो।’—हबकूक २:३.

२:५—‘लालसा गर्ने मानिस’ को हो र त्यो किन ‘कहिल्यै अघाउने’ छैन? यहाँ ‘मानिसले’ राष्ट्रहरूमाथि विजय हासिल गर्न आफ्नो सैन्य शक्‍ति चलाएको बेबिलोनलाई चित्रण गर्छ। जितको स्वाद चाख्दै गएकोले दाखमद्यले मातिएको मानिसले जस्तै त्यसले महसुस गऱ्‍यो। तर त्यो सारा जातिलाई आफूकहाँ तान्‍न सफल हुने थिएन किनभने यहोवाले त्यसको पतन गर्न मादी र फारसीलाई चलाउनुहुने थियो। आधुनिक समयमा त्यो “मानिस” राजनैतिक शक्‍तिहरू मिलेर बनेको छ। त्यो पनि बढ्‌तै विश्‍वस्त र घमन्डी छ। त्यसले पनि विस्तार गर्ने लालसा राख्छ तर त्यो कहिल्यै अघाउँदैन। अर्थात्‌ ‘सारा जातिहरूलाई आफूकहाँ तान्‍ने’ लक्ष्यमा त्यो पुग्दैन। परमेश्‍वरको राज्यले मात्र मानिसजातिलाई एकतामा बाँध्नेछ।—मत्ती ६:९, १०.

हाम्रो लागि पाठ:

१:१-४; १:१२–२:१. हबकूकले सोझो मनले प्रश्‍नहरू गरे र यहोवाले त्यसको जवाफ दिनुभयो। साँचो परमेश्‍वर आफ्ना विश्‍वासी सेवकहरूको प्रार्थना सुन्‍नुहुन्छ।

२:१. हबकूक जस्तै हामी पनि आध्यात्मिक तवरमा जागा र सक्रिय रहनुपर्छ। हामीलाई सच्याइएको खण्डमा त्यसअनुसार आफ्नो सोचाइ छाँटकाँट गर्न पनि हामी तयार हुनुपर्छ।

२:३; ३:१६. विश्‍वासी हुँदै यहोवाको दिन पर्खिरहँदा हामी सतर्क रहिरहौं।

२:४. आउँदै गरेको यहोवाको न्यायको दिनबाट बच्न हामी विश्‍वासी भई स्थिर रहिरहनुपर्छ।—हिब्रू १०:३६-३८.

२:६, ७, ९, १२, १५, १९. बेइमान तरिकाले कमाउने लोभी, हिंसा रुचाउने, अनैतिकता र मूर्तिपूजामा लाग्ने मानिसहरूले पक्कै विनाश भोग्छन्‌। त्यस्ता दुर्गुणबाट अलग रहन हामी होसियार हुनै पर्छ।

२:११. यस संसारको दुष्टता उदांग पार्नबाट हामी चुक्यौं भने “ढुङ्‌गाले दोहाइ दिनेछ।” हामीले साहसी भई परमेश्‍वरको राज्य सन्देश प्रचार गरिरहनु महत्त्वपूर्ण छ!

३:६. यहोवाले न्यायदण्ड ल्याउँदा कसैले पनि रोक्न सक्ने छैन। पर्वत र डाँडाहरू जस्तो स्थिर देखिने मानव संगठनहरूले समेत केही गर्न सक्ने छैनन्‌।

३:१३. आरमागेडोनको विनाश जथाभावी तरिकामा हुनेछैन भनी हामीले आश्‍वासन पाएका छौं। यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई बचाउनुहुनेछ।

३:१७-१९. आरमागेडोनको अघि र त्यसको दौडान कठिनाइहरू आइपर्न सक्ने भए तापनि यहोवाको सेवामा आनन्दित भई लागिरहँदा उहाँले हामीलाई “बल” दिनुहुनेछ भनेर विश्‍वस्त हुन सक्छौं।

“परमप्रभुको दिन नजीकै छ”

(सपन्याह १:१–३:२०)

यहूदामा बाल उपासना जताततै फैलिएको छ। यहोवा आफ्ना अगमवक्‍ता सपन्याह मार्फत यसो भन्‍नुहुन्छ: “म यहूदा र यरूशलेमका सारा बासिन्दाहरूमाथि मेरो हात पसार्नेछु।” सपन्याह यस्तो चेतावनी दिन्छन्‌: “परमप्रभुको दिन नजीकै छ।” (सपन्याह १:४, ७, १४) यहोवाले चाहनुभएअनुसार गर्नेहरूले मात्र त्यस दिन “शरण” पाउनेछन्‌।—सपन्याह २:३.

‘धिक्कार त्यो अत्याचारी शहर’ यरूशलेमलाई! ‘परमप्रभु भन्‍नुहुन्छ, यसकारण नाश पार्नलाई म नउठुञ्जेल तिमीहरू मलाई पर्खिरहो। राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूलाई मेरो डाहको आगोले भस्म गर्ने मेरो इच्छा छ।’ तर परमेश्‍वर यस्तो प्रतिज्ञा पनि गर्नुहुन्छ: “म तिमीहरूको सुदिन तिमीहरूकै नजरको सामने फर्काएर ल्याउनेछु तब पृथ्वीका सारा जातिहरूमध्ये म तिमीहरूको कीर्ति र प्रशंसा फिजाउनेछु।”—सपन्याह ३:१, ८, २०.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३:९—“शुद्ध भाषा” के हो र यो कसरी बोलिन्छ? यो, परमेश्‍वरको वचन बाइबलमा पाइने सत्य कुरा हो। यसमा बाइबलका सबै शिक्षा पर्छ। यस सत्यमा विश्‍वास गरेर, यो अरूलाई सही तरिकामा सिकाएर र परमेश्‍वरको इच्छाअनुरूप जीवन बिताएर हामी यो शुद्ध भाषा बोल्छौं।

हाम्रो लागि पाठ:

१:८. सपन्याहको दिनमा कसै-कसैले “विदेशी पहिरन” लगाएर छिमेकी राष्ट्रहरूको स्वीकृति खोजिरहेका थिए जस्तो देखिन्छ। त्यसै गरी, आज पनि परमेश्‍वरका उपासकहरू संसारको चालमा हिंड्‌न खोज्नु कत्ति मूर्खतापूर्ण हुनेछ!

१:१२; ३:५, १६. आफूले ल्याउने न्यायदण्डबारे चेतावनी दिन यहोवाले अगमवक्‍ताहरू पठाइरहनुभयो। यहाँसम्म कि, थुप्रै यहूदीहरू दाखमद्यको भाँडोको फेदमा जमेर बसेको थिग्रो जस्तै आफ्नै जीवनशैलीमा जम्दै राज्य सन्देशप्रति भावशून्य भए तापनि उहाँले अगमवक्‍ताहरू पठाउन छोड्‌नु भएन। परमेश्‍वरको भयानक दिन नजिकिंदै जाँदा मानिसहरूको भावशून्यताको कारण हाम्रा “हातहरू ढिला हुन” दिनुको सट्टा परमेश्‍वरको राज्यको सन्देश घोषणा गर्ने काममा निरन्तर लागिरहनुपर्छ।

२:३. यहोवाको रीसको दिनमा उहाँले मात्र हामीलाई बचाउन सक्नुहुन्छ। उहाँको अनुग्रह पाइरहन हामीले “परमप्रभुको खोजी” गरिरहनुपर्छ। यसको लागि हामीले उहाँको वचन बाइबल होसियारीसाथ अध्ययन गर्नुपर्छ, प्रार्थनापूर्वक उहाँको डोऱ्‍याइ खोज्नुपर्छ र उहाँको नजिक हुनुपर्छ। नैतिक तवरमा स्वच्छ जीवन बिताएर “धार्मिकता खोजी” गर्नुपर्छ। अनि नम्र र आज्ञाकारी भएर “नम्रता खोजी” गर्नुपर्छ।

२:४-१५; ३:१-५. यहोवाको न्यायको दिनमा परमेश्‍वरका जनहरूलाई सताउने राष्ट्रहरू र मसीहीजगत्‌ले प्राचीन यरूशलेम र यसका छिमेकी राष्ट्रहरूले जस्तै नतिजा भोग्नेछ। (प्रकाश १६:१४, १६; १८:४-८) हामीले निडरता साथ परमेश्‍वरको न्यायदण्ड घोषणा गर्न छोड्‌नुहुँदैन।

३:८, ९. यहोवाको दिनको बाटो हेर्दै बस्दा हामी “शुद्ध भाषा” बोल्न सिकेर अनि उहाँप्रति समर्पण गर्दै ‘परमप्रभुको नाउँको पुकारा गरेर’ बच्नको लागि तयारी गर्छौं। साथै उहाँका जनहरूसँगै “काँधमा काँध मिलाएर” [ NRV] हामी उहाँको सेवा गर्छौं र उपहारस्वरूप उहाँलाई “स्तुतिको बलिदान” चढाउँछौं।—हिब्रू १३:१५.

“त्यो चाँडै आउँदैछ”

भजनहारले यस्तो भजन गाए: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन।” (भजन ३७:१०) नहूमको पुस्तकमा निनवेबारे अनि हबकूकको पुस्तकमा बेबिलोन र धर्मत्यागी यहूदाबारे गरिएका भविष्यवाणीहरूलाई विचार गर्दा भजनहारका शब्दहरू साँचो साबित होला त भनेर शंका गर्ने कुनै कारण पाउँदैनौं। तर हामीले अझै कतिन्जेल पर्खनुपर्छ?

“परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँडै आउँदैछ” भनी सपन्याह १:१४ मा बताइएको छ। हामीले त्यस दिनमा कसरी शरण पाउन सक्छौं र बच्नको लागि के-कस्तो तयारी गर्नुपर्छ भनेर पनि सपन्याहको पुस्तकले देखाउँछ। साँच्चै “परमेश्‍वरको वचन जीवित र प्रबल” छ।—हिब्रू ४:१२. (w 07 11/15)

[पृष्ठ ८-मा भएका चित्रहरू]

निनवेका बडेमाका पर्खालहरूले नहूमको भविष्यवाणी पूरा हुनदेखि रोक्न सकेन