सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले आफ्ना वफादार जनहरूलाई त्याग्नुहुन्‍न

यहोवाले आफ्ना वफादार जनहरूलाई त्याग्नुहुन्‍न

यहोवाले आफ्ना वफादार जनहरूलाई त्याग्नुहुन्‍न

“[यहोवाले] आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न, तिनीहरू सधैं सुरक्षित हुन्छन्‌।”—भज. ३७:२८.

१, २. (क) ईसापूर्व दशौं शताब्दीमा भएका कस्ता घटनाहरूले गर्दा परमेश्‍वरका सेवकहरूको वफादारिताको जाँच भयो? (ख) कुन तीन परिस्थितिमा यहोवाले आफ्ना वफादार जनहरूलाई सुरक्षा दिनुभयो?

 ईसापूर्व दशौं शताब्दी। यहोवाका सेवकहरूले निर्णय गर्नुपर्ने समय हो यो। इस्राएलको अस्थिर उत्तरी कुललाई केही हदसम्म स्वतन्त्रता दिएपछि मच्चिनै लागेको गृह युद्ध रोकिएको छ। त्यहाँका नवनियुक्‍त राजा यारोबामले एउटा नयाँ राष्ट्रिय धर्म खडा गरेर अफ्नो शक्‍ति मजबुत बनाउन तुरुन्तै पाइला चाल्छन्‌। तिनले आफ्ना प्रजाहरूबाट शतप्रतिशत वफादारिताको माग गर्छन्‌। अब यहोवाका विश्‍वासी सेवकहरूले के गर्नेछन्‌? के तिनीहरू आफ्ना परमेश्‍वरप्रति वफादार रहनेछन्‌? हो, हजारौं वफादार रहन्छन्‌ र तिनीहरूले यहोवाप्रति आफ्नो निष्ठा कायम राख्दा उहाँले तिनीहरूको हेरचाह गर्नुहुन्छ।—१ राजा १२:१-३३; २ इति. ११:१३, १४.

आज पनि परमेश्‍वरका सेवकहरूको वफादारिता जाँचिंदैछ। बाइबल यस्तो चेतावनी दिन्छ: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्‌छ।” के हामी “आफ्नो विश्‍वासमा दह्रो भएर” सफलतापूर्वक “त्यसको विरोध” गर्न सक्छौं? (१ पत्रु. ५:८, ९) आउनुहोस्‌, ईसापूर्व ९९७ मा राजा यारोबामको राज्यारोहणको समयतिर भएका केही घटना जाँचौं र त्यसबाट के पाठ सिक्न सक्छौं, हेरौं। त्यस कठिन समयको दौडान यहोवाका विश्‍वासी सेवकहरू दमनमा परे। तिनीहरूले चुनौतीपूर्ण जिम्मेवारीहरू बहन गरिरहेका थिए र त्यस सँगसँगै धर्मत्यागी प्रभावहरूको पनि सामना गर्नुपऱ्‍यो। ती हरेक परिस्थितिमा यहोवाले आफ्ना वफादार जनहरूलाई त्याग्नुभएन र अहिले पनि त्याग्नुहुन्‍न।—भज. ३७:२८.

दमनमा पर्दा

३. राजा दाऊदको शासन किन दमनकारी थिएन?

आउनुहोस्‌ पहिला हामी यारोबाम कस्ता परिस्थितिबीच राजा बने, त्यो हेरौं। हितोपदेश २९:२ भन्छ: ‘दुष्टको हातमा अधिकार आउँदा मानिसहरू दुःखी हुन्छन्‌।’ प्राचीन इस्राएलका राजा दाऊदको शासनकालमा मानिसहरू दुःखी थिएनन्‌। दाऊद असिद्ध थिए तर तिनी परमेश्‍वरप्रति वफादार रहे र उहाँमा भरोसा राखे। तिनको शासन दमनकारी थिएन। यहोवाले दाऊदसित यस्तो करार बाँध्नुभयो: “तेरो घराना स्थिर गरिनेछ, र तेरो राज्य मेरो दृष्टिमा सधैंभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्थिर हुनेछ।”—२ शमू. ७:१६.

४. सुलेमान र तिनका प्रजाले पाउने आशिष्‌ केमा निर्भर थियो?

दाऊदका छोरा सुलेमानको शासन सुरुमा यति शान्तिमय र समृद्ध थियो कि त्यस शासनले ख्रीष्ट येशूको भावी हजार वर्षीय शासनको दौडान हुने कुराहरूलाई एकदमै सही ढंगमा पूर्वचित्रण गर्न सक्यो। (भज. ७२:१, १७) त्यतिबेला इस्राएलका बाह्र कुलमध्ये कुनैले पनि विद्रोह गर्नुपर्ने कारण पाएको थिएन। तर सुलेमान र तिनका प्रजाले सर्त पूरा गरेको खण्डमा मात्र आशिष्‌ पाइरहन सक्थे। यहोवाले सुलेमानलाई यसो भन्‍नुभएको थियो: “यदि मेरा धर्म-विधिहरू पालन गरिस्‌ र मेरा न्याय-वचनहरू भनेबमोजिम गरिस्‌ र भक्‍तिसाथ मेरो आज्ञा पालन गरिस्‌ भने, म मेरो त्यो प्रतिज्ञा तँसँग पूरा गर्नेछु, जो मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ, औ म इस्राएलको बीचमा रहनेछु, र मेरो प्रजा इस्राएललाई म कहिल्यै त्याग्नेछैनँ।”—१ राजा ६:११-१३.

५, ६. सुलेमान परमेश्‍वरप्रति अवफादार हुन थालेपछि के भयो?

बुढेसकालमा सुलेमान यहोवाप्रति अविश्‍वासी भए र झूटो उपासनामा मुछिन थाले। (१ राजा ११:४-६) तिनले बिस्तारै यहोवाका नीति-नियमहरू मान्‍न छोडे र झन्‌-झनै दमनकारी बन्दै गए। यहाँसम्म कि तिनको मृत्युपछि समेत मानिसहरूले तिनका छोरा रहबामलाई तिनीबारे गुनासो गर्दै राहतको लागि अनुरोध गरे। (१ राजा १२:४) सुलेमान अविश्‍वासी हुँदा यहोवाले के गर्नुभयो?

बाइबल हामीलाई यसो भन्छ: “तिनीकहाँ दुईपल्ट देखा पर्नुहुने . . . इस्राएलका परमेश्‍वरदेखि तिनको मन तर्किगएको हुनाले परमप्रभु सुलेमानसँग रिसाउनुभयो।” यहोवाले सुलेमानलाई यसो भन्‍नुभयो: “मैले तँलाई आज्ञा गरेको अनुसार मेरो करार र धर्म-विधिलाई पालन नगरेको कारण म यो राज्यलाई टुक्राएर तेरो दासलाई दिनेछु।”—१ राजा ११:९-११.

७. यहोवाले सुलेमानलाई त्याग्नुभए तापनि आफ्ना वफादार जनहरूको ख्याल राख्नुभयो, कसरी?

त्यसपछि, मानिसहरूलाई सुलेमानको दमनबाट छुटकारा दिने व्यक्‍ति नियुक्‍त गर्न यहोवाले अगमवक्‍ता अहियाह पठाउनुभयो। ती छुटकारा दिने व्यक्‍ति थिए, यारोबाम। तिनी एक योग्य व्यक्‍ति थिए जसले सुलेमानको शासन अन्तर्गत काम गर्थे। यहोवा परमेश्‍वर आफूले दाऊदसित बाँधेको राज्य करारप्रति वफादार रहनुभए तापनि उहाँले १२ कुललाई विभाजन गर्न अनुमोदन दिनुभयो। दस कुल यारोबामलाई दिइने थियो र दुई कुल चाहिं दाऊदको घरानाको प्रतिनिधित्व गर्ने राजा रहबामसित रहने थियो। (१ राजा ११:२९-३७; १२:१६, १७, २१) यहोवाले यारोबामलाई यसो भन्‍नुभयो: “यदि मेरो दास दाऊदले गरेझैं तैंले मेरा सबै आज्ञाहरूमा ध्यान दिइस्‌ र मेरा मार्गमा हिंडिस्‌ औ मेरा धर्म-विधि र आज्ञाहरू पालन गरेर मेरो दृष्टिमा जे असल छ त्यो गरिस्‌ भने म तँसित हुनेछु। दाऊदको निम्ति गरेझैं म तेरो घरानालाई स्थायी बनाउनेछु। इस्राएलचाहिं म तँलाई दिनेछु।” (१ राजा ११:३८) यहोवाले आफ्ना जनहरूको हितलाई मनमा राख्दै तिनीहरूलाई दमनबाट छुटाउन प्रबन्ध मिलाउनुभयो।

८. आज परमेश्‍वरका जनहरू कस्ता परीक्षाहरूमा मिचिन्छन्‌?

आज दमन र अन्याय व्याप्त छ। उपदेशक ८:९ अनुसार “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” छ। लोभी व्यापार र भ्रष्ट शासनले गर्दा आर्थिक अवस्था नाजुक हुन सक्छ। सरकार, व्यापार र धर्ममा नेतृत्व लिनेहरूले राम्रो उदाहरण बसालेका छैनन्‌। त्यसैकारण, धर्मी व्यक्‍ति लूतजस्तै आज परमेश्‍वरका वफादार जनहरू पनि “दुष्टहरूका कामुक जीवनबाट अति दुःखित” छन्‌। (२ पत्रु. २:७) त्यसबाहेक, अरूलाई बाधा नपुऱ्‍याई परमेश्‍वरका स्तरहरूअनुसार जिउने प्रयास गर्दा हामीमाथि अक्सर अहंकारी शासकहरूबाट सतावट आइपर्छ।—२ तिमो. ३:१-५, १२.

९. (क) यहोवाले आफ्ना जनहरूलाई छुटकारा दिन के गरी सक्नुभएको छ? (ख) येशू परमेश्‍वरप्रति वफादार रहिरहनुहुनेछ भनेर हामी किन ढुक्क हुन सक्छौं?

तर, यहोवाले आफ्ना वफादार जनहरूलाई त्याग्नुहुन्‍न भन्‍ने महत्त्वपूर्ण सच्चाइप्रति हामी विश्‍वस्त हुन सक्छौं। संसारका भ्रष्ट शासकहरूलाई हटाउन उहाँले चालिसक्नुभएका कदमहरूलाई विचार गर्नुहोस्‌। ख्रीष्ट येशू राजा हुनुभएको परमेश्‍वरको मसीही राज्य स्थापित भइसकेको छ। उहाँले स्वर्गमा शासन गर्न थाल्नुभएको झन्डै १०० वर्ष भइसक्यो। चाँडै उहाँले परमेश्‍वरको नाउँसित डराउनेहरूलाई पूरै राहत प्रदान गर्नुहुनेछ। (प्रकाश ११:१५-१८ पढ्‌नुहोस्‌) परमेश्‍वरप्रति मृत्युसम्मै वफादार रहेर उहाँले आफ्नो वफादारिताको प्रमाण दिइसक्नुभएको छ। सुलेमानले जस्तो उहाँले आफ्ना प्रजालाई कहिल्यै निराश पार्नुहुनेछैन।—हिब्रू ७:२६; १ पत्रु. २:६.

१०. (क) परमेश्‍वरको राज्यको मोल गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं? (ख) परीक्षाहरू आइपर्दा हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौं?

१० परमेश्‍वरको राज्य सबै दमन अन्त गर्ने एउटा वास्तविक सरकार हो। हाम्रो वफादारिता यहोवा परमेश्‍वर र उहाँको राज्यप्रति मात्र हुनुपर्छ। परमेश्‍वरको राज्यप्रति पूर्ण भरोसा राख्दै संसारको अभक्‍तिपनलाई त्याग्छौं र जोसका साथ असल कार्यको पछि लाग्छौं। (ती. २:१२-१४) हामी यस संसारबाट निष्कलंक रहने प्रयास गर्छौं। (२ पत्रु. ३:१४) अहिले जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि यहोवाले हामीलाई आध्यात्मिक हानिबाट जोगाउनुहुनेछ भनेर विश्‍वस्त हुन सक्छौं। (भजन ९७:१० पढ्‌नुहोस्‌) यसबाहेक, भजन ११६:१५ हामीलाई यस्तो आश्‍वासन दिन्छ: “परमप्रभुको दृष्टिमा उहाँका भक्‍तहरूको मृत्यु अनमोल छ।” यहोवाका नजरमा आफ्ना सेवकहरू यत्ति अनमोल छन्‌ कि उहाँले तिनीहरूलाई समूहको रूपमा नामेट हुन दिनुहुने छैन।

धर्मत्यागी प्रभावहरूको सामना गर्नुपर्दा

११. यारोबाम कसरी अवफादार भए?

११ राजा यारोबामको शासनले परमेश्‍वरका जनहरूलाई केही हदसम्म राहत दिन सक्थ्यो। तर उल्टो, तिनका क्रियाकलापले परमेश्‍वरप्रतिको तिनीहरूको वफादारितालाई झन्‌ परीक्षामा पाऱ्‍यो। पाएको इज्जत र सुअवसरमा सन्तुष्ट नभएर यारोबामले आफूलाई शक्‍तिशाली बनाउने तरिकाहरू खोज्न थाले। तिनले यसरी तर्क गरे: “यदि यो प्रजा परमप्रभुको भवन यरूशलेममा बलिदान चढाउन गयो भने तिनीहरूका मन आफ्ना प्रभु यहूदाका राजा रहबामतिर फेरि लाग्नेछ, र तिनीहरूले मलाई मारेर राजा रहबामतिरै फर्किजानेछन्‌।” त्यसैकारण, तिनले सुनको दुइटा बाछो बनाए र एउटा नयाँ धर्म स्थापना गरे। अनि “तिनले एउटा चाहिं बेतेलमा र अर्कोचाहिं दानमा स्थापना गरे। औ यही कुरा इस्राएलमा पाप भयो। मानिसहरू एउटालाई पुज्न बेतेलमा उक्लेर जान्थे, र अर्कोलाई पुज्न दानसम्मै जान्थे। तिनले डाँडाका टाकुरा-टाकुरामा पूजा गर्ने थानहरू पनि बनाए। औ अन्य कूलबाट पनि पूजाहारीहरू नियुक्‍त गरे। ती लेवीकै कूलका थिएनन्‌।” यहाँसम्म कि, तिनले आफूले चुनेको दिनमा “इस्राएलीहरूका निम्ति . . . एउटा चाड ठहराए र बलिदान चढाउनलाई आफै वेदीमा उक्लेर गए।”—१ राजा १२:२६-३३.

१२. यारोबामले इस्राएलमा बाछो उपासना स्थापना गरेपछि उत्तरी राज्यका वफादार जनहरूले के गरे?

१२ अब उत्तरी राज्यका वफादार जनहरूले के गर्ने थिए? उत्तरी राज्यको आफूलाई दिइएको इलाकामा बसोबास गर्ने लेवीहरूले आफ्ना विश्‍वासी पितापुर्खाहरूले जस्तै तुरुन्तै कदम चालिहाले। (प्रस्थ. ३२:२६-२८; गन्ती ३५:६-८; व्यव. ३३:८, ९) आफ्नो पैतृक सम्पत्ति छोडेर तिनीहरू सपरिवार दक्षिणतिर यहूदामा बसाइँ सरे जहाँ तिनीहरूले बाधा-अड्‌चनविना यहोवाको उपासना गर्न सक्थे। (२ इति. ११:१३, १४) यहूदामा अस्थायी बसोबास गरिरहेका अरू इस्राएलीहरूले चाहिं आफ्नो घर नफर्की अब त्यहीं स्थायी रूपमा बस्ने निर्णय गरे। (२ इति. १०:१७) यहोवाले साँचो उपासनातर्फ फर्कने मार्ग खुला रहिरहोस्‌ भनेर सुनिश्‍चित गर्नुभयो जसले गर्दा उत्तरी राज्यको भावी पिंढी बाछो उपासना त्यागेर यहूदा फर्की आउन सक्थे।—२ इति. १५:९-१५.

१३. वर्तमान समयमा धर्मत्यागी प्रभावहरूले परमेश्‍वरका जनहरूलाई कसरी परीक्षामा पारेको छ?

१३ आज परमेश्‍वरका जनहरूलाई धर्मत्यागी र तिनीहरूका प्रभावबाट खतरा छ। कतिपय शासकहरूले आफ्नै राष्ट्रिय धर्म खडा गर्न खोजेका छन्‌ र आफ्ना प्रजालाई पनि त्यही धर्म मान्‍न दबाब दिएका छन्‌। चर्चका पादरीहरू र अरू कपटी व्यक्‍तिहरूले चाहिं आफूलाई आध्यात्मिक मन्दिरका पूजाहारीगिरी भनी दाबी गर्ने गर्छन्‌। तर साँचो ख्रीष्टियानहरूमाझ मात्र हामी साँचो अभिषिक्‍त जनहरू पाउँछौं जुन मिलेर “राजकीय पूजाहारीगिरी” बन्छ।—१ पत्रु. २:९; प्रका. १४:१-५.

१४. धर्मत्यागी सोचाइप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१४ ईसापूर्व दशौं शताब्दीका विश्‍वासी लेवीहरूजस्तै आज वफादार जनहरू धर्मत्यागी विचारहरूको बहकाउमा पर्दैनन्‌। अभिषिक्‍त जन र तिनीहरूका सँगी ख्रीष्टियानहरूले धर्मत्यागी विचारहरूलाई तुरुन्तै नकारिहाल्छन्‌ र त्यागिहाल्छन्‌। (रोमी १६:१७ पढ्‌नुहोस्‌) सांसारिक मामिलाहरूमा हामी स्वेच्छाले सरकारको अधीनमा रहे तापनि संसारका युद्धहरूमा तटस्थ र परमेश्‍वरको राज्यप्रति वफादार रहन्छौं। (यूह. १८:३६; रोमी १३:१-८) परमेश्‍वरको सेवा गर्छु भनी टोपल्ने तर आचरणले चाहिं उहाँको अनादर गर्ने व्यक्‍तिहरूका झूटा दाबीहरूलाई हामी नकार्छौं।—ती. १:१६.

१५. “विश्‍वासी र बुद्धिमान्‌ दास”-प्रति हामी वफादार रहनुपर्छ, किन?

१५ यहोवाले इमानदार हृदय भएका मानिसहरूका लागि दुष्ट संसारबाट निस्केर उहाँले सृजनुभएको आध्यात्मिक प्रमोदवनमा पस्न सम्भव बनाउनुभएको तथ्यलाई पनि विचार गर्नुहोस्‌। (२ कोरि. १२:१-४) कृतज्ञताले ओतप्रोत भई हामी, ‘ठीक ठीक समयमा खान देओस्‌ भनेर मालिकले आफ्नो परिवारमाथि खटाएको विश्‍वासी र बुद्धिमान दासको’ नजिक रहन्छौं। ख्रीष्टले यी दासलाई “आफ्नो सारा सम्पत्तिमाथि” नियुक्‍त गर्नुभएको छ। (मत्ती २४:४५-४७) तसर्थ, दास वर्गले लिएको कुनै अडानलाई व्यक्‍तिगत तवरमा पूर्णतया नबुझ्दा समेत उक्‍त अडानलाई अस्वीकार गर्ने वा शैतानको संसारमा फर्केर जाने हामीसित कुनै कारण छैन। बरु, वफादारिताले गर्दा हामी यहोवाले मामिला प्रस्ट नपारुञ्जेल नम्र भई पर्खेर बस्न उत्प्रेरित हुनेछौं।

परमेश्‍वरले दिनुभएका जिम्मेवारीहरू बहन गर्दा

१६. यहूदाका अगमवक्‍ताले कस्तो जिम्मेवारी पाएका थिए?

१६ यारोबामका धर्मत्यागी आचरणको लागि यहोवाले तिनको निन्दा गर्नुभयो। उहाँले यहूदाका एक जना अगमवक्‍तालाई उत्तरी राज्यको बेतेलमा यारोबामसित भेट गर्न खटाउनुभयो। तिनले यारोबामलाई वेदीमा बलिदान चढाउन लागेकै बेला भेट्‌नुपर्ने थियो। ती अगमवक्‍ताले यारोबामलाई विपत्तिजनक न्याय-सन्देश सुनाउनुपर्ने थियो। निस्सन्देह, त्यो एउटा चुनौतीपूर्ण कार्यभार थियो।—१ राजा १३:१-३.

१७. यहोवाले आफ्ना सन्देशवाहकलाई कसरी जोगाउनुभयो?

१७ यहोवाबाट आफ्नो निन्दा भएको सुनेर यारोबाम रीसले चूर भए। तिनले परमेश्‍वरको प्रतिनिधितिर औंला तेर्साउँदै आफू नजिकैका मानिसहरूलाई यसो भन्दै कराए: “त्यस मानिसलाई समात्‌।” तर अचानक कसैले केही गर्न नपाउँदै ती अगमवक्‍तातिर “संकेत गरेको यारोबामको हात झट्टै सुकिहाल्यो, र तिनले त्यो फेरि आफूतिर खिंच्न सकेनन्‌। . . . [अनि] वेदी पनि टुक्रा-टुक्रा भयो र खरानी तितर-बितर भयो।” परमेश्‍वरलाई शान्त गराउन र आफ्नो हात ज्यूँका त्यूँ होस्‌ भनी प्रार्थना गरिदिनको लागि अगमवक्‍तालाई बिन्ती गर्न यारोबाम बाध्य भए। अगमवक्‍ताले प्रार्थना गरे र तिनको हात निको भयो। यसरी यहोवाले आफ्ना सन्देशवाहकलाई हानि हुनबाट जोगाउनुभयो।—१ राजा १३:४-६.

१८. यहोवालाई निर्भयसँग पवित्र सेवा चढाउँदा उहाँले हामीलाई कसरी सुरक्षा दिनुहुन्छ?

१८ राज्य-प्रचार र चेला बनाउने काममा वफादार भई भाग लिंदा कोही बेला अमित्रैलो वा शत्रुवत व्यवहार समेत भोग्छौं। (मत्ती २४:१४; २८:१९, २०) तर आफू अस्वीकार हुने डरले गर्दा सेवकाईप्रतिको जोसलाई कहिल्यै सेलाउन दिनुहुँदैन। यारोबामको समयका नाउँ नखुलाएका ती अगमवक्‍ताले जस्तै हामीले पनि “निर्भयसँग उहाँलाई [यहोवालाई] वफादार भई पवित्र सेवा चढाउने सुअवसर” पाएका छौं। a (लूका १:७४, ७५, NW) यहोवाले चमत्कारपूर्ण ढंगमा हस्तक्षेप गर्नुहुन्छ भनेर त हामी आज आशा गर्दैनौं। तैपनि उहाँले हामीलाई आफ्ना साक्षीको हैसियतमा पवित्र आत्मा र स्वर्गदूतहरू मार्फत्‌ अझै सुरक्षा दिइरहनुभएको छ। (यूहन्‍ना १४:१५-१७; प्रकाश १४:६ पढ्‌नुहोस्‌) परमेश्‍वरको वचन निर्भयसँग बोल्नेहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न।—फिलि. १:१४, २८.

यहोवाले आफ्ना वफादार जनहरूको सुरक्षा गर्नुहुन्छ

१९, २०. (क) यहोवाले हामीलाई कहिल्यै पनि त्याग्नुहुन्‍न भनेर किन निश्‍चित हुन सक्छौं? (ख) अर्को लेखमा कुन-कुन प्रश्‍नबारे छलफल गरिनेछ?

१९ यहोवा हाम्रा पवित्र अर्थात्‌ वफादार परमेश्‍वर हुनुहुन्छ। (प्रका. १५:४; १६:५) उहाँ “आफ्ना सारा व्यवहारमा अनुग्रही [अर्थात्‌, “वफादार,” NW] हुनुहुन्छ।” (भज. १४५:१७) अनि बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “उहाँले . . . आफ्ना भक्‍त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ।” (हितो. २:८) परीक्षा या धर्मत्यागी विचारहरूको सामना गर्नुपर्दा अथवा चुनौतीपूर्ण जिम्मेवारी पूरा गर्दा यहोवाले डोऱ्‍याइ र सहयोग दिनुहुन्छ भन्‍ने कुरामा परमेश्‍वरका वफादार जनहरू विश्‍वस्त हुन सक्छन्‌।

२० हामी हरेकले अहिले विचार गर्नुपर्ने प्रश्‍न यो हो: आफ्नो मार्गमा रोकावट बन्‍न सक्ने परीक्षा या प्रलोभनहरूको बावजूद यहोवाप्रति वफादार भइरहन मलाई केले मदत दिन्छ? अर्को शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरप्रति म अझ वफादार कसरी हुन सक्छु? (w 08 8/15)

[फुटनोट]

a उक्‍त अगमवक्‍ताले यहोवाको आज्ञा निरन्तर पालन गर्छन्‌ कि गर्दैनन्‌ अनि तिनलाई के हुनेछ, त्यसबारे अर्को लेखमा छलफल गरिनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• दमनमा पर्दा आफ्ना वफादार जनहरूलाई त्याग्नुहुन्‍न भनेर यहोवाले कसरी देखाउनुभएको छ?

• धर्मत्यागी र तिनीहरूका विचारप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

• आफ्ना वफादार जनहरूलाई ख्रीष्टियान सेवामा भाग लिंदा यहोवाले कसरी सुरक्षा दिनुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको नक्सा/चित्र]

(For fully formatted text, see publication)

उत्तरी राज्य (यारोबाम)

दान

शकेम

बेतेल

दक्षिणी राज्य (रहबाम)

यरूशलेम

[चित्र]

यारोबामले बाछो उपासना स्थापना गर्दा यहोवाले आफ्ना वफादार जनहरूलाई त्याग्नुभएन