सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मर्यादा देखाएर यहोवाको कदर गर्नुहोस्‌

मर्यादा देखाएर यहोवाको कदर गर्नुहोस्‌

मर्यादा देखाएर यहोवाको कदर गर्नुहोस्‌

“[यहोवाको] काम आदरको योग्य र महामहिमायुक्‍त हुन्छ।”—भज. १११:३.

१, २. (क) तपाईं “आदर” अर्थात्‌ मर्यादाको परिभाषा कसरी दिनुहुन्छ? (ख) यस लेखमा कस्ता प्रश्‍नहरूबारे छलफल गरिनेछ?

 परमेश्‍वरले ‘आदरको पोशाक पहिरिनुभएको छ’ भनी बाइबलमा बताइएको छ। (भज. १०४:१) मानिसहरूका लागि, आदर अर्थात्‌ मर्यादा देखाउनुको अर्थ राम्रो चट्ट मिलेको लुगा लगाउनु पनि हुन सक्छ। उदाहरणको लागि, ख्रीष्टियान बहिनीहरू “साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन” भनी प्रेरित पावलले आफ्नो इच्छा व्यक्‍त गरे। (१ तिमो. २:९) तर यहोवाको मर्यादा अर्थात्‌ ‘आदर र महामहिमाको’ कदर गर्ने मर्यादित आचरण भनेको मर्यादित पहिरन लगाउनु मात्रै होइन।—भज. १११:३.

बाइबलमा “आदर” अर्थात्‌ मर्यादा भनी अनुवाद गरिएको हिब्रू शब्दलाई “महिमा,” “वैभव,” “गौरव” र “कदर” भनेर पनि अनुवाद गर्न सकिन्छ। एउटा शब्दकोशअनुसार “मर्यादा” भनेको “योग्य, सम्मानित र प्रतिष्ठित हुने गुण वा अवस्था” हो। अनि अरू कोही यहोवाभन्दा धेरै सम्मानित र प्रतिष्ठित हुन योग्यको छैन। त्यसैले उहाँको समर्पित सेवक भएको नाताले हामी आफ्नो बोली र कार्यमा मर्यादित हुनुपर्छ। तर मानिसले मर्यादित ढंगमा व्यवहार गर्न सक्नुको कारण के हो? यहोवाको मर्यादा र महिमा कसरी झल्किन्छ? उहाँको मर्यादाले हामीमा कस्तो प्रभाव पार्नुपर्छ? यो गुण देखाउने सन्दर्भमा हामी येशू ख्रीष्टबाट के सिक्न सक्छौं? अनि ईश्‍वरीय मर्यादा कसरी देखाउन सक्छौं?

हामी मर्यादित ढंगमा व्यवहार गर्न सक्छौं, किन?

३, ४. (क) हामीप्रति देखाइएको मर्यादाप्रति कस्तो प्रतिक्रिया देखाउनुपर्छ? (ख) भजन ८:५-९ ले भविष्यसूचक ढंगमा कसलाई औंल्याउँछ? (पादटिप्पणी हेर्नुहोस्‌।) (ग) विगतमा यहोवाले कसलाई मर्यादा देखाउनुभयो?

किनभने मानिस परमेश्‍वरकै स्वरूपमा बनाइएकोले ऊसित मर्यादित ढंगमा व्यवहार गर्ने क्षमता छ। पहिलो मानिस आदमलाई पृथ्वीको हेरचाह गर्ने जिम्मा सुम्पनुभएर यहोवाले तिनीप्रति मर्यादा देखाउनुभयो। (उत्प. १:२६, २७) मानिसले सिद्धता गुमाइसकेपछि पनि यहोवाले पृथ्वीको सन्दर्भमा मानिसको जिम्मेवारी पुनः दोहोऱ्‍याउनुभयो। त्यसैकारण, परमेश्‍वरले अझै पनि मानिसलाई मर्यादाको ‘मुकुट’ लगाइदिनुहुन्छ भन्‍न सकिन्छ। (भजन ८:५-९ पढ्‌नुहोस्‌) a हामीप्रति मर्यादा देखाइएको कारण हामीले पनि यहोवाको वैभवशाली नाउँको श्रद्धा र मर्यादाका साथ प्रशंसा गरेर मर्यादा देखाउनु आवश्‍यक छ।

विशेष गरी पवित्र सेवा चढाउनेहरूलाई यहोवाले केही हदसम्म मर्यादा देखाउनुभएको छ। परमेश्‍वरले हाबिलको भेटी ग्रहण गरेर तिनलाई मर्यादा देखाउनुभयो तर तिनका दाजु कयिनको भेटी भने ग्रहण गर्नु भएन। (उत्प. ४:४, ५) मोशालाई, इस्राएलीहरूको अगुवा गर्ने काममा तिनको उत्तराधिकारी यहोशूलाई “आफ्नो मर्यादाबाट केही” दिन निर्देशन दिइयो। (गन्ती २७:२०, NW) दाऊदका छोरो सुलेमानबारे बाइबल यसो भन्छ: “सारा इस्राएलका नजरमा परमप्रभुले सुलेमानलाई अति उच्च तुल्याउनुभयो, औ तिनलाई यस्तो राज्यधिकार [अर्थात्‌ “राजकीय मर्यादा,” NW] दिए जस्तो तिनीअघि इस्राएलमा कुनै राजालाई दिनुभएको थिएन।” (१ इति. २९:२५) पुनरुत्थान भएका अभिषिक्‍त ख्रीष्टियानहरूलाई यहोवाले विशेष मर्यादा देखाउनुहुनेछ। तिनीहरूले “उहाँका राज्यको शाही महिमा” विश्‍वासीपूर्वक घोषणा गरेका थिए। (भज. १४५:११-१३) यसरी यहोवाको प्रशंसा गर्ने काममा येशूका “अरू भेडा”-को पनि विशेष र मर्यादित भूमिका छ जसको तीव्र गतिमा वृद्धि भइरहेको छ।—यूह. १०:१६.

यहोवाको मर्यादा र महिमा प्रस्ट पारिएको

५. यहोवाको मर्यादा कत्तिको महान्‌ छ?

परमेश्‍वरको महानताको तुलनामा मानिस कत्ति तुच्छ छ भनी दाँज्दै भजनहार दाऊदले यस्तो गाए: “हे प्रभो, हाम्रा परमप्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईंको नाउँ कति उत्तम छ!” (भज. ८:१) सदासर्वदा यहोवा मात्र यस ब्रह्‍माण्डमा सबैभन्दा वैभवशाली र मर्यादित व्यक्‍ति हुनुहुन्छ—“आकाश र पृथ्वी” सृष्टि गर्नुभन्दा अघिदेखि पृथ्वीलाई सुन्दर बगैंचा बनाउने र मानव परिवारलाई ब्यूँताएर सिद्ध अवस्थामा पुऱ्‍याउने उहाँको उद्देश्‍य पूरा भइसकेपछि पनि।—उत्प. १:१; १ कोरि. १५:२४-२८; प्रका. २१:१-५.

६. भजनहारले परमेश्‍वरले मर्यादाको पोशाक पहिरिनुभएको छ भने, किन?

चकमन्‍न रातमा टिलपिल टल्किरहेका “रत्नहरू” जडित भव्य आकाश देख्दा परमेश्‍वरको भय मान्‍ने भजनहारको मन कत्ति छोयो होला! परमेश्‍वरले “आकाशलाई चँदुवाजस्तै टाँग्नुभएको”-मा छक्क मान्दै भजनहारले परमेश्‍वरलाई मर्यादाको पोशाक पहिरिनुभएको व्यक्‍तिको रूपमा चित्रण गरे किनभने उहाँको हस्तकला अद्‌भुत छन्‌। (भजन १०४:१, २ पढ्‌नुहोस्‌) अदृश्‍य सर्वोच्च सृष्टिकर्ताको मर्यादा र महिमा उहाँको सृष्टिमा प्रत्यक्ष झल्किन्छ।

७, ८. आकाशमा हामी यहोवाको महानता र महिमाको कस्तो प्रमाण देख्छौं?

उदाहरणको लागि, मिल्की वे भनिने तारापुञ्जलाई लिनुहोस्‌। असंख्य तारा, ग्रह र सौर्यमण्डलमध्ये पृथ्वी त समुद्र किनारको नगण्य बालुवाको कण सरह हो। सोच्नुहोस्‌ त, मिल्की वे तारापुञ्जमा मात्रै एक खरबभन्दा बढी ताराहरू छन्‌! तपाईंले एक सेकेन्ड पनि खेर नफालि २४ घण्टा नै तारा गन्‍न बस्नुभयो भने पनि एक खरब तारा गन्‍न तपाईंलाई ३,००० वर्षभन्दा धेरै लाग्छ।

मिल्की वे तारापुञ्जमा मात्र एक खरब तारा छन्‌ भने बाँकी ब्रह्‍माण्डबारे के भन्‍न सकिन्छ, तपाईं आफै विचार गर्नुहोस्‌। खगोलविद्‌हरूका अनुसार सम्भवतः मिल्की वे तारापुञ्ज, ब्रह्‍माण्डमा भएको ५० अरब देखि एक खरब २५ अरब तारापुञ्जमध्ये केवल एउटा हो। सम्पूर्ण ब्रह्‍माण्डमा कति तारा छन्‌? ताराको संख्याबारे सोच्दा पक्कै दिमाग घुम्छ। तर यहोवाले “ताराका संख्या गन्‍नसक्नुहुन्छ। र ती सबैलाई नाउँ दिनुहुन्छ।” (भज. १४७:४) त्यस्तो मर्यादा र महिमाको पोशाक पहिरिनुभएको यहोवा देखेर के तपाईं उहाँको नाउँलाई उच्च पार्न उत्प्रेरित हुनुहुन्‍न र?

९, १०. रोटीको प्रबन्धमा हाम्रो सृष्टिकर्ताको बुद्धि कसरी झल्किन्छ?

अब हामी आकाशको भव्यतालाई बिर्सेर रोटी जस्तो एकदमै साधारण खानेकुरालाई विचार गरौं। यहोवा ‘स्वर्ग र पृथ्वीको’ सृष्टिकर्ता त हुनुहुन्छ नै, त्यसका साथै उहाँले “छर्नेलाई बिउ र खानालाई रोटी” पनि दिनुहुन्छ। (भज. १४६:६, ७; २ कोरि. ९:१०) परमेश्‍वरको ‘आदर र महामहिमा’ उहाँको महान्‌ कार्यहरूमा झल्किन्छ र यी कार्यमा ती बोटहरू पनि पर्छन्‌ जसबाट रोटी बनाउन आवश्‍यक पीठो निकालिन्छ। (भजन १११:१-५ पढ्‌नुहोस्‌) येशूले आफ्ना अनुयायीहरूलाई यस्तो प्रार्थना गर्न सिकाउनुभयो: “हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्‌।” (मत्ती ६:११) यस पदलाई मूल भाषामा “हाम्रो दिनभरिको रोटी आज हामीलाई दिनुहोस्‌” भनी अनुवाद गरिएको छ। प्राचीन समयमा इस्राएलीहरू लगायत अन्य थुप्रै मानिसको मुख्य खानेकुरा रोटी थियो। रोटी एकदमै सामान्य खानेकुरा हो तर स्वादिष्ट रोटी बन्‍न पीठोको मिश्रणमा हुने रासायनिक प्रक्रियालाई अवश्‍यै सामान्य भन्‍न मिल्दैन।

१० बाइबल समयमा इस्राएलीहरूले रोटी बनाउन गहुँ वा जौको पीठो र पानी प्रयोग गर्थे। कहिलेकाहीं खमिर वा सोडा पीठोमा मिसाउने गरिन्थ्यो। यी साधारण कुराहरूलाई मिसाउँदा अचम्मको रासायनिक प्रतिक्रिया हुन्छ। यी कुराहरूबीच ठ्याक्क कस्तो सम्बन्ध हुन्छ त्यो पूरा बुझ्न सकिएको छैन। यसबाहेक, हाम्रो शरीरले जुन तरिकामा रोटी पचाउँछ, त्यो अर्को अचम्मको जटिल प्रक्रिया हो। त्यसकारण भजनहारले यस्तो गाउनु कुनै अचम्मलाग्दो कुरा होइन: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता-किसिम किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो।” (भज. १०४:२४) के तपाईं पनि यहोवाको प्रशंसा गाउन त्यसरी नै उत्प्रेरित हुनुहुन्छ?

परमेश्‍वरको मर्यादा र महिमाबाट तपाईं कसरी प्रभावित हुनुहुन्छ?

११, १२. परमेश्‍वरका सृजनशील कार्यहरूमा मनन गर्दा हामीमा कस्तो प्रभाव पर्न सक्छ?

११ चकमन्‍न रातमा आकाश नियाल्न तपाईं खगोलविद्‌ हुनुपर्दैन, न त रोटीको मजा लिन रसायनविद्‌ नै हुनुपर्छ। तर सृष्टिकर्ताको महिमा बुझ्न उहाँको हस्त कलामा मनन गर्न समय निकाल्नुपर्छ। त्यसरी मनन गर्दा के फाइदा हुन सक्छ? यहोवाका अन्य कार्यहरूमा मनन गर्दा हामीमा जस्तो प्रभाव पर्छ, यसले पनि त्यस्तै प्रभाव पार्छ।

१२ आफ्ना जनहरूका खातिर यहोवाले गर्नुभएका महान्‌ कार्यबारे दाऊदले यस्तो गाए: “तपाईंको प्रतापी र शाही महत्त्वमा, [अर्थात्‌ “तपाईंको महिमित वैभव र मर्यादा,” NW] र तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा म ध्यान दिनेछु।” (भज. १४५:५) बाइबल अध्ययन गर्दा र पढेको कुरामा समय लगाएर मनन गर्दा हामीले यी कार्यहरूमा ध्यान दिइरहेका हुन्छौं। यसरी मनन गर्दा कस्तो प्रभाव पर्छ? परमेश्‍वरको मर्यादा र महिमाको अझ प्रशंसा गर्न सक्षम हुन्छौं। अनि हामी पनि दाऊद सँगसँगै यहोवाको आदर गर्दै यसो भन्‍न उत्प्रेरित हुनेछौं: “म तपाईंको महानताको घोषणा गर्नेछु।” (भज. १४५:६) परमेश्‍वरका अचम्मका कार्यहरूमा मनन गर्दा यहोवासितको हाम्रो सम्बन्ध बलियो हुन्छ अनि अरूलाई उहाँबारे उत्साह र दृढताका साथ बताउन उत्प्रेरित गर्छ। के तपाईंले जोसका साथ सुसमाचार प्रचार गर्दै मानिसहरूलाई यहोवा परमेश्‍वरको मर्यादा, महिमा र वैभव बुझ्न मदत गरिरहनुभएको छ?

येशूले परमेश्‍वरको मर्यादा दुरुस्तै झल्काउनुभयो

१३. (क) दानियल ७:१३, १४ अनुसार यहोवाले आफ्ना पुत्रलाई के दिनुभयो? (ख) राजाको रूपमा येशू आफ्ना प्रजालाई कस्तो व्यवहार गर्नुहुन्छ?

१३ परमेश्‍वरका पुत्र येशू ख्रीष्टले जोसका साथ सुसमाचार प्रचार गर्नुभयो र स्वर्गमा हुनुहुने आफ्ना वैभवशाली र मर्यादित पिताको कदर गर्नुभयो। यहोवाले आफ्ना एक मात्र पुत्रलाई ‘सर्वाधिकार र राज्यधिकार’ दिएर विशेष मर्यादा देखाउनुभयो। (दानियल ७:१३, १४ पढ्‌नुहोस्‌) तर येशू घमन्डी अथवा अमित्रैलो भने हुनुहुन्‍न। त्यसको ठीक विपरीत उहाँ आफ्ना प्रजाको सीमितता बुझ्ने र तिनीहरूप्रति मर्यादा देखाउने दयालु शासक हुनुहुन्छ। राजा नियुक्‍त हुनुभएका येशूले मानिसहरूसित र अझ विशेष गरी अरूले हेय दृष्टिले हेर्नेहरूसित कस्तो व्यवहार गर्नुभयो, त्यसबारे एउटा उदाहरण विचार गर्नुहोस्‌।

१४. प्राचीन इस्राएलमा कोरीहरूलाई कसरी हेरिन्थ्यो?

१४ प्राचीन समयमा कोर लागेका मानिसहरू साधारणतया सास्ती खाँदै-खाँदै बिस्तारै मृत्युको मुखमा पर्थे। रोग अलि-अलि गर्दै शरीरभरि फैलिन्थ्यो। कोरीलाई निको पार्नु मरेकोलाई ब्यूँताउनु जत्तिकै गाह्रो ठानिन्थ्यो। (गन्ती १२:१२; २ राजा ५:७, १४) कोरीहरूलाई अशुद्ध ठानिन्थ्यो र समाजले तिनीहरूलाई घृणा गर्नुका साथै अलग्गै राख्थे। मानिसहरू नजिक पुग्दा तिनीहरूले “अशुद्ध, अशुद्ध!” भनेर कराउनुपर्थ्यो। (लेवी १३:४३-४६) कोर लागेको व्यक्‍ति मरेसरह हुन्थ्यो। रब्बीहरूको रिकर्डअनुसार कोरीहरू कुनै स्वस्थ यहूदीदेखि झन्डै ७ पाइला परै बस्नुपर्थ्यो। भनिन्छ, कुनै एक धर्मगुरुले कोर लागेको मान्छे टाढाबाट आइरहेको देख्दा पनि ढुङ्‌गाले हिर्काउँथे।

१५. एउटा कोरीलाई येशूले कस्तो व्यवहार गर्नुभयो?

१५ तर येशूकहाँ रोग निको पारिदिन बिन्ती गर्न आएका कोरीप्रति उहाँले देखाउनुभएको प्रतिक्रिया उल्लेखनीय छ। (मर्कूस १:४०-४२ पढ्‌नुहोस्‌) कोरीलाई छिःछिः र दुरदुर गर्दै लगार्नुको सट्टा उहाँले तिनीसित दयालु र मर्यादित ढंगमा व्यवहार गर्नुभयो। मदतको भीख मागिरहेको एक दयनीय मानिसको रूपमा तिनलाई येशूले देख्नुभयो। दयाले भरिएर येशू तुरुन्तै कदम चाल्न उत्प्रेरित हुनुभयो। उहाँ अघि सर्नुभयो, कोरीलाई छुनुभयो र तिनको रोग निको पारिदिनुभयो।

१६. अरूसित येशूले गर्नुभएको व्यवहारबाट तपाईंले कस्तो पाठ सिक्नुभयो?

१६ येशूले जसरी आफ्ना पिताको मर्यादा झल्काउनुभयो, त्यसरी नै हामी उहाँका अनुयायीले पनि मर्यादा झल्काउनुपर्छ। तर कसरी? एउटा तरिका हो: मानिसहरूको ओहदा, स्वास्थ्यस्थिति र उमेर जस्तोसुकै भए तापनि सबै कदर र सम्मानको योग्य छन्‌ भनी मानिलिएर। (१ पत्रु. २:१७) विशेष गरी पति, आमाबाबु, ख्रीष्टियान प्राचीन जस्ता निरीक्षणको जिम्मा पाएका व्यक्‍तिहरूले आफ्नो जिम्मामा भएकाहरूप्रति मर्यादा देखाउनुपर्छ र तिनीहरूलाई आत्म-सम्मान कायम राख्न मदत गर्नुपर्छ। सबै ख्रीष्टियानहरूले यसो गर्नुपर्छ भनी जोड दिंदै बाइबल यसो भन्छ: “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ, मानमा एउटाले अर्काको बढ्‌ता कदर गर।”—रोमी १२:१०.

उपासनामा मर्यादा देखाउने

१७. यहोवाको उपासना गर्दा मर्यादा देखाउने सन्दर्भमा हामी बाइबलबाट के सिक्न सक्छौं?

१७ यहोवाको उपासना गर्दा मर्यादा देखाउने सन्दर्भमा विशेष ध्यान दिनुपर्छ भनी बाइबल संकेत गर्छ। उपदेशक ५:१ भन्छ, “परमेश्‍वरको भवनमा जाँदा होशियारसित जाऊ।” मोशा र यहोशू दुवैले पवित्र स्थानमा पाइला टेक्नुअघि जुत्ता फुकाल्न आज्ञा दिइएको थियो। (प्रस्थ. ३:५; यहो. ५:१५) यसो गर्दा तिनीहरूले सम्मान वा श्रद्धा देखाइरहेका हुन्थे। इस्राएली पूजाहारीहरूले आफ्नो “नग्नता ढाक्नलाई” सुती कपडाको छोटो सुरुवाल लगाउनुपर्थ्यो। (प्रस्थ. २८:४२, ४३) यो, वेदीमा सेवा गर्दा अभद्र तरिकामा अंग प्रदर्शन हुन नदिन थियो। पूजाहारी परिवारका प्रत्येक सदस्यले मर्यादासम्बन्धी परमेश्‍वरको स्तर पालन गर्नुपर्थ्यो।

१८. यहोवाको उपासनामा मर्यादा कसरी झल्काउन सक्छौं?

१८ त्यसकारण, मर्यादित ढंगमा उपासना गर्नुमा सम्मान र कदर समावेश छ। कदर र सम्मानको योग्य हुन हामीले सम्मान योग्य व्यवहार गर्नुपर्छ। हामीले देखाउने मर्यादा नाउँ मात्रको देखावटी हुनुहुँदैन। यो, मानिसले देख्ने मात्र होइन परमेश्‍वरले देख्ने पनि हुनुपर्छ, मतलब हृदयदेखिको। (१ शमू. १६:७; हितो. २१:२) मर्यादा हाम्रो व्यक्‍तित्वको भाग हुनुपर्छ र यसले अरूसितको हाम्रो व्यवहारमा, सम्बन्धमा, हाम्रो मनोवृत्तिमा र हामीले आफूबारे राख्ने सोच अनि भावनामा समेत असर गर्नुपर्छ। हो, मर्यादा हामीले गर्ने र भन्‍ने सबै कुरामा हरबखत झल्किनुपर्छ। आफ्नो आचरण, चालढाल, पहिरन र कोरीबाटीको सन्दर्भमा हामी प्रेरित पावलको यो कुरा मनमा राख्छौं: “हाम्रो सेवामा कलङ्‌क नलागोस्‌ भनेर हामी कुनै कुरामा केही बाधा दिन्‍नौं, तर हरेक कुरामा हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं।” (२ कोरि. ६:३, ४) हामी “सब कुराबाट परमेश्‍वर हाम्रा उद्धारकर्ताको सिद्धान्तको शोभा” बढाउँछौं।—ती. २:१०.

ईश्‍वरीय मर्यादा देखाइरहनुहोस्‌

१९, २०. (क) अरूलाई मर्यादा देखाउने एउटा असल तरिका के हो? (ख) मर्यादाको सन्दर्भमा हामीले कस्तो कटिबद्धता देखाउनुपर्छ?

१९ ‘ख्रीष्टका राजदूत’ अभिषिक्‍त ख्रीष्टियानहरूले मर्यादा देखाउँछन्‌। (२ कोरि. ५:२०) उनीहरूलाई वफादारी साथ सहयोग गर्ने “अरू भेडा” मसीही राज्यका मर्यादित प्रतिनिधिहरू हुन्‌। राजदूत वा प्रतिनिधिले आफ्नो सरकारको पक्षमा निर्भयता साथ मर्यादापूर्वक बोल्छ। तसर्थ, हामीले परमेश्‍वरको सरकार, माने उहाँको राज्यको समर्थनमा मर्यादा र निर्भयता साथ बोल्नुपर्छ। (एफि. ६:१९, २०) अनि जब हामीले अरूलाई “कल्याणको शुभ समाचार” सुनाउँछौं तब के हामीले तिनीहरूलाई मर्यादा देखाइरहेका हुँदैनौं र?—यशै. ५२:७.

२० यहोवाको मर्यादा अनुरूप व्यवहार गरेर हामी उहाँको महिमा गर्न कटिबद्ध हुनुपर्छ। (१ पत्रु. २:१२) यहोवा, उहाँको उपासना र हाम्रा सँगी उपासकहरूप्रति सधैं गहिरो सम्मान देखाऔं। अनि मर्यादा र महिमाको पोशाक पहिरिनुभएको यहोवा, हामीले उहाँको उपासना मर्यादित ढंगमा गरेको देखेर प्रसन्‍न होऊन्‌। (w 08 8/15)

[फुटनोट]

a आठौं भजनमा लिपिबद्ध दाऊदका अभिव्यक्‍तिहरूले पनि सिद्ध मानिस येशू ख्रीष्टलाई भविष्यसूचक ढंगमा औंल्याउँछ।—हिब्रू २:५-९.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाको मर्यादाको भव्यतालाई मानिलिंदा यसले हामीमा कस्तो प्रभाव पार्नुपर्छ?

• येशूले एक कोरीसित गर्नुभएको व्यवहारबाट हामीले मर्यादाबारे के सिक्न सक्छौं?

• मर्यादित ढंगमा हामी कसरी यहोवाको कदर गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

यहोवाले हाबिललाई कसरी मर्यादा देखाउनुभयो?

[पृष्ठ २१-मा भएको चित्र]

एक जना कोरीसित येशूले गर्नुभएको व्यवहारबाट तपाईंले मर्यादाबारे के सिक्नुभयो?