सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘संसारको आत्माको’ प्रतिरोध गर्नुहोस्‌

‘संसारको आत्माको’ प्रतिरोध गर्नुहोस्‌

‘संसारको आत्माको’ प्रतिरोध गर्नुहोस्‌

“हामीले संसारको आत्मा होइन, तर परमेश्‍वरबाटका आत्मा पाएका छौं।”—१ कोरि. २:१२.

१, २. (क) विगतमा बेलाइतका कोइला खानीहरूमा क्यानरी चरा किन राखिन्थ्यो? (ख) ख्रीष्टियानहरूले कस्तो खतराको सामना गर्छन्‌?

 सन्‌ १९११ मा बेलाइत सरकारले कोइला खानीका मजदुरहरूको जीवन बचाउने हेतुले एउटा कानुन पारित गऱ्‍यो। हरेक खानीमा दुइटा क्यानरी चरा राख्नुपर्ने भयो। केको लागि? खानीमा आगलागी भएमा उद्धारकर्मीहरू आफ्नो साथमा ती चराहरू लिएर खानीभित्र पस्ने थिए। यो फुच्चे चराले कार्बन मनोअक्साइड जस्ता विषालु ग्यासहरूको तुरुन्तै सुइँको पाइहाल्छ। यदि हावा विषाक्‍त छ भने यस चराले खतराको संकेत देखाइहाल्थ्यो, यहाँसम्म कि पिंजडाभित्र बसिरहेको ठाउँबाट पक्लक्क खस्थ्यो। यो खतराको संकेत एकदमै महत्त्वपूर्ण थियो। कार्बन मनोअक्साइड ग्यासको रंग र गन्ध हुँदैन। यसले रातो रक्‍त कोषलाई शरीरमा अक्सिजन प्रवाह गर्नबाट रोक्छ र मानिसको मृत्यु हुन्छ। खतराको जनाउ पाएन भने उद्धार गर्न गएकाहरू आफूलाई विष लागेको कुरा समेत थाह नपाई बेहोस भएर मर्न सक्थे।

ख्रीष्टियानहरूले आध्यात्मिक तवरमा खानीका मजदुरहरूको जस्तै परिस्थितिको सामना गर्छन्‌। कसरी? आफ्ना चेलाहरूलाई चारैतिर सुसमाचार सुनाउन खटाउनुहुँदा तिनीहरूलाई शैतान र संसारको आत्माले अड्डा जमाएको खतरनाक परिवेशमा पठाउँदैछु भन्‍ने कुरा येशूलाई थाह थियो। (मत्ती १०:१६; १ यूह. ५:१९) आफ्ना चेलाहरूबारे उहाँ यत्ति चिन्तित हुनुहुन्थ्यो कि आफू मारिने अघिल्लो रात उहाँले पितालाई यसरी प्रार्थना गर्नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌।”—यूह. १७:१५.

३, ४. येशूले चेलाहरूलाई कस्तो चेतावनी दिनुभयो र त्यसप्रति हामीले किन चासो राख्नुपर्छ?

मृत्यु गराउन सक्ने आध्यात्मिक निद्राको खतरादेखि होसियार रहन येशूले चेलाहरूलाई चेतावनी दिनुभयो। यस रीतिरिवाजको आखिरी दिनमा बाँचिरहेको हुनाले उहाँका शब्दहरूले हाम्रो लागि विशेष अर्थ राख्छ। उहाँले चेलाहरूलाई यस्तो अर्ती दिनुभयो: “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खडा हुनसक्नलाई . . . जागा रहो।” (लूका २१:३४-३६) तर खुसीको कुरा, चेलाहरूलाई सिकेको कुरा सम्झन, जागा रहन र बलियो हुन पिताले पवित्र आत्मा दिनुहुनेछ भनेर पनि येशूले प्रतिज्ञा गर्नुभयो।—यूह. १४:२६.

आज हामीबारे के भन्‍न सकिन्छ नि? के हामीले मदत पाउने पवित्र आत्मा पनि त्यही हो? हो भने, यसको लागि के गर्नै पर्छ? संसारको आत्मा के हो र यसले कसरी काम गर्छ? अनि संसारको आत्माको प्रतिरोध गर्न हामी कसरी सफल हुन सक्छौं?—१ कोरिन्थी २:१२ पढ्‌नुहोस्‌।

पवित्र आत्मा या संसारको आत्मा?

५, ६. पवित्र आत्माले हाम्रो निम्ति के गर्न सक्छ तर यसलाई प्राप्त गर्न के गर्नै पर्छ?

पवित्र आत्माको प्रबन्ध प्रथम शताब्दीको लागि मात्र थिएन। हो, यो आज पनि उपलब्ध छ। परमेश्‍वरको आत्माले हामीलाई जे सही छ त्यो गर्न र उहाँको सेवा गर्न बल दिन सक्छ। (रोमी १२:११; फिलि. ४:१३) यसले हामीमा प्रेम, दया र भलाइ जस्ता कोमल गुणहरू पनि फलाउन सक्छ। यी गुणहरू “आत्माको फल”-का पक्ष हुन्‌। (गला. ५:२२, २३) तर यहोवा परमेश्‍वरले अनिच्छुकहरूलाई जबरजस्ती पवित्र आत्मा दिनुहुन्‍न।

त्यसैकारण, हामीले आफूलाई यो प्रश्‍न सोध्नु तर्कसंगत हुन्छ: ‘पवित्र आत्मा पाउन म के गर्न सक्छु?’ हुन त बाइबल बताउँछ कि हामीले गर्न सक्ने कुरा थुप्रै छन्‌। एउटा सरल र महत्त्वपूर्ण कदम हो—परमेश्‍वरलाई माग्नु। (लूका ११:१३ पढ्‌नुहोस्‌) अर्को उपयोगी कदम चाहिं परमेश्‍वरको पवित्र आत्माद्वारा प्रेरित वचन बाइबलमा पाइने सल्लाह अध्ययन गर्नु र पालन गर्नु हो। (२ तिमो. ३:१६) यो साँचो हो, बाइबल पढ्‌ने जोसुकैले परमेश्‍वरको आत्मा पाउँदैनन्‌। तर निष्कपट ख्रीष्टियानले बाइबल अध्ययन गर्दा चाहिं प्रेरित वचनमा झल्काइएको भावना र दृष्टिकोण बुझ्न सक्छन्‌। साथै, यो कुरा पनि स्वीकार्नै पर्छ: यहोवाले येशूलाई आफ्नो प्रतिनिधि नियुक्‍त गर्नुभएको छ र उहाँ मार्फत नै हामीले पवित्र आत्मा पाउँछौं। (कल. २:६) अनि, हामीले येशूको अनुकरण गर्दै उहाँको शिक्षाअनुरूप जीवन बिताउनुपर्छ। (१ पत्रु. २:२१) जति धेरै ख्रीष्टको अनुकरण गर्ने प्रयास गर्छौं त्यति नै धेरै पवित्र आत्मा पाउँछौं।

७. संसारको आत्माले हामीलाई कसरी उक्साउँछ?

यसको विपरीत, संसारको आत्माले चाहिं मानिसहरूलाई शैतानको व्यक्‍तित्व झल्काउन उक्साउँछ। (एफिसी २:१-३ पढ्‌नुहोस्‌) संसारको आत्माले थुप्रै तरिकामा काम गर्छ। यसले परमेश्‍वरका स्तरहरूको विरुद्ध काम गर्न प्रोत्साहित गरेको प्रमाण आज हाम्रो वरपर जगजाहेरै छ। यसले “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी”-लाई बढवा दिन्छ। (१ यूह. २:१६) व्यभिचार, मूर्तिपूजा, मन्त्रतन्त्र, क्रोध र डाह जस्ता शारीरिक कामहरू गर्न उक्साउँछ। (गला. ५:१९-२१) अनि पवित्र कुराको अपमान गर्ने धर्मत्यागी बोलीलाई प्रश्रय दिन्छ। (२ तिमो. २:१४-१८) स्पष्ट छ, कुनै व्यक्‍तिले आफूलाई जति धेरै संसारको आत्माले प्रभावित हुन दिन्छ ऊ त्यति नै धेरै शैतान जस्तै बन्छ।

८. हामी हरेकले कस्तो छनौट गर्नुपर्छ?

हाम्रो जीवनलाई बाहिरी प्रभावहरूले असर गर्छै-गर्छ। त्यसैले, पवित्र आत्मा या संसारको आत्मा कुन चाहिंलाई आफ्नो जीवन डोऱ्‍याउन दिने, हरेकले छनौट गर्नै पर्छ। अहिले संसारको आत्माको वशमा परेकाहरूले आफूलाई त्यसबाट छुटाएर पवित्र आत्माको डोऱ्‍याइमा जीवन बिताउन सक्छन्‌। तर यसको ठ्याक्क उल्टो पनि हुन सक्छ। केही समयसम्म पवित्र आत्माको डोऱ्‍याइमा हिंडेकाहरू संसारको आत्माको पासोमा पर्न सक्छन्‌। (फिलि. ३:१८, १९) हामी कसरी संसारको आत्माको प्रतिरोध गर्न सक्छौं, आउनुहोस्‌ हेरौं।

खतराको संकेत थाह पाउनुहोस्‌

९-११. हामी संसारको आत्माको प्रभावमा परिरहेका छौं भन्‍ने खतराका केही संकेतहरू के-के हुन्‌?

माथि बताइएको बेलाइतको कोइला खानीमा काम गर्ने मजदुरहरूले विषालु ग्यास भए/नभएको संकेत पाउन क्यानरी चरा प्रयोग गर्थे। त्यो चरा पिंजडाभित्र बसिरहेको ठाउँबाट पक्लक्क खसेमा अब ज्यान बचाउन कदम चालि हाल्नुपर्छ भनेर तिनीहरूले थाह पाउँथे। आध्यात्मिक सन्दर्भमा भन्‍नुपर्दा, हामीलाई संसारको आत्माले प्रभाव पार्दैछ भन्‍ने खतराका केही संकेतहरू चाहिं के-के हुन्‌?

१० सायद, सुरु-सुरुमा बाइबल सच्चाइ सिक्दा अनि त्यसपछि यहोवामा जीवन समर्पण गर्दा उत्सुकतासाथ बाइबल पढ्‌थ्यौं होला। साथै, व्यग्रतासाथ निरन्तर प्रार्थना गर्थ्यौं होला। अनि मण्डलीका सभाहरू धाउँदा आनन्द लाग्थ्यो होला। त्यहाँ हरेक भाइबहिनीलाई आध्यात्मिक स्फूर्तिको स्रोत ठान्थ्यौं—मानौं मरुभूमिमा तिर्खाएको व्यक्‍तिले भेट्टाएको मरुद्यान जस्तो। यी कुराले हामीलाई संसारको आत्माबाट मुक्‍त हुन र अलग रहिरहन मदत गऱ्‍यो।

११ के हामी अझै दिनहुँ बाइबल पढ्‌छौं? (भज. १:२) के हामी व्यग्रतासाथ हार्दिक प्रार्थना गर्छौं? के हप्ताको पाँचै वटा सभा धाएर ती प्रबन्धप्रति प्रेम देखाउँछौं? (भज. ८४:१०) या, यी असल बानीमध्ये कुनै छुटेको पो छ कि? पक्कै पनि, समय तथा शक्‍ति खाइदिने हाम्रा थुप्रै जिम्मेवारी होलान्‌ र राम्रो आध्यात्मिक तालिका कायम राख्नु चुनौती हुन सक्छ। तर समयको दौडान हाम्रो कतिपय असल बानी छुटेको छ भने त्यसको कारण हामी संसारको आत्माको प्रभावमा परेकोले पो हो कि? के अब फेरि आफ्नो पहिलाको जस्तै असल बानी बसाल्न कडा परिश्रम गर्नेर्छौं?

“वाक्क-ब्याक्क” नहुनुहोस्‌

१२. येशूले चेलाहरूलाई किन “होशियार रहो” भन्‍नुभयो?

१२ संसारको आत्माको प्रतिरोध गर्न अझै के गर्न सक्छौं? चेलाहरूलाई “जागा रहो” भनी सल्लाह दिनुहुँदा येशूले तिनीहरूलाई केही खास खतराहरूबारे मात्रै चेतावनी दिनुभएको थियो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासी पासोझैं आइपर्ला।”—लूका २१:३४, ३५.

१३, १४. खानपिनको सन्दर्भमा आफूलाई कस्ता प्रश्‍नहरू सोध्नु उपयुक्‍त हुन्छ?

१३ यो चेतावनीलाई विचार गर्नुहोस्‌। के येशूले खानु-पिउनु अनि मजा गर्नुलाई गलत ठान्‍नुभयो? ठान्‍नुभएन! उहाँलाई सुलेमानका यी शब्दहरू थाह थियो: “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनुबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।” (उप. ३:१२, १३) तैपनि, संसारको आत्माले यी क्षेत्रमा आत्मसंयम गुमाउन उक्साउँछ भन्‍ने कुरा येशूलाई थाह थियो।

१४ संसारको आत्माले अचाक्ली खाने र पिउने सन्दर्भमा हाम्रो सोचाइलाई विषाक्‍त बनाएको छैन भनी कसरी निश्‍चित हुन सक्छौं? आफूलाई यी प्रश्‍नहरू सोध्न सक्छौं: ‘बाइबल अनि हाम्रा प्रकाशनहरूमा घिचुवापनबारे दिइएको सल्लाह पढ्‌दा म कस्तो प्रतिक्रिया देखाउँछु? सायद बहाना बनाउँदै वा म नै ठीक हुँ भन्दै यो सल्लाहलाई असान्दर्भिक वा अचाक्ली ठान्छु कि? a ‘मतवाला’ हुने कुरा त उठ्‌दै-उठ्‌दैन तर रक्सी पिइहालेमा पनि ठिक्क मात्रामा मात्र पिउने सल्लाहप्रति मेरो दृष्टिकोण कस्तो छ? तर यस्तो-उस्तो कारणले गर्दा मलाई लागू हुँदैन भन्दै के यी सल्लाहलाई हल्कासित लिने गर्छु? मैले पिएकोमा अरूले चिन्ता व्यक्‍त गर्दा के म त्यसको प्रतिकार गर्न खोज्छु वा झनक्क रिसाउँछु? यस्ता बाइबल सल्लाहलाई गम्भीरतापूर्वक लिनुहुँदैन भनेर के अरूलाई भन्‍ने गर्छु?’ हो, आफू संसारको आत्माको प्रभावमा परिरहेको छ कि छैन, त्यो तौलने एउटा तरिका आफ्नो मनोवृत्ति हो।—रोमी १३:११-१४ तुलना गर्नुहोस्‌।

चिन्ता-फिक्रीले निस्सासिनदेखि जोगिनुहोस्‌

१५. मानिसको कस्तो झुकाव विरुद्ध येशूले चेतावनी दिनुभयो?

१५ संसारको आत्माको प्रतिरोध गर्ने अर्को एउटा महत्त्वपूर्ण कदम हो—चिन्ता-फिक्रीलाई नियन्त्रणमा राख्नु। येशूलाई थाह थियो, असिद्ध भएकोले सानातिना कुरामा चिन्ता गर्ने झुकाव हामीसित हुन्छ। उहाँले मायालु ढंगमा चेलाहरूलाई यसो भन्‍नुभयो: “फिक्री नगर।” (मत्ती ६:२५) परमेश्‍वरलाई खुसी पार्नु, ख्रीष्टियान जिम्मेवारीहरू बहन गर्नु र परिवारको पालनपोषण गर्नु जस्ता महत्त्वपूर्ण कुराहरूमा हामी चिन्तित हुनु स्वभाविकै हो। (१ कोरि. ७:३२-३४) त्यसोभए, येशूको चेतावनीबाट हामी के सिक्न सक्छौं?

१६. संसारको आत्माले थुप्रै मानिसमाथि कस्तो प्रभाव पार्छ?

१६ संसारको आत्माले देखावटी जीवनशैलीलाई जोड दिन्छ र यसले थुप्रै मानिसमा हानिकारक चिन्ता-फिक्री जगाइदिन्छ। यस आत्माले हामीलाई पैसा नै सुरक्षा हो अनि मानिसको मोल आध्यात्मिक गुणअनुसार नभई धनसम्पत्तिको आधारमा जोखिन्छ भनेर विश्‍वास दिलाउन खोज्छ। यस्तो प्रचारबाजीको बहकाउमा पर्नेहरू धनदौलत प्राप्त गर्न मरिमेट्‌छन्‌ अनि नयाँ-नयाँ र अत्याधुनिक सामग्रीहरू प्राप्त गर्ने ध्याउन्‍नमा हुन्छन्‌। (हितो. १८:११) भौतिक कुराप्रतिको यस्तो टेढो दृष्टिकोणले चिन्ता-फिक्रीमा डुबाउँछ जसले गर्दा आध्यात्मिक उन्‍नतिमा बाधा पुग्छ।—मत्ती १३:१८, २२ पढ्‌नुहोस्‌।

१७. चिन्ताले निस्सासिनदेखि हामी कसरी जोगिन सक्छौं?

१७ चिन्ताले निस्सासिनदेखि जोगिने हो भने हामीले येशूको यो आज्ञा पालन गर्नुपर्छ: “पहिले राज्य र [परमेश्‍वरको] धार्मिकता खोजी गर।” येशू आश्‍वासन दिनुहुन्छ कि यदि यो आज्ञा पालन गरेमा हाम्रा आवश्‍यकताहरू पूरा हुनेछ। (मत्ती ६:३३) यो आश्‍वासनमाथि विश्‍वास गरेको कसरी देखाउन सक्छौं? एउटा तरिका हो—पैसाको मामिलामा परमेश्‍वरको स्तर पालन गरेर उहाँको धार्मिकता खोज्नु। उदाहरणको लागि, हामी कर छल्दैनौं वा व्यापार-व्यवसायमा “सानो” झूट समेत बोल्दैनौं। ऋण तिर्ने सन्दर्भमा “हो भने हो” भन्‍ने सिद्धान्त पालन गर्दै आफ्नो वचन पूरा गर्न हामी सक्दो गर्छौं। (मत्ती ५:३७; भज. ३७:२१) यस्तो इमानदारीले धनी नबनाउला तर परमेश्‍वरको अनुमोदन पाइन्छ, अन्तस्करण सफा हुन्छ र चिन्ता-फिक्री धेरै नै हट्‌छ।

१८. हाम्रो लागि येशूले कस्तो राम्रो उदाहरण बसाल्नुभयो अनि उहाँको अनुकरण गरेर हामी कसरी लाभान्वित हुन्छौं?

१८ पहिला परमेश्‍वरको राज्यको खोजी गर्नुमा प्राथमिकताहरू निर्धारण गर्नु समावेश छ। येशूको उदाहरण विचार गर्नुहोस्‌। कहिलकाहीं, उहाँले दामी वस्त्र लगाउनुभयो। (यूह. १९:२३) असल मित्रहरूसँग बसेर खानेकुरा र दाखमद्यको आनन्द उठाउनुभयो। (मत्ती ११:१८, १९) तर उहाँको जीवनमा सर-सम्पत्ति र मनोरञ्जन मुख्य खाना नभई अचार जस्तो मात्र थियो। मुख्य खाना त यहोवाको इच्छा पूरा गर्नु थियो। (यूह. ४:३४-३६) उहाँको अनुकरण गर्दा हाम्रो जीवन साँच्चै कत्ति सार्थक हुन्छ! बोझले दबिएकाहरूलाई बाइबलबाट सान्त्वना पाउन मदत गर्न सक्छौं। मण्डलीको माया र सहयोग पाउँछौं। अनि यहोवाको हृदय आनन्दित तुल्याइरहेका हुन्छौं। जीवनमा प्राथमिकताहरूलाई छुट्याउँदा सर-सम्पत्ति र सुखविलास हाम्रो मालिक हुन पाउँदैन। बरु, ती कुरा हाम्रो दास वा साधन बन्छ जसलाई चलाएर यहोवाको उपासना गर्न सक्छौं। साथै, जति धेरै परमेश्‍वरको राज्य गतिविधिमा सक्रिय हुन्छौं सम्भवतः त्यति नै धेरै संसारको आत्माको वशमा पर्नदेखि जोगिन सक्छौं।

‘आत्मामा मन’ लगाइरहनुहोस्‌

१९-२१. हामी कसरी ‘आत्मामा मन’ लगाइरहन सक्छौं अनि हामीले किन त्यसो गर्नुपर्छ?

१९ कामअघि सोचाइ आउँछ। थुप्रै मानिसले जुन कामलाई सोचविचार नगरी गरेको भन्छ, त्यो अक्सर शारीरिक सोचाइको फल हो। त्यसैले, प्रेरित पावल हामीलाई आफ्नो सोचाइलाई जोगाउनु आवश्‍यक छ भनी सम्झना दिलाउँछन्‌। उनले यस्तो लेखे: “शरीरअनुसार चल्नेहरूले शरीरका कुरामा, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्‌।”—रोमी ८:५.

२० कसरी हामी आफ्नो सोचाइ र कामलाई संसारको आत्माको वशमा पर्नदेखि जोगाउन सक्छौं? संसारको झूटो प्रचारबाजीलाई सम्भव भएसम्म दिमागमा छिर्न नदिएर हामीले आफ्नो सोचाइलाई जोगाउनै पर्छ। उदाहरणको लागि, मनोरञ्जन छान्दा अनैतिकता वा हिंसाको गुनगान गर्ने कार्यक्रमले आफ्नो सोचाइ दूषित पार्दैनौं। हामीलाई थाह छ, परमेश्‍वरको पवित्र वा स्वच्छ आत्मा फोहोर दिमागमा बस्नेछैन। (भज. ११:५; २ कोरि. ६:१५-१८) यसबाहेक, नियमित बाइबल पढाइ, प्रार्थना र मनन गरेर अनि सभामा उपस्थित भएर हामी आफ्नो दिमागमा परमेश्‍वरको आत्मालाई निम्ताउँछौं। साथै, प्रचारकार्यमा नियमित भाग लिंदा त्यो आत्मा सँगसँगै काम गरिरहेका हुन्छौं।

२१ हो, संसारको आत्मा र यसले प्रश्रय दिने शारीरिक इच्छाहरूको हामीले प्रतिरोध गर्नै पर्छ। तर यसको लागि लगनशील प्रयास गर्नु बेकारको होइन। किनभने पावल यसो भन्छन्‌: “शरीरमा मन लगाउनुचाहिं मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो।”—रोमी ८:६. (w 08 9/15)

[फुटनोट]

a घिचुवापन एउटा मानसिक झुकाव हो। घिचुवा व्यक्‍ति लोभी हुन्छ वा उसले अचाक्ली खान्छ। त्यसैले, घिचुवापन कुनै व्यक्‍तिको शरीरको साइजद्वारा नभई खानाबारे उसको मनोवृत्तिले निर्धारण गर्छ। कुनै व्यक्‍तिको शरीरको साइज सामान्य हुन सक्छ अथवा पातलो नै होला तर पनि ऊ घिचुवा हुन सक्छ। अर्को तर्फ, रोगको कारणले गर्दा पनि कोही-कोही मोटाउन सक्छन्‌। वंशाणुगत तत्त्वहरूले गर्दा पनि मानिस मोटाउन सक्छ। यहाँ मुख्य कुरा भनेको कुनै व्यक्‍ति मोटो होस्‌ या दुब्लो, ऊ खानेकुराप्रति कत्तिको लोभी छ भन्‍ने हो।—नोभेम्बर १, २००४ अंकको प्रहरीधरहरा-मा “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• पवित्र आत्मा पाउन के गर्नुपर्छ?

• संसारको आत्माले हामीलाई असर गर्न सक्ने केही तरिका के-के हुन्‌?

• संसारको आत्माको प्रतिरोध कसरी गर्न सक्छौं?

[प्रश्‍नहरू]